२०८३ असार २७
२०८३ असार २७

राैतहट,२३ गते असार ।

लोकतन्त्रको मेरुदण्ड भनेकै जवाफदेहिता र पारदर्शिता हो । राज्यको स्रोत र साधन जनताको सम्पत्ति हो र यसको सदुपयोग गर्दै विकास सुनिश्चित गर्नु सरकार र स्थानीय तहहरूको प्रमुख दायित्व हो। तर, हालै रौतहटका विभिन्न पालिकामा देखिएको आर्थिक अनियमितता र भ्रष्टाचारले सरकारको करोडौं रुपैयाँ क्षति पुर्‍याएको छ। यसले न केवल कानुनको उपहास उडाएको छ, बरु जनतामा राज्य प्रतिको विश्वासमा गहिरो दरार पैदा गरिरहेको छ ।

नेपालको सार्वजनिक खरिद ऐन र पब्लिक प्रोक्युरमेन्ट मोनिटरिङ अफिस (PPMO) को स्पष्ट व्यवस्था अनुसार, कुनै पनि सरकारी ठेक्काको प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही हुनुपर्दछ। ठेक्काको सूचना समयमै सार्वजनिक गरिनु, ई-बिडिङमार्फत खुल्ला प्रतिस्पर्धाको वातावरण सिर्जना गरिनु र मूल्याङ्कन निष्पक्ष हुन जरुरी छ। तर रौतहटका विभिन्न पालिकाहरूमा यी सबै कानुनी मान्यताहरूलाई लत्याउँदै आफू अनुकूलका सिमित व्यापारीहरूसँग मिलेर प्रक्रिया नचलाइएको पाइएको छ।

उक्त पालिकाहरूले आ.ब. २०८१/८२ मा ल्याएको गोप्य सूचना सार्वजनिक नगरी सिमित फर्महरूबीच मात्र झूटो प्रतिस्पर्धा देखाएर ठेक्का बाँडेको प्रमाण फेला परेको छ। ठेक्का प्रक्रिया नाम मात्रको मात्रै बनाइएको र झण्डै सतप्रतिशत अनुमानित लागतमा ठेक्का स्वीकृत गरिएको छ। यो स्पष्ट रूपमा योजना निर्माण गर्ने, स्वीकृति दिने र ठेक्का दिने निकायबीचको मिलेमतो हो, जसले प्रतिस्पर्धात्मक प्रक्रियालाई ध्वस्त पारेको छ।

सूचना सार्वजनिक गर्नुपर्ने कानुनी दायित्वलाई उल्लंघन गर्दै पालिकाले गोप्य रूपमा सूचना छापेका छन्। झन्, केही राष्ट्रिय दैनिक पत्रिकाहरूले पैसा लिई सूचना “पछिल्लो मितिमा” छाप्ने चलन विकास गरेका छन्। यस प्रकारका कार्यले सूचना सार्वजनिक गर्ने प्रक्रियाको नै मजाक बनाएको छ। यसले सरकारी ऐन, सूचना प्रवाहको अधिकार र नागरिकको सहभागिता सबैलाई कमजोर बनाएको छ।

पछिल्ला केही वर्षमा, ठेक्का पाएका सीमित व्यक्ति र फर्मका संचालकहरू अत्यन्तै छिटो अमीर बनेका छन्। दर्जनौं गाडी, घर-घडेरी, गोडाम, होटेल, मदिरा उत्पादन कम्पनी लगायतका सम्पत्तिहरू उनीहरूले जोडेका छन्। यिनीहरूको आयश्रोत, कर विवरण, सम्पत्ति विवरण लगायत विषयमा गहिरो अनुसन्धान गर्नु आजको आवश्यकता हो। सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, अख्तियार, राजस्व अनुसन्धान विभाग लगायतका निकायहरूलाई यसमा संलग्न गराई पारदर्शिता कायम गर्नुपर्छ।

सूचना प्रवाहको माध्यम बन्नुपर्ने सञ्चार जगतकै केही अंगहरू आफू लाभान्वित हुन खोज्दै भ्रष्टाचारको हिस्सेदार बन्न थालेका छन्। सरकारी सूचना समयमा नछापी पछि छाप्ने वा हप्ता, पन्ध्र दिन, महिनापछि प्रकाशित गर्ने कार्यले नागरिकको जानकारी लिने अधिकारमा चोट पुगेको छ। सूचना लुकाउने यस्ता पत्रिकाहरूको अनुसन्धान गरी आवश्यक कारबाही गर्नु अत्यावश्यक छ।

रौतहटका पालिकाहरूमा भएको सार्वजनिक स्रोतको दोहनले सम्पूर्ण राज्य संयन्त्रमा प्रश्न उठाएको छ। पारदर्शिता, जवाफदेहिता र सुशासनको सिद्धान्तलाई अपमान गर्दै गरिएको यस्ता कार्यहरूले शासनमा असमानता, बेइमानी र अविश्वासको वातावरण सिर्जना गरेको छ। सार्वजनिक खरिद ऐनको प्रभावकारी कार्यान्वयन र उल्लंघनमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानविन हुनुपर्छ। ठेक्का प्रक्रिया पारदर्शी बनाउन अनिवार्य अनलाइन सूचना प्रणालीको प्रयोग गरिनु जरुरी छ। सीमित फर्म र व्यापारीको मिलेमतोको सूक्ष्म अनुसन्धान गर्दै सम्पत्ति विवरण सार्वजनिक गरिनु अपरिहार्य देखिन्छ।

सम्पत्ति शुद्धिकरण बोर्ड, राजस्व अनुसन्धान र अख्तियारलाई सक्रिय बनाइ आर्थिक अनुशासनको पुनः स्थापन गरिनुपर्छ। सूचना लुकाउने संचार माध्यम र पत्रिकाहरूमाथि पनि छानविन र कानुनी कारबाही गरिनुपर्छ। स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच समन्वय गरी भ्रष्टाचार निवारणका लागि एकीकृत नीति निर्माण आवश्यक छ। अब नयाँ आर्थिक वर्षदेखि यस्ता आर्थिक अत्याचार नदोहोरिऊन् भन्ने सुनिश्चितता सरकारले जनतालाई दिनैपर्ने समय आएको छ।

आरके श्रीवास्तव,राैतहट, २३ गते असार । 

लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माको कुशल नेतृत्वमा संघ दिनप्रतिदिन सशक्त बन्दै गएको छ । लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पेशागत मर्यादाका पक्षमा स्पष्ट अडान राख्दै संघले पत्रकारहरूको हक–अधिकार सुरक्षित गर्न उल्लेखनीय कार्यहरू अघि बढाएको छ ।

अध्यक्ष वर्माको नेतृत्वमा संघले हालै मधेस प्रदेशका आठवटै जिल्लामा सक्रिय र प्रतिबद्ध पत्रकारहरूलाई संयोजकको जिम्मेवारी सुम्पिएको छ । पर्सामा समसुदिन मियाँ, बारामा साहबाज मन्सुर, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह, महोत्तरीमा राजिव राय कुर्मी, धनुषामा सनाेज यादव, सप्तरीमा शसिचन्द्र चौधरी र सिरहामा विसुनदेव सरदार जिल्ला संयोजकको रूपमा मनोनयन भएका छन् ।

संघका अध्यक्ष वर्माले जिल्ला संयोजक मनोनयनसँगै जिल्लामा संगठन विस्तारको निर्देशन दिएका छन् । अब छिट्टै जिल्ला संयाेजकहरूकाे प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने अध्यक्ष वर्माले बताएका हुन् । लुम्बिनी प्रदेशमा पनि प्रदेश अध्यक्ष मनाेनय गर्ने तयारी भईरहेकाे उनको भनाइ छ ।

यस कदमले संघको सांगठनिक संरचना अझ मजबुत भएको छ र पत्रकारहरूबीच विश्वास र आकर्षण समेत बढाएको छ ।

“अन्य पत्रकार संगठनहरू भन्दा फरक ढंगले हाम्रो संघले पत्रकारहरूको सशक्त पहिचान निर्माण गर्ने लक्ष्य लिएको छ,” अध्यक्ष वर्माले बताएका छन्, “हामी लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पेशागत मर्यादा कायम गर्न कटिबद्ध छौं ।”

त्यस्तै, बागमती प्रदेशमा रामसुकुल मण्डल र काठमाडौं जिल्लामा प्रिन्स चन्द्र पाललाई जिम्मेवारी दिइएको छ । देशैभर संगठनको प्रभावकारी उपस्थिति बनाउँदै लगिएको संघले निकट भविष्यमै पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा तथा सामाजिक उत्तरदायित्वमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

अध्यक्ष वर्माको दूरदर्शी नेतृत्व र स्पष्ट कार्यदिशाका कारण संघ पत्रकारहरूका लागि आशाको केन्द्र बन्दै गएको छ । उनकाे सक्रियता, समावेशी दृष्टिकोण र क्रियाशील कार्यशैलीले लोकतान्त्रिक पत्रकार संघलाई मुलुककै अग्रणी पत्रकार संगठनको रुपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण फड्को मारेको छ ।

आरके श्रीवास्तव,राैतहट,२२ गते असार । 

लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार सनोज कुमार यादवलाई मधेश प्रदेश अन्तर्गत धनुषा जिल्ला संयोजक पदमा मनोनयन गरिएको छ ।

संघका अध्यक्ष कामरेन्द्र वर्माले एक मनाेनयन पत्र जारी गर्दै यादवलाई मनोनयन गरिएको जानकारी गराएका हुन् । सन्देशमा उनले देश, मधेश, पत्रकारिता क्षेत्र र पार्टीको हितमा यादवको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गर्दै हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

नवनियुक्त संयोजक यादव विगत ५ वर्ष देखि नै पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनको मनोनयनसँगै धनुषा जिल्लामा लोकतान्त्रिक पत्रकार संघको संगठनात्मक सुदृढीकरणमा थप गति मिल्ने अपेक्षा गरिएको छ ।

हाल वहाँ एवन न्यूजमा कार्यरत हुनु हुन्छ । याे सँगै मधेस प्रदेशकाे आठ वटै जिल्लामा जिल्ला संयाेजक मनाेनय गर्ने काम सकिएको छ । अब जिल्ला कमिटी विस्तार गर्न अध्यक्ष वर्माले जिल्ला अध्यक्षहरूलाई निर्देशन दिनु भएको छ ।

आरके श्रीवास्तव,राैतहट,१८ गते असार । 

राैतहटकाे देवाही गोनाही नगरपालिका र मानव कल्याण केन्द्र, देवाही गोनाही–८ को संयुक्त आयोजनामा दलित सशक्तीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ । कार्यक्रम देवाही गोनाहीस्थित मधेस संग्रहालयमा बुधबारदेखि सुरू गरिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन देवाही गोनाही–९ का वडा अध्यक्ष बिरबहादुर साहले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षक उषा साहि र रामबिर यादवले सहभागीहरूलाई दलित सशक्तीकरण, अधिकारबारे सचेतना र सामाजिक समावेशीताका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा दर्जनौँ महिला सहभागिहरूको उत्साहजनक उपस्थिति रहेको आयोजक संस्था मानव कल्याण केन्द्रका प्रतिनिधि कामेश्वर बैठाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै सुरेन्द्र पासवानले दलित समुदायको सशक्तीकरणका लागि निरन्तर प्रयास आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

सो अवसरमा मो. मनिरूदिन फहमी, राकेश साह तेली, रामनारायण पण्डित,पत्रकार लगायत विभिन्न सामाजिक अभियन्ताहरूको पनि उपस्थिति रहेको थियो ।

दलित समुदायको सशक्तीकरण र समान अधिकारको सुनिश्चितताका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,१७ गते असार । 

लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार पत्रकार प्रिन्स चन्द्र पाललाई बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्ला संयोजक पदमा मनोनयन गरिएको छ ।

संघका अध्यक्ष कामरेन्द्र वर्माद्वारा पालको मनोनयन गरिएको हो । पत्रकारिता क्षेत्रमा विगत ४ वर्षदेखि सक्रिय रहेका पाल हाल आरबिपी न्यूजमा कार्यरत छन् ।

संघको विधानअनुसार गरिएको यस मनोनयनप्रति अध्यक्ष वर्माले पालको कार्यकाल देश, मधेश, पत्रकारिता क्षेत्र र पार्टीको हितमा उल्लेखनीय रहने विश्वास व्यक्त गरेका छन् ।

संघका तर्फबाट पाललाई संयोजक पदमा सफल कार्यकालको शुभकामना दिइएको छ ।

आरके श्रीवास्तव,राैतहट,१५ गते असार । 

राैतहटकाे बौधीमाई नगरपालिकाले समाजिक उत्तरदायित्व अन्तर्गत अगाडि सारेको ‘२० वर्षपारी विवाह वारी’ कार्यक्रम आज नगरसभाहलमा विशेष समारोहका साथ सम्पन्न भएको छ । कार्यक्रममा नगर भित्रका ७७ जना लाभग्राहीहरूलाई आर्थिक सहायता स्वरूप चेक वितरण गरिएको हो ।

नगर प्रमुख प्रदीप कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रत्येक लाभग्राहीलाई २० हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको थियो। यस योजनाअन्तर्गत कुल १५ लाख ४० हजार रुपैयाँ वितरण गरिएको वडा नम्बर ४ का अध्यक्ष तुरन्त नारायण यादवले जानकारी दिए ।

उक्त समारोहमा नगर प्रमुख यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए भने उपप्रमुख प्रमिला देवी जयसवाल विशिष्ट अतिथिको रूपमा उपस्थित थिइन्। प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीसहित अन्य वडाध्यक्षहरूको पनि उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष मुक्ति नारायण मिश्रा, वडा नम्बर ५ का अध्यक्ष लक्ष्मीनारायण राय यादव लगायत जनप्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको थियो।

नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थितिसँगै कार्यक्रमले समावेशी विकास, महिलाको सशक्तिकरण तथा सामाजिक स्थायित्वमा सकारात्मक सन्देश दिएको छ। नगरपालिकाले महिला अधिकार, ढिलो विवाहको प्रोत्साहन र समाजिक सशक्तिकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

स्थानीय तहबाट सञ्चालित यस्ता योजनाहरूले दीर्घकालीन सामाजिक परिवर्तनमा टेवा पुर्‍याउने विश्वास नगर प्रमुख यादवले व्यक्त गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,१५ गते असार १५ । 
रौतहटको बौधीमाई नगरपालिका–२ मा अवस्थित श्री आधारभूत विद्यालय, इनर्वाको नाममा दर्ता रहेको ७ विघा १ कठ्ठा जग्गा अब आउँदो पाँच वर्षका लागि स्थानीय बासिन्दालाई ठेक्कामा दिइएको छ । सार्वजनिक सूचना र स्थानीयको उपस्थितिमा पारदर्शी ढंगले गरिएको ठेक्का प्रक्रिया आज सम्पन्न भएको हो ।

विद्यालयका प्रधानाध्यापक मनोज कुमार पटेलको पहलमा भएको उक्त प्रक्रिया अनुसार, इनर्वा निवासी हरिओम प्रसाद पटेलले सो जग्गा १५ लाख ५९ हजार ९ सय ९५ रुपैयाँमा लिलामी प्रक्रियामार्फत पाँच वर्षका लागि भाडामा लिएका हुन् ।

ठेक्का प्रकृया बौधीमाई–२ का वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको अगुवाइमा सम्पन्न भएको हो । कार्यक्रममा जसपा नेता तथा समाजवादी युवा संघ नेपालको केन्द्रीय महासचिव दिलीप कुमार पटेल, जनमत पार्टी नेता विजय प्रसाद पटेल, नेकपा माओवादीका रामाकान्त प्रसाद पटेल लगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक, अभिभावक, बुद्धिजीवी, समाजसेवी र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

वडा अध्यक्ष पटेलका अनुसार, विद्यालयको नाममा रहेको यो जग्गाबाट प्राप्त आम्दानीले शैक्षिक पूर्वाधार निर्माण, पठनपाठन सामग्री खरिद तथा अन्य आवश्यक सेवाहरूमा खर्च गरिनेछ ।

प्रधानाध्यापक पटेलले विद्यालय प्रशासन, जनप्रतिनिधि र स्थानीयको समन्वयमा प्रक्रिया पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न भएको जानकारी दिए ।

शिक्षक तथा अभिभावकहरूले विद्यालयको स्रोत साधन पारदर्शी ढंगले व्यवस्थापन हुन थालेकोमा सन्तोष व्यक्त गर्दै भविष्यमै पनि यस्तै उदाहरणीय कदम दोहोर्याइनुपर्ने धारणा राखेका छन्।

स्थानीय तहमा विद्यालय सम्पत्ति व्यवस्थापनको यो अभ्यासले शिक्षाको गुणस्तर सुधारतर्फ सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

सागर संगम ठाकुर, रौतहट,१५ गते असार । 

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–४ मा कच्ची सडकको ढलान तथा ग्राभेलको काम सुरु गरिएको छ । आइतबार एक विशेष कार्यक्रमका बीच नगरपालिकाकी उपमेयर परनिया देवी पटेल र पूर्व गाविस अध्यक्ष धर्मेन्द्र पटेलले उक्त विकास आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष रुपेश पटेलको विशेष पहलमा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट प्राप्त कुल ३२ लाख रुपैयाँको लागतमा यो कार्य अघि बढाइएको हो । उपाध्यक्ष पटेलका अनुसार वर्षायाममा कच्ची सडकका कारण स्थानीय बासिन्दाहरूलाई दैनिक आवागमन तथा कृषि कार्यमा ठूलो कठिनाइ हुँदै आएको थियो ।

“विकास निर्माणमा पछि परेको यो टोलको अवस्था परिवर्तन गर्न १४० मिटर सडक ढलान र १ किलोमिटर ग्राभेलको योजना सुरु गरिएको हो,” पटेलले बताए । उहाँले थपे, “स्थानीय जनताको पीडालाई बुझेर मैले व्यक्तिगत पहलमा यो आयोजना अगाडि सारेको हुँ।”

सडक निर्माणको कार्य प्रारम्भ भएसँगै टोलका बासिन्दाहरूको अनुहारमा खुसी देखिएको छ । एक स्थानीय कृषकले भने, “वर्षामा हिलोले भरिएको बाटो पार गरेर खेत जानु निकै दुःखद थियो, अब भने हामीले राहतको सास फेरेका छौं।”

राजनीतिक रूपमा छोटो समयमै जनसमुदायको मन जित्न सफल युवा नेता पटेलप्रति स्थानीय युवाहरूको समर्थन पनि बढ्दो छ ।

 

कार्यक्रमको अवसरमा नेकपा एमाले जिल्ला समिति सदस्य तथा उपमेयरका श्रीमान् भरत पटेल, वडा नं. ८ का अध्यक्ष विजय पटेल, समाजसेवी कप्तान सिंह पटेल, तथा अन्य स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो ।

देवाही गोनाही–४ मा थालिएको यो सडक सुधारले टोलको समग्र सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असार । 

“सम्पूर्ण किसान एकजुट हौं, धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ आइतबार रौतहटको कटहरिया नगरपालिका–२, जमुनियामा राष्ट्रिय धान दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ ।

कार्यक्रमको आयोजना अखिल नेपाल किसान महासंघ, जिल्ला समिति रौतहटले गरेको थियो भने कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष किशोरी कुशवाहाले गर्नुभयो । धान रोपाइँ कार्यक्रममार्फत कृषि उत्पादन सघन बनाउने, खाद्य सुरक्षालाई प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रामा टेवा पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय कुन्दन कुशवाहा र उद्वव रेग्मी, मधेस प्रदेश सभा सदस्य केसव चौधरी, तथा नेकपा एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्य,कटहरिया २ का वडा अध्यक्ष हरिन्द्र साहको विशेष उपस्थिति रहेको थियो । अतिथिहरूले कृषि क्षेत्रलाई राजनीतिक भाषणको भरमा सीमित नराखी व्यवहारमा आत्मनिर्भरता र नवप्रवर्तनको मेरुदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी किसानहरूले परम्परागत शैलीमा खेतमै धान रोपी राष्ट्रिय धान दिवसको महत्व व्यवहारमा उतारे। उनीहरूले दहीच्युरा खाँदै सांस्कृतिक र उत्सवमय वातावरणमा दिवस मनाएका छन् ।

नेताहरूले कृषि अनुदान, प्रविधि हस्तान्तरण, र किसान शिक्षालगायतका विषयमा स्पष्ट नीति निर्माण तथा कार्यान्वयनको माग समेत अघि सारेका थिए ।

नेपालमा हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ । यस दिन देशभर किसानहरू धान रोपेर र दहीच्युरा खाएर कृषि, माटो र किसानको सम्मानमा दिवस मनाउने परम्परा छ ।

आरके श्रीवास्तव,राैतहट,१५ गते असार । 

रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा एक दिवसीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक प्रतिनिधिहरू, आधारभूत विद्यालय फतेपुरका प्रधानाध्यापकसहित सम्पूर्ण विद्यालय परिवार तथा फतेपुर बासीहरूको उपस्थिति उल्लेखनीय रहेकाे थियोे ।

साे वडाका वडा अध्यक्ष जयराम चौधरी, रामाकान्त कुशवाहा, उमाकान्त कुशवाहा, अन्चित कुशवाहा, वडा अध्यक्ष पदका प्रत्यासी रामाशंकर यादव लगायत विभिन्न  व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई उज्वल भविष्यको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व तथा संस्था, विद्यालय र सहयोगी हातहरूलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, तत्परता र ज्ञान विकासमा सहयोग पुग्ने विश्वास आयोजक कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले लिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।