२०८३ श्रावण २
२०८३ श्रावण २

बिशाल बस्ने,महाेत्तरी, १६ कात्तिक । 

प्याट्रोलिङ्गको क्रममा बर्दिवासमा प्रहरीले भेटाएको ९ लाख रुपैया  जिम्मा लगाईएको छ ।

 

अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पशलका संचालक जगदिश महतोको एकिन भएपछी  महतोलाई हस्तान्तरण गरिएको हो ।

 

उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका, व्यवसायीहरु गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैया महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।

 

कसरी फेला परेको थियो ?

गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकवाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पशल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे ।

झोलालाई आफैले बोकेको लौरोले यताउता चलाए । खासै संकास्पद नभएको अनुमान लगाएपछी सोही लौरोले ताने अनि खोलेर हेरे । खाेलेर हेरेका मात्र थिए, झोलाभरी पैसा नै पैसा देखेपछी उनी झसङ्ग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदिलाई जानकारी गराए । गदिले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।

 

यादवले केही स्थानियहरुको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । गन्ने क्रममा महतो किराना पसलको केही विलहरु पनि भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५ सय ६२ रुपैया रहेको एकिन भयो । भोलीपल्ट बिहान ९ लाख भेटाएको बिषयमा निक्कै खैलावैला भयो । महतो किराना पसलको केही आधारहरु देखिए पछि स्थानियहरुले महतोलाई पनि जानकारी दिए ।

हप्तादिनसम्म महतोबाहेक दावी गर्न नआएपछी प्रहरीले उनकाे पैसा भएको निष्कर्ष निकाल्दै सोमवार पैसा जिम्मा लगाएको हो ।

 

महतो भन्छन : प्रहरी मेरा लागी भगवान जस्तै बने

पैसा हराएको थाहा पाएदेखी निक्कै चिन्तित बनेका महतोले प्रहरीको इमान्दारिता माथी नतमस्तक भएको वताए ।

`व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैंकमा राख्ने भनेर स्टाफलाई भनेको थिए, झोला त बिर्सेर बाहिर नै छाडेछु,´ उन्ले भने ।

 

पैसा यदि प्रहरीले बाहेक अरुले भेटाएको भए भेटन निक्कै मुस्किल पर्ने बताउदै उनले यो खुसियालीमा प्रहरी विट तथा केही भौतिक संरचना बनाईदिने घोषणा गरेका छन । २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले वताए ।

 

ब्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवादसमेत दिएका छन् ।  प्रहरीले सर्वसाधारणको साथी मात्र हैन्र, गतिलो भरोसा हो भन्ने बिषयलाई प्रहरी जवानले देखाएको  जिम्मेवारीप्रतिको इमान्दारिताले प्रमाणित गरेको स्थानियहरुको तर्क छ । न्युज कारखाना

महोत्तरी, १४ कात्तिक

कात्तिक कृष्णपक्ष सुरु भएसँगै मधेशको प्राचीन मिथिला क्षेत्रका विन र डोम समुदायमा व्यस्तता बढेको छ । दीपावली तथा छठ पर्वका लागि आवश्यक पर्ने बाँसको डाली, छिटी, नाङ्लो,चाल्नो, पङ्खा, कोनीया र अन्य खेलौंना बनाउन उनीहरूमा व्यस्तता बढेको हो । ती पर्वमा यस्ता सामग्री आवश्यक पर्ने भएकाले विन र डोम समुदाय अहिले यस्ता सामान बनाउन कम्मर कसेर लागिपरेका छन् । घरआँगनमा आइपुगेका अतिथिलाई मुखैले शिष्टाचार गरे पनि प्रगाश मरिक डोमको हातभने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त देखिन्छ । माग भएका सामग्री तयार गर्न भ्याइ नभ्याइ भएकाले उहाँसहित बस्तीका डोम र विन समुदायको ब्यस्तता बढेको हो । भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रोमा प्रगाश दिनरात डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा, कोनीयाँ र अन्य खेलौंना बनाउन तल्लिन हुनुहुन्छ । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै सुते पनि बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पु¥याउनु परेको उहाँ बताउनुहुन्छ । सोही वडाकै सीतापुर बस्तीका पञ्चु विनलाई पनि अहिले पर्वकेन्द्रित चोयाका सामान बनाउन भ्याइ नभ्याइ छ । प्रगाश र पञ्चुजस्तै बिपन्न विन र डोम समुदायमा यस्ता चाड पर्वमा आफ्नो सीपले बजार पाउनका साथै आम्दानी पनि हुने भएपछि खुसी छाएको छ । अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका समान बुन्ने काममा ती समुदायका परिवारका सबै सदस्य व्यस्त देखिन्छन् । घरमुलीदेखि पाँच÷सात वर्ष उमेर कटेका नानीहरु पनि काममा लागेका देखिन्छन् । अन्यबेला अभावमै बित्ने ती समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र बालबालिकाको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठसँग जोडने गर्छन् । “के गर्नु हजुर, वर्षभरिको खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद देख्न पाँइदैन” भङ्गाहा–५ सिद्धपुरको डोम बस्तीका अगुवा प्रगाश भन्नुहुन्छ–, “ससाना नानीहरुको रहर र चाहना हामीले यही पर्वमा पूरा गर्ने सोच बनाएका हुन्छौँ ।” अन्य बेला आफ्ना सीपको खासै माग नहुने हुँदा वर्षभरिका लागि खर्चको जोहो पनि यसै बेला गर्न पर्ने भएको उहाँको भनाइ छ । चोयाका सामग्री अडर गर्न आउने ग्राहक बाक्लिएपछि ससाना नानीको माग पनि बढ्ने गरेको छ । “माय, दिवाली आ छठमें हम गुड्डी उडायब् , हमरा बहुते रङ्गके गुड्डी ला दिहे” (आँमा , म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु , मलाइ रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनुहोला) चोयाका समान बुनिरहनुभएकी बर्दिवास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका सात वर्षीय छोरा विरुपा मरिकको माग थियो । रामकलीले विरुपालाई दिवालीमै चङ्गा ल्याइदिने आश्वासन दिनुभएको छ । “गरिब छौं, चाहिँदो खर्चको पनि अभाव छ तर ससाना नानीको मन त हो , गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन् , घर आएर त्यसैको फर्माइस गर्छन्” लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका झामलाल मरिक भन्नुहुन्छ, “नानीहरुले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरुको रहर पूरा गर्छौँ ।” मुलुकमा अवसरबाट पछि परेका सिमान्तकृत गरिब र दलितहरुको उत्थानका लागि सरकारले बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताइए पनि त्यस्ता कार्यक्रम ती समुदायसम्म नपुगेको सामाजिक अभियन्ताहरुको टिप्पणी छ । सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहित अन्य समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–९ की नेतृ किरण यादव बताउनुहुन्छ । रासस

बारा १४ कात्तिक

गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । पसहा खोलमा उहाँको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्याब्सनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्रद्धाञ्जली अर्पण गरेका थिए । मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उहाँको निवासमा पुगेको थिए । कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, नेकपा (माओवादी केन्द्र)का युवा नेता मुकेश साह, नेपाली कांग्रेसका युवा नेता लुकेश सिहलगायत विभिन्न राजनितिक दलका नेता, नागरिक अगुवा, निजी तथा सामुदायिक बिद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए । उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत बिभिन्न संघ–संगठनहरुले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् । यस्तै बारा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको बिरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। संघका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा ब्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ । एन प्याब्सनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र बास्तविक अपराधी समात्न नसके चरणवद्ध आन्दोलन गर्ने जनाएको छ । कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार हत्या गरेकाले जिल्लाबासीमा त्रासको वतावरण छाएको छ । कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुश काफलेले जानकारी दिनुभयो । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ । गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उहाँ बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए । घटनामा सम्लग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

आरके श्रीवास्तव,रौतहट, १२ गते कार्तिक।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं ७ धमौरामा नगरस्तरीय मेयर कप २०८० क्रिकेट प्रतियोगिता आईतवार देखि सुरु भएको छ । वृन्दावन नगरपालिकाको आर्थिक सहयोग तथा वृन्दावन क्रिकेट समिति वृन्दावन ६ रौतहटको आयोजनामा आज देखि सुरु भएको सो क्रिकेट प्रतियोगिताको उदघाटन नगर प्रमुख विनोद प्रसाद कुर्मीले आज एक समारोहका विच गरेका हुन्। वृन्दावन नगरपालिका वडा नं.६ र ७ को रुपा नेपाली पाल मा.वि. धमौरा को संयुक्त खेल मैदान मा आयोजित उदघाटन कार्यक्रममा नगर प्रमुख कुर्मीले खिलाडीहरु सँग क्रिकेट खेलेर प्रतियोगिताको उदघाटन गरेका छन्। करिब एक महिना अर्थात मंसिर ७ गते सम्म चल्ने प्रतियोगिताका प्रथम विजेतालाई नगद रु ५५ हजारको साथै मेडल, ट्रफ र दोश्रो विजेता टोलीलाई नगद रु ३५ हजार
रुपैयाका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक आशिषराज पटेल ले जानकारी दिए । कार्यक्रममा बोल्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख कुर्मीले क्रिकेट खेलको माध्यमले मात्र आफ्नो पालिकालाई न भई सिंगै हाम्रो देश लाई नै चिउने माध्यम रहेकोले आफुले आफ्नो पालिका का स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरेर अगाडि बढाउने सोच ले सो मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गरेको बताए। नगर प्रमुख कुर्मीले प्रतियोगितामा भाग लिएर खेल्न आउने वडा नम्बर १ देखि ९ सम्मकै सम्पूर्ण खेलाडीहरुलाई शान्त र शभ्य तरिकाले खेल्न निर्देशन दिदै निर्णायक टोलीलाई पनि काखा पाखा नगरी खेल्न सञ्चालन गर्न आग्रह गरे।उहाँले अबको २०८१ मा हुने मेयर कप सो नगरपालिका वडा नं.९ भुषहामा सञ्चालन गर्ने घोषणा समेत गर्नुभयो। त्यसैगरी सो नगरपालिकाका निमीत प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेलले नरमा भईरहेको ऐतिहासिक मेयरकप क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्दै उनीहरुको क्षमता अभिवृद्धि गरिरहेको बताउनुभयो।
पटेलले सो प्रतियोगिता मा खेल्न आएका सम्पूर्ण टिमलाई अग्रिम बधाई दिदै उनीहरूलाई खेलमा निरन्तरता दिएर अगाडि बढ्न र अन्तर्राष्ट्रिय खेलाडी समेत बनेर देश र पालिकाको नाम रौशन गर्न आग्रह गरे। त्यति मात्र न भइ अधिकृत पटेलले आफ्नो कार्यकालमन सो नगरपालिका एउटा राम्रो स्टेडियम बनाउन पहल तथा प्रयास गर्ने आस्वासन समेत दिनुभयो। उक्त प्रतियोगितामा वडा नं.१ का वडा अध्यक्ष रामनाथ सहनी,वडा नं.६ का वडाअध्यक्ष मजहर मन्सुर,वडा नं.७ का वडाअध्यक्ष मदन पाल,वडा नं.८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह र वडा नं. ९ का वडा अध्यक्ष प्रवेज आलम,कार्यपालिका सदस्य राजेश पासवान,र कार्यपालिका सदस्य रामबाबु साह लगायत विभिन्न वडा बाट आए का विभिन्न पार्टी प्रतिनिधि तथा खेलाडी र दर्शकहरुको उपस्थिति समेत रहेको थियो। प्रतियोगितामा आज वडा नम्बर ६ र ९ विच भिडन्त भएको छ भने सो मेयर कप क्रिकेट प्रतियोगितामा सो नगरका वडा नं १ देखी ९ वटै वडाका टोलीहरुबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।
सागर ठाकुर,राैतहट, १२ गते कार्तिक
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हाकिमको बिषयलाई लियर अवस्था तनावग्रस्त भएको छ । यसै विषयलाई लिएर त्यहाँ विवाद भएको छ । आईतवार नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले कार्यालय प्रमुखको रुपमा सुरेन्द्र प्रधानलाई हाजिर गराउन खोज्दा वडा अध्यक्षहरु त्यसको विरुद्धमा उत्रिएका छन् । कार्यवाहक नगर प्रमुख खातुनले जसरी भए पनि प्रधानलाई नै हाजिर गराउन खोजे पछि सबै वडाका वडाध्यक्षहरु त्यसका बिरुद्धमा उत्रिएका हुन् । वडा अध्यक्षहरूले प्रधानकाे सट्टा अर्काे हाकिम ल्याउने अडानमा छन् । नगरपालिकामा हाकिमकै बिषयलाई लिएर पलतुवा बिजयपुरमा लामो समय देखि बिवाद चल्दै आएको छ ।
कार्यवाहक नगर प्रमुख खातुन र वडा अध्यक्षहरु बिचको विवाद कायमै रहदा त्यसमा कार्यरत शिक्षक,स्वास्थ्यकर्मी,करारका कर्मचारीहरु तलब भत्ता खान्नबाट बञ्चित भएका छन् । त्यस्तै वृद्धवृद्धा जेष्ट नागरिक र बालबालिकाहरु पनि बालपोषण भत्ता खानबाट बन्चित भएका छन् । जनप्रतिनिधिहरु बिचको आन्तरिक विवादका कारणले असारमा गर्नु पर्ने नगर सभा समयमा नहुँदा विकास निर्माणका कार्यहरु अगाडि बढन सकेका छैन् । तलबभत्ता खान्नबाट बन्चित भएका कर्मचारीहरु तलब पाउनु पर्ने माग गर्दै गएको असोज १९ गते नगरपालिकामा ताल्चा लगाएका थिए । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख खातुनले कर्मचारीहररूलाई समयमै तलब भता खुवाउन नसके पछि आक्रोशित कर्मचारीहरुले नगरपालिकामा लगाइएको ताल्चा वडा अध्यक्ष राकेश यादवको नेतृत्वमा गएका वडा अध्यक्षहरुको टोलीले शुक्रबार खुलाएका थिए । आफुहरू छठ भन्दा अघिनै तलबभत्ता खुवाउने प्रतिबद्धता जनाए पछि कर्मचारीहरुले लगाएको ताल्चा खोलिएकाे थियोे ।
हिन्दुहरुको महान चाड शुभ दिपावली र छठ पर्व नजिकिए पनि तलब भत्ता खुवाउन कार्यवाह नगर प्रमुखलाई पटक पटक आग्रह गरे पनि केही वास्ता न गरे पछि सो ताल्चा स्थानिय प्रहरी ,संचारकर्मि,कर्मचारी,जनप्रतिनिधि र स्थानीयहरूको रोहबरमा कार्तिक ११ गते ताल्चा खुलाईएको हो । बिगत लामो समय देखि बन्द रहेको नगरपालिका ताल्चा खुले पछि अब पुर्ण रुपमा संचालनमा आएको वडा अध्यक्ष राकेश यादव( पप्पु) जानकारी दिनु भयो । यस बिषयमा वडा अध्यक्षहरुको तर्फबाट वडाध्यक्ष राकेश यादव संग बुझदा आफुहरु यो पालिकामा यस भन्दा पहिला पनि हाकिमको रुपमा सुरेन्द्र प्रधान हुदाँ ठुलो भ्रष्टचार गरेको भन्दै त्यसलाई कुनै हालतमा हाजिर हुन नदिने अडान लिएको बताउदै आएका छन् । वडा अध्यक्ष यादवले प्रधानको सट्टामा अर्को हाकिम मन्त्रालयबाट ल्याउन माग राखेका छन । तर कार्यवाहक नगर प्रमुखले भने प्रधानलाई नै हाजिर गराउन खोजेका छन् । सोही बिषयलाई लियर कार्यवाहक प्रमुख खातुन संग बुझदा वहाँले अहिले छठ पर्व नजिकै आएका कारण सुरेन्द्र प्रधानलाई नै हाजिर गराएर कर्मचारहरु,बालबालिका वृद्धवृद्धा र जेष्ट नागररिकहरुको समाजिक सुरक्षा भत्ता खुवाउन आफनो चाहना रहेको बताउनु भयो । ताला खुले पछि नगरपालिकामा आईतबार हाकिम हाजिर गराउन खोज्दा वडाध्यक्षहरु त्यसको बिरुद्धमा उत्रिदा अवस्था तनाव ग्रस्त भएको थियो । नगरपालिकामा जनप्रतिनिधीहरुको बिवादले गर्दा अवस्था तनावग्रस्त भएपछि ठुलो संख्यमा प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीको बाक्लो उपस्थितीले गर्दा पालिकामा ठुलो घटनाबाट जोगिएकाे हाे ।
काठमाडौं,१२ गते कात्तिक ।
ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका नवनितकुमार कुशवाहा, कन्हैयाकुमार कुशवाहा, दिपेन्द्रकुमार यादव, अभयकुमार यादव र रितेश कुशवाहा छन् । उनीहरुले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटका बिभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए । अनलाइन खबर

विशाल बस्नेत ,महाेत्तरी,  १२ असोज ।

बर्दिबास नगरपालिकामा अवैध मापदण्डविपरित उत्तखनन गरेर सम्झौता भन्दा बढी नदि उत्तखनन गरेका भनिएका ४ क्रसर उद्योगको मुद्दा अझै अदालतमा लम्बिदै गएको छ ।

 

 

प्रक्रियाअनुसार नै ठेक्का पाएका पन्चधुरामाई सप्लायर्स, शिवम् कन्स्ट्रक्सन प्रा.लि. र दिव्यांशु प्रा.लि. जनकपुरले करिब चार गुना बढी उत्खनन् गरेको निष्कर्ष निकालेपछि बर्दिबास नगरपालिकाले उक्त कम्पनीहरुसँग क्षतिपूर्ति माग गरेको थियो ।

नगरपालिकाले पटक-पटक ठेक्केदार कम्पनीहरुलाई राजस्व बुझाउन पत्राचार गरेपछि २०७८ मा  उत्प्रेषण मिश्रित परमादेश रिट दायर भयो । जुन अझैसम्म पनि विचाराधीन अवस्थामा छ ।

 

रातु नदी अन्तर्गत  किसाननगर खण्ड, जुरेटोल खण्ड, पतलैया खण्ड र फुलबारी खण्डबाट उत्खनन् गर्ने अनुमति पाएका उल्लेखित तीन कम्पनीले मापदण्ड र सम्झौताविपरित उत्खनन गरेको आरोप लागेको थियो ।

 

ढुंगा, गिटी, वालुवा बिक्री वितरण तथा व्यवस्थापन सबन्धी ऐन ०७७ विपरित उत्खनन भएको पाइए पछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो ।

 

त्यसपछि तत्कालिन नगरप्रमुख बिदुर कार्कीले  ठेक्का सम्झौता रद्द गरेर प्रावधिक नापजाँच उपसमिति बनाए । सोही प्रावधिक नापजाँच उपसमितिको रिर्पोटअनुसार नै १ साउन ०७८ वाट उक्त कम्पनीहरुलाई कारवाही प्रक्रिया सुरु भएको हो ।

उपसमितिको प्रतिवेदनअनुसार उत्खनन् गर्ने जिम्मा पाएका उद्योग पन्चधुरामाई सप्लायर्सले किसानगर खण्डबाट सम्झौता भएभन्दा एक लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट एक लाख ६३ हजार नौ सय ६५ घनमिटर बढी उत्खनन् गरेको उल्लेख छ ।

 

पन्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको दुई करोड ७५ लाखभन्दा बढी राजश्व दिन बाँकी छ भने जुरे टोल खण्डको दुई करोड ६१ लाख राजश्व नगरलाई दिन बाँकी छ ।

 

यसैगरी, शिवम् कन्स्ट्रक्सन प्रालिले सम्झौतामा उल्लेख गरे भन्दा फुलबारी खण्डबाट एक लाख ७२ हजार तीन सय ६० घनमिटर र दिव्यांशु विल्डर्स प्रालिले सम्झौता गरेभन्दा पथलैया खण्डबाट दुई लाख ९९ हजार आठ सय ४५ घनमिटर उत्खनन् गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

 

शिवम् कन्स्ट्रक्सनले दुई करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले चार करोड ७८ लाख दिन बाँकीे देखिएको छ । उक्त घनमिटरमा रेट भने हरेक खण्डवाट ४।५२ रुपैयाँ निर्धारण गरिएको थियो ।

 

नगरको तर्फबाट मुद्दा  हेरिरहेका अधिबक्ता खडका भन्छन : कागजात अपुरो भयो

 

बर्दिवास नगर कार्यापालिकाका कानुनी सल्लाहकार टिकाध्वज खडकाले जनकपुर उच्च अदालतमा उक्त मुद्दा  प्रक्रियामा नै रहेको बताएका छन  ।

 

क्रसर उधोगहरुका विरुद्ध केही कागजात अपुरो भएपछी उक्त कागजात वनाईरहेको पनि अधिबक्ता खडकाको भनाई छ ।

 

प्रावधिक नापजाँच उपसमिति वनाएर अध्ययन गर्दा प्रतिवादीहरुको हस्ताक्षर नलिएको, तत्कालिन समयमा आफु अनुकुल समिती बनाएको जस्ता कारणले मुद्दा  कमजोर भएको  कानुन व्यवसायीहरुले तर्क गरेका छन  ।

 

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीसगँ यसअघि कुरा गर्दा  नगरको सम्झौताभन्दा बढी उत्तखन्न भएको राजस्व उठाउन आफू प्रतिबद्ध भएको बताए तर मुद्दा  हालेको २ बर्ष वितिसक्दा पनि यति ठूलो रकमको बिषयमा चासो नदिए जस्तो देखिनु दुखद भएको स्थानियहरुले बताउन थालेका छन । न्युज कारखाना

 

 

सागर संगम ठाकुर रौतहट कार्तिक १० गते

रौतहटको फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे छ । शुक्रबार वडा अध्यक्ष राकेश यादवको नेतृत्वमा गएका वडा अध्यक्षहरुकाे टाेलीले नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे हाे । नगरपालिका अन्तर्गतका शिक्षक,शिक्षिका, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले तलबभत्ताकाे माग गर्दै नगरपालिकामा ताल्चा लगाईएकाे थियोे । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बया खातुनले कर्मचारीहरुलाई समयमै तलब भता खुवाउन नसके पछि आक्राेशित कर्मचारीहरुले नगरपालिकामा ताल्चा लागाएका थिए। वडा अध्यक्ष यादव नेतृत्वमा गएका वडा अध्यक्षहरुले आफुहरु छठ भन्दा अघिनै तलबभत्ता खुवाउने प्रतिबद्धता जनाए पछि लगाईएकाे ताल्चा खाेलिएकाे छ । बिगत लामो समय देखि बन्द रहेको नगरपालिका ताल्चा खुले पछि अब पुर्ण रुपमा संचालनमा आएको वडा अध्यक्ष राकेश यादव जानकारी दिनु भयो । कार्यवाहक नगर प्रमुखले ताल्चा खुलाउने विषयमा कुनै पहल नगरेपछि वडा अध्यक्षहरू आफैं सक्रिय भई ताल्चा खुलाएका हुन् ।

सागर संगम ठाकुर, रौतहट, कार्तिक ९ गते

रौतहटको धरहरीमा भुमिहिन दलित सुकुम्बासी र अब्यवस्थित बसाेबास गर्नेहरुकाे लागि जग्गा उलब्ध गराउनकाे लागि विभिन्न समितिहरु गठन गरिएको छ । विहिबार जिल्लाको देवाही गाेनाही नगरपालिका-९ धरहरीका वडा अध्यक्ष वीर बहादुर साहकाे अध्यक्षतामा बसेको बैठकबाट विभिन्न राजनीतिक दलबाट एकएक जना प्रतिनिधि र दलितबाट सदस्य रहने गरि समिति चयन गरिएको हाे । राष्ट्रिय भुमि आयाेग गठन २०७८ दफा ६ काे खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरि राष्ट्रिय भुमी आयाेगले बनाएको कार्य बिधि अनुसार समिति गठन गरिएको छ । नव गठित समितिको सदस्यहरुमा नेकपा एमालेबाट रामअज्ञा ठाकुर,माओवादीबाट शंकर साह,नेपाली कांग्रेसका,बच्चु साह,आम जनता पार्टीका रंजन साह,एकीकृत समाजबादीका,जयशंकर दास,राष्ट्रिय स्वतन्त्र पार्टीका बिपत राय,जनमतका,नरेन्द्र साह(नबिलाल) दलितबाट राम सेवक दास,अलपसंख्यकबाट रमनवा देवी र नागेन्द्र ठाकुरलाई चयन गरिएको वडा अध्यक्ष वीर बहादुर साहले जानकारी दिनु भयो ।

गठित समितिले वडामा रहेका बास्तबिक भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसाेबास गर्ने नागरिकहरूलाई सहि पहिचान गरि नाम छनाैट गर्नुपर्ने प्रवधान रहेको अध्यक्ष साहले बताए । आयाेगले भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क. को उपदफा (३) र दफा ५२ख. को उपदफा (६) बमोजिमको अधिकार प्रयोग गरी नेपाल सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि राष्ट्रिय भूमि आयोग गठन गरेको छ । यस आयाेगका मुख्य काम कर्तव्य अधिकार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको लागि आधार र मापदण्ड तोक्ने, ।भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको स्थानीय तहबाट लगत सङ्कलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने ।भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम स्थानीय तह मार्फत गर्ने ।सम्बन्धित मालपोत. कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नाप जाँच गरी नक्सा स्रेस्ता तयार गर्ने वा गराउने ।स्थानीय तहबाट प्राप्त तथ्याङ्कको विश्लेषण गर्न आवश्यक प्रणालीको विकास गरी सोही प्रणालीको आधारमा अव्यवस्थित बसोबासीको जग्गाको वर्गीकरण गर्ने ।

अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराए बापत ऐन बमोजिमको दस्तुर लिने ।ऐनको दफा ५२ख. को उपदफा (४) बमोजिमको जग्गा हो वा होइन भज्ने सम्बन्धमा प्रदेश सरकार र स्थानीय तहको समन्वयमा यकिन गर्ने वा गराउने । स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरण सम्बन्धी तथ्याङ्क प्राप्त भएपछि सोही बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन . र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न कार्य प्रक्रिया सुरु गर्ने ।स्थानीय विशिष्टता समेतको आधारमा सहरी क्षेत्रमा सामूहिक आवास वा जग्गा विकासको माध्यमबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने सम्बन्धमा आवश्यक निर्णय गर्ने ।भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने सम्बन्धमा यो आदेश र प्रचलित अन्य कानुनको अधीनमा रही आवश्यक निर्णय गर्ने ।कार्यक्षेत्रसँग सम्बन्धित विषयमा जुनसुकै निकायसँग कागजात माग गर्न, व्यक्तिलाई झिकाई बुझ्न , कागज गराउन, स्थलगत सर्जमिन गर्न वा गराउन सक्ने ।हदबन्दी भन्दा बढी भई रोक्का रहेका जग्गा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई उपलब्ध गराउने जस्ता कार्यहरू छन ।

बारा,९ कात्तिक, २०८०

बाराको निजगढ नगरपालिकाका किसानले असारमा रोपेको धान अहिलेसम्म पसाएको छैन । बाला लाग्ने समयमा धानको बोट फस्टाएको छ तर पसाउने सुरसार छैन । धान खेतमा पटकपटक गोडमेल गरे पनि धान घाँसजस्तै देखिएको छ ।

उक्त क्षेत्रमा किसानले रोपेको धानको नाम हो, ‘डेल्टा रानी’ । निजगढ नगरपालिका–९ का किसान मानबहादुर श्रेष्ठले ८ कट्ठा खेतमा ‘डेल्टा रानी’ जातको धान रोपेका थिए । श्रेष्ठले निजगढकै एउटा एग्रोभेटबाट ‘डेल्टा रानी’ जातको नयाँ बिउ ल्याएर रोपेका हुन् । धान फल्ला र वर्षभरि खाउँला भन्ने आशामा रोपेको धानमा बाला नलागेपछि यतिबेला उनी निराश छन् ।

राम्रो धान हो, फल राम्रो लाग्छ, चाँडो पनि पाक्छ भन्ने वितरकको कुरा सुन्दा अहिले आफू समस्यामा परेको उनी बताउँछन् । श्रेष्ठ मात्र होइन, निजगढका धेरै किसानको व्यथा उस्तै छ । उक्त नगरपालिकाको २, ३, ७, ८ र ९ नम्बर वडाका किसानले लगायको ‘डेल्टा रानी’ जातमा समस्या देखापरेको निजगढ नगरपालिका कृषि शाखाका कृषि प्रसार अधिकृत रिनीचा भण्डारीले बताइन् ।

उनका अनुसार कति किसानकोमा समस्या देखिएको छ भनेर यकिन भने भइसकेको छैन । ‘धानमा बाला नलाग्ने समस्याले धेरै किसान पीडित छन्,’ भण्डारीले भनिन्, ‘कति किसानले उक्त जातको धान लगाएका थिए भन्ने यकिन तथ्याङ्क संकलन भइसकेको छैन । केही किसानको धान बालीमा म आफै गएर पनि हेरेको थिए । ‘डेल्टा रानी’ जातको धान रोपेका कुनै पनि खेतमा बाला लागेको छैन ।’

डेल्टा रानी धान लगाउने निजगढका किसानले यसपालि चामल किनेर खाने अवस्था आएको उनको भनाइ छ । पसाउन नसकेको सबै धान ‘डेल्टा रानी’ जातको धान हो । अरू जातको धान सबै ठाउँमा पहेँलपुर भइसक्यो भने कतै धान भित्र्याएर किसानले तोरी छरिसकेका छन् ।

पाक्ने समयसम्म पनि बाला नलागेर किसान पीडित भएको यो पहिलोपटक भने होइन । हरेक वर्ष विभिन्न जिल्लाका किसानले यस्तो समस्या झेल्दै आएका छन् । विगत वर्षमा चाइनिज धान डीवाई २८ हाइव्रिड, ‘युएस ३१२’ हाइब्रिड, सावा मन्सुली, गरिमा वर्णशङ्कर (हाइब्रिड) लगायत धेरै जातको बिउमा धान नलाग्ने समस्या देखिएको थियो । विभिन्न क्षेत्रका किसानले बर्सेनि यस्ता समस्या झेल्दै आए पनि सरकारले भने बेवास्ता गर्दै आएको छ ।

सूचीकृत जातको बिउले पनि किन दिन्छ धोका ? 

‘डेल्टा रानी’ जातको बिउ नेपाल सरकारबाट २०७२ सालमा सूचीकृत जात हो । यो निजगढ जस्तै तराई र भित्री मधेशका लागि सिफारिस गरिएको छ । तर, सिफारिस जातमा पनि बाला नलागेपछि कसरी यस्तो भयो भन्ने धेरैको मनमा प्रश्न उब्जिएको छ ।

हुन त निजगढ नगरपालिकाको केशमा ‘डेल्टा रानी’ जात धानमा नै बाला नलागेको हो, होइन भन्ने पुष्टि भइसकेको छैन । तर, किसानले बाहिर प्याकेटमा लेखिएको नामअनुसार ‘डेल्टा रानी’ जातकै धान हो । यो विषयमा सम्बन्धित निकाय भने बेखबर छ ।

बिउ बिजन गुणस्तर केन्द्रका सूचना अधिकारी डा. प्रकाश आचार्यले यो विषयमा कार्यालयलाई आधिकारिकरूपमा कुनै जानकारी नभएको बताउँछन् । ‘धानमा बाला नलागेको भन्ने खबर हामीलाई थाहा छैन,’ उनी भन्छन्, ‘यो खबर यहाँसम्म नआएको हुनाले अहिले नै किन यस्तो भयो भनेर भन्न सकिँदैन । ‘डेल्टा रानी जात नै हो, होइन त्यो पहिला पहिचान गरेपछि मात्रै समस्याको पहिचान हुन्छ ।’

यद्यपि कहिलेकाही सिफारिस जातमै पनि यस्तो समस्या आउने कृषि अनुसन्धान परिषद् राष्ट्रिय प्रजनन बाली तथा अनुवाशिंक अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत डा. उज्ज्वलकुमार सिंह कुशवाहा बताउँछन् । उनका अनुसार बिउ पुरानो हुँदै गए उत्पादकत्व घट्दै जान्छ । एउटा हाइब्रिड जातको बिउको आयु बढीमा १० वर्षको हुन्छ । तर, नेपालमा एउटा हाइब्रिड जातको बिउ सिफारिस भयो भने अनिश्चित कालसम्म प्रयोग गरिन्छ ।

‘एकपटक सिफारिस भएको जात पुरानो हुँदै जाँदा समयअनुसार त्यसको गुण परिवर्तन हुन सक्छ र वातावरणीय प्रभाव पर्न सक्छ,’ कुशवाहा स्पष्ट पार्छन्, ‘डेल्टा रानी जातमा पनि त्यही भएको हुन सक्छ । यो जात पुरानो भइसक्यो । अहिले ८ वर्ष पुगिसक्यो । दुई वर्ष ट्रायल समय हुन्छ । यो हिसाबले १० वर्ष पुगिसक्यो ।’

सिफारिस गरिएको समयमा उक्त जात राम्रो हुन सक्छ । तर , ८/१० वर्ष पछि जुनसुकै बेला त्यो भेराइटी फेल हुन सक्ने उनी बताउँछन् । त्यसको लागि सरकारले नीति नियम नै बनाउनु पर्ने उनको सुझाव छ । ‘बाला नलाग्ने समस्या सल्ट्याउँन सरकारले नियम कानुन नै बनाउनुपर्छ,’ उनी भन्छन्, ‘१०/१२ वर्ष पछि कि सरकारले फेरि एक पटक भेराइटी टेस्ट गरेर मात्र किसानलाई खेती गर्न दिनुपर्‍यो, कि त्यो भेराइटी नै उक्त समयपश्चात स्वतः विस्थापित गर्ने नियम ल्याउनुपर्छ । नभए भोलिका दिनमा स्थिती अझै भयावह हुनसक्छ ।’

कुशवाहाका अनुसार नेपाल सरकारले एउटा जातको सिफारिस गरेपछि त्यो अनिश्चितकालसम्म सिफारिस नै रहन्छ । दोस्रोपटक बिउको परीक्षणसमेत हुँदैन । त्यसकारण विदेशी हाइब्रिड १०/१२ वर्षमा स्वतः अस्वीकृत हुने नीति नियम बनाउनुपर्ने सरकारलाई उनको सुझाव छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार हाइब्रिड बिउको १०/१२ वर्ष मात्रै आयु हुन्छ । विदेशमा उक्त समयपश्चात स्वतः बिउ बिक्री/वितरण बन्द हुन्छ । तर, नेपालमा अनिश्तिकालसम्म प्रयोग भइरहने उनको भनाइ छ । ‘केही वर्षअघि गरिमा धानको बिउमा पनि यस्तै समस्या देखिएको थियो । तर, अहिले पनि त्यो बिउ किसानले लगाउन छोडेको छैन । यदि त्यही केश विदेशमा हुन्थ्यो भने स्वतः रोकिन्थ्यो,’ प्राविधिक अधिकृत कुशवाहा उदाहरण दिँदै भन्छन्, ‘नेपालमा नीति नियम नभएका कारण यस्तो समस्या पटक–पटक आइरहन्छ । सरकारले यस्ता नीति नियम बनाउने हो भने यस्ता समस्या स्वतः घट्न थाल्छ ।’

धानको हाइब्रिड बिउ एकदमै संवेदनशील हुन्छ । ‘मकै गहुँलगायत अरू बालीको बिउभन्दा धानको बिउ एकदमै संवेदनशील हुन्छ,’ कुशवाहा भन्छन्, ‘अलिकति तापक्रम घटीबढी भयो भने दाना नै लाग्दैन । निजगढको केशमा पनि तापक्रम नमिलेको हुन सक्छ ।’

 

प्रत्येक वर्ष श्रेष्ठले ‘शंखर युएस–३१२’ जातको धान रोप्दै आएका थिए । यो वर्ष पनि उनी त्यही जातको धान रोप्ने तरखरमा थिए । तर, उक्त बिउ पाइएन । बिउ वितरकले पनि अन्य जातभन्दा बढी उत्पादन दिन्छ भनेपछि आफूले पनि ‘डेल्टा रानी’ जातको बिउ लगाएको उनको भनाइ छ ।  श्रेष्ठले प्रतिकेजी २/३ सय तिरेर चार किलो बिउ किनेका थिए ।

साथै हाइब्रिड बिउ पुरानो हुँदै जाँदा उक्त जातबाट आउने प्रतिफल घट्दै जाने, अर्कोतर्फ मलजल र विषादीको लागत बढ्ने भएकाले धेरै पुरानो बिउ बढी प्रयोग गर्न नहुने प्राविधिक अधिकृत डा. कुशवाहा बताउँछन् । ‘नेपालमा निर्वाहमुखी खेती गरिने भएकाले पुरानो जात बढी प्रयोग भइरहेको छ । बजारमा सहजै बिउ पाइने वातावरण निर्माण, मूल्य श्रृङ्खलामा हस्तक्षेप गर्न सक्यो भने नयाँ जातको प्रयोग बढ्ने हो भने धान उत्पादन पनि बढ्ने थियो,’ उनले भने ।

नयाँ जातको बिउ बदलिँदो वातावरणसँगै हुर्कन सक्ने भएकाले उत्पादकत्व बढाउन पुराना बिउ प्रतिस्थापन गर्नु पर्ने डा. कुशवाहाकोे भनाइ छ ।

के भन्छ सरकार ? 

कुनै हाइब्रिड बिउमा समस्या देखा परे नेपालमा पनि सूचीकृत जातबाट हटाउन सकिने प्रावधान रहेको बिउविजन गुणस्तर केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा. आचार्यले कुनै जातमा समस्या देखियो भने अनि मात्र सूचीबाट हटाउन सकिने बताए  ।

‘विदेशमा जस्तै नेपालमा पनि धानको बिउलाई सूचीकृत जातबाट हटाउन सकिने प्रावधान छ,’ उनी स्पष्ट पार्छन्, ‘तर, जब जब त्यो जातले जेनेटिक प्युरिटि मेन्टेन गर्न सकिएन, रोग कीराको एकदमै समस्या पर्‍यो भने हामीले पनि सूचीबाट हटाउँछौँ । तर, यति वर्षमा नै हटाउनु पर्छ भन्ने प्रावधान छैन ।’

यस्तै, कुनै जातमा समस्या देखा परे पनि त्यसको सुधार गरेर फेरि प्रयोग पनि गर्न सकिन्छ । कृषि अनुसन्धान परिषद् (नार्क) ले बिउको जातीय सुधार अन्तर्गत प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तथा मेन्टेन गर्ने काम गर्छ । जसले गर्दा ४०/५० वर्ष अघिका धानका जात अहिले पनि किसानहरूले प्रयोग गर्दै आएको उनको भनाइ छ ।

‘हुन त नयाँ–नयाँ जातको खोज अनुसन्धान गरेर पत्ता लगाउनु पर्ने आवश्यकता त छ,’ केन्द्रका सूचना अधिकारी डा. आचार्य भन्छन्, ‘तर, १०/१२ वर्ष भन्दा धेरै वर्ष पुराना जातहरू अहिले पनि नेपालमा प्रयोग भइरहेका छन् । नार्कले बिउको मेन्टेन गरेर उत्पादन पनि राम्रो दिइरहेको छ । यति वर्ष पछि हटाउनै पर्छ भन्ने हुँदैन ।’

सूचीकृत जात भए पनि हाइब्रिड बिउमा जुनसुकै देशमा समस्या देखिने उनी बताउँछन् । हाइब्रिड बिउ एकदमै संवेदनशील हुन्छ । थोरै हावापानी, तापक्रममा तलमाथि हुनेबित्तिकै समस्या देखा पर्ने आचार्यको भनाइ छ । नेपालमा अधिकांश विदेशी हाइब्रिड धानको बिउ किसानको रोजाइमा पर्ने गरेको छ । नेपालमा हालसम्म दुई वटा हाइब्रिड धानको बिउ विकास भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले हर्दिनाथ हाइब्रिड–१ र हर्दिनाथ हाइब्रिड–३ गरी दुई जात मात्र विकास गरेको छ । उक्त हाइब्रिड बिउ धेरैजसो तराई क्षेत्रमा लगाइन्छ । पछिल्लो समय किसानमा हाइब्रिड जातको बिउ प्रति आकर्षित हुँदा बिउमा परनिर्भरता बढेको छ । जसले गर्दा प्रत्येक वर्ष किसान ठगिने गरेका छन् ।

पछिल्लो समय सरकारले नै सूचीकृत गरेको हाइब्रिड धानको बिउबाट बाला नै नलागे समस्या देखा परिरहेको छ । मुख्य अन्न बाली नै सप्रिन नसकेपछि बर्सेनि धानको उत्पादकत्व घट्दै गएको छ ।  फरकधार

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।