आरके श्रीवास्तव,गरुडा, ०५ गते वैशाख ।
रौतहटको गढीमाई नगरपालिका ४ संग्रामपुर पर्सा माइती भई रौतहटकै दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा बिहे भएकी एक युवतीको हत्या गरी लास झुन्ड्याइदिएको आरोप आफन्तले लगाएको छ । रौतहटको गरुडास्थित होटल एनपि स्टारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मृतक २७ वर्षीया अलका ठाकुरका बुबा राम किशोर ठाकुर, आमा अनिता कुमारी ठाकुर र भाइ मनमोहन ठाकुरसहितका आफन्तहरुले मृतकका पति संजीव झा र घरपरिवारका अन्य सदस्य मिलेर हत्या गरी लास झुन्ड्याएको आरोप लगाएका हुन् ।
घटना गत बैसाख १ गते सोमबारको भएको पीडित पक्षको भनाइ छ । बिहान साढे ९ बजेतिर छोरी ज्वाइँ संजीव ठाकुरले फोन गरेर छोरी मर्न लागेको जानकारी गराएका थिए । छोरीको अवस्था बुझ्न सदरमुकाम गौर नजिक रहेको सिसवाबाट आफन्तलाई पठाउँदा छोरीलाई झुन्डिएको अवस्थामा स्थानीय तथा प्रहरी प्रशासनले चारैतिरबाट घेरेर राखेको र लास उठाउने मुचुलका बनाइरहेको बताएपछि आफूहरु दौडेर त्यहाँ पुगेको ठाकुरको भनाइ छ ।
केही आफन्तसहित छोरीको घरमा पुगेका ठाकुरलाई त्यहाँको अवस्थाको बारेमा फोटोसमेत प्रहरीले खिच्न नदिएको आरोप रहेको छ । ठाकुरले भने – प्रहरीले फोटोसमेत खिच्न दिएन ।
त्यहाँ रहेका झा परिवारले भने जस्तै प्रहरीले एकोहोरो गरेको र लास उठाएपछि बलजफ्ती गौरमा पोस्टमार्टम गर्न खोज्दा आफूहरुले रोकेर काठमाडौँमा गर्ने अडान लिएको पत्रकार सम्मेलनमा ठाकुरले बताए । काठमाडौँमा पोस्टमार्टम गरेपछि अस्पतालले आफूलाई लासको जिम्मा दिएको मृतकको भाइ मनमोहन ठाकुरको भनाइ छ । आफूले लास बुझेको तर रौतहट ल्याएपछि तिन ट्रक प्रहरीले बलजफ्ती लास खोसेर मत्सरीका झा परिवारको जिम्मा दिएको आरोप लगाएका छन् । ठाकुरको भनाइ छ – आफूहरुले नै लासको सद्गति गर्न पाउनुपर्ने अडान राखेपछि प्रहरीले लछारपछार गरेको, लाठी चार्ज गरेको र आफूहरुमाथि अमानवीय व्यवहार गरेका थिए ।
ठाकुरले गत २०७६ जेठ ५ गते धुमधामसित साढे २२ लाख रुपैया खर्च गरेर छोरीको विवाह झासित गरेको बताउँदै पछि थप साढे तिन लाख रुपैया दिएको र छोरीले पनि ज्वाईँलाई चार चक्के गाडी किन्न सात लाख रुपैया दिएको बताएका छन् । बिहे भएको ६ वर्षसम्म झाले विवाह दर्ता नगराएको आरोप लगाउँदै पहिलेदेखि नै छोरीमाथि झा परिवारको कुदृष्टि रहेको आरोप लगाएका छन् । अनेक किसिमको दुव्र्यवहार सहँदै छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरिरहेकी थिइन् । झा परिवारले हत्या गर्नुभन्दा दुई दिन पहिलेदेखि नै छोरी चढ्ने स्कुटरको साँचो खोसेर राखेका थिए । शनिवारदेखि कुरा समेत गर्न नदिएको झा परिवारले सोमवार छोरीको हत्या गरी झुन्ड्याएर प्रहरीको सहयोगमा आत्महत्यामा परिणत गरेको आरोप पीडित पक्षको रहेको छ ।
मृतकका बुबा र आमाले पत्रकारसामु भक्कानिएर रुँदै भने – आफूहरुको सहारा कोही छैन ।
पीडित परिवारले मानव अधिकारवादी संघसंस्थाहरुले पनि घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि दिपक कुमार रायले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् । पोस्टमार्टमको रिपोर्ट आएपछि सोहीअनुसार अगाडि बढ्ने रौतहट प्रहरीको भनाइ छ ।
आरके श्रीवास्तव,राैतहट,०४ गते चैत ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले वैशाख १५ गते सम्म सवै वडा र पालिका अधिवेशन गर्न परिपत्र गरेकाे छ ।
आज लाेसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले परिपत्र जारी गर्दै वैशाख १५ गते सम्ममा अधिवेशन सक्न निर्देशन दिनु भएको हाे ।

लाेसपा नेपालकाे आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै पार्टीको निर्वाचन निर्देशिका -२०८१ अनुसार धारा(१)(३) बमोजिम वडा र पालिका सम्बन्धित जिल्ला र सम्बन्धित निकायका सम्पूर्ण नेता,कार्यकर्ता तथा शुभचिन्तकहरू सामेल गराई अधिवेशन गर्न भनिएको हाे ।
यस अघि दुई चाेटी म्याद थप गरेर अधिवेशन सकाउन परिपत्र गरिएको थियोे । २०८१ चैत २० गतेमा गरिएको परिपत्रकाे समय सिमा थप गरि २०८२ वैशाख १५ गते सम्म कायम गरिएको लाेसपा नेपालका महासचिव मनिष मिश्रले जानकारी गराउनु भएको हाे ।


आरके श्रीवास्तव,गरुडा,०३ गते वैशाख ।
अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टीलाइ स्मार्ट तरिकाले पार्टीको गतिविधिलाइ अगाडी बढाइरहेको जिल्ला अध्यक्ष नन्दकिशोर राय यादवले बताएका छन् । पार्टीले उनलाइ जिल्लाको जिम्मेवारी दिएपछि पहिलोचोटी सञ्चारकर्मीहरु समक्ष बोल्दै उनले यस्तो बताएका हुन् । स्मार्ट जमानामा स्मार्ट तरिकाले नै म पार्टीलाइ अगाडी बढाउने सोचमा छु ।
जिल्लाको १६ वटा नगरपालिका र २ वटा गाउँपालिकामा जसपाको गतिविधि द्रुत गतिमा बढाइरहेको उनको भनाइ छ । संगठन निर्माणको कामहरु धमाधम भइरहेको छ । छिट्टै नै कार्यक्रम गरि सार्वजनिक गर्नेछौं । अहिलेको पार्टीहरुले गर्न नसकेको काम हामी गरेर देखाउन चाहन्छौं ।
बिधार्थीकाल देखिनै पार्टीमा लागेको कारण त्यसकै मूल्यांकन स्वरुप आफूलाइ जिल्लाको जिम्मेवारी दिइएको छ । त्यसलाइ भरपुर रुपमा जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । मधेश आन्दोलन देखि नै आफू पार्टीमा सक्रिय रहदै आएको बताए ।
पार्टी विभाजित भएपछि कुनै अब्बल र कुनै कमजोर हुन सक्छ । जसपा रौतहटमा बलियो पार्टीको रुपमा उभरेर आउने उनको भनाइ छ । आफनो नेतृत्वमा जसपा रौतहट बलियो बन्ने ठोकुवा गरेका छन् ।
उनले भने—पार्टीले जुन भरोसा जताएको छ त्यसमा आफू खरा उत्रने बताएका छन् । अन्त्यमा उनले बुढापाखाहरु मत्र नेतृत्व गर्न सक्छन् भन्ने दिन अब गए । हामी यूवाहरु नेतृत्व गर्न सक्षम छौं । यूवाहरुले देशको समृद्धि र विकासका लागि कम्मर कसेर लाग्नुपर्ने अहिलेको आवश्यकता हो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०३ गते वैशाख ।
गुजरा नगरपालिका–५ मा विना सूचना उपभोक्ता समिति गठन गरिएको आरोपमा बिभिन्न दलका प्रतिनिधिले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । सो वडाका वडाध्यक्ष शेख जमालुदिनले समिति गठनमा मनोमानी गरेको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन ।
प्रदेश सरकारबाट लक्ष्मीपुरदेखि घागी खोलासम्मको स्तरोन्नतिको लागी बिनियोजित ३५ लाखको बजेटमा कसैलाई जानकारी नदिई एकलौटी रूपमा उपभोक्ता समिति गठन गरिएको आरोप वडाध्यक्ष शेख जमालुदिनमाथि स्थानियले लगाएको छ ।
यस्तै सोहि वडामा रहेको हरिहरपुर स्वास्थ्य चौकीको भवन निर्माणको लागि आएको बजेटमा भने यसपटक विगतको गल्ती नदोहोर्याउने भन्दै सार्वजनिक भेला आयोजना गरिएको थियो ।
प्रदेश सरकारबाट सो भवन निर्माणको लागी २५ लाख रुपैयाँ बिनियोजित भएको छ । उक्त भवन निर्माणको लागी स्वास्थ्य चौकीको प्राङ्गणमै सर्वपक्षीय सहमतिमा उपभोक्ता समिति गठन गर्ने उद्देश्यले बैठक बसेपनि भेलामा सहमति जुट्न नसकेपछि विवाद चर्किएर झै झगडाको रुप लिएको थियो । विवादका क्रममा सेख कमरुदिन घाइते भएका थिए ।
नेपाली कांग्रेसका वाजिद अली, नेकपा एसका आलम बक्सिद, माओवादी केन्द्रका आस मोहम्मद मन्सुरी, जसपाका आरिफ मिया दर्जी लगायतका स्थानीय नेताहरूले वडाध्यक्षले निरन्तर रूपमा मनोमानी गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

विवाद चुलिँदै गएपछि प्रहरी-प्रशासनको रोहवरमा वडाको कार्यालयमा तालाबन्दी गरिएको छ। करिव एक हप्ता देखी कार्यालय बन्द हुँदा सेवा लिन आएका नागरिक समस्यामा परेका छन् । नागरिकता सिफारिसका लागि पुगेका स्थानीय आविद हुसेनले भने, “वडामा काम नहुँदा हामी सर्वसाधारणले दुःख पाएका छौं।”
यस विषयमा वडा अध्यक्ष गम्भीर हुनुपर्ने सेवाग्राहीको भनाई छ ।
यता वडाध्यक्ष शेख जमालुदिनले आफुमाथी लागेको आरोपलाई खण्डन गर्दै भने, “समिति सहमतिमा बनाउने हो, तर तालाबन्दी गर्नु समाधान होइन।”
बिकासको काममा कोहि बाधक बन्न नहुने उनको तर्क छ ।
विवाद समाधानको लागि बुधबार गुजराका नगर प्रमुख सन्तलाल चौधरीको निवासमा बसेको सर्वपक्षीय बैठक पनि निष्कर्षविहीन बनेपछि समस्या झन पेचिलो बन्दै गएको छ ।
आरके श्रीवास्तव,राैतहट,०३ गते वैशाख ।
राैतहट प्रिमियर लिग (आरपिएल) मा बुधबार गुजरा राइडर्सले तेस्रो जित निकालेको छ । कटहरिया बाेल्टस विरूद्व उसले आफनाे जित निकालेको हाे ।
टस जितेर पहिले ब्याटिङ गरेको गुजरा राईडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रनकाे याेगफल तयार पार्न सफल भएको थियोे ।
जवाफी ब्याटिङमा उत्रेको कटहरिया बाेल्टसले १६ ओभर ४ मा अल आउट हुँदै ८२ रन मात्र बनाउन सक्याे । अन्ततोगत्वा गुजरा राइडर्सले ६२ रनकाे जित निकालेको छ ।
खेलमा राइडर्सका खेलाडी प्रदिप पासवान मैन अफ दि मैच घाेषित भएका थिए । उनले २२ रन बनाउँदै नट आउट रहँदै ४ विकेट समेत लिएका थिए ।

मंगलबार पनि प्रतियोगितामा बलियो मानिएको तराइ टाइगर गरुडा विरुद्धको खेलमा गुजरा राइडर्सले विजयी हासिल गरेको थियोे ।
टस जितेर पहिले बैटिङ्ग गर्दै गुजरा राइडर्सले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय २८ रन बनाएको थियो । जवाफी बैटिङ्गमा उत्रेको तराइ टाइगर गरुडाको टिमले १९ ओभर ३ बल खेल्दै सम्पूर्ण विकेट गुमाइ मात्र १ सय २० रन बनाउन सकेको थियो ।
यसरी ८ रनले गुजरा राइडर्स विजयी भएको थियोे । खेलमा ४९ रन र २ विकेट लिएका विशाल पटेलले मैन अफ द मैच घोषित भएका छन् ।
जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।
काठमाडौं ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा –एमाले)का इमानदार नेताकार्यकर्ताहरुले नेताहरुको कुकर्मलाई स्वीकार नगर्ने टिप्पणी गरेका छन् ।
आजपा केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सीलाई एमाले र कांग्रेसबाट खतरा रहेको बताए ।
‘नेपाली कांग्रेस र नेकपा एमालेका इमानदार नेताकार्यकर्ताहरुले यि नेताहरुको कुकर्मलाई स्वीकार्दैनन् । नेताहरुको लुट, भ्रष्टाचार तपाईकै पार्टीका नेताकार्यकर्तालाई बढी थाहा छ,’ आजपा अध्यक्ष साहले भने, ‘अत्याचार बिरुद्ध गठित पार्टी जहाँ मदन भण्डारी, विपी कोइरालाको बिचार प्रवाहित भईरहेको छ । त्यो पार्टीले नेताहरुको कुकर्मलाई कदापी स्वीकार्दैनन् ।’
सिंहदरवारबाट भ्रष्ट नेताहरुले कुर्सी खाली गरे मात्रै मुलुकले अहिलको संकटबाट निकास पाउने बताउदै उनले भने, ‘हामीले पटक पटक भनेका छौं, तपाईहरुले कुर्सी छोड्नु । सिंहदरबार खाली गर्नुस् । नेताहरु मालामाल भए, जनता लचार भए । यदी तपाईहरुले कुर्सी छोड्नु भएनन भने जनताले लतारेर निकाल्छन् । तपाईहरुको पार्टीमा हजारौं कार्यकर्ताहरु पनि छन्, जसले तपाईहरुको लुट, भ्रष्टाचार पनि हेरिरहेका छन् । उनीहरुले पनि तपाईलाई छोड्नेवाला छैनन् ।’
अहिले मुलुक गम्भिर संकटबाट गुज्रिरहेको बताउदै उनले नेताहरुले जतिछिटो सिंहदरबारबाट कुर्सी खाली गर्छन् त्यति छिटै नै मुलुकको संकट समाधान हुने बताए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०२ गते वैशाख ।
किशोरीहरुलाई लक्षित गर्दै गौरमा १० दिने मानसिक स्वास्थ्य तथा रूपान्तरण तालिम सम्पन्न भएको छ l
SAFE Girls परियोजना अन्तर्गत रौतहट जिल्लाको गौरमा स्थित होटल सिया प्यालेसमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सफलतापूर्वक सम्पन्न भएको हो । उक्त तालिममा १८ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवतीहरूको सहभागीता रहेको थियो l
सेफ गर्ल्स (SAFE Girls) परियोजनाको आयोजना तथा KOCIA , UNFPA र Good Neighbor’s International को सहयोग र आर.डी.सी नेपालको सहकार्यमा १० दिने मानसिक स्वास्थ्य तथा रुपान्तरण तालिम सम्पन्न भएको छ।
परियोजनाको कार्यक्षेत्र रौतहट र सर्लाही जिल्लाका विभिन्न पालिकाहरूमा फैलिएको छ। रौतहटमा गौर, यमुनामाई, देवाही गोनाही, राजपुर र परोहा नगरपालिका/गाउँपालिका रहेका छन् भने सर्लाहीमा हरिपुर्वा, बसबरिया र कौडेना नगरपालिका/गाउँपालिका रहेका छन्।
दुई समूहमा सञ्चालन गरिएको तालिममा प्रत्येक समूहमा २५ जना सहभागी थिए। तालिमको अवधि १० दिनको रह्यो जसमा २.५ दिन मानसिक स्वास्थ्य सम्बन्धी तालिम, आधा दिन PSEA (Protection from Sexual Exploitation and Abuse) तालिम र बाँकी ७ दिन रुपान्तरण तालिम सञ्चालन गरिएको थियो। रुपान्तरण तालिममा पहिलो देखि १0औँ मोड्युल सम्मको प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको उद्घाटन RDC नेपालका अध्यक्ष डा. पारस हुसैनको अध्यक्षतामा सम्पन्न भयो। उदघाटन सत्रमा रौतहटका प्रमुख जिल्ला अधिकारी श्री विनोद कुमार खड्का, UNFPA का प्रतिनिधि रोशन अधिकारी तथा Good Neighbor’s International का प्रतिनिधि शक्ति लामा उपस्थित भएका थिए l कार्यक्रम SAFE Girls परियोजनाको परियोजना संयोजक प्रिया चौरसियाले सञ्चालन गरेकी थिइन्। साथै, कार्यक्रममा परियोजनाको कार्यक्षेत्रभित्रका सबै पालिकाका लैंगिक फोकल पर्सनहरूको उपस्थिति रहेको थियो।
SAFE Girls परियोजनाको उद्देश्य किशोरी र युवतीहरूलाई जीवनोपयोगी सीप, मानसिक स्वास्थ्यको ज्ञान, लैंगिक हिंसाबाट सुरक्षा तथा हानिकारक अभ्यासहरू विरुद्ध सशक्त बनाउनु हो। यस परियोजनाले किशोरीहरूलाई आत्मविश्वासी, सुरक्षित र सम्मानित बनाउने परिकल्पना बोकेको छ।
मानसिक स्वास्थ्य तालिमबाट सहभागीहरूले आत्म-चिनारी, तनाव व्यवस्थापन, सहानुभूतिपूर्ण संप्रेषण, र मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्न सिकेका छन्। यस तालिममार्फत सहभागीहरू समुदायमा परिवर्तनकर्ता बन्ने तयारीमा छन्।
तालिमका प्रशिक्षकहरूमा मानसिक स्वास्थ्यका लागि चाँदनी घिमिरे र बिपिन थापा थिए भने रुपान्तरण तालिममा रुपा जोशी, पुष्पा कुमार पोखरेल, बिन्जु बराल र सशिष थापा रहेका थिए।
सेफ गर्ल्स परियोजना किशोरी तथा युवा महिलाहरूलाई जीवन उपयोगी सीप, मानसिक स्वास्थ्य, लैङ्गिक हिंसाविरुद्धको सचेतना र सशक्तिकरणमार्फत सुरक्षित, आत्मविश्वासी र सम्मानित जीवन निर्माणतर्फ प्रेरित गर्ने एक सशक्त पहल हो।
अब यी ५० मेंटर्सहरू (रुपान्तरण सहजकर्ता) आफ्नो समुदायमा ज्ञान फैलाउने, परिवर्तन ल्याउने र सुरक्षित तथा स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने दूतका रूपमा सक्रिय हुनेछन्।
आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख ।
रौतहट प्रिमियर लिग (आरपिएल) मा आज भएको खेलमा गुजरा राइडर्स टिमले विजयी हासिल गरेको छ । प्रतियोगितामा बलियो मानिएको तराइ टाइगर गरुडा विरुद्धको खेलमा गुजरा राइडर्सले विजयी हासिल गरेको छ ।
टस जितेर पहिले बैटिङ्ग गर्दै गुजरा राइडर्सले २० ओभरमा ८ विकेटको क्षतीमा १ सय २८ रन बनाएको थियो । जवाफी बैटिङ्गमा उत्रेको तराइ टाइगर गरुडाको टिमले १९ ओभर ३ बल खेल्दै सम्पूर्ण विकेट गुमाइ मात्र १ सय २० रन बनाउन सकेको थियो ।

यसरी ८ रनले गुजरा राइडर्स विजयी भएको छ । खेलमा ४९ रन र २ विकेट लिएका विशाल पटेलले मैन अफ द मैच घोषित भएका छन् ।
जारी लिगमा गुजरा राइडर्सले तीन खेल खेलेकाे छ । जेमा दुईमा जित र एकमा हार बेहाेरेकाे छ ।
जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।
आरके श्रीवास्तव,राैतहट,०२ गते वैशाख ।
राैतहट । राैतहटको फतवा विजयपुर नगरपालिका वडा नम्बर २ शितलपुरकाे छठ घाटसँगै हनुमान मन्दिरको आज एक कार्यक्रम गरी शिलान्यास गरीएको छ ।
साे वडाका वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयकाे प्रमुख अतिथ्यतामा हनुमान मन्दिरको शिलान्यास गरीएको हाे ।

आम जनता पार्टीका वडा कमिटि उपाध्यक्ष चन्दन प्रसाद यादवले वडा अध्यक्ष यादवकाे राेहबरमा शिलान्यास गर्नु भएको हाे । वडा स्तरीय याेजनाबाट मन्दिरको निर्माण गर्न जमर्को गरीएको वडा अध्यक्ष यादवले बताएका छन् ।
गाउँमा धेरै मानिसहरूले हनुमानजीकाे पूजा गर्ने गर्छन् वहाँहरूकै माग अनुसार मन्दिर निर्माण हुन लागेकाे उनकाे भनाइ छ । यसबाट हनुमान भक्तहरूलाई पुजापाठ गर्न सहज हुने बताए ।

मन्दिर र धार्मिक पर्यटकीय स्थलकाे रूपमा रहदै आएकाे आफ्नो वडामा यस्ता मन्दिर निर्माण हुनुले बाहिरी धार्मिक पर्यटन भित्र्याउन मदत पुग्ने उनले बताएका छन् ।
वर्षाैं पुरानाे महादेव मन्दिर पनि शितलपुरमा नै रहेको छ । यहाँ सयौंको संख्यामा मानिसहरू पुजापाठ गर्न आउने गरेका छन् ।
मंगलबार शिलान्यास गरिएको साे मन्दिरकाे निर्माण कार्य यसै चालू आर्थिक वर्षमा सम्पन्न गरिने वडा अध्यक्ष यादवले बताएका छन् । वडाकाे विकास र समृद्धिका लागि आफू दिनरात लागि परेको उनकाे भनाइ छ । उनले आफनाे वडाकाे विकासका लागि कृषि बाटाेघाटाे निर्माण देखि लिएर धेरै कामहरू गरेका छन् ।
मन्दिर शिलान्यासकाे अवसरमा स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियोे ।