महेन्द्रनगर (धनुषा), २९ असोज :
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिनुभएको छ । प्रयोगशालाले प्रदान गरेको सेवाका बारेमा उहाँले सेवाग्राहीसँग प्रत्यक्ष भेटेर जानकारी लिनुभएको हो । एउटा मात्र काउन्टर(लेनदेनका लागि व्यवस्था गरिएको एकाइ) हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउन्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा श्रवण मिश्रलाई निर्देशन दिनुभयो । “सेवा प्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो होस्”, उहाँले निर्देशक मिश्रलाई निर्देशन दिँदै भन्नुभयो । प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयाैँ बिरामीको जाँच गर्नुका साथैसुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । रासस
वीरगञ्ज, २९ असोज
हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको छ । राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी जिल्ला प्रशासन कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो । वर्तमान परिस्थितिलाई आँकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जानकारी दिनुभयो । यसअघि नेपालगञ्ज, धरान, सर्लाहीलगायत छिमेकी जिल्लामा भएका घटनालाई लिएर पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको हो । हिन्दूहरूको मठमन्दिरलाई सुरक्षा गर्ने यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई स्टेसनको निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको छ । चाडपर्वमा अधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेलमेट प्रयोग नगर्ने, रातिको समयमा मादकपदार्थ सेवन गरेर हिँड्ने तथा सीमावर्ती जिल्ला बारा पर्सामा भारतीय सवारी साधनको आवतजावतसमेत बाक्लो हुने गर्दछ । रासस





इन्दीप कोइराला,बारा, २५ असोज।
सार्वजनिक जग्गाबाट माटो चोरी गरी बिक्री गरेको घटनामा सम्बन्धित निकायको अनुसन्धान सुस्त देखिएको छ ।
जीतपुरसिमरा- ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट कराडौं मूल्य बराबरको माटो चोरी गरि बिक्री गरेको घटनामा सम्बन्धित निकाय जीतपुरसिमरा उपमहानगरपालिकाको अनुसन्धान सुस्त देखिएको हो ।
माटो चोरी प्रकरणमा उपमहानगरपालिकाको कार्यालयले हालसम्म संलग्न व्यक्तिको पहिचान गर्न सकेको छैन भने नियन्त्रणमा राखिएकै समयमा भगाइएको एक्साभेटरको अवस्थाका बारेमा समेत कार्यालय अनविज्ञ छ । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेकै ठाँउबाट सोमबार राति भगाइएको एक्साभेटरको अवस्था बुधवार साँझसम्म पत्ता लाग्न सकेको छैन ।

घटना सार्वजनिक भएपछि उपमहानगरपालिकाको कर्मचारीसहितको प्राविधिक टोलीले पहिलो र उपप्रमुख भोलाप्रसाद अधिकारीको टोलीले दोस्रो पटक स्थलगत निरीक्षण गरिसकेका छन् । पहिलो पटक निरीक्षणका लागि पुगेको योजना महाशाखा प्रमुख बालारम खड्का र ईन्जिनियर सञ्जीव रुपाखेतीसहितको टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर उपप्रमुख अधिकारीको टोली पुग्दा अज्ञात बनिसकेको थियो ।
कानुनविपरीत काम गरिरहेको अवस्थामा सरकारी टोलीले नियन्त्रणमा लिएको एक्साभेटर राखेकै ठाँउबाट भगाउदा समेत उपमहानगरपालिका, वडा कार्यालय र स्थानीय प्रहरीप्रशासन अनविज्ञ देखिन्छन् । सरकारी टोलीले नियन्त्रणमा लिएर राखेको एक्साभेटर रातारात भगाउनुले पनि माटो चोरी प्रकरण शंकास्पद बन्दै गएको छ ।
नम्बरी जग्गाको नाममा सिफारिस लिएर सार्वजनिक जग्गाबाट एक हजार भन्दा बढी टिपर माटो चोरी भएको घटनामा उपमहानगरपालिकाले हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन । अनुगमनका लागि पुगको सरकारी टोलीले सार्वजनिक जग्गाबाट माटो चोरी भएको निष्कर्ष भने निकालिसकेको छ ।
अनुगमनपछि उपप्रमुख अधिकारी र ईन्जिनियर रुपाखेतीले अनियमित तरिकाले माटो उत्खनन् भएको बताउदै यस विषयमा अनुसन्धान जरुरी रहेको बताएका छन् । यता उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल पनि घटनाको अनुसन्धान भईरहेको बताउछन् ।

‘घटनालगत्तै अनुसन्धानको काम सुरु भईसकेको छ । हामी काम गरिरहेका छौं’ नगर प्रमुख पौडेलले भने ‘अनुसन्धानले दोषी देखाएको सबैलाई कारवाही हुन्छ । हामी बेथितिको अन्त्य गर्छौं । ’ नगर प्रमुख पौडेलले अज्ञात बनाइएको एक्साभेटर खोजीका लागि समेत प्रहरीप्रशासनसंग समन्वय भईरहेको बताए ।
के हो माटो चोरी प्रकरण?
जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले साविक फत्तेपुर गाविस वडा नं. ९ हाल जीतपुरसिमरा वडा नं. ११ को कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यवसायिक बिक्रीका लागि भन्दै असोज ५ गते स्वीकृति प्रदान गरेको देखिन्छ । वडा नं. ११ का अध्यक्ष विन्दालाल साहले जग्गाधनी महमद दिन मिया चुरिहारले वडामा निवेदन दिएको जनाउदै असोज ४ गते अनुमति प्रदान गर्न उपमहानगरपालिकाको कार्यालयलाई सिफारिस गरेका थिए ।

उक्त सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । वडाले गरेको सिफारिसका आधारमा उपमहानगरपालिकाले मधेस प्र.०२-०३-००१ख ७६४७, मधेस प्र.०२-०३-००१ख २५९६, लु२ख ८६४२ नम्बरको तीन वटा टिपर, ना१क ६५६७ नम्बरको एउटा एक्साभेटर प्रयोग गर्न र ३६०४६.०८ घनफिट अर्थात एक सय टिपर माटो उत्खनन् गर्नका भन्दै ७० हजार राजश्व लिएर स्वीकृति प्रदान गरेको थियो ।
माटो उत्खनन्का लागि उपमहानगरपालिकाले एउटा एक्साभेटर प्रयोग गर्न अनुमति प्रदान गरेपनि सरकारी जग्गामा नम्बर समेत उल्लेख नभएका दुई वटा एक्साभेटर प्रयोग भएको पाइएको छ । दुई वटा एक्साभेटरमध्ये एउटा घटनास्थल नजिकै नियन्त्रणमा छ भने अर्को राखेकै ठाँउबाट भगाइएको छ । उक्त दुवै एक्साभेटर जीतपुरका व्यवसायी सुनिल गुप्ताको हो ।
यता सिफारिस प्रदान गर्नुअघि उपमहानगरपालिकाबाट ईन्जिनियर रुपाखेती जग्गाको स्थलगत निरीक्षणका लागि पुगेका थिए । निरीक्षणका लागि पुगेका रुपाखेतीलाई कित्ता नं. ३५ भन्दै कित्ता नं. ४२ देखाएको पाइन्छ । सिफारिस दिएको १० दिनपछि माटो चोरी प्रकरण सार्वजनिक हुन्छ । र घटनापछि पुनः स्थलगत निरीक्षणका लागि पुगेका रुपाखेती समेत चकित पर्छन् । उनले अनुमति प्रदान गर्नुअघि हेरेको जग्गा कित्ता नं. ३५ नभएर कित्ता नं. ४२ रहेको पुष्टि हुन्छ । ईन्जिनियर रुपाखेतीले वडाका जनप्रतिनिधि र केही स्थानीय आफै आएर जग्गा देखाएको बताउछन् । घटनामा उपमहानगरपालिकाबाट खटिएको प्राविधिकलाई समेत झुक्याएको देखिन्छ ।
उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख रमेश सुवेदीले माटो चोरी प्रकरणमा उपमहानगरपालिकाले गहिरिएर अनुसन्धान गर्ने बताए । कार्यालयलाई समेत झुक्याएर गरिएको उक्त गलत काममा संलग्न सबैलाई कारवाही हुने सुवेदीले बताए ।
अनुसन्धानमा हस्तक्षेप हुँदैनः नगर प्रमुख पौडेल
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले माटो चोरी प्रकरणका सन्दर्भमा भईरहेको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नहुने बताएका छन् । माटो प्रकरणमा आफ्नै पार्टीका नेता र वडाध्यक्षको नाम जोडिएको विषयमा आफूले अनुसन्धानलाई असहयोग हुने काम नगर्ने बताए ।
नगर प्रमुख पौडेलले संचारमाध्यम र सामाजिक संजालमा आउनुअघि नै स्थानीयले दिएको सूचनाका आधारमा आफूले घटनाको अनुसन्धान गर्न कर्मचारी परिचालन गरेको बताएका छन् । ‘संचारमाध्यम र सामाजिक संजालमा पछि आएको हो । हामीलाई त स्थानीयले पहिलानै जानकारी गराईसक्नुभएको थियो’ नगर प्रमुख पौडेलले भने ‘स्थानीयले जानकारी दिएलगत्तै मैले सत्यतथ्य बुझ्न कर्मचारी परिचालन गरिसकेको थिए ।’
बेथितिलाई निरुत्साहित गर्न सदैव आफ्नो प्रयास रहने भन्दै नगर प्रमुख पौडेलले घटनालाई राजनीतिसंग जोडेर पूर्वाग्रही नहुन समेत आग्रह गरेका छन् । पौडेलले सामाजिक संजालमा आएका टिकाटिप्पणी विशुद्ध राजनीतिक प्रहार रहेको बताए । नगर प्रमुख पौडेलले आफूसंगै र आफू आवद्ध दललाई बदनाम गर्ने नियतसहित टिकाटिप्पणी भईरहेको बताएका छन् । ‘कसैलाई जोगाउनु पर्छ भनेर होइन, बेथिति अन्त्य गर्न भनेर लागिरहेको छु’ नगर प्रमुख पौडेलले भने ।
‘चोरिएको माटो सेजमा बिक्री’
वडा नं. ११ को सार्वजनिक जग्गाबाट चोरी भएको माटो सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा निर्माणाधिन उद्योगमा बिक्री गरेको पाइएको छ । देशकै राष्ट्रिय गौरवको आयोजनामा पर्ने सेजभित्र निर्माण हुँदै गरेको पशुपति सेरामिक्स उद्योगले उक्त चोरीको माटो किनेको हो ।
चोरीको माटो सेजसम्म ल्याउने वातावरण बनाउन जनप्रतिनिधि, व्यवसायी, वडा नं. ११ का केही स्थानीय संलग्न देखिएका छन् । यता माटो चोरी प्रकरण सार्वजनिक भएपछि उपमहानगरपालिकाको कार्यालयले पशुपति सेरामिक्ससंग विवरण समेत माग गरिसकेको छ । तर उद्योगले हालसम्म उपमहानगरपालिकाको कार्यालयलाई विवरण उपलब्ध गराएको छैन् ।
टायलको उत्पादन गर्ने उदेश्यसहित करोडौंको लागतमा निर्माण हुँदै गरेको उक्त उद्योगलाई चोरीको माटो उपलब्ध गिरोह सक्रिय देखिएको छ । उक्त माटो भित्राउन सेजको मुख्य गेट नभई अस्थायी बाटोको प्रयोग गरेको पाइएको छ ।
माटोबाहेक सेजभित्र अनियमित तरिकाले नदीजन्य पदार्थ समेत भित्राएर भण्डारण गर्दै बिक्री गर्ने गरेको समेत देखिएको छ । उपप्रमुख अधिकारीले सेजको अनुगमन गर्दै उक्त बाटो बन्द गर्न निर्देशन दिईसकेका छन् ।
विशाल बस्नेत ,महाेत्तरी, २४ असोज ।
तराईको पुर्व-पश्चिम राजमार्गमा बादरको कारण दुर्घटनाकाे खतरा बढेको छ ।
सामुदायिक बन, साझेदारी बन र सागरनाथ बन परियोजनामा रहेका बादरहरु सडकभरी उत्रदा दुर्घटनाकाे खतरा वढेको हो ।

खाना खोज्दै राजमार्गमा निस्किएका सयौं बादरहरु यात्रुहरुले खाना दिने आशामा निस्किएका हुन्छन । तिब्र गतिमा गुडिरहेका कतिपय सवारी साधनले किचेर मारेका धेरै बादरहरुको लास सडकमा अलपत्र देखिन थालेकाे छ । विशेषगरी महोत्तरीको बर्दिवास देखि सर्लाहीको लालबन्दी जाने सडकको विचका विभिन्न ठाउँमा बादरहरुले सडक नै जाम गर्ने गरेका छन् ।
यो विचमा सागरनाथ बन परियोजना देखी सामुदायिक बन र साझेदारी बन रहेका छन, त्यहाँ रहने बाँदरले खानाकाे खाेजीमा राजमार्गमा निस्के पछि हैरानी बढेकाे छ। माइस्थान सामुदायिक बन, टुटेस्वर साझेदारी बन, बाँके मरहा साझेदारी बन, फुलजोर साझेदारी बनहरू यही राजमार्गमा जाेडिएका कारण हैरानी बढेकाे स्थानीय रामप्रसाद सापकाेटाले जानकारी दिए ।

डिभिजन वन कार्यालय महोत्तरीका अधिकृत भिमबिक्रम खडका यात्रुहरुको कारणले पनि बादरहरु सडकमा आउने गरेको बताउँछन । ` यात्रुहरुले खाना सडकको छेउमा फ्याक्ने गर्छन र सोही खाना खानका लागी सडकमा उनीहरू आउने गर्दछन्,´ उनले भने । पछिल्लो समय वन अतिक्रमण, फडानी र तस्करीका कारण जंगलका बादरहरु बस्ती पस्न लागेको बनका कर्मचारीहरुको भनाई छ ।
यही अवस्था रहने हो भने सवारी दुर्घटना अधिक हुने जिल्ला ट्राफिक कार्यालयको समेत निष्कर्ष छ । जिल्ला ट्राफिक कार्यालय महोत्तरीका सुचना अधिकारी दिपेश रायका अनुसार पछिल्लो १ महिना भित्र यही राजमार्गमा ३ जनाको मृत्यु भएको छ भने ५२ वटा भन्दा बढी दुर्घटना भएका छन ।
राजमार्गमा निस्केर सडक जाम गर्ने बादरहरुको बिषयमा नसोच्ने हो भने मुख्य दुर्घटनाको कारक यही बन्ने यात्रुहरुले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन ।
इन्दीप कोइराला,बारा, २३ असोज ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ मा निजी जग्गाको स्वीकृति लिएर सरकारी जमिनबाट ठूलो परिमाणको माटो चोरी गर्दै उद्योगमा बिक्री गरिएको घटना सार्वजनिक भएको छ । निजी जग्गाबाट एक सय टिपर माटो उत्खनन गर्न नगरपालिकाबाट अनुमति पाएका स्थानीय महमद दिन मियाँ चुरिहारले सरकारी जग्गाबाट १ हजार टिपरभन्दा बढी माटो चोरेर बिक्री गरेका हुन् ।
हालको बजार मूल्यअनुसार उक्त माटोको मूल्य ५० लाखभन्दा बढी हुन आउँछ । उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र कार्यालयका प्राविधिकलाई समेत झुक्याएर सरकारी जग्गाको माटो जीतपुरसिमरा–४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित पशुपति सेरामिक्स उद्योगमा चोरी बिक्री गरेको घटना बाहिरिएको हो ।
नम्बरी जग्गाबाट व्यावसायिक प्रयोजनको लागि भन्दै नगरपािलकाबाट अनुमति लिएर सरकारी जग्गाबाट माटो चोरी गरी बिक्री भएको घटना बाहिर आएपछि स्थानीय जनप्रतिनिधिकै संरक्षण र निर्देशनमा माटो चोरी भएको भन्दै कारबाहीको माग हुन थालेको छ । माटो चोरी गरी बिक्री गर्ने काममा वडा नम्बर ११ का जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका केही कार्यकर्ताहरुको संलग्नता रहेको देखिएको छ ।
साविक फत्तेपुर गाविस वडा नम्बर ९ हाल जीतपुरसिमरा वडा नम्बर ११ स्थित कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यावसायिक बिक्रीका लागि चुरिहारले नगरपालिका कार्यालयबाट अनुमति लिएका थिए । तर, उनले अनुमति पाएकोभन्दा फरक कित्ता नम्बर ४२ को १८ बिगाह जग्गामध्ये दुई बिगाह जग्गाबाट एक हजार टिपरभन्दा बढी माटो उत्खनन् गरी बिक्री गरेको पाइएको छ ।
चुरिहारको माग बमोजिम वडा नम्बर ११ को कार्यालयले स्वीकृति प्रदानका लागि असोज ४ गते नगर कार्यालयलाई सिफारिस गरेको थियो । वडाको सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल कार्यालय पुगेका थिए ।
सोही सिफारिस पत्रको आधारमा कार्यालयले प्राविधिक मूल्याङ्कनसमेत नगरी माटो बिक्रीका लागि स्वीकृति प्रदान गरेको थियो । यस क्रममा स्थलगत अध्ययनको लागि नगरपालिकाबाट खटिएको प्राविधिक टोलीलाई वडाका जनप्रतिनिधिले कित्ता नम्बर ३५ भन्दै हाल उत्खनन् गरिएको जग्गा कित्ता नम्बर ४२ को सरकारी जग्गा देखाएका थिए ।

सो जग्गा नगरपालिका मताहातको ऐलानी पर्ती हो । नगरपालिकाले मियाँका बुबा हसिना चुरिहारको नाममा ७० लाख राजश्व लिएर असोज ५ गते माटो उत्खननको लागि स्वीकृति दिएको थियो ।
यता, घटना बाहिर आएपछि नगरपालिकाको प्राविधिक टोलीले सो क्षेत्रको पुनः अनुगमन गरेको छ । स्वीकृति लिएकोभन्दा फरक स्थान र बढी परिमाणमा माटो उत्खनन् भएको पाइएको इन्जिनियर सञ्जीव रुपाखेतीले बताए ।
टोलीले माटो उत्खनन् गरिरहेको एउटा एक्साभेटरलाई समेत नियन्त्रणमा लिएको छ । गैरकानुनी रुपमा बिक्री भएको पाइएपछि कार्यालयले माटो खरिद गर्ने पशुपति सेरामिक्स उद्योगसँग सोकोे विवरण माग गरेको प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालले जानकारी दिए ।
मुकेशकुमार यादव,सिरहा, २३ असोज ।
सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । विभिन्न प्रकारका एक हजार ४७५ एम्पुल प्रतिबन्धित लागुऔषधसहित पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार–४ बाट लहान नगरपालिका–२० हरिनगराका ३५ वर्षीय रामानन्द दास र लहान–२१ का २१ वर्षीय अर्जुनकुमार रामलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीको कमाण्डमा लागुऔषध नियन्त्रण ब्यूरो गोलबजारसमेतको टोलीले गोलबजार–४ लोकमार्गमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बा. ६३ प ९१९६ नम्बरको मोटरसाइकल पछाडि सवार रामानन्द दासको साथबाट उक्त प्रतिबन्धित लागुऔषधसहित तीनथान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा प्रहरीले प्रोमेट्साजिन हाइड्रोक्लोरिड २ एमएल चारसय ८७ एम्पुल, डाईजिपाम चार सय ९८ एम्पुल र बुप्रोनोरफिन चार सय ९० एम्वुल सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
पक्राउ परेका दुबैजनालाई म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मुकेश कुमार यादव/न्युज कारखाना
सिरहा, १४ असोज । सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।
सिरहाको गोलबजार नगरपालिका-९ मारुति सिमेन्ट उद्योग अगाडी राजविराजबाट जनकपुर जाँदै गरेको ना४ख ६१८७ नम्बरको बस शुक्रबार अपरान्ह दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन।
शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ। घाइतेहरूको गोलबजार, मिर्चैया, चोहर्वाका निजी स्वास्थ्य संस्थाहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
लङ्ग लाइफ अस्पतालमा ९ जना, भूमिजा अस्पतालमा १३ जना, रोजी मेडिकलहलमा दुई जना र मिर्चैयास्थित मंगलम अस्पतालमा दुई जना र लहानमा एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डले जानकारी दिए।
‘अहिलेसम्म सम्पर्कमा आएका २७ जना बिरामी भए पनि अझै घाइते हुनसक्छ, कतिपय बिरामीहरू एम्वुलेन्सले लगेर विभिन्न अस्पतालमा उपचार गराइरहेकाले विवरण प्राप्त भइरहेको छ; सूचना अधिकारी पाण्डले भने।
विग्रिएको बाटोमा अनियन्त्रीत भई बस पल्टिएको हुसक्ने अनुमान प्रहरीको रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
हनुमत कु यादव ,रौतहट, १४ गते असोज ।
रौतहट जिल्लामा भारतबाट अबैध कुखुरा ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरि नष्ट गरेको छ । जिल्लाको परोहा नगरपालिका वडा नं.८ स्थित मोतिपुर नरकटीयाको बाटो हुँदै नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरी पक्राउ गरेको हो ।
आज प्रहरी चौकी मोतिपुर नरकटिया रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय गौर रौतहटले जनाएको छ ।

भारतबाट अबैध रुपमा चोरि पैठारी गरी ल्याउदै गरेको १६ वटा कुखुरा बरामद गरी जनप्रतिनिधी, बुद्धिजिवी र संचारकर्मीहरु समेतको रोहबरमा आज जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा अंदाजी ३५ के.जि. बराबरको बोईलर कुखुरा नष्ट गरीएको प्रहरीले जनाएको छ ।