२०८३ असार ३०
२०८३ असार ३०

काठमाडौं, २ चैत ।

युवा तथा खेलकुद मन्त्रालयले दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि नगर्न निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दशरथ रंगशालासहित देशका अन्य रंगशालाहरु संचालनको कार्यविधि छिटै जारी गर्ने तयारी भैरहेको जानकारी दिदै कार्यविधि जारी नहुन्जेल खेलकुद बाहेकका गतिबिधि संचालन नगर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएको हो।

दशरथ रंगशालामा खेलकुद बाहेकका गतिबिधि संचालन गरेका कारण रंगशालाको अवस्था नाजुक बनेपछि नेपालले बहराइनविरुद्धको विश्वकप छनौटको खेल खेल्न सकेको थिएन। रंगशालाको अवस्था मापदण्ड अनुसार नभएको भन्दै बहराइनले खेल्न अस्वीकार गरेपछि सो खेल बहराइनमै हुने भएको छ।न्युज कारखाना

 

काठमाडौं, २ चैत ।

सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।  शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो ।

 

सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्् ।

सहमतिको पूर्णपाठ :

नेपाल सरकार अर्थ मन्त्रालयवाट वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखको संयोजकतत्वमा लघुवित्त वित्तीय संस्थाका क्षेत्रमा देखिएका समस्या समाधान गर्न गठित वार्ता समिति तथा मन्त्रालय लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिका प्रतिनिधिहरु बीच आज मिति २०८०।१२।०२ मा अर्थ मन्त्रालयमा देहाय बमोजिमका विषयमा सहमति गरियो ।

१. लघुवित्त वित्तीय संस्थाहरु कम्पनी कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेको कारण सेवामुखी भन्दा नाफामुखी संस्थाको रुपमा विकास भएको र तिनीहरुलाई सेवामुखी बनाउनुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको हुँदा यस्ता संस्थाहरुलाई थप सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न के कस्तो नीतिगत एवं कानूनी व्यवस्था गर्न आवश्यक छ भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरु तथा अन्तर्राष्ट्रिय कानून समेतको अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्था सम्बन्धमा सिफारिस गर्न नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।

२. लघुवित्त वित्तीय संस्थाहरुको क्षेत्रमा देखिएका समस्या समाधानका विषयमा नेपाल राष्ट्र बैंकबाट हालसम्म भएका कार्यहरुका सम्बन्धमा छलफल भई देहायका विषयहरुमा समयानुकूल सुधार र प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने र उक्त कानूनी तथा नीतिगत प्रावधानहरु र राष्ट्र बैंकको निर्देशन पालना नगर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई प्रचलित कानून बमोजिम कारबाहीको दायरामा ल्याउनेः
क) नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाले ऋणीसँग लिन पाउने तोकिएको अधिकतम व्याजदर र सेवा शुल्क मात्र लिन पाउने व्यवस्था कडाईका साथ लागू गर्ने ।

ख) तोकिएको कर्जा सीमाभन्दा बढी सामूहिक कर्जा दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन र यसको उल्लंघन गर्ने वा गरेका संस्थाहरुलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्ने ।

ग) एक जना ऋणीले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुवाट ऋण लिन र दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने,

घ) ऋण लिँदाकै बखत ऋणीको अनुमति बिना वा ऋणीलाई प्रभावमा पारी निश्चित प्रतिशत रकम कट्टा गरी बचत खातामा रकम जम्मा गर्न लगाउने, ऋण लगानी गर्दाकै समयमा किस्ता बापतको रकम अग्रिम जम्मा गर्न लगाउने जस्ता कार्यलाई नियन्त्रण गर्ने । ङ) कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनाको सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रचलित कानून बमोजिम कारबाही गर्ने ।

३. लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा ऋणीहरुलाई वित्तीय साक्षरता तथा सचेतना गराएर मात्र कर्जा प्रवाह गर्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले सम्बन्धित संस्थाहरुबाट अनिवार्य रुपमा पालना गर्ने व्यवस्था मिलाउने ।

४. आन्दोलनरत पक्षबाट एकल अंक व्याज दर तथा एक प्रतिशत सेवा शुल्क कायम गर्न माग भएको सन्दर्भमा त्यस्तो व्याजदर तथा सेवा शुल्क कम गरी समयानुकूल बनाउन अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका साथै लघुवित्त वित्तीय संस्थामा गरिने बचतको व्याजदर र कर्जाको व्याजदरको अन्तर कम गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाल सरकार अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।

५. वि.सं. २०७२ सालको महाभूकम्प, नाकाबन्दी तथा कोभिड–१९ को समस्या एवं लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नु पर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको समेत कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीहरुको साँवा, व्याज, शुल्क, जरिबाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनर्स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाईते, अपाङ्ग, दीर्घ रोगी) वास्तविक पीडितहरुको कर्जा मिनाहा लगायतका विषयहरुलाई सम्बोधन गर्नुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको विषयमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको साठी दिन भित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन सिफारिसका आधारमा लघुवित्त वित्तीय संस्थाहरुको नियमन तथा सुधारका लागि आवश्यक नीतिगत तथा कानूनी सुधारका प्रक्रिया अघि बढाउने ।

६. आन्दोलनरत संघर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरु स्थगन गर्ने सहमति भयो ।न्युज कारखाना

सिरहा, २ चैत ।

आफ्नै श्रीमती ४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँ देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युज कारखाना

काठमाडौं, २ चैत ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो १ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका-३ घर भएकी २२ वर्षीया बिनिता तामाङलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

उता सिरहाकाे औरही गाउँपालिका-१ दरैहिया हनुमानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ६९ मिलिग्रामसहित कर्जन्हा नगरपालिका-२ बस्ने २७ वर्षीय राजेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी हर्कट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ८२८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित चालक ठाकुरलाई पक्राउ गरेको हो । न्युज कारखाना

 

काठमाडौं, २ चैत ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका विषयमा जानकारी गराउने उद्देश्यका साथ ड्यामोक्र्याटिक लयर्स एसोसिएसन नेपाल (डिएलए)ले प्रशिक्षकहरूलाई तालिम दिने भएको छ । डिएलए नेपालको आयोजनामा हुन लागेको प्रशिक्षक प्रशिक्षण चैत ४ गते आइतबारदेखि ५ दिनसम्म चल्नेछ ।

 

देशभरका सामुदायिक विद्यायमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर यस कार्यक्रमको आयोजना गर्न लागिएको डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।

 

प्रशिक्षण कार्यक्रममा ३२ जना कानुन व्यवसायीहरूको सहभागिता रहनेछ । तालिम लिएपछि तिनै प्रशिक्षकहरू देशभरका सामुदायिक विद्यालयहरूमा पुग्नेछन् र कानुनका बारेमा विद्यार्थीहरूलाई जानकारी गराउनेछन् ।

 

‘नागरिक भएर गर्नुपर्ने कुराहरू के हुन् रु साइबर ल के हो रु पारिवारिक कानुनले के भन्छ रु बालबालिकाका सबालमा कानुनले के भन्छ रु जस्ता कानुनी विषयका बारेमा विद्यार्थीलाई पढाउन जरुरी छ,’ अध्यक्ष केसीले भने, ‘त्यसैले देशको कानुनको बारेमा विद्यार्थीलाई जानकार गराउन हामीले यो प्रशिक्षण गर्न लागेका हौँ ।’

 

केसीका अनुसार कानुनसँगै विद्यार्थीहरूलाई ३ तहको सरकार तथा संघीयताका बारेमा पनि जनाकारी गराइनेछ । त्यसैका लागि डिएलए नेपाल अहिले प्रशिक्षकहरू तयार पार्नका लागि प्रशिक्षण गर्ने जुटेको छ ।

 

पहिलो चरणमा पाइलट परियोजनाअन्तर्गत काठमाडौँका ६६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनबारे कक्षा दिइनेछ भने बिस्तारै देशका ७५३ वटै स्थानीय तहका विद्यालयमा पुग्ने योजना रहेको केसीले बताए ।न्युज कारखाना

काठमाडौं, २ फागुन ।

प्रनिनिधिसभालाई  नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।

 

यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।न्युज कारखाना

काठमाडौं, २ चैत ।

राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

 

आयोग सदस्यहरु डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा दिएका हुन् ।

हाल अमेरिकामा रहेकी अनिताले उहीँबाट राजीनामा दिएकी हुन् । न्युज कारखाना

रौतहट, २  चैत।

नगदमा सम्झौता गर्ने उधारोमा होइन भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा  तलबको माग गर्दै  आन्दोलनरत शिक्षकहरू आज तेस्रो दिन पनि धर्ना जारी राखेका छन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि दुई दर्जन बढीको संख्यामा शिक्षक र शिक्षिका नगरपालिका अगाडी धर्नामा बसेका हुन्। खातामा तलब नगएसम्म अडान सहीत धर्ना बसेका ४ माबिका प्रधानाध्यापक सहीत १६ विद्यालयका प्रधानाध्यापकहरुले बार्षिक परीक्षा बहिष्कार गरेका थिए।

बहिष्कारको कारण केही विद्यालयमा परीक्षा सञ्चालन भएको छ भने केही विद्यालयमा स्थगित भएको छ। नगरक्षेत्रअन्तर्गत ३२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार बालबालिका मध्ये १६ विद्यालयका ३ हजार विधार्थी बार्षिक परीक्षामा सहभागी भएका छन भने त्यतिकै संख्यामा विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन्।

 

फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत प्रस्तावित सहित ७ माबि ४ निमाबी र २१ प्राथमिक विद्यालयमा कार्यरत २०४ शिक्षक कर्मचारी तथा अन्य क्षेत्रमा कार्यरत गरी ३५० कर्मचारी गत साउन देखि हालसम्म तलब पाएका छैनन्।

होली पर्व आउन मात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना कम देखिएको भन्दै नगरका शिक्षकहरू गत बुधवार बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्ना बस्दै आएका छन् ।  जबसम्म शिक्षक कर्मचारीको खातामा तलब जाँदैन बार्षिक परीक्षा सञ्चालन नगर्ने शिक्षकहरु बीच सहमतिअनुसार धर्ना जारी रहेको माबी बिजयपुरका प्रधानाध्यापक शंकर राय यादवले बताएका छन्।

 

कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले सम्पूर्ण शिक्षक कर्मचारीको तलब आगामी ४ गते आइतबार खातामा जाने निश्चित भएकाले विद्यार्थीको भविष्यको लागि परीक्षा सञ्चालन गर्न शिक्षकहरू लाई आग्रह गर्दै आएका छन्।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित गोपाल राय यादव नदी टेन्डरको मुद्दामा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजायको निर्णयसँगै उनको पद रिक्त भएपछि सोही पार्टीबाट निर्वाचित उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्।न्युज कारखाना

काठमाडौं, २ फागुन ।

१५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गर्दै बैठक अवरुद्ध गरे ।

कांग्रेस सांसद राजेन्द्रकुमार केसीले भने, ‘उहाँ (गृहमन्त्री रवि लामिछाने) पीडक हो हैन, त्यो थाहा छैन । तर, आरोप लागेपछि यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । जवाफ नआएसम्म सदन चल्दैन । सभामुखले रुलिङ गर्नुपर्छ ।’

यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्न खोजेपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरे । प्रतिपक्ष उभिएका बेला सदन अवरुद्ध मानिने भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले जवाफ नदिएर वेल घेर्न उक्साएको हो ?’ भनी प्रश्न गरे ।
यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तर, ४० मिनेट हुन लाग्दासम्म बैठक सुरु भएको छैन । न्युज कारखाना

काठमाडौं, २ चैत ।

रास्वपाका सांसद असिम शाहले आफ्नै पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठलाई खेलक्षेत्रका विषयमा प्रश्न गरेका छन् ।

 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? भन्दै प्रश्न गरेका हुन् । यसका साथै उनले दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो भन्दै पनि प्रश्न गरेका छन् ।

आफ्नै पार्टीबाट खेलकुदमन्त्री बनेका श्रेष्ठलाई प्रश्न गर्दै सांसद शाहले भने, ‘खेलकुदमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु– दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो ? टीयूको क्रिकेट ग्राउन्डमा फ्रडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोमा उनीहरूलाई स्वदेश फर्काउने तयारी के हुँदै छ ? संसारमा ई–स्पोर्ट्सले फड्को मारिसक्यो । हामीले पनि ई–स्पोर्ट्सलाई अगाडि बढाउन ढिला गर्न हुँदैन ।’

 

आफ्नै पार्टीका मन्त्री भए पनि जनताका प्रश्न निरन्तर उठाउने भन्दै उनले भने, ‘हामी पहिले प्रतिपक्षमा थियौँ । अहिले सत्तापक्षमा छौँ । हाम्रा आसन परिवर्तन भए पनि जनताको पक्षमा आवाज उठाइनै रहन्छौँ । उत्तर दिने ठाउँमा हाम्रा साथीहरू भए पनि निरन्तर हामी खबरदारी गरिरहनेछौँ ।’न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।