२०८३ बैशाख १३
२०८३ बैशाख १३

काठमाडौं, २८ फागुन ।

राष्ट्रिय  प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकले १४ वटा निर्णय गरेको छ।

सोमबार पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी नहुनेसहित १४ वटा निर्णय गरेको हो।

यस्ता छन् अरू निर्णय:

१. राप्रपाले नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको पूर्ववत निर्णय रहेकोमा एसईइ परीक्षाको समय र लाखौं विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ। साथै पार्टीले गर्न लागेको बृहत् जनप्रदर्शनको स्वरूप तय गर्न पार्टीका वरिष्ठ नेता उपाध्यक्षहरू र सबै उपाध्यक्षहरू रहने गरी समिति गठन गर्ने र सो समितिले तीन दिनभित्र अध्यक्षलाई प्रतिवेदन दिने निर्णय गरिएको छ।

२. राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ।

३. राष्ट्रिय राजनीतिमा केन्द्रीय स्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु, गरिनु उपयुक्त होइन यो दृष्टिकोणलाई हाल कोसी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएको छ। भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय भएको छ।

४. फागुन २७ गते कार्यसम्पादन समितिको बैठकका क्रममा खानाका लागि बैठक स्थगन गरेको समयमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित रूपमा भएको आक्रमण आपत्तिजनक र निन्दनीय भएको ठहर गर्दै आक्रमणप्रति बैठक गम्भीर खेद व्यक्त गर्दछ। तत्काल सामाजिक सञ्जालमा आएका भिडिओ, घटनास्थलमा देखिएका नेता र पीडित समेतबाट जानकारी लिएर थप अनुसन्धान समेत गरी ४८ घण्टामित्र अनुशासनको अधिकतम कारबाहीका लागि पेश गर्न केन्द्रीय अनुशासन समितिमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठको निवेदन पठाइनेछ। अनुशासन समितिको सिफारिसलाई कार्यान्वयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई प्रदान गरिएको छ। अन्य कानुनी कारबाहीका लागि पीडित डा. श्रेष्ठले सम्बन्धित निकायमा निवेदन दिनेछन्।

५. इलाममा हुने प्रतिनिधि सभाको र बझाङमा हुने प्रदेश सभाको उपनिर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरिएको छ। साथै, उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरिएको छ।

६. चालिस वर्ष मुनिका केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा र चालिस वर्ष मुनिकालाई खुला रूपमा केन्द्रीय सदस्यमा चयन गर्ने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको आधारलाई परिमार्जनसहित स्वीकृत गरिएको छ। साथै, खुला केन्द्रीय सदस्य छनोट गर्न वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा डा. गीताभक्त जोशी र डा. जयन्तनाथ खनाल सदस्य रहने समिति गठन गरिएको छ।

७. पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्नुपर्ने अवस्थाका लागि पार्टीका केन्द्रीय सम्पादन समितिका सदस्य तोरण बहादुर गुरूङलाई निर्वाचन समितिको अध्यक्ष तोक्ने र सदस्यको हकमा पछि अध्यक्षले मनोनयन गर्ने गरी निर्णय गरिएको छ।

८. राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स संगठनको भेलाले इन्जिनियर अमित ढुंगानाको अध्यक्षतामा गठन भएको कार्यसमितिलाई मान्यता प्रदान गर्ने निर्णय गरिएको छ।

९. नविन राप्रपा कार्ययोजना २०८० को म्याद २०८० चैतसम्म रहेकोमा पार्टीको आन्दोलनका कारण भूगोल केन्द्रित जिम्मेवारीमा रहेका सदस्यहरू आन्दोलनको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले भूगोल केन्द्रित जिम्मेवारीको म्याद २०८१ असारसम्म थप गर्ने निर्णय गरिएको छ।

१०. पार्टीको अनुशासन उल्लंघन सम्बन्धमा परेका उजुरीहरूमाथि केन्द्रीय अनुशासन समितिबाट प्राप्त सिफारिसहरूमध्ये बाँके र शंखरापुर नगर कार्यसमिति बाहेकका विषयमा समितिको सिफारिस अनुसार गर्ने, बाँके तथा शंखरापुरको हकमा बरिष्ठ नेता उपाध्यक्ष विक्रम पाण्डे र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापालाई शंखरापुर र बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र लुम्विनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयलाई बाँकेको समस्या समाधानका लागि एकपटक मेलमिलापको प्रयास गर्ने जिम्मेवारी प्रदान गरिएको छ। गत आमनिर्वाचनमा बाँके क्षेत्र नं. १ को प्रतिनिधि सभा र प्रदेश सभामा क्रमशः प्रदीप शाह र अर्जुनजंग शाहले पार्टीको निर्णयविपरीत उम्मेदवारी दिई पार्टी अनुशासन उल्लंघन गरेकाले एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने। तर, निजहरूले आत्मालोचनासहित पार्टीमा फर्किन चाहे साधारण सदस्यता लिई पार्टीमा प्रवेश गर्नसक्ने निर्णय गरिएको छ।

१९. मिटरब्याज, सहकारी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कारबाहीका कारण समस्यामा परेका ऋणी तथा बचतकर्ताहरूको समस्या समाधानका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उक्त समस्या तत्काल समाधान गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गराउँदछ।

१२. रूसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्ताको व्यवस्थाका लागि कूटनीतिक पहल गर्न, युद्धका क्रममा ज्यान गुमाउन पुगेकाहरूको शव ल्याउन आवश्यक पहल गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारसँग राप्रपा माग गर्दछ।

१३. दुग्ध किसान तथा उखु किसानको भुक्तानी दिन बाँकी रकम तत्काल भुक्तानी पाउने व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ।

१४. सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन र उनका छोरा जितेन्द्र पुनको संलग्नतासम्बन्धी भिडिओ सन्चार माध्यममा सार्वजनिक भएको विषयमा छानबिन गरी तत्काल कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन राप्रपा सरकारसँग माग गर्दछ।न्युज कारखाना

रौतहट २८ फागुन ।

रौतहटको कटहरिया बजारस्थित एक हार्डवेयरको गोदामामा आगलागी हुँदा लाखौंको प्लास्टिक पाइप जलेर नष्ट भएको छ।

गोदाममा आगलागी हुँदा झण्डै दुई लाख रुपैयाँभन्दा बढीको पाइप जलेर नष्ट भएको हो। सोमबार अपरान्ह विधुत सर्ट भएर गोदाममा भएको आगलागीबाट दुई लाख बढी मूल्यको ९५ क्वाएल पाइप जलेर नष्ट भएको पीडित साहले बताएका छन्।

घटना लगतै इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरूण कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट दुई लाख बढीको क्षति भएको तथा घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।न्युज कारखाना

काठमाडौं, २८ फागुन । 

साहित्यकार कृष्ण पनेरु वञ्चित सम्मानित भएका छन्। कैलालीको अत्तरिया निवासी साहित्यकार वञ्चितलाई गोदावरी नगरपालिका-२ तेघरीस्थित श्री जनकल्याण इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा सम्मानित गरेको हो।

पनेरुका आधि दर्जनबढी पुस्तकसमेत प्रकाशित छन्। उनी डोटेली भाषामा पनि साहित्य सिर्जना गर्दै आएका छन्। प्रतिभा पुस्तकालयका पूर्वअध्यक्ष समेत रहेका वञ्चित साहित्यिक संघ-संस्थाको विकासमा समेत उत्तिकै सक्रिय छन्।

विद्यालयले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा यस क्षेत्रमा थप सक्रिय र जिम्मेवार हुन ऊर्जा प्राप्त भएको उनले बताए। आगामी दिनमा पनि यसै क्षेत्रमा रहेर साहित्य क्षेत्रमा सक्रिय रहने पनेरुको भनाइ छ।न्युज कारखाना

रौतहट २८ फागुन ।

देशकै आर्थिक नगरी वीरगञ्ज–रक्सौलबीच मितेरी पुलबाट चेकपोष्ट हटेसँगै आवतजावत गर्ने यात्रुलाई सहज भएको छ। गत असोजदेखि स्थापना भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को चेकपोस्ट सोमबारदेखि हटाइएसँगै यात्रुलाई सहज भएको हो।

पाकिस्तानलगायत तेस्रो मुलुकबाट आउने नागरिकको निगरानी गर्ने भन्दै एसएसबीले गत असोज ३ गतेदेखि मितेरी पुलमा चेकपोस्ट खडा गरेको थियो। एसएसबीको केन्द्रीय निर्देशन अनुसार बिरगञ्ज नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनुपर्ने भएकाले चेकपोस्ट स्थापना गरिएको थियो।

एसाएसबिको चेकपोष्टको कारण पुलको बाटो सांघुरो भएकाले आवतजावत गर्न यात्रुहरूलाई सास्ती भएपछि  चेकपोस्ट हटाउने निर्णय गरिएको एसएसबीका अधिकारीहरूले बताएका छन्।

चेकपोस्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरूले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको  ध्यानाकर्षण समेत गराएका थिए। एसएसबीका जवानहरूले केहीदिन अघी नेपाली युवकसँग दुर्व्यवहार गरेपछि पोस्ट हटाउने दबाब  बढेको थियो।

दुवै देशका सुरक्षा अधिकारी बीच केहीदिन अघि भएको छलफल पछि चेकपोस्ट हटाईएको बिरगंजका सुरक्षा अधिकारीले बताएका छन्।

दुईदेशबीच सदियौं देखि चलेको बेटी रोटीको सम्बन्धलाई मध्यनजर गर्दै हाल मितेरी पुलबाट चेकपोस्ट हटाउने निर्णय गरिएको भारतीय प्रहरीले जनाएको छ।न्युज कारखाना

काठमाडौं, २८ फागुन।

प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ। आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए।

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए। स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो।

प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए। उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद भएको एसपी बोहराले बताए।

त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन्। उनीहरुको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको एसपी बोहोराले बताए।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, पुष्टि भएको छैन।न्युज कारखाना

रौतहट,२८ फागुन ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिएओ र एकजना सहायक वन अधिकृत कार्यालय छाडेर एकाएक बेपत्ता भएका छन्।

 

उनीहरु बेपत्ता हुनुको कारण नेकपा एमाले निकट युवा संघ हो । रौतहटको चन्द्रपुर २ मा रहेको राष्ट्रिय वनमा दुई महिना पहिला दर्जनौ काँचा खयरका रुख कटान भएपछि स्थानीय बासिन्दा तथा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बिक्रम लामाले स्थानीय संचारकर्मी बोलाएर खयर कटान भएको स्थान देखाएका थिए ।

 

त्यसकै रिस साध्नका लागि जुडिबेला सव वन डिभिजन कार्यालयका प्रमुख सुरेश महतोले सोही खयर कटान काण्डमा लामालाई पक्राउ गरेर थुनामा राखेपछि युवा संघले बिरोध र चक्का जाम गर्न थालेपछि डिएफओ शैलेन्द्र कुमार मिश्र र सहायक वन अधिकृत महतो बिहिबार देखी बेपत्ता भएका हुन ।

 

लामालाई गत बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा गएको बेला पक्राउ गरेर वनको हिरासतमा राखेपछि कार्यालय प्रमुख मिश्र र सहायक वन अधिकृत महतो एकाएक बेपत्ता भएका हुन ।

राष्ट्रिय युवा संघ नेपाल रौतहटले लामा पक्राउको बिरोधका पुर्व पश्चिम राजमार्गमा टायर बोलेर चक्का जाम गर्न थालेपछि दुबै जना बेपत्ता भएका हुन । नेकपा एमालेका नेता कार्यकर्ता नियमित रुपमा वन कार्यालयमा गएर लामा पक्राउको बिषयलाई लिएर नारावाजी गर्न थालेपछि दुबैजना कार्यालय छाडेर हिडेका हुन ।

 

कार्यालय नेकपा एमालेको भात्री संगठन राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई वन कार्यालयले ख्वाएर काण्डमा पक्राउ गरेपछि एमालेको डरले यतिबेला कार्यालय प्रमुख मिश्रा बेपत्ता भएका छन् । युवा सङ्घको डरले मिश्र मात्र नभएर सहायक वन अधिकृत सुरेश महतो समेत कार्यालय छोडेर बेपत्ता भएका छन् ।

 

लामालाई सहायक वन अधिकृत महतो र महादेव स्थान सामुदायीक वनका अध्यक्ष केशव पुलामीको मिलेमतोमा सामुदायीक वनको लेटर प्याडमा खयर फँडानीमा लामाको संलग्नता रहेको भन्दै लिखित दिएपछि उनी पक्राउ परेका थिए ।

हाल वनको हिरासतमा रहेका लामाले सो सामुदायीक वनमा रहेको २२ य क्युफिट काठ गोप्य रुपमा बिक्रि गर्न लागेको र त्यो काठ आफुहरुले समेत खरिद गर्न पाँउनुपर्ने भन्दै टण्डर फर्म माग गर्न थालेका कारण पहिलाको खयरको रिस र यो दुबै रिस साध्नका लागि पक्राउ गरेको पाइएको नेकपा एमालेका जिल्ला सचिव बाबुराम दाहालले बताए ।

एमालेको प्रेसर सहन नसकेर मिश्र र महतो कार्यालय छाडेर भागेपछि रौतहटको वनमा चोरी तस्करी बढेको स्थानीयले बताएका छन् ।

रौतहटको वनमा पछिल्लो समय व्यापक रूपमा काँचाहरुको कटान तीव्ररूपमा भइरहेको बलेरीका स्थानीय बासिन्दाले बताए  । वन कर्मचारीले नियमित रूपमा गस्ती नगरेका कारण रौतहटको वनमा काठ चोरी तस्करी तीव्र रुपमा बढेको हो ।

 

डिभिजन वन कार्यालय रौतहटमा प्रमुख भएर शैलेन्द्र कुमार मिश्र आएदेखि नै रौतहटको वनमा चोरी तस्करीले स्थान पाएको स्थानीय बासिन्दाले बताएका छन् । डिभिजन वन कार्यालय रौतहटका प्रमुख मिश्रानी नियमित रूपमा कार्यालयमा नबस्ने गरेका कारण अन्य वन कर्मचारीले नियमित गस्ती नगर्दा वनमा चोरी तस्करी बढेको सर्वसाधारणले बताएका छन् ।न्युज कारखाना

 

 

 

काठमाडौं, २८ फागुन ।

पुर्ब मन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राप्रपा नेपालमा प्रवेश गरेकी छिन।श्रेष्ठ तत्कालीन तनहुँ बिकास समितिको सभापति पनि थिईन ।

 

श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौं महानगर समितिका सह-सचिब सन्तोष रायमाझी,दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रहि अबकास प्राप्त बिजय प्रताप शाह,नेपाली सेनाबाट अबकास प्राप्त कृष्णजङ्ग बहादुर सिंह,ब्यबसायी तथा समाजसेवी शुभाष बिष्ट लगायत दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

 

राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए ।
नब – प्रबेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा  राष्ट्रबादी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको बिचार ब्यक्त गरिन ।

 

पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा  कामको जिम्मेवारी र भुमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।न्युज कारखाना

काठमाडौं, २८ फागुन ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पुरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको बताएका छन् ।

 

स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै  महासचिव  पोखरेलले अहिलेको नयाँ सहकार्य एमालेको प्रयत्नको परिणाम भएको बताए।

 

नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न पनि यो गठबन्धनलाई पूरा समय टिकाउनु पर्नेमा उनको छ । ‘ हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्दछौँ’, उनले भने ।

 

पुरानो सत्ता गठबन्धन भित्र समस्या भएको थाहा पाए पछि एमालेले नयाँ समीकरण बनाउन प्रयत्न गरेको कारण नयाँ सत्ता समीकरण बनेको उनले प्रष्ट पारे । ‘त्यस कारण यसलाई जोगाउने कर्तव्य पनि हाम्रो हो’, पोखरेलले भने ।

 

विगतको सरकार असफल भएकोले अहिलेको सरकारलाई सफल बनाउनु पर्छ भन्ने कुरामा ध्यान दिनु पर्नेमा उनको जोड छ ।

 

त्यसैले चारदलीय सहमतिमा तीनवटै तहका सरकारलाई प्रभावकारी बनाउने कुरा स्पष्ट रूपमा लेखिएको पोखरेलले बताए।

पोखरेलले अहिले जनतामा निराशा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्ति बढेकोसमेत बताएका छन् । ‘देशको स्वाधीनता, सार्वभौमसत्ता राष्ट्रिय हितलाई नै असर पार्ने प्रकारका गतिविधिहरू हुन थालेका छन्’, उनले भने।

 

पोखरेलले यस्ता प्रवृत्तिलाई रोक्नु पर्नेमा जोड दिदैँ  यस्ता प्रवृत्तिलाई रोकेर जनतामा आशा सञ्चार गर्ने काममा कर्मचारीको पनि त्यतिकै भूमिका हुने प्रष्ट पारेका छन् ।

 

अब नागरिक राज्यका विद्रोही नभएर राज्यका सहयोगी र राष्ट्रका निर्माता भएको उनले बताए। यो धारणा सबै नागरिकमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

 

जति राज्यबाट नागरिक टाढिन्छन् त्यति नै विकास र समृद्धि पनि टाढिने पोखरेलको धारणा छ ।
पार्टीका सामु अहिले अवसरवाद र सांगठनिक अराजकताको चुनौती रहेको बताउँदै पोखरेलले विचार र कामको अभावमा अवसरवाद जन्मिने भएकोले नियमित रूपमा वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताए। न्युज कारखाना

सर्लाही, २८ फागुन ।

सर्लाहीमा साईकल  यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोसित स्थानीयले बसमा आगो लगाएर जलाएका छन्  ।

नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साईकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।

 

दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन्।घटना लगतै स्थानीयले बसमा आगजानी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

 

साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

 

उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरिले जनाएको छ।न्युज कारखाना

काठमाडौं, २८ फागुन ।

राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशित भएको छ।

संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट युवराज शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । जसअनुसार अन्तिम नामावली प्रकाशित गरिएको सचिवालयले जनाएको हो ।

 

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माले पनि उम्मेदवारी दिएका हुन्।

उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना
समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्। न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।