काठमाडौँ, २२ पुस :
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको जानकारी दिनुभयो ।
राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचनका लागि भोलि सोमबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ । राष्ट्रियसभाको निर्वाचन भने अगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ । कांग्रेसले बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।(रासस)
पुस २१ गते।
जनता समाजवादी पार्टी जसपा नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको बागमती प्रदेश समिति पुनर्गठन भएको छ ।
शनिबार जोरपाटी नयाँबस्तीस्थित गोल्डेन कार्पेटको प्राङ्गणमा आयोजित भेलाबाट योगेन्द्र साम्पाङ राईको अध्यक्षतामा १७ सदस्यीय समिति पुनर्गठन गरिएको महासंघका केन्द्रीय उपाध्यक्ष सुरेश मोक्तानले जानकारी गराएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा, महासंघका केन्द्रीय अध्यक्ष अर्जुन लम्साल, उपाध्यक्ष सोनाम लामालगायत उपस्थित रहेका थिए ।
काठमाडौं ,पुस २१ गते ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
शुक्रबार कलेजले सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका १८ औं ब्याचका १९२ जना विद्यार्थीहरुलाई विदाई गरेको हो । कलेजको स्नातक अध्ययन पुरा गरी विदा हुनेहरुमा सिभिल इन्जिनियरिङमा १४४ तथा सिभिल एण्ड रुरल इन्जिनियरिङमा ४८ जना रहेका छन् ।

विदाई कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको विकासमा दक्ष जनशक्तिको खाँचो रहेको औल्याउँदै उत्पादित जनशक्तिहरुलाई स्वदेशमै बसेर काम गर्न सुझाए । इन्जिनियरिङका क्षेत्रमा नयाँ नयाँ अवसरहरु सृजना गर्नुपर्ने तथा स्वदेशमै स्नातक पछिको उच्च शिक्षा हासिल गर्ने वातावरण राज्यले बनाउनु पर्नेमा जोड दिए । राज्यले उत्पादित जनशक्ति ब्यवस्थापनमा चासो नदिँदा युवाहरु पलायन भइरहेको भन्दै वक्ताहरुले नेपालमा अब मेगा प्रोजेक्टहरु सञ्चालन गरिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन डाक्टर राजेश ठकूराठीले विद्यार्थीहरुलाई इन्जिनियरिङका जुनसुकै पेशा व्यवसायमा आबद्ध हुँदा त्यो पेशा र व्यवसायको इथिक्स र मर्यादा राखेर काम गर्न सुझाए । ‘जुनजुन पेशा व्यवसायमा आबद्ध हुन जाँदै हुनुहुन्छ त्यो पेशा व्यवसायको इथिक्सलाई मेन्टेन गरिदिनु होला, अनुशासन मेन्टेन गरिदिनुहोला जसले गर्दा पहिलो नम्बरमा कलेज दोश्रो नम्बरमा विश्वविद्यालयको शानलाई उच्च राख्न तपाईहरुको योगदान हुन्छ ।’

पोखरा विश्वविद्यालयबाट अध्ययन पुरा गरेका जनशक्तिहरु देश विदेशमा राम्रा संस्थाहरुमा काम गरेको, व्यवसाय गरेको, सफल भएको उदाहरणहरु रहेको डीन ठकूराठीले बताए । डीन ठकूराठीले नेपालको शिक्षा प्रणाली खासगरी विश्वविद्यालयका पाठ्यक्रमहरु समयानूकुल नभएको केही हदसम्म स्वीकार्दै कामै नलाग्ने भन्ने नभएको जिकीर गरे । ‘पाठ्यक्रम नराम्रो हैन । सुधार्न जरुरी छ ।’ पाठ्यक्रम सुधार गर्नुपर्ने, विद्यार्थी मैत्री बनाउनु पर्ने, अर्निङ र लर्निङ सँगसँगै लैजानु पर्ने भएपनि विश्वविद्यालयले सोचेअनुसार गर्न नसकेको डीन ठकूराठीको भनाई छ । नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष डा। विकास अधिकारीले पछिल्लो समय नेपालमा इन्जिनियरिङ शिक्षामा विद्यार्थीहरु घट्दै जानुमा विद्यार्थीहरुको भन्दापनि राज्यको भूमिका बढी जिम्मेवार रहेको बताए ।
कक्षा एकमा सय जना विद्यार्थी भर्ना हुँदा १२ कक्षासम्म पुग्दा ६० जना मात्र हुन आउने बताउँदै उपाध्यक्ष अधिकारीले करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा ५० प्रतिशत उत्तिर्ण भएकोमा ती मध्ये अधिकांश विदेश पढ्न जानु चिन्ताजनक रहेको जिकीर गरे । ‘४ लाखले परिक्षा दिँदा २ लाख उत्तिर्ण भए, ती मध्ये १ लाख २५ हजार विद्यार्थी नो अब्जेक्सन लेटर लिएर विदेश जान तम्तयार भएर बसेका छन् ।’ ७५ हजार विद्यार्थी मध्ये २० हजार प्राविधिक शिक्षा लिन योग्य रहेकोमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या ५ हजार मात्रै रहेको उनको दावी छ ।

काउन्सिलले देशभरका इन्जिनियरिङ कलेजहरुमा १० हजारको हाराहारीमा विद्यार्थी पढाउन अनुमति दिएपनि ५० प्रतिशत विद्यार्थीहरु मात्र उपलब्ध हुनुमा विद्यार्थीको भन्दापनि पोलिसी लेवलमै कमजोरी रहेको जनाए । उनले आम जनताको जीवनस्तर नै परिवर्तन गर्ने नयाँ पुस्ताले माग गरे अनुसारका ठूला प्रोजेक्टहरु नेपालमा बन्नुपर्र्नेमा जोड दिए । ‘अब ठूल्ठूला सडक, जलश्रोत, कृषि र वनसम्बन्धी परियोजनाहरु बन्नुपर्छ ।
एउटै आयोजनामा ५ हजार इन्जिनियरहरुले एक साथ काम गर्नुपर्छ ।’ साथै उनले नेपालमा विद्यार्थी टिकाउन र विकाउन पोलिसी लेवलमा ठूलै सुधार गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरु नै कलेजको ब्राण्ड एम्बेष्डर भएको बताउँदै आ–आफ्नो विषयमा इमान्दार भएर काम गर्न आग्रह गरे ।
आचारसंहितामा रहेर व्यवसायिक जीवन अगाडी बढाए हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने भन्दै कलेजलाई समय–समयमा सल्लाह सुझाब दिन भने । नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समिति सदस्य दिनेश खनालले विद्यार्थीहरुले कलेजमा हासिल गरेका ज्ञान, सीपलाई सबैभन्दा पहिला आफ्नै मातृभूमीमा प्रयोग गर्न सुझाए । कार्यक्रममा विद्यार्थी तानिया लामिछाने, संगीता रानाभाट, आस्था ढुङ्गाना, दिनेशकुमार यादव लगायतले कलेजमा अध्ययन गर्दाका अनुभवहरु सुनाएका थिए ।

कार्यक्रममा सिभिल इन्जिनियरिङ विभागका प्रमुख रमेश खनाल, सिभिल रुरल इन्जिनियरिङ विभागका प्रमुख अनिल श्रेष्ठ, एशोसिएट प्रोफेसर सचिन श्रेष्ठले इन्जिनियरिङ विषय, संभावना र अवसरका बारेमा बोलेका थिए । विदाई कार्यक्रममा संगीता रानाभाटलाई सिभिल एण्ड रुरल इन्जिनियरिङ, वाटर एण्ड स्टक्चर अवार्ड दिइएको थियो । भने, उनले नितिन कर्णसँग संयुक्त रुपमा सिभिल साइन्स अवार्ड पनि प्राप्त गरिन् ।
त्यस्तै, अञ्जली पाण्डेलाई चेयरमेन प्राइड गोल्ड अवार्ड, आस्था ढुंङ्गानालाई सिभिल प्रोगाम टपर अवार्ड, सुस्मी श्रेष्ठलाई सिभिल साइन्स अवार्ड तथा अजय कुमार यादवले जियो–टेक अवार्ड प्राप्त गरेका थिए ।
काठमाडौँ, १९ पुस :
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो । प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीनरूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशका बीचमा सहमति भएको बताउनुभएको थियो ।
भारतको सङ्घीय मन्त्रिपरिषद्ले यसअघि नै विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको आजदेखि हुन लागेको नेपाल भ्रमणका अवसरमा दुई देशका सचिवले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सो सहमतिपछि भारतका सरकारी तथा निजी क्षेत्रका विभिन्न कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीनरूपमा विद्युत् खरिद–बिक्री सम्झौता गरी बिजुली लिनेछन् । नेपाल र भारतका निजी क्षेत्रले पनि आवश्यक सहमति गरेर बिजुली आयात निर्यात गर्न सक्नेछन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा नै दुई देशका प्रधानमन्त्रीले बिजुली निर्यातका विषयलाई ऐतिहासिक र महत्त्वपूर्ण भएको टिप्पणी गर्नुभएको थियो । विभिन्न आन्तरिक तयारीपछि यो विषयले साथर्कता पाएको हो ।
सरकारले आगामी १२ वर्षमा कुल २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास रणनीतिसमेत बनाइसकेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट भारतलगायतका देशमा निर्यात गर्ने लक्ष्य राखिएको छ ।
उक्त सहमतिपछि नेपालको ऊर्जा क्षेत्रको विकासको ढोका खुल्ने भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको छ । सरकारले निजी क्षेत्रलाई समेत साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा गुणात्मक परिवर्तन गर्ने लक्ष्य राखेको छ । त्यसअघि ऊर्जामन्त्री बस्नेतसँग भारतीय ऊर्जासचिव अग्रवाललगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले दुई देशबीच ऊर्जा क्षेत्रमा सार्थक सहकार्य आरम्भ भएकामा खुसी व्यक्त गर्दै त्यसलाई थप निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयो ।
उहाँले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्नेसम्बन्धी सम्झौताले दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउने बताउनुभयो । उहाँले अन्य आयोजनालाई पनि गति दिन र तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले ठूला आयोजनामा भारतीय लगानीको अपेक्षा गरेकोसमेत बताउनुभयो । (रासस)
काठमाडौँ, १९ पुस :
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गर्नुभयो ।
सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा जयशङ्कर आज बिहान काठमाडौँ आउनुभएको हो ।(रासस)
काठमाडौँ, १९ पुस :
भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुग्नुभएको छ । उहाँ भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुग्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभयो ।
संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौँमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उहाँका भारतीय समकक्षी डा जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री डा जयशङ्करले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने तालिका छ । यसैगरी आजै दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले उहाँ र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्करले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्कर भोलि पुस २० गते नै स्वदेश फर्कनुहुनेछ । (रासस)
काठमाडौँ, १९ पुस :
नेपाल प्रहरीले जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार थुनुवालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताउनुभयो ।
फरार भएका खड्कालाई प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खोजतलास गर्दा फेला पारेको हो । प्रहरीले डलर देखाएर लुटपाट गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको थियो । (रासस)


काठमाडौँ, १८ पुस :
वेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै रु २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी प्रक्राउ परेका छन् ।
अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक रु एक लाख तलब प्राप्त हुने प्रलोभनमा पारी पटकपटक गरेर उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसैगरी कतार पठाइदिन्छु भन्दै रु दुई लाख ९४ हजार ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ । निजले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक रु ८० दिलाउने भन्दै उक्त रकम ठगेका हुन् ।
यसैबीच, स्लोभेनिया पठाइदिने बहानामा रु दुई लाख ८० हजार ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ की ३५ वर्षीया छिमी सुनिनलाई पक्राउ गरिएको छ । सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ । (रासस)
काठमाडौँ, १८ पुस :
न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश रहनुभएको छ । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।
यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ । (रासस)