२०८३ आश्विन २०
२०८३ आश्विन २०

हेटौंडा । बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट थपेको छ  । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको लागि उक्त रकम भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको हो । प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो ।

प्रदेश सरकारले यसअघि नै सो रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट पठाएको उनले बताए । थप गरिएको १ करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्नेगरी रकमान्तर गरिने उनको भनाई छ ।

उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकार र महानगरपालिकाबिच साझेदारी गर्ने सहमति भए अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावका आधारमा काम सुरु गरिएको थियो । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने गरी लागत अनुमान प्रतिवेदन तयार गरेको थियो । उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने र ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९/०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ ।

बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले मन्त्रालयका सचिव विनोद कुमार भट्टराईको थाइल्याण्डमा असार २९ देखि साउन ४ गतेसम्म हुने अध्ययन तथा तालिममा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो ।न्युज कारखाना

हेटौंडा | धार्मिक पर्यटनका हिसाबले मकवानपुरको भीमफेदी गाउँपालिका एक अनौठो गन्तव्य बनेको छ। यहाँको लटारम्मेश्वर महादेवको मन्दिरले धेरैलाई आकर्षित गरिरहेको छ।

यस क्षेत्रको विशिष्ट भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण मकवानपुर लटारम्मेश्वरलाई पर्यटकहरूले नयाँ गन्तव्य बनाउन थालेका छन् । समुद्री सतहबाट १८५६ मिटर उचाइमा रहेको यो मन्दिरबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई मुग्ध पारेको छ।

यहाँको धार्मिक महत्वबारे एउटा रोचक किंवदन्ती छ। माथिल्लो यज्ञकुण्डमा महादेव त्रिलोक भ्रमण गरिरहँदा उनकी पत्नी सतीदेवीको लट्टा खसेको थियो। त्यही कारणले यो क्षेत्र ‘लटारम’ नामले चिनिन्छ। हरेक वर्ष माघे सङ्क्रान्ति र वैशाख १ गतेका दिन यहाँ विशेष मेला लाग्ने गर्छ। भीमफेदी गाउँपालिकाको इपाबाट २ घण्टाको पैदल हिँडाइपछि डब्लु डाँडाको थुम्कोमा महादेवको मन्दिर पुग्न सकिन्छ। त्यहाँबाट आकर्षक गणेश हिमाल र प्राकृतिक सुन्दरताको दिव्य दृश्य अवलोकन गर्न सकिन्छ।

डब्लु डाँडालाई बादलले ढाकिरहन्छ र छिनैमा बादल फाटेर नयाँ दृश्यहरू देखापर्छन्। सिरसिरे हावाले लहरिंदा बोटविरुवाका पातहरू नाच्ने गर्छन्। यी अनौठा प्राकृतिक दृश्यहरूले पर्यटकलाई अलौकिक अनुभूति प्रदान गर्छन्। काठमाडौंबाट मात्र २ घण्टा र हेटौँडाबाट १ घण्टामा पुग्न सकिने भीमफेदी इपाबाट २ घण्टा पैदल चढ्दा लटारम्मेश्वरको दर्शन गर्न सकिन्छ। व्यस्त शहरी जीवनबाट अलग्गिएर प्राकृतिक सौन्दर्य र धार्मिक शान्तिको अनुभव लिन चाहनेहरूका लागि यो स्थान उपयुक्त छ।न्युज कारखाना

काठमाडौं- चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन्। राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले जनाएको छ।

राईले फेसबुक म्यासेन्जरबाट ती महिलालाई कुराकानी गरी चिनियाँसँग काठमाडौंको ठमेलमा बोलाएकी थिइन्।

ती चिनियाँले महिलालाई बिहे गरेर २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याएका थिए।

ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ती चिनियाँले १ लाख ५० हजार रुपैयाँमा बेचबिखन गरी नेपाल फर्किएका थिए।

उनले ती महिलालाई घरमै बन्धक बनाएर शारीरिक तथा मानिस यातना दिई यौन शोषण गरेको खुलेको मिश्रले बताए।

महिलालाई चीनस्थित नेपाली राजदूतावासले असार ९ गते उद्धार गरी चीनबाट नेपाल फर्किने वातावरण मिलाएको थियो।

महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको मिश्रले बताए। घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना

 

हेटौँडा | बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ, जुन चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी हो। शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेटले प्रदेशको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्ने बताए ।

कुल बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ, र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। यसले चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत, र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्याएको छ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस बजेटमा विभिन्न मन्त्रालयहरूलाई प्राथमिकता र आवश्यकताअनुसार रकम विनियोजन गरिएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबैभन्दा बढी २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले प्रदेशको यातायात र संरचना विकासमा महत्वपूर्ण योगदान दिनेछ। यस बजेटले प्रदेशको समग्र विकासमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले कृषि उत्पादन वृद्धि र कृषकहरूको जीवनस्तर सुधारमा मद्दत पुर्याउनेछ।

संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याइएको छ, जसले पर्यटन प्रवर्द्धन र सांस्कृतिक धरोहरको संरक्षणमा योगदान दिनेछ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयलाई ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले उद्योग र व्यापारको प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।

वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २१ करोड रुपैयाँ र श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई ९३ करोड रुपैयाँ बजेट प्रदान गरिएको छ। स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ८ करोड रुपैयाँ र सामाजिक विकास मन्त्रालयलाई ३ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले स्वास्थ्य सेवा सुधार र सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान दिनेछ।

युवा तथा खेलकुद मन्त्रालयलाई ७४ करोड रुपैयाँ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई ६ अर्ब ९३ करोड रुपैयाँ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ४४ करोड रुपैयाँ, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई २४ करोड २ लाख रुपैयाँ, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ५० करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटमा प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, तथा स्थानीय विकासमा दिइएको छ। प्रदेश सरकारले संघीयताको मर्मलाई आत्मसात गर्दै आर्थिक गतिविधिहरूमा वृद्धि र स्थानीय तहको सशक्तिकरणमा जोड दिएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशको कुल गाह्रस्थ्य उत्पादन (GDP) वृद्धि गर्न विभिन्न कार्यक्रमहरूको घोषणा गरेको छ। विशेष गरी, साना तथा मझौला उद्यमहरूको विकास, कृषि क्षेत्रको सशक्तिकरण, र पर्यटन प्रवर्द्धनमा बजेट विनियोजन गरिएको छ। यसबाट थप रोजगार सृजना हुने र राजस्व परिचालनमा सकरात्मक प्रभाव पर्ने आशा गरिएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारको प्रमुख ध्यान केन्द्रित छ। शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालनमा ल्याइने जनाईएको छ । स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पहुँच सुधार गर्न, नयाँ अस्पतालहरूको निर्माण र विद्यमान स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गरिने योजना सरकारले ल्याएको छ ।

कृषि क्षेत्रको सुदृढीकरणका लागि सिँचाइ सुविधा विस्तार, साना सिँचाइ आयोजनाहरूको निर्माण, र कृषकलाई प्रोत्साहन अनुदानमा बजेट विनियोजन गरिएको​​ र दुग्धजन्य उत्पादनहरूको निर्यात प्रवर्द्धन गर्न आवश्यक बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।

पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न पर्यटकीय स्थलहरूको विकास, पयर्टक आकर्षण बढाउन रोड शो, मेला, र महोत्सव आयोजना गरिनेछ। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा योगदान आमन्त्री जगन्नाथ थपलियाले बताए ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बृद्धभत्ता, अपांगता भत्ता, र अन्य सामाजिक सुरक्षा योजनाहरूलाई निरन्तरता बताउदै विभिन्न जातजाति, भाषा, संस्कृतिका सम्पदाहरूको संरक्षण र विकासमा बजेट विनियो​​सले समावेशी विकासलाई टेवा पुर्याउने मन्त्री जगन्नाथ थपलियाले बताए ।

बजेटले बागमती प्रदेशको आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्नेछ। यद्यपि, बजेट कार्यान्वयनमा देखापर्न सक्ने प्रशासनिक र आर्थिक चुनौतीहरूलाई मध्यनजर गर्दै, सरकारलाई प्रभावकारी अनुगमन र समन्वयको आवश्यकता पर्न सक्छ। कुल मिलाएर, बजेटले प्रदेशको दिगो विकास र समृद्धिको मार्गमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।न्युज कारखाना

हेटौँडा | 

हेटौँडा उपमहानगरपालिकादेखी मकवानपुर बहुमुखी क्याम्पससम्म  अहिले  ठूलो संख्यामा ट्रकहरूको लस्कर देखिएको छ ।

बकैयाबाट माटो ओसारेर ल्याइरहेका ट्रकहरूलाई हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको  जनाईएको छ।

नगर प्रहरीका अनुसार, ती ट्रकहरूले आवश्यक कर तिरेको प्रमाण पेश गर्न नसकेकाले नियन्त्रणमा लिइएको हो। साथै, ओसारिएको माटोमा रेडियोधर्मी तत्व युरेनियम मिसिएको हुनसक्ने आशङ्का पनि व्यक्त गरिएको छ ।

काठमाडौं- वर्तमान शासन व्यवस्थालाई फालेर राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। मंगलबार काठमाडौंमा आम जनता पार्टी (आजपा) ले ‘गणतन्त्र कस्को, दलको कि जनताको?’ विषयक सर्वपक्षीय अन्तरक्रियामा बोल्ने वक्ताहरूले तेस्रो जनाआन्दोलन् गरेर भए पनि यो व्यवस्था बदल्नुपर्ने बताएका छन्।

कार्यक्रममा आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले ठूलो बलिदानीबाट प्राप्त गणतन्त्र मुट्ठीभरको स्वार्थमा सीमित भएकोले यसको विकल्प खोज्न जरुरी भएको बताए।

अहिले देशमा वर्तमान व्यवस्था जनताको पक्षमा नरहेको बताउँदै साहले भने, ‘आम जनता लाचार, तर दलका नेता र तिनका सीमित आसेपासेहरू मालामाल रहेको कहालीलाग्दो स्थितिलाई हामीले कहिलेसम्म सहने?’ वर्तमान लुटकारी चरित्रको दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्नेमा अध्यक्ष साहको जोड छ। ‘यो विकृत संसदीय व्यवस्थाको समूल नष्ट गर्दै आम जनताको सर्वोच्चतासहितको शासन–सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपिल गर्दछौं,’ उनले भने।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धमेन्द्र बास्तोलाले वर्तमान संसदीय व्यवस्था दलालहरूको कब्जामा रहेको जिकिर गर्दै यसको निकासका लागि विद्रोह गर्नुपर्ने धारणा राखे। बास्तोलाले अहिलेको खिचडी र स्वार्थ केन्द्रित व्यवस्थामा रहेर देश बर्बादभन्दा केही नहुने दाबी गरे। ‘यसको परिधिमा रहेर प्रचण्ड, केपी, प्रभु साह वा स्वयम् म आफैं भए पनि केही हुनेवाला छैन,’ बास्तोलाले भने।

नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले वर्तमान न्याय प्रणाली र देशको शासन प्रणाली जनमुखी नरेकोले यसमा व्यापक संशोधन र सुधार गर्नुपर्नेमा जोड दिए। अध्यक्ष घिमिरेले हरेक नेता तथा कार्यकर्ता दलभन्दा माथि उठेर देश र जनताको पक्षमा लाग्नुपर्ने समेत सुझाए।

प्रा.डा. सुरेन्द्र केसीले जनताले ठूलो त्याग तपस्या गरेर ल्याएको गणतन्त्रलाई दलहरुले निश्चित वर्गको लुटको स्वर्ग बनाउने आधार बनाएको आरोप लगाएका छन्। उनले भारतमा संविधान निर्माण गर्दा ६ करोड लागेको तर नेपालको संविधान बानाउन अर्बौं–अर्ब लाग्नु दुःखद् भएको बताउँदै भने, ‘संविधान निर्माण गर्दाखेरी नै देश कंगाल बनाउने आधार खडा भइसकेको थियो।’

एक अर्को प्रसंगमा डा.केसीले वर्तमान विज्ञान र प्रविधिको विकासले हरेकको हातहातमा मोबाइल भएपछि ठूला कर्पोरेट मिडिया आवश्यक नरहेको समेत बताउँदै भने, ‘ठूला भनिएका मिडियामा जनताको विश्वास उडेपछि किन चाहियो कान्तिपुरजस्ता मिडिया?’

नगरिक अगुवा सुन्दरमणि दिक्षितले जन आन्दोलनमार्फत राजा फालेर ल्याइएको गण्तन्त्रमा पनि अनगिन्ती छोटे राजाहरूले देशलाई असफल बनाउन लागेको आरोप लगाए।

संसदीय व्यवस्थामा संसद मन्दिरतुल्य भए पनि अहिले त्यसलाई माजाक बनाइरहेकोप्रति रोष प्रकट गर्दै दिक्षितले भने, ‘अहिले सत्ता र प्रतिपक्ष कोही पनि जिम्मेवार देखिएनन्, त्यसैले विद्रोह गरेर भए पनि यो व्यवस्था खारेज गरेर राष्ट्रपतीय प्रणालीमा जानुपर्छ।’

उनले लोकतन्त्रको सुन्दर पक्ष प्रेस स्वतन्त्रता भए पनि कैलाश सिरोहियालाई गिरफ्तार गरेर वर्तमान सरकारले शाही सत्ताको झल्को दिएको आरोपसमेत लगाए। उनले देशको प्रमुख दुष्मन भ्रष्टाचार भएको र संविधान संशोधन गरेर भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नु पर्ने पनि बताए।

आमजनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापामगारले वर्तमान शासन व्यवस्थाले देशलाई दिनप्रति दिन कमजोर बनाउँदै लगेको जिकिर गर्दै तेस्रो जनाआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए।

किराँत स्वायत्त प्रदेश संघर्ष समिति संयोजक नगेन्द्र राईले जनयुद्ध र जनाआन्दोलनबाट पहिचानको मुद्दालाई स्थापित गरे पनि पछिल्लो समयमा त्यसको विरुद्धमा मुख्य दलहरू लागेको आरोप लगाए।

आम जनतापार्टी उपत्यका विशेष कमिटी अध्यक्ष देवी पण्डितले सभाअध्यक्षता गरेको कार्यक्रमलाई पार्टी प्रवक्ता चन्द्रभुषण साहले सञ्चालन गरेका थिए।न्युज कारखाना

ललितपुर । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण आगामी साउनभित्र सकिने भएको छ । मन्त्री क्वाटरभित्रको अन्तिम चरणको काम सकिने अवस्था रहेको र साउनभित्रमा पुल्चोकस्थित क्वाटरमा रहेका मन्त्रीहरुलाई भैसेपार्टीस्थित नयाँ भवनमा सार्ने गरि अन्तिम चरणको काम भइरहेको छ ।

नयाँ मन्त्री क्वाटरको सोमवार अनुगमन गर्नुहुँदै शहरी विकास मन्त्री धनबहादुर बुढाले साउनभित्रमा पुल्चोक मन्त्री क्वाटरलाई भैसेपार्टीमा सारिने जानकारी दिए । मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका डिजी कुमार घिमिरे, सहचिवहरु पद्मकुमार मैनाली, चक्रवर्ति कण्ठ सहित भैसेपाटी पुगेका मन्त्री बुढाले मन्त्री क्वाटरको पछिल्लो प्रगतीवारे जानकारी लिनुभएको थियो ।

मन्त्री बुढाले यही साउनभित्रमा मन्त्रीज्यूहरुलाई सार्ने गरि निर्माणको काम सक्न निर्देशन दिनुभएको थियो । धेरैजसो काम सकिएपनि बाहिरी संरचना र क्वाटरभित्र साससज्जा गर्ने काम भइरहेको अनुगमनको क्रममा पाएकाले साउन महिनाभित्र हस्तान्तरण गर्न मन्त्री बुढाले निर्माण कम्पनीलाई समेत निर्देशन दिएका थिए ।मन्त्री बुढाले बनमन्त्री नवल किशोर साह र स्वास्थ्यमन्त्री प्रदीप यादवलाई समेत नयाँ क्वाटर हेर्न बोलाएका थिए ।

भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। प्रत्येक ११ आनामा एक जना मन्त्रीका लागि क्वाटर निर्माण गरिएको छ । जसअन्र्तगत ८ आनामा भवन निर्माण गरिएको छ ।

राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि भने आवास क्षेत्रफल बढाइएको विभागका महानिर्देशक कुमार घिमिरेले बताए । सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैंचा बनाउने काम अन्तिम चरणमा पगेको छ ।न्युज कारखाना

काठमाडौं- अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ के.जी १०१ ग्राम कोकिनसहित पक्राउ

पौने चार करोड रुपैयाँ बराबरको लागुऔषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छिन्।

कङ्गोलिज नागरिक ४९ वर्षीय एपुला इकुट्सु एमबोङ्गोलाई प्रहरीले १ किलो १०१ ग्राम लागुऔषध कोकिनसहित ठमेलबाट शुक्रबार पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहकी सदस्य हुन्। दुबईबाट काठमाडौं आएकी उनलाई काठमाडौं ठमेलस्थित एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताए।

शंका लागेपछि प्रहरी महिलालाई विमानस्थलबाट पछ्याउँदै ठमेल पुगेको थियो। तलासी लिँदा उनको ह्याण्ड ब्यागभित्र प्लाष्टिकको झोलामा र्‍यापिङ गरिएका कोकिनका क्याप्सुलहरू बरामद भएको कार्कीले बताए।

बरामद कोकिनको अवैध बजार मूल्य करिब ३ करोड ८५ लाख रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही थालिएको छ।

यो कारोबारमा संलग्न अन्य अन्तर्राष्ट्रिय गिरोहहरूको खोजी भइरहेको ब्युरोले जनाएको छ।न्युज कारखाना

 

 

काठमाडौँ । पछिल्लो १० महिनामा बागमती प्रदेशमा सवारी दुर्घटनामा परि ४ सय १० जानाले ज्यान गुमाइसकेका छन् ।

 

बागमती प्रदेशमा सवारी दुर्घटनाको जोखिम घटाउन प्रहरीले कडा कारबाही गर्दै चालु आर्थिक वर्षको बैशाखसम्ममा मात्र करिब ७२ करोड रुपैयाँ जरिबाना असुली गरे पनि सवारी दुर्घटनाका घटनाहरू नरोकिनु नागरिकको चिन्ताको विषय बनेको छ।

 

प्रहरीबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको बैशाखसम्म प्रदेशभरि ८ हजार ८ सय भन्दा बढी व्यक्ति सवारी दुर्घटनाका कारण घाइते भएका छन् भने ७ हजार ९ सय ३५ वटा सवारी दुर्घटनाका घटनाहरू घटेका छन्। यहि अबधिमा, ट्राफिक नियम उल्लङ्घन गर्ने ९ लाख भन्दा बढी सवारी चालकलाई कारबाही गर्दै ७२ भन्दा बढी रुपैयाँ जरिबाना असुल गरिएको छ । यहि आँकडा हेर्दा बागमती प्रदेशमा सानाठुला दुर्घटना गरि दैनिक २० वटा भन्दा बढी सवारी दुर्घटना हुने गरेको देखिन्छ ।

 

“यस्तो जरिबानाले हामीलाई सचेत बनाउँछ तर पर्याप्त छैन,” चितवन-काठमाडौं बस चलाउने सन्तोषकुमार राईले भने, “सडकहरू पुरानै छन्, सङ्केतहरू छैनन्। सवारी चालकहरूलाई शिक्षादीक्षा पनि उत्तिकै आवश्यक छ।” अर्का चालक उमेश लामाले पनि “नगद जरिबाना मात्रै भएर नपुग्ने” बताए।

 

सवारी चाप र सडक अव्यवस्थित हुनुका साथै चालकहरूको सचेतना अभावले गर्दा दुर्घटनाका घटनाहरू बढ्दै गएको प्रहरीको विश्लेषण छ। जरिबानाभन्दा पनि सडक सुरक्षा शिक्षा, सरोकारवाला निकायबीच सहकार्य र नयाँ प्रविधिको प्रयोग जरुरी देखिएको छ।

 

प्रहरी प्रशासनले पनि ट्राफिक नियमको कडाइ, चेकिङ र अनुगमन बढाए पनि दुर्घटनाको खतरा कायमै रहेको स्वीकार गरेको छ। चालु आर्थिक वर्षको बैशाखसम्ममा प्रदेशभर ९ लाख ४३ हजार ५ सय १३ जना बढी सवारी चालकलाई कारबाही गरिए पनि दुर्घटनाको सङ्ख्यामा खासै कमी आउन सकेको छैन। अर्थात् सचेतना हुन्दामात्रै दुर्घटना कमि हुने देखिएन ।

 

सरकारी तथा गैरसरकारी निकायहरूका साथै सर्वसाधारण नागरिकको सहभागितामा सडक सुरक्षा अभियानलाई नयाँ रणनीतिसहित अगाडि बढाउन सकिने विज्ञहरूको विश्लेषण छ।

 

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही

बागमती प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कडा कारबाही गरेको देखिन्छ। चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्याङ्कले यसतर्फ प्रकाश पारेको छ।

 

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशको उपत्यका बाहेकका जिल्लाहरूमा मात्रै १ लाख ८४ हजार १५८ जना ट्राफिक नियम उल्लङ्घनकर्तालाई कारबाही गरिएको छ। यस क्रममा प्रहरीले करिब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको देखिन्छ।

 

जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी ३५ हजार ६ सय ३९ जनालाई कारबाही गरिएको छ भने त्यहाँबाट २ करोड ५८ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै, मकवानपुरमा २९ हजार ७ सय ११ जना र धादिङमा १८ हजार ७ सय १९ जनालाई कारबाही गरिएको छ। राजस्व सङ्कलनतर्फ मकवानपुरबाट २ करोड २० लाख ८८ हजार र धादिङबाट १ करोड ३५ लाख ६७ हजार रुपैयाँ सङ्कलन भएको छ।

 

यसरी, सवारी चालकमाथि कडा नियम लागू गरिएको देखिन्छ। तर नियम उल्लङ्घनका घटनाहरू अझै बढ्दै गएकाले यसलाई लिएर चिन्ता बढेको छ। सरोकारवालाहरूले शान्त र सुरक्षित यातायात व्यवस्थाको सुनिश्चतताका लागि नियममा थप कडाइ गर्नुपर्ने बताउँछन्।

 

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सजग गराउँदै कारबाही गर्ने उद्देश्यले विभिन्न चेकपोइन्टहरू स्थापना गरिएको बताउँदै सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्न सबैले ट्राफिक नियमको पालना गर्नु आवश्यक रहेको नेपाल प्रहरी प्रवक्ता दान बहादुर कार्की बताउँछन्।

 

सरकारी, गैरसरकारी र निजी क्षेत्रका सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्लेषकहरूको भनाई छ। सबैको सहयोगमा मात्र दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षित यात्रा सम्भव हुने बताइएको छ। न्युज कारखाना

 

काठमाडौं-  प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले ‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ हावी भएको भन्दै त्यसविरूद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा सातै प्रदेशमा अभियानको रूपमा अगाडि बढाउने निर्णय उक्त पार्टीले गरेको छ।

काठमाडौं कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। आजपा अध्यक्ष एवम् पूर्वमन्त्री साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।

‘दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गरौं, आम जनताको शासन ल्याउन जनआन्दोलनको दिशामा अघि बढौं’ भन्ने मूल नाराका साथ वर्तमान लुटकारी सत्ताविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निष्कर्ष बैठकको रहेको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताए।

बैठकले विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारबाही गर्न/गराउन सशक्त आन्दोलन गर्ने समेत निर्णय गरेको छ।

विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने बैठकले निर्णय गरेको प्रवक्ता साहले जानकारी दिए।

‘भ्रष्टाचार, अनियमितता, कुशासनको विरूद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरेको छ,’ साहले भने।

यसैगरी बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरूविरुद्ध पीडित आमजनताको पक्षमा जारी संघर्षलाई थप शसक्त प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय बैठकले गरेको छ।

आजपा निकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका जिल्लाहरूमा विद्यार्थीको अनुपात एवम् विषयगत शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ। सो आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय गरिएको छ,’ आजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।न्युज कारखानाच

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।