२०८३ बैशाख ४
२०८३ बैशाख ४

बज्जिकाञ्चल संवाददाता,२०८२ जेठ २६ गते । 

जनकपुरधाम । एकीकृत समाजवादी पार्टीका मधेस प्रदेश सांसद कनिस पट्टेलले सरकारको वार्षिक नीति तथा कार्यक्रममा कडा असन्तुष्टि जनाएका छन् ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथि भएको छलफलमा बोल्दै उनले सरकारले सांसदहरूको आवाज समेत नटेर्ने अवस्थामा ‘हेल्लो सीएम’ जस्ता कार्यक्रम जनताका समस्या सुन्ने भरपर्दो माध्यम हुन नसक्ने टिप्पणी गरे ।

“सांसदहरू बारम्बार संसदमा सरकारसँग जनताको समस्या उठाउँछन् तर सुनेको पाइँदैन,” उनले प्रश्न गर्दै भने, “हेल्लो सीएममार्फत जनताको गुनासो कसरी सुन्ने ?”

सरकारले संसदमा उठाइएका प्रश्नहरूको जवाफसमेत दिन चुकेको भन्दै उनले कार्यपालिका र व्यवस्थापिकाबीचको संवादको अभावमा नीतिगत कार्यान्वयन प्रभावित भएको बताए ।

सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम नारा र देखावटी शैलीमै सीमित रहेको उनको आरोप थियो । “फूलबुट्टा सजाएर ल्याएको नीतिभन्दा व्यवहारमा देखिने परिणाम जरुरी छ,” पट्टेलले टिप्पणी गरे ।

उनले नीति तथा कार्यक्रम केही सीमित निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै सबै क्षेत्रमा समानरूपमा योजना विस्तार गर्न सुझाव पनि दिए । “१२ वटा निर्वाचन क्षेत्रमा मात्रै योजना सीमित नगर्नुहोस्,” उनले चेतावनी दिए, “सार्वजनिक योजना देशभरका जनताको हक हो ।”

पट्टेलको भनाइले सरकार र सांसदबीच बढ्दो दूरी तथा नीतिगत संवादको आवश्यकतालाई उजागर गरेको देखिन्छ ।

चन्दन यादव,राैतहट,२७ गते जेठ । 

राैतहटमा अदालतको फैसला कार्यान्वयन गर्न खटिएको प्रहरी टोलीले फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । ती सबै प्रतिवादीहरू विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका थिए ।

प्रहरीका अनुसार मिति २०८२ साल जेठ २७ गतेसम्ममा रौतहट जिल्ला अदालतबाट सजाय पाएका तर फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका ईकाइहरूबाट परिचालित टोलीले खोजी गरी पक्राउ गरेको हो ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा बुझाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार रायले जानकारी दिएका छन् ।

रायका अनुसार अदालतको फैसला कार्यान्वयनमा शून्य सहनशीलता नीति अपनाउँदै फरार प्रतिवादीहरूलाई खोजी गरी कारबाही अघि बढाउने कार्यलाई प्रहरीले अझ प्रभावकारी बनाउँदै लगेको छ ।

आरके श्रीवास्तव,राैतहट,२७ गते जेठ । 

नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले सूचित गरेअनुसार भोलि मिति २०८२ जेठ २८ गते (बुधबार) मौलापुर क्षेत्रमा ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

गौर वितरण केन्द्रबाट प्राप्त जानकारी अनुसार,हर्षाहा ३३ केभी लाइन अन्तर्गत बसन्तपुर क्षेत्रमा अवस्थित दुई थान पोल भाँचिन लागेकोले ती पोलहरुको मर्मत तथा बद्ली कार्य गर्नुपर्ने भएको हो । यस कार्यका लागि बिहान ७:३० बजेदेखि दिउँसो १२:३० बजेसम्म मौलापुर सब स्टेसनबाट सञ्चालित सम्पूर्ण विद्युत् आपूर्ति बन्द रहने जानकारी दिइएको छ ।

Oplus_0

 

विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तालाई केही असुविधा पर्न सक्ने भएकाले मौलापुर वितरण केन्द्रले सबै ग्राहक वर्गमा क्षमायाचना गर्दै आवश्यक वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

मौलापुर वितरण केन्द्रका प्रमुख रामदिनेश यादवले जानकारी दिनु भएको छ कि पोल मर्मत कार्य सम्पन्न भएपछि पुनः नियमितरूपमा विद्युत् आपूर्ति सुरु गरिनेछ ।

आरके श्रीवास्तव,रौतहट, २०८२ जेठ २६ गते । 

जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रिय सल्लाहकार समिति सदस्य राजकुमार दासमाथि गम्भीर आक्रमण भएको छ । उक्त आक्रमण आइतबार साँझ करिब ६:३० बजे गरुडा नगरपालिका–८ अन्तर्गत बिर्ता चौक नजिकको मस्जिद छेउमा भएको हो ।

पार्टीका अनुसार केही आपराधिक समूहले योजनाबद्धरूपमा दासमाथि संघातिक आक्रमण र दुर्व्यवहार गरेका छन् । यस घटनाप्रति जनता समाजवादी पार्टी नेपाल, रौतहट जिल्ला समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

जिल्ला अध्यक्ष राजीव रंजन यादवद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

पार्टीले सुरक्षा निकायलाई दोषी पहिचान गरी तुरुन्त कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । साथै, यस्ता आपराधिक घटनाले मुलुकको शान्ति, स्थायित्व र राजनीतिक सहिष्णुतामाथि प्रश्न उठाउने भन्दै चौतर्फी चिन्ता व्यक्त गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ २३ गते ।

प्रिन्सिपल एसाेसिएसन अफ नेपाल (प्यान) काे दोस्रो सभा पोखरा सभागृहमा भव्य रूपमा सम्पन्न भएको छ । शिक्षा मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यता र प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अध्यक्ष अम्बर बहादुर थापाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सभामा देशभरका स्थानीय तहका प्रमुखहरू, अध्यक्षहरू, उत्कृष्ट पालिकाका प्रतिनिधिहरू तथा शिक्षाविदहरूको विशेष सहभागिता रहेको थियो । शिक्षा क्षेत्रका राष्ट्रिय स्तरका व्यक्तित्व प्रा. डा. विद्यानाथ कोइरालासहित देशभरिका प्रधानाध्यापकहरू उपस्थित थिए ।

यसै अवसरमा मधेश प्रदेशका उत्कृष्ट प्रधानाध्यापक जलधर कमलदेव नमुना मावि बह्रमपुरी,सर्लाहीकी कुशल, मेहनती, इमानदार र सफल शिक्षानेत्री विनिता कुमारी साहलाई नेपाल प्रधानाध्यापक संघ (प्यान) द्वारा विशेष सम्मान गरिएको छ । उनी बज्जिका साहित्य समाज, सर्लाहीकी स-सचिव समेत हुन् । उनकाे सम्मानले मधेश प्रदेशकाे शिक्षा क्षेत्रलाई थप प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ ।

सोही अवसरमा किशुनदयाल श्रीकृष्ण प्रधानाध्यापक  श्री अमरपट्टी प्राविका पोठियाही, गरुडा नपा-६, रौतहट तथा अध्यक्ष, बज्जिका साहित्य संगम रौतहटले प्रअ साहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उमेश कुमार साह,सप्तरी,२०८२ जेठ
प्रेस मञ्च नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुले एक कार्यक्रम विच सपथ ग्रहण तथा पदस्थापना गरेका छन् ।
आयोजित कार्यक्रमका प्रमुख अथिति जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उप–संयोजक शम्भु झाले पत्रकार समाज सेवक भएर काम गर्नूु पर्नेको व्यावसायीले पत्रकारितामा धैरे दिन वस्न नसक्ने बताए । कार्यक्रममा बोल्दै नेता झाले एकदुईजना अवसरवादीले गर्दा संगठनमा केही फरक नपर्ने टिप्पणी गरेका थिए ।


नेतृत्वमा सैद्धान्तिक विचलन आएर बाटो बिराएर उसको प्रतिष्ठामा कहिल्यै सुधार आउन नसक्ने झको भनाइ रहेका थिए ।
प्रेस मञ्च नेपालका नवनिर्वाचित अध्यक्ष धर्मपाल राउतले नेपाल पत्रकार महासंघ र पत्रकारका अन्य संगठनसंग सहकार्य गर्दै संगठन तथा पत्रकारको हकहितका लागि दृढताकोसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले पत्रकारमाथि हुने दुव्र्यवहार तथा अन्याय विरुद्ध अग्रपंक्तिमा रहेर सामाना गर्न तयार रहने बताए ।
प्रेस मञ्च नेपाल सप्तरीका निबर्तमान उपाध्यक्ष जितेन्द्र कुमार झा जीतुको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय उप महासचिव बैधनाथ यादव, केन्द्रीय सदस्य बृजमान तामाङ,आम सञ्चार प्राधिकरण मधेस प्रदेशका सदस्य नवीन कुमार गुप्ता, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कर्ण, प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष बिन्दु कुमार यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस मञ्च नेपाल सप्तरीका सचिव प्रवेश कुमार मिश्रद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष रुपेश कुमार यादवले गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् प्रेस स्वतन्त्रता सेनानी देवराम यादव, प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य चन्दन कुमार यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य मनोज कुमार माझी, प्रेस मञ्च नेपाल सप्तरीका पूर्व सचिब विद्यानन्द रामलगायतका विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई केन्द्रीय उपमहासचिव यादवले सपथ ग्रहण तथा नेता झाले प्रमाणपत्र प्रदान गरि पदस्थापना गराएका थिए ।

उमेश कुमार साह,सप्तरी,२०८२ जेठ २३ गते । 

डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।

बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते हुनुभएको छ ।

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाँकाहरूको खोजी भइरहेको बताएको छ ।

 

सागर संगम ठाकुर, रौतहट, जेठ २३
रौतहटको देवाही गोनाही नगरपालिकामा डेंगु रोगसम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। समुदायमा डेंगु रोगको जोखिम बढ्दै गएकाले स्थानीय स्तरमै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार नगर स्वास्थ्य शाखाको आयोजनामा तालिम कार्यक्रम सम्पन्न गरिएको हो।

तालिमको उद्घाटन नगर प्रमुख डा. रामप्रवेश पटेलले गरेका थिए। उनले तालिमको दौरान डेंगु रोग सामान्य ज्वरो जस्तो देखिए पनि गम्भीर परिणाम ल्याउन सक्ने भएकाले यसको समयमै पहिचान, रोकथाम र नियन्त्रण अत्यावश्यक रहेको बताए। उनले भने, “डेंगु नियन्त्रण सामूहिक प्रयासबाट मात्र सम्भव छ। यसमा समुदायको सक्रिय सहभागिता अपरिहार्य छ।”

कार्यक्रममा नगर स्वास्थ्य शाखाका संयोजक जग्गा रामले डेंगु रोगको लक्षण, संक्रमणका तरिका, बच्ने उपाय र नियन्त्रण रणनीतिका बारेमा विस्तृत जानकारी दिएका थिए। सहभागीहरूले घर वरपर पानी जम्न नदिने, पूर्ण शरीर ढाकिने लुगा लगाउने, लार्भा नष्ट गर्नेजस्ता व्यावहारिक उपायहरूबारे जानकारी प्राप्त गरेका थिए।

उक्त तालिममा उपमेयर परनिया देवी पटेल, स्वास्थ्य शाखाका सह-संयोजक रंदीप साह, विभिन्न वडाका स्वास्थ्यकर्मी, शिक्षक, आमा समूहका प्रतिनिधिहरू, वडा अध्यक्ष तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले तालिममा प्राप्त ज्ञानलाई समुदायमा फैलाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले सबै सहभागीप्रति आभार प्रकट गर्दै तालिम औपचारिक रूपमा समापन गरेको थियो।

आरके श्रीवास्तव,राैतहट,२३ गते जेठ ।
राैतहटकाे मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै यस वर्षको “प्यान उत्कृष्ट नगरपालिका २०८२” को सम्मान प्राप्त गरेको छ । उक्त पुरस्कार नेपाल प्रधानाध्यापक संघ बाट प्रदान गरिएको हो।

प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले देशभरका नगरपालिकाहरूको शिक्षासम्बन्धी २५ वटा मापदण्डको आधारमा मूल्याङ्कन गरी मौलापुर नगरपालिकालाई मधेस प्रदेशमा उत्कृष्ट ठहर गरेको हो ।

पुरस्कार पाेखरामा आयोजित समारोहमा संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तबाट मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साहले ग्रहण गर्नुभएकाे छ ।

शिक्षाको समग्र स्थिति, बाल शिक्षा तथा ईसीडी व्यवस्थापन, सिपमूलक शिक्षा, शिक्षक/विद्यार्थी सन्तुष्टि, विद्यालय बाहिर रहेका बालबालिकाका लागि गरिएको प्रयास, विद्यालयको भौतिक संरचना, स्थानीय पाठ्यक्रमको कार्यान्वयन, आधुनिक प्रविधिको प्रयोग, छात्रालाई शिक्षामा समावेश गराउने पहल, आवधिक शैक्षिक योजना निर्माण तथा गुनासो व्यवस्थापन प्रणाली लगायतका सूचकहरूमा मौलापुर नगरपालिकाको प्रदर्शन उच्च रहेको मूल्याङ्कन समितिको निष्कर्ष रहेको छ ।

नगरपालिकालाई उत्कृष्ट बनाउन सक्रिय योगदान पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षकमण्डल, अभिभावक, विद्यार्थी तथा सरोकारवालाप्रति मौलापुर नगरपालिकाले विशेष कृतज्ञता प्रकट गरेको माैलापुर नगरपालिकाका प्रमुख अधिकृत रामबाबु साहले जानकारी गराएका हुन् । साथै निष्पक्ष मूल्याङ्कन तथा पुरस्कार छनौटका लागि प्यान प्रति आभार व्यक्त गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२३ गते जेठ ।

राैतहटकाे कटहरिया नगरपालिका–५ स्थित श्री जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष नसरुदिन अंसारीले आज औपचारिक रूपमा आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले राजिनामा पत्र शिक्षा शाखाका प्रतिनिधिलाई नगरपालिकामा बुझाएका हुन् ।

आफ्नो कार्यकाल इमानदारीपूर्वक पुरा गरेपछि पटक–पटक नयाँ समिति गठनका लागि आग्रह गर्दा पनि नगरपालिकाको उदासीनता र बालबालिकाको भविष्यप्रति देखिएको लापरवाहीले गम्भीर चिन्ता व्यक्त गर्दै अंसारीले पदबाट अलग हुने निर्णय गरेका हुन् । उनले भने, “चुनावी प्रक्रिया सहज होस् भनेर मैले राजिनामा दिएको हुँ ।”

कतिपयले अंसारीको राजिनामालाई कटहरियाको राजनीतिक समिकरणमा सम्भावित फेरबदलका रूपमा समेत हेरिरहेका छन् । जानकारहरूका अनुसार, नगरपालिकाले आफू नजिकका व्यक्तिलाई विव्यसमा मनोनयन गर्ने अभ्यासको विरोधमा आएको यो राजिनामा शिक्षा क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको लागि ठुलो सन्देश हो ।

अंसारीको अध्यक्षतामा विद्यालयमा उल्लेखनीय विकास कार्यहरू सम्पन्न भएका छन् । चारकोठे दुईतले भवन निर्माणाधिन, विद्यालयमा सीसीटीभी जडान, प्राविधिक ल्याब तथा थप कम्प्युटर व्यवस्थापन, विद्यार्थीहरूको डिजिटल आइडी कार्ड निर्माण, विद्यालय प्रांगणमा सौन्दर्यकरणका लागि फूलका विरुवा रोपण, पोशाक व्यवस्थापन, सवारी साधन पार्किङका लागि स्ट्यान्ड निर्माण, बाउण्ड्री वाल, फलामको घेराबेरा तथा थप चारकोठे भवनको शिलान्यास जस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

अब, अभिभावक, शिक्षक, विद्यार्थी तथा नागरिक समाजको सहकार्यमा शिक्षा क्षेत्रलाई पारदर्शी, जवाफदेही र गुणस्तरीय बनाउने बेला आएको अंसारीको राजिनामा सन्देश दिएकाे छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।