२०८३ बैशाख १२
२०८३ बैशाख १२

बारा

प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा पाण्डेले ३ सय ७७ मतका साथ पाण्डे विजयी भए भने उनका प्रतिस्पर्धी सुवेदीले ३ सय ४३ मत ल्याएकी छन् । निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिब अध्यानन्द पाण्डे नेतृत्वको लागि प्रतिस्पर्धा भएको थियो । दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका हुन् जसमा अध्यक्ष बाहेक सम्पुर्ण पदाधिकारीमा भने सुवेदीको प्यानलनै निर्वाचित भएको छ ।

उपाध्यक्षमा ३ सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले ३ सय ४० मत ल्याएका छन् ।

सचिवमा ३ सय ६३ मतका साथ अमृत शर्मा बजगाई विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले ३ सय २७ मत पाएका छन् ।

उपचचिवमा जवाहिर अंसारी ३ सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले ३ सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य ३ सय ६८ मतका साथ विजयी भएकी छन् भने कमला घिमिरेले ३ सय २५ मत ल्याएकी छन् ।

नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ बाट सुरु भएको नेकपा एमालेको ११ औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्ननसकेपछि २३ गते शुक्रबार रातिभरी मतदान भएको थियो ।न्युज कारखाना

रौतहट,२४ चैत ।

भर्खरै सकिएको एसइइ परीक्षामा विद्यार्थीले चिट चोर्नका लागि प्रयोग गरेका मोबाइलहरु सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको छ ।

यस वर्ष रौतहटमा एसइइ परीक्षामा व्यापक रूपमा डिजिटल चोरी मौलाएको भन्दै सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट करिब ३ हजार मोबाइल बरामद गरेको थियो ।  बरामद गरिएका मोबाइलहरू शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सम्बन्धित स्थानमा रहेका प्रहरी चौकी मार्फत सम्बन्धित विद्यार्थीहरुलाई वितरण गरेको थियो । प्रहरीले ३ हजार मोबाइल सेटहरू सम्बन्धित विद्यार्थीलाई वितरण गरेको जनाएको छ ।

रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीले चिट चोर्ने प्रयोजनका लागि परीक्षा हलभित्र लगेका मोबाइलहरु सुरक्षा निकायले बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुर मातहतका विभिन्न प्रहरी चौकी मार्फत बरामद गरिएका मोबाइलहरू सम्बन्धित विद्यार्थीलाई फिर्ता गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।

अघिल्ला वर्षहरूमा हुने एसइइ परीक्षामा ब्ल्याकबोर्डमै लेखाएर चिटचोराउने प्रचलन रहिआएकोमा यस वर्षबाट मोबाइलबाटै शिक्षकहरूले चोरी गराएको आरोप लागेको थियो । यस वर्ष व्यापक रूपमा डिजिटल चोरी भएको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले विभिन्न परीक्षा केन्द्रमै प्रवेश गरेर विद्यार्थीहरूबाट ३ हजार  सेट मोबाइल बरामद गरेको थियो ।

डिजिटल चोरी गराउनेमा अधिकांश रौतहट जिल्लाका निजी शैक्षिक संघ संस्थाहरू रहेको एक तथ्याङ्कले देखाएको पाइएको छ । एक अभिभावकका अनुसार निजी बोर्डिङमा महँगो शुल्क तिरेर पनि चिट चोराएर एसइइ पास गराउनु भन्दा सरकारी विद्यालयमै पढाउनु फाइदा छ । चन्द्रनिगाहपुरका विभिन्न निजी विद्यालयहरूले सेटिङ मिलाएरै परीक्षा केन्द्र तथा कोठामा चिर चोराएको आरोप लागेपछि अभिभावकहरूको मन निजी स्कुलबाट कुँडिएको बुझिएको छ ।न्युज कारखाना

 

दाङ, २३ चैत ।

लुम्बिनिको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

 

नेपालको संबिधानको धारा १६८ उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख अमिक शेरचनले जानकारी दिए ।न्युज कारखाना

 

महाेतरी, २३ चैत ।

मधेशमा दिनानुदिन पानीको संकट गहिरिदो छ । भएका मुहानहरु सुक्न थालेका छन भने भूमिगत पानीको सतह गहिरिएर यथास्थानमा रहेका इनारहरु काम नलाग्ने अवस्थामा पुगेका छन् ।

 

तर मधेशमा पानीको अभाव सिर्जना हुनुको कारण मध्ये मसलाको रुखलाई समेत दोष देखाउन थालिएको छ ।

 

झण्डै ५ दशकअघि सागरनाथ वन परियोजनाले भित्र्याएको यो रुख कै कारण मधेश मरुभुमिकरण तर्फ उन्मुख भएको  किसानहरुले गुनासो गर्न थालेका हुन ।

 

“जब–जब यो मसलाको बिरुवा लगाइयो, तब पानीको चरम अभाव सिर्जना हुँदै गयो,” बर्दिवास हातिलेटका पदम मगरले भने, “मलाई लाग्छ पानी सुक्नुको प्रमुख कारण यही नै हो ।”

 

पानी पाईरहने ठाउँहरुमा मसलाको रुख रोपे पछी पाउँन छाडेको मगरको अनुभव छ । रुख ठूलो बनिसकेको ठाउँमा एक किलोमीटरसम्म उर्वरभुमी समेत बन्झर बनेको बताउदै यँही रुखको कारण नै पानी र माटोलाई समेत असर गरेको उनकाे दावी छ ।

 

अन्य रुखको तुलनामा अग्लो र मोटो हुने हुँदा स्वभाविकरुपमा एउटा रुखले दैनिक ६२ लिटरसम्म पानी सोस्न सक्ने विज्ञहरु स्विकार गर्छन् ।

 

पर्यावरणविद डा. विजय सिंहका अनुसार  पानीका दृष्टिकोणले मसलाको रुख मधेशमा हानिकारक नै भएतापनी किसानहरुको लागी व्यवसायिक उत्पादनमा महत्वपूर्ण रहेको वताउछन ।

 

“यो जातको रुख कत्तिको हानिकारक छ भन्ने बिषय बैज्ञानिक ढंगले अनुसन्धान गर्न जरुरत छ ।” उन्ले भने । “मधेशमा पानीको समस्या गहिरिदो छ,  किसानले गरेको गुनासोमा अध्यण गर्न सक्नुपर्छ ।”

 

तर विभिन्न अध्यणले भने मसलाको रुख पर्यावरणीय हिसावले हानिकारक नै हुने निष्कर्ष निकालेका छन ।

 

अमेरिकाको नेसनल लाईवेरी अफ मेडिसिनले समेत पातहरुमा एसिड हुने हुँदा माटोको उर्वरासक्तीमा ¥हास आउने र पानी वढी सोस्ने निष्कर्ष निकालिएको छ । लाईवेरीको अनुसार भुमिगत पानीमा यस्ले गहिरो असर पु¥याउने गर्दछ परिणामस्वरूप मसलाको रुख भएको ठाउँमा पानीको अभाव चुलिदै गएको छ ।

 

अमेरिकाको नेसनल लाईवेरी अफ मेडिसिनले तयार गरेको रिपोर्ट :

https://www.ncbi.nlm.nih.gov/pmc/articles/PMC9885803/#:~:text=Environmental%20groups%20are%20concerned%20about,allopathic%20impacts%20of%20Eucalyptus%20spp

 

बिज्ञहरुले यो रुखलाई पर्यावरण विरोधीकोरुपमा उभ्याएका छन । पारिस्थितिक प्रणाली तथा जैविक प्रणालीको हिसावले अरुको अस्तित्व स्विकार गर्न नसक्ने वताउदै पर्यावरणविद नागदेव यादवले मधेशवाट यो रुखलाई बिस्थापन गर्नुपर्ने वताउछन ।

 

“यो रुखमा चराचुरुङ्गीले त बासस्थान बनाउदैनन त्यसमाथी किरा, पतङ्गसमेत भेटिदैन । त्यसैले यो रुखलाई पर्यावरण विरोधी हो भन्न सकिन्छ,” उनले भने, “भुमिगत पानीको मुहान समेत यो रुखले सखाप बनाईरहेको देखिन्छ ।”

 

यादवको जस्तै एक अनुसन्धानले पनि एक वयस्क रुखले ६२ लिटरभन्दा बढी दैनिक पानी खपत गर्ने वताएको छ ।

 

सन १९९३ मा युएनको फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्यणमा ४ सय एमएल देखि१२ सय एमएलसम्म बार्षिक वर्षा नहुने ठाउँमा यो रुखलाई पुर्ण प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको छ ।

 

अध्यणमा यो रुखले अक्सिजनमा समेत खासै सहयोग नगर्ने उल्लेख गरिएको छ ।अध्यणअनुसार अझ तापक्रम असन्तुलन वनाईराख्ने हुदा जलवायु परिवर्तनमा समेत न्यून भुमिका खेल्ने देखिएको छ । देख्दा सदावहार हरित देखिएतापनी यो अध्यणले समेत पानीको लागि निक्कै हानिकारक हुने वताईएको छ ।

 

फुड एण्ड अग्रिकल्चर अग्रानाईजेसन अफ युनाइटेड नेसनले   तयार गरेको रिपोर्ट :

https://www.fao.org/3/ac777e/ac777e0a.htm

 

केही बर्ष अगाडीसम्म मधेशमा यो रुख लगाउन अभियान नै चलाईएको थियो । “आली–आलीमा सपेता गरिबी वेपत्ता” भन्ने मुल नाराका साथ मधेशका सागरनाथ वन परियोजना देखि व्यक्तिगत जग्गामा समेत मसलाका रुखहरु व्यापक लगाउन थालियो ।

 

सागरनाथ वन परियोजना र जिल्ला वन कार्यालयको अनुसार अहिले मधेशमा करौडौ संख्यामा मसलाका रुखहरु फैलाईएको छ । अष्ट्रेलियाका लेखक एलन रुटले पनि आफ्नो आर्टिकलमा यो रुख पानीका लागि भने हानिकारक हुन् सक्ने वताएका छन । यो रुखको उत्त्पत्ति पनि अष्ट्रेलियामा नै भएको मानिन्छ ।

 

लेखक रुटका अनुसार अष्ट्रेलियाको सिमसार र दलदल भएको ठाँउलाई सुख्खा वनाउन यो रुख लगाइएको थियो । पछी केहि बर्षमा नै सिमसार क्षेत्रलाई यसले सुख्खा वनाईदियो । त्यसपछि ब्राजिलको सिमसार क्षेत्रमा लगाउन सुरु गरियो । छिटो बढने र अन्य रुखको तुलनामा अग्लो, मोटो हुने हुदा आयआर्जनका दृष्टिकोणले फाइदाजनक भएपछी विश्वभर फैलाईएको पाइन्छ । अहिले विश्वका ६७ भन्दा बढी देशमा यो रुख लगाइएको विज्ञहरु वताउछन ।

 

मसलाको रूखलाई अरू भूभागमा सार्नुमा अष्ट्रेलियाका  डा. एडमन्डो नाभारु डे आन्ड्राडेको ठूलो योगदान रहेको वताइन्छ । ब्राजिलको विनाश हुँदै गएको जंगललाई पुनः घना जंगल बनाउने अठोट गरेर १९१० मा उनले अस्ट्रेलियाबाट मसलाको रूखको आयात गर्न थाले । तीमध्ये ३ करोड ८० लाखको वृक्षारोपण उनि आफैले गरेका थिए ।  ब्राजिलमा मात्र दुई अरबभन्दा बढी मसलाका रूखहरू रहेको वताईन्छ ।

 

यो रुख पानि र पर्यावरणीय हिसावले हानिकारक नै छ भन्ने बिषयलाई पछिल्लो समय अष्ट्रेलियाको सरकारले समेत महसुस गरेको देखिएको छ । यो रुख कै कारण पर्यावरणमा हानि पुगेको बिषयलाई मध्यनजर गर्दै ३ लाख वर्गमिटरमा फैलिएका रुखहरुलाई विस्थापन गरिएको अष्ट्रेलियाको वाइल्डरनेस सोसाइटीले पुष्टि गरेको छ ।

 

पहिले त अष्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पति भएको मानिन्छ ।

 

भारतमा १८४३ मा नै यो रुख भित्रिएको पाइएको छ ।  बेलायती नागरिकले  तामिल नाडूमा लिएर रोपेपछि भारत लगायत यसको बिरुवा नेपाल सम्म विस्तार भयो । सागरनाथ वन परियोजनाले २०३० को दशकमा नेपालमा भित्र्याएको थियो ।

 

पछी सरकारले यस्लाई नीति नै वनायो । तराईमा “आली–आलीमा सपेता, गरिवी वेपत्ता” भन्ने नारा नै वनाईएको थियो । मधेशमा मसलाको रुखलाई सपेता पनि भन्ने गरिन्छ । वृक्षारोपण गरेपछि ४ बर्षको अवधीमा किसानहरुको अनुभव अनुसार यस्ले भयावह असर पुर्र्याईरहेको छ ।

 

उर्वारासक्ति क्षीण वनाउने, पानीको मात्रा सोसेर मरुभूमिकरणमा सहयोग गर्ने, प्रज्वलनशिल हुने हुदा आगलागीमा सहयोग पुर्र्याउने, अक्सिजनको मात्रा न्यून हुने, उत्पादनमा कमि आउदा किसानहरु नियमित खेतिपातिवाट पलायन हुनुपर्ने अनेकौ समस्या सिर्जना भएको किसानहरुको गुनासो छ ।

 

यहीँ रुखका कारण मधेशका कतिपय पालिकाहरुमा किसानहरुले विस्थापन गरिदिन निवेदन समेत दिएको पाइएको छ । २०७६ सालमा बर्दिवासमा बसेको प्रदेश समन्वय समिति वैठकमा समेत मसलाको विरुवा विस्थापन गर्नुपर्ने माग गरिएको थियो ।

 

यसै क्रममा धनुषाको मिथिला नगरपालिकाले त प्रस्ताव नै पेश गर्र्यो । उपप्रमुखले पेशा गरेको उक्त प्रस्तावमा मसलाको विरुवालाई रोक्न कानुन नै वनाउनुपर्ने माग गरिएको थियो ।

रुखले किसानहरुको पानी र वालीनालीमा गम्भीर असर परेको वाक्लै निवेदन आएपछि नगरासभावाट हटाउने र वरु फलफूलको विरुवा रोप्ने नगरासभावाट नै पास गराएको वताइएको थियो ।

 

महोत्तरीको बर्दिवास नगरपालिकाको विषयलाई लिएर पनि किसानहरुले गुनासो गर्न थालेका छन् । अघिल्ला नगरप्रमुख विदुर कुमार कार्कीले कतिपय सार्वजनिक कार्यक्रमहरुमा मसलाको रुख निषेध गर्नुपर्ने वाताएतापानी नीतिगतरुपमा भने पास हुन सकेको थिएन । अहिले पनि उक्त गुनासाहरु बढ्दै गएको उपप्रमुख तारादेवी महतोका सहयोगी विष्णुदेव महतो वताउछन ।

 

“हामिकाँहा पनि वाक्लाई निवेदन आउँन थालेका छन न्यायिक समितिमा । यस्को बिषयमा कसरि अगाडी बढने भन्ने योजना वनाउदै छौ ।”  उन्ले भने । “नगरको दक्षिणी क्षेत्रमा यो ठुलो समस्याकोरुपमा खडा हुदै छ ।”

 

उदारवादी अर्थतन्त्रको प्रभाव

 

मसलाको रुख नेपालमा भित्र्याउनु सक्ति राष्ट्रको स्वार्थ रहेको विज्ञहरु दावी गर्छन । वैज्ञानिक समाजवादीका नेता मदन प्रभात सन् १९९० पछि उदारवादी अर्थतन्त्रको प्रभावमा सरकारले चुरे भावर क्षेत्रमा सागरनाथ वन परियोजनाको नाममा लाखौँ हेक्टरमा युक्लिप्टस (भिक्स)को बिरुवा लगएको दावी गर्छन ।

 

चाँडै आम्दानी दिने बिरुवाको नाममा चारकोसे झाडीको सखुवाका रूख मासेर दलदले जमिनलाई सुक्खा बनाउन मसलाको बिरुवा लगाएर नेपाली वन क्षेत्रमा उदारवादी अर्थतन्त्रको प्रयोग गर्नु नै सवैभन्दा दुखद भएको उनको भनाई छ ।

“भावर क्षेत्रलाई मात्र होइन, माथिल्लो चुरे र तल्लो मधेसलाई नै वातावरणीय रूपमा यस्लेअसन्तुलित बनायो ।” उन्ले भने । “बितेका २०÷२५ वर्षमा त्यो वनस्पतिले पारेको नकारात्मक प्रभावलाई हामीले नियालिरहेका छौँ, यतिवेला । ०४८÷०४९ तिर सागरनाथ वन परियोजनामा बेर्नाका रूपमा छिरेको मसलाको बिरुवा आज चुरे र मधेसको कुन गाउँ र टोलमा नपुगेको होला र ? तत्काल यसले ५÷७ वर्षमा आम्दानी दिए पनि कालान्तरमा यसले कृषि, पर्यावरण र वातावरणमा पारेको प्रभावलाई केलाउने हो भने आजै गएर त्यो रूख काटौँजस्तो हुन्छ ।”

 

नेपाली समाजको परम्परागत वनपैदावारलाई मासेर विदेशी अनुदान र सहुलियत ऋणका लोभमा लगाइने यी र यस्ता अन्य वनस्पतिले पर्यावरणलाई कस्तो असर पारेको छ ? भन्ने सरकारीस्तरबाट नै अविलम्ब अनुसन्धान गर्न जरुरी देखिएको थाहायात्राका सम्पादक समेत रहेका प्रभातको सुझाव छ ।न्युज कारखाना

 

दाङ, २३ चैत ।

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग सुनिश्चित देखिएको छ ।

 

महरालाइ मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । जस अनुसार नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको जनाइएको छ ।

 

जस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आइतबारसम्ममा महरालाइ मुख्यमन्त्री नियुक्ति गर्नेछन् । न्युज कारखाना

चन्द्रनिगाहपुर,२३ चैत ।

रौतहटको वनमा भीषण आगलागी भएको छ ।

 

वन कर्मचारीको चरम लापरवाहीका कारण रौतहटको वनमा भीषण आगलागी भएको हो ।

 

चन्द्रनिगाहपुरदेखि धनसर खोलासम्मको बनमा भीषण आग लागि भइरहेको भएपनि त्यसलाई नियन्त्रणमा लिने तर्फ वन कार्यालयले कुनै तदारुक्ता नदेखाएको स्थानीय बासिन्दाले बताएका छन् । चार दिन पहिला सो वनमा भएको आगलागीमा करिब ४० चट्टा सखुवाको दाउरा जलेर नष्ट भएको थियो ।

 

वनमा लागेको डडेलो वन कर्मचारीले नियन्त्रणमा लिनका लागि कुनै पनि प्रयास नगरेका कारण सो दाउरा जलेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । पुन बिहिबार सो क्षेत्रमा लागेको डडेलो नियन्त्रणमा आउन नसक्दा सो स्थानमा ८ गते गरी राखिएको अन्य काठ समेत जल्ने अवस्थामा पुगेको स्थानीय बासिन्दाले बचाएका छन् ।

 

डिभिजन वन कार्यालय रौतहटमा कार्यरत कर्मचारीहरूको चरम लापरवाहीका कारण रौतहटको घना वनमा आगलागी भएको स्थानीयको आरोप छ । संघ सरकार र प्रदेश सरकारले डडेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रौतहटमा पठाएको पैसा समेत वन कर्मचारीले एक दिन ¥याली निकालेर स्वाहा पारेको स्वयं वन कर्मचारीहरूले बताएका छन्  ।

 

डढेलो नियन्त्रणका खातिर प्रचारप्रसार गर्नको लागि र चेतनामूलक कार्यक्रम गर्नका लागि डिभिजन वन कार्यालय रौतहटमा संघ सरकार र प्रदेश सरकार मातहतका वन मन्त्रालयले रकम पठाएको भएपनि सो रकम डिभिजन वन कार्यालय रौतहटले एक दिन चेतनामूलक र्याली गरेर सकेको वन कर्मचारीहरूले बताएका छन् ।

 

वन कर्मचारीहरूको चरमलापारवाहीका कारण वनमा लागेको डडेलोका कारण जङ्गली जनावरको बासस्थान समेत नष्ट भएको छ । वनमा डडेलो लाग्दा जङ्गली जनावरहरू गाउँ छेउमा पुग्ने र बाली खाने गरेका कारण स्थानीय बासिन्दाले जंगली जनावरको सिकार समेत गर्दै आएका छन् ।

 

डिभिजन वन कार्यालय रौतहटमा यतिबेला कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म सबै रौतहटका स्थानीय कर्मचारी भएका कारण कसैलाई कसैलाई नटेर्ने गरेको वन कर्मचारीहरूको दाबी छ । डढेलो नियन्त्रणका लागि पनि ऊ जाने त्यो जाने भन्दै वन कर्मचारीहरू पन्छने गरेका कारण रौतहटको वनमा पछिल्लो समय भीषण आगलागि हुँदा लाखौं बराबरको काठ दाउरा समेत जलेर नष्ट भएको छ ।

 

डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत बिमल ठाकुरले वनमा लागेको आगो नियन्त्रणका लागि आफूहरूले सक्दो प्रयास गरिरहेको बताएका छन् । रौतहटको वनमा लागेको आगो नियन्त्रणमा नआउँदा त्यसबाट निस्किएको प्रदूषणका कारण गाउँ तथा बजारको वातावरण नै तुवालोमय भएको छ ।

 

वनमा लागेको डडेलोको तुवालोले सर्वसाधारणको आँखामा गम्भीर असर परिरहेको चन्द्रनिगापुरमा रहेको सिम्स अस्पताल प्रालीका डाक्टर रामकिशोर शाहको भनाइ रहेको छ ।न्युज कारखाना

 

बैतडी, २३ चैत ।

बैतडीको पाटन नगरपालिका वडा न. ८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् । यस्तै अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ । से २ त ३६७८ नम्बरको ट्याक्टर हिजो राती नै दुर्घटना भएको बताइएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

घटनाको बिषयमा थप अनुसन्धन भैरहेको  प्रहरीले जनाएको छ । न्युज कारखाना

 

बारा, २३ चैत ।

नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दिुई जनासहित ११ जनाले उम्मेदवारी दिएका थिए ।

 

अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक जना सचिव पदका लागि एम समिउल्लाह, अमृत शर्मा बजगाई (सुजन) र भिखारी साह विद्रोहीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोकुल घोरसाईनेले जानकारी दिए ।

दुई जना उपसचिव पदका लागि खुल्ला र महिलातर्फ गरी चार जनाको उम्मेदवारी परेको छ । जसमा जवाहिर अंसारी र धनिराम चौधरी गरी चार जनाले खुल्ला तर्फ उम्मेदवारी परेको छ भने महिला तर्फ कमला घिमिरे र भावना आर्चायले उम्मेदवारी दिएका छन् ।

 

एमालेको जिल्ला कमिटी ५ पदाधिकारीसहित एक सय ३५ सदस्यीय हुनेछ जसमध्य अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १२५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ भने बार्की दश जनालाई मनोनित गरिने बताईएको छ ।

 

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे हुदाँ निर्वाचन तालिका भन्दा केही ढिलाइ भएको एमाले निर्वाचन समितिले जनाएको छ । अन्तिम नामावली प्रकाशित भईसकेको हुँदा भोली शुक्रबार बिहान ८ बजेदेखि मतदान हुने प्रमुख निर्वाचनअधिकृत महम्मद रफिक मियाँले बताए । अधिवेशनमा १६ पालिकाबाट आठ सय ३० जना प्रतिनिधिहरू मतदाता रहेका छन् ।

 

नेताहरुले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाएपनि भित्रभित्र आफ्नो गुटको पक्षमा लबिङ गरेकाले मतदानबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो । अधिवेशनको उद्घाटन सत्रमा बोल्ने पार्टी वरिष्ठ अपाध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरुले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशन स्थलमा सहभागी नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

 

नेकपा एमालेका नेता तथा कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले उमेदवारी दर्ता नगर्न दवाब दिएको भण्डारीले बताए । ‘म केही समयबाट अध्यक्ष पदका निम्ती तयारी गरिरहेको थिए, तयारी राम्रो थियो तर मनोनयन दर्ताको एकदिन अघिबाट नेताहरुले दवाब दिए । कतिसम्म भने अध्यक्ष ओलीबाट समेत फोन आएपछि मैले मनोनयन दर्ता गरिन ।’ भण्डारीले भने, जिल्ला कमिटी बनाउन बालकोट सचिवालयबाट चलखोल भईरहेको छ ।

 

अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेले आफूले पार्टीलाई अनुकुल बनाउन तिन पटक अध्यक्षको पदका निम्ती प्रयास गर्दा समसहमतका निम्ती तिनै पटक सचिब भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेशसभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको, पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिकरुपमा पारदर्शी मितव्यवयी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल अध्यक्ष भई काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।

अर्का उम्मेदवार टिना सुवेदीले पार्टीलाई थप बलियो बनाउन आफू अध्यक्षमा आउन चाहेको बताएकी छिन् । निवतमान जिल्ला उपाध्यक्ष सुवेदीले महिलालाई जिल्लाको नेतृत्वमा गएर काम गर्नसक्छन भने अदाहरण बन्न र जिल्लामा रहेर निकै लामो समय काम गरेका कारण यो पटक अध्यक्षमा दावी गरेको बताईन । निवतमान जिल्ला उपाध्यक्ष सुवेदी अध्यक्ष ओली निकट मानिन्छन् ।

एमाले मधेश प्रदेशका सचिब मनोज पौडेलले भने,‘प्रदेश अधिवेशन सहमतिमा गर्ने मुख्य नेताहरूको पहल निकै भएको हो । तर, अब सम्भव नहुने अवस्थामा आइपुगेको छ । सायद अब मतदाननै हुन्छ । निर्वाचनमा प्रदेश अध्यक्षका लागि पार्टीका नेताहरू पाण्डे र सुवेदीले स्वस्थ प्रतिस्पर्धा गर्नुहुन्छ ।’

बारामा ओली निकट मानिने एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वाला साह एक तर्फ छन । अध्यक्षका उम्मेदवार टिना सुवेदी पोलिटब्युरो सदस्य मैनालीका श्रीमती हुन भने सचिव पदका उम्मेदवार अमृत शर्मा बजगाई (सुजन) पोलिटब्युरो सदस्य ज्वाला साहका श्रीमान हुन । उनीहरुलाई परिवारबादमा लागेको आरोप समेत मतदाताले लगाएका छन ।  उनीहरुको जिल्लामा व्यापक बिरोध समेत भईरहेको छ ।

यता एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल अर्को तफ रहेका छन । उनले अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेलाई समर्थन गरेका छन । नेकपा एमालेका नेताहरु आफुनिकटका व्यक्तीहरूलाई अध्यक्षमा जिताउने रणनीतिमा सक्रिय बनेका छन । कतिपयले यो निर्वाचनलाई नेताहरुको शक्ति परीक्षणको रुपमा पनि हेरेका छन ।न्युज कारखाना

 

२२ चैत्र, महोत्तरी । 

बर्दिवास नगरपालिकाले रातु नदी ठेक्का लगाउने क्रममा नै शर्त विपरित ठेक्केदार कम्पनिसँग  सम्झौता गरेको खुलासा भएको छ । नगरले ठेक्का आव्हानको क्रममा राखेका शर्तहरुको उल्लघन गर्दै देव बिष्णु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिसँग सम्झौता गरेको खुलासा भएको हो ।

आन्तरिक आय ठेक्का सम्बन्धि शर्तहरुको ४ नं. बुद्दामा बर्दिवास नगरपालिकासँग आय तथा अन्य कारोवार सम्बन्धि मुद्दा मामिलामा सग्लन भएको, कार्यालयलाई बुझाउनुपर्ने वाकी वक्यौता रहेको, विगतका आर्थिक वर्षहरुमा सम्झौता गर्नमा सर्त राखी हानि नोक्सानी पुर्र्याएको र कालो सुचिमा परेको फर्म वा व्यक्तिलाई बोलपत्र स्वीकृत नगर्ने उल्लेख गरिएको छ ।

तर आर्थिक वर्ष २०७९÷८० मा सोही कम्पनिको बोलपत्र स्वीकृत गरी काम नगरेको र २०७९ को माहालेखा परीक्षकको रिपोर्टअनुसार आर्थिक बर्ष २०७८÷७९ मा देव बिष्णु कन्स्ट्रक्सनले नै २४ लाख ६७ हजार  बढी पेश्की वापतको रकम कार्यालयलाई  फर्स्यौट गर्न बाकि देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावाली २०७७ को नियम ४७ अनुसार तोकिएको म्यादभित्र काम गरेवापतको पेश्की फर्स्यौट गर्नुपर्ने व्यवस्था छ नत्र राजस्वमा हानि, नोक्सानी र राजस्व छली गरेको ठहरिन्छ । यसरी आन्तरिक आयकरमा हानिनोक्सानी गरेको देखिने उक्त कम्पनीसँग नै नगरले किन आफ्नै सर्तविपरित सम्झौता गर्र्यो भन्ने बिषय अहिले नगर क्षेत्रमा चर्चाको बिषय वनेको हो ।

अझ आर्थिक बर्ष २०७९÷८० मा देव बिष्णु कन्स्ट्रक्सन सप्लायर्सले रातु नदीको पथलैया खण्डको ठेक्काको सवैभन्दा बढी रकम  १ करोड ७१ लाख ५१ हजार कवोल गरेवापत नगरले बोलपत्र स्वीकृत गरेको थियो ।

स्वीकृतपछी सम्झौता गर्न नआएको उक्त कम्पनिलाई वित्तीय नियमअनुसार कालो सुचिमा राख्ने र दोश्रो कवोल गर्ने ठेक्केदारसँग सम्झौता गर्न सकिने व्यवस्था छ । तर यसका वावजुत पनि सोही कम्पनीलाई किन अहिले बोलपत्र स्वीकृत गरेर ठेक्का लगाइयो भन्ने बिषय थप पेचिलो वन्दै गएको छ ।

ठेक्केदार कम्पनीका संचालक श्याम पोखरेलले भने नगरलाई पेश्की फर्स्यौट बापत कुनै पैसा तिर्न वाकी नरहेको दावी गरेका छन ।

माहालेखा परिक्षकको रिपोर्ट नै गलत भएको वताउदै संचालक पोखरेलले नगरपालिकाको लेखा साखाले प्रमाणित गरे आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको वताए  । तर माहालेखा परिक्षकको रिपोर्टअनुसार बर्दिवास नगरपालिकाको विभिन्न ७  वटा ठाँउको उक्त पैसा फर्स्यौट गर्न वाकी देखिन्छ ।

संचालक पोखरेलले अघिल्लो पटक पाएको ठेक्कामा समेत नगरकै कारणले सम्झौता नभएको प्रष्ट वनाएका छन । ’कहिले हाकिमको सरुवा, कहिले हाकिम नै नआउने कारणले डेर महिना वित्यो अनि समय गुज्रीएपछि सम्झौता गर्न पाएनौ ।’ उनले भने ।

परिक्षकको रिपोर्टलाई नै आधार मान्ने हो भने नगरले लगाएको ठेक्का पुर्णतः शर्त विपरित देखिएको छ । आफैले सार्वजनिक गरेका शर्तहरु विपरित हुदा पनि देव बिष्णु कनस्ट्रक्सनसगैँ सम्झौता किन गर्नुप¥यो भन्ने बिषय आफैमा रहस्यमय देखिएको स्थानियहरु वताउछन । यही बिषय स्थानीय राजनीतिवृत्तमा समेत हल्लीखल्ली वनेको छ । नेकपा एमालेका नगर सचिव निरोज अधिकारीले यदी आफैले सर्त राखेर आन्तरिकरुपमा ठेक्का लगाएको हो भने नगर घेर्न तयार हुनुपर्ने वताए ।

शर्त उल्लंघन गरेर सम्झौता गरेको देखिएपछी माओवादी केन्द्र, नेपाली कांग्रेस र रास्वपाले समेत आपत्ति जनाएका छन । नगरले यो बिषय प्रष्ट नवनाए राजस्व छलीमा भएका यस्ता क्रियाकलापमा खवरदारी गर्ने वताए ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले भने यस बिषयमा अनविज्ञ रहेको जिकिर गरे । “म आउनु भन्दा पहिले नै भएको हुनाले के भएको रहेछ खोजी गर्नेछु ।” उनले भने । “सर्तहरु हेर्दा त यस्ता कम्पनि बोलपत्र स्वीकृतमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने छ, नगरप्रमुखसँग पनि छलफल गर्नेछु ।”

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने सम्झौता गर्न योग्य भएपछी नै सम्झौता गरिएको प्रतिक्रिया दिएका छन् । नदीजन्य पदार्थको राजस्व हेर्ने साखाका साखा प्रमुख नारायण सेनले आफु नया भएको र सम्झौता गर्दा विधिअनुसार नै गरेको जिकिर गरे ।

योजना साखाका साखा अधिकृत दिपक पौडेलले फर्स्यौट र असुल फरक भएको हुनाले पेश्कीको सम्बन्धमा फर्स्यौट भईसकेको हुन् सक्ने वताए । योग्य भएका ठेक्केदारहरुलाई बोलपत्रमा सहभागी गराएर सवैभन्दा बढी कवोल गर्नेको स्वीकृत गरिएको उनको भनाई छ ।

यता अघिल्लो पटक ठेक्का पाएर पनि काम नगरेको भन्ने बिषय नगर कै कारण नभएको सेनले प्रष्ट वनाएका छन । “ढिला भएपछी आईई रिपोर्टको  मिति गुज्रीयो अनि अघिल्लो आर्थिक बर्षको ठेक्का प्रक्रिया नै रद्ध भएको थियो ।” उन्ले भने । “समयमा नै सम्झौता गर्न नसकिएपछि आईई रिपोर्टको म्याद नै सकियो अनि नया आईई गरेर आ.व. २०८०÷८१ मा ठेक्का लगाइएको हो ।”

तर प्रमाणहरु हेर्दा गम्भीर त्रुटि भएको वताउदै वडा–३ का अध्यक्ष बिराट बिष्टले कार्यापालिका बैठकमा यो बिषयलाई जोडदाररुपमा उठाउने वताए ।  “सर्त बाझिनेगरी नगरले किन सम्झौता ग¥यो यस्लाई हामी खोतल्ने छौ ।” अध्यक्ष बिष्टले भने । “यदी त्यस्तो देखियो भने नगरले ठेक्का नै खारेज गर्नुपर्छ ।”

अर्का वडा अध्यक्ष पदम आलेमगरले पनि उक्त प्रक्रियाको बिषयमा ध्यानाकर्षण भएको जनाएका छन । आफैले वनाएका शर्तहरु उल्लंघन गर्नु गम्भीर अपराध भएको वताउदै नगरले यस्को जवाफ दिनुपर्ने वताए ।न्युज कारखाना

रौतहट,२१ चैत ।

एसईई परीक्षामा विद्यार्थीहरूलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उनीहरुलाई बिभिन्न परिक्षाकेन्द्रबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार उनीहरूले सामाजिक सञ्जाल ह्वाट्स एपमा एसईई ग्रुप बनाएर परीक्षामा आएका प्रश्नपत्रहरू तथा सोको उत्तर समेतको विषयवस्तुहरू ह्वाट्स एप लगायतका विभिन्न सामाजिक सञ्जालमा आदान प्रदान गरी प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै आफू परीक्षा निरीक्षकको रूपमा खटी स्वयम् आफैले चिट चोर्न लगाउने लगायतको कार्य गरी परीक्षाको मर्यादा भङ्ग गरेको भन्दै प्रहरीले राजदेवी नगरपालिका–१ बस्ने श्री मा. वि. पथराका प्रधानाध्यापक ४५ वर्षीय उतिचन्द्र यादवलाई पक्राउ गरेको छ । त्यस्तै परीक्षा निरीक्षकको रूपमा खटेर चिट चोराउने श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रूपमा खटिएका २२ वर्षीय ललन राय यादव,  श्री पथरा बुधराम परीक्षा केन्द्रमा खटिएका ४८ वर्षीय राम अमोद प्रसाद यादव र  श्री शंकर मा.वि. सरमुज्वा परीक्षा केन्द्रमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ वर्षीय राकेश कुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । उता श्री सरस्वती मा.वि. पिपरा परीक्षा केन्द्रमा अनधिकृत रूपमा परीक्षा केन्द्रमा प्रवेश गरी चिट चोराएको आरोपमा प्रहरीले राजपुर नगरपालिका–१ बस्ने ३१ वर्षीय राम सोगारथ साहलाई पक्राउ गरेको छ । सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार उनीहरूलाई शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १(क) अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको छ ।

त्यस्तै मंगलबार परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा १२ जना पक्राउ परेका थिए ।

मंगलबार रौतहट जिल्लाको मौलापुर नगरपालिकाअन्तर्गत प्राथमिक विद्यालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई परीक्षा अनुगमन टोलीले मोबाइलमार्फत चिट चोरी गराउँदै गरेको अवस्थामा पक्राउ गरेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख राम विनय सिंहले जानकारी दिए ।

हाल सञ्चालन भइरहेको एसइई परीक्षालाई मर्यादित बनाउने उदेश्यले नियमित रुपमा परीक्षा अनुगमनको क्रममा अनुगमन टोलीले विभिन्न ३१ परीक्षा केन्द्रबाट अहिले १७०० थान मोबाइल जफत गरिएको जिल्लास्तरीय परीक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका जानकारी दिए ।

परीक्षा हलबाट चेकजाँच गर्ने क्रममा जफत गरिएको मोबाइल तथा चिट चोराउने कार्य गर्ने आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गरी कÞानूनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।