२०८२ चैत्र २९
२०८२ चैत्र २९

काठमाडौं, ११ माघ ।

राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले भने मतदान नगर्ने भएका छन् ।

राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ । तर, शाह हेटौँडा पुगेका छैनन् । महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न जाने सम्भावन कम रहेको बताइएको छ ।

यस्तै धरान उपपहानगरका प्रमुख साम्पाङ कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् । बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने  निर्वाचन आयोगले जनाएको छ ।न्युजकारखाना

काठमाडौं, ११ माघ ।

चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्नेगरी काम भइरहेको जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएपछि गत वर्ष युद्धस्तरमा छपाई कार्य सम्पन्न भएर इतिहासमा नै पहिलोपटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको बताए । “छपाइका लागि आवश्यक कागज खरीद भइसकेको र छाप्ने काम पनि दुई सिफ्टमा सातै दिन, २४ सैं घण्टा चलिरहेको छ” झाले भने, “पुस्तक छपाइसँगै बिभिन्न डिपोमा ढुवानी कार्यसमेत सँगै चलिरहेको छ।”

शिक्षा मन्त्रालयले यसवर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाई गर्ने निर्णय गरेसँगै प्रकाशनमा तीब्रता आएको हो । नीजि क्षेत्रका छापाखानाहरूलाई समेत छनौट गर्न पाठ्यक्रम विकास केन्द्रले टेण्डर आव्हान गरिसकेको छ।

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब १ करोड ७० लाख पुस्तक आवश्यक भएकोमा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी रहेका छन्। केन्द्रले दैनिक ७० हजार देखि ८० हजार प्रतिथानका दरले पुस्तक छपाई र तयारी भइरहेको जनाएको छ।

 

प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव संगीता ओझालगायतको टोलीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो। गतवर्ष पुसपछि मात्र कागज आएको भएपनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताए ।

 

अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनक शिक्षक सामग्री केन्द्र लिमिटेडको छपाइको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिइएको र अन्य नीतिगत विषयहरूसमेत हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक देखिएको जानकारी दिए । उनले भने, “केन्द्रको कार्य सन्तोषजनक भए पनि छपाइको गुणस्तरमा सुधार गर्नुपर्ने देखिएको छ।”

 

छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजानेगरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ जिसीले बताए । अनुगमन टोलीले छपाइ भइसकेका पाठ्यपुस्तकहरू गुणस्तर एकीन गरी समयमै सबै जिल्लामा पठाउनका लागि आवश्यक व्यवस्था मिलाउन पनि केन्द्रलाई निर्देशन दिएको छ।न्युजकारखाना

काठमाडौं, ११ माघ ।

सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

 

सामुदायिक विद्यालयका छात्राहरूका लागि आर्थिक वर्ष २०७७÷०७८ मा सेनिटरी प्याड वितरण गर्न गाउँपालिकामा विनियोजित बजेटबाट ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने सेनिटिरी प्याड लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजकी प्रोप्राइटर ललिताकुमारी साहसमेतको मिलेमतोमा १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरेर अस्वाभाविक रूपमा बढी मूल्य तिरी लाभ लिएको अख्तियारले दायर गरेको रिटमा उल्लेख छ । न्युजकारखाना

 

चितवन, ११ माघ ।

गैँडा मारेर खाग तस्करी गरेकाे आरोपमा तीन वर्षदखि फरार एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

 

राप्ती नगरपालिका–६ बस्ने टिकाराम बोहोरा भन्ने खेसर बहादुर बोहोरालाई गत माघ ९ गते मंगलबार दिउँसो १:५० बजेको समयमा हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलबाट पक्राउ गरेको निकुञ्जले जनाएको छ ।

 

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार बोहोरालाई २०७६ भदौ ३१ गते अमलटाँडी सेक्टर अन्तर्गत बाँदरझुला पोष्टको मर्दीखोला क्षेत्रमा वयस्क भाले गैँडा मारी खाग काटेको र २०७७ कात्तिक २० गते भोसारघाटतर्फ आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानेर कारी खाग काटेर लगेको आरोपमा पक्राउ गरिएको हो ।

 

नेपाली सेना, निकुञ्ज टोली र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणको संयुक्त टोलीले घटनामा संलग्न २३ जना आरोपितलाई पक्राउ गरिसकेको तिवारीले जानकारी दिए । दुवै घटनामा जम्मा २४ जना संलग्न थिए । बोहोरा तीन वर्षदेखि फरार थिए ।

 

विशेष सूचनाको आधारमा बोहोरालाई पक्राउ गरि चितवन जिल्ला अदालतमा बयान तथा थुनछेक आदेशको लागि पेश गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।न्युजकारखाना

 

काठमाडौं, ११ माघ ।

राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उमेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी,  अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी)बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन्।

पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी भएका छन्।न्युजकारखाना

काठमाडौं, १० माघ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन्।  राष्ट्रिय वाणिज्य बैङ्कको ५९औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण लिएका ऋणीहरू अहिले समस्यामा परेका हुन्। ब्याजदर बढ्यो तर प्रतिफल नआएको बताए। अर्थमन्त्री डा महतले भने, “हाम्रा आवश्कता धेरै छन्। स्रोत साधन निकै कम छ। खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ। राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ।”

बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्ने अर्थमन्त्री महतले बताए। पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उनले बताए। आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने उनले उल्लेख गरे। सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको उनले भनाइ थियो।

मन्त्री डा. महतले वाणिज्य बैंक नम्बर वान बैंक हुनसक्ने बताउनुभयो। सार्वजनिक बैंक भएकाले यो नम्बर वान हुन नसकेको उनको भनाइ थियो। व्यवस्थापक वा कर्मचारीले यो कुरा हामीले स्वीकार गर्न मन्त्री डा. महतले आग्रह गरे। उनले भने, ‘यो कुरालाई स्वीकार गरेर हामी अगाडि बढ्यौं भने, कर्मचारीका सुविधाको कुरा केही पनि होइन। तपाईंहरुले माग गरेको ठूलो कुरा केही पनि छैन।’

यो बैंकलाई नम्बर वान स्थानमा पु-याउन व्यवस्थापन र कर्मचारीबाट प्रतिबद्ध आउनुपर्छ। उनले भने, ‘त्यसका लागि निजी बैंकले जस्तै व्यवस्थापनले ९ बजेसम्म काम गर्नुप-यो भन्यो भने पनि तयार हुनुपर्छ। त्यहाँ यति बेला भन्न पाइँदैन। आज जतिबेलासम्म लाग्छ, त्यत्तिबेलासम्म काम गर्नुपर्छ। बजे भन्ने हुँदैन, अचेल बजे भनेको रिर्फेन्स मात्र हो। ५ बजेसम्म अफिस भनेको त्यो रिर्फेन्स हो। जति समय लागोस् काम पूरा हुनैपर्छ। यो हिसाबले बैंक अगाडि बढ्यो भने ट्रेड युनियनको माग केही पनि होइन।’

ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको अर्थमन्त्रीले बताए।

अर्थमन्त्री डा. महतले बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताउनुभएको छ। उहाँले ‘ख’ वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्ने र बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्यामा परेको उनको भनाई थियो। न्युजकारखाना

काठमाडौं,  १० माघ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान भएको हो।

यही माघ २२ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन सुरु हुनेछ।न्युजकारखाना

काठमाडौं, १० माघ ।

काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज पद सम्हालेका छन्। माघ ३ गतेको मन्त्रिपरिषदको निर्णयले उनलाई राष्ट्रिय योजना आयोगबाट सरुवा गरेर महानगर पठाइएको थियो।

पदवहालीपछि विभागीय प्रमुखहरूसँगको परिचयात्मक कार्यक्रममा उनले, वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नु पर्ने बताए।

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौंले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको बताए।न्युजकारखाना

काठमाडौं, १० माघ।

नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) को समस्या समाधान गर्न र भेरोमार्फत गरिएको अनलाइन निर्वाचन धाधलिका बारेमा छानबिन गर्न छानबिन समिति गठन गरेको छ। परराष्ट्र मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

एक साताअघि नै परराष्ट्रमन्त्री एनपी साउदले एनआरएनएभित्र झण्डै तीन महिनायता उत्कर्षमा रहेको विवाद भेरोमार्फत गरिएको अनलाइन निर्वाचन धाधलिका बारेमा  छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेका थिए। सो निर्णयलाई मन्त्रिपरिषबाटै अनुमोदन गरेर कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा बैकुण्ठ अर्यालले जानकारी दिए।

छानबिन समितिको संयोजकमा महान्यायाधीवक्ता कार्यालयबाट ऊप महान्यायाधीवक्ता गोपाल प्रसाद रिजाल संयोजकका रुपमा रहनेगरी निर्णय भएको छ भने सदस्यमा परराष्ट्र मन्त्रालयबाट रीता धिताल, सीआईबीबाट दिनेश आचार्य र अर्थ मन्त्रालयबाट हेमराज पौडेल सदस्य छन्। समितिलाई एनआरएनए निर्वाचनमा भएको धाँधलीका साथै एनआरएनए भित्रको विवादका समग्र विषयमा अध्ययन गरेर दुई साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

समिति गठनअघि परराष्ट्र मन्त्री साउदले कानुनी परामर्शका साथै विभिन्न चरणमा एनआरएनए अभियन्ताहरुसँग समेत छलफल गरेका थिए। यसअघि नै पूर्वअध्यक्षहरु उपेन्द्र महतो र जीवा लामिछानेसँग छलफल गरेका साउदले सोमबार समिति गठन गर्नुअघि निवर्तमान अध्यक्ष कुल आचार्यका साथै  निवर्तमान उपाध्यक्ष डीबी क्षेत्रीलगायतसँग समेत छलफल गरेका थिए।

मग्र कानुनी र अन्य प्राविधिक विषयको अध्ययनपछि साउदले रिजालको संयोजकत्वमा समिति गठन गर्दै समस्या र निकासको उपायसमेत पहिल्याउँदै प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन। समितिले दिने प्रतिवेदनका आधारमा परराष्ट्रले एनआरएनएबारे थप कदम चाल्ने बताइएको छ।

समितिले एनआरएनएको विवादसम्बन्धी हालसम्म परराष्ट्रमा परेका उजुरीका साथै आवश्यकताअनुसार सबै पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गर्नेछ। एनआरएनएको ११ औँ महाधिवेशनमा बद्री केसीले भेरो अनलाईन सिस्टम ह्याक गरेर निर्वाचन आफ्नो पक्षमा पारेको प्रतिस्पर्धीहरु आरके शर्मा र महेश श्रेष्ठ समुहले आरोप लगाएपछि एनआरएनएको विवाद छताछुल्ल भएको थियो। त्यसपछि शर्मा र श्रेष्ठ समुहले केसीलाई अस्वीकारमात्रै गरेनन उनले शपथ लिएको कार्यसमिति नै अवैध भएको घोषणा गरे। त्यसपछि सबै प्रक्रिया पुरा गरेर कानूनत आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको  छ। ११ औँ महाधिवेशनपछि एकातिर बद्रीले आफूलाई आधिकारिक दाबी गर्ने र कार्यालय समेत कब्जा गर्ने तथा अर्कोतिर आरकेले आफूलाई आधिकारिक दाबी गरेपनि परराष्ट्र मौन बन्दै आएको थियो। दुबै पक्षले आधिकारिकताका लागि निवेदन दिएपनि मौनता साँधेर बसेको परराष्ट्र र मन्त्री साउदले यसबारेमा आफूहरुले प्राप्त फाइल र प्रमाणहरु अध्ययन गरिरहेको भन्दै टार्दै आएका थिए।

यही बिचमा केसी पक्षले  संस्था नवीकरणका लागि मार्गप्रशस्त गरिदिन माग गर्दै अदालत गएको थियो। केही साताअघि अदालतले परराष्ट्रको नाममा कारण देखाउ आदेश दिएको थियो।

निर्वाचनमा धाँधलीको विषय आएर अक्टोबर १९ मा नाराबाजीको अवस्था सिर्जना भएपछि तत्कालीन अध्यक्षत्रय बद्री केसी, रविना थापा र कुल आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया रोकिएको जनाएका थिए। तर, रोकिएको प्रक्रिया फुकुवा नगरी बद्री केसी समूहले एकतर्फीरुपमा आफ्नो टिम विजयी भएको भन्दै शपथ गरेको थियो। केसी समुहले निर्वाचन समितिलाई समेत प्रभाबित पार्दै निर्वाचन समितिका सदस्य टिबि कार्कीबाट सपथ खाएको थियो।

निर्वाचनमा सहयोग गरेवापत केसी समुहले निर्वाचन समितिका सदस्य टिबि कार्की र चिरन्जीवी ढकाललाई सल्लाहकार भुषण घिमिरेलाई  बिधान ब्याख्या समितीको संयोजक उपहार स्वरुप बनाएको छ।

भेरो मार्फत गराइएको निर्वाचनमा कोही उम्मेदवारको सुन्य मत ,एक दर्जन उम्मेदवारको झरेको मतमा जोड घटाऊ मिस्टेक भएपछी अध्यक्षका अन्य प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठ पक्षले पनि शर्माको नेतृत्वमा नयाँ कमिटी गठन गरेका थिए।

त्यसपछि दुबै पक्षले आफूलाई आधिकारिक दाबी गर्दै परराष्ट्रमा निवेदन दिएपछि मन्त्रालयले दुवै पक्षलाई आधिकारिकता दिएको छैन।

यस विषयमा पूर्वअध्यक्ष कुल आचार्यले परराष्ट्रले गठन गरेको छानबिन समितिले एनआरएनएले निकास पाउने विश्वास व्यक्त गरे। आफूहरु एकताबद्ध एनआरएनएको पक्षमा रहेको भन्दै आचार्यले संस्थालाई निकास दिन सबै पक्ष एकठाउँमा अटाउने वातावरण तयार हुनुपर्ने बताए।

यस्तै एनआरएनएका नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले छानबिन समितिको रिपोर्टको प्रतिक्षामा आफूहरु रहेको बताए। उनले आफूहरु अन्यायमा परेकोले न्यायको लागी संवन्धित निकाय गएको बताए।न्युजकारखाना

काठमाडौं, १० माघ ।

नेपाल गुणस्तर तथा नापतौल विभागको रिक्त महानिर्देशकमा कुमारी ज्योती जोशी नियुक्त भएकी छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशकमा नियुक्त गरेको हो।

मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन्। यससँगै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ।

मन्त्रिपरिषद्ले नै शिक्षा मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेका प्राविधिक सहसचिव शैलेस झालाई गुणस्तर विभागको उपमहानिर्देशकको जिम्मेवारी दिई पठाएको छ । न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।