धनगढी मंसिर ८
— सुदूरपश्चिममा तीन वर्षमा २ सय २६ जना एचआईभी संक्रमितले ज्यान गुमाएका छन् । नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेकाको नै मृत्यु भएको हो । मृत्यु हुनेमा ७२ महिला र १ सय ५४ पुरुष रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृतकको यो तथ्यांक स्वास्थ्य संस्थाको सम्पर्कमा रहेकाहरूको मात्रै अभिलेख हो ।
आर्थिक वर्ष २०७९/८० मा उपचारमा रहेका ६४ जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष २०७८/७९ मा मृत्यु हुनेको संख्या ७९ रहेको थियो भने २०७७/७८ मा उपचारमा रहेका ८३ जना एचआईभी संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार २०७९/८० मा सबैभन्दा बढी कैलालीमा मृत्यु भएको तथ्यांक छ ।
कैलाली सेती प्रादेशिक अस्पतालमा नियमित औषधोपचारमा रहेका १८, मालाखेती अस्पतालमा ६ र टीकापुर अस्पतालमा ८ गरी ३२ जनाको मृत्यु भएको हो । तीमध्ये ११ महिला, २० पुरुष र एक यौनिक तथा लैंगिक अल्पसंख्यकको मृत्यु भएको हो । २०७८/७९ मा मालाखेती अस्पतालमा उपचाररत संक्रमितको मृत्यु संख्या शून्य थियो । तर, सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा भने त्यस वर्ष मृतक संख्या गत आर्थिक वर्षको भन्दा बढी थियो । सेतीमा २६ र टीकापुर अस्पतालमा १२ जना संक्रमितको मृत्यु भएको थियो ।
गत आर्थिक वर्षमा डोटीमा १३ जना संक्रमितको मृत्यु भएको छ । बझाङमा चार, बाजुरामा दुई, बैतडीमा तीन, दार्चुला, डडेलधुरा, कञ्चनपुरको महाकाली अस्पतालमा एक/एक जना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिममा कैलालीपछि बढी संख्यामा प्रभावित देखिएको डोटीमा अघिल्लो आर्थिक वर्षमा भन्दा २०७९/८० मा मृतकको संख्या बढेको छ । २०७८/७९ मा आठ जना संक्रमितको मृत्यु भएको थियो ।
निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझाका अनुसार गत आर्थिक वर्षमा प्रदेशका सरकारी स्वास्थ्य संस्थाबाट ७ हजार १ सय ३ जनामा परीक्षण गर्दा १ सय ७३ संक्रमित फेला परेका थिए भने विभिन्न संघसंस्थाले गरेका परीक्षणबाट ८१ नयाँ संक्रमित फेला परेका थिए । बाजुरामा भदौ महिनामा मात्रै चार जना नयाँ संक्रमितको पहिचान भएको छ ।
हाल सुदूरपश्चिमका एआरटी केन्द्रमा औषधि सेवन गर्नेको संख्या ३ हजार ६ सय २६ रहेको छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी औषधि सेवनकर्ता कैलालीमा छन् । कैलालीको सेती प्रादेशिक अस्पतालमा १ हजार १९, मालाखेती अस्पतालमा ३ सय ३७, टीकापुर अस्पतालमा ५ सय ६३, अछाममा १ सय ९१, बयालपाटामा २ सय ४, चौरमाडौंमा १ सय ३ र कमलबजारमा ९४ जना एआरटी सेवनकर्ता रहेको तथ्यांकमा उल्लेख छ । यस्तै बाजुरामा ६२, बझाङमा ८९, डडेलधुरामा ६१, जोगबुढा अस्पतालमा ४७, डोटीमा ४ सय ८५, बैतडीमा ९६, दार्चुलामा ४२, मालाखेतीमा ३ सय ३७, दोदोधरामा ७८ र केशरपुरमा २५ जना संक्रमितले एआरटी केन्द्रबाट औषधोपचार सेवा लिइरहेका छन् ।
संक्रमितले प्रत्येक दिन एउटै समयमा एआरटी केन्द्रबाट औषधि सेवन गर्नु अनिवार्य हुन्छ । तर, एकाबिहानै खालि पेटमा औषधि सेवन गर्नुपर्दा कमजोर हुने गरेको संक्रमितहरू बताउँछन् । ‘सबैको घरमा औषधि सेवन गर्नुअघि खाने कुराको व्यवस्था हँॅदैन,’ बाजुरा प्लसकी अध्यक्ष मीना विकले भनिन् । चिकित्सकहरू पनि कुनै पनि रोगको उपचारमा खाली पेटमा र खानेकुरा खाएर मात्र सेवन गर्नुपर्ने निश्चित औषधि हुने बताउँछन् । ‘कुनै पनि दीर्घरोगीलाई पोषिलो खानेकुराको जरुरत अरुभन्दा बढी हुन्छ नै,’ सेती प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले भने, ‘संक्रमितहरूले पनि पोषिलो खानेकुरामा ध्यान दिनैपर्ने हुन्छ । खालि पेटमा औषधि सेवन गर्नु राम्रो हुँदैन ।’
रोगसँग जुध्नका लागि गरिबी नै प्रमुख बाधक भएको बाजुरा प्लसकी अध्यक्ष विकको भनाइ छ । ‘सरकारले संक्रमितहरूको गास, बास, कपास, रोजगारी, शिक्षा र स्वास्थ्यमा प्राथमिकता दिनुपर्छ,’ उनले भनिन्, ‘हामीलाई त जे भयो भयो, हाम्रा बालबच्चाको शिक्षा र भविष्यको चिन्ता छ ।’
राष्ट्रिय एड्स रणनीति, २०१६–२०२१ मा ‘नयाँ संक्रमण संख्या ५० प्रतिशतले घटाउने, बालबालिकामा नयाँ संक्रमण ९० प्रतिशतले कम गराउने, एड्ससँग सम्बन्धित मृत्युदर २५ प्रतिशतले कम गराउने रहेकामा जनस्वास्थ्यको चुनौतीका रूपमा रहेको एड्स इपिडेमिकलाई २०३० सम्ममा अन्त्य गर्ने’ उल्लेख छ । तर, सुदूरपश्चिममा संक्रमितको संख्या नघट्नु चुनौतिपूर्ण भएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझा बताउँछन् ।
रोजगारीका लागि भारत जानैपर्ने बाध्यताका कारण एचआईभी संक्रमण फैलने क्रममा सुधार हुन नसकेको उनको भनाइ छ । ‘रोग लुकाउने चलन अझै छ । कतिपय संक्रमित स्वास्थ्य संस्थाबाट सम्पर्कविहीन हुने प्रवृत्ति पनि कायमै छ,’ उनले भने, ‘संक्रमितहरू सिकिस्त भएर अन्तिम समयमा मात्र उपचारका लागि सम्पर्कमा आउने भएकाले पनि समस्या भइरहेको छ ।’
धनगढी, १८ कार्तिक ।
सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
शनिबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरिएको बताए ।
उनका अनुसार प्रदेश सरकारले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरी तत्काल रु १ करोड प्रदान गर्ने तथा स्वास्थ्य सामाग्रीसहित २० जनाको चिकित्सक टोली आजै भुकम्प प्रभावित क्षेत्रमा पठाउनेसमेत निर्णय गरेको छ ।

धनगढी, १० कार्तिक ।
नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो ।
यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीयदिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् ।
कैलाली प्रहरीका अनुसार बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको र उनीहरुको शव परिवारले बुझेका छन् ।
बैतडी, २९ असोज
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिनुभयो । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस
सुदूरपश्चिम, २९ असोज
काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ । चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।” चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताउनुभयो । “मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ”, उहाँले भन्नुभयो, “चाड पर्वको बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडाँै जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।” भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । हाल काठमाडौँ–धनगढीको भाडादर रु १४ हजार सातसय एकदेखि रु १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम रु सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडाँैमा रु चारसय र धनगढीमा रु पाँच सय तोकिएको छ । धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ । निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ । रासस
रुकुमपश्चिम, २७ असोज :
नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्येको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो । सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ताल अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउने गरेका छन् । वडा नं ३ र ५ को बीचमा पर्ने स्यार्पु तालले असारदेखि कात्तिकसम्म भरिभराउ भएर जो कसैको पनि मन लोभ्याइरहेको हुन्छ । सिमै छरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई थप सुन्दर बनाएको छ । स्पार्पुगाउँ र दह गाउँको काखमा रहेको सुन्दर स्यार्पुले यहाँका स्थानीयलाई आन्तरिक तथा बाह्य पर्यटक आउँदा आर्थिकरुपमा टेवा पु¥याएको छ । करिब दुई दशमलव छ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पु तालको आकार भने वर्षा र हिउँदमा फरक हुन्छ । हिउँदको तुलनामा वर्षामा तालको आकार दोब्बर बढी हुन्छ । असारबाट भरिन सुरु गरेको ताल साउनको अन्तिमतिर आइपुग्दा पूरा भरिन्छ । स्यार्पु ताल अवलोकन गर्ने पर्यटकको सङ्ख्या पनि यो बेला धेरै हुने गरेको छ । शनिबारको समय मिलाएर फ्रेस हुन बिदाको दिन छिमेकी जिल्ला रुकुमपूर्व, सल्यान, रोल्पाबाट पनि पर्यटक आउने गर्छन् । ताल अवलोकनका लागि ‘बोटिङ’ गरेर आन्नद लिने भएकाले पनि स्यार्पु तालमा थप पर्यटकको आकर्षण हुने गरेको छ । तालमा आइसकेपछि तालको चारैतिर घुम्न आधुनिक डुङ्गाको व्यवस्था छ । आधुनिक डुङ्गा राखिनु तथा खान र बस्नका लागि घरबास सञ्चालन गरिनुले स्यार्पु घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय भूपेन्द्र मल्लले बताउनुभयो । “मान्छेहरू छुट्टी मनाउनका लागि आउने गरेका छन्, ताल हेर्न आएकाहरू डुङ्गा नचढी फर्किंदैनन्, तालले गर्दा स्थानीयको आयस्रोतसमेत बढेको छ”, मल्लले भन्नुभयो । स्यार्पु तालको छेउमै तालको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । स्यार्पु ताललाई देशविदेशमा प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक बढाउने उदेश्यले महोत्सव आयोजना गरिएको लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । यही असोज ११ देखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको थियो ।रासस
धनगढी, २३ असोज ।
नेकपा एमाले सुदुर पश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ ।
सुदुरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५ बजे देखी मतदान सुरु हुनेछ ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो साँझ ६ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो भने राती ९ बजेसम्म उम्मेदवार दर्ता फारम बितरण गरिएको थियो ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजे देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ६ बजेबाट मतदान सुरु हुुनेछ ।
गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेसनको भावी नेतृत्वका लागि सर्वसम्मतको हिजो दिनभरी प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाईएको हो ।
प्रदेश अध्यक्षका लागि अछामका दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन, जसअनुसार अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना रहेका छन भने कञ्चनपुरका वचन सिंहले पनि अध्यक्षमा दाबी गर्दै आएका छन । मुलतः तीन जना बिचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
कैलाली, २१ असोज ।
नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशनको उदघाटन हुदैँछ ।
धनगढी, कैलालीमा आजबाट सुरु हुने सुदुरपश्चिम अधिवेसनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन । त्यसका लागि अध्यक्ष ओली आजै धनगढी पुग्ने कार्यक्रम रहेको छ ।
सो अधिवेसनमा अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि प्यानल अनुसार आन्तरिक प्रतिस्पर्धा हुने देखिएको छ ।
कैलाली, २६ साउन ।
गर्भपतन गराउन आएकी एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकमा गर्भपतन गराउन पुगेकी महिलाको अनावश्यक औषधी सेवनवाट मृत्यु भएको हो ।
धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन पुगेकी धनगढी–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। उनका आफान्तजनले अनावश्यक औषधी दिए पछि उनको सोही औषधीका कारण मृत्यु हुन पुगेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहीबार बिहान गर्भपतन गर्न गएकी ती महिलालाई क्लिनिकका स्वास्थ्यकर्मीले सेवनका लागि औषधि दिएको थियो । औषधि सेवन गरे पछि अचानक उच्च रक्तस्राव भए पछि तुरुन्तै ती महिलालाई सेती अस्पताल लगिएको थियो । प्रहरीका अनुसार केही समय पछि उनको उपचारकै क्रममा मृत्यु हुन पुगेको हाे ।
ती महिलाको मृत्यु भए पछि क्लिनिक सञ्चालक विनोद जोशी र उनकी पत्नी आशिका ओझा फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
मञ्जय राम, कटहरिया, असार २५ गते ।
वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत सुरु भएको छ । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुःख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् ।
यस वर्ष साउन २५, ३१, ७ र १४ गते गरी चार वटा सोमारी ब्रत परेका छन । शास्त्रीय मान्यताअनुसार चार वटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।
साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराण लगायत धर्मावलीको विश्वास रहेका छन् ।
साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ ।
प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन्छन् । धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् ।
कतिपयले वर्षमा एकपटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेक समेत गर्ने परम्परा छ । साउनमा विशेष गरी महिला तथा कुमारीहरुले हरियो रंगको सिंघार, गेरही रंगको लुगा तथा फलफूलले सो व्रत बस्ने गर्दछन् ।