२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

काठमाडौँ, माघ २ गते

काठमाडौँ प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् । जस अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।

कर्णाली र सुदूरपश्चिम दुवैले आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा कर्णालीले गण्डकी र सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई हराएका थिए ।

यस्तै आज कोशी प्रदेश र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।

यसैगरी आज बागमती प्रदेश र मधेश प्रदेशबीच पनि खेल हुँदैछ । खेल सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ । बागमतीले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेश दुईमध्ये एकमा जित र एकमा पराजित भएको छ ।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपिएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपिएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।

यस्तै, त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपीश्चम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेस प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् ।

दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन् । स्रोत खबरहब

काठमाडौँ, माघ ०१ गते ।

अमेरिकाको लस भेगासमा आयोजित विश्वको सबैभन्दा ठुलो मध्येको एक प्रविधिसम्बन्धी मेला कन्जुमर इलेक्ट्रोनिक्स शो, २०२४ मा विश्वभरका ४ हजारभन्दा धेरै कम्पनीहरुले नयाँ नयाँ प्रविधि, उत्पादन तथा प्रोटोटाइपहरु पेस गरिरहेका छन् ।

जनवरी ९ देखि १२ सम्म चलेको यो प्रदर्शनीमा पहिलो २ दिन टेलिभिजन र विद्युतीय गाडीको प्रभुत्व रहेको थियो । पारदर्शी टेलिभिजनदेखि नयाँ प्रविधियुुक्त विद्युतीय गाडीका मोडेलहरु प्रदर्शनीमा सार्वजनिक गरियो । त्यसबाहेक अन्य विभिन्न रोचक प्रविधिहरु प्नि उक्त शो मा प्रस्तुत गरिएका छन्, जसमध्ये तीन वटा प्रविधि यस्ता छन् :

हावाबाट पानी बनाउने उपकरण

अमेरिकी कम्पनी जेनेसिस सिस्टम उक्त प्रदर्शनीमा मंगलबार वाटर क्यूब पेस गरेको छ । एउटा ठुलो माइक्रोवेब ओभन जस्तो देखिने यो उपकरणले हावाबाट पानी बनाउने काम गर्दछ ।

कम्पनीको दाबी अनुसार यो उपकरण पृथ्वीका दूरदराजका क्षेत्रहरुका पानीको संकट समाधानमा निकै महत्वपूर्ण सावित हुनेछ । यो मेसिनले २४ घण्टामा ४५० लिटर पानी उत्पादन गर्ने दाबी गरिएको छ । यद्यपि यो मेसिनले ४० प्रतिशतभन्दा अधिक आद्रता तथा १५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा मात्र राम्रोसँग काम गर्ने बताइएको छ ।

घाँटी चिस्याउने पंखा

मोबाइलको कभर बनाउने चर्चित कम्पनी टोरसले कूलिफाई नामको व्यक्तिगत घाँटी पंखा सार्वजनिक गरेको छ ।

संगीतका पारखी तथा घुमफिरका शौखिन मानिसहरुका लागि यो निकै काम लाग्नसक्छ । नेकफोनजस्तै गर्धनमा भिर्ने यो उपकरणबाट गीत बजाउन मिल्नुका साथै पंखाको चिसो हावा पनि प्राप्त हुन्छ । टोरसका अनुसार यसमा रहेका स-साना धेरै ब्लोअरबाट तिव्रगतिमा हावा निस्किन्छ ।

एक्स पेंगको उड्ने कार

चिनियाँ कार निर्माता कम्पनी एक्सपेंगले एयरोएचटी नामको उड्ने कार पेस गरेको छ ।

सन् २०२५ बाट यो कारको व्यवसायिक उत्पादन सुरु हुनेछ । यसका लागि कम्पनीले तेश्रो त्रैमासिकबाट अर्डर सुरु गर्नेछ ।

स्रोत आनलाइन

काठमाडौँ, माघ ०१ गते ।

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको सम्पन्न भएको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो ।

त्यसैगरी, सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । स्रोत रातो पाटी

काठमाडौँ, २७ पुस :

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको छ ।

उहाँले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदैछन् ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो ।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो ।(रासस)

काठमाडौँ, २५ पुस :

नेपालको संविधान २०७२ ले नेपाल, विविधायुक्त बहुजाति, बहुभाषिक, सांस्कृतिक र बहुधार्मिक देश हो भनेर परिभाषित गरेको छ । संविधानको यही मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको छ । संविधानको मर्म र भावनालाई आमसात् गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दायित्व राज्यका निकायहरुको हो । त्यसैले राष्ट्रिय समाचार समिति (रासस)ले पनि समावेशी चरित्र भएको नेपाली समाजलाई स्वीकार गर्नुपर्ने नैतिक दायित्व रहेको छ । यही कारण रासस स्थापना भएको ६३ वर्ष नयाँ सेवाका रुपमा मातृभाषाको समाचार सेवालाई शुभारम्भ गरेको छ । मातृभाषाको समाचार सेवामा राससले पहिलोपटक अवधी भाषालाई समेटेको छ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस ६३औँ स्थापना दिवस मनाउने सँघारमा छ । देशमा पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४६ को जनआन्दोलनबाट पुनःस्थापित प्रजातान्त्रिक व्यवस्थामा राससले थप उन्नति र विकास गर्ने अवसर पाएको हो । विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्वपछि भएको बृहत् शान्ति सम्झौताले नेपालमा एउटा नयाँ राजनीतिक परिवर्तन ल्यायो । नेपालको अन्तरिम संविधान, २०६३ जारी भयो । यही संविधानकै जगमा उभिएर नेपालमा पहिलो संविधानसभाको निर्वाचन भयो भने नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने आधारशिला तयार गरेको हो । यही व्यवस्थाअनुसार राससले हालसम्म निरन्तर समाचार सेवा सञ्चालन गर्दै आएको छ ।

प्रारम्भमा राससले नेपाली भाषाबाट समाचार सेवा सुरुआत गरेको हो । सेवालाई विविधीकरण गर्ने क्रममा २०२० फागुन १८ देखि अङ्ग्रेजीमा समाचार बुलेटिन प्रकाशन गर्न थाल्यो । यसबीचमा अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्बिर, अडियो, भिडियो सेवा सञ्चालन गरे पनि यी सबै नेपाली र अङ्ग्रेजी भाषामा मात्रै थियो । राज्यद्वारा सञ्चालन भएका गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनले धेरै वर्ष अगाडिदेखि नेपाली, अङ्ग्रेजी भाषासँगै मातृभाषामा समाचार प्रकाशन÷प्रसारण र विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । तर राससले नेपाली र अङ्ग्रेजी भाषाबाहेक अन्य भाषामा समाचार सेवा सञ्चालन गर्न नसकेको तीतो यथार्थ रहेको छ । यही तथ्यलाई मध्यनजर गर्दै राससको वर्तमान व्यवस्थापनले मातृभाषाका समाचार सेवा सञ्चालन गर्ने निर्णय ग¥यो । यही निर्णयलाई कार्यान्वयन गर्न पटकपटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरुसँग औपचारिक र अनौपचारिक छलफल भएका छन् । आर्थिक र नैतिक सहयोगको अपेक्षासहित भएका ती छलफलमा मन्त्रालयबाट सहयोग हुने प्रतिबद्धता प्राप्त भएको छ र आवश्यक प्रक्रिया अगाडि बढेको छ ।

मन्त्रालयबाट आउने सहयोग प्रक्रियगत कारणले केही ढिलो हुने अवस्था भएपछि रासस व्यवस्थापनले मातृभाषाका समाचार सेवा सञ्चालनका लागि थप स्रोत पहिचान गरी प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल अगाडि बढायो । यही सिलसिलामा सबैभन्दा पहिले नेपालगञ्ज उपमहानगरपालिकाले सहकार्य गर्न अग्रसरता देखायो । आवश्यक प्रक्रिया पूरा गरी यही पुस ८ गते अवधी भाषाको समाचार सेवा सञ्चालन गर्न रासस र नेपालगञ्ज उपमहानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । यही सहमतिअनुसार मातृभाषा समाचार सेवा शुभारम्भ भएको छ । यो कार्यले राससमा एउटा नयाँ इतिहास लेखिएको छ । यो अवसर दिनुहुने नेपालगञ्ज उपमहानगरपालिका परिवारलाई अवधी भाषिक समुदायले सधैँ स्मरण गर्नेछन् । भाषिक समुदायप्रति जिम्मेवार बनेको उपमहानगरपालिका परिवार साँच्चिकै धन्यवादयोग्य छ ।

राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानमा भएको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । अब अन्य मातृभाषाको समाचार सेवाका लागि वीरगञ्ज महानगरपालिका, काठमाडौँ महानगरपालिका, मधेस प्रदेश र बागमती प्रदेश सरकारसँग छलफल अगाडि बढेको छ । यसै आर्थिक वर्षभित्र केही थप भाषामा समाचार सेवा दिने सम्भावना रहेको छ । यसले राससको इतिहासमा थप इँटा थपिने छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय ४२ जातजाति, एक सय २४ मातृभाषा र १० धर्म रहेका छन् । यी मातृभाषामध्ये एक प्रतिशतभन्दा बढीले बोल्ने भाषा १३ वटा रहेका छन् । मध्यपश्चिम तराईमा बोलिने अवधी भाषा २.९६ प्रतिशत जनसङ्ख्याले बोल्ने गरेको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । यी तथ्यले नेपाल अल्पसङ्ख्यक समुदायको देश हो भन्ने बुझ्न सकिन्छ । त्यसकारण सबै जाति, समुदाय, भाषाको उन्नति, विकास र संरक्षण गर्ने दायित्व राज्यको हो ।

मातृभाषामा गरिने पत्रकारिता वा सञ्चार कर्म नै मातृभाषा पत्रकारिता हो । नेपालमा राज्यद्वारा सञ्चालित सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित मिडियाले मातृभाषाको पत्रकारिता गरिरहेका छन् । मातृभाषाको विकास र जगेर्न गर्न यिनै मिडियामा काम गर्ने पत्रकार । सञ्चारकर्मीको प्रयास प्रशंसायोग्य रहेको छ । देशभरि खुलेका अधिकांश रेडियो र टेलिभिजनले मातृभाषामा समाचार र कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । मातृभाषामा पत्रपत्रिकाहरु समेत प्रकाशित भइरहेका छन् । ती मिडियालाई समाचार सामग्रीको अभाव भएको हामीले प्रत्यक्ष देखेका छौँ र अनुभूति गरेका छौँ । त्यस्ता मिडिया सञ्चालन गर्न र नेपालमा मातृभाषाको पत्रकारितालाई टेवा दिन राससको मातृभाषाको समाचार सेवाले सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।

राससले मातृभाषामा समाचार सम्प्रेषण गरेपछि सम्बद्ध भाषामा प्रकाशन हुने पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र अन्य समाचार संस्थालाई सहयोग पुग्न सक्नेछ । मातृभाषामा समाचार सेवा सञ्चालन गरेपछि जनताको तहसम्म सूचना प्रवाहलाई प्रभावकारी बनाउन सकिनेछ । समाचार सेवाले सम्बद्ध भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।

नेपालमा पछिल्लो दिनमा मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति र आर्थिक स्रोतको अभावमा सम्बद्ध भाषामा आवश्यक कन्टेन्ट (प्रकाशन–प्रसारण सामग्री) प्राप्त गर्न नसक्दा ठूलो समस्या भोगिरहेका छन् । फलतः ती सञ्चारमाध्यम कि त अत्यन्त समस्यामा छन् र बन्द हुने अवस्थामा छन् कि त बन्द भइसकेका छन् । राससले सम्बद्ध भाषामै सामग्री उपलब्ध गराउन सकेका खण्डमा सम्बन्धत भाषी सञ्चारमाध्यमले भोग्ने यस्ता समस्यालाई केही हदसम्म अन्त्य गर्न सहयोग पुग्नेछ । राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । सङ्घीयता र समावेशिता कार्यान्वयन गर्नु राज्यको दायित्व हो । त्यसैले र राससले प्रारम्भ गरेको मातृभाषा समाचार सेवालाई राज्य सञ्चालन गरिरहेको सरकारकै कार्यक्रमका रुपमा लिइनुपर्छ ।

आज नयाँ प्रविधिले पत्रकारिता गरिरहेका पत्रकार र संस्थालाई चुनौती दिइरहेको अवस्था छ । पत्रकारिता नयाँ स्वरुपमा अगाडि बढिरहेको २१औँ शताब्दीमा राससले पनि नवीनतम् सोचका साथ काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । विश्वस्तरीय समाचार एजेन्सीका रुपमा विकसित गरी विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धाका लागि तयार रहनु राससका लागि अपरिहार्य छ । त्यसैले राससलाई यथास्थितिबाट अगाडि बढाउनुको विकल्प छैन । राससलाई अगाडि बढाउने कार्यमा मातृभाषाको समाचार सेवाले नयाँ आयम थपेको छभन्दा फरक पर्दैन ।

राससले मातृभाषामा समाचार सेवा प्रारम्भ गर्नुको देशको जातीय र भाषिक विविधतासँगै मिडिया बहुलवादबाट स्वीकारसमेत गरेको छ । मिडियाको विषय र सन्दर्भ मात्रै विविधता छ भन्ने बुझाइलाई फराकिलो बनाउने क्रममा अब मिडियाको भाषामा पनि विविधता छ भनेर हामीले स्वीकार गरेका हौँ । राससको यो सानो कार्यले भाषा नबुझ्ने भाषिक समुदायलाई आफ्नै सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चित पनि गरेको हो । यस्तै जनताले आफ्नै भाषामा सूचना प्राप्त गरी विचार निर्माण गर्न पाउने र अभिव्यक्ति गर्ने अवसरका रुपमा पनि यस सेवालाई लिन सकिन्छ ।

मातृभाषामा समाचार सेवा सञ्चालन गर्दा सूचना प्रवाहलाई प्रभावकारी बनाउन सकिने र भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका रहनेछ । मातृभाषामा सञ्चालित सञ्चारमाध्यम समाचार सामग्रीको अभावमा सङ्कटग्रस्त बन्न पुगेका बेला राससद्वारा सञ्चालित मातृभाषाका समाचार सेवाबाट त्यस्ता सञ्चारमाध्यम लाभान्वित हुने विश्वास छ । मातृभाषाको संवद्र्धन, संरक्षण र विकासमा पनि राससको उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै छ । सबै प्रदेशको एउटा भाषाको प्रतिनिधित्व हुने गरी मातृभाषाको समाचार सेवा सञ्चालन गर्ने योजनामा रासस अगाडि बढेको छ । यसमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहयोग हुनेछ भन्ने अपेक्षा गरेका छौँ । (लेखक राससका महाप्रबन्धक हुनुहुन्छ)रासस

 काठमाडौं २५ पुस ।

दूर दराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् ।

आवासीय चिकित्सक डा.विशद दाहाललाई कलेजको नियम विपरित कार्य गरेकोमा निलम्बन गरेको विषयमा शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गरेकोमा पदको दुरुपयोग गरेको भन्दै डा.शर्माले कानुनी उपचारमा जाने बताएका हुन् । ‘आचरण विपरित कार्य गरेका एक जना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु गर्नु हास्यास्पद र लज्जास्पद विषय हो ।

शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन ।’ मन्त्री राईको निर्देशनात्मक पत्र विरुद्ध आफूहरू अदालत जाने भन्दै डा.शर्माले भने,‘एउटा विद्यार्थीले आचरण विपरित कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैं सक्रिय हुन्छन् भने त्योभन्दा लज्जास्पद र हास्यास्पद के हुन सक्छ ।’ शिक्षामन्त्री राईले मंगलबार निलम्बित विद्यार्थी डा. दाहालको निलम्बन फुकुवा गर्न भन्दै निर्देशनात्मक पत्र पठाउँदा २ दिनअघि सोमबार शिक्षा मन्त्रालयमै विवाद समाधानका लागि सकारात्मक वार्ता भएको थियो ।

उक्त वार्तापछि समाधानको वातावरण बनिरहेको अवस्थामा शिक्षामन्त्रीले पत्र काट्दा वातावरण विग्रिएको डा. शर्माको भनाई छ । डा. शर्माले विद्यार्थीलाई सुध्रिनका लागि एक महिना मात्र कारवाही गरिएको भन्दै एक महिना पछि पनि विद्यार्थी नसुध्रिए विश्व विद्यालयलाई विद्यार्थी फिर्ता पठाइने बताए । ‘कुनै विद्यार्थीले गल्ती गर्छ, कलेजको नियम मान्दिन भन्छ भने कारवाही गर्ने अधिकार हुन्छ । विद्यार्थीलाई एक महिनाको लागि मात्र निलम्बन गरिएको हो ।

एक महिनाभित्र पनि विद्यार्थी नसुध्रिए काठमाडौं विश्वविद्यालयलाई विद्यार्थी फिर्ता लैजान भन्छौं ।’ कलेजले विद्यार्थीलाई गल्ती स्वीकारेर सच्चिएर आउन भन्दा उल्टै २२ सय विद्यार्थीको पठनपाठनमा असर गर्ने गरी वातावरण बिथोलिरहेको जिकिर गर्दै डा. शर्माले भने । डा. शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दबाबमा शिक्षामन्त्रीले पत्र काटेको जिकिर गर्दै दूर दराजमा रहेकालाई स्वास्थ्य सेवा नदिने रणनीति अनुसार केएमसीलाई बदनाम गर्न खोजिएको जिकिर गरे । ‘यो दूर दराजका गरिब जनतालाई सेवा नगर्नु भनिएको हो ।

डा.गोविन्द केसीले शिक्षामन्त्रीको राजीनामा माग्लान् भनेर डराएर मन्त्रीज्यूले पत्र काटेको होला । त्यसले हामीलाई केही फरक पर्दैन ।’ रास्वपा सांसद डा.तोसिमा कार्की सहित निलम्बित विद्यार्थी समेत गोविन्द केसीको कार्यकर्ता भएको भन्दै उनले नेपालका मेडिकल कलेज, नर्सिङ कलेजहरू बन्द गराउन उनीहरु सदन र सडकमै सक्रिय रहेको बताए । कलेजले देशका विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरको निलम्बित आवासीय चिकित्सक डा.दाहालले चर्को विरोध गर्दै आएका थिए ।

विगत तीन वर्षदेखि केएमसीका आवासीय चिकित्सकसहित विशेषज्ञ चिकित्सकहरू समेतले निःशुल्क स्वास्थ्य शिविर मार्फत सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेकोमा डा.दाहालले मात्र विरोध गर्दै आइरहेका हुन् । सामाजिक उत्तरदायित्व अन्तरगत केएमसीले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरले शहरदेखि दूरदराजका गरिब, विपन्न तथा स्वास्थ्यको पहुँचबाट बञ्चित नागरिक लाभान्वित भइरहेका छन् ।

डा.दाहालले उक्त शिविरको विरोध गर्दै कलेजभित्रको स्वास्थ्य सेवा र शैक्षिक वातावरण बिथोल्न थालेपछि केएमसीले एक महिना निलम्बनको कारवाही गरेको थियो । केएमसीले निलम्बन गरेपछि आवासीय चिकित्सक डा.दाहालले कलेज तथा अस्पतालको वातावरण बिथोल्न दैनिक रुपमा आन्दोलन गर्दै आइरहेका छन् ।

सिनामंगल स्थित अस्पताल परिसरमा सेवाग्राही र बिरामीलाई नै डिस्टर्ब हुनेगरि कलेज बाहिरका असान्दर्भिक व्यक्तिहरू समेतलाई सहभागी गराएर दिनहुँ नाराबाजी गर्न थालेपछि उनलाई केएमसीमा प्रवेश गर्न रोकिएको कलेजको भनाई छ ।

 काठमाण्डौं,२२ गते पुस ।

आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

No description available.

‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलन जारी राखेको छ । भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले पहिलो र दोस्रो चरणको आन्दोलनका कार्यक्रम गर्दा सरकारले आफूहरुको माग सुनुवाई नगरेका कारण आफूहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाएकी छन् ।

No description available.

संघर्ष समितिका संयोजक साहका अनुसार तेस्रो चरणको आन्दोलनका क्रममा २७ पुसमा राजस्व नीति बारे अर्थ बिज्ञहरुसंग काठमाडौंमा अन्तरक्रिया कार्यक्रम, २५ पुसर देखी १० माघ सम्म सिमाक्षेत्रका स्थानिय तहहरुमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने कार्यक्रम रहेको जनाएकी छन् । यसैगरी ६ माघमा भन्सार नीति बारे राजनीतिक पार्टी तथा सांसदहरुसंग छलफल, ११ माघ देखी १९ माघ सम्म तराई–मधेसका जिल्ला सदरमुकाममा सर्वपक्षीय भेला तथा मोटरसाइकल र्याली, १३ माघमा काठमाडौंमा मोटरसाईकल र्याली र २१ माघ देखी अनिश्चितकाल सम्म भन्सार विभाग घेराऊ तथा जिल्लाका भन्सार कार्यालयहरु ठप्प गर्ने कार्यक्रम रहेको छ ।

No description available.

संघर्ष समितिले काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ । सो क्रममा प्रहरीले हस्तक्षेप गर्दै आन्दोलनकारीलाई पक्राउ गर्नुका साथै लाठी चार्ज समेत गरेको थियो । सरकारले माग सम्बोधनको साटो दमनमा उत्रिएको उनीहरुको आरोप छ ।

No description available.

काठमाडौँ, २२ पुसः

कुनै कालखण्डमा कुनै व्यक्तित्वप्रति राखिएको दृष्टिकोण सधैँ एउटै हुँदैन । नेपाली इतिहासका ऐतिहासिक व्यक्तित्वहरूको पुनर्मूल्याङ्कन हुनुपर्छ भन्नेमा विद्वान्हरूले मत जाहेर गरिरहेका छन् । पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, बिपी कोइराला, महेन्द्र शाहलगायत व्यक्तिमाथि कुनै समय राखिएको विचार समयका दौरानमा परिवर्तन हुँदै, थोरै मात्र आलोच्य हुँदै गइरहेको पढ्न पाइन्छ । हरेक वर्ष खास गरी पुस २७ का वरिपरि उनका पक्षविपक्षमा पत्रपत्रिकामा लेखरचनाको जुहारी चल्ने तथा अन्तक्र्रिया–बहस हुने गरेको छ । राणाकालमा नाम नै उच्चारण नै गर्न नहुने भनिएका पृथ्वीनारायणलाई पञ्चायतकालभरि नेपाल एकीकरणकर्ता र राष्ट्रिय एकताका प्रतीकका रूपमा मानिरहेका अवस्थामा पछिल्लो समय खासगरी माओवादी सशस्त्र द्वन्द्वकाल र त्यसयता जातीय राज्यको मागसँगै उनलाई विस्तारवादी, राज्य केन्द्रीयतावादी र क्रूरताका नायक मान्नेहरू पनि जन्मँदै गरेको अवस्था छ । उनको जन्मदिनमा बिदा दिने–नदिने, राज्यस्तरबाट सभासमारोह गर्ने–नगर्ने चलन पनि चल्दै हाल सरकारी तवरबाट सार्वजनिक बिदा दिने निर्णय पनि हुन थालेको स्थिति छ । पृथ्वीनारायणको आलोचना नेपाली व्यापक राष्ट्रिय एकता वृद्धि गर्ने सोचाइबाट नै आएको छ भने त्यसलाई मान्नु बेस हुने छ । “देवत्वकरण इतिहास लेखनको मर्म र धर्म विपरीत पक्ष हो । …ढाकछोप गरिएका सत्यलाई उजागर गर्ने समय आयो ”, लेखकले भूमिकामा लेखेर प्रस्तुत कृति लेखनको आफ्नो अभीष्ट स्पष्ट पार्नुभएको छ, जुन स्वाभाविक पनि हो ।

साहित्यकार–पत्रकार हुँदै प्रवास बसाइका क्रममा इतिहास अनुसन्धाताको परिचय बनाउनुभएका राजकुमार दिक्पालले ‘जङ्गबहादुरको युग ः ऐतिहासिक अध्ययन’ (साङ्ग्रिला पुस्तक प्रा. लि., २०७९) र तामाङलगायत अन्य सीमान्तकृतहरूले गरेको विद्रोह समेटिएको ‘आदिवासी विद्रोहको इतिहास’ (मञ्जरी पब्लिकेशन, २०७९–किरात एकेडेमी पुरस्कार प्राप्त), ‘मगर इतिहास’ (मनोज घर्तीसँग संयुक्त) र हाल ‘पृथ्वीनारायण शाह ः आलोचनात्मक इतिहास’ (मञ्जरी पब्लिकेशन, २०८०) प्रकाशनसँगै बेलाबखत पत्रपत्रिकामा नेपाली इतिहासका विविध पक्षलाई उधिन्दै पनि आउनुभएको छ । धनकुटादेखि राजधानीको बसाइ हुँदै हाल प्रवासमा रहनुभएका लेखकले आफ्नो सीमित समयमा पनि इतिहासजस्तो प्रामाणिकता खोज्ने विषयमाथि सदैव घोत्लिएर कृतिहरू प्रकाशन गर्दै जानु सराहनीय छ र गहन विषय समातिएको उहाँको पछिल्लो कृति उहाँको अनुसन्धानको भोकबाट सृजना गरिएकाले पठनीय नै हुन सक्छ ।

बाइस अध्यायमा लिखित समीक्ष्य कृतिमा पृथ्वीनारायणको मूल कार्यमा आलोचना गर्ने वा उनलाई विस्तारवादी–केन्द्रवादी भन्नेतिर नगई उनले बाल्यावस्था, युवराज काल र राजा भएपछि एकीकरणलगायत विभिन्न व्यवहारका क्रममा नकारात्मक काम, अमानवीयता र क्रूरताका पक्ष तथा केही जनमानसमा फैलन नसकेका घटना, व्यापारिक काम आदिबारे उधिन्ने प्रयास गरिएको छ ।

पृथ्वीनारायणको जन्म नै भूटानी लामा लोपाबाट भएको बौद्धपूजा र तान्त्रिक अनुष्ठानबाट भएको रोचक विवरण उल्लेख गर्दै गोरखा फौजलाई भोटका फौजले घेरिरहेका बखत भोटसँग सन्धि गरिदिएबापत उनी र अन्य लामालाई ताम्रपत्र जारी गरेर गुम्बा दान गरेको जनाइएको छ । उनले जनताका बारीका उखुबारीमा उखु चोर्नेदेखि लिएर अर्काको गहना र हात्तीमाथि आँखा गाडेका घटना तथा बेलाबखत भाइभारदार र शत्रु राज्यका मानिसहरूलाई कुनै न कुनै दोष देखाएर कटाउने–मराउने कुरामा आदेश दिएको भनी लेखकले जिकिर गर्नुभएको छ । राजा हुनेबित्तिकै बनारस गई हातहतियारसहित फर्कंदा सीमा भन्सारमा जाँचका क्रममा त्यहाँका कर्मचारीलाई कटाएको र आफ्नो ज्यान जोगाउन नै मुस्किल परेको, कीर्तिपुर युद्धमा पनि आफ्नै हठले युद्ध गर्न पुग्दा आफैँ झन्डै मारिएकोजस्ता घटना पनि उनीसँग सम्बन्धित छन् । उनका मकवानपुर र गोरखपुरका गरी दुई रानी इतिहासमा सर्वत्र लेखिए पनि भक्तपुर बसाइका क्रममा एक नेवार कन्या पनि प्राप्त गरेको कुरा चाहिँ धेरैलाई थाहा नहोला, जुन यस कृतिमा उल्लेख गरिएको छ । नुवाकोटबाट लखेटिएर कान्तिपुरका उमराव बनेका जयन्त रानालाई बेलकोट विजयपछि छाला काढेर मारिएको, तनहुँका राजा त्रिविक्रमले डोलीमा बोकिएर गएकी आफ्नी बिरामी रानीमाथि नजर लगाएको आरोपमा उनलाई पनि पक्राउ गरेको पनि उल्लेख छ जुन अन्यत्र पनि आएकै कुरा हो । भादगाउँ विजयपछि राजा तथा मितबा रणजित मल्ल र भागेर त्यहाँ पुगेका जयप्रकाश मल्लका हकमा सम्मान नै गरेका पृथ्वीनारायणले त्यहीँ शरण लिन आएका अर्का राजा तेजनरसिंह मल्ल्ललाई भने कोर्रा हान्न लगाएको प्रसङ्ग पनि यहाँ आएको छ । कीर्तिपुरमा लडाइँ गर्ने परिस्थिति नभएको भनी काजी कालु पाँडेले सल्लाह दिँदादिँदै पनि आक्रमण गर्दा पाँडेको निधन राजहठले भएको कृतिमा स्पष्ट गरिएको छ । बन्दुकका बलमा निर्दाेषको नरसंहार, तिमालकोटको युद्धमा छलकपट, कीर्तिपुरेको नाक–कान कटाइ, कमारा–कमारी राख्न दिने चलन, नगरकोटीको संहार र माझकिरातमा अत्याचार जस्ता आलोचनात्मक पक्षको पनि चर्चा गरिएको छ । कृतिका सबै अध्यायमा पृथ्वीनारायणको मात्र नभएर भाइ, भारदार, छोरा, नातिहरूका नकारात्मक पक्षमाथि पनि कलम चलाएर यसलाई सामान्य विस्तार गर्ने प्रयास भएको छ । भूटानसँगको सम्बन्ध र ‘दिव्योपदेश’ को उत्पत्तिबारे कृतिमा चर्चा गरिए पनि त्यसमा खासै आलोचना गरिएको छैन ।

पृथ्वीनारायणले एकीकरणको अभियान चलाएर नेपालको सिमाना विस्तार गरेको वा पुनःस्थापना गरेको कुरा प्रायः सबै कृतिमा पाइने भए पनि प्रस्तुत कृतिमा त्यस कर्मलाई गोरखा ‘राज्य विस्तारको योजना’ भनी प्रसङ्गवश कतै कतै मत बुझाइएको छ ।

लेखक दिक्पालले यी सबै लेखनमा बाबुराम आचार्य, नयराज–महेशराज–दिनेशराज पन्त, धनबज्र बज्राचार्य, योगी नरहरिनाथ, डा राजेश गौतम, मोहनप्रसाद खनाल, चित्तरञ्जन नेपाली, सूर्यविक्रम ज्ञवाली, इमानसिंह चेम्जोङजस्ता इतिहासकार, विद्वान् एवं लेखकका कृति तथा लेखरचनाबाट उद्धृत गर्दै आफ्नो विश्लेषण पनि दिनुभएको छ ।

कृतिमा तथ्यतथ्याङ्क र वाक्यमा निकै पुनरुक्ति छन् । पत्रकारको पनि परिचय बनाएका युवा लेखक दिक्पालले एकै विषयमा ठाउँठाउँमा दोहो¥याई तेह¥याई लेख्दा पाठकलाई झिँजो लाग्नु स्वाभाविक छ । सामान्य वाक्य संरचना र वर्णविन्यासमा त्रुटि छन् । कोलम्बसले अमेरिका पत्ता लगाएको सन् १४९२ हुनुपर्नेमा १५४९ भएको छ ।

प्रस्तुत कृतिमा लेखकले पीडितका पक्षलाई पनि अध्ययनअनुसन्धानबाट उजागर गर्ने प्रयास गर्नुभएको छ । यसमा प्राप्त तथ्यतथ्याङ्कमा विश्लेषण गरी आफ्नो धेरथोर राय दिनेसम्मको काम भएको छ । यसर्थ प्रस्तुत कृतिलाई मौलिक मान्न नसकिए पनि राष्ट्रिय विभूतिको आलोचनात्मक पक्षलाई पनि उजागर गरिदिएर लेखकले इतिहासका विद्यार्थी र पाठकहरूलाई गुन लगाउनुभएको छ । साहित्यकार–इतिहासकार वैरागी काइँलालाई समर्पण गरिएको कृतिमा प्रस्तुत गरिएका उनका कमीकमजोरीले उनको राष्ट्रनिर्माताको छवि भने धुमिल नहुने स्पष्ट छ । रासस

काठमाडौँ, २२ पुस :

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्गठन विभागका प्रमुख राजेन्द्र श्रेष्ठ र प्रदेश समितिका इन्चार्जले तयार पारेका साङ्गठनिक प्रस्ताव, आसन्न राष्ट्रियसभा निर्वाचन, यही पुस २५ गतेदेखि काठमाडौँमा बस्न लागेको पार्टीको राजनीतिक समिति बैठक र पुस २७ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकको तयारीलगायतका विषयमा छलफल भइरहेको छ ।(रासस)

काठमाडौँ, २२ पुसः

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्कर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार राहदानी नम्बर ८१५१३८५ भएकी निज महिलाले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल पाँच सय ग्राम तथा लगाएको कट्टुभित्र आठ सय ग्राम सुन गरी कुल एक किलो तीन सय ग्राम सुन बरामद गरिएको हो ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।