मंसिर ६,काठमाडौं :
जनता समाजवादी पार्टी नेपालबाट सन्जिला कुमारी यादवले सपथ लिएकी छन्। मधेश प्रदेश सभा सदस्य बिन्दुकुमारी यादवको देहावसानपश्चात् उनको स्थानमा सन्जिलाकुमारी यादवले सपथ लिएकी हुन्।
क्यान्सर रोगबाट पीडित विन्दुको निधन भएपश्चात गत कार्तिक १९ गतेको सिफारिसमा निर्वाचन आयोगले सिफारिस गरेपछि सपथ ग्रहण भएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराए।
सभामुख रामचन्द्र मण्डलले जनता समाजावादीकी नेतृलाई सपथ ग्रहण गराएका हुन्। सन्जिला यादवले मैथिली भाषामा सपथ लिएकी हुन्।
नागेन्द्रकुमार कर्ण,महोत्तरी, मङ्सिर ६ गते ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको दुर्गा मन्दिरबाट चोरी भएको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले गौशाला बजारमा रहेको दुर्गा मन्दिरबाट छठको पारायणको दिन चोरी भएको सुनको नथिया र टीकासहित एक जना नाबालकलाई पक्राउ गरिएको जानकारी दिनुहुँदै अनुसन्धान भइरहेकोले नाम सार्वजनिक गर्न नसकिने बताउनुभयो ।
उहाँले मन्दिरबाट चोरी भएकोे १४ आना बराबरको सुनको नथिया र टीकासमेत सो बालकबाट बरामद भइसकेको जानकारी दिनुहुँदै थप अनुसन्धान जारी रहेकोले विस्तृत रुपमा पछि मात्रै भन्न सकिने जानकारी दिनुभयो ।
गौशाला बजारको बीचमा रहेको सो मन्दिर कात्तिकमा दुर्गापूजाको अवसरमा धुमधामका साथ पूजाआजा गरी सञ्चालनमा ल्याइएको मन्दिरका पुजारी काशिकान्त झाले बताउनुभयो । उहाँले माता दुर्गाका आभूषणको लागि भारतबाट करिब १० लाखमा गरगहना खरिद गरिएको बताउनुहुँदै सोमबार मूर्तिबाट गरगहना चोरी भएको देखेपछि प्रहरीमा खबर गरिएको जानकारी दिनुभयो ।
प्रहरीले मन्दिरमा चोरी भएको घटनाको अनुसन्धान गर्दै जाँदा ती नाबालकलाई पक्राउ गरेको हो ।
महोत्तरी, ६ मङ्सिर :
अब प्रहरी अनुसन्धानका क्रममा हिरासतमा रहेकाहरूले हिरासतकक्षमै अध्ययनको अवसर पाउने भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतकक्षमा पुस्तकालय सञ्चालनमा आएसँगै उनीहरुले सो अवसर पाउने भएका हुन् । हिरासतकक्षमा स्थापित पुस्तकालयको मङ्गलबार नै नेपाल प्रहरीका मधेस प्रदेश कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले उद्घाटन गर्नुभयो । स्थापित पुस्तकालयमा नेपाली साहित्यका विभिन्न विधाका गरी तीन सय ९७ पुस्तक राखिएका छन् । हिरासतमा रहेकाले स्वेच्छिक चासोअनुसार पुस्तक अध्ययनको अवसर पाउने व्यवस्था गरिएको प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा अहिले विभिन्न अपराधको अनुसन्धानका क्रममा ५० थुनुवा छन् । पुुस्तकालय स्थापना र यसको सञ्चालनले थुनुवामा अध्ययन अभिरुचि जगाउन, अध्ययनप्रति लगाव बढाउन, अध्ययनबाट आफ्नो आचरण, व्यवहार र सोचमा सकारात्मक धारणा बनाउन सहयोग पुग्ने प्रहरी नायब महानिरीक्षक भट्टराईको विश्वास छ । पुस्तकालय सञ्चालनले थुनुवाको आनीबानी सुधारमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । पुस्तकालय सञ्चालनमा आएसँगै यसको सञ्चालनका प्रहरी जनशक्ति व्यवस्थापन गरी अध्ययनकक्षको चाँजो मिलाइएको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो । नेपाल प्रहरीको मधेस प्रदेश कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच यसअघि नै सम्पन्न कार्यसम्पादन सम्झौतानुसार ‘हिरासतमा पुस्तकालय’ सञ्चालनमा ल्याइएको मल्लको भनाइ छ । अहिले नवस्थापित ‘हिरासतमा पुस्तकालय’ लाई आन्तरिक कार्यविधि बनाएर थुनुवालाई निश्चित समय र पढ्ने खुला वातावरण मिलाइएको प्रहरीले जनाएको छ । रासस
बिशाल बस्नेत,महाेत्तरी, ३० कात्तिक ।
पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम बिनय भण्डारीले यसपालीको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् ।
भारतवाट आयात भएका फूल कै कारण मुल्यमा आकास पताल फरक पर्ने हुदाँ बेच्न नसक्ने एउटा कारण रहयो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ ।
उन्लाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धरासयी बन्दै गएको प्रती निक्कै चिन्ता बढाएको छ । `पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदायबाहेक अन्य समुदायहरुले पनि ब्यावसायिक खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ,´ भण्डारीले भने, `अब त पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था देखा परेकाे छ ।´

उनले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उनकाे गुनासो छ । भारतीय फूल सिमा, नाकावाट नभित्र्याउने सरकारले निर्णय गरे तापनी अबैधानिक बाटोवाट भित्रिदा मधेशमा माली लगायत किसानहरुलाई ब्यापारमा समस्या भएको भण्डारीको बुझाई छ ।
भण्डारी जस्तै जनकपुर -६ का जितेन्द्र भण्डारीको पनि उहीँ चिन्ता छ । व्यवसायिक रुपमा ६ महिना अगाडी चिस्यानमा स्टोर गर्ने र निक्कै कम मुल्यमा बेच्नेहरुको कारण आफुहरु संकटमा परेको उनले बताए ।
पुर्ख्यौली पेशाको रुपमा अवलम्बन गरिएको कयौ माली समुदाय यो पेशावाट बिस्थापन भएको र पहिचानको लागि भएपनी कमले मात्र फूल खेती गरिरहेको भण्डारीले बताए । नजिकै जानकी मन्दिर भए तापनी पहिलेजस्तो नभएको उनले जनाए ।
पुजा कर्मका लागी दैनिक हजारौ मालाहरु बेच्ने गरेको अनुभव सुनाउदै भण्डारीले फूलको रेटमा मनलाग्दी गरिन थालिएकाे उनकाे भनाइ छ । `सरकारले तरकारीमा जस्तै फूलमा पनि मूल्य निर्धारण गरिदिनु पर्छ,´ भण्डारीले भने, `अनि मात्र हामी जस्तो फूल व्यावसायीहरु मारमा पर्दैनौ ।´
तर फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिदा यसलाइ उल्लेख गरिएकाे थियाे ।
पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ । पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन, फूल खेतीको अधिक सम्भावनालाई सरकारले वेवास्ता गर्दा भारतिय पुष्प व्यवसायीहरुका लागी नेपाल आकर्षक बजार बनेको छ ।
भारतवाट आयात भएका फूल कै कारण बर्दिवासमा आएर फूल वेच्ने कयौ ब्यापारीले बिक्री नभएपछि हजारौ मालाहरु डस्टविनमा फ्याकेका थिए । तर, बजार आंकलन गरेर फूल वेच्न ल्याउनु पर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नु परेको कतिपयको भनाई छ । न्युज कारखाना
महोत्तरी, ३० कात्तिक :
सूर्य उपासनाको महापर्व छठ व्रतको तयारी थालिएको छ । मधेशको प्राचीन मिथिला क्षेत्रको लोकपर्व मानिने छठका लागि वर्तालुले आज कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका हुन् । सामान्यतया कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर वर्तालुले छठको तयारी गर्ने चलन छ । मिथिलामा व्रतका लागि उसिनिएको धानको चामल र व्रत अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्य वस्तु खान छाडेर सात्विक भोजन गरिने यो विधिलाई ‘अरबा–अर्बाइन’ भनिन्छ । यो व्रतका लागि पूर्वसङ्कल्प जस्तै विधि रहेको मानिन्छ । यो विधि कतिपयले चौथिकै दिन ‘नहाय–खाय’ विधिसँगै जोडेर गर्नेगरेका पनि पाइन्छ । यद्यपि व्रत विधानले कात्तिक शुक्ल तितृीयाकै दिन ‘अरबा–अर्बाइन’ गरिनु शास्त्रसम्मत रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ । आजदेखि ‘अरबा–अर्बाइन’ गरेका वर्तालुले भोलि शुक्रबार अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर ‘खरना’ विधि सम्पन्न गर्छन् । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदा सूर्यलाई अघ्र्य दिइन्छ । यो अघ्र्यलाई मैथिल परम्पराको बोलीचालीमा ‘सझुका अरख’ र ‘सझिँया–घाट’ पनि भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा छ । बिहानको यो अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ । यसरी यसपालिको छठ आउने सोमबार बिहान सम्पन्न गरिने छ । सामान्यतया हिन्दू परम्परामा पाञ्चायन (पञ्च देवता गणेश, विष्णु शिव, सूर्य र काली) पुज्दा उदाउँदा सूर्यको सम्झना गरेर उपासना गरिने परम्परा भए पनि छठमा भने अस्ताउँदा सूर्यलाई अग्र (पहिलो) अघ्र्य दिइन्छ । षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’ दिएसँगै सप्तमीका दिन बिहान ‘भोरका अरख’ दिउञ्जेल वर्तालुले सूर्यको महत्ता र ‘छठी माई’को पुकारा गर्दै गीत गाएर यो पर्व मनाउने गरेका छन् । उपासकको इच्छित मागपूर्ति गर्ने भगवान् सूर्यको उपासनाले सन्तान सुुुख र रोगव्याधि नलाग्ने हिन्दू मैथिल जनविश्वास छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्ता गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ । षष्ठी देवी भगवान सूर्यकी पत्नी मानिएकी हुँदा यो पर्वमा सूर्यसँगै षष्ठीको आराधना गरिएको मुक्तिको भनाइ छ । खासमा ‘षष्ठी’ तिथिकै स्मरण मैथिल जनजिब्रोले ‘छठी’ गर्न थालेकाले सूर्यकी पत्नी मानिने षष्ठीको आराधना सूर्यसँगै गरिएको मैथिल विद्वान बताउँछन् । मुख्यत सूर्यकै उपासना व्रतको अभिष्ठ भए पनि ‘षष्ठी’ (छठी) को पुकारा गर्दा सूर्य चाँडै प्रसन्न हुने विश्वासले पर्वमा गाइने गीतमा छठी माईको प्रसङ्ग गाभिएको उपप्राध्यापक मुक्ति बताउनुहुन्छ । एक फरक प्रसङ्गमा दैत्यराज त्रिपुरासरले दुःख दिएर आहत् भएका देवताले शिव–पार्वतीसँग उसलाई मार्नसक्ने छोरा दिन प्रार्थना गरेपछि भगवान शिवको विर्यपात भएको र सो विर्य समुद्रमा परेर पानीमै विकास भएको शिशुलाई षष्ठी देवीले कात्तिक शुक्ल षष्ठी तिथिकै दिन स्याहार सम्भार गरेर शिव–पार्वतीलाई जिम्मा लगाएकी जनश्रुतिले सन्तानको कल्याण गर्ने देवीका रुपमासमेत यस पर्वमा छठी माईको महत्व गाइने गरिएको छ । पछि यिनै बालक स्वामी कार्तिकेयका नामले चिनिएका र उनैले त्रिपुरासुरको बध गरेका मार्कण्डेय पुराणमा उल्लेख रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता पूर्वप्रशासक जलेश्वर–४ का बासिन्दा कृष्णचन्द्र झा बताउनुहुन्छ । यसैगरी पर्वबारे द्वापरकालीन जनश्रुति पनि चर्चामा रहने गरेको छ । अघि द्वापरयुगमा भगवान श्रीकृष्णका छोरा साम्बलाई कुष्ठरोग हुँदा पिता श्रीकृष्णको प्रेरणाले सूर्यको उपासनाबाट रोग निको भएपछि यो व्रतको परम्परा सुुरु भएको विश्वास गरिँदै आइएको महोत्तरीकै बर्दिबास–२ का बासिन्दा कर्मकाण्ड र मैथिल परम्पराका ज्ञाता पण्डित महेशकुमार झा बताउनुहुन्छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिँकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षकघाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ । केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र भाकलका रुपमा अघ्र्य दिन हिन्दूलाई लगाएर इस्लाम धर्मावलम्बीहरुलेसमेत मनाउन थालेपछि छठ पर्व मिथिलाको साझा पर्व बनेको छ । अब मुलुकको राजधानीसहित धेरैजसो ठाउँमा मनाइने यो पर्व अब राष्ट्रिय पर्व बनेको मैथिल गर्वसाथ बताउँछन् । रासस
राैतहट,कार्तिक २९ गते ।
रौतहटको मौलापुर नगरपालिका वाड नं. १ मर्यादपुरमा अवस्थित श्री माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई विद्यालय पोशाक बितरण गरिएको छ । मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह उपमेयर नागेन्द्र प्रसाद यादव प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह तथा वडा अध्यक्ष जयनाथ कुशवाहाको उपस्थितीमा विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

श्री माध्यमिक बिद्यालयका १ सय जना बिद्यार्थीहरुलाइ स्कुल ड्रेस हस्तान्तरण गरेको सोही बिद्यालयका प्रधानाध्यापक दिनदयाल साहले जानकारी दिनुभयो । यस बिद्यालयमा प्राय दलित,बिपन्न तथा गरिब बिद्यार्थी अध्ययन गदै आएको उहाँले बताउनुभयो । विद्यालय पोशाक पाएपछि विद्यार्थीहरु भने हर्षित भएका थिए । कार्यक्रममा मौलापुर नगरपालिका वडा न.१ का वडा सदस्य नवलकिशोर प्रसाद यादव ,राजेन्द्र मुखिया कार्यपालिका सदस्य बैधनाथ प्रसाद जैसवाल समाजसेवी बुद्धिजीवी भोला पाण्डेय ,उपेन्द्र मुखिया , शम्भु यादव , सुरेन्द्र यादव ,ब्रजमोहनलाल कर्ण,ओमनारायण महतो,अवधलाल यादव , बिधानन्द यादव ,बालाशंकर कुशवाहा ,अरबिन्द यादव , बिजय यादव ,विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियोे ।
कार्तिक २९ गते, रौतहट ।
रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले छठ पर्वको उपलक्ष्यमा गरुडा नगरपालिका-२ मा छठ ब्रतालुहरुलाई साडी एवं पुजाका लागि आवश्यक पर्ने सामाग्री वितरण गरेका छन् ।
सहयोगी मनका धनी, सधै गरिव असहायलाई सहयोग गरिरहने तथा समाजसेवा गर्नेमा विशाल हृदय भएका मेयर जयसवालले पालिकाका अति गरिव एवं विपन्न समुदायका छठ ब्रत गर्ने महिलाहरुलाई केही दिन देखि खोजी खोजी दउरा, सुपली र साडी सेट बितरण गरिरहेका छन् ।
तेस्रो दिन आज नगर प्रमुख जय स्वालले गेडहिगुठिका अति गरिब तथ बिपन्न १५१ जना छठ ब्रतालु महिलालाइ प्रती महिला एक एक सेट दउरा, सुपली र साडी सेट बितरण गरेका हुन ।
एस अघि उनले पोठियाही र जिङगडियामा गरि कुल ३ सय २ जना परिवारलाई छठ पुजा सामाग्री बितरण गरिसकेका छन ।

नगर प्रमुख जयसवालले नगरपालिकाका प्रत्येक वडाका गरिव, असहाय एवं अति विपन्न परिवारका छठ पर्व गर्ने ब्रतालु महिलाहरुलाई दउरा, सुपली र साडी सेट वितरण गर्ने उदेश्यले छठ सामाग्री बितरण गर्न थालेको बताएका छन ।
छठको ब्रत गर्ने आर्थिक रुपले पछाडि परेका अति गरिव, विपन्न, असहाय एवं दलित महिलाहरुलाई केही सहयोग हुने उद्देश्यले पालिकाको तर्फबाट प्रति महिला एक,एक थान दउरा, सुपली र साडी सेट वितरण गरेका छन् ।
आर्थिक रुपमा कमजोर भएका महिलाहरुले छठ पर्वको सामाग्री किन्न नसक्ने भएको हुँदा पर्वमा पैसाको अभावमा छठको सामाग्री जोहो गर्नबाट कसैले बञ्चित नहोस र आफुले पर्वमा केही न केही सहयोग गर्ने उद्देश्यले उक्त सामाग्रीहरु वितरण शुरु गरेको उनले बताए ।
हरेक वर्ष झै यस वर्ष पनि गरिब असहाय छठ व्रतालुहरुलाई साड़ी र दउरा सुपली वितरण गरिएको मेयर जयसवालले बताए ।
हिन्दु धर्म संस्कृतिमा छठपर्वका बेला ब्रतालुले सम्भव भए नयाँ चोखो पहिरण लगाएर ब्रत गर्नुपर्ने हो । सोही अभिलाशालाई पुर्ण गर्न हरेक वर्ष झै यसवर्षपनि आवश्यक्ता हेरेर दिन दुःखीलाई छठपुजाका लागी साडी सेट तथा दउरा, सुपली वितरण गरेको उनले बताए ।
सो क्रममा छठपर्वको शुभकामना दिदै उनले आफ्नो पालिकाको प्रत्येक जनताको सुख दुःखमा आफु सरिक हुन पाउँदा आफुलाई निकै गर्ववान्वित महशुस हुने गरेको बताए ।
निकै सुद्ध र आस्थाका साथ मनाईने यस पर्वको विशेष महत्व रहेकोले आफुले गरेको सहयोगबाट विपन्न र असहाय व्रतालुहरुलाई ठुलो राहत हुने र उनिहरु खÞुशीका साथ पर्व मनाउन सक्ने उनले विश्वास व्यक्त गरे ।
मेयर जयसवालले यस अघि पनि प्रत्येक वर्ष छठ पर्व गर्ने हजारौ ब्रतालुहरुलाई छठ पुजाका लागि आवश्यक पर्ने सामाग्री र साडी सेट एक अभियान नै सञ्चालन गरी वितरण गर्दै आएका छन् ।
मेयर जयसवाल मेयरमा निर्वाचित हुनुभन्दा अघि पनि आफनै व्यक्तिगत लगानीमा प्रत्येक वर्ष दिन दुखी गरिव ब्रतालुहरुलाई लाखौंको छठ पुजा सामाग्री वितरण गर्ने गरेका थिए ।
आरके श्रीवास्तव,रौतहट, कार्तिक २९ गते ।
राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ६ अमरपट्टीका आगलागी पिडितलाई आम जनता पार्टी निकट आईटी आर्मी राैतहटका बरिस्ठ जिल्ला उपाध्यक्ष एवम् यूवा नेता रविन्द्र यादवले आवश्यक सामाग्री सहयोग गर्नु भएको छ ।
स्थानीय राजकुमारी देवीकाे घरमा गत कार्तिक २७ गते साेमबार आगलागी भएको थियो । साे आगलागीबाट छठ पर्व गर्नका लागि खरिद गरि राखिएको लत्ताकपडा,अन्नपात जलेर नष्ट भएको थियाे । आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि साे परिवारलाई छठ पर्व गर्नका लागि आफत परेको छ ।

स्थानीय सरकार बाट सहयोग नभएपछि आफनाे व्यक्तिगत लगानीबाट भएपनि वहाँले सहयोग गर्नु भएको छ । आगलगी पिडित परिवारलाई यूवा नेता यादवले एक बाेरा चामल र महिलालाई साडीकाे साथै सानाे सानाे बच्चाहरुका लागि कपडा सहयोग गरि पिडितकाे सहारा बनेकाे स्थानीयहरूले प्रतिक्रिया दिएका छन् ।
सामाग्री हस्तान्तरण पछि प्रतिक्रिया दिदै यूवा नेता यादवले आफू कमाउने रकम बाट थाेरै भएपनि आगलागी पिडितलाई सहयोग गरेको बताए । यस अघिपनि यस्तै किसिमका पिडित परिवारलाई सहयोग गर्दै आएको सुनाए । पिडित परिवारले आफूलाई आफनाे पीडा सुनाए पछि सम्बन्धित ठाउँमा भन्दा पनि सुनवाइ नगरेपछि आफू अग्रसर भई उक्त सामानहरू व्यक्तिगत रूपमा खरिद गरि पिडित परिवारकाे घरमा पुगि सहयोग गरेकाे बताए ।
पिडित परिवारले यूवा नेता यादवलाई धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकार र सरोकारवालाहरू लाई सहयोग गर्न विनम्र अनुरोध गरेकाे हाे ।
बर्दिवास, ३० कार्तिक ।
नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् ।
महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एस परित्याग गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।
बिशाल बस्नेत ,महोत्तरी, ३० कार्तिक
एक बर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको वगरमा कासघारी र बालुवा मात्र मात्र थियो ।
बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न डराउथे ।
तर बर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिव र भुमिहिनको लागी सबथोक बनेको छ ।
लटरम्म फलेको खुर्सानी देखाउदै स्थानिय रामेस्वर सिंहले भने-` यदि यो बगर नगरले गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।´
`पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ´ एक बर्ष अगाडीको स्मरण गर्दै सिंहले भने, `अर्काको ज्यालादारी गरेर आएको पैसाले जिविकोपार्जन गर्थ्यौ अहिले त यही बगरवाट त्यस्को दोब्बर आम्दानी हुन्छ ।´
सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन । `माटो नभएको, वालुवा नै वालुवा भएको उक्त ठाउँमा नगर र गैरसरकारी संस्थाहरुले अन्यत्र ठाउँवाट माटो मात्र ल्याएनन, प्राङगारिक मल समेत ल्याएर बगरलाई उर्वरायुक्त बनाए,´ सिंहले भने, `अनी हामीलाई सु:खका दिन आए जस्तो लाग्यो ।´
रामेस्वर सिंह जस्तै अहिले २४३ भुमिहिन, गरिब र विपन्न समुदायका परिवार आजकाल यही बगरमा आश्रीत बनेका छ्न ।

नगरपालिका र युएनडिपीको आर्थिक सहयोग अनि सामुदायिक विकास तथा पैरवी मंचको प्रावधिक सहयोगमा झण्डै ११६ बिगाह जमिनमा पुर्ण भुमिहिन, गरिव तथा विपन्नहरुका लागी जिविकोपार्जनको माध्यम मात्र बनेको छैन, नगरको नै समृद्धिको आधार समेत तयार भएको छ ।
नदी उकास बगरहरु मधेशमा क्रसर माफिया र भु-माफियाहरुको निसाना बनिरहेको बेला नगर तथा गैरसरकारी संस्थाहरुले गरिबी उन्मुलनका लागि गरेको प्रयास उदाहरणिय बनेको भन्दै युएनडिपि मधेश प्रदेश प्रमुख धनबहादुर चनले यो नेपालको नौलो कृषि क्रान्ती भएको बताए ।

नगरको अधिनमा रहेको क्षतिग्रस्त भु: भागमा सामुहिक खेती गर्नु समाजवादको अभ्यास समेत भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवको बुझाई छ ।
अहिले यहाँ ११ हजार भन्दा बढी फलफूलका बिरुवा हुर्कदै छन भने ७० बिगा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सिंचाइका लागी भुमिगत पानीलाई उत्खनन् गरेर ४ वटा इनार वनाईएको छ ।
उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्याउन यो ११६ विगा जग्गालाई दुई भागमा बिभाजन गरेर कृषी सडक बिस्तार गरिएको छ । आफ्नो कार्यकालभरी नै गरिबहरुका लागी यो काम महत्वपूर्ण हुने बताउदै जनप्रतिनिधिहरुले समेत यही बगरलाई जस लिने ठुलो माध्यम बनाएका छन ।
वडा अध्यक्ष प्रकाश श्रेष्ठ भन्छन, `हामी यो कार्याकालको महत्त्वपूर्ण काम भएको अनुभूति गरेका छौ । गरिबहरुमा देखिएको खुसीले नै यो हाम्रो सफलता हो भन्ने ठानेका छौ ।´

स्थायी तटबन्धनको अभावमा नदिले कटान गरेर बगर बनाएका हजारौ हेक्टर जमिन अहिले पनि मधेशमा क्रसर माफियाहरुको वालुवा उत्तखनन गर्ने अखडा बनेको छ भने भु-माफियाहरुले अतिक्रमण गरेर रातारात आफ्नै अधिनमा बनाएका धेरै दृष्टान्तहरु छन ।
तर, यस्ता जग्गाहरुलाई पहिचान गरि कर्जन्हाको जस्तै पुर्ण भुमिहिन, गरिव र विपन्नका लागी उपभोग गर्ने हो भने गरिबी उन्मुलनको माध्यम मात्र हैन समृद्धिको आधार समेत तयार गर्न सकिने यो बगरले सन्देश समेत दिएको छ ।
हुर्कदै गरेका सयौ जातका आपका बिरुवाहरु, प्रवल, खुर्सानी, भ्याण्टा, कुर्ती आदीले हराभरा बनाएको बालुवाघारीलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने कर्जन्हा गतिलो उदाहरण बनेको अनुगमनको क्रममा त्यहा पुगेका बर्दिवास नगरपालिकाका पुर्व वडा अध्यक्ष चुडामणी पोखरेल बताए ।
फ्रान्सवाट आएका युएनडिपीका डिपुटी रेजिडेन्ट रिप्रीजेन्टिभ हेड जुलियनले पनि बगरमा फस्टाउदै गरेको किसानहरुको मेहनत देखेर निक्कै खुसी भए । बगरमा सुन फलाईरहेको किसानहरुलाई देखे पछी थप सहयोगको लागी पनि गृहकार्य गर्ने उन्ले आश्वासन दिएका छन ।

त्यस्तै वातावरण विज्ञ प्रज्ञ जन एलम्बरले कमला नदिले क्षतबिक्षत बनाएको भुभागमा यति ठूलो परिवर्तन हुनु वास्तवमै कृषि क्रान्ती भएको धारणा राखे ।
युएनडिपिद्वारा १ करोड १४ लाख २२ हजार ६ सय र नगरपालिकाद्वारा १ करोड ३६ लाख २५ हजार लगानीमा हराभरा बनिरहेको वालुवाघारी नगरले भुमिहिन, गरिव र विपन्नहरुलाई २५ बर्षको लागी हस्तान्तरण गरेको छ ।
कृषि पर्यटनकोरुपमा विकास भैइरहेको यो बालुवाघारी कृषिप्रती चासो राख्ने जोकोहीका लागी महत्वपूर्ण अध्यण केन्द्र बन्न सक्ने कृषि विज्ञहरु वताउछन । न्युज कारखाना
