२०८२ चैत्र २९
२०८२ चैत्र २९

काठमाडौँ, १६ माघ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्नुहुँदै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए । उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे ।

उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए । उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दैै आएकोमा प्रसन्नता व्यक्त गरे ।

उनले ब्रिटिस सेनामा सेवारत ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्नुहँदै सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिश गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेतालयको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरे ।

 

यस विषयमा आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भई विगत लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे ।

 

नेपाल र बेलायतबीचको विगत लामो समयदेखिको सैन्य सहयोग आदान–प्रदान हुँदै आएको र नेपाली सेना र बेलायती सशस्त्र बलहरूले द्विपक्षीय तालिम तथा सहयोग आदान प्रदानमा मिलेर काम गरिरहेको बताए ।

 

सन् २०२३ अक्टोबरमा क्याम्ब्रियन गस्तीमा १० नेपाली सेनाले भाग लिएको स्मरण गर्दै नेपाली सेनाका लागि ‘एक्सप्लोसिभ अर्डिनेन्स डिस्पोजल’ होल्डिङ युनिट स्थापना गर्न ब्रिटिश सरकारको तर्फबाट भएको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।

 

सो अवसरमा बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले बेलायत गोर्खा सैनिकबारे उठाएको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरे । अन्तर्राष्ट्रिय सुरक्षा वातावरण थप जटिल बन्दै गइरहेकोले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा मिलेर काम गर्नुपर्ने अवस्था सृजना भएको बताए ।

 

साथै अन्तर्राष्ट्रिय शान्ति स्थापनामा शान्ति सैनिक खटाउने दोस्रो ठूलो राष्ट्रको हैसियतमा नेपालको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्दै उनले उनले बेलायतले आगामी दिनमा नेपालसँग थप सहकार्य गर्ने इच्छुक रहेको बताए । उनले बेलायतको प्रतिकुल आर्थिक अवस्थाको वाबजुद पनि नेपाललाई उपलब्ध हुँदै आएको सहयोग निरन्तर रूपमा प्राप्त भइरहने विश्वास समेत दिलाए ।

 

शिष्टाचार भेटका अवसरमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै बेलायती राजदूत एवं अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।न्युजकारखाना

 

काठमाडौँ। माघ २२ गते

प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् ।

 

मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे छलफल गरेका हुन् ।

अघिल्लो संसद अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला छलफलमा प्रधानमन्त्रीले संसदलाई बिजनेश दिने र अधिवेशनलाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिएका हुन् ।

“अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ। सरकारले पनि “बिजनेश” दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्,” मन्त्रालयलाई निर्देशित गर्दै बैठकमा प्रधानमन्त्रीले भने, “संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ। मुख्यसचिवले फलोअप गर्नुहोला। मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला। राम्रो तयारी गर्नुहोला। यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ। त्यो गुनासो नआउने गरी काम गर्नुहोला।”

 

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशित गरे ।

 

बैठकमा मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताउँदै यस अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही “बिलहरू” पेश गर्न सकिने गरी तयारी गरिएको बताए ।

सचिव सापकोटाले केही विधेयकहरू संसद अधिवेशन प्रारम्भ भएलगत्तै संसदमा दर्ता गर्न सकिने बताउँदै थप विधेयकका द्रूततापूर्वक काम गरिने जानकारी दिए ।न्युजकारखाना

 

काठमाडौं, १६ माघ ।

नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।

 

मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो ।

सार्वजनिक तथ्यांकअनुसार २०२३ मा १०० मा ३५ अंक ल्याएर नेपाल १०८औँ स्थानमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा एक अंक थप्दै नेपाल दुई स्थानमाथि उक्लिएको छ ।

 

अघिल्लो वर्ष नेपालले ३४ अंक पाएर ११०औँ स्थान थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो प्रगति हासिल गरेको हो । न्युजकारखाना

काठमाडौं, १६ माघ ।

संसदीय समितिले पश्चिम नवलपरासीको रामग्राम क्षेत्रको उत्खनन गर्ने निर्णयको कागजात मगाउँदै जवाफ मागेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पश्चिम नवलपरासीको रामग्राम क्षेत्रको उत्खनन गर्ने निर्णयको कागजातसहित सात दिनभित्र जवाफ दिन बारे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको छ ।

‘लुम्बिनी विकास कोषले सर्वसाधारणको ११६ बिघा जमिन अधिग्रहण गर्ने गरी गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तुप निर्माण तथा भाडामा (९९ वर्ष सम्म) दिने गरी बिनाप्रतिस्पर्धा निजी कम्पनीसँग समझदारी गरेको भन्ने समाचारप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । तपसिलका विषयमा के कसो भएको हो सोको जानकारी समितिलाई ७ दिनभित्र उपलब्ध गराउनुहुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु,’ समितिका सचिव एकराम गिरीले मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

रामग्राम क्षेत्र विकासको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीलाई दिन लुम्बिनी विकास कोष सहमत भएपछि संसदीय समितिले चासो राखेको हो । प्रधानमन्त्री प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी ’प्रमिस्ड ल्यान्ड’ लाई रामग्राम क्षेत्रको जग्गा अधिग्रहण, गुरूयोजना तयारी र सोही अनुसार निर्माण गर्न दिन कोषले सैद्धान्तिक सहमति प्रदान गरेको हो।

 

सोही विषयमा लेखा समितिले सरकारलाई पत्र लेखेर सम्झौताबारे अहिलेसम्म भएका सबै निर्णय उपलब्ध गराउन पनि निर्देशन दिएको छ।न्युजकारखाना

काठमाडौ‌, १६ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।

 

शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।”

शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन  ।  उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको  स्मरण र सम्मान ब्यक्त गरेका छन ।

 

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भने, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।न्युजकारखाना

शशिनगर, १६ माघ ।

भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत भरतपुर १८ को श्री माध्यमिक विद्यालय शशिनगरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेनु दाहालले विद्यालयको सुधारका लागि प्राप्त मात्रमा भौतिक पूर्वाधारहरू निर्माण गर्दै आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरू अगाडि बढाउने गरी कार्यक्रमहरू ल्याइने  योजनाहरू रहेको बताइन्।

महानगर भित्रका विद्यालयलाई विद्यालय भवन, रङ्ग रोगन, फल सिलिङ, जस्तापातालगायतका कामसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरू, विभिन्न प्रविधि मैत्री शिक्षालाई ध्यानमा राख्दै पठनपाठनको गुणस्तरलाई महानगरले जोड दिएको उनले बताइन्। अहिलेको परिवेस सुहाउँदो  व्यवहारिक शिक्षामा जोडिनका लागि व्यवहारिक शुक्रबारको नीतिलाई महानगरले अगाडि सारेको उनको भनाइ थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुकमान गुरुङको सभाध्यक्षयतामा विद्यालयमा न्यानो कपडा वितरण गरिएको हो।यस आर्थिक वर्षमा २१ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत भरतपुर महानगरले काम गरी रहेको छ।

यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसअघि चार वर्षमा ६५ विद्यालयका ७ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको महानगरले छ।न्युज कारखाना

 

 

 

 काठमाडौं, १५ माघ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन्।

सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए। समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो।न्युजकारखाना

काठमाडौं, १५ माघ ।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सञ्चार क्षेत्रको चौतर्फी विकासका लागि मिडियालाई सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले सरकारको नियन्त्रण बाहिर राखिएमा मात्र सञ्चार क्षेत्रको विकास हुने बताएका हुन् ।

अन्यथा  सरकारको जजमान मात्र गर्ने भए सरकारी मिडियाको अस्तित्व संकटमा आउने उनको चेतावनी छ । विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताउँदै उनले प्रसारण विधेयकले डिजिटल मिडियालाई पनि समेट्न नसकेको बताए । न्युजकारखाना

काठमाडौं, १४ माघ ।

काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।

पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ।

समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेको र निर्णय नै नभएको विषयमा निर्णय भएको भनेर कोइरालाले पत्र पठाएको पाइएको भन्दै उनीसँग महानगरले स्पष्टीकरण सोधेको हो।

कोइरालाले २०७९ चैत २८ गते नगर शिक्षा समितिले निर्णय गरेको भन्दै विद्यालयमा असार २० विज्ञान विषयमा कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्र पठाएका थिए। तर, शिक्षा समितिले त्यस मितिमा निर्णय नगरेको पाइएको शाहको सचिवालयले जनाएको छ।

कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टुमा २२ जना विद्यार्थी भर्ना गरेर पढाउन थालेको छ।न्युजकारखाना

काठमाडौं, १४ माघ ।

नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् ।

काठमाडौंमा भएको राजनितिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाएकी हुन् ।

केही देशले नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् ।

क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चीर्न चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

 

नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् ।

 

नेपालमा थप पूर्वाधार विकास नीतिगत सुधारको खाँचो रहेको उनको भनाइ छ । न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।