२०८३ असार २९
२०८३ असार २९

 

२२ चैत्र, महोत्तरी । 

बर्दिवास नगरपालिकाले रातु नदी ठेक्का लगाउने क्रममा नै शर्त विपरित ठेक्केदार कम्पनिसँग  सम्झौता गरेको खुलासा भएको छ । नगरले ठेक्का आव्हानको क्रममा राखेका शर्तहरुको उल्लघन गर्दै देव बिष्णु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिसँग सम्झौता गरेको खुलासा भएको हो ।

आन्तरिक आय ठेक्का सम्बन्धि शर्तहरुको ४ नं. बुद्दामा बर्दिवास नगरपालिकासँग आय तथा अन्य कारोवार सम्बन्धि मुद्दा मामिलामा सग्लन भएको, कार्यालयलाई बुझाउनुपर्ने वाकी वक्यौता रहेको, विगतका आर्थिक वर्षहरुमा सम्झौता गर्नमा सर्त राखी हानि नोक्सानी पुर्र्याएको र कालो सुचिमा परेको फर्म वा व्यक्तिलाई बोलपत्र स्वीकृत नगर्ने उल्लेख गरिएको छ ।

तर आर्थिक वर्ष २०७९÷८० मा सोही कम्पनिको बोलपत्र स्वीकृत गरी काम नगरेको र २०७९ को माहालेखा परीक्षकको रिपोर्टअनुसार आर्थिक बर्ष २०७८÷७९ मा देव बिष्णु कन्स्ट्रक्सनले नै २४ लाख ६७ हजार  बढी पेश्की वापतको रकम कार्यालयलाई  फर्स्यौट गर्न बाकि देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावाली २०७७ को नियम ४७ अनुसार तोकिएको म्यादभित्र काम गरेवापतको पेश्की फर्स्यौट गर्नुपर्ने व्यवस्था छ नत्र राजस्वमा हानि, नोक्सानी र राजस्व छली गरेको ठहरिन्छ । यसरी आन्तरिक आयकरमा हानिनोक्सानी गरेको देखिने उक्त कम्पनीसँग नै नगरले किन आफ्नै सर्तविपरित सम्झौता गर्र्यो भन्ने बिषय अहिले नगर क्षेत्रमा चर्चाको बिषय वनेको हो ।

अझ आर्थिक बर्ष २०७९÷८० मा देव बिष्णु कन्स्ट्रक्सन सप्लायर्सले रातु नदीको पथलैया खण्डको ठेक्काको सवैभन्दा बढी रकम  १ करोड ७१ लाख ५१ हजार कवोल गरेवापत नगरले बोलपत्र स्वीकृत गरेको थियो ।

स्वीकृतपछी सम्झौता गर्न नआएको उक्त कम्पनिलाई वित्तीय नियमअनुसार कालो सुचिमा राख्ने र दोश्रो कवोल गर्ने ठेक्केदारसँग सम्झौता गर्न सकिने व्यवस्था छ । तर यसका वावजुत पनि सोही कम्पनीलाई किन अहिले बोलपत्र स्वीकृत गरेर ठेक्का लगाइयो भन्ने बिषय थप पेचिलो वन्दै गएको छ ।

ठेक्केदार कम्पनीका संचालक श्याम पोखरेलले भने नगरलाई पेश्की फर्स्यौट बापत कुनै पैसा तिर्न वाकी नरहेको दावी गरेका छन ।

माहालेखा परिक्षकको रिपोर्ट नै गलत भएको वताउदै संचालक पोखरेलले नगरपालिकाको लेखा साखाले प्रमाणित गरे आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको वताए  । तर माहालेखा परिक्षकको रिपोर्टअनुसार बर्दिवास नगरपालिकाको विभिन्न ७  वटा ठाँउको उक्त पैसा फर्स्यौट गर्न वाकी देखिन्छ ।

संचालक पोखरेलले अघिल्लो पटक पाएको ठेक्कामा समेत नगरकै कारणले सम्झौता नभएको प्रष्ट वनाएका छन । ’कहिले हाकिमको सरुवा, कहिले हाकिम नै नआउने कारणले डेर महिना वित्यो अनि समय गुज्रीएपछि सम्झौता गर्न पाएनौ ।’ उनले भने ।

परिक्षकको रिपोर्टलाई नै आधार मान्ने हो भने नगरले लगाएको ठेक्का पुर्णतः शर्त विपरित देखिएको छ । आफैले सार्वजनिक गरेका शर्तहरु विपरित हुदा पनि देव बिष्णु कनस्ट्रक्सनसगैँ सम्झौता किन गर्नुप¥यो भन्ने बिषय आफैमा रहस्यमय देखिएको स्थानियहरु वताउछन । यही बिषय स्थानीय राजनीतिवृत्तमा समेत हल्लीखल्ली वनेको छ । नेकपा एमालेका नगर सचिव निरोज अधिकारीले यदी आफैले सर्त राखेर आन्तरिकरुपमा ठेक्का लगाएको हो भने नगर घेर्न तयार हुनुपर्ने वताए ।

शर्त उल्लंघन गरेर सम्झौता गरेको देखिएपछी माओवादी केन्द्र, नेपाली कांग्रेस र रास्वपाले समेत आपत्ति जनाएका छन । नगरले यो बिषय प्रष्ट नवनाए राजस्व छलीमा भएका यस्ता क्रियाकलापमा खवरदारी गर्ने वताए ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले भने यस बिषयमा अनविज्ञ रहेको जिकिर गरे । “म आउनु भन्दा पहिले नै भएको हुनाले के भएको रहेछ खोजी गर्नेछु ।” उनले भने । “सर्तहरु हेर्दा त यस्ता कम्पनि बोलपत्र स्वीकृतमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने छ, नगरप्रमुखसँग पनि छलफल गर्नेछु ।”

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने सम्झौता गर्न योग्य भएपछी नै सम्झौता गरिएको प्रतिक्रिया दिएका छन् । नदीजन्य पदार्थको राजस्व हेर्ने साखाका साखा प्रमुख नारायण सेनले आफु नया भएको र सम्झौता गर्दा विधिअनुसार नै गरेको जिकिर गरे ।

योजना साखाका साखा अधिकृत दिपक पौडेलले फर्स्यौट र असुल फरक भएको हुनाले पेश्कीको सम्बन्धमा फर्स्यौट भईसकेको हुन् सक्ने वताए । योग्य भएका ठेक्केदारहरुलाई बोलपत्रमा सहभागी गराएर सवैभन्दा बढी कवोल गर्नेको स्वीकृत गरिएको उनको भनाई छ ।

यता अघिल्लो पटक ठेक्का पाएर पनि काम नगरेको भन्ने बिषय नगर कै कारण नभएको सेनले प्रष्ट वनाएका छन । “ढिला भएपछी आईई रिपोर्टको  मिति गुज्रीयो अनि अघिल्लो आर्थिक बर्षको ठेक्का प्रक्रिया नै रद्ध भएको थियो ।” उन्ले भने । “समयमा नै सम्झौता गर्न नसकिएपछि आईई रिपोर्टको म्याद नै सकियो अनि नया आईई गरेर आ.व. २०८०÷८१ मा ठेक्का लगाइएको हो ।”

तर प्रमाणहरु हेर्दा गम्भीर त्रुटि भएको वताउदै वडा–३ का अध्यक्ष बिराट बिष्टले कार्यापालिका बैठकमा यो बिषयलाई जोडदाररुपमा उठाउने वताए ।  “सर्त बाझिनेगरी नगरले किन सम्झौता ग¥यो यस्लाई हामी खोतल्ने छौ ।” अध्यक्ष बिष्टले भने । “यदी त्यस्तो देखियो भने नगरले ठेक्का नै खारेज गर्नुपर्छ ।”

अर्का वडा अध्यक्ष पदम आलेमगरले पनि उक्त प्रक्रियाको बिषयमा ध्यानाकर्षण भएको जनाएका छन । आफैले वनाएका शर्तहरु उल्लंघन गर्नु गम्भीर अपराध भएको वताउदै नगरले यस्को जवाफ दिनुपर्ने वताए ।न्युज कारखाना

रौतहट,२१ चैत ।

एसईई परीक्षामा विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उनीहरुलाई बिभिन्न परिक्षाकेन्द्रबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार उनीहरूले सामाजिक सञ्जाल ह्वाट्स एपमा एसईई ग्रुप बनाएर परीक्षामा आएका प्रश्नपत्रहरू तथा सोको उत्तर समेतको विषयवस्तुहरू ह्वाट्स एप लगायतका विभिन्न सामाजिक सञ्जालमा आदान प्रदान गरी प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै आफू परीक्षा निरीक्षकको रूपमा खटी स्वयम् आफैले चिट चोर्न लगाउने लगायतको कार्य गरी परीक्षाको मर्यादा भङ्ग गरेको भन्दै प्रहरीले राजदेवी नगरपालिका–१ बस्ने श्री मा. वि. पथराका प्रधानाध्यापक ४५ वर्षीय उतिचन्द्र यादवलाई पक्राउ गरेको छ । त्यस्तै परीक्षा निरीक्षकको रूपमा खटेर चिट चोराउने श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रूपमा खटिएका २२ वर्षीय ललन राय यादव,  श्री पथरा बुधराम परीक्षा केन्द्रमा खटिएका ४८ वर्षीय राम अमोद प्रसाद यादव र  श्री शंकर मा.वि. सरमुज्वा परीक्षा केन्द्रमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ वर्षीय राकेश कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । उता श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा अनधिकृत रूपमा परीक्षा केन्द्रमा प्रवेश गरी चिट चोराएको आरोपमा प्रहरीले राजपुर नगरपालिका–१ बस्ने ३१ वर्षीय राम सोगारथ साहलाई पक्राउ गरेको छ । सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार उनीहरूलाई शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १(क) अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको छ ।

त्यस्तै मंगलबार परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा १२ जना पक्राउ परेका थिए ।

मंगलबार रौतहट जिल्लाको मौलापुर नगरपालिकाअन्तर्गत प्राथमिक विद्यालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई परीक्षा अनुगमन टोलीले मोबाइलमार्फत चिट चोरी गराउँदै गरेको अवस्थामा पक्राउ गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख राम विनय सिंहले जानकारी दिए ।

हाल सञ्चालन भइरहेको एसइई परीक्षालाई मर्यादित बनाउने उदेश्यले नियमित रुपमा परीक्षा अनुगमनको क्रममा अनुगमन टोलीले विभिन्न ३१ परीक्षा केन्द्रबाट अहिले १७०० थान मोबाइल जफत गरिएको जिल्लास्तरीय परीक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका जानकारी दिए ।

परीक्षा हलबाट चेकजाँच गर्ने क्रममा जफत गरिएको मोबाइल तथा चिट चोराउने कार्य गर्ने आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गरी कÞानूनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।न्युज कारखाना

 

 

सिरहा २० चैत।

सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत्त कर्मचारीले काम नै नगरी तलव भत्ता बुझने गरको पाइएको छ। गाँउपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादब र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादबले घरै बसी–बसी तलव भत्ता बुझने गरेको पाइएको हो।

राजनीति पहुँचक र चिनजातका भरमा दुबै कर्मचारीले काम नै नगरी तलबभत्ता बुझ्ने गरेको त्यहि कार्यरत एक कर्मचारीले बताए। नाम नबताउने सर्तमा ती कर्मचारीले भने, ‘दुबैजना कार्यालय हाजिर गर्न मात्र आउँछन्। कार्यालय प्रमुख र गाँउपालिका अध्यक्षलाई राजनीतिक दवावमा पारेर निर्वाधरुपमा तलव भत्ता लिने गरेका छन्।’

तत्कालिन जिल्ला विकास समितिमा नायव सुव्वा (पाँचौ) तहमा अस्थायी सेवाका कर्मचारी महेन्द्र यावदलाई गाँउपालिका स्थापना भएको केहि दिनमै सरुवा गराएर आएको प्रशासकीय अधिकृत रामप्रवेश यादवले जानकारी दिए।

उनले भने, ‘गाउँपालिकामा महेन्द्र सर अहिले प्रशासन शाखामै वस्दै आएको छ। केही वर्ष अगाडि उहाँलाई राजस्व शाखाको जिम्मेवारी दिईएको थियो। तर, राजस्व हिनामिना गरीएको विषयमा विवादित भएकोले उनलाई अहिले प्रशासन शाखामै राखीएको छ।’
उनले थपे, ‘हामी तिनजना कर्मचारी प्रशासन शाखामा छौ, यो शाखामा खासै कामपनि हुदैन। तर वहाँ कार्यालय आउनुहुन्छ।’

कार्यलय आएपनि हाजिर गरेर बाहिर व्यतिmगत काममा व्यस्त रहने गुनासो आएको विषयमा प्रशासकीय अधिकृत यादवले केहि प्रतिकृया दिन चाहेनन्।

त्यसैगरी, गाँउपालिका स्वास्थ्य संयोजक राम सेवकलाई पोषण सहजकार्ताको बारेमा जिज्ञासा राख्दा ‘विगतमै लक्ष्मी कुमारी यादबलाई पोषण कार्यक्रम सयम् सेवकको रुपमा राखिएको थियो। अहिले मन्त्रालयले सहजकार्ताको रुपमा तलव भत्ता खुवाउने भनिएको छ। उनले भने, ‘पालिकाले मन्त्रालयको निर्देशनानुसार तलव खुवाउदै आएको सहजकार्ताले वर्षमा दशवटा कार्यक्रम मात्र गर्नुपर्ने भएकोले पालिकामा नबसेपनि तलव खुवाउनुपर्ने हुन्छ। तोकिएको कार्यक्रम बाहेक अरु काममा लगाउन पनि मिल्दैन।’

उनले थपे, ‘गाँउपालिका अध्यक्षको निरहताको कारण पालिकाले गति लिन सकिरहेको छैन। गाँपा अध्यक्ष सत्यनारायण यादवलकै कारण पालिकामा कामगर्ने वातावरण विग्रदै गईरहेको छ।’

गाँपा अध्यक्ष यादवले कर्मचारीलाई राजनितिक कार्यकर्ताको रुपमा चलाउन खोजेको कर्मचारीहरुको गुनासो रहँदै आएको छ। ‘कर्मचारीहरुले नीयम कानुन विपरित प्रेसर गरेर काम गर्न लगाएपछि कर्मचारी कसरी काम गर्छ?’ कर्मचारीहरुको प्रश्न छ।

कार्यालयमा विरलै देखापर्ने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहलाई कर्मचारीको विषयमा प्रतिक्रिया लिन उनले प्रयोग गर्ने कार्यालयको नम्वर ९८५२८३४७५९ र व्यक्तिगत नम्वरमा फोन गरेपनि मोवाइल स्चि अफ थियो।

यता, कर्मचारी द्वयको वारेमा गाँपा अध्यक्ष सत्यनारायण यादवसंग कुरा गर्न खोज्दा उनी ‘यो विषयमा पछि कुरा गर्छु भन्दै पन्छिए। उनले भने, ‘यो कर्मचारीको विषयमा तपाईं कार्यालय तिरै आउनुस्, हामी सँगै बसेरै कुरा गरौंला भन्दै फोन काटे।’

तत्कालिन गाउँपालिका अध्यक्ष जागेस्वर यादबको पालामा राजस्व हिनामिना गरेको भन्दै २०७८ सालमै महेन्द्र यादवको जिम्मेवारी खोसिएको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए। उनले भने, ‘जिम्मेवारी खोसिए देखी हालसम्म उनलाई गाँपाले कुनै जिम्मेवारी दिएको छैन। यादब प्रत्येक दिन पञ्जिकरण शाखामा गएर हाजिर गरेर  बाहिर जानु हुन्छ। त्यतिकै हाजिरी बनाएर आउ–जाउ गरेरै तलब बुझिरहेका छन।’ न्युज कारखाना

चैत्र २० वीरगन्ज ।

वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका २६ बर्षिय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ बर्षिय सरफराज अन्सारी रहेका छन् । दुवै जनालाई वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले सोमबार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक बोगटीका अनुसार, गत शुक्रबार वीरगन्ज १० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरि राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत ककर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अन्सारीले दिएको बयान दिएपछि सोमबार बेलुकी नै प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरी निरक्षिक बोगटीले जानकारी दिए ।अन्सारीको साथबाटपनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बोगटीले बताए ।

दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साामा बुझाइएको बोगटीले जानकारी दिए ।न्युज कारखाना

 

 

 

चैत्र २० रौतहट ।

जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्डलाई पक्राउ गरेको छ ।

रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।

शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अहिले सबै भन्दा बढ़ी मधेशका जिल्लाका एसईई परीक्षामा चिट चोराउने देखि प्रश्न पत्र बाहिरिने गरेका घटनाहरु सार्वजनिक हुँदै आएको छ । न्युज कारखाना

राैतहट,१९ गते चैत । 

रौतहटको राष्ट्रिय बनमा लागेको आगोको कारण लाखौ मूल्य बरावर काठ जलेर नस्ट भएको छ । सोमबार दिउँसो १ बजे देखि डिभिजन बन कार्यालय क्षेत्रमा घाटगद्दी गरी राखिएको ५० चट्टा भन्दा बढ़ी काठ जलेर नस्ट भएको छ ।

दिन भरी चलेको तेज हावाको कारण लागेको आगो नियन्त्रणमा लिन समस्या भएको डिभिजन बन कार्यालय रौतहटका सुचना अधिकारी बन अधिकृत विमल ठाकुरले बताएका छन ।

गैड़ाटार सब डिभिजन क्षेत्र बाट कटान गरी विक्रीको लागि राखिएको सालको काठमा आगो लागेको छ । आगो नियन्त्रणको लागि गौर नगरपालिका , चन्द्रपुर नगरपालिका ,सर्लाहीको हरिवन नगरपालिका ,बाराको निजगढ र कोल्बीबाट बारुण यन्त्र प्रयोग गरिए पनि आगो पूर्ण रुपमा नियन्त्रण हुन नसकेको ठाकुरले बताए ।

विधुत प्रसारण लाइन मुनि परेको रुखहरु काटेर करीव ४ बर्ष पहिला पूर्व पच्छिम राजमार्ग छेउमाँ  घाटगद्दी गरेर राखिएको कुकाठको चट्टामाँ लागेको आगो नियन्त्रणको लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी र बन सुरक्षाकर्मी  प्रयासरत रहेका छन ।

सुख्खा मौषम शुरू भएकोले बनमा डढेलो लाग्ने जोखिम उच्च रहेको देखिदा पनि बन कार्यालयले सर्तकता अपनाउनमा ध्यानकेंद्रित गर्न सकेका छैन । प्रत्येक बर्ष आगलगीको घटना हुने गरेको छ । २९ हजार ४ सय हेक्टरमा रहेको बन क्षेत्रमा डढेलो रोक्नको लागि ९ जना मात्र अग्नि नियंत्रक नियुक्त गरेका छन ।

 

सिरहा, १९ चैत ।

सिरहाको विष्णुपुर गाउँ कार्यापालिकाको कार्यालय होटलबाटै सञ्चालन हुने गरेको छ। कार्यालय विरलै जाने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले गोलबजारका होटलहरूबाटै कार्यालय चलाउँदै आएको हो।

अधिकृत सिंह कार्यालय नगई महत्वपूर्ण कागजात र चेकहरूसमेत बोकेर लेखाका कर्मचारीलाई गोलबजारको होटलहरुमा बोलाउने गरेको विष्णुपुरका एक सेवा ग्राहिले बताए। विद्यालयका प्रधानाध्यापक समेत रहेका उनले भने, ‘हामी प्रशासकीय अधिकृतलाई काम विशेषले कार्यालय पुग्दा कहिल्यै भेटिनु हुन्न। उहाँ कार्यालय बाहिरै बसेर काम गर्न रुचाउनु हुन्छ। कार्यालय किन आउनु हुन्न हामीले जान्नै सकेका छैनौं।’

यतिमात्र हैन गाउँ पालिकाका अध्यक्षसँग हुने छलफल र काजगात मिलान समेत होटलमा गरिने गरेको स्रोतले जनाएको छ। पछिल्लो पटक गत शुक्रबार कार्यालयको समयमा पालिका अध्यक्ष, आर्थिक शाखाका एक कर्मचारी र प्रशासकीय अधिकृतको गोप्य बैठक गोलबजारको एक होटलमा बसेको स्रोतको दावी छ।

गाउँ पालिकाको गत वर्षको १८ नम्वर फायलको तीन करोडभन्दाबढी भुक्तानी दिनुपर्ने भएपनि प्रशासकीय अधिकृत कार्यालय नबस्दा काम हुन नसकेको वडा अध्यक्षहरुको गुनासो रहेको छ। वडा नम्वर ३ का वडा अध्यक्ष जय कुमार यादवले आफ्नो वडाको पनि काम गरेको भुक्तानी लिन बाँकी रहेको बताए। उनले भने, ‘काम भएको ८/९ महिना वितिसक्यो, उपभोक्ताको त्यत्रो लगानी लागेको छ। अधिकृत कार्यालयमा नबस्दा उपभोक्ताको लगानी फसिरहेको छ।’

अर्का एक वडा अध्यक्षले नाम नखोल्ने सर्तमा अध्यक्षले गराएको एउटा विवादित कामको भुक्तानीको विषयमा कुरा नमिल्द अहिलेसम्म १८ नम्वरको भुक्तानीमा समस्या भएको बताए। उनले भने, ‘अध्यक्ष त्यसको भुक्तानी नभई अरुको हुँदैन भन्ने अडान लिएपछि सवैको भुक्तानी रोकीएको छ।’

यहिँ भुक्तानीहरुको विषयमा आर्थिक बार्गेनिङ गर्न गाउँ पालिका अध्यक्ष र प्रशासकीय अधिकृत सिंहको विष्णुपुर बाहिरका होटलहरुमा गोप्य बार्ता हुनेगरेको स्रोतले जनाएको छ।

पालिकाले लाखौं रकम खर्चेर प्रशासकीय कार्यालय, अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यालय, बैठक तथा सभाकक्षहरु भडामा लिएका छन्। सुविधा सम्पन्न कार्यालय, सबारी सुविधा हुँदाहुँदै प्रशासकीय अधिकृत सिंह कार्यालय भने विरलै जाने गरेको सा्रेतको दावी छ।
आर्थिक प्रशासन शाखाका सहायक कर्मचारी गंगा प्रसाद यादवले कहिलेकाही विशेष अवस्थामा मात्र सरले बोलाएको ठाउँमा चेक सहितका फायल लिएर जाने गरेको स्विकारेका छन्। उनले भने, ‘कहिले काही विशेष अवस्थामा मात्र जाने गरेको हो। अर्को कुरा हामी कर्मचारीलाई हाकीमले बोलाएपछि त जानै पर्छ।’

गाउँ पालिका उपाध्यक्ष गीता कुमारी सिंहले प्रशासकीय अधिकृत नियमित कार्यालय नआउने गुनासो आउने गरेको बताए। उनले भने, ‘म सँगपनि सेवा ग्राहिहरुले प्रशासकीय अधिकृतको विषयमा गुनासो गर्ने गरेको छ। यस विषयमा एक पटक भेटेको बेलामा कुरा गरेको थिएँ तर, उहाँले वास्ता गर्नु भएन। उहाँका यस्ता गुनासा धेरै छन्।’

‘यस विषयमा फोन गरेर कुरा गर्ने प्रयास गरे पनि हाकीमले कहिल्यै फोन उठउदैन; उपाध्यक्ष सिंहले भने, ‘मैले फोनमा पनि कुरा गर्न खोजे, कहिल्यै फोन नै उठ्दैन।’

गाउँ पालिका अध्यक्ष सत्य नारायण यादवले पालिकामा केही समस्याहरु रहेको भन्दै आज बस्ने कार्यपालिकाको बैठकबाट समाधान गर्ने प्रयास हुने बताए। उनले भने, ‘पालिकामा केही समस्या त छ। त्यसैको लागि हामी आज कार्यपालिका बस्दै छौं। समाधानको प्रयास गर्दै छौं।’

यस विषयमा बुझ्न प्रशासकीय अधिकृत सिंहलाई पटक पटक फोन गर्दा पनि उठेन र म्यासेज गर्दा पनि त्यसको कुनै प्रतिकृया आएन। न्युज कारखाना

बारा
नेकपा एमाले बाराको ११ औं जिल्ला अधिवेशन आज सोमबार १९ गतेदेखि सुरु हुँदै छ । एमाले बाराको जिल्ला अध्यक्षको लागि भरत बहादुर भण्डारीले आकांक्षा देखाएका छन् ।

शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख हुन । उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन ।

अध्यक्षको आकांक्षा देखाएका भण्डारीको जन्म २०२५ भदौ ३ गते भएको हो । भण्डारीको राजनीतिक जीवन १३ वर्षको किशोर अवस्थाबाट सुरु भएको हो । २०३७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका भण्डारी २०४१ देखि २०४२ सम्म अनेरास्ववियु बारा जिल्ला सदस्य भएका थिए । त्यसपछि उनी २०४५ देखि २०४६ सम्म वीरगञ्जको ठाकुरराम क्याम्पसको अनेरास्ववियु सदस्यसमेत भएका थिए ।

२०४७ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको संघठित पार्टी सदस्यता प्राप्त गरेका भण्डारीले २०४९ देखि २०६३ सम्म गाँउ कमिटीको सचिब रही पार्टीको जिम्मेवारी पुरा गर्दै आएका थियो । २०६७ साल देखी भण्डारी ४ कार्यकाल जिल्ला कमिटी सदस्य रही सचिवालयको जम्मेवारी निर्वाह गरेका थियो भने २०७९ बाट उनी बारा क्षेत्र १ को संयोजक समेत हुन ।

राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारी २०५९ बाट २०७० सम्म श्री नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय सपहिको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ४ कार्यकालको जिम्मेवारी पुरा गरे । उनै भण्डारी २०६८ बाट २०७१ सम्म सपहि कलेजको संस्थापक अध्यक्ष समेत भएका थिए ।

भण्डारीले २०६४ देखे २०७१ सम्म तामागढी साझेदारी वन व्यवस्थापन समितीको उपाध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल काम गरेका थिए । राजनीतिक जीवन बाहेक सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारीको लोकप्रयताका कारण उनले २०७४ को स्थानिय निर्वाचनमा कोल्हवी नगरपालीकाको प्रथम निर्वाचीत नगर प्रमुख भएका थिए ।

राजनिति गर्ने मान्छेले निस्वार्थ राजनिति गर्नुपर्छ भन्ने भण्डारीको धेय छ । राजनिति भन्दैमा सबैले गर्न नसकिने भएको हुदाँ समस्या संग चल्न र जुध्न सक्ने क्षमताको व्यक्तीले मात्र जिल्ला चलाउन सक्ने भएको हुदाँ भण्डारी नेतृत्व लिन तयार छन् ।

पछिल्लो समय राजनितिलाई कमाउने भाँडो बनाइदिदा सिंगो राजनिति गर्ने ब्यक्ती बदनामित भइरहेको भण्डारी बताउँछन् । ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गरिदिदा जनतामा राजनिति गर्नेमाथीको बिश्वास घटेको हो । स्वार्थ राखेर धेरै पछिसम्म टिक्दैन निस्वार्थ काम गर्नका लागी सबैले मिल्नुपर्नेमा भण्डारीको जोड छ ।

भण्डारी राजनितिलाई कमाई खाने भाँडो बनाउने परम्परालाई तोड्ने पक्षमा छन् । उनी आफै ब्यवसाय संगसंगै राजनिति गर्ने भएको हुदाँ ब्यक्तीगत स्वार्थमा निहित भएर राजनिति गनुपर्ने बाध्यतामा उनि छैनन् ।

गलत काममा लाग्नेलाई सतर्क गराउने देखी दुख पिडामा परेका ब्यक्तीहरुलाई सहयोग गर्ने सम्मका काममा भण्डारी जहिलेपनि अगाडी हुन्थे । निरन्तर राजनितिमा लागेका भण्डारी बिभिन्न पटक पार्टीको आन्तरिक चपेटामा समेत परेका थिए तर उनि निरन्तर जनतासंगै काममा ब्यस्त हुन्थे । बाराको चारवटै क्षेत्रमा उनि निकै सक्रिय छन् ।

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने भण्डारी त्यसैले कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्छन् । पार्टीमा सादा जीवन र सोच भएका धेरै सदस्यहरु रहेको बताउने भण्डारी पार्टी नेतृत्व र जनता बिचको ग्याप घटाउँदै रुपान्तरणको अनुभूति जनताका जीवनमा गराउनुपर्नेमा संकल्पित छन् ।

चार दशकदेखि राजनीतिको अनवरत यात्रामा रहेका भण्डारी यस क्षेत्रका शान्त, सरल र पार्टी नेतृत्वसंग नजिकको पहिचाज राख्ने नेताका रुपमा परिचित छन ।न्युज कारखाना

 

र्खेसुत , १९ चैत ः

सत्ता साझेदार दलहरुको बीचमा सहमति नहुँदै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि प्रदेशसभामा पत्र पठाएका छन् । चैत २० गते विश्वासको मत लिने भन्दै उनले प्रदेशसभामा पत्र पठाएको उनका प्रेस विज्ञ प्रतिक इच्छुक शर्माले जानकारी दिए । सत्ता साझेदार माओवादी र एमालेको बीचमा ठोस सहमति नहुँदै कांग्रेसले सत्ता छाडेको महिना दिन पुग्न लागेको भन्दै विश्वासको मत लिन लागेको शर्माले बताए । कर्णालीको मुख्यमन्त्रीमा माओवादी र एमाले दुबैको दाबी कार्यमै रहेको छ ।

यो समाचार तयार पर्दा सम्म कुनै सहमति नभएको माओवादी केन्द्रका कर्णाली इन्चार्ज कालीबहादुर मल्लले बताए । माओवादीको आधार इलाका रुपमा रहेको कर्णालीमा एमाललेलाई पहिलो चरणमा मुख्यमन्त्री दिन नसक्ने उनको भनाई छ । एमालेका साथीहरुले पहिला पनि विश्वासको मत दिनुभएको हो , अहिले पनि सोही आधारमा तिनै मन्त्रालय लिएर जादा राम्रो हुने हो उनले भने । कर्णालीका मुख्यमन्त्री शर्मा नेकपा ( माओवादी केन्द्र)का उपमहासचिव जनार्दश शर्मा निकट मानिन्छन् । त्यसैले पनि जर्नादनले माओवादीको पदाधिकारीको बैठकमा समेत कर्णाली माओवादीले नै लिनुपर्ने दबाब प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई समय ,समयमा धम्क्याउने र फरक विचार राख्न खप्पिस जर्नादनको यो पटकको सुत्रले काम गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी रहेको छ ।

अर्का उपमहासचिव तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले यो विषयमा खोलेका छैनन् । हत्तपत्त नबोल्ने , यदि बोल्नै परे हिसाब गरेर बोल्ने बस्नेत प्रदेशको भागबण्डाका विषयमा अहिले सम्म कुनै प्रतिक्रिया दिएको देखिदैन । गुट निर्माणमा ध्यान नदिने बस्नेत सबैलाई हुन्छ भनेर मात्र जवाफ दिने गर्दछन् । एमालेका यूवा नेता विष्णु रिजालले कुनै पनि हालतमा एमालले कर्णालीको नेतृत्व लिन पाउनुपर्ने बताएका छन् । हामी ठुलो दल भएर पनि केन्द्रमा माओवादीलाई दिएका छौँ भने कर्णालीमा हामी तेस्रो दल भएपनि कर्णालीमा पहिलो नेतृत्व गर्न पाउनुपर्ने उनको भनाई छ ।

कर्णालीको माओवादी समेत दुइ भागमा बिभाजन भएको देखिन्छ । मुख्यमन्त्री शर्माले काम गर्न नसकेको , कर्मचारी परिचालनमा फेल भएको भन्दै पार्टी तथा संसदीय दलको बैठकमा समय ,समयमा चर्को अलोचना हुने गर्दछ । शर्मा सरकारको नेतृत्वमा रहेका केही मन्त्रीहरु पुरै गुमनाम नै रहेको भन्दै जागिर खाना मात्र सरकारका मन्त्री भएको आरोप समेत लाग्ने गरेको छ । बजेट कार्यान्वनमा समेत कम्जोर मात्र होइन , भूकम्पको समयमा समेत प्रभावहिन रहेको भन्दै कर्णाली प्रदेशसभामा प्रदेशसभा सदस्य राजिव विक्रम शाहले केही दिन अघि सरकारको जवाफ माग समेत गरेका थिए । एमालेबाट मुख्यमन्त्रीका दाबेदार यामलाल कडेलले मुख्यमन्त्री जसरी नि बन्नुपर्ने भन्दै कम्मर कसेर लागेको पाइएको छ । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वन्ध राम्रो नभएको चर्चा हुने कँडेलको यो पटक मुख्यमन्त्री बन्नका लगि कसरी राजनीतिकको कोर्ष अगाडी बढ्छ हेर्न भने बाँकी रहेको छ ।न्युज कारखाना

सिरहा, १७ चैत।

सिरहामा ट्राफिक प्रहरीको अबैध असुलि धन्दा अझै रोकीन सकेको छैन्।

 

व्यापक असुलि गरेको गुनासो बढेपछि सरकारले विद्युतिय भुक्तानी प्रणालि लागु गरे पनि सिरहा ट्राफिक प्रहरीको असुलि धन्दा अझै रोकिन नसकेका हुन्।

 

पूर्व पश्चिम राजमार्गमा चल्ने हल्का यात्रुवाहक सवारी साधान (म्याजिक, विङ्गर), बजार क्षेत्रबाट गाउँ पुर्याउने तीन पाङ्ग्रे सवारी साधान, ओभरलोड बोक्ने ट्रक–टिफर, ट्याक्टरहरुसँग मासिक असुलि गर्ने प्रकृया अझै नरोकिएको व्यसायीहरु बताउँछन्।

 

म्याजिक र विङ्गरहरुले क्षमताभन्दा बढी बोक्न पाउने सुविधा बापत व्यवसायी संघबाटै प्रत्येक महिनामा एक मूष्ट रकम जाने गरेको नाम नबताउने सर्तमा एक सवारी संघका पदाधिकारीले बताए। उनले भने, ‘यसरी नै चल्दै आएको छ। दक्षिण नटक्र्याए विभिन्न बाहानामा दुख दिने गर्छ। त्यसैले पनि सवैबाट थाेरै थोरै उठाएर हामीले ट्राफिकलाई दिने गरेका छौं।’

 

यो प्रकृया जिल्लाका सवै ट्राफिक पोष्टमा त जान्छ नै लहान देखि बर्दिवास सम्मका ट्राफिक मिलाउनु पर्ने बाध्यता रहेको उनले बताए।

 

दिनभरी गाडी चलाएर ड्राईभर, खलासी, तेलको लागत कट्टा गरी मुस्किलले हजार १५ सय हात पर्ने गरेको लहान वर्दिबास चल्ने एक म्याजिक व्यवसायीले बताए।  उनले भने, ‘दिनभर सडकमा गाडी कुदेर घर फर्कदाँ आफ्नो हातमा पर्ने रकमको टुङ्गो हुँदैन तर, संगठनमा रकम बुझाउनै पर्छ।’

 

त्यसैगरी, ओभरलोड गरेर सिरहाक्षेत्रमा हिड्ने प्रत्येक ट्रकले मासिक एक देखि दुई हजार, ट्याक्टले एक हजार देखि १५ सय सम्म बुझाउनु पर्ने बाध्यता नै रहेको व्यसायीहरु गुनासो गर्छन्।

व्यवसायीहरु बताउँछन, ‘थोरै लोड गरे पनि पोसाउँदैन, ओभरलोड गर्दा अलिकति फाईदा हुन्छ की भन्ने हो। त्यो पनि बाटोको ट्राफिक नमिलाई हुन्न्।’

 

आर्थिक मन्दिका कारण मुस्किलले उद्योग चलाईरहेका सिरहाका इँटा व्यसायीहरु ट्राफिक प्रहरीको असुलि धन्दाको मारमा परेको बताउँछन्। उनीहरुले आफ्नो इँटा पुग्ने रुटमा सिजनको बेला प्रत्येक महिना १५ सयदेखि तीन हजार एउटा ट्राफिक विटमा बुझाउनु परेको गुनासो गर्छन्।

‘थोरै इँटा लग्दा पोस आउँदैन, ड्राईभर तिनै पर्यो, तेल खर्च भईनै हाल्छ। अलिकति बढी लोढ गर्यो ट्राफिक मनाउनै पर्यो जताबाट पनि व्यवसायी नै मारमा पर्छन्,’ इँटा व्यसायी प्रमोद सिंहले भने, ‘यस्तै हो सवैले चल्नै पर्यो मिलाएर काम गर्नै पर्छ। काम गर्ने भए पछि कतिसँग नियम कानुनको कुरा गर्दै हिड्ने।’

 

सिरहामा ५५ भन्दा बढी इँटा उद्योगको करिव तिन सय ५० वटा ट्याक्टर नियमित चल्ने गरेको छ। त्यतिकै संख्यामा सीमेन्ट उद्योगमा चल्ने ट्रक, टिफर छन्। साना सबारीको संख्या भने हजारको आसपासमा रहेको व्यसायीहरु  बताउँछन्।

न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।