२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

राजेन्द्र महताे,सिराहा,५ गते साउन । 

प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ ।

विष्णुपुर गाउँपालिकासँग सम्बन्धित समाचार लेखेको निहुँमा यादवलाई स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवनको अवस्थामा गालीगलौज, दुर्व्यवहार तथा फोनमार्फत ज्यान मार्ने धम्की दिएको पीडित यादवले बताएका छन् ।

सम्पादक यादवले आफ्नो पत्रिकामा गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा समाचार प्रकाशित गरेका थिए। सोही विषयलाई लिएर योजनाबद्ध रूपमा पत्रकारमाथि दवाव र आक्रमण गरिएको हो भन्ने आरोप छ ।

नेपाल पत्रकार महासंघ, सिराहा शाखाले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीहरूलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले विज्ञप्तिमार्फत यस्ता घटनाहरू पत्रकारिता क्षेत्रका लागि अपमानजनक र अस्वीकार्य भएको स्पष्ट गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई धैर्य, एकता र प्रेस स्वतन्त्रताका पक्षमा संगठित हुन आह्वान गरेको छ ।

महासंघले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी समेत दिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०५ गते साउन । 

रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ५ मा सडक पक्कीकरण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । वडाध्यक्ष सर्फलाल गुप्ताको पहलमा गल्ली गल्लीका कच्ची सडकहरू अहिले ढलान भई व्यवस्थित बन्दै गएका छन् ।

वडाका विभिन्न टोलहरूमा ढलानको काम धमाधम भइरहेको छ । स्थानीयवासीहरू भन्छन्, “पहिला वर्षाैँसम्म हिलो र धुलोमा हिँड्नुपर्थ्याे, अहिले भने ढलान भएका सडकमा सजिलै हिँडडुल गर्न पाएका छाैं।”

वडाध्यक्ष गुप्ताले आफ्नो नेतृत्वमा ‘विकास र सुविधा जनताकाे घर आँगनमै’ भन्ने नारालाई सार्थक बनाउँदै आएको जनगुनासो छ । पहिलो कार्यकालमै वडाको आधारभूत पूर्वाधारमा व्यापक सुधार ल्याएपछि जनताले उनलाई दोस्रो कार्यकालका लागि पनि मौका दिएका थिए ।

“जनताले दिएको विश्वास र जिम्मेवारीप्रति म गम्भीर छु। वडामा हरेक टोलसम्म सडक, नाला, विजुली, खानेपानीजस्ता सेवाहरू पुर्‍याउन लागिपरेका छौं,” वडाध्यक्ष गुप्ताले बताए ।

हाल ढलान भएका सडकहरूलाई दिगो बनाउने र नियमित मर्मतकाे योजना पनि वडा कार्यालयले अघि सारेकाे छ । स्थानीय तह, प्रदेश सरकारकाे बजेट सदुपयोग गर्दै वडाध्यक्ष गुप्ताले कटहरिया–५ लाई विकासको नमुना वडा बनाउने दाबी गरेका छन् ।

 

राजिव राय,महोत्तरी,०४ गते साउन ।

नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता माननीय शरतसिंह भण्डारी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–११, कालिपुरमा अवस्थित ऐतिहासिक शनिदेव मन्दिरमा आयोजित भव्य कलशयात्रामा सहभागी हुनुभयो।

कार्यक्रमका अवसरमा मन्त्री भण्डारीले मन्दिरका पुजारी मोहन महतोबाट वैदिक विधिपूर्वक शनिदेवको पूजा अर्चना गरी आशीर्वाद ग्रहण गर्नुभयो।

उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग महोत्तरीका जिल्ला अध्यक्ष तथा लोसपा नेपालका केन्द्रीय सदस्य पिताम्वर महतो,केन्द्रीय सदस्य देव नारायण महतो, नगर अध्यक्ष उपेन्द्र महतो, नगर उपाध्यक्ष दिप नारायण राय पटेल, युवा नेता प्रमोद महतो गौशाला नगरपालिकाका वडा अध्यक्ष रामपृत महतो लगायत हजारौं श्रद्धालु भक्तजन र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कलशयात्रामा सहभागी महिलाहरू परम्परागत भेषभूषामा कलश बोकी आकर्षक झाँकीमा देखिन्थे भने युवाहरूको सांगीतिक टोलीले वातावरण झनै भक्ति र उल्लासमय बनाएको थियो। कार्यक्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको सन्देश समेत प्रवाह भएको जनाइएको छ।

बज्जिकाञ्चल संवाददाता,धनुषा,०४ गते साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, धनुषा जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता लोसपा नेपाल धनुषा जिल्ला अध्यक्ष जिबेन्द्र झाले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि रूपमा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको गरिमामय उपस्थितिले कार्यक्रमलाई विशेष बनायो ।

कार्यक्रममा विशिष्ट अतिथि रूपमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा लोसपाका वरिष्ठ नेता शरद सिंह भण्डारीको उपस्थिति रहेको थियो । साथै पार्टीका महासचिव परमेश्वर साह,संसदीय दलका नेता जयनुल राईन, सचिवद्वय सदाशिव मिश्र र ज्ञानेन्द्र झा, प्रदेश समिति उपाध्यक्षद्वय राम ज्ञान मण्डल र अरुण पाठक, लगायत अन्य थुप्रै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक परिस्थिति, संगठन विस्तार, कार्यकर्ता सुदृढीकरण तथा भावी रणनीति सम्बन्धमा गहन छलफल र मार्गनिर्देशन गरिएको थियो । नेताहरूले जनतामाझ पार्टीको विश्वसनीयता र सशक्त उपस्थिति निर्माण गर्न सबै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

उक्त कार्यकर्ता भेटघाट कार्यक्रमले पार्टीभित्र एकता, सहकार्य र नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् ।

धनुषाको राजनीतिक वातावरणमा लोसपाको सशक्त उपस्थिति पुनः पुष्टि गर्नेगरी यो कार्यक्रम सफल र उत्साहजनक भएको आयोजकले जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,०३ गते साउन । 

महोत्तरी जिल्लाको बलवा नगरपालिका–८ मा निर्माण हुन लागेको व्यावसायिक प्रशिक्षण केन्द्र भवनको भूमि पूजन कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ ।

उक्त भूमि पूजन कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा सम्माननीय नेता महन्थ ठाकुर र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा लोसपा नेपालका वरिष्ठ नेता माननीय शरदसिंह भण्डारीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो ।

समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै लाेसपा नेताहरूले युवालाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित स्थापना हुन लागेको व्यावसायिक प्रशिक्षण केन्द्रले रोजगारीको अवसर सिर्जना गर्ने र स्थानीय विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उक्त भवन निर्माणपछि सिलाइ, बुनाइ, इलेक्ट्रिसियन, प्लम्बिङ, कम्प्युटर तथा अन्य सीपमूलक तालिम सञ्चालन गरिने योजना रहेको जनाइएको छ ।

कार्यक्रमको सफल आयोजनाका लागि सहयोग गर्ने सबैलाई आयोजक समितिले आभार व्यक्त गरेको छ । साथै, भवन निर्माण कार्य छिट्टै प्रारम्भ भई गुणस्तरीय ढंगले सम्पन्न गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,०२ गते साउन । 

मटिहानी नगरपालिकाको आयोजना तथा प्राविधिक शिक्षा प्रवर्द्धनको उद्देश्यले श्री राम माध्यमिक विद्यालय, मटिहानीका कक्षा ११ मा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं सम्मानित नेता महन्त ठाकुर तथा विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको हातबाट ल्यापटप वितरण सम्पन्न भएको हो ।

उक्त अवसरमा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, लाेसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता जयनुल राइन,नगरप्रमुख हरिप्रसाद मण्डल, नगर उपप्रमुख, नगर शिक्षा शाखा प्रमुख, विद्यालयका प्राचार्य, शिक्षकगण, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरू पनि उपस्थिति रहेका थिए ।

कार्यक्रममा मन्तव्य दिंदै नेता ठाकुरले आधुनिक शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै यस्तो पहलले विद्यार्थीको सिकाइ क्षमतामा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले भने सरकारले प्राविधिक शिक्षामा विशेष ध्यान दिइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू ग्रामीण तथा अर्धशहरी क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख मण्डलले मटिहानी नगरपालिकाले प्रविधि र शिक्षाको संयोजनमार्फत समावेशी तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनहरूमा थप शिक्षामैत्री कार्यक्रमहरू ल्याइने जानकारी दिनुभयो ।

कार्यक्रमको समापनमा विद्यालयका प्राचार्यले नगरपालिकाप्रति आभार व्यक्त गर्दै, ल्यापटप वितरणले विद्यार्थीहरूको डिजिटल दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

 

बज्जिकाञ्चल संवाददाता,महोत्तरी,०२ गते साउन । 

नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा जलेश्वर नगरपालिका वडा नं. २ मा निर्माण गरिने क्रीकेट एकेडेमीका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सो एकेडेमी निर्माणको सन्दर्भमा शुक्रबार विशेष निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री माननीय रानी कुमारी तिवारी, मधेश प्रदेशका सांसद एवम् संसदीय दलका नेता जैनुल राईन, नेपाल–भारत मैत्री समाजका मधेश प्रदेश अध्यक्ष लव राजा सिंह, तथा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारको गरिमामय उपस्थिति रहेको कार्यक्रमका क्रममा एकेडेमी निर्माणको लागि तोकिएको जग्गा स्थलगत निरीक्षण गरिएको हो ।

कार्यक्रममा जिल्ला क्रीकेट संघ महोत्तरीका अध्यक्ष तथा नेपाल क्रीकेट संघ (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंहले जग्गाको अवस्थाबारे जानकारी गराउँदै एकेडेमी निर्माणको आवश्यकता र सम्भावनाबारे प्रष्ट पार्नुभएको थियो । उहाँले एकेडेमीले जिल्लाका युवाहरूको प्रतिभा उजागर गर्ने प्लेटफर्म बन्ने विश्वास व्यक्त गर्नुभयो ।

निरीक्षणपछि उपस्थित माननीयहरूले निर्माण कार्य यथाशीघ्र सुरु गर्न सकरात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  उहाँहरूले एकेडेमी निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउने उल्लेख गर्दै स्थानीय युवा तथा खेलकुद क्षेत्रको विकासका लागि यो एक महत्वपूर्ण परियोजना हुने बताउनुभयो ।

एकेडेमी निर्माण कार्य स्थानीय सरोकारवालाको समन्वय, पारदर्शिता र गुणस्तरीय निर्माणका आधारमा अघि बढाइने जानकारी आयोजक समितिले दिएको छ ।

बज्जिकाञ्चल संवाददाता,महोत्तरी,०२ गते साउन । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष तथा वरिष्ठ नेता महन्थ ठाकुरले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध अत्यन्त बलियो र प्रगाढ रहेको बताएका छन् ।

शुक्रबार महोत्तरीको जलेश्वरमा नेपाल–भारत मैत्री संघद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि रहेका अध्यक्ष ठाकुरले दुई देशबीचको सम्बन्धलाई केवल राजनीतिक वा कूटनीतिक तहमा सीमित नगरि जन–जनको आत्मीयता र ऐतिहासिक सम्बन्धको जगमा आधारित रहेको बताए ।

“अधिकारको लागि संघर्षको मैदान कहिल्यै छोड्नु हुँदैन,” उनले जोड दिँदै भने, “तर सम्बन्ध सधैं जनताको तहमा गहिरो र स्थायी हुन्छ । त्यसलाई अझ सुदृढ गर्न हामी सबैको भूमिका हुनुपर्छ।”

कार्यक्रममा विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बदलिंदो भूराजनीतिक परिस्थितिमा नेपाल–भारत खुला सिमानाको सुरक्षा दुवै देशको साझा दायित्व भएको उल्लेख गर्दै, नेपाली भूमि भारतविरुद्ध प्रयोग हुन नदिन सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिए ।

समारोहमा धनुषाका २४ र महोत्तरीका १८ विद्यार्थीलाई साइकल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम नेपाल–भारतबीचको मित्रता प्रगाढ बनाउन आयोजित गरिएको आयोजक संस्थाले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,०२ गते साउन । 

रौतहटकाे माैलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा रहेको श्री मावि पथराबुधराममा आर्थिक वर्ष २०८१/८२ का लागि कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम आजदेखि सुरु भएको छ । बिद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य सर्युग राय यादवको अध्यक्षता तथा वडा अध्यक्ष ईश्वर दयाल प्रसाद यादव, सदस्यहरू मनोज ठाकुर, बालदेव प्रसाद यादव र समाजसेवी शैलेन्द्र रामको विशेष आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको बिधालयका शिक्षक लखिन्द्र यादवले जानकारी गराएका हुन् ।

बिद्यालय व्यवस्थापन समिति (बि.ब्य.स.) का अध्यक्ष विवेक यादवका अनुसार सबै छात्रा र दलित समुदायका छात्रहरूलाई प्राथमिकतामा राखी छात्रवृत्ति वितरण थालिएको हो । प्रत्येक विद्यार्थीलाई ४ सय रुपैयाँको दरले छात्रवृत्ति दिइएको लेखापाल भगत साहले बताएका छन् ।

विद्यालयका प्रधानाध्यापक राजेश सिंहले प्रत्येक आर्थिक वर्षमा नियमितरूपमा छात्रवृत्ति वितरण हुँदै आएको जानकारी दिएका छन् ।

छात्रवृत्तिबाट विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रोत्साहन मिल्ने र आर्थिक रूपमा कमजोर वर्गका बालबालिकालाई शिक्षामा पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०१ गते साउन । 

राैतहटकाे गरुडा नगरपालिका वडा नं. ९ श्रीपुर टोलमा उल्लेखनीय राजनीतिक घटनाक्रम देखिएको छ । नेकपा एमाले परित्याग गर्दै पूर्व गाविस उप–प्रधान सर्फलाल पासवानसहित दर्जनौं नेताहरू नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन् ।

यस अवसरमा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादव र गरुडा नगरपालिकाका नगर प्रमुख प्रत्यासी सुनिल यादवले नवप्रवेशीहरूलाई माल्यार्पण गरी स्वागत गरेका थिए । कार्यक्रमले कांग्रेस पार्टीप्रति बढ्दो विश्वास र जनसमर्थनलाई झल्काउने काम गरेको छ ।

नगर प्रमुख प्रत्यासी श्री सुनिल यादवले आफ्नो सम्बोधनमा जनताको भरोसा जित्न सकिने शुद्ध, पारदर्शी र जनमुखी स्थानीय शासन व्यवस्था निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए । “श्रीपुर टोलमा आज देखिएको यो परिवर्तन कांग्रेसको नीति, विचार र हाम्रो स्थानीय विकासको दृष्टिकोणप्रति जनताको समर्थन हो,” यादवले बताए ।

सर्वसाधारण, युवा र स्थानीय अग्रजहरूबीच बढ्दो उत्साहसँगै कांग्रेसप्रतिको भरोसा जनस्तरमा बलियो बन्दै गएको संकेत गरिरहेको छ ।

नवप्रवेशी सर्फलाल पासवानले पनि आफ्नो सम्बोधनमा अबको स्थानीय विकास, समावेशी सहभागिता र सामाजिक न्यायका लागि कांग्रेस नै उचित विकल्प भएको स्पष्ट पारेका छन् ।

कार्यक्रममा स्थानीय नेता, समाजसेवी तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो । नेपाली कांग्रेसको तर्फबाट स्वागत गरिएको यो प्रवेश अभियानले गरुडा नगरपालिका निर्वाचनमा निर्णायक प्रभाव पार्ने विश्वास गरिएको छ ।

साे अवसरमा वृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख रामस्नेही यादव लगायत नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको गरूडा नगरपालिका वडा नम्बर ५ का वडा प्रत्यासी रमेश यादवले जानकारी गराएका हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।