२०८२ चैत्र २६
२०८२ चैत्र २६

गुडु यादव,राैतहट,मंसिर ०७ गते । 

रौतहटको गरुडा नगरपालिका–१ जयनगरका निवासी तथा इलाका प्रशासन कार्यालय गरुडामा कार्यरत कर्मचारी अवधेश यादवले गरूडामा अवस्थित वंशीराम जयसवाल अनाथालयका बालबालिकालाई राहत सामग्री वितरण गरेका छन् ।

एक विशेष समारोहबीच गरिएको कार्यक्रममा यादवले लत्ता–कपडा, खाद्य सामग्रीसहितका राहत वस्तुहरू अनाथालयलाई हस्तान्तरण गरेका हुन् । उनले भगवान् पशुपतिनाथको कृपाले आफूलाई सबै आवश्यक वस्तु प्राप्त भइरहेको बताउँदै समाजका अभावग्रस्त बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

यादवले अनाथालयमा बसोबास गर्दै आएका बालबालिकाको सहयोगका लागि आगामी दिनमा पनि निरन्तर रूपमा राहत सामग्री उपलब्ध गराइरहने प्रतिबद्धता जनाएका छन् ।

अनाथालय व्यवस्थापनले आवश्यकताका बेला उपलब्ध गराइएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै बालबालिकाको दैनिकी सहज बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने धारणा राखेको छ ।

बज्जिकाञ्चल संवाददाता,रौतहट, मंसिर ०७ गते । 

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरूले गर्दै आएको तालाबन्दी १२ औँ दिनसम्म पनि जारी छ । करार अवधि समयमै नथपिएको विरोधमा कर्मचारीहरूले आन्दोलन थालेका हुन् । लिखित सहमति नभएसम्म तालाबन्दी नखुल्ने कर्मचारी सुबोध यादवले बताएका छन् ।

शुक्रबार कार्यवाहक नगरप्रमुख अम्बेया खातुन तालाबन्दी खोल्नका लागि नगरपालिकामा पुगे पनि कर्मचारी राजी नभएपछि वार्ता निष्कर्षविहीन बनेको थियो । खातुनले काममा फर्किन आग्रह गरे पनि कर्मचारीहरूले लिखित प्रतिवद्धता बिना तालाबन्दी नखोल्ने अडान दोहोर्‍याएका छन् । आइतबार पनि पत्रकार सम्मेलनमार्फत उनले कर्मचारीलाई काममा फर्किन अपिल गरेकी थिइन् ।

हाल नगरपालिका कार्यालय प्रमुख नहुँदा प्रक्रिया अघि बढ्न समस्या परेको कार्यवाहक नगरप्रमुख खातुनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्र लिखित सहमति दिन सकिने उनले स्पष्ट पारिन् । “म कसैलाई कामबाट हटाइदिन्छु भनेको होइन,” उनले भनिन्।

कर्मचारीहरूको भनाइअनुसार सेवा अवधि विस्तारमा ढिलाइ भएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् । कार्यालय प्रमुख आएपछि मात्र थप छलफल हुने उनीहरूले बताएका छन् । त्यसअघिसम्म तालाबन्दी यथावत रहने जनाएका छन् ।

तालाबन्दीका कारण वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म सबै सेवा अवरुद्ध बनेका छन् । दैनिक आवश्यक कामका लागि कार्यालय धाउनुपर्ने स्थानीयवासीले दुवै पक्षलाई छिटो समाधान खोज्न आग्रह गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०७ गते । 

रौतहटकाे फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आईतबार पत्रकार सम्मेलन गर्दै पालिकाभित्र देखिएका अनियमितता, चुनौती र कर्मचारी व्यवस्थापनका विषयमा विस्तृत जानकारी सार्वजनिक गरेकी छन् ।

उनका अनुसार हालसम्म पालिकाले कुनै पनि करार कर्मचारीलाई हटाएको छैन् । नयाँ आर्थिक वर्ष २०८२/०८३ को दशैं खर्चसहित एक चौमासिक तलबसमेत भुक्तानी भइसकेको उल्लेख गर्दै उनले नयाँ कार्यालय प्रमुख आएपछि दरबन्दी मिलान प्रक्रिया अघि बढ्ने र आवश्यक कर्मचारीलाई मात्र पालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने तयारी रहेको बताइन् । सो प्रक्रिया सुरु नहुँदै केही कर्मचारीहरूले अटेरी गर्दै धर्ना थालेको उनको आरोप छ ।

विद्युत् महसुल भुक्तानीसम्बन्धी विवादबारे उनले नगरपालिकाले यसका लागि २ करोड रुपैयाँ विनियोजन गरिसकेको तर मन्त्रालयको नयाँ निर्देशनले वितरणमुखी कार्यक्रम सञ्चालनमा प्रतिबन्ध लगाएपछि समस्या उत्पन्न भएको स्पष्टीकरण दिइन् । “वडाअध्यक्षदेखि कार्यपालिका सदस्य सबैको एउटै धारणा बनेमा नगरबासीको सम्पूर्ण बक्यौता भुक्तानी गर्न म तयार छु,” उनले भनिन्।

पत्रकार सम्मेलनमा कार्यबाहक नगर प्रमुखका श्रीमान् मोहम्मद सेराजले समेत पालिकाभित्रका अनियमितता सार्वजनिक गरे । उनका अनुसार करार कर्मचारीको अनियन्त्रित नियुक्ति, निःशुल्क उपलब्ध सेफ्टी ट्यांक सफाइ मेसिन हुँदाहुँदै पनि कर्मचारीहरूले पैसा उठाउने प्रचलन, किसानका लागि प्रदेश सरकारबाट पठाइएका मोटर र ट्युबवेल जडानका सामग्री निजी घरमा थन्क्याइनेजस्ता घटनाले पालिका अस्तव्यस्त बनेको छ । उनले प्रमुख प्रशासकीय अधिकृत भरत यादवको लापरवाहीले प्रणाली नै कमजोर भएको आरोप लगाए ।

सेराजले “स्वस्थ नगरबासी–सुन्दर नगर” अभियानअन्तर्गत असहाय परिवारलाई व्यक्तिगत रूपमा सेफटि ट्यांकीकाे रिङ, सीट र पाइप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यता, धर्नामा बसेका करार कर्मचारीहरूले कार्यबाहक नगर प्रमुखले लिखित रूपमा म्याद थपको आश्वासन नदिएसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

नगरबासीका अनुसार पत्रकार सम्मेलनले पालिकाभित्र देखिएका समस्या, अनियमितता र सम्भावित समाधानका उपायहरू थप स्पष्ट रूपमा सतहमा ल्याएको छ । यस विषयमा आज वडा अध्यक्ष पक्षहरू आफ्नो धारणा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न बताएका छन् ।

 

सर्लाही, ६ मंसिर २०८२।
बज्जिका भाषाका प्रखर साहित्यकार विजय यादव ‘निर्विज’लाई कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिका सेबी सम्मान–२०८२बाट सम्मान गरिएको छ। सर्लाही मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सम्नव्य समिति सर्लाहीका सभापती कौशल किशोर सिंह र बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा
ले सम्मान–पत्र प्रदान गरे।
नेपालमै पहिलो बज्जिका उपन्यास प्रतिमाका लेखक ‘निर्विज’ अभिनयमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका छन्। २०७९ सालको मधानी महोत्सवमा नेपालका सम्माननीय पुर्व उपराष्ट्रपति नन्द बहादुर पुनले विमोचन गरेको थियो !उनी फतुवा–विजयपुर नगरपालिकाको मेयर पदका निकटतम प्रतिस्पर्धी रहिसकेका तथा हाल आम जनता पार्टी लुम्बिनी प्रदेश अध्यक्षका रूपमा सक्रिय छन्।

कार्यक्रममा नेपाल–भारतका साहित्यकार तथा संगीतकर्मीहरूलाई पनि सम्मान गरिएको थियो। रौतहटका साहित्यकार संजय साह मित्रलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको सचिव मुकेश मिश्रले जानकारी दिए। समारोहमा साहित्यकार, पत्रकार र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक ०६ गते । 

गरुडा – नेकपा (नेपाल) का नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले केपी शर्मा ओलीको हुकुमी शासनका कारण देश आर्थिक, सामाजिक र राजनीतिक रूपमा संकटमा परेको आरोप लगाएका छन्।

गृह जिल्ला रौतहटको मध्यभागमा रहेको गोपाल धर्मशालामा आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका उनले पार्टी कार्यकर्तालाई ‘उठ त उठ, बस त बस’ भन्ने शैलीमा शासन सञ्चालन भएको बताए।

नेता नेपालले ओलीको तानाशाही प्रवृत्तिका कारण देशमा जेनजी आन्दोलन जन्मेको र सो आन्दोलनले उठाएका भ्रष्टाचार, सुशासन, विकास जस्ता मुद्दा आफ्नै पार्टीको मागसँग मिल्दोजुल्दो भए पनि समयमै उठाउन नसकेको स्वीकार गरे। उनले जेनजी आन्दोलनका सहभागीप्रति धन्यवाद पनि व्यक्त गरे।

साथै, जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गराउन आफ्नो व्यक्तिगत र पार्टीगत सक्रिय भूमिका रहेको पनि उनले खुलाएका छन्। तत्कालीन माओवादीसँग भएको वार्तामा प्रचण्डलाई सहयोग गरेको जानकारी पनि कार्यक्रममा साझा गरियो।

कार्यक्रममा समीर भटराई, रामकुमार भट्टराई, कल्याणी खडका, देवेन्द्र पटेल, विन्देश्वर यादव, प्रदेश सांसद कनिस पटेल, गौरका मेयर शम्भु साह, महिला नेतृ देवकी नेपाल, विनिता बख्रेल, वहिद अन्सारी, जितेन्द्रलाल श्रीवास्तव लगायतले मन्तव्य राखेका थिए।

काठमाडौँ,मंसिर ६ — संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा आज बसेको बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ तथा प्रतिनिधि सभा निर्वाचन, २०८२ मा सहभागी हुने निर्णय गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष तथा संघीय लोकतान्त्रिक मोर्चाका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई भयमुक्त, स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नेपाल सरकारसँग माग गरेको छ ।

मोर्चाका घटक दलहरू मिलेर संयुक्त रूपमा निर्वाचनमा जाने निर्णय सर्वसम्मतिले पारित भएको बैठकले जनाएको छ ।

अध्यक्ष ठाकुरले निष्पक्ष निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताउँदै सरकार र सम्बन्धित निकायहरूलाई आवश्यक तयारी र सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,मंसिर ०६ गते । 

राैतहटकाे गरूडा नगरपालिकामा सञ्चालित मेयर कप २०८२ काे उपविजेता गरूडा–५ महम्मदपुर क्रिकेट टिमलाई वडाबाट सम्मान गरिएको छ । आज एक कार्यक्रमकाे आयोजना गर्दै वडा अध्यक्ष रामबिनोद जयसवालले टिमका खेलाडीहरूलाई टीका लगाई गम्छा ओढाएर सम्मान प्रदान गरेका हुन् ।

मेयर कपकाे फाइनलमा गरूडा–१ जयनगर विजयी बनेको थियो । विजेता टिमले नगद १ लाख २५ हजार, प्रमाणपत्र र कप प्राप्त गरेको थियो भने उपविजेता गरूडा–५ महम्मदपुरले ६५ हजार नगद, प्रमाणपत्र र कप हात पारेको थियो ।

कार्यक्रमका क्रममा टिमका कप्तान रामाशंकर पटेलले खेलाडीहरूलाई आवश्यक पर्ने खेल सामाग्री उपलब्ध गराउन आग्रह गरेका थिए । सो अवसरमा वडा अध्यक्ष जयसवालले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पिच व्यवस्थापनका लागि २५ हजार नगद सहयोग गर्ने घोषणा पनि गरे ।

उनले पहिले पनि खेलाडीहरूको हौसला बढाउने काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मान कार्यक्रम पछि खेलाडीहरूले प्राप्त गरेको कप वडा अध्यक्ष जयसवाललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा खेलाडी, स्थानीयवासी तथा वडा कार्यालयका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,सर्लाही,मंसिर ०६ गते । 

बज्जिका साहित्यको क्षेत्रमा दिएको अमूल्य योगदानका लागि साहित्यकार सञ्जय साह ‘मित्र’लाई ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार २०८२’ प्रदान गरिएको छ । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित एक विशेष समारोहमा उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको हो ।

बज्जिका साहित्य समाज सर्लाहीले आयोजना गरेको पुरस्कार/सम्मान समर्पण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहालगायतले साहित्यकार साहलाई पुरस्कार प्रदान गरेका थिए । रौतहटका साहित्यकार मित्रको सम्मानपत्र बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किसुन दयाल यादवले वाचन गरेका थिए ।

सर्लाहीको विष्णु गाउँपालिका निवासी सेवानिवृत्त प्रहरी कर्मचारी महानन्द झाले दिवङ्गत दाजु सदानन्द झाको स्मृतिमा ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार’ स्थापना गरेका हुन् । बज्जिका भाषा तथा साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा नेपाल र भारतका साहित्यकार तथा सङ्गीतकारलाई पनि सम्मान–पत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा साहित्यकार विजय यादव ‘निर्बिज’, सञ्जयराज महतो, साधना कृष्ण, बुद्धवीर लामा, मणिभूषणप्रसाद सिंह तथा पत्रकार मनोज यादवलगायत रहेका थिए ।

सोही अवसरमा बज्जि त्रैमासिक पत्रिकाको लोकार्पण समेत गरिएको थियो । कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक रहे साहित्यकार मित्रले प्रस्तुत गरेको बज्जिका भाषाको इतिहास, विकासक्रम र हालको अवस्थाबारे विस्तृत जानकारी ।

कार्यक्रममा उपस्थित साहित्य, भाषा र संस्कृति क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले बज्जिका भाषा संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । सहभागी कविहरूले आ-आफ्नो कविता  र रचना वाचन गरेर सुनाएका थिए । वक्ताहरूले कवि सदानन्द झाकाे प्रेरणादायी जिवनीकाे बारेमा पनि आ-आफ्नो धारणा साझा गरेका थिए ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०५ गते । 

राैतहटको फतुवा बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरूले गरिरहेको तालाबन्दी हटाउन गरिएको प्रयास निष्कर्षविहीन बनेको छ । करार अवधि थप्न ढिलाइ भएको विरोधमा दसौँ दिनदेखि जारी आन्दोलन आज पनि अन्त्य हुन सकेन् ।

आज कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरपालिका कार्यलयमा पुगेर तालाबन्दी खोल्ने प्रयास गर्दा कर्मचारीहरू राजी नहुँदा वार्ता निष्कर्षविहीन बनेको हो । खातुनले काममा फर्किन आग्रह गरे पनि कर्मचारीहरूले लिखित प्रतिवद्धता बिना तालाबन्दी नखोल्ने अडान राखे ।

हाल नगरपालिका कार्यालय प्रमुख नहुँदा प्रक्रिया अघि बढ्न नसकेको कार्यवाहक नगरप्रमुखको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत आएपछि मात्र लिखित रूपमा सहमति दिन सकिने बताइएपछि कर्मचारीहरू सँग वार्ता सफल हुन सकेन् ।

कर्मचारीहरूले सेवा अवधि समयमै नथपिएकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको बताउँदै कार्यालय प्रमुख आएपछि मात्र थप छलफल हुने बताएका छन् । त्यसअघिसम्म तालाबन्दी जारी रहने उनीहरूको भनाइ छ ।

तालाबन्दीका कारण वडा कार्यालयदेखि नगरपालिका सम्मका सबै सेवा अवरुद्ध बनेका छन् । दैनिक कामका लागि कार्यालय धाउनुपर्ने स्थानीयवासीले दुुवै पक्षलाई छिटो समाधान खोज्न आग्रह गरेका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,मंसिर ०५ गते । 

राैतहट— GENZ 2.0 का केन्द्रीय संयोजक हरि कार्की,केन्द्रीय सचिव कुन्दन कुशवाहा,पर्सा संयोजक रजनिश कुशवाहा र राैतहट जिल्ला संयोजक सोनु कुशवाहाको टोलीले आज सिंहदरबारमा अन्तरिम मन्त्रिपरिषद्का ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग विशेष भेटघाट गरेको छ ।

भेटघाटका क्रममा राैतहट जिल्ला संयोजक सोनु कुशवाहाले राैतहट क्षेत्र नं. २ का अत्यन्तै महत्वपूर्ण समस्या— लालबकैया नदी तटबन्ध संरक्षण, सिंचाइका बम नहरहरूको लामो समयदेखि बन्द रहेको अवस्था, र किसानले झेलिरहेको प्रत्यक्ष प्रभावबारे विस्तृत रूपमा मन्त्रीमाथि ध्यानाकर्षण गराएका थिए ।

राैतहटमा हरेक वर्ष बाढी र कटानले व्यापक क्षति पुर्‍याउँदै आएको, तर दिगो समाधानका पहल अपुग रहेको उल्लेख गर्दै कुशवाहाले स्थानीय बासिन्दाको सुरक्षा र कृषि उत्पादनको भविष्य यस समस्यासँग जोडिएको बताए ।

सो क्रममा मन्त्री कुलमान घिसिङले आफू छोटो समयका लागि मन्त्रिपदमा आएपनि जनताको चिन्ता तत्काल सुन्न र समाधानका दिशामा प्रारम्भिक कदम चाल्न प्रतिबद्ध रहेको बताए ।
उनले भने— “मुख्य उद्देश्य अबको चुनाव सुनिश्चित गर्नु भए पनि, राैतहट लगायतका ठाउँबाट उठाएका यी समस्या गम्भीर र दीर्घकालीन प्रभाव पार्ने खालका छन्। उपलब्ध समय र स्रोतभित्रै सम्भव हुने पहलहरूमा तपाईंहरूलाई निराश पार्नेछैन।”

GENZ 2.0 को टोलीले मन्त्रीबाट प्राप्त सकारात्मक संकेतलाई स्वागत गर्दै राैतहट क्षेत्रका समस्यालाई केन्द्रमा राखेर निरन्तर अनुगमन तथा पहल गर्ने जनाएको छ ।

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।