महोत्तरी, बैशाख २५ – महोत्तरी जिल्लाको बलवा नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक धुर्वकुण्डको मर्मत तथा सौन्दर्यकरण कार्यक्रमको शिलान्यास एक विशेष समारोहका बीच सम्पन्न गरिएको छ।

शिलान्यास कार्यक्रम लोसपा नेपालको संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य जय नुल राईन, बलवा नगरपालिकाका प्रमुख रामविजय महतो, वडा नं. ९ का वडा अध्यक्ष सनाउला शेख, लोसपा नेपाल बलवा नगरपालिकाका सभापति रामनिवास यादव, लोसपा नेपालका केन्द्रीय सदस्य जिवक्ष साह तथा वडा नं. १० का लोसपा नेता तथा प्रत्याशी रामेश्वर मण्डलको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा लोसपा पार्टीका विभिन्न तहका नेताहरूको समेत उपस्थिति रहेको थियो। उनीहरूले ऐतिहासिक र धार्मिक महत्व बोकेको धुर्वकुण्डको संरक्षण, मर्मत तथा सौन्दर्यकरणमार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। शिलान्यास समारोहको क्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।




आरके श्रीवास्तव,राैतहट,२५ गते वैशाख ।
रौतहट जिल्लाकाे निर्वाचन क्षेत्र नं. ३(१) अन्तर्गत गुजरा नगरपालिका-१, मनहर्वामा सडक स्तरोन्नति तथा आरसीसी ढलान निर्माणका लागि करिब ४५ लाख रुपैयाँको बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशको सहयोगमा अगाडि बढाइने उक्त परियोजनाको शिलान्यास कार्यक्रम बिहीबार सभ्य र भव्य रूपमा सम्पन्न भएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व राज्यमन्त्री केशव राय चौधरीले शिलान्यास गर्नु भएको हो । कार्यक्रममा वडा अध्यक्ष,स्थानीय नेता,विभिन्न राजनीतिक दलका कार्यकर्ता,उपभोक्ता समिति सदस्य,समाजसेवी तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पूर्व राज्यमन्त्री चौधरीले सम्बोधन गर्दै प्रदेश सरकारमार्फत गाउँगाउँमा पुग्ने विकास योजनाहरूले स्थानीयको जीवनस्तर उकास्न मद्दत गर्ने बताएका छन् । उनले आगामी दिनमा पनि जनताको आवश्यकता र मागअनुसार योजना ल्याइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सडक स्तरोन्नति तथा ढलान निर्माण सम्पन्न भएपछि मनहर्वा क्षेत्रमा सवारी तथा पैदल यातायातमा सहजता आउने,पानी जम्ने समस्या समाधान हुने र समग्रमा जनजीवनमा सकारात्मक प्रभाव पर्ने स्थानीयवासीहरूले बताएका छन् ।

उक्त योजना उपभोक्ता समितिमार्फत निर्माण गरिने जानकारी दिइएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते वैशाख ।
मित्र राष्ट्र भारतको जम्मु-कश्मीरको पहलगाम क्षेत्रमा सोमबार भएको आतंकी आक्रमणमा बुटवल निवासी नेपाली नागरिक सुदीप न्यौपानेसहित २९ जना पर्यटकको नृशंस हत्या गरिएको घटनाप्रति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गहिरो दुःख प्रकट गर्दै आक्रोश व्यक्त गरेको छ।

उक्त हमलाको प्रतिशोधस्वरूप भारतीय सेनाले ‘अपरेशन सिन्दुर’ सञ्चालन गर्दै पाकिस्तान शासित कश्मीरका विभिन्न ९ वटा आतंकी सेल्टरमा हवाई आक्रमण गरी ध्वस्त पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लोसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार भाद्वारा जारी प्रेस विज्ञप्तिमा आतंकवादविरुद्धको यस्ता कारबाहीको पार्टीले समर्थन गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “विश्वको जुनसुकै कुनामा हुने आतंकवादविरुद्धको कार्यवाहीप्रति लोसपा नेपाल ऐक्यबद्धता जनाउँछ।”

मृतक सुदीप न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको विज्ञप्तिमा यस्ता आतंकी हमलामा निर्दोष नागरिकको हत्या भई आएकोप्रति पार्टीले गम्भीर भर्त्सना समेत गरेको छ।
लोसपाले भारतीय सेनाद्वारा गरिएका जवाफी कारबाहीलाई पीडित परिवारका लागि थोरै भए पनि मलहम हुने कार्य भएको बताएको छ ।
आरके श्रीवास्तव,राैतहट,२४ गते वैशाख २०८२ ।
रौतहट — गुजरा नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आधारभूत विद्यालयमा आज एक विशेष पुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामविलास साहले बालबालिकालाई समयमै पुस्तक वितरण गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको बताउँदै भने, “हामीले यस वर्ष समयमै पाठ्यपुस्तक प्राप्त गरी विद्यार्थीहरूलाई वितरण गर्न सफल भयौं। यसले पठनपाठनमा सहजता ल्याउनेछ र गुणस्तरीय शिक्षाको लागि सकारात्मक प्रभाव पार्नेछ।”

उनले स्थानीय सरकार, अभिभावक, शिक्षक तथा अन्य सरोकारवालाहरूलाई समेत सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् । “शिक्षा क्षेत्रमा सबैको साझा लगावले मात्रै सुधार सम्भव हुन्छ,” प्रधानाध्यापक साहले थपे।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूले नयाँ पुस्तक पाएर उत्साह प्रकट गरेका थिए।

आरके श्रीवास्तव,राैतहट,२४ गते वैशाख ।
गरूडा । रौतहटको समनपुरलाई मुख्य राजमार्गसित बिर्तामा जोड्ने सडकमा सधैँ लुटपाटको खतरा देखिएको छ । मुख्य गरी नरकटिया र सुन्दरपुरको बिचमा यात्रुहरुमाथि आक्रमण हुँदै आएको पाइएको छ ।
कटहरिया नगरपालिका ८ का वडाध्यक्ष समिश विक्रम शाहमाथि सोमवार राति बिर्ता–समनपुर सडकमा आक्रमण भएको छ । दुईओटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुको समूहले लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेको वडाध्यक्ष शाहले बताएका छन् ।
आक्रमणबाट वडाध्यक्ष शाहलाई कुनै क्षति नपुगेको भए पनि निजले चढेको चारपांग्रे गाडीमा भने क्षति पुगेको छ । वडाध्यक्ष शाहले चढेको गाडीको सीसा फुटेको छ ।
नरकटिया नजिकै चौबाटो रहेको र त्यसैको आसपासमा यस्ता घटनाहरु बारम्बार घट्ने गरेका छन् । गत वर्ष त्यहीँ लुटपाटको ठुलो घटना भएको थियो । बेपारीहरुमाथि पनि उक्त सडकमा आक्रमण हुँदै आएको छ ।
एकपछि अर्को लुटपाटको घटना हुन थालेपछि साँझ पर्नासाथ समनपुर–बिर्ता जोड्ने सडकको नरकटिया–सुन्दरपुर खण्ड सुनसान हुने गरेको छ । केही महिना पहिले पत्रकारहरुको एउटा समूह समनपुरबाट बिर्तातर्फ फर्किरहेको समयमा अँध्यारोबाट सडकतिर आई केही मानिसहरुले मोटरसाइकल रोक्न खोजेको तर प्रेस लेखिएको देखेपछि केही नगरी बाटो छोडेको थियो । एक जनाको हातमा लट्ठी भएको र अन्यको हातमा अँध्यारोमा नचिनिने केही सामग्री भएको देखिएको थियो ।
सोही बाटोबाट हरैयातिर जाने सडकखण्ड पनि लुटपाटको दृष्टिले अत्यन्त खतरनाक रहेको वडाध्यक्ष शाहको भनाइ छ । केही मानिसहरुले लुट्ने किसिमले नै उक्त क्षेत्रमा बाटो हिँड्ने यात्रीलाई लक्षित गरी बस्ने गरेको वडाध्यक्ष शाहको भनाइ छ ।
घटना लगत्तै वडाध्यक्ष शाहले इलाका प्रहरी कार्यालय गरुडालाई खबर गरेको र प्रहरीसँगै उक्त क्षेत्रमा पुगेर घटनास्थल देखाएको बताएका छन् । सधैँ सर्वसाधारण यात्रुमाथि आक्रमण भइरहने ठाउँमा प्रहरीको ध्यान जान नसकेको आरोप रहेको छ ।
प्रहरीको गस्ती हुनुपर्ने र अन्य तरिकाले निगरानी गरी यात्रीहरुसित लुटपाट गर्नेमाथि कारबाही गर्नुपर्ने स्थानीयको भनाइ छ । प्रहरीले सक्रियता नदेखाउँदा समनपुर–बिर्ता सडक बदनाम हुँदै गएको छ ।
यस विषयमा ईप्रका गरूडाका डिएसपी राजन कार्की सँग साेधदा घटनाकाे बारेमा बुझने बताएका छन् । लगत्तै मातहतका प्रहरी युनिटमा पेट्राेलिङ्ग गर्न निर्देशन दिएका छन् ।
आरके श्रीवास्तव,राैतहट,२४ गते ।
कटहरिया । सशस्त्र प्रहरी बल नेपालको एक घुमुवाको कारण तीनओटा मोटरसाइकल एकापसमा जुध्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बुझिएको छ ।

भारतबाट तस्करी गरेर सामान ल्याएको भन्दै सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारका सशस्त्र प्रहरी सहायक हवलदार सुबास सिंहले लखेट्दै जाँदा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा ठोक्किनासाथ घुमुवा सिंहको मोटरसाइकल पनि त्यहीँ ठोक्किन पुगेको थियो ।

घटना कटहरिया नगरपालिका ४ लालबकैया नजिक पुलको हो । बुधवार दिउँसो सशस्त्र प्रहरी दुधियाभारका घुमुवा सिंहले मोटरसाइकलमा सामान ल्याउनेहरुसित रकम असुल गर्न कटहरिया पुगेको बेला घटना भएको हो । घुमुवा सिंहले एक जना कारोबारीलाई रोक्न खोज्दा नरोकेपछि लखेटेका थिए ।

सशस्त्र प्रहरीको घुमुवाले चलाई रहेको बा ८४ प ७३८३ नम्बरको मोटरसाइकलले कारोबारी चढेको ग ४ प ४०७३ नम्बरको मोटरसाइकल र बिआर ३० पी ७९३६ को मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । दुर्घटना भएपछि कारोबारीले चढेको मोटरसाइकल र सामान छोडेर कारोबारी फरार भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । फरार कारोबारीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले जानकारी गराएका छन् ।

दुर्घटनामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सबार फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहाका करिब ३५ वर्षका दिलिप कुमार साह र ४८ वर्षका अनुठा यादव घाइते भएका छन् । घाइते दुवै जनाको उपचार वीरगंजस्थित गण्डक अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय गरुडाको भनाइ छ । घाइतेमध्ये दिलिप कुमार साहको अवस्था गम्भीर रहेको बुझिएको छ ।
यसै गरी कारोबारीलाई लखेट्ने सशस्त्र प्रहरी सहायक हवलदार सिंह पनि दुर्घटनामा घाइते भएका छन् ।
घटनापछि स्थानीयवासी र प्रहरीबिच केहीबेर झडप पनि भएको छ । स्थानीयवासीले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको खबर छ । स्थानीहरुले गरेको कुटपिटबाट सशस्त्र प्रहरीका एक जना प्रहरी घाइते भएको पनि बुझिएको छ ।

घटनापछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय कटहरियालाई पनि घेराउ गरेको थियो । सयौँको संख्यामा आक्रोशित भीडले सशस्त्र प्रहरीमाथि कारबाहीको माग गर्दै इप्रका घेराउ गर्न पुगेका थिए । केही बेर अवस्था तनावग्रस्त बनेको भए पनि स्थिति सामान्य भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
आरके श्रीवास्तव,गरूडा,२४ गते वैशाख ।
रौतहटको चन्द्रपुर–८ बेतौनास्थित कोटिहोम क्रिकेट मैदानमा जारी ‘जय नेपाल कप’ अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा कटहरिया बहुमुखी क्याम्पसकाे टिम विजयी भएको छ ।

आज भएको खेलमा कटहरियाको टिमले केवल रामसुरत बहुमुखी क्याम्पसलाई ४ विकेटले पराजित गरेको हो । टस जितेर बलिङ गर्ने निर्णय लिएको कटहरियाले १९.१ ओभरमै प्रतिद्वन्द्वी टिमलाई ११५ रनमा अलआउट गरेको थियो । जवाफी ब्याटिङमा कटहरियाले १७ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पछ्याउँदै जित दर्ता गर्याे ।

कटहरियाका मुस्ताक आलमले ३० बलमा ४२ रनको आक्रामक पारी खेल्दै टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उत्कृष्ट प्रदर्शनका लागि आलमलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएकाे थियोे ।
कटहरियाका कप्तान संजीव अधिकारीले टिमलाई उत्कृष्ट रणनीति र समन्वयमा अगाडि बढाएका थिए । कप्तान ठाकुरको शान्त स्वभाव र निर्णय क्षमताले टिमको प्रदर्शनमा महत्त्वपूर्ण योगदान दिएको हो । उनले क्षेत्ररक्षण र बलिङ परिवर्तनमा चातुर्य देखाउँदै विपक्षी टिमलाई दवावमा राखेका थिए ।
जितपछि क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले टिमका सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै आगामी खेलहरूका लागि शुभकामना व्यक्त गरेका छन् । लेखाप्रमुख रामनिवास यादवले पनि खेलाडीहरूको हौसला अभिवृद्धि गरेका छन् ।
प्रतियोगितामा जिल्लाका ६ वटा क्याम्पस टिमहरूको सहभागिता रहेको छ । कटहरियाको आगामी खेल गाैरीशंकर यादव रौतहट क्याम्पससँग बिहीबार हुने कार्यक्रम छ।
आरके श्रीवास्तव,राैतहट,२४ गते वैशाख ।
कटहरिया । राैतहट जिल्लाको गुजरा नगरपालिका–८ मा अवस्थित मुस्लिम समुदायका लागि महत्वपूर्ण मानिने कब्रगाह/कब्रस्थान (धेरा बेरा) निर्माण कार्यकाे शिलान्यास कार्यक्रम बुधबार सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त निर्माण कार्यका लागि युवा, खेलकुद तथा समाज कल्याण मन्त्रालय,मधेश प्रदेश सरकार मार्फत करिब २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि राैतहट निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सांसद एवम् पूर्व राज्यमन्त्री केशव राय चौधरीको विशेष पहलमा साे घेराबेरा हुन लागेको हाे ।

शिलान्यास कार्यक्रममा स्थानीय नेता, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उपभोक्ता समिति सदस्यहरू, समाजसेवीहरू तथा स्थानिय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

कब्रगाह निर्माणले मुस्लिम समुदायमा धार्मिक कार्य सम्पन्न गर्न सहज हुने भन्दै स्थानीयवासीहरूले पूर्व राज्यमन्त्री रायकाे यस पहलप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री चौधरीले धार्मिक सहिष्णुता र सामाजिक समरसता कायम राख्दै विकासका कार्यहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय तह,प्रदेश सरकार तथा समाजसेवीहरूको सक्रियताले धार्मिक तथा सामाजिक पूर्वाधार विकासमा टेवा पुर्याउने विश्वास स्थानीय बासिन्दाहरूले व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,२३ गते वैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निकट लोकतान्त्रिक महिला संघको बैठक वैशाख २२ गते काठमाडौंको बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैठकमा महिला संघको आगामी कार्ययोजना,जिल्ला संगठन विस्तार लगायत विविध विषयमा गहन छलफल गरिएको छ ।
बैठकले लोकतान्त्रिक महिला संघको संशोधित विधानअनुसार धनुषाकी अन्नु महासेठलाई सह-सचिव,धनुषाकै मिना ठाकुर र पर्साकी ज्याेती पटेललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

संघकी अध्यक्ष मिनु कुमारी ठाकुरले मनोनयनप्रति बधाई ज्ञापन गर्दै देश,मधेश, महिला तथा पार्टीको हितमा नवनियुक्त पदाधिकारीहरूको भूमिकालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेकी छन् ।

संघले आगामी दिनमा देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिने तथा महिला सहभागिता सशक्त बनाउने योजना अघि सारेको छ ।