आरके श्रीवास्तव,राैतहट,असाेज १७ गते ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरस्थित बकैया नदीमा बाढी छिर्ने खतरा बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी दिनहरूमा नदीमा पानीको बहाव तीव्र हुने प्रक्षेपण गरे पनि सम्बन्धित सरकारी निकायहरू आवश्यक सतर्कता नअपनाएकोमा स्थानीयहरू चिन्तित भएका छन् ।
नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, “यदि समयमा बाँधको मर्मतसम्भार नगरिएको खण्डमा मर्यादपुर क्षेत्रमा ठुलो जनधनको क्षति हुन सक्छ।”
झाले थप भने, “अहिलेको अवस्थामा पनि नदीको बहावले धेरै स्थानमा कटान गरिरहेको छ । स्थानीय बासिन्दाहरू त्रासमा छन्, तर सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन्।”
स्थानिय बासिन्दाले वर्षेनी आउने वाढीबाट पीडित हुँदै आएका छन् । बाँधको अवस्थालाई ध्यानमा राख्दै अहिले नै पूर्वतयारीमा जुटिनुपर्नेमा जोड दिएका छन् ।
हालसम्म जिल्ला प्रशासन कार्यालय वा बाढी नियन्त्रण तथा निकास व्यवस्थापनका लागि जिम्मेवार सरकारी निकायबाट कुनै ठोस कदम चालिएको छैन् । स्थानीयहरूले तत्काल राहत तथा बाँध मर्मत कार्य अघि बढाउन सरकारसँग माग गरेका छन् ।
तस्बिर क्रान्तिद्वार डट कम

रौतहट, १७ असोज ।
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले युवाहरुको बलमा ऐतिहासिक जनक्रान्ति हुँदापनि वर्तमान सरकारले उत्सव मनाउन नसकेको भन्दै प्रश्न उठाएका छन् । उनले भने,‘युवाहरुको अदम्य साहसको कारण हाम्रो देशमा भर्खरै ऐतिहासिक जनक्रान्ति सफल भयो, तर त्यही आन्दोलनबाट नया सरकार बनेको छ । युवाहरुले जितेको बेलामा उत्सव मनाउनुपर्नेमा अहिलेको सरकारले शोक भनेर आन्दोलनलाई नै बद्नाम गर्यो ।’
दशैं, दिपावली, छठ पर्वको अवसरमा आज रौतहटको गरूड़ा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले विश्वमा ठूला–ठूला राजनीतिक परिवर्तन र उथलपुथलमा बलिदानी हुने गरेको स्मरण गराउँदै नेपालमा पनि युवाहरुले आफ्नो जीवन बलिदानी दिएर परिवर्तन सम्भव तुल्याएको बताए । तर, जेन–जी पुस्ताको यो ऐतिहासिक जनक्रान्तिको भावनालाई कमजोर तुल्याउने काम गरिएकोमा साहको गुनासो छ ।

उनले भने,‘हरेक आन्दोलन र जनक्रान्तिमा बलिदानी हुन्छ, तर नेतृत्वमा पुगेकाहरुले त्यसको गौरवगाथा गाउनुपर्छ, पूरानो भत्काएर नयाँ बनाउन उत्सव, उर्जा र उमङ भर्नुपर्छ । आज त्यो देखिएन ।’
उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको सम्मान गर्न नसकेको आरोप लगाए । उनले भने,‘यो सरकारले जेन–जी आन्दोलनको सम्मान गर्न सकेको छैन, न त शहीदहरुको नै सम्मान गरेको छ । यसले केवल निराशा बाँडेको छ, आन्दोलनको विजय गाउनुको साटो शोक मनाएको छ ।’
फरक प्रसंगामा उनले अहिलेका युवाले खोजेको सशक्त, उर्जावान र गतिशिल युवा नेतृत्व भएपनि सत्ताको नेतृत्वमा पूरानै र पाकाहरुको हालिमुहाली देखिएको आरोप लगाए । उनले भने,‘पूराना पाका नेता हटाएर युवाले अहिलेको प्रधानमन्त्री जो ७० वर्ष कटेको नेतृत्व ल्याउन खोजेको हो र ? त्यो त पक्कै पनि होईन । तर, आज युवाहरुको बलिदानीमाथि खेलवाड भैरहेको छ ।’ उनले अहिलेको सरकारले आशा जगाउन नसकेको आरोप लगाए । सरकारमा युवाहरुको प्रतिनिधित्व नहुनु र अहिलेसम्म पनि सरकारलाई पूर्णता दिन नसक्नु नै प्रधानमन्त्री कार्कीको पहिलो असफलता भएको साहको आरोप छ ।
उनले भने,‘महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन सक्नुभएन ? के नेपालमा योग्य महिलाहरु छैनन् र ? एक महिना हुन लागिसक्यो अझै मन्त्रिपरिषद्ले पूर्णता पाएन ।’ साहले जेन–जी आन्दोलनको भावना केन्द्रको एउटा सरकार हटाएर व्यक्ति फेर्नेमात्रै नभएको टिप्पणी गरे । देशभर रहेका ७६१ वटा सरकारमा एउटामात्रै सरकार र त्यसमा पनि अनुहारमात्र बदल्नको लागि जेन–जी पुस्ताले जनक्रान्ति नगरेको साहको जिकिर छ ।
उनले भने,‘देशमा भ्रष्टाचार माथिदेखि तलसम्मै छ । देशमा भएका ७६१ वटा सरकारको लुट र भ्रष्टाचारको विरोधमा युवाले आन्दोलन गरेका हुन् । अहिले त के भयो भने एउटा केन्द्रमा सरकार परिवर्तन गरियो, त्यसमा पनि आन्दोलन गर्ने एउटा उमेर समूहको हो, तर सत्तारोहण पूरानै र पाका अनुहारको भयो ।’
उनले अहिलेको संविधानमा टेकेर देशले कहिल्यैपनि निकास नपाउने ठोकुवा गरे । उनले अहिले देशमा विद्यमान समस्याको प्रमुख जरा नै संविधान भएकोले यसलाई खारेजी गरिनुपर्ने माग गरे । आफूले सुरुदेखि नै यो संविधानले देशलाई पार लगाउन नसक्ने ठोकुवा गरेर तेस्रो जनआन्दोलनको ऐलान गरेको पनि साहले स्मरण गराए । उनले मुलुकको निकासको लागि अन्तरिम सरकार र अन्तरिम संविधान नै भएको जिकिर गरे ।
आरके श्रीवास्तव,राैतहट,असाेज १७ गते ।
रौतहटको विभिन्न ठाउँमा दुर्गा पूजाको समापनसँगै आज माता दुर्गाको प्रतिमा बिसर्जन हर्षोल्लासका साथ गरिएको छ । एक सातासम्म चलेको दुर्गा पूजा समारोहपछि आज स्थानीयहरूले देवीलाई आँशु भरिएको आँखासहित विदाई गरेका छन् ।
स्थानीयहरूले पूजाको पहिलो दिनदेखि नै भक्तिभावका साथ पूजा, भजन, आरती तथा धार्मिक अनुष्ठानमा संलग्न हुँदै आएका थिए । बिसर्जनका क्रममा महिलाहरूको आँखामा आँशु झल्किएको दृश्यले देवीसँगको आत्मीयता झल्काएको थियो ।
राजदेवी ७ मुडवलवा हनुमत यादवका अनुसार, “माता दुर्गा विना यो गाउँ सुनसान लाग्छ । आगमनको दिनदेखि पूजामा लागेको मन आज बिदाइमा भिज्यो।”
बिसर्जनको बेला झाँकी, बाजागाजा र भक्तिभावयुक्त नाराहरू गुन्जिएका थिए । श्रद्धालुहरू दुर्गा माता प्रति कृतज्ञता प्रकट गर्दै ‘जय माता दी’ भन्दै नाचगानमा रमाइरहेका थिए ।
यसै क्रममा जिल्लाको अन्य स्थानहरूमा समेत दुर्गा प्रतिमा बिसर्जन गरिएको छ । जिल्लाका विभिन्न नगर तथा गाउँहरूमा दुर्गा पूजाको विधिपूर्वक समापन गरिएको छ ।
यस धार्मिक अवसरले समुदायमा आपसी एकता र श्रद्धाको भावना अझ प्रगाढ बनाएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,असोज १६ गते ।
तराई–मधेशको मौलिक संस्कृति र वीरताको विरासतलाई जीवित राख्दै सर्लाहीको धनकौल बजार यतिखेर पहलवानीको रंगशाला बनेको छ ।
श्री दुर्गा पूजाको पावन अवसरमा आयोजित दुई दिने कुस्ती दंगल बुधबारदेखि भव्यताका साथ सुरु भएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले रिबन काटेर यस ऐतिहासिक कुस्ती प्रतियोगिताको विधिवत् उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद सिंहले कुस्तीलाई ‘बाजेको पालादेखि चल्दै आएको संस्कृति’ भन्दै यसलाई संरक्षण गर्न युवा पुस्तालाई विशेष आह्वान गरे।

प्रतियोगिताको पहिलो दिन नै नेपाल र भारतका नाम चलेका पहलवानहरूले आफ्नो बल र कौशलको बेजोड नमुना प्रस्तुत गरे। मैदानमा नेपालका अन्तर्राष्ट्रिय कुस्ती खेलाडीहरू देवा थापा, जावेद गनी, मेवा थापा, कतप, हरिओम दास र वाबा पहलवान जस्ता दिग्गजहरूको कुश्ती हेर्न लायक थियो। उनीहरूले स्थानीय पहलवानहरूसँग प्रतिस्पर्धा गर्दै दर्शकहरूलाई रोमाञ्चित बनाए।
नेपाली कांग्रेस धनकौल गाउँपालिकाका युवा नेता दीपेन्द्र साहका अनुसार कुस्ती प्रतियोगिताको फाइनल भिडन्त आज हुदैछ ।
यसअघि, नवमीको रातमा राष्ट्रिय कलाकार प्रीति पासवानको बेजोड सांस्कृतिक प्रस्तुतिले माहोललाई थप रौनकता दिएको थियो। कार्यक्रममा धनकौल गाउँपालिकाका अध्यक्ष रामअस्रे साह लगायत विभिन्न वडा अध्यक्षहरूको पनि सहभागिता रहेको थियो।
आरके श्रीवास्तव, राैतहट, असाेज १६ गते
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्य समिति राैतहटकाे आयोजनामा बिहीबार वृन्दावन नगरपालिका–८, बहुअरीस्थित दलित धर्मशालामा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संघका राैतहट शाखा अध्यक्ष राजेश पासवान (निर्माणी)को अध्यक्षतामा सम्पन्न भएको हाे भने प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव सिकिन्द्र पासवानको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पासवानले दलित र गैरदलित समुदायलाई एकै थलोमा भेला गराउँदै समाजमा व्याप्त जातीय भेदभाव, छुवाछूत र दलितमाथिका विभिन्न लांछना विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले अझै पनि दलित समुदायले अपहेलित जीवन बिताउनु परेकोप्रति चिन्ता व्यक्त गर्दै सबै समुदाय एकजुट भए मात्र दासत्व प्रथा अन्त्य गर्न सकिने धारणा राखेका थिए ।

संघका अध्यक्ष राजेश पासवान (निर्माणी)ले मधेसमा दलित समुदायमाथि भइरहेको अन्याय, अत्याचार र जातीय विभेदको घटनाले भयावह रूप लिएको बताउँदै, यस्ता चुनौतीपूर्ण अवस्थामा दलित अगुवाहरूको निष्क्रियता दुर्भाग्यपूर्ण भएको बताए । उनले कार्यक्रम गाउँमै आयोजना गर्नुको कारण आफ्नो गाउँको पहिचान र चेतनाको सन्देश फैलाउने उद्देश्य रहेको बताए ।

“लोकतन्त्रको मूल आधार– सम्मान, सहभागिता र विभेदमुक्त समाज; अभिव्यक्ति स्वातन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज” भन्ने नारासहित विजयादशमी, दीपावली, तिहार तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाका पत्रकार, दलित अधिकारकर्मी र सम्मानित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
संघमा आवद्ध पत्रकारहरूलाई प्रेस कार्ड, प्रमाणपत्र र व्याग वितरण गरिएको कार्यक्रममा अध्यक्ष पासवानले सञ्चारकर्मीहरूलाई मर्यादित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गरे । उनले पत्रकारिता कुनै जाति, धर्म वा वर्गको पक्षमा नभई सम्पूर्ण जनताको आवाजका रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथिमा वृन्दावन–८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह, जगन्नाथ प्रसाद भेडिहर, दलित अधिकारकर्मी मटुक पासवान, धर्मेन्द्र पासवान, रामविनय पासवान, दलित संघर्ष समितिका संयोजक सोनेलाल राम, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै दलित अधिकारकर्मी पुनित राम चमार, उदयनारायण राम, अवधनारायण राम, प्रा.अ. रामाधार पासवान, भोला पासवान, मुसहर संघका अध्यक्ष विनोद माझी, तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाराका अध्यक्ष उपेन्द्र पासवानसहित रौतहट, बारा र पर्साका सयौं सञ्चारकर्मी र अगुवा व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक बनाएको थियो ।
कार्यक्रमको सञ्चालन संघका कोषाध्यक्ष प्रदीप दासले गरेका थिए। कार्यक्रमले दलित समुदायको हक, अधिकार र सम्मानका पक्षमा सशक्त सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।
आरके श्रीवास्तव,राैतहट,असाेज १५ गते ।
रौतहटकाे इलाका प्रहरी कार्यालय कटहरियाको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बडा दशैं २०८२ तथा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर एक भव्य सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको सभापतित्व कटहरिया वडा नं. ४ का ९० वर्षीय हरिहर राय यादव र वडा नं. ५ का ९१ वर्षीय कासीम अन्सारीले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा दुबैजना जेष्ठ नागरिकलाई विशेष सम्मान प्रदान गरियो । कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय गरूडाका डिएसपी शंकर प्रसाद आचार्य रहनु भएको थियो । उहाँले कटहरियाको प्रहरी सेवामा थप सशक्तिकरण गर्न र जग्गा व्यवस्थापन लगायत पूर्वाधार विकासमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय नागरिकहरूले प्रहरी सेवामा सुधारका लागि गुनासा, सुझावहरू राखेका थिए । कार्यक्रममा सहभागीहरूले मोबाइल चोरी जस्ता घटनामा निर्दोषलाई फसाउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका थिए । बरिष्ठ पत्रकार संजय मिश्रले व्यवसायिक तस्करी रोक्न कडाइ गर्न आग्रह गर्दै ज्यालादारी मजदुरीका लागि सामान ओसार्नेहरूप्रति सहानुभूति जनाउन प्रहरीलाई सुझाउनु भयो । साथै, उहाँले प्रहरी सेवा पारदर्शी र निष्पक्ष बनाउनेतर्फ जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार राजु कुमार श्रीवास्तवले सानो पोका सामान भारतबाट ल्याउने क्रममा पछयाउँदै दुर्घटनामा परेर ज्यान गुमाउने घटना स्मरण गराउँदै, यस्ता घटनाहरू भविष्यमा नदोहोरिउन् भन्नु भयो । उहाँले प्रहरीलाई नियमित पेट्रोलिङका लागि आवश्यक स्रोतसाधन व्यवस्था गर्न आग्रह गर्नुका साथै लागूपदार्थ दुर्व्यसनमा फसेका युवाहरूको स्थितिप्रति गम्भीर बन्न प्रहरी प्रशासनलाई सुझाव दिनुभयो । साथै, उहाँले सबैमा बडा दशैं २०८२ को शुभकामना पनि दिनुभयो ।
कटहरियाका माओवादी केन्द्रका नगर अध्यक्ष एवं मेयर प्रत्यासी नसरूदिन अन्सारीले हालैको जेनजी आन्दोलनपछि जनताले प्रहरीसँग सहकार्य गरेर सुरक्षाको माहोल कायम गर्न भूमिका खेलेको स्मरण गराउँदै ईप्रका कटहरियामा प्रहरी संख्याको अभाव उल्लेख गर्दै थप जनशक्ति पठाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा इप्रका कटहरियाका सौन्दर्यकरणमा योगदान दिने स्थानीय व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो । साथै वृक्षारोपण कार्यक्रम, चियापान तथा फोटो सेसन समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा नव दुर्गा पुजा समितिका युवाहरूले ईप्रका शाैन्दर्यकरणमा महत्त्वपूर्ण याेगदान गरेको कदर गर्दै सामूहिक रूपमा सम्मान पनि गरिएको थियो ।
कार्यक्रम संचालन इलाका प्रहरी कार्यालय कटहरियाका इन्चार्ज सई धर्मेन्द्र पौडेलले गर्नुभएको थियो । उहाँले नागरिक सहभागिताले प्रहरी सेवा अझै प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा सदस्य रामईशवर यादव,व्यापारी एवम् समाजसेवी राजु भास्कर लगायतले पनि आफनाे सुझावहरू दिएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यापारी, पत्रकार, समाजसेवीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,असाेज १३ गते ।
राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर २ स्थित छेदीचोकमा भव्य रुपमा सञ्चालन भइरहेको दुर्गापूजामा नेकपा माओवादी केन्द्र कटहरियाका नगर अध्यक्ष तथा मेयर पदका प्रत्यासी नसरूदिन अन्सारीले पूजा स्थलमै पुगेर आर्थिक सहयोग गरेका छन् ।
धार्मिक तथा सांस्कृतिक एकता प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित दुर्गापूजामा अन्सारीले सहभागी भई पूजास्थलमा उपस्थित श्रद्धालुहरूसँग भेटघाटसमेत गरेका थिए । उनले समितिलाई नगद आर्थिक सहयोग हस्तान्तरण गर्दै यस्तो धार्मिक–सांस्कृतिक पर्वले समुदायमा भाइचारा र सहिष्णुताको सन्देश दिने बताए ।

उनको उपस्थितिले आयोजक समिति र स्थानीय श्रद्धालुहरू उत्साहित भएको बताइएको छ । दुर्गा पूजा समितिका सदस्यहरूले अन्सारीलाई धन्यवाद दिँदै भविष्यमा समेत यस्ता कार्यक्रमहरूमा निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।
दुर्गा पूजा छेदीचोकमा गत वर्षदेखि भव्य रूपमा मनाइँदै आएको छ र यस वर्ष पनि स्थानीय युवा तथा बासिन्दाहरूको सक्रियतामा कार्यक्रम सन्चालन भइरहेको छ ।
आरके श्रीवास्तव,राैतहट,असाेज १३ गते ।
राैतहटकाे गरूडा नगरपालिका वडा नं. १, जयनगरमा बसोबास गर्ने दलित, गरिब तथा विपन्न वर्गकी एकल महिला मीना खातुन ओस्ताकी २३ वर्षीया छोरीको विवाहको लागि वडा अध्यक्ष शेख वहाब ज्यूले व्यक्तिगत रूपमा नगद आर्थिक सहयोग गर्नु भएको छ ।
विपन्न वर्गका नागरिकको पीडा बुझ्दै वडा अध्यक्ष वहाबले मानवीय भावना र सामाजिक उत्तरदायित्वको उदाहरणीय परिचय दिनु भएको हो । उहाँको सहयोगले विवाहको तयारीमा सहजता पुगेको पीडित परिवारको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण विवाह गर्न कठिनाइ भएको समयमा वडा अध्यक्षको सहयोगले ठूलो राहत मिलेको बताइएको छ ।

वडा अध्यक्ष शेख वहाबले यस्ता सामाजिक कार्यहरूलाई प्राथमिकतामा राख्दै अगामी दिनहरूमा पनि यस्तै खालका सहयोग गर्न आफू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भयो, “समाजका सबै वर्गसँग सहकार्य गर्दै हामीले एक आपसमा सहयोग र सद्भावकाे भावना विकास गर्नुपर्छ । यो सहयोग मेरो व्यक्तिगत प्रयास हो, तर यसले अरूलाई पनि प्रेरणा देओस् भन्ने चाहना छ।”
स्थानीय बासिन्दाहरूले वडा अध्यक्षको यस कार्यको खुलेर प्रशंसा गरेका छन् । विपन्न तथा दलित समुदायप्रति देखाइएको संवेदनशीलता र सहयोगको भावना अन्य जनप्रतिनिधिहरूका लागि पनि उदाहरणीय बन्न सक्छ ।
सामाजिक न्याय, समावेशिता र समानताको मार्गमा अग्रसर हुँदै वडा नं. १ का वडा अध्यक्ष शेख वहाबले देखाएको यो सद्भावपूर्ण कदमले समुदायमा सकारात्मक ऊर्जा र भरोसा थपिएको छ ।
काठमाडौं, १३ असोज
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव दिएका छन ।
रौतहटको फतुवाबिजयपुर नगरपालिका-२ सितलपुरमा आयोजित शुभकामना कार्यक्रमलाई आज सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनकै बलमा बनेको सरकारमा त्यही समूहको प्रतिनिधित्व नहुनु दुखद भएको टिप्पणी उनले गरे ।

`अहिलेको सरकार जेन-जी आन्दोलनको बलमा गठन भएको छ । यो सरकारमा जेन-जी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्छ,´ आजपा अध्यक्ष साहले भने ।
कांग्रेस र एमालेको दुई तिहाई शक्तिशाली सरकारले मुलुकको जोगाउन नसकेको टिप्पणी समेत उनले गरे । अहिले एमाले, कांग्रेसमै नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहेको बताउदै साहले केपी ओली, शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर अगाडी बढदा मुलुक र सोही पार्टीको हितमा हुने बताए ।
उनले एमालेले ओलीलाई अगाडि नलगाओस र कांग्रेसले देउवा देखाएर दाईं नगरोस भन्दै बलपूर्वक हटाईएका यी बुढा नेताहरुलाई अब राजनीतिबाट स्थायी रुपमा बिदाई गर्नुको विकल्प पनि नभएको टिप्पणी गरे ।
मुलुकलाई झनै ठूलो संकटको भूमरीमा फसाईयो बताउदै उनले अहिलेकै संविधान कायमै राखेर समस्याको समाधान नहुने ठोकुवा समेत गरे । अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाटै मुलुकले निकास पाउने उनले बताए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १२ गते ।
रौतहटकाे गरूडामा भएको मेयर कप क्रिकेट प्रतियोगिता सिजन ४ अन्तर्गत पहिलो खेलमा गत सिजनका विजेता गेडही टिमले गरुडा यूथ क्लबलाई १६९ रनको फराकिलो अन्तरले पराजित गर्दै सशक्त सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको गेडही गेठ्ठी टिमले निर्धारित ओभरमा २ सय २२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । टिमका तर्फबाट पंकजले ६६ रन, दिपेसले ७६ रन तथा मनिषले ३८ रन बनाउँदै टिमलाई सशक्त स्थितिमा पुर्याए ।
जवाफी ब्याटिङमा उत्रिएको गरुडा यूथ क्लब २ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा जम्मा ५२ रनमा समेटिँदै खेल गुमाएको हो । गेडही टिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी टोलीलाई दबाबमा राख्न सफल भए ।
१५२ रनको शानदार जितसँगै गेडही टिमले सिजन ४ मा विजयी सुरुवात गरेको छ । टिमका खेलाडीहरूको उत्कृष्ट समन्वय र प्रदर्शनका लागि स्थानीय क्रिकेटप्रेमी तथा समर्थकहरूले प्रशंसा व्यक्त क्रिकेटप्रेमी हाेसनारायण यादवले जानकारी गराउनु भएको हाे ।
गत वर्षको उपाधि विजेता गेडही गेठ्ठी टिमलाई पुनः सशक्त प्रदर्शनका लागि अनेक शुभकामना र धन्यवाद व्यक्त गरिएको छ । आजै भएको एक कार्यक्रमका बिच नगर प्रमुख कन्थमनी जयसवालले गरूडा मेयर कपकाे समुदघाटन गर्नु भएको थियोे । साे अवसरमा गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल सहितका जनप्रतिनिधिहरूकाे सहभागीता रहेको थियो ।