बज्जिकाञ्चल संवाददाता,राैतहट,०७ गते चैत ।
राैतहट । राैतहटमा आज एसइइकाे पहिलो दिन परिक्षाकाे मर्यादा भंग गर्नेमाथि कार्यवाही गरिएको छ । पैसा लिई चाेरी गर्न माेबाईल पुर्याउने एक जना परीक्षा निरिक्षक र चिट पुर्याउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाचारमा देखाइएको तस्बिर सामाजिक संजाल फेसबुुकमा भाईरल बनेकाे भिडियो बाट लिएको तस्बिर हाे ।
जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले दिएको जानकारी अनुसार जिल्लाकाे यमुनामाई गाँउपालिका वडा नम्बर ५ स्थित रहेको श्री यमुनामाई माध्यमिक विद्यालय झुन्खुन्वा परिक्षा केन्द्रमा परिक्षार्थीहरुबाट केही रकम लिई परिक्षा केन्द्रमा मोबाईल प्रवेश गराउने परीक्षा निरीक्षक १ जना पक्राउ परेका छन् ।
त्यस्तै जिल्लाकाे मौलापुर नगरपालिका वडा नम्बर ५ स्थित रहेको श्री लक्ष्मिनिया मा.बि. मौलापुर परिक्षा केन्द्रको बाहिरबाट चिट पुऱ्याउने कार्य गर्ने १ जना मानिस गरी २ जनालाई परिक्षाको मर्यादा भंग गर्ने कसुरमा पक्राउ गरिएकाे उनले बताएका छन् ।
उनीहरू दुवैजनालाई सम्मानित जिल्ला अदालत रौतहटबाट म्याद अनुमाति लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान ०८:०० बजे देखि संचालन भएको एसइइ परिक्षामा विभिन्न परिक्षा केन्द्रमा चिट चोर्न प्रयोजनको लागि परिक्षार्थीहरुले आफ्नो शरिरमा मोबाईल लुकाई छिपाई परिक्षा हल भित्र प्रवेश गरेकोमा चेकजाँचको क्रममा गर्दा ४ सय २४ वटा माेबाईल समेत बरामद गरी नियन्त्रणमा लिईएको प्रहरीकाे भनाइ छ ।
रौतहट जिल्ला भरीमा रहेको १ खुल्ला सहित ९९ वटा सामुदायिक विद्यालय, २० वटा संस्थागत विद्यालय र ८ वटा प्राविधिक विद्यालय गरि १ सय २७ वटा विद्यालयबाट एसइई दिने छात्रछात्राहरुको लागि जिल्ला भरिमा ४० वटा परीक्षा केन्द्र कायम गरिएको छ ।
यसवर्ष एसईई परीक्षामा साधारण तर्फको नियमित र प्राविधिक तर्फको नियमित तथा ग्रेड वृद्धि तर्फका गरी १० हजार ४ सय ८४ जना छात्रछात्राहरु सहभागी छन् ।
आरके श्रीवास्तव,रौतहट,०५ गते चैत ।
रौतहट । स्ववियु चुनाव बिधार्थीको होइन् कि दलतन्त्रको चुनाव भइसकेको आम बिधार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताएका छन् । आज देशैभरी स्ववियु निर्वाचन चलिरहेको बेला मधेशदृष्टि सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
देशमा क्याम्पस प्रमुख नियुक्ती हुन्छ त्यो सबै पार्टीकै मार्फत बाट आउँछन् । देशमा दलतन्त्र जसरी हाबी त्यसरी नै क्याम्पस प्रमुख पनि विभाजित छन् । त्यही क्याम्पस प्रमुख र पार्टीको मिलोमतोमा तिनका बिधार्थी संगठनहरुले चुनावमा भाग लिने हो । त्यही पार्टीको दलबलले, व्यापारीहरुको शक्तिले उनीहरुकै खर्चबर्चले चुनाव जितछन् ।
उनले भन्छन्—एक अर्थमा भन्ने हो भने स्ववियु निर्वाचन नै दुर्गन्धीत भइसकेको छ । खुला खुल्ला दारु मासुको खेल भइसकेको छ । ठेकेदार,कर्मचारी देखि लिएर नेताहरु चुनावमा मासिसकेका छन् । यो चुनाव स्वतन्त्र हुनुपर्ने तर यसमा सबैतिरका मान्छे हाबीछन् ।
इमान्दार एवम् आम विद्यार्थीहरु लड्ने वातारण नरहेकोले आम विद्यार्थी मोर्चाले देशमा भइरहेको स्ववियु निर्वाचनमा बहिष्कार गरेको उनले बताएका छन् । दलका नेताहरू देश लुटिरहेका छन् र तिनका विद्यार्थी संगठनहरू कलेज लुट्नमा लागेको आरोप लगाएका छन् ।
उनी थपछन् पार्टीले क्याम्पस प्रमुख नियुक्त गर्छन् र त्यही क्याम्पस प्रमुखको मिलोमतो र नेताहरू एबं व्यापारीहरूको लाखौं रुपैयाँको चलखेलले उक्त दलको विद्यार्थी संगठन जित्छन् । परिणाम यो छ कि विद्यार्थी संगठन नभएको कलेजमा राम्रो एवं गुणस्तरीय पढाई हुन्छ तर विद्यार्थी संगठनहरू भएको ठाउँमा प्रशासनसँग भागबण्डाको खेल बढी, आन्दोलन र राजनीति बढी र पढाइ जिरो हुने गरेको छ ।
तसर्थ आम विद्यार्थी मोर्चाले स्वव्यू निर्वाचनको बहिष्कार गरेको हो र सम्पूर्ण विद्यार्थीलाई यस कुकर्मको हिस्सा नबन्न अनुरोध गर्दछु । ,साहले भने
आरके श्रीवास्तव,राैतहट,०५ गते चैत ।
राैतहटकाे गरूडामा रहेको बंशीराम जयसवाल अनाथालयलाई गरूडा नगरपालिकाले पाँच लाख सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथालयलाई हरेकवर्षझैं यस वर्षपनि सहयोग गरेको छ ।
नगरप्रमुख कन्थमनी जयसवालले आज एक कार्यक्रमका बिच अनाथालयका संस्थापक बंशीराम जयसवाललाई पाँच लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको छ । अनाथालयमा आश्रित अनाथ तथा असहाय बालबालिकाहरूको शिक्षा, खानपान तथा आवश्यक सुविधाको व्यवस्थापनका लागि अनुदान स्वरूप साे रकम प्रदान गरिएको नगरप्रमुख कन्थमनी जयसवालले बताउनु भएको हाे ।
अनाथ तथा असहाय बालबालिकाहरूको उज्जवल भविष्यको सुनिश्चितता तथा अनाथालयको प्रतिष्ठा जोगाउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत मेयर जयसवालले जनाउनु भएको हाे ।
यसरी नै सहयोग र दानकाे भरमा चल्दै आएकाे अनाथालयलाई मेयरमा निर्वाचित भएदेखिनै प्रत्येक वर्ष ५ लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आईरहनु भएको छ । साे अनाथालयमा २६ जना बालबालिकाकाे यस्तै सहयोग र दानबाट पालनपोषण हुँदै आएको छ । मनकारी दाताहरूलाई अनाथालय परिवारले सहयोगकाे अपेक्षा व्यक्त गरेको छ ।
नूरआलम बादशाह,बारा,०५ गते चैत ।
जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडाध्यक्ष सुनील गुप्तालाई प्रहरीले हिरासतमा लिएर म्याद थप गरेको छ ।
प्रहरीले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बाराबाट अनुमती लिएको हो । चैत्र १ गते होलीका दिन राती जीतपुरसिमरा ७ मा रहेको परशुराम गिरीको घरमा जवर्जस्ती प्रवेश गरि कुटपिट तथा गाली गलौज गरेको आरोप गुप्तामाथी लागेको छ ।
राती ९ः३० बजेको समयमा वडाध्यक्ष गुप्ता सहितको एउटा समुह गिरीको घरमा प्रवेश गरी केही व्यक्तिलाई कुटपिट गरेको सिसिटिभी भिडियो बाहिरीएको थियो । सो क्रममा घरधनी परशुराम गिरीले हवाई फायर समेत गरेपछि सो घटनाले उग्ररुप लिएको हो ।
लाइसेन्स प्राप्त बन्दुक घरमा राखेका गिरीले आफ्ना छोरा तथा नातीमाथी वडाध्यक्ष सहितको समुहले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेकाले बाध्य भएर हवाई फायर गर्नुपरेको बताएका छन् । शुरुमा जिल्ला प्रशासन कार्यालयले दुबैपक्षलाई राखेर घटना मिलाउने प्रयास गरेपनि सहमती हुन नसकेपछि आइतबार बारा प्रहरीले वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएको थियो ।
यता बारा क्षेत्र नम्बर ४ का सांसद तथा पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठले सोमबार संसदमा समेत यहि विषय उठाएपछि बारा प्रहरी थप दबाबमा परेको छ । प्रहरी स्रोतका अनुसार बारा प्रहरीले सो घटनामा संलग्न थप १० जनालाई पक्राउ गर्न बारा जिल्ला अदालतबाट अनुमती लिएको छ ।
यद्यपी उनीहरुको नाम गोप्य राखिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडाध्यक्ष गुप्ता आपराधिक उपद्रव मुद्दामा पक्राउ परेको यो दोश्रोपटक हो । अघिल्लो बर्ष जीतपुरका राजुराज गिरीको घरमा डोजर लिएर छिरेका गुप्तामाथि आपराधिक उपद्रवको मुद्दा लागेको थियो ।
बारा जिल्ला अदालतबाट दोषी ठहर भएर उच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै वडाध्यक्ष गुप्ता दोश्रो पटक उस्तै प्रकृतीको मुद्यामा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्तोष तामाङका अनुसार बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर वडाध्यक्ष गुप्तालाई हिरासतमा राखिएको छ । आइतबार पक्राउ परेका गुप्तालाई सोमबार प्रहरीले बारा जिल्ला अदालतमा पेश गरेको थियो ।




बज्जिकाञ्चल संवाददाता,रौतहट,०५ गते चैत ।
रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुर बेलविछवामा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखाको २७ औं वार्षिक साधारण सभा तथा सातौ उपशाखा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । उपशाखाका सभापति रामविलास साहको सभापतित्व तथा जिल्ला शाखाका सभापति राज किशोर प्रसाद यादवको प्रमुख आतिथ्यमा विधिविधान पूर्वक सम्पन्न भएको छ ।
समाजमा हुने आपदा विपदामा सहयोग गर्दै अईरहेको रेडक्रस लाई भेलामा आएका भद्रभलादमीहरुले धन्यवाद दिदै प्रशंसा समेत गरेका थिए । सो कार्यक्रममा विशिष्ट अतिथि तथा निर्वाचन अधिकारीको रुपमा मन्त्री धर्मेन्द्र प्रसाद सिंह, उपशाखा महादेवपट्टीका सभापति हेमन्त यादव, शाखा अधिकृत कपिलदेव पंडित, समाजसेवी तथा राजनीतिज्ञ शंकर राय यादव, मिथलेश यादव, रामदरेस यादव, सचिव शिवमंगल पंडित, समाजसेवी राकेश यादव, परमेश्वर यादव, कृष्णनन्दन साह, राजेन्द्र साह, जगत साह, बिजय यादव, भाग्यनारायण साह, शम्भु ठाकुर, सुरज साह लगायतका उपस्थितीमा सचिव तथा कोषाध्यक्षबाट प्रस्तुत वार्षिक तथा आर्थिक प्रतिवेदन सभासद बाट पारित गर्दै नयाँ नेतृत्वमा पुनः रामविलास साहको सभापतित्वमा ११ सदसीय निर्विरोध कार्यसमिति गठन गरी सम्पन्न भएको छ ।
आरके श्रीवास्तव,रौतहट,०३ गते चैत ।
देशमा संघियता आएदेखि आम नागरिकको सेवा सुविधामा बढोतरी भएको छ । अहिलेको व्यवस्था प्रति असंतुष्टी बढिरहेको बेला नागरिकलाइ प्रत्यक्ष लाभ भएको तिर कसैको ध्यान छैन् । यसको कुनै चर्चै छैन् । गणतन्त्र आएपछि केही परिवर्तन भएन भन्नेहरु एकचोटी रौतहटको ग्रामीण क्षेत्रलाइ नियालेर हेर्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ । बाटोघाटो कालोपत्र,पक्कीकरण मात्र होइन् स्वास्थ्य सेवामा पनि सुविधा पाएका छन् ।
कुनै बेला गाउँघरमा समयमा एम्बुलेन्स नपुगेर अकालमै गर्भवती महिलाको मृत्यु हुने गरेको घटना धेरै सुनिन्थ्यो । तर आजकल यो कमै सुन्न पाइन्छ । यो सबको देन स्थानिय सरकारलाइ जान्छ । रौतहटको राजपुर नगरपालिकाको नगरभरीको गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ ।
सो सेवाबाट लाभ लिने गरिब र विपन्नहरु दिनप्रतिदिन बढ्दै गएका छन् । दैनिकजसो आधादर्जन भन्दा बढी सेवाग्राहीहरुले निःशुल्क एम्बुलेन्स सेवा उपभोग गर्दै आएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र राजपुर फरहदवामा पहिलादेखि नै एउटा एम्बुलेन्स निःशुल्क रुपमा सञ्चालन हुँदै आएको थियो ।
केहीदिन अघिमात्र नगर प्रमुख डा.राजिक आलमले संघिय स्वास्थ्य मन्त्रालयमा पहलगरी अर्को नयाँ एम्बुलेन्स निःशुल्क रुपमा सञ्चालमा ल्याएपछि आम नागरिकलाइ झन सहज भएको छ । यसबाट नगरवासी लाभान्वित भइरहेका छन् ।
आवश्यक परेको बेला सबैले लाभ पाइरहेको प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले जनाएका हुन् । ठाकुरले एक महिनाको अवधिमा १ सय ५० जनाभन्दा बढी विपन्न र गरिबले अति आवश्यक परेको बेला निःशुल्क एम्बुलेन्स सेवा लिएको बताएका हुन् ।
आपत्कालीन अवस्थामा नगरवासीलाइ अस्पताल पुग्न निकै सहज भएकोले निःशुल्क एम्बुलेन्स सेवा निकै प्रभावकारी बन्दै गएको मेयर डा.आलमको भनाइ छ ।
मेयर आलमले भन्नुभयो, “नगरभित्र मात्रै होइन कोही असाध्यै गरिब र असहायले अनुरोध गर्दा नगर बाहिरसम्म पनि न्यून शुल्कमा सेवा दिने गरेका छौँ । गर्भवती बाहेक अन्य विरामीलाइ पनि न्यून शुल्कमा सेवा दिने गरिन्छ । “निःशुल्क एम्बुलेन्स सेवा २४ सै घण्टा सञ्चालनमा रहेको उनी बताउँछन् ।
मेयर आलमले भन्नुभयो, “पैसा नभएका बिरामीलाई अस्पतालसम्म पुग्न कुनै कठिनाइ नपरोस् भन्ने उद्देश्यले यो सेवा चौबिसै घण्टा एम्बुलेन्स नगरपालिकाले सञ्चालनमा ल्याएको हो, यसबाट गरिब र विपन्नले फाइदा पाउन थालेको हुँदा निकै खुसी लागेको छ ।“
राजपुर नगरपालिकाका मोजरे आलम भन्छन्—पैसा नभएको र आपत् परेको बेला उपमहानगरको निःशुल्क एम्बुलेन्सको सहयोग पाउँदा बिरामीको ज्यान जोगिएको छ । समयमा एम्बुलेन्स सेवा पाउँदा आफ्नो गर्भवती पत्नीले समयमै उपचार पाएको बताएका छन् ।
राकेश यादव,राैतहट, ३ गते चैत ।
राैतहट । नागरिक समाज रौतहटको आब्हानमा बसेको सर्बपक्षीय बैठकले बिबादित गौर राइस एण्ड फ्लोर मिल्स लिमिटेडको जग्गाको अधिग्रहणको प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गरेका छन्।
बिगत केहि दिन देखि गौर राइस मिलको बिषयमा आन्दोलन भै रहेको अवस्थामा नागरिक समाजको अगुवाईमा बिबादित बिषयको निष्कर्षमा पुर्याउन सम्पूर्ण जग्गा अधिग्रहण गरी गौर नगरपालिकाको नाउमा ल्याउने निष्कर्ष निकाल्दै अधिग्रहण प्रक्रिया अगाडी बढाउनलाइ नगरपालिकालाइ ज्ञापन पत्र बुझाएका हुन।
नागरिक समाजका अध्यक्ष जगरनाथ प्रसाद केसरीको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि सहितको गएको टोलीले नगर प्रमुख शम्भु साहलाइ बुझाएको ज्ञापन पत्रमा २ बिगाहा १५ कट्ठा निशुल्क रुपमा लिने भनि नगरपालिकाको निर्णय बदर गरी सम्पूर्ण जग्गा सार्बजनिक हितको निमित्त अधिग्रहण गर्नु पर्ने प्रक्रिया अविलम्भ बढाउनु पर्ने माग गरिएको छ।
नगरबासीको चाहना सम्पूर्ण जग्गा गौर नगरपालिकाको नाउमा आउनु पर्ने भएकोले सोहि अनुसार कार्य गर्न अनुरोध गरिएको अध्यक्ष केसरीले बताएका छन्।
बर्षौ देखि खेलकुदको मैदानको रुपमा प्रयोग हुदै आएको गौर राइस मिलको जग्गाको बिक्रि प्रयोजनको लागि गरिएको मुद्दा फिर्ता लिएर सर्व पक्षीय, सर्ब दलिय बैठक आब्हान गरी स्रोत व्यवस्थापन गराउनलाइ संघीय सरकार प्रदेश सरकार तथा स्थानीय सरकारलाइ दवाव सृजना गर्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको नेकपा एकिकृत समाजवादी पार्टीका नेता रेवन्त झाले बताए।
आन्दोलनले समस्या समाधान हुने नभएकोले सबैको सहमति सहकार्यमा निकास निकाल्नु पर्ने आवश्यकता माथि जोड दिदै यसको लागि सबैले बजेट व्यवस्थापन गराउन सक्रिय पहल गर्नु पर्ने धारणा राखे।
नागरिक समाजको बैठकले गौर राइस मिलको नाउमा दर्ता कायम रहेको ५ बिगाहा १९ कट्ठा १५ धुर जग्गाको मुल्यांकन गराई बजेट व्यवस्थापन गरी छिटो भन्दा छिटो अधिग्रहण गर्नु पर्ने निर्णय समेत गरेको छ।
बैठकमा पुर्ब प्रदेश सभा सदस्य बाबुलाल साह, नेपाली कांग्रेसका रौतहट जिल्ला कार्य समितिका सचिव राम चन्द्र गिरि, नेकपा माओवादीका प्रतिनिधि चन्देश्वर राउत, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम बिहारी यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अनिल कुमार सिंह, समाजसेवी रामेश्वर प्रसाद यादव लागायतका बिभिन्न व्यक्तित्वहरू सहभागी भएको थियो।
मुकेश कुमार साह,रौतहट ०३ गते चैत ।
राैतहट । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने क्याम्पस, जनज्योती बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर मा स्ववियु निर्वाचनको सरगर्मी बढेको छ। मनोनयन दर्ता सकिएपछि विद्यार्थी संगठनहरू चुनावी प्रचारमा सक्रिय भएका छन्। उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त रहेका छन् भने मतदाता आकर्षित गर्न विभिन्न रणनीति अपनाइएको छ।
स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनहरूले आफ्ना उम्मेदवारहरू घोषणा गरिसकेका छन्। यसपटकको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
क्याम्पसमा लामो समयदेखि प्रभाव जमाउँदै आएका यी दुई संगठनहरूबीचको टक्कर निकै रोचक हुने अनुमान गरिएको छ । दुबै संगठनका उम्मेदवारहरू आफ्नो जित सुनिश्चित गर्न कुनै कसर बाँकी राख्न चाहँदैनन्। चिया पसलदेखि क्याम्पस क्यान्टिनसम्म, टोल-टोलदेखि छात्रावाससम्म चुनावी बहस चलिरहेको छ।
नेविसंघ का अध्यक्ष पदका उम्मेदवार मोहम्द नौसाद आलम नेतृत्वको टिमले विद्यार्थी अधिकार, शिक्षाको गुणस्तर सुधार, पूर्वाधार विकास तथा अतिरिक्त गतिविधिहरूको विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। उनीहरू क्याम्पसमा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनलाई बलियो बनाउनुपर्ने तर्क अघि सार्दै छन्।
त्यस्तै, अनेरास्ववियु का अध्यक्ष पदका उम्मेदवार दामोदर उप्रेती नेतृत्वको टिमले आफूलाई विद्यार्थी हकहित र क्याम्पस सुधारको पक्षधर बताउँदै, विगतका उपलब्धिहरूको रक्षा गर्दै थप परिवर्तन ल्याउने दाबी गरिरहेको छ। अनेरास्ववियु समर्थकहरूले संगठनलाई जिताउन पुरानो सञ्जाल र संगठनात्मक शक्तिको भरपूर प्रयोग गरिरहेका छन् ।
यस्तै, अखिल (क्रान्तिकारी) ले पनि चुनावी मैदानमा आफ्नो बलियो उपस्थिति देखाएको छ। अध्यक्ष पदका उम्मेदवार अजय पटेल को नेतृत्वमा क्रान्तिकारी समूहले शिक्षा नीतिमा आमूल परिवर्तन, क्याम्पसका विद्यार्थीहरूको आर्थिक, सामाजिक तथा शैक्षिक उत्थानका लागि आफूहरू लड्ने दाबी गरिरहेको छ।
संयुक्त समाजवादी विद्यार्थी युनियन नेपाल ले अध्यक्ष पदमा राजन चौधरी लाई उम्मेदवार बनाएको छ। उनीहरूको टोलीले विद्यार्थीहरूको समस्या समाधानमा ध्यान दिने, क्याम्पसमा समावेशी शिक्षा प्रणाली लागू गराउने तथा शैक्षिक सुधारका लागि संघर्ष गर्ने एजेन्डा अघि सारेको छ।
निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुनेछ। उम्मेदवारहरू प्रचारप्रसारलाई तीव्र पार्दै मतदाता प्रभावित गर्ने अभियानमा जुटेका छन्। विद्यार्थीहरू विभिन्न समूहमा विभाजित भएका छन्, जसले यो निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक बनाइदिएको छ ।
क्याम्पसभित्र मात्र होइन, सामाजिक सञ्जालदेखि विद्यार्थी बसोबास गर्ने क्षेत्रहरूमा पनि चुनावी बहसले स्थान लिएको छ। अनेरास्ववियु र नेविसंघ बीचको कडा प्रतिस्पर्धाले माहोल रोचक बनेको छ भने अन्य संगठनहरू पनि बलियो उपस्थिति जनाउन लागिपरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,०३ गते चैत ।
तराई मधेसका किसानलाई अहिले व्यस्तता बढेकाे छ । उनीहरू अहिले ताेरीबाली भित्र्याउन व्यस्त देखिन्छन् । खेतखेतमा जताततै तेहलन बाली ताेरी र सरसाे उखारी रहेको देखन सकिन्छ ।
ताेरी र सरसाे मसुरो सँग लगाउने प्रचलन बढी रहेको पाइन्छ । यसलाई भिन्दै खेती गरेको थाेरै पाईन्छ । रौतहटमा ताेरी बाली मिश्रित तथा घुसुवा बालीको रूपमा लगाइन्छ ।
कृषि ज्ञान केन्द्र राैतहटका अर्थ विज्ञ विपलव कुमार गुप्ताले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/८१ मा १२ हजार ३ सय पचास हेक्टर क्षेत्रफलमा ताेरी बाली खेती भएको थियो । जसमा ९ हजार १ सय ८० मेट्रिक टन ताेरीबाली उत्पादन भएको थियो ।
अर्थ विज्ञ गुप्ताका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ११ हजार ४ सय हेक्टर क्षेत्रफलमा ताेरी खेती भएको छ भने ९ हजार मेट्रिक टन ताेरीबाली उत्पादन हुने अनुमान गरिएको छ ।
उनका अनुसार पानि जम्ने ठाउँ बाहेक रौतहट भरिनै यसको खेती मिश्रित तथा घुसुवा बालीको रूपमा गरिने गरिन्छ ।
अहिले तोरी भित्राउने समय रहेकोले ७५% पाकिसकेपछी होसियारपुर्पक काटेर सुकाउनु गुप्ताले सुझाएका छन् ।
तोरीको गेडालाइ ५-७ दिन घाममा सुकाएर भण्डारण गर्न पनि सल्लाह दिएका छन् । लामो समयसम्म भण्डारण गर्दा ९ प्रतिशत भन्दा कम चिस्यान हुनेगरी भण्डार गर्नपनि उनी सुझाउँछन् ।