२०८२ चैत्र २५
२०८२ चैत्र २५

काठमाडौं, १४ फागुन ।

सत्तारुढ कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले आरोपप्रत्यारोको शृङ्खलाले सदनमा मूल विषय छायाँमा परेको बताएका छन् ।

 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले केही दिनयता सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदबीच चलेको आरोपप्रत्यारोपले मूल विषय छायाँमा परेको बताएका हुन् ।

आरोपप्रत्यारोपले मूल विषय छायाँमा पर्ने भएकाले आयोगले पोलेको, सहकारी ठग्ने र दुईचारथान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्न लगाउनुपर्ने बताए ।

‘विगत केही दिनदेखि यताकोले उता बसेको दागी देख्ने, उताकोले यता बसेको दागी देखाउने दोहोरी चलिरहेको छ । यही पाराले न संसद राम्ररी चल्ने भयो । मूल विषय पनि छायाँमा पर्ने भयो । अब यसो गर्न लगाऔँ,’ उनले भने, ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् । अख्तिायारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने, दुईचारथान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ । यति गर्न सकेदेखि के होला ? निर्दाेष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नुहोला । अलि अलि सफा गर्न सकेदेखि अनि बडोमजाले यहाँ मिटरब्याजकोबारेमा, दूधको किसानले दूधको मूल्य नपाएकोबारेमा, एनसेलको प्रतिवेदनबारे जमेर सार्थक छलफल गर्न सकिन्थ्योहोला । होइन भने यताकोले उता देखाउने, उताकोले यता देखाउने दोहोरी चलिनै राख्ने भयो । ”न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

संसदमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस गरिएको छ ।

सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्मा पेस गरेको हो ।

साथै सोमबार नै राष्ट्रिय सभामा पनि अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभामा अर्थमन्त्री महतले उक्त प्रस्तावबारे जानकारी गराइरहेकाले राष्ट्रिय सभा बैठक सोमबार नै बस्नेगरी २१ मिनेटका लागि स्थगित गरिएको छ । न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएपछि आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई दुई दिनको समय दिँदा पनि नजरअन्दाज गरिएको आरोप लगाए ।

सभामुखबाटै रुलिङ भइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएको भन्दै उनले यसरी बैठक अघि बढ्न नसक्ने बताए ।

बालकुमारीसहित विभिन्न घटना तथा मिटरब्याजीको समस्या समाधानका विषयमा सरकारको जवाफ माग्दै एमालेसहित प्रतिपक्षी दलले सरकारको जवाफ मागेको छ । न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

प्रतिनिधिसभा बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।

 

राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको बिधयेक टेबुल गरिनेछ ।

 

साथै, उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिधुत ब्यापार बिधेयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । न्युज कारखाना

काठमाडौं, १३ फागुन ।

प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएपछि प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गरे । शाहीकै पक्षमा सत्तारुढ दलकै कांग्रेस सांसद सुनील शर्मा देखिए ।

आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै माओवादी केन्द्रका सांसद सापकोटाले भने, ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ? संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’

सांसद सापकोटाले राप्रपा सांसदमाथि नैतिकताको प्रश्न उठाएर राजीनामा दिनुपर्ने तर्क अघि सारे । यसपछि राप्रपामा प्रमुख सचेतक शाहीले संविधानमा फरक मत राख्ने अधिकार सुरक्षित रहेको भन्दै सापकोटालाई संविधान पढ्न सुझाव दिए । जनताको हत्या र हिंसा गरेर राप्रपाका सांसद संसदमा नआएको भन्दै उनले राजीनामा किन दिनुपर्ने भन्दै प्रश्न गरे ।

 

‘यो देशमा यो व्यवस्था चाहिने नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ । कसैले विचार मिल्दैन भन्दै अमूक मान्छेले राजीनामा माग्न पाइँदैन । अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुप¥यो । संविधानले विशेष अधिकार दिएको छ । कुनै पनि सांसदले स्पष्ट रूपमा वाक् स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन,’ उनले भने, ‘मैले किन राजीनामा दिने ? मैले आठ÷नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? किन राजीनामा दिने ? मैले नेपाली जनता मारेको हो ? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो ?’

राप्रपाका शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । तर, पाण्डेको नियमापत्तिको सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले पाण्डेको विरोध गरे ।न्युज कारखाना

भैरहवा, १३ फागुन ।

दादुरा-रुबेलाविरुद्धको खोप अभियान रुपन्देहीमा आजबाट सुरु भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखापरेपछि सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न थालेको हो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आजदेखि चैत्र ७ गतेसम्म देश व्यापी रूपमा सो खोप अभियान ल्याएकाे छ ।

 

राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान २०८०/२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा-रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।

 

पहिलो समूहमा दादुरा-रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख गरिएको छ ।

 

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले यस उमेरका कुनै पनि बालबालिका दादुरा-रुबेलाको खोप लगाउनबाट नछुट्ने गरी खोप लगाउने तयारीका साथ व्यवस्थापनमा जुटेको जानकारी दिए । रुपन्देहीमा दुई चरणमा गरी ३ लाख १४ हजार ७३८ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने उनले बताए ।

 

खोप अधिकृत शर्माका अनुसार पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गरी नौवटा पालिका र दोस्रो चरणमा फागुन २० देखि २४ गतेसम्म गैडहवा, कञ्चन, सैनामैना, सममरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गरी सात पालिकामा यो खोप अभियान सञ्चालन हुनेछ ।

 

रुपन्देहीमा अभियान सफल बनाउन १ हजार एक सय खोप केन्द्र सञ्चालन गरिने छ भने २ हजार २ सय खोपदिने स्वास्थ्यकर्मी, ३ हजार ३ सय स्वयम्सेवक परिचालन गरिनेछ । यस्तै ३४ हजार ९३६ भायल भ्याक्सिन र ३ लाख ९१ हजार ५०४ वटा सिरिन्जको समेत व्यवस्था भइसकेको खोप अधिकृत शर्माले जानकारी दिए । पहिलो चरणमा खोप लगाइने पालिकामा भ्याक्सिनबाहेकका अन्य आवश्यक सबै सामग्री पालिकामा पुगिसकेको छ।

 

खोप अधिकृत शर्माले दादुरा-रुबेलाबाट संक्रमित एकजना बालकले १८ जनासम्मलाई सार्न सक्ने भएको र यही किसिमबाट संक्रमण फैलिँदै गएमा महामारीको रुप लिने भएकाले कुनै पनि बालबालिका नछुट्ने गरी खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको हो । यो खोप थप मात्रा भएकोले पहिले नियमित खोप लगाएका बालबालिकाहरुले पनि अनिवार्यरुपमा लगाउनुपर्ने खोप हाे।

 

दादुरा-रुबेलाबाट तराईका जिल्लाका साथैं काठमाडौं उपत्यकाका बालबालिका बढी प्रभावित हुने भएकोले यी ठाउँका १५ वर्षसम्मका बालबालिकालाई यो खोप दिइने छ भने अन्य जिल्लाका ५ वर्षसम्मका बालबालिकाले यो खोप प्राप्त गर्नेछन् । स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले दादुरा-रुबेलाबाट ५ वर्षमुनिका बालबालिका बढी प्रभावित हुने बताउँदै सरकारले सुरु गर्न लागेको अभियानबाट बालबालिकालाई नछुटाउन आग्रह गरे ।

 

आफ्नो पायक पर्ने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न स्वास्थ्य तथा जनसङख्या  मन्त्रालय आग्रह गरेको छ । यस्तै ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइने जनाएको छ । दादुरा, रुबेला सङ्क्रामक र प्राणघातक रोगहरू भएकाले बालबालिकाको अनिवार्य खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।न्युज कारखाना

काठमाडौ, १३ फागुन ।

सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।  यस्तै, कम्पनीको सञ्चालक समिति बैठकले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।न्युज कारखाना

काठमाडौ, १३ फागुन ।

नेपाली बजारमा सुन–चाँदीको भाउ आइतबार बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतिताला १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो । न्युज कारखाना

काठमाडौं, १३ फागुन ।

आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आइततबार अपरान्ह ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आइतबार बिहानका लागि बोलाइएको थियो ।

बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, तराई मधेश अभियानका लागि कार्यविभाजनका विषयमा छलफल हुनेछ ।

माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजाय गर्ने पनि जनाइएको छ ।न्युज कारखाना

काठमाडौं, १३ फागुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारीसहित विभिन्न घटनामा प्रधानमन्त्रीको जवाफ माग्र्दै आएको छ ।

 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छानबिन आयोगको प्रतिवेदन, मन्त्री ज्वालाको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने भन्दै उठेर विरोध गर्‍यो ।

प्रतिचपक्षी दल एमालेका सांसद उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले यसबारे सदनको ध्यानाकर्षण भएको र यसबारे सरकारलाई रुलिङ भइसकेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । त्यसपछि एमालेका सांसद आ–आफ्नो स्थानमा बसेपछि बैठक चलिरहेको छ ।

एमालेले बालकुमारी घटनामा छानबिन आयोगले मन्त्री ज्वालालाई दोषी देखाएकाले उनले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । मन्त्री ज्वालाले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने उसको माग छ ।

साथै टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा माग्दै आएको छ ।
न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।