२०८३ बैशाख १३
२०८३ बैशाख १३

सर्लाही, १७ माघ ।

सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ। बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो।

पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ।

प्रहरीले मृतक पूजादेवीकी सासु बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान थालेको छ। घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकव छ। पूजादेवी मङ्गलबार बेलुका नै मृत अवस्थामा फेला परेकी थिइन्। न्युजकारखाना

बारा, १७ माघ ।

बारा जिल्लाको सबैभन्दा पुरानो कृपा दैनिक पत्रिकाले स्थापना गरेको स्वर्गीय नवजान स्मृति पुरस्कार तथा चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारासहित रौतहट र सर्लाहीका गरी तीनजना कृयाशिल पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ।

बुधबार कृपा दैनिकको वीरगन्जस्थित कार्यालयमा बसेको पुरस्कार छनौट समितिको बैठकले ५० हजारको धनराशी रहेको नवजान स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका कृयाशिल पत्रकार फणी महत तथा सर्लाहीमा कृयाशिल पत्रकार ओमप्रकाश ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको हो।

महत र ठाकुरलाई सम्मान पत्र सहित २५/२५ हजारका दरले नगद रकम सहित पुरस्कृत गर्ने निर्णय गरेको कृपा दैनिकका कार्यकारी सम्पादक एवम् पुरस्कार छनौट समितिका संयोजक कृष्णउदास खनालले जानकारी दिए।

यसरी नै कार्यकारी सम्पादक खनालकै पिता चन्द्रप्रसाद खनालको नाउँमा बिगत १६ बर्ष अगाडि स्थापना गरिएको चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बारामा कृयाशिल पत्रकार महिला शारदा पोखरेललाई नगद १० हजार सहित सम्मान पत्रबाट पुरस्कृत गर्ने निर्णय भएको कृपा दैनिकका सम्पादक गोकुल घोरसाइनेले जानकारी दिए।

विगत दुई वर्ष कोरोना सहित कृपा दैनिकका प्रधानसम्पादक नवराज उपाध्यायको निधन भएकाले स्थगित भएको पुरस्कार बितरण कार्यक्रम अब भने कृपा दैनिकको बार्षिकोत्सवमा हरेक वर्ष वितरण गरिने कृपा दैनिक पत्रिकाका संस्थापक सम्पादक एवम् पुरस्कार छनौट समितिका संरक्षक कमलकुमार उपाध्यायले बताए। आगामी फागुन ५ गते बाराको निजगढमा आयोजना गरिने कृपा दैनिकको २० औं बार्षिकोत्सवका अवसरमा यी पुरस्कारहरु  बितरण गरिने पनि उपाध्यायले जानकारी दिए।

कृपा दैनिकले आफ्नो २० औं बार्षिकोत्सव यही फागुन ५ गते निजगढमा एक बिशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिरहेको छ। कृपा दैनिकले पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमा(जानकी) देवी उपाध्यायको नाउँमा २०७२ सालबाट यो पुरस्कार स्थापना गरी बितरण गर्दै आइरहेको छ भने स्वर्गीय प्रधानसम्पादक नवराज उपाध्यायको नाउँमा यस पटक पहिलो पुरस्कार प्रदान गर्न लागेको हो भने चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार भने २०६६ सालबाट स्थापना गरी निरन्तर बितरण गर्दै आइरहेको छ। न्युज कारखाना

 

रौतहट १७ माघ। 
लामो समयको विवादपछि रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यबाहक प्रमुख अम्बेया खातुन र असन्तुष्ट नेपाली कांग्रेसका वडा अध्यक्षहरु बीच सहमति भएलगत्तै नगरसभाको दिन निश्चित भएको छ।

 

नगरपालिकामा मेयर खातुनको अध्यक्षतामा बसेको कार्यपालिका बोर्डको बैठकबाट दुईपक्षीय लिखित सहमति भएको हो। मेयर खातुन पक्ष र नेपाली कांग्रेसका वडा अध्यक्ष राकेश यादव लगायत पदाधिकारीको सहमतिमा आउँदो फागुन को ३ गते नगरसभा हुने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन्।

 

गत असार १० गतेभित्र हुने नगरसभा हालसम्म नभएको कारण फतुवा विजयपुरका झण्डै ३५० जना शिक्षक कर्मचारीले हालसम्म तलब पाएका छैनन्। बैठकमा मेयर खातुनसँगै नेपाली कांग्रेसका असन्तुष्ट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले बताएका छन्।

फतुवा विजयपुरको मेयर गोपाल राय यादव नदीको टेन्डरको मुद्दामा अख्तियार द्वारा १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला गरेपछि उनी निलम्बित हुँदा उपमेयर खातुन कार्यवाहक बनेकी हुन्। उनी मेयरको जिम्मेवारि पाएपछि कांग्रेस निकट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यबीच सहमति नभएको कारण हालसम्म नगरसभा हुनसकेको थिएन।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते उपसचिव सुरेन्द्र प्रधानलाई त्यहाँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि  जनप्रतिनिधिहरुनै विभाजित भएका थिए।  वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेश राय यादवले उपसचिव प्रधान पहिलेनै कार्यरत रहि कोरोना कालमा अनियमितता गरेको आरोप लगाउँदै विरोध गर्दै आएका थिए।

फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकटबाट मेयर गोपाल राय यादव, उपमेयर अम्बेया खातुन ,७ जना वडा अध्यक्ष निर्वाचित भएका छन। पार्टीको बिना सहमति कार्यबाहक मेयर खातुनले एकोहोरो गरेको भन्दै कांग्रेसकै वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बोर्डको बैठक बहिष्कार गर्दै आएको कारण हालसम्म नगरसभा हुन सकेको थिएन।न्युजकारखाना

सिरहा, १७ ।

सिरहाको हिमालय सुगर मिलमा एक युवक मृत अवस्थामा फेला परेका छन् । उखुको ट्याक्टर लिएर आएका कर्जन्हा नगरपाकिा ४ बस्तिपुरका करिब २५ वर्षीय अशोक दासको शव मंगलबार हिमालय सुगर मिल भित्र फेला परेको हो ।


नरहा गाउँपालिका २ स्थित पानवारीमा रहेको हिमालय सुगर मिलमा उखु लोडगरी आएको दासको शव मंगलबार बिहान मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

बस्तीपुरबाट सोमबार करिव ४ वजेको समयमा ट्याक्टरमा उखु लिएर हिमालय सुगर मिलमा भित्र काँटा गर्न छिरेको थिए।

आफ्नो समय नआएकोले ट्याक्टर मालिक र चालक राति सुगरमिलसँगै रहेको होटलमा गएर खाएर पुनः मिलमै गएर सुतेकाे ट्याक्टर साहु राजेश दासले जनाए ।

उनले भने, ‘खाजा खाएर फेरि त्यही मिल भित्र आएर ट्याक्टर मालिक र चालकसँगै सुतेका थिए। म‌ंगलबार बिहान् चालक दासलाई उठाउन खोज्दा नउठेपछि ट्याक्टर मालिक दासले प्रहरीलाई जानकारी गराएको थिए ।

 

मृतकका परिवारलाई हिमालय सुगर मिलका सञ्चालकले २ लाख र मिलमा कार्यरत कर्मचारीको एक दिनको तलब करिब १ लाख गरी ३ लाख रुपैया आर्थिक सहयोग गरेको उखु महाप्रवन्धक अवध किशोर यादवले बताएको छ।  न्युजकारखाना

रौतहट, १७ माघ ।

रौतहट प्रहरीले प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले यस आर्थिक बर्षको ६ महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको अबैध सामान, मालसामान ढुवानी गर्ने दर्जनौं सवारी साधन नियन्त्रणमा लिएको बताएका छन ।

 

विगत बर्षको तुलनामा जिल्लामा तस्करी देखि आपराधिक गतिविधि समेत न्यून भएको एसपी श्रेष्ठले दाबी गरेका छन। गत साउन देखि पुस मसान्त सम्म जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरुले तस्करीको माध्यमबाट भारत बाट अबैध रुपमा भित्रीएको दुई करोड ९५ लाख ३१ हजार ३३१ मूल्य बराबरको मालसामान बरामद गरी  आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठले बताएका छन।

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार एक सूचना जारि गर्दै पछिल्लो ६ महिनाको प्रगती विवरण सार्वजनिक गरेको छ। नक्कली नेपाली नोटको मुद्दामा प्रहरीले दुई महिना सम्म सुक्ष्म अुनसन्धान गरी ४ वटा मुद्दा दर्ता गरिएको, ९ जनालाई नियन्त्रणमा लिएर १८ लाख ७० हजार चार सय नक्कली नोट बरामद गरिएको जनाएको छ।

अनलाईन स्क्यान गर्ने मामिलामा तिनजना मानिसलाई पक्राउ गरी २४ लाख ३७ हजार ८६५ रुपैया पीडितलाई फिर्ता गराएको, फिरौती माग गर्ने १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको, ५०८ विभिन्न मुद्दा दर्ता भएको, जसमा २९० मुद्दा फर्छयौट भईसकेको २१८ मुद्दा अनुसन्धानको क्रममा रहेको जसमा ३४३ मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

अदालतबाट कसुर ठहर भई फरार रहेका २६९ प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको छ। उक्त प्रतिवादी बाट ४४ बर्ष २ महिना १५ दिन कैद असुली कार्वान्यन तथा १२ लाख ५ हजार ७१२ रुपैया राजस्व असुली गराइएको सूचनामा उल्लेख छ।

 

६ महिनाको अवधिमा कर्तब्य ज्यान सम्बन्धी ९ वटा मुद्दा दर्ता गरिएकोमा ४ वटा मुद्दा फर्छयौट भईसकेको र ५ वटा मुद्दाको अनुसन्धान जारी रहेको छ ।
उक्त मुद्दामा ९ जना मानिसलाई समातेर जिल्ला अदालत समक्ष पेश गरिएको जनाइएको छ ।

 

महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी तर्फ ३९ वटा मुद्दा दर्ता भएकोमा २७ वटा मुद्दा फर्छयौट भईसकेको र १२ वटा मुद्दाको अनुसन्धान जारी रहेको छ ।

 

सवारी ज्यान मुद्दा अन्तर्गत रौतहटमा २४ वटा मुद्दा दर्ता भएको १८ फर्छयौट भईसकेको र ६ वटाको अनुसन्धान जारी रहेका छन् । लागुऔषध तर्फ ११ वटा मुद्दा दर्ता गरिएको जसमध्ये ९ वटा फर्छयौट भईसकेको २ मुद्दाको अनुसन्धान भईरहेको तथा १५ जना मानिसलाई पक्राउ गरिएको सूचनामा उल्लेख गरिएको छ।

 

विद्युतिय कारोवार साइवर अपराध तर्फ ५ वटा मुद्दा दर्ता भएकोमा सवैको फर्छयौट भईसकेको छ । चोरीडाँका तर्फ ३४ मुद्दा दर्ता गरिएको ३३ वटाको फर्छयौट भई १ वटा मुद्दाको अनुसन्धान भईरहेको छ । उक्त मुद्दामा ५० जना मानिसलाई पक्राउ गरिएको थियो ।

 

त्यसैगरी जिल्ला स्थित मुद्दा चलाउने अख्तियारी रहेको जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रपुर र इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियामा रहेका हिरासत कक्षमा थुनवाहरुको मानसिक अवस्थामा परिवर्तन  गर्न पुस्तकालयको स्थापना गरिएको पनि सूचनामा उल्लेख गरिएको छ।

 

एसपी श्रेष्ठले जिल्लाको कमाण्ड लिएपछि बिगतको तुलनामा रौतहटमा तस्करी देखि बिभिन्न किसिमका आपराधिक क्रियाकलापमा समेत कमी आएको प्रवक्ता तथा डिएसपी एलिजा गिरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।न्युजकारखाना

बारा, १७ माघ ।

हिजाे देश भरका शहिदहरुको सम्झनामा बिभिन्न कार्यक्रम गरी शहिद दिवस मनाईयाे  । नेपालमा सरकारले हालसम्म १४ हजार २ सय ४६ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ ।

 

नेपाली समाजमा पटक पटक विभिन्न प्रकारका आन्दोलनहरू हुँदै आएको छ । ती मध्य एक किसान आन्दोलन हो । पाल्पा, रौटहट, बारा, सर्लाही, प्युठान, काठमाडौँ, कञ्चनपुर लगायतका जिल्लामा किसान आन्दोलन भएका थिए । जाली तमसुक च्यात्ने, चक्रबृद्धि ब्याँजको विरोध, जसको जोत उसको पोत, मोहियानी हक, जमिनको हदबन्दीलगायतका माग राखेर किसान आन्दोलन भएका थिए ।

किसान आन्दोलन, किसानका बीचमा शिविर सञ्चालन गरी एउटा सचेत रूपमा किसान आन्दोलनलाई अगाडि बढाउने दिशामा निर्देशित थियो । बारा र रौतहटमा समानताको सङ्घर्ष किसानको महत्वपूर्ण आन्दोलन थियो । “रे नही जी कहो” नारा लगाउँदै जाली तमसुक च्यात्ने, भकारी फोडो, मोहियानी हक, जमिनदारी प्रथाको अन्त्यलगायत जमिन्दारले गर्ने विभिन्न शोषणका तरिकाका विरुद्ध उनीहरू आन्दोलित भएका थिए ।

 

वास्तवमा यस प्रकारका आन्दोलनले वर्गसङ्घर्षलाई चर्काउन महत्वपूर्ण आधार प्रदान गरेको थियो । किसान आन्दोलनले किसानलाई वैचारिक, सैद्धान्तिक, दार्शनिक स्तर माथि उठाउन त्यसले विशेष सहयोग पु¥याएको थियो ।

 

यही किसान आन्दोलनको बाराको नेतृत्वकर्ता थिए, बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतो । १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरका उनले यस क्षेत्रका किसानका हितका निम्ती आवाज बुलन्द्र बनाउने कार्य गर्दै बाराका किसानलाई एक बनाउने मध्य एक हुन मुखलाल ।

२०१२ मंसिरमा तराईमा चकिर्दै गएको किसान आन्दोलनको क्रममा तत्कालिन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले शहिद घोषणा गरेको छैन ।  सरकारले मुखलाललाई शहिद घोषण नगरेतापनि उनलाई बाराका जनताले भने बिर्सेको छैन । बाराली किसानले हरेक वर्ष माघ १६ शहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गरिन्छ ।

 

बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले मुखलाललाई शहिद घोषण गर्ने सरकारलाई पटक पटक अनुरोध समेत गरेका भएतापनि सरकारले बेवास्ता गरेपछि पौडेलले नै मुखलालको सम्झनाका निम्ती उनको शालिक बनाएर नहरीमा उनको पार्क निर्माण गरिएको छ, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।

 

हरेक वर्ष  उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औं स्मृति दिवस मनाईएको छ ।

कार्यक्रममा बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले सरकारले किसान आन्दोलनको महत्व नबुझेका कारण आजसम्म मुखलाल देशको शहिद घोषण हुन नसकेको बताए । उनले मुखलाल किसानका नभएर कुनै अमुख पार्टीका भएको भए सरकारले उहीलै शहिद घोषण भईसकेका हुनेथिए र उनी गरिव किसानका भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको बताए ।

 

जिम्मेवार निकाय र अधिकारीहरु मुखलाललाई शहीदको सुचीमा राख्न कुनै चासो दिएको पाईदैन । शहिदको घोषण गरेका मध्य कति शहिद बिना कारण र कुनै योगदान बिनानै घोषण गरेको भएतापनि किसान आन्दोलनका अगुवा मध्य एक जसलाई सरकारले गोलीहानी हत्या गरेको थियो, उनै मुखलाललाई भने शहिद घोषण गर्न भने आनाकानी गरिरहेकाे छ । मापदण्ड र स्पष्ट परिभाषा नगरि शहीद घोषणा गर्ने कामको टीकाटिप्पणी हुने गरेको छ ।

 

कसरी मारिए मुखलाल

 

तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भईरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्दीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कम्जोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।

 

स्थानिय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगाएत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाईको माग गरे । २ दिनसम्म किसानले पुरै गाँउमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेपछि बिरगञ्जबाट तत्कालिन शाही सोनालाई गडहलमा प्ररिचालन गरियो तर पुरै गाँउलाई घेरा हालेका किसानले सोनालाई गाँउ प्रबेश गर्न दिएन ।

 

सोनालाई सिंह नियन्त्रणमा लिईर बिरगञ्ज ल्याउनु भन्ने आदेश थियो तर किसानले गाँउभित्र प्रबेश गर्ने निकै कठिन भएपछि बडा हाकिम (तत्कालिन सेनाको पद)ले गोलि चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यृ भएको थियो । ति मध्य एक मुखलाल हुन र अर्का सिघार कम्रेड थिए । सेनाले सिघार कम्रेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।

 

सो क्रममा करिब तिन सय किसान गिरफतार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ती आफ्नु १६ वर्षको उमेरमा शहिद भएका मुखलाललाई शहिद घोषणा नगर्दा बाराली किसान समेत निरास छन । न्युजकारखाना

 राैतहट,१६ गते माघ ।

राैतहटमा ६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस धुमधाम साथ सम्पन्न भएको छ ।

जिल्ला स्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको आङ्गिक शिक्षालयको रुपमा संचालित गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटमा प्रवीणता प्रमाणपत्र तह नर्सिङ्ग र मिडवाइफ्री कार्यक्रममा अध्ययनरत रहेको छात्रछात्रा नर्सिङ कर्मचारी स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको कर्मचारीहरुले साे दिवस मनाएका हुन् ।

जिल्ला सदरमुकाम गाैर स्थित विभिन्न स्थानमा शिक्षालय देखी बरहवा पुल, ट्रान्सर्फमर चौक, जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय हुँदै प्रादेशिक अस्पताल गौर रौतहटमा एक कार्यक्रम गरि सम्पन्न गरेको हाे ।

उक्त कार्यक्रमको अध्यक्षता गौर बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख टेकराज पौडेल प्रमुख अतिथी प्रादेशिक अस्पताल गौरको नि. प्रमुख अनुठा राय यादव, विशिष्ट अतिथी नर्सिङ्ग इन्चर्ज सबिनाज वेगम गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटको प्रशासकीय अधिकृत मुकेश कुमार शाह, नर्सिङ्ग कोर्डिनेटर नितालेखी चौधरी, जगत नारायण सिङ्ग, समीक्षा शाही , शशी भूषण मिश्र लेखापाल उमेश कुमार पण्डित लगायतको उपस्थिति रहेको थियाे ।

साथै ६२ औं राष्ट्रिय नर्सिङ्ग दिवस प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीहरु लाई पनि फलफूल बितरण गरिएको थियोे ।

चन्द्रपुर,१६ माघ ।

रौतहट जिल्लाका भित्री पीच सडकहरू स्थानीय बासिन्दाको बिस्कुन चुकाउने थलोका रुपमा परिणत हुन थालेका छन्।

पालिकाहरूले गाउँका बाटोहरू पिच तथा ढलान गरेपछि स्थानीय बासिन्दालाई बिस्कुन सुकाउने र गाईवस्तु बाँध्ने ठाउँका रूपमा परिणत हुन थालेको छ।

रौतहट जिल्लाका अधिकांश भित्री पीठ तथा सडक बाटोहरूमा सवारी साधन हिँड्नै नमिल्ने गरी बिस्कुन तथा गाई वस्तु बाँध्ने गरिएका कारण सवारी साधन आवागमनमा समस्या हुने गरेको छ।

स्थानीय पालिकाहरूले सर्वसाधारणको सहजताका लागि गरिदिएको पिच र ढलान सडक यतिबेला सर्वसाधारणका लागि गाईवस्तु बाँध्ने थलो तथा बिस्कुन सुकाउने ठाउँका रूपमा परिणत हुँदै गएपछि समस्या उत्पन्न हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन्।

सवारी गुड्ने भित्री सडकहरूमा असरल्ल पराल सुकाउने र गाई बाख्रा बाँध्ने गरेका कारण सवारी दुर्घटनाको खतरा बढ्दै गएको कटहरियाका स्थानीय बासिन्दा शम्भु साहले बताए।

जिल्लाका ग्रामीण पिच तथा ढलान सडकमै वस्तु बाँधेर राखिने गरेका कारण ती स्थानमा जाने सवारी साधनले बाटो नै नपाउने गरेको शाहको भनाइ रहेको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर ७ को नयाँ बस्तीका भित्री सडकहरू पिच तथा ढलान गरिएका छन्। पिच र ढलान सडकमै पराल सुकाउनेदेखि बाख्रा बाँध्ने काम भएका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै जान थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।

सडक तथा ढलान सडकको महत्त्वका बारेमा स्थानीय बासिन्दालाई जानकारी नभएका कारण उनीहरूले सडकमै बिस्कुल सुकाउने, पराल सुकाउनेदेखि लिएर गाईवस्तु बाँध्ने गरेको स्थानीय बासिन्दा प्रयाग साहको भनाइ छ।

भित्री सडकमात्र नभएर हुलाकी राजमार्गमा समेत स्थानीय बासिन्दाले बिस्कुल सुकाउने गरेका कारण सो राजमार्ग भएर तीव्र गतिमा गुड्ने सवारी दुर्घटना बढ्दै जान थालेको बंकुलका सञ्चारकर्मी आदर्श उपाध्यायले बताए।

जिल्लाका भित्री सडकमा हुने यस्ता गतिविधिका कारण भित्री सडकहरूमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै जान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले बताएको छ। चन्द्रपुर नगरपालिकाले वडा नम्बर ७ को नयाँ बस्तीमा लाखौं खर्च गरेर बनाएको पिच सडक तथा ढलान सडक यतिबेला स्थानीय बासिन्दाको बिस्कुल सुकाउने थलो र गाई बाख्रा बाँध्ने ठाउँका रूपमा परिणत हुँदै जान थालेको छ।

स्थानीय बासिन्दामा चेतनाको अभाव भएका कारण उनीहरूले सडकमै बिस्कुन सुकाउने पराल सुकाउनेदेखि गाई बाख्रा बाँध्ने काम गरेको देख्न सकिन्छ। यस्तो विषयमा चेतना फैलाउने काम चन्द्रपुर नगरपालिकाबाट हुन नसकेको चन्द्रपुर आठका स्थानीय बासिन्दा अमृत सापकोटाले बताए।न्युजकारखाना

सुनसरी, १६ माघ ।

आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।

 

घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युजकारखाना

सिरहा, १६ माघ ।

कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले विकासको काममा स्थानीय जनप्रतिनिधीले नै अवरोध गरेको छ। सिरहाको पूर्वी नहर प्रणालीअन्तर्गत विष्णुपुर गाउँपालिका १ बजार क्षेत्रमा कमला सिंचाई व्यवस्थापन कार्यालयले गरिरहेको ग्राभेल कार्यमा गापा अध्यक्ष सत्यनारायण यादवले अनावश्यक बखेडा झिकेर काममा भाजोहाल्ने काम गरेको हो ।

 

नहर किनारअन्तर्गत भोलाबाबा स्थान र बजरङ्गबली मन्दिरसम्मको एक किलो चारसय ५० मिटर बाटो ग्राभेलीङ्ग कार्य ठेक्केदारमार्फत डिजाइन स्टिमेट अनुसार नै भईरहेको काममा बिष्णुपुर गाउँपालिका अध्यक्ष यादबले  अवरुद्ध कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र यादवले जनाएको छ ।

 

प्रमुख यादवले भने, ‘अहिले काम भईरहेको छ। हामीले कामको नाप जाँच पनि गरिरहेका छौ। काम सकिएपछि डिजाईन, स्टिमेट अनुसार काम भएको हेरेर सल्लाह दिंदा राम्रो हुन्छ।’

प्रमुख यादवले काममा रहेको कर्मचारी माथि विनाकारण अभद्र व्यवहार गर्ने र विकास निर्माण कार्यमा जनप्रतिनिधिले नै हस्तक्षेप गर्नु निन्दनीय  रहेको बताए । उनले काममा भाँजोहाल्ने काम नगर्न पनि जनप्रतिनिधीहरुसँग आग्रह गरे । प्रमुख यादवले आफ्ना साइड शव ईन्जिनियर विद्यानन्द साहमाथि दुर्व्यवहार भएको बताए।

 

कार्यालयलयको मु. अ. करबाहेक कुल १२ लाख ३१ हजार चाँच ४० रुपैयाँको लागतमा एक हजार चारसय ५० मिटर लम्बाई, चार मिटर  चौडाइ र १५ सेन्टिमिटर मोटो ग्राभेल विछ्याउने कार्य भईरहेको छ । कार्यालयले डिजाइन स्टिमेट अनुसार गुणस्तरीय काम भईरहेको बताएको छ। प्रयोग भएको ग्राभेल ल्यावटेष्टबाट पास भएको कार्यालको दावी रहेको छ।

 

बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादव र वडा नम्वर एकका अध्यक्ष भोगेन्द्र यादव निर्माणस्थलमै पुगेर अवरुद्ध सृजना गरेको स्थानीयले बताएको छ।  यस विषयमा बुझ्न पालिका अध्यक्ष यादवलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन ।

वडा नम्वर १ का अध्यक्ष यादवले भने कर्मचारीसँग सामान्य विवाद भएपनि आफूले आयोजना अवरुद्ध नगरेको बताए । उनले आफूले पटक पटक योजनाको डिजाई, स्टिमेट माग्दा नदिएपछि केही भनाभन भएको र सोही क्रममा आवेगमा औंला नउठाउन भन्दै रोकेको बताए ।

 

वडा अध्यक्ष यादवले भने, ‘जसले काम गरेको भएपनि हामीले नै उपभोग गर्ने हो। काम राम्रो होसभनेर परियोजनाको जानकारी माँग्दा कर्मचारीले आफूसँग अप्रिय शब्द बोलेपछि सामान्य विवाद भएको हो। काम अवरुद्ध गर्ने, दुःखदिने कुनै मनसाय होइन, छैन।’

 

साइड सवइन्जिनियर साहले आफूमाथि दुर्व्यवहार भएको जानकारी दिए । उनले भने, ‘गापा अध्यक्ष र वडा अध्यक्ष सहित वहाँहरु धेरैजना हुनुहुन्थ्यो, मैले सवैको प्रश्नको जवाफ दिने प्रयास गरिरहेको थिएँ। त्यसबेला म माथि गाली लगौज र दुर्व्यहार भए।’

 

स्थानीय ६१ वर्षीय दुखिया यादवले गाउँ पालिकालाई खाल्डो पुर्न पटक–पटक अनुरोध गर्दा कमला सिंचाई व्यवस्थापन कार्यालयको काम हो भन्दै पन्छिने अहिले आएर विकास निर्माण कार्य भइरहेको अवस्थामा विनाकारण गापा अध्यक्षले अनावश्यक बखेडा गर्नुले ठेकेदार सँगको वार्गेनिङ नमिलेपछि विरोध गरेको आशंका उब्जाएको उनको भनाइ छ । उनले आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने जनप्रतिनीधिको परिपाटी ठिक नभएको बताए।

त्यसैगरी अर्का स्थानीय इन्द्रदेव यादवले ग्राभेलको काम भइरहेको बेला विनाकारण गापा अध्यक्ष र वडा अध्यक्षले काम अवरुद्ध गरेको बताए। पहिले अध्यक्षले नैसबै कामहरू उपभोक्ता समितिमार्फत् काम गराउने गरेका थिए । अहिले कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले ठेक्का लगाएपछि उपभोक्तामार्फत् काम गर्न पल्केकाहरु अहिले अवरोध सृजना गर्ने गरेको स्थानीयहरु बताउँछन्। न्युजकारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।