२०८३ भाद्र २४
२०८३ भाद्र २४

वीरगंज, १३ माघ ।

मधेस प्रदेशमा केही समय अघिसम्म सत्ता सहयात्री रहेको जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन्। मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ।

जनमत पार्टीले सरकार छाडेर मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले विश्वासको मत लिनेबारे सत्ता सहयात्री अन्य दलसँग पनि छलफल गर्ने भएका छन्।

सरकारमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका थिए।

उनीहरूको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको थियो। न्युजकारखाना

वीरगंज १३ माघ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठः

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट वीरगंजमा बक्सेको सम्बोधन:

 

उपस्थित महिला तथा सज्जनवृन्द,

तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालीका लागि यो भूमिको अर्कै ठूलो मूल्य र महत्व छ। गौरबशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ।

हामी देखिरहेका छौं , भोगिरहेछौं — दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेश भू-भाग आज उजाड बन्दै गइरहेको छ— यहाँको पोखरी, पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरण तिर गइरहेको छ। यो गम्भिर चिन्ताको कुरा हो।

मधेशका होनहार उद्यमी युवा जनशक्ति दिनौं विदेश तिर दगुरिरहेका छन्। उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबी बाध्यताका कारण हाम्रो जमीन , हाम्रो श्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ। यो दुःखको कुरा हो।

देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ, हामीमाथि आह्वान पनि छ। म भन्छु — हामी हाम्रा पुर्खाको पौरख नभुलौं, हामी, यही बसौं , यही आफ्नो जन्भभूमीका लागि मरिमेटौं। हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण हामी आफैबाट हुने हो। अरुले आएर गरिदिने हैन।

तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्केको छ। यो अवस्थाको अन्त्य गर्नै परेको छ।

यसका निम्ति अब सोच्ने बेला आयो। देशलाई झन् झन् बरबादीतिर नलैजाउँ। त्यसका लागि अब सबैले सोचौ, समिक्षा गरौं। नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन हाम्रो आफ्नो क्षमता यी सबै कुरा हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाउँ।

आफ्नो घर उजाड पारेर अरुको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो। आफ्नो क्षमता, आफ्नै घरद्वर, आफ्नै गाउँबस्ती र आफ्नै बनाउनेतिर अब हामी लाग्नै पर्छ। यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ। हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौं। हामी सबैको भलाई यसैमा छ।

आफ्ना आत्मीय अग्रजहरुलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात बर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरें। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ।

जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो।

 

हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।

आफ्नो पुख्यौँली राजदरवारबाट परित्याग गर्दा २०६५ जेष्ठ २९ गते आमसञ्चार माध्यममार्फत मैले भनेको थिएँ – म नेपाल मै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ, ‘स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।’

 

हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो। बितेका १५ वर्षपछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रुपमा सम्झिरहेको छु। त्यसै आसयअनुरुप मैले ‘चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए।’

हामी देश मै छौं , आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौं। अहिले पनि देशको सर्वाङ्गिण उन्नति होस् , भेदभावरहित ढंगले सबै देशवासीको विकास हुँदै जावोस् भन्ने नै हाम्रो भावना छ। आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातनदेखि रहिआएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ।

त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ। यसैमा हाम्रो कल्याण छ। सबैमा फेरि एकपटक हाम्रो धन्यवाद!

जय नेपाल
वीरगंज २०८० माघ १३ गते न्युजकारखाना

 

बिरगञ्ज, १३ वीरगंज ।

वीरगंजमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिएको छ।

 

नागरिक अभिनन्दनपछिको सम्बोधनमा पूर्व राजा शाहले मधेशको मरुभूमिकरण, युवा शक्ति विदेश पलायनबारे चिन्तित हुँदै भने, ‘अन्नको भण्डार भनिने, तराईं मधेशको समथर उब्जाउ फाँट हाम्रो गौरवशाली इतिहास इतिहास थियो, उद्यम, इलम, बजार र व्यवसायको आधार तराईको छुट्टै पहिचान, पौरख र प्रतिष्ठा बनेको थियो तर दुई तीन दशक यता मधेश उजाड बन्दै गइरहेको छ, यहाँका पोखरी, पानीको स्रोत, जलसतह कमजोर भइरहेको छ र मरुभूमिकरण भइरहेको छ, यो गम्भीर चिन्ताको विषय हो ।’

 

उनले राजपरिवार हत्याकाण्डमा आफ्नो परिवारलाई जोडेर भ्रमको बादल बिच्छाउने काम भएको सम्झिए । भने, ‘राज्यव्यवस्था, राजनीति, अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सुधार, उपकार, विकास, निकासको बाटोमा सबै लाग्नु पर्छ, यसैमा हामी सबैको कल्याण छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले मौलिकता, अस्तित्व पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लैजाने काम भएको बताएका छन् ।

 

उनले आफूले सत्ता छाड्दा बताएको सनातनदेखि कायम रहेको सुमधुर सामाजिक सम्बन्ध बिथोलेर देशको भलो नहुने विचारमा आफ्नो अडान कायमै रहेको बताए ।न्युजकारखाना

चन्द्रपुर,१३ माघ ।

नेपाल पुस्तक तथा स्टेस्नरी व्यावसायी महासंघ जिल्ला शाखा रौतहटको छैटौ जिल्ला अधिवेसनबाट दुर्योधन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् ।

 

शुक्रबार बिर्तामा भएको अधिवेसनाबाट चौधरी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन ।

 

अधिवेसनामा महासंघका केन्द्रीय सदस्य उमेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथिमा मुकेश सिंह ,महासंघका मधेश प्देश सचिव सागर ठोकर ,बारा जिल्लाका अध्यक्ष विश्वनाथ गुप्ता लगाएतको उपस्थिती रहेको थियो ।

 

रौतहट जिल्लाभरीका पुस्तक तथा स्टेस्नरी व्यावसायीको सहभागितामा भएको अधिवेसनले उपाध्यक्षमा सन्तोष तिमलसिना ,सचिवमा अर्जुन कुमार साह ,कोषाध्यक्षमा श्याम नारायण साह सदस्यहरुमा बसन्त कुमार साह ,अनिल साह लगाएत १३ जना निर्बिरोध निर्वाचित भएको व्यावसायी बिशालजित तामाङले जानकारी दिए । अधिवेशनले रौतहट जिल्लामा रहेका पुस्तक तथा स्टेस्नरी व्यावसायीको हकहितका लागि बिभिन्न काम गर्ने निर्णय समेत गरेको थियो ।

 

पेसागत हकलाई सुनिस्चित गर्नका लागि प्रमुख अतिथि अग्रवालले जोड दिएका थिए । न्युजकारखाना

बारा, १३ माघ ।

बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

 

प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा रौतहटबाट काठमाण्डौतर्फ जादै गरेको प्र.०३-०३-००१ख ००८४ नम्बर को यात्रु बाहक बसबाट घडी ३२५ वटाकाे अन्दाजी मुल्य ६५ हजार र एयर फोन ९० वटा अन्दाजी मुल्य १ लाख ३५ हजार रुपैयाको विल नभएको समान प्रहरीले बरामद गरेको हाे ।

 

 

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा रुपन्देहीबाट लाहान-सिराहातर्फ जादै गरेको लु १ क २८८८ नम्बर को मिनिट्रकबाट १३ हजार ३ सय १० पोका सुर्ती गुट्खा र पुकार गरी अन्दाजी मुल्य ३० लाख १ हजार १ सय ६१ रुपैयाँ बराबरको विल नभएको मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ ।

 

त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुरतर्फ जादै गरेको ना ३ ख ११४३ नम्बर को ट्रकबाट ४ सय बोरो चामल अन्दाजी मुल्य  ५ लाख ७० हजार रुपैयाँ बराबरको विल नभएको ट्रकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा  बुझाइएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।न्युजकारखाना

माघ १३ वीरगंज ।

बारा प्रहरीले ४ सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

 

अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १४ स्थित राजघटा देखि सिमलासम्म ७ स्थानमा सञ्चालन गरिएको अबैध मदिरा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

 

उनका अनुसार १ हजार ५ सय मुल्य बराबरको तयारी मदिरा १५ लिटर र २५ हजार ८ सय मुल्य बराबरको कच्चा पदार्थ ४३० लिटर नष्ट गरिएको हो । साथै प्रहरीले उक्त अथानमा सञ्चालित ७ वटा भट्ठी समेत नष्ट गरेको छ ।न्युजकारखाना

रौतहट,१३ माघ । 

पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले आज बिहान ४ बजेको समयमा ठक्कर दिदा चन्द्रपुर ५ का ५५ बर्षका बोधनाथ पौडेललाई ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशिल आचार्यले जानकारी दिएका छन् ।

 

बिहान मर्निङवाकमा निस्केका पौडेललाई चन्द्रनिगाहपुरमा रहेको जगत पेट्रोल पम्म अगाडी बसले ठक्कर दिएको थियो । अत्याधिक हुस्सुका कारण बाटो नदेखेका कारण पौडेललाई बसले ठक्कर दिएको अनुमान गरिएको छ ।

 

ठक्कर दिने बस र बसका चालक चन्द्रपुर नगरपालिका-४ का विजय राई लाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । न्युजकारखाना

रौतहट, १३ माघ ।

नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका बिकाशका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन ।

रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन ।

 

देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो ।

 

युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन ।  ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भने ।

 

नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै अगाडी भने, ‘नेकपा एमाले अहिले तराइ मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेटदै रौतहट बिस्तारै पुरानै अबस्थामा पुगिरहेकोसमेत बताए ।

 

राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन । एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताए ।

 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य उद्धब रेग्मी, अजयकुमार गुप्ता, रेखा झालगायतले युवाको परिचालनको बारेमा आ आफनो धारणा राखेका छन । आउदो माघ २५ र २६ गते नेकपा एमाले रौतहटको जिल्ला अधिवेशन हुदैछ ।

 

अधिवेशनलाई भब्य रुपमा सफल बनाउन युवा परिचालनको लागी युवा संघको शुक्रबार बैठक राखिएको थियो । बैठक युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादबको अध्यक्षतामा बसेको थियो । जिल्ला अधिवेशनको लागि आज १८ वटै पालिकामा प्रतिनिधि चयन हुदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।न्युजकारखाना

रौतहट,१२ माघ ।

गृहणी महिला संघ नेपाल काठमाडौँले रौतहटका विपन्न परिवारहरुलाई न्याना कपडा वितरण गरेको छ।

 

सो संस्थाले जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ७ उचिडीका सय घरधुरीलाई ब्ल्याकेन्ट, स्विटर , सारी लगायतका न्याना कपडाहरू वितरण गरेको हो।

 

संस्थाकी अध्यक्ष अमृता शर्माको नेतृत्वमा आएको टोलीले शुक्रबार सो टोलमा पुगेर स्थानीयलाई न्याना कपडाहरू वितरण गरेको संस्थाले जनाएको छ ।

गृहणी महिला संघले सदैव सामाजिक कार्यहरु गर्दै आएको र आज रौतहटका विपन्न परिवारहरुलाई न्याना कपडाहरू सहयोग गर्न पाउँदा निकै खुशी लागेको बताईन्।

 

उनले आगामी दिनहरुमा पनि रौतहट आएर सामाजिक कार्यहरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो कार्यका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरिन्। चिसोको कहरमा रहेका नागरिकहरुलाई सक्दो सहयोग गर्न संस्थाका सदस्यहरुले आफुले आर्थिक संकलन गरेर न्याना कपडाहरू खरिद गरेर रौतहट आएको संस्थाकी सरिता आचार्यले बताइन्।

 

चन्द्रपुर ५ मा रहेको नमुना इंग्लिस आवासीय स्कुलको सहकार्यमा सम्पन्न सो कार्यक्रममा विद्यालयकी संचालक लक्ष्मी श्रेष्ठ, नेकपा एमाले रौतहट प्रचार विभाग प्रमुख रुपेश कुमार पटेल लगायतको उपस्थिति रहेको थियो।

राज्यका निकायहरुले चिसोको कहरमा आफुहरुलाई वेवास्ता गरेको बेला गृहणी आएर न्याना कपडाहरू प्रदान गरेकोमा स्थानीयले खुसी व्यक्त गरेका थिए ।न्युजकारखाना

रौतहट,१२ माघ ।

जिल्लाको वृन्दावन नगरपालिकाको सवारी साधन पछिल्लो समय कबाडमा परिणत हुन थालेको छ ।

 

सो नगरपालिकाको एम्बुलेन्सदेखि ट्वाइलेट साफ गर्ने ट्रयाक्टर र ट्याङ समेत कबाड बनेको हो ।

 

नगर प्रमुख र हाकिम चढ्ने गाडी राम्रो भएको र जनताको काममा प्रयोग हुने सवारी साधन कबाड बनेपछि स्थानीयले आक्रोश बन्न थालेका छन् । आम सर्वसाधारणको काममा प्रयोग हुने संवेदनशील सवारी मानिएका एम्बुलेन्स समेत चार महिनादेखि ड्राइभरको घरमा कबाड अवस्थामा थन्किएको छ । सो नगरपालिकामा चारवटा एम्बुलेन्स सञ्चालनमा रहेको र हाल दुईवटा एम्बुलेन्स चालु अवस्थामा मात्र रहेको छ ।  सो नगरपालिकाको वडा नम्बर १, ४, ७ र ८ मा एम्बुलेन्स रहेको   छ । जसमध्ये वडा नम्बर १ र ४ को एम्बुलेन्स कबाड नै बनेको हो ।

यता जनतालाई लाभ हुने ट्वाइलेट साफ गर्ने सेफ्टी टयाङकर ७ महिनादेखि बीरगञ्जको एक ग्यारेजमा अल्पत्र परेको छ ।

 

पूर्व नगर प्रमुख राम स्नेही यादवको पाला देखि सस्तो रेटमा आम सर्वसाधारणको ट्वाइलेट सरसफाई गर्दै आएको थियो । तर गत स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा विनोदप्रसाद कुर्मी निर्वाचित भएदेखि नै नगरपालिका अस्तव्यस्त बनेको र आम सर्वसाधारणको एम्बुलेन्सदेखि ट्वाइलेट साफ गर्ने ट्याङ्की समेत प्रयोगविहीन बनाएको जनमत पार्टीका नगरप्रमुख प्रत्याशी दयाराम पटेलले बताए ।

 

नगर प्रमुख कुर्मी आफू अनुकूल हाकिम मात्र ल्याउन खोजेपछि नगरपालिकाको अवस्था दयनीय नै भएको उनले आरोप समेत लगाए ।

 

लामो समयदेखि एम्बुलेन्स र ट्वाइलेट साफ गर्ने ट्याङ्कर प्रयोगविहीन बनेपछि आम सर्वसाधारणले चर्को शुल्क तिरेर बाहिरबाट एम्बुलेन्स र ट्वाइलेट साफ गर्ने ट्याङ्कर ल्याएर काम चलाउनुपर्ने बाध्यता रहेको वृन्दावन नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुबोध पटेलको भनाइ रहेको छ । यता पालिकाले दिदै आएको सेवा बन्द भएपछि आम सर्वसाधारण पनि आक्रोसित बन्दै जान थालेकाछन ।

 

पालिकामा सवारी कसरी कवाड बन्यो भन्ने बिषयमा सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जयकुमार पटेल सँग बुझ्दा आफू भर्खरै आएको हुनाले सो बिषयमा आफुलाई केही जानकारी नभएको बताएका छन् । सो बिषयमा आफू पनि पालिकामा गएर बुझ्ने अधिकृत पटेलले    बताए ।

 

यता स्थानीयले नगरपालिकाको जिन्सी शाखाका चरम लापरवाहीका कारण सो एम्बुलेन्सदेखी ट्याङकरसम्म  कबाड बनेको बताएका हुन ।

 

तर, नगरपालिका स्रोतबाट बुझ्दा सो पलिकामा असार यता जिन्सीको जिम्मा कसैलाई तोकिएको छैन ।

न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।