२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

विकास मण्डल,महाेत्तरी,०९ गते साउन । 

महोत्तरी —लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका आन्दोलनकारीलाई राज्यले झुटा मुद्दामा फसाएर दु:ख दिएको आरोप लगाएका छन् ।
उनले देशमा भएको राजनीतिक परिवर्तन आन्दोलनहरुका उपलब्धि रहेको भन्दै मधेश आन्दोलनमा लागेका महोत्तरीका चार जना नेतालाई लगाइएको झुटा मुद्दा फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
महोत्तरीको मटिहानीमा बिग्ही पुल र प्रसूति गृह उद्घाटनपछि आयोजित समारोहमा सहभागी प्रधानमन्त्री ओलीलाई सुनाउँदै लोसपा अध्यक्ष ठाकुरले मधेश आन्दोलनका आन्दोलनकारीलाई फसाएर जन्मकैदको फैसला भएको र कतिपयलाई जेलमा बन्द गरिएकोले सरकारले उनीहरुमाथि लगाएको झुटा मुद्दा फिर्ता लिनुपर्ने बताए ।
ओली सरकारकै नेतृत्वमा ३ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना भएको मधेश आन्दोलनका आन्दोलनकारीको मुद्दा फिर्ता लिएको उल्लेख गर्दै उनले बाँकी मुद्दासमेत फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
अध्यक्ष ठाकुरले लोसपाका प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र, लोसपाका नेताहरु सुरेश पाण्डे, धर्मेन्द्र राउतलाई झुट्टा मुद्दामा षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै उनीहरुको मुद्दा फिर्ता हुनु पर्ने बताए ।
मधेश आन्दोलनको बेला भीडले घटना गराउँदासमेत राज्यले आन्दोलन गर्नेहरुलाई खोजीखोजी फसाएको अध्यक्ष ठाकुरको आरोप छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१० गते साउन । 

गत साउन ८ गते समाचार संकलनको क्रममा पत्रकार राजकुमार यादवमाथि भएको आक्रमणको घटनाको छानबिन गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले दुई सदस्यीय छानबिन समिति गठन गरेको छ ।

महासंघका सहसचिव तथा सूचना अधिकारी दिनेश संगमको संयोजकत्वमा गठन गरिएको समितिमा नन्दभुषण श्रीवास्तव सदस्य रहेका छन् । समिति मार्फत घटनाको यथार्थ तथ्य बुझ्न र दोषी पहिचान गर्न छानबिन प्रक्रिया अघि बढाइएको महासंघले जानकारी दिएको छ ।

पत्रकार यादवले समाचार संकलनको क्रममा विवेक साह, रञ्जित साह, अनिल साह लगायत अन्य अज्ञात व्यक्तिहरूले सामूहिक रूपमा कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । घटनापछि पत्रकार यादव घाइते अवस्थामा उपचाररत रहेको जनाइएको छ ।

यस घटनाले पत्रकारहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, एसाेसिएट प्रदेश समिति तथा श्रमजीवी पत्रकार संघ रौतहटले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आक्रमणको भर्त्सना गर्दै दोषी उपर कडा कारबाहीको माग गरेका छन् ।

तर, घटनाको चार दिन बितिसक्दा पनि नेपाल पत्रकार महासंघ रौतहट शाखाले औपचारिक विज्ञप्ति ननिकालेको भन्दै केही स्थानीय पत्रकारहरूले प्रश्न उठाएका छन् । तथापि, छानबिन समिति गठन भएको जानकारी आएसँगै घटनाको निष्पक्ष छानबिन हुने विश्वास लिइएको छ ।

छानबिन समितिले संकलित तथ्य विवरण महासंघलाई बुझाएपछि घटनाबारे थप निर्णय लिइने जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,०९ गते साउन । 
रौतहटकाे गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सञ्चालन गरेको कृषि, पशु तथा डेरी यान्त्रीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममार्फत वडा नं. १ देखि ९ सम्मका किसानहरूलाई ५० प्रतिशत अनुदानमा १४० वटा भैँसी, विद्युत मोटर, पम्पसेट, मिल्क्यान, चिलिङ भ्याट, डिफ्रिज, मिल्क पम्प, मिल सेपरेटर लगायतका सामग्री वितरण गरिएको हो ।

साथै, कुखुराको खोर, पोखरी, कोल्ड स्टोर, एग्रोमार्ट र बजार सेड निर्माण कार्य पनि अगाडि बढाइएको नगरप्रमुख कन्थमनी जयसवालले जानकारी दिए । कार्यक्रमले कृषकहरूको आय वृद्धि, आत्मनिर्भरता र व्यावसायिकता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सागर संगम ठाकुर, रौतहट,०८ गते साउन । 
रौतहटकाे देवाही गोनाही नगरपालिकामा बालविवाह अन्त्य गर्नका लागि २१ सदस्यीय युवा संजाल समिति गठन गरिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला र पुरुषहरूको नेतृत्वमा रहेका संस्था संग अावद्व किशोर किशोरी तथा युवाहरुकाे संजाललाई हानिकारक लैङ्गिक समाजिक मान्यताहरुकाे चुनौती दिन युवा संजाल गठन तथा परिचालन गर्ने उदेश्यका साथ आशमान नेपालको आयोजना र संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA) को आर्थिक सहयोगमा गठन गरिएको सो समिति बिहीबार नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो।

कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद चन्द्रवंशीको अध्यक्षतामा युवाहरूको सक्रिय सहभागितासहित प्रत्येक वडामा युवा संजाल गठन गर्ने निर्णय पनि गरिएको छ। कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा आशमान नेपाल रौतहटका प्रोग्राम म्यानेजर उर्वशी साहले बालविवाहको प्रभाव, रोकथामका उपाय र युवाहरूको भूमिका विषयमा प्रशिक्षण दिइन्। महिला तथा बालबालिका शाखाका प्रमुख रामनारायण पण्डितले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा नगरपालिकाका सबै वडाबाट महिला र पुरुष युवाहरूको सहभागिता रहेको थियो। आयोजक संस्थाका अनुसार, संजालले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्ने, बालविवाहको जोखिम रहेका केसहरू पहिचान गर्ने र पालिकासँग समन्वयमा समस्या समाधान गर्ने कार्यमा सहयोग पुर्याउनेछ। साे प्रशिक्षणबाट गौतम पासवानकाे अध्यक्षतामा २१ सदस्य प्रगतिशील युवा संजाल समिति गठन गरिएको प्रशिक्षक साहले जानकारी दिईन । समितिका उपाध्यक्ष शनि कुमारी यादव काेषाअध्यक्ष मनिषा राम सचिव महम्द नजिम र सदस्यहरुमा सिमा यादव,धिरज पासवान,शान्ताेष साह,प्रिति पटेल, सुरज पटेल,उषा कुमारी लगाएत अन्य महिला तथा पुरुष सदस्यहरु रहेकाे छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते साउन । 

रौतहटकाे गरुडा नगरपालिकामा आज “बाल श्रम मुक्त स्थानीय तह घोषणा तथा कार्यान्वयन कार्यविधि २०८२” को प्रमाणिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नगर प्रमुख कन्थमनी जयसवालले कार्यक्रमको अध्यक्षता गर्दै बाल अधिकारको संरक्षण तथा प्रवर्द्धनमा नगरपालिकाको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

कार्यक्रमको मूल उद्देश्य बालबालिकालाई कुनै पनि खालको श्रमबाट मुक्त राखी उनीहरूलाई शिक्षा, स्वास्थ्य, सुरक्षा र सम्मान सहितको जीवन सुनिश्चित गर्नु रहेको बताइएको छ ।

नगर प्रमुख जयसवालले भन्नुभयो, “यस कार्यविधिले बाल अधिकार संरक्षणमा सहजीकरण गर्नेछ र बालमैत्री समाज निर्माणमा टेवा पुर्‍याउनेछ। यस्ता पहलहरूले हाम्रो नगरलाई न्यायपूर्ण, समावेशी र समृद्ध भविष्यतर्फ अघि बढाउने आधार तयार पार्नेछन् ।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, सामाजिक संघसंस्था, बाल क्लबका प्रतिनिधिहरू, विद्यालयका शिक्षक, अभिभावकहरूको उपस्थिति रहेको थियो।

गरुडा नगरपालिका विगतदेखि नै बाल अधिकारका पक्षमा सक्रिय रहँदै आएको छ र भविष्यमा पनि बालमैत्री नीतिहरू कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

 

बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते साउन । 

खानेपानी अभावका कारण जीवन संकटमा परेको रौतहट जिल्लाका विभिन्न बस्तीमा समाधानको पहल सांसद किरण साहले सुरु गरेका छन् । जनप्रतिनिधिको हैसियतले पानीलाई पहिलो प्राथमिकता बनाउँदै सांसद साहले खानेपानी मन्त्री प्रदीप यादवसँग विशेष भेटवार्ता गरी ६ करोड रुपैयाँ बराबरको खानेपानी योजना अघि बढाएका छन् ।

मन्त्री यादवले सो योजना प्रभावित वडाहरूमा समानुपातिक रूपमा वितरण गर्ने सहमति जनाउनुका साथै २–४ दिनभित्र स्थलगत अवलोकन गर्ने र तत्काल कार्यान्वयन सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रमुख प्रभावित क्षेत्रहरूमा मौलापुर–६, ७,देवाही गोनाही–१, २, ३, ४,बौधिमाईका सबै वडाहरू; परोहाका अधिकांश बस्तीहरू; राजपुर र इशनाथ नगरपालिकाका पानी अभावग्रस्त वडाहरू पर्छन् ।

सांसद साहले समरसिबल बोरिङमार्फत शीघ्र र दीगो समाधानका लागि प्राविधिक अध्ययनको तयारी गरिरहेको र स्थान छनोट तथा प्राथमिकता सूची संकलनमा स्थानीयको सक्रिय सहभागिता आह्वान गरेका छन् ।

“पानी अब सपना होइन, हक हो” भन्ने नाराका साथ यो अभियानलाई सबै तहका सरकार र जनप्रतिनिधिसँग समन्वय गर्दै जन–जनको घरदैलोमा पुर्‍याइने जनाइएको छ ।

श्रीकान्त यादव,रौतहट, ८ गते साउन ।
गौर पिपरा सडक खण्डको बडहर्वा चौक नजिकै आज एक सवारी दुर्घटना हुँदा एक जना मोटरसाइकल चालक घाइते भएका छन् ।

बिहान करिब १० बजे बिएई ५२९३ नम्बरको स्कार्पियोले बिआर ३० क्यू ५१८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्गा भगवती गाउँपालिका–३ निवासी रणधीर झा घाइते भएका हुन् ।

घाइते झालाई तत्काल उद्धार गरी गौर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको र आवश्यक उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनामा संलग्न स्कार्पियो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ,०८ गते साउन । पत्रकारिता तथा आमसञ्चार क्षेत्रको वार्षिक मूल्याङ्कन स्वरूप प्रेस काउन्सिल नेपालले प्रकाशन गर्दै आएको अंग्रेजी भाषाको ‘मिडिया एयरबुक’ मा समावेश गरिने अनुसन्धानमूलक लेखका लागि प्रस्ताव (लेखसार) पठाउने म्याद थपिएको छ ।
यस वर्षको पाँचौँ अङ्कका लागि काउन्सिलले २०८२ साउन २४ गते सूचना प्रकाशित गर्दै लेख आह्वान गरेको थियो । नयाँ सूचनाअनुसार इच्छुक अनुसन्धानकर्ता तथा विज्ञहरूले लेखसार पठाउने समय अब साउन ११ गतेसम्म रहनेछ । लेखसार २०० देखि ३०० शब्दको सीमाभित्र हुनुपर्नेछ भने पूरा लेखको शब्द सीमा ३ हजारदेखि ५ हजारसम्म तोकिएको छ । लेख बुझाउने अन्तिम म्याद भदौ ७ गते कायम गरिएको छ।

पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा आधारित विषयमा अनुसन्धानमूलक लेखहरू अंग्रेजी भाषामा हुनुपर्ने र एपिए शैलीको पछिल्लो संस्करणअनुसार सन्दर्भ सामग्री प्रस्तुत गर्नुपर्नेछ ।
काउन्सिलले स्पष्ट पारेको छ कि एआई प्रविधिबाट तयार गरिएका वा अन्य स्रोतबाट साभार गरिएका सामग्रीहरू छनोट प्रक्रियामा अयोग्य ठहरिनेछन् । लेख छनोटको सम्पूर्ण अधिकार सम्पादन मण्डलमा रहनेछ भने प्रकाशित लेखहरूलाई काउन्सिलको नीति अनुसार पारिश्रमिक प्रदान गरिनेछ ।
इच्छुक लेखकहरूले लेखसार तथा लेख निम्न इमेल ठेगानामा पठाउन सक्नेछन्: pon2027writing@gmail.com
दीपक खनाल वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) प्रेस काउन्सिल नेपाल

 

काठमाडौं,०८ गते साउन ।
रौतहट जिल्लाको गुजरा नगरपालिका–४, कनकपुरका २१ वर्षीय युवा सामाजिक अभियन्ता अब्दुल सलाम राष्ट्रिय युवा संसद २०८२ मा रौतहट क्षेत्र नं. ३ बाट विजयी भएका छन् । समाज रूपान्तरणका लागि समर्पित उनको निरन्तर संघर्षले राष्ट्रिय स्तरमा नयाँ सफलता हासिल गरेको छ ।

राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक भव्य समारोहमा उनले राष्ट्रिय युवा सांसदको रूपमा सपथ ग्रहण गरे । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रिय प्रतिनिधित्व गर्न सफल भएका सलामले बालअधिकार, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, महिला सशक्तीकरण, युवा नेतृत्व सशक्तीकरण तथा रोजगारका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

विसं २०७५ देखि सामाजिक अभियानमार्फत युवाहरूलाई शिक्षित, सशक्त र जागरूक बनाउने कार्यमा समर्पित सलामले नेतृत्व गरेका विविध कार्यक्रम र अभियानले दर्जनौं युवामा सकारात्मक सोच र परिवर्तनको भावना जगाएको छ ।

उनको काम केवल स्थानीय सीमामा सीमित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा सम्मेलन, मंच र प्रशिक्षणहरूमा सहभागी हुँदै उनले आफूलाई एक प्रेरक युवा नेतृत्वको रूपमा स्थापित गरिसकेका छन् ।

सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सलामले भने,
“यो जित मेरो मात्र होइन, रौतहटका सम्पूर्ण युवाको जित हो । युवा संसद कार्यक्रममार्फत म भावी नेतृत्व विकास र नीति निर्माण प्रक्रियामा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नेछु। साथै युवाको आवाज राज्यसम्म पुर्‍याउने छु।”

उनले समावेशी नीति निर्माण, गुणस्तरीय शिक्षा, तथा रोजगारीको अवसर सृजनामा विशेष पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सलामको यस उपलब्धिलाई लिएर रौतहटको गुजरा नगरपालिका, विभिन्न युवा संघसंस्था, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्।

अब्दुल सलामको यो सफलता न केवल उनको व्यक्तिगत क्षमताको प्रमाण हो, यो सम्पूर्ण युवा पुस्ताको प्रतिबद्धता, ऊर्जा र परिवर्तनको सम्भावनाको विजय हो ।

उनको यो यात्रा आजको युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते साउन ।
राैतहटकाे मौलापुर नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता चन्देश्वर बैठाको आज करेन्ट लागेर निधन भएको छ । बैठाको निधनले स्थानीय तहका जनप्रतिनिधि, शुभचिन्तक र नगरवासीहरू शोकमा डुबेका छन् ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा रौतहट क्षेत्र नं. ३ का सांसद प्रभु साहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै विद्युत प्राधिकरणको लापरवाहीका कारण यो दुर्घटना भएको बताएका छन् । उनले दोषीमाथि कानुनी कारबाही हुनु पर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् ।
“मौलापुर नगरपालिकाको प्रवक्ता एवं मेरो प्रिय मित्र चन्देश्वर बैठाको आज करेण्ट लागेर भएको दुःखद निधनको खबरले मर्माहत भएको छु,” सांसद साहले लेखेका छन्।
“विद्युत प्राधिकरणको लापरवाहीले भएको यस दुःखद घटनाको दोषीलाई कानुन बमोजिम कारबाही सहित पीड़ित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दछु । साथै मृतकप्रति भावपुर्ण श्रद्धांजलि एवं शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु।”
यस्तै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकामा शोकको वातावरण छ ।
चन्देश्वर बैठा मौलापुर नगरपालिकामा जनप्रतिनिधिको भूमिकामा सक्रिय थिए र जनसमस्या समाधानमा अग्रसर व्यक्तित्वका रूपमा चिनिन्थे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।