बिशाल बस्नेत ,महोत्तरी, २१ भदौ ।
भर्खरै नागरिकता निमावली मन्त्रिपरिषदबाट पारित भएको छ । मातृत्व र पितृत्व ठेगान नभएकाहरुले नागरिकता पाउने विषयलाई नागरिकता ऐन २०६३ को संशोधन २०७९ बम्मोजिमको निमावलीलाई १२ भदौमा बसेको मन्त्रिपरिषदको बैठकले पारित गरिसकेको छ ।
तर, आमाको नामवाट नागरिकता लिन इलाका प्रशासन कार्यालय बर्दिबासमा निवेदन दिएका दुई छोरीहरु नागरिकता लिनबाट वन्चित बनेका छन । २२ वर्षीया लक्ष्मी साह र १७ वर्षीया पूजा साहलाई कानुनअनुसार नमिल्ने भन्दै इलाका प्रशासन कार्यालयले नागरिकता जारी गर्न अस्वीकार गरेको हो ।
२०५७ सालमा प्रेमविवाह गरेकी उनीहरुकी आमा रेणु कुमारी साहलाई बुबा मनोज साहले छाडेर बर्षौंअघि बेपत्ता भएपछि ३ भदौमा आमाको नामवाट नागरिकता लिन उनीहरु इलाका प्रशासन कार्यालय बर्दिबास पुगेका थिए ।
‘अदालतमा गएर रिट हाल्नुस् अनि फैसला लिएर आउनुस् भनेर त्यहाँका कार्यालय प्रमुख सुनिल पौडेलले फाइल दिएर फिर्ता पठाए,’ लक्ष्मी र पूजाकी आमा रेणुले गुनासो गर्दै भनिन्, ‘हामी गरिबले कहाँ गएर रिट हाल्ने हो के गर्ने थाहा नै छैन ।’
बर्दिबास वडा न.१ को कार्यालयले पनि लक्ष्मी र पूजाको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बर्दिबासलाई सिफारिस गरेको देखिएको छ ।
निमावलीमा बाबु बेपत्ता भएका, पितृत्व र मातृत्वको ठेगाना नभएका सन्तान, विदेशीसँग विवाह गरेको नेपाली महिला र तिनका सन्तान, गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता लिन पाउने व्यवस्था छ ।
तर, वडा कार्यालयले नागरिकता प्रदान गर्न सिफारिस गर्दा पनि प्रशासन कार्यालयले भने नागरिकता दिने अस्वीकार गरेको हो । यता, कानुन व्यवसायीहरुले समेत लक्ष्मी र पूजाको हकमा सहज ढंगले नागरिकता जारी गर्न सकिने कानुनी आधारहरु भएको बताएका छन् ।
नयाँ बनेको संवैधानिक कानुनमा समेत बाबु बेपत्ता भए पनि नागरिकतामा बाधा नपुग्ने उल्लेख गरेको छ । तर, लक्ष्मी र पूजाको विषयमा विभिन्न कानुनी अफ्ठ्यारो सिर्जना गरि नागरिकताविहीन बनाइएको स्वयं कानुन व्यवसायीहरुको तर्क छ ।
लक्ष्मी र पुजाको हकमा कुनै कानुनी अड्चन नभएको बताउदै वरिष्ठ अधिवक्ता टिकाध्वज खड्काले वडामा समेत आफैंले सिफारिस गर्न सुझाएको बताए । काठमाडाँै रहँदा प्रेम विवाह गरेका रेणु कुमारी साहले अहिलेसम्म श्रीमानको घर समेत देखेकी छैनन् । विवाह भएपछि सुरुको दुई, तीन वर्षसँगै बसे पनि उनी कहाँ गए भन्ने अहिलेसम्म अत्तोपत्तो छैन ।
‘आफैले पढाईलेखाइ गराएर ठूलो बनाए । विभिन्न संघर्ष गरेर ठूली छोरी लक्ष्मी अहिले बिए पढ्छिन भने कान्छी छोरी पूजाले एसईई दिइसकिन्,’ रेणुले भनिन् । रेणुको माइत पक्षबाट जारी भएको नागरिकतामा स्थायी ठेगाना धनुषाको छौडामडान लेखिएको छ । लामो समयदेखि बर्दिबासमा चिया व्यवसाय गर्दै आएकी रेणुको बर्दिबासमा नै जग्गा समेत छ ।
रेणुले उक्त ठाउँबाट ५ असार २०७९ बर्दिबासमा बसार्इंसराईं दर्ता समेत ल्याएकी थिइन् । बसाईसराईको पारिवारिक विवरणमा समेत छोरीहरु लक्ष्मी र पूजासहित तीनजनाको मात्र नामावली छ । नागरिकता दिने यति धेरै आधार हुँदाहँुदै पनि प्रशासन कार्यालयले नागरिकता जारी किन गरेन भन्ने विषय थप पेचिलो बनेको छ ।
रेणुकुमारी साह र उनका छोरीहरुको स्थानीय तहले नाता प्रमाणित मात्र गरेको छैन स्थानीय पञ्जिकाधिकारीले जन्मदर्ता समेत जारी गरेका छन् । तर, जन्मदर्तामा नागरिकता नम्बरविनाको बाबुको नाम आमाले भनेको सुनेको आधारमा मनोज साह लेख्न लगाएकी थिइन् । यही विषयलाई हेरेर नै नागरिकता जारी गर्न प्रशासनले व्यवधान खडा गरिदिएको पीडितले बताएका छन् । रेणुलाई आफ्ना श्रीमानको नाम मनोज नै हो भन्नेमा एकीन छैन । ‘कहिलेकाहीँ कसैले बोलाउँदा मनोज भन्थे त्यही भएर नाम मनोज राखिदिन भनेको थिएँ,’ उनले भनिन् ।
राज्यले संविधानमा समेत मापदण्ड पूरा गरेका कोही पनि नेपाली नागरिक अनागरिक हुने परिकल्पना नै गरेको छैन । तर, कार्यालय प्रमुखहरुको अतार्किक कानुनी ब्याख्याले पूजा र लक्ष्मीजस्ता कयौँ नागरिक हुनबाट बन्चित हुनुपरेको कानुन व्यवसायीहरुको तर्क छ ।
कार्यालय प्रमुख भन्छन्– म केही गर्न सक्दिनँ, सिडिओले गर्नुहुन्छ
इलाका प्रशासन कार्यालय बर्दिबासका कार्यालय प्रमुख सुनिल पौडेल आफूलाई त्यस्तै निर्देशन भएको बताए । ‘लक्ष्मी र पूजाको हकमा प्रमुख जिल्ला अधिकारीले नै मलाइ निर्देशन दिनुभएको छ, म केही पनि गर्न सक्दिनँ,’ पौडेलले भने, ‘उहाँले अनुमति दिनुभयो भने हेर्न सकिन्छ ।’
उनीहरुले के कति कारणले नागरिकता नपाएको भन्ने बिषयमा पनि उन्ले खुलाउन चाहेनन । किन नागरिकता दिन नमिलेको भन्ने विषयमा लिखित जवाफ माग्दा पनि आफूले दिनै नमिल्ने उनले जिकिर गरे ।
‘प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिएर जवाफ दिन्छु, तपाईहरु लिखित जवाफको लागि निवेदन दिनुहोस्,’ उनले भनेन । तर, फाइल अध्ययन गरेर नागरिकता दिन नमिल्ने निष्कर्षमा पुगेका पौडेलले नागरिकता जारी नगर्दा पीडितहरु हैरान भएका छन् ।
पीडितहरु कारण बुझ्न जाँदा अदालतमा गएर रिट हाल्न र आदेश लिएर आउन प्रशासनका कर्मचारीले भन्ने गरेका रेणुले जानकारी दिए ।
विशाल बस्नेत/न्युज कारखाना,महोत्तरी, २१ भदौ ।
अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासमा एक साथ बिरामी पर्नेकाे संख्या ८० नाघेकाे छ ।
एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि उनीहरूलाई बर्दिबास अस्पतालका चिकित्सकले हिजाे पनि परीक्षण गरेका थिए।
परीक्षणको क्रममा तीन जनालाई डेंगु प्रमाणित भएता पनि अन्य विद्यार्थीलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजुलले जानकारी दिए। `हाम्रोमा सातौं सेमेस्टरको परीक्षा चलीरहेको थियो। केही विद्यार्थीमा त्यतिवेला पनि ज्वरो आएको थियो,´ उनले भने।
रोगको विषयमा चिकित्सकहरुले परिक्षण गरिरहेका छन । बर्षादका कारण दुषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरेतापनी डेंगुको नै लक्षण भएको हुन सक्ने चिकित्सकले बताएका छन्। २२ गते हुने परीक्षा पनि विद्यार्थी बिरामी भएपछी स्थगन गर्न लगाइएको वडा अध्यक्ष पदम आलेमगरले जानकारी दिए।
धमाधम ज्वरो र टाउको दुख्ने लक्षणवाट प्रताडित बनेपछी वडा अध्यक्ष मगरले हिजाे क्याम्पसमा नै स्वास्थ्य शिविर राखेका थिए। परीक्षण गरिएका सवै बिद्यार्थीमा ज्वरो देखिएको थियो। कतिपयको स्थानीय क्लिनिकमा उपचार भए तापनी केहीकाे भने बर्दिबास अस्पतालमा उपचार भइरहेको छ।
यसै सन्दर्भमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्र्यार्थी युनियनले विद्यार्थीहरूमा फैलिरहेको ज्वरोलाई मध्यनजर गर्दै एक विज्ञप्तिसमेत निकालेको छ। साे बिज्ञप्तिमा एक हप्तादेखि दुषित पानीका कारण फैलिएको टाइफाइडका कारण विद्यार्थी प्रताडित बने पछी पाचौं सेमेस्टरको परीक्षा स्थगन गर्न माग गरिएको छ।
कृषि तथा वन बिज्ञान विस्वविध्यालय राष्ट्रिय समितिका सचिव शिव बस्नेतले निकालेको विज्ञप्तिमा रोग नियन्त्रणमा नआएसम्म परीक्षा रोक्न आग्रह गरेकाे हाे । परीक्षा स्थगनको लागी प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि डिनको कार्यालयलाई पत्र लेखिसकेको निमित्त क्याम्पस प्रमुख भुजेलले बताए।
विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरप्रमुख र सरोकारवाला निकायमा संयोजन भइरहेको वताउदै वडा अध्यक्ष मगरले रोगको विषयमा अहोरात्र निगरानी गरिरहेको जानकारी दिए। यो कलेज बर्दिबास नगरपालिकाको वडा नम्बर ६ स्थित भित्री गाउँमा रहेको छ।
राैतहट,भदौ २० गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने भएको छ ।
अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने जनाइएकाे छ । केन्द्रीय समिति महाधिवेशन आयोजक भएपनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ । फलस्वरुप पार्टीका केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा संगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने छ ।
संगठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ । संगठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने बताईएकाे छ ।
आरके श्रीवास्तव,रौतहट,२० गते भदौ ।
रौतहट । रौतहटका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठसँग पत्रकारहरूको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गौर स्थित जिल्ला प्रहरी कार्यालयमा आज सो कार्यक्रमको आयोजन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा सरुवा भएर आएका नयाँ प्रहरी उपरीक्षक श्रेष्ठसँग परिच्यात्मक कार्यक्रम तथा प्रहरी सुरक्षासँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा रहेको एसपी श्रेष्ठकै कार्यकक्षमा यस जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुसँग जिल्लाको समसामायिक शान्ती सुरक्षाको वस्तुस्थिती, प्रहरीले अवलम्बन गर्नु पर्ने रणनिती, स्थानिय स्तरमा सुरक्षासँग सम्बन्धित समस्याहरु र समुदायको प्रहरीसँगको अपेक्षाको बारेमा अन्तरक्रिया गरिएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सिमा नाकाको चोरी तस्करी,अपराधिक गतिविधि, अवैध मदिरा विक्री वितरण, प्रहरी यूनिटको इन्चार्ज बदल्ने,कानुन पूर्ण रुपमा पालन गर्नुपर्ने,महिला हिंसा,लागूऔषध तस्करी,प्रहरीलाइ दिएको सूचना चुहावट,प्रहरी कार्यालयमा दलालहरुको हाबि लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए ।

पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिदै रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा आउने गरेको विभिन्न किसिमको मुद्धाहरुको बारेमा आफूले गम्भीरता पूर्वक लिएको बताएका छन् । मुद्धाका कुरामा व्यापक सुधार गर्ने बताए । साथै जति पनि विषयहरु एठेका छन् । त्यसलाइ विस्तारै सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा,सचिव मदन ठाकुर, महासंघको पूर्व अध्यक्ष शैलेन्द्रकुमार गुप्ता, पूर्व अध्यक्ष रविन्द्र साह सहितका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

काठमाडौं, २० भदौं ।
आज श्रीकृष्ण जन्माष्टमी ।
भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।
पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।
उता, श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन ।
सो अवसरमा आज सरकारले सार्बजनिक बिदासमेत दिएको छ ।
सागर संगम ठाकुर, रौतहट ,भदौ १९ गते
रौतहटको देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहले आफु माथी लगाईएको आरोप बारे खण्डन गरेको छ । वडामा भएको नाला निर्माणमा वडा अध्यक्षले मनपरी गरेको भन्दै वडा सदस्य खुबलाल दास र गौरीशंकर पंडितले आफनो नाम जोडी वडावासीमा झुठा भ्रमक छरिरहेको आरोप लगाउनु भयो । निर्वाचित जनप्रतिनिधीले बजेट चलाउने अधिकार नरहेको भन्दै वडा अध्यक्षले नै बजेट चलाएको भन्दै लगाएको आरोप झुठा कपोकल्पित र निराधार रहेको वडा अध्यक्ष साहले बताएका छन ।
धरहरीमा भएको नाला निर्माणको सम्पुर्ण जिम्मेवारी वडा सदस्य गौरीशंकर पंडितले लिएर निर्माण कार्य शुरु गराएको र केही ठाउँमा विवाद हुदाँ नालाको काम रोकिए पछि त्यस्को सबै दोस आफु माथि थुपारिएको वडा अध्यक्ष साहले बताए । वडा अध्यक्ष साहले मंगलबार वडा कार्यालयमै आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आफू लाई उपभोक्ता समितिद्वारा भएको नाला निर्माणकार्य संग जोडेर बदनाम गराउने षड्यन्त्र रचेको बताएका छन् ।
केहिदिन धार्मिक यात्राको लागि भारत जादा यता आफ्नै पाइनल बाट निर्वाचित भएका वडा सदस्यहरु बजेटको भागवण्डा नमिल्दा विपक्षीसंग मिलेर आफू बिरोध षड्यन्त्र गरेको बताए । अध्यक्ष साहले नाला निर्माणको क्रममा सडकको उत्तरपट्टी रामज्ञा ठाकुरको घर देखि शुरु गरिएको नाला नरायण साह कानुको घर संम्म निर्माण कार्य भएको र बिचको एक ठाउँमा बिधुत्तिय पोलका कारण काम रोकिएको भन्दै त्यसबारे पनि जनतामा गलत भ्रम फैलाउन वडा सदस्य सक्रिय भएको बताउनु भयोे ।
वडा सदस्य दास र पंडितले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट पाँच÷पाँच लाख पाउनु पर्ने र नदिदा जनतामा भ्रम छरिएको बताए । सकडको दक्षिण तर्फ रुदल पंडितको घर सम्म नाला निर्माण भएको र मुख्य नाला संग जोडनका लागि स्थानिय तेजनरायण साहको घर एलैनिमा परेको हुदाँ घर भतकाई नाला निर्माण गर्नु पर्ने स्थानियहरुको भनाई पछि काम रोकिएको अध्यक्ष साहले बताए ।
सडकको दक्षिण तर्फ रहेको एलानी जग्गामा तेजनरायण साहले घर नहटाउदाँ निर्माण कार्य रोकिएको र त्यो विवादबारे मुदा जिल्ला अदालतमा चलिरहेको अध्यक्ष साहले भने । अध्यक्ष साहले नाला निर्माण नभएको ठाउँमा दुवै वडा सदस्यले विवाद गराएर काम रोकिएको र अहिले आएर त्यसको सबै दोस आफु माथी थुर्पान खोजिएको बताए । निर्माण कार्यका सबै जिम्मा लिएको वडा सदस्यहरु नै आफनो जिम्मेबारीबाट पछाडि हटने र आफु चोखो बन्न खोजेको वहाँले बताउनु भयो ।
विधुतको पोल सार्न प्राधिकरणको हाकिम संग कुरा गरि अधुरो रहेको केही ठाँउको नाला पनि सुचारू गराउने प्रतिबद्धता जनाए । पत्रकार सम्मेलन मार्फत वडा अध्यक्ष साहले आफू निर्वाचित भएको १६ महिनामा वडामा कायापल्ट हुने खालको विकास गरेको बताए । वडा अध्यक्ष साहले विवादका कारण रोकिएको ठाउँमा सहमति भए अउदो सोमबार देखि निर्माण कार्य शुरु गरिने प्रतिवद्धता जनाउनु भयो ।
अध्यक्ष साहले वडा भरिमा कृषि कार्यको लागि विधुतिय पोल समय समयमा किसानलाइ मल खाद बीउ विजन एक्सप्रे टंकी ,बाटोघाटो, नाला निर्माण, जिर्न अवस्थामा रहेको स्वास्थ्य चौकीको मर्मत संम्भार र वडा कार्यालयमा रंग रोदन गरि सञ्चालन लगायतको थुप्रै विकास निर्माणकार्य गरिसकेको र बाकी रहेको कार्य यस आर्थिक वर्ष २०८०÷८१ मा गरिने लक्ष्य रहेको बताएका छन् ।
हनुमत कमार यादव,गाैर, १८ गते भदौ ।
रौतहट सदरमुकाम गौरमा जनमत पार्टीका बृहत पार्टीमा प्रवेश कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ ।

गौर स्थित जानकी धर्मशालामा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजबादी पार्टीका मो. शेख जमसेद सहित विभिन्न पार्टी परित्याग गरि देवेन्द्र मिश्र, डा. रामाशंकर ठाकुर, श्री व्रजभूषण सिंह सहित सैकडौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष डा.सि.के राउत अध्यक्षको आसनमा, श्रम तथा यतायात मन्त्रि चन्दन सिंह विशिष्ठको आसनमा बस्नु भएको थियो । पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउतको हातबाट टिकामाला लगाएर उहाँहरुले जनमत पार्टी आवद्ध भएका हुन् । कार्यक्रममा लाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेश हित तथा यहाँका जनताको लागि हरदम लडेको, निरन्तर लड्ने वहाँको भनाई रहेको थियो ।

देशको सबैभन्दा बढी बालिहुने, कृषि योग जमिन मधेशमा रहेको तर सरकार द्वारा कुनै खास व्यवस्था नदेखिएको प्रति दु:ख समेत पोखेका छन् । उक्त कार्यक्रममा पार्टीको केन्द्रिय अध्यक्ष डा.सि.के राउत,श्रम तथा यतायात मन्त्रि चन्दन सिंह, पुर्व कृषि मन्त्रि बसन्त कुसवाहा, सैकडौं नेता कार्यकर्ता, सुरक्षाकर्मी, संचारकर्मी लगायत भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियो ।