२०८३ बैशाख १२
२०८३ बैशाख १२

 बिरगञ्ज, २ चैत ।

पर्साको जिल्लाको ग्रामीण भेगमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ ।

 

विगत  एक महिनादेखि जिल्लाको उतरी ग्रामीण भेगमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय पर्साले जनाएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जको प्राविधिक टोलीले सखुवाप्रसौनी गाउँपालिका–२ स्थित उखुबारीबाट उक्त बाघलाई ‘ डार्टगन’ प्रयोगगरी नियन्त्रणमा लिएको हो ।

 

दुवै निकुञ्जका टोलीलाई बाघ नियन्त्रणका लागि तीन वटा हात्तीमा १० दिन देखि खटाइएको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए । साहका अनुसार हिजाे दिउँसो प्राविधिक टोलीले भाले पाटे बाघलाई डार्टगन प्रहार गरी नियन्त्रणमा लिएको हो । सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाको राष्ट्रिय वनसँग नजिक रहेको गाउँमा एक महिना यता बाघले आतङ्क मच्चाएको थियो । बाघ हिँड्ने सम्भावित क्षेत्रमा सीसीटीभीसमेत जडान गरिएको थियो ।

 

बुधबार राति सीसीटीभीमा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो उखुबारीमा बाघ फेला परेपछि डार्ट हानेर बेहोस पारिएको जिल्ला बन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको बाघलाई गाडीमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगिएको वन कार्यालय प्रमुख साहले बताए । दिनदहाडै बस्तीमा प्रवेशगरेर बाघले मानिस तथा पशुचौपायालाई आक्रमणसमेत गर्ने गरेको थियो ।

 

बाघको आक्रमणबाट  सो क्षेत्रमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै बाघले दर्जनौँ चौपाया मारेको थियो ।न्युज कारखाना

 

 

सिरहा १ चैत।

सिरहाको एक नगरपालिकाको जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ। जिल्लाको कल्याणपुर नगरपालिकाको उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको हो ।


नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपमेयरलाई दिएको सरकारी गाडी उनले निजीझैँ प्रयोग गर्दै आएको स्थानीयहरु बताउँछन्।
कार्यालयमा बिरलै देखिने उपमेयर यादव चढ्ने प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो निजी काममा प्रयोग गरेको स्थानीय राम कुमार यादवले बताए । उनले भने , ‘उनी त उनी, उनका श्रीमान् अजय यादवले समेत बिहे भोजभतेर लगायतको निजी कामकाजमा प्रयोग गर्दै आइरहेका छन् ।’


कल्याणपुरगाउँबाट सोमबार अबेर राती उपमेयरको श्रीमान अजय यादव र गाउँका ४/७ जनालाई गाडीमा बोकेर जन्तीको लागि जनकपुर गएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए। उनले भने, ‘ जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।’


सोमबार सार्वजनिक बिदा थियो । उनी जनकपुर जाँदा बाटाे कयौं प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् ।  सरकारी गाडीको दुरुपयोग गरेको विषयमा स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमले सरोकारवाला निकायलाई जानकारी गराए पनि सम्बन्धित निकाय मौन भएर बसेका छन्। गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको व्यवस्था नै छ । तर, सरोकारवाला निकायले यस विषयमा मौनता साँधेको स्थानीयहरुले आरोप लगाएका छन्।न्युज कारखाना

पर्सा, १ चैत।

वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौलमा नेपाल भारतका सुरक्षा अधिकारीसहितको दुईपक्षीय बैठक बसेकाे छ।

भारतमा हुन गइरहेको निर्वाचनलाई लक्षित गरेर भएको बैठकमा दुई देशका सुरक्षा अधिकारीसँगै विभिन्न क्षेत्रमा आवद्ध केही स्थानीय बुद्धिजीवीलाई पनि समेटिएको थियो।

बैठकमा दुई देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्न, आपराधिक क्रियाकलाप रोक्न, लागुऔषध तस्करी नियन्त्रण गर्न एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ।

त्यस्तै मानव बेचबिखन, प्रतिबम्धित सामान तस्करी, अवैध हातहतियार तथा मदिराजन्य पदार्थको ओसार पसारमा निगरानी गर्ने सहमति भएको नेपाली सुरक्षा अधिकारीले बताएका छन्।

बुधवार अबेरसम्म चलेको बैठकमा भारतीय सीमासुरक्षा बल एसएबी फोर्सका आईजीपी पंकज दरादले नेपाल–भारतमैत्री सम्बन्ध सुमधुर बनाउन एसएसबी फोर्स सदैव सकारात्मक रहेको बताएका थिए।

मितेरी पुलमा राखिएको चेकपोस्टका कारण नेपालतर्फ भएको कठिनाईलाई मध्यनजर गरेर हटाउन लगाएको बताउँदै कठिनाइको लागि आत्मआलोचना गरेका थिए।

भारतमा हुनगइरहेको लोकसभाको निर्वाचनलाई लिएर सुरक्षा व्यवस्था दुरुस्त राख्न नेपालको तर्फबाट पूर्ण सहयोग हुने उनले विश्वास ब्यक्त गरेका थिए। उनले वीरगञ्ज रक्सौलको सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरिने, जसले नेपाल आउनेजाने सर्वसाधारणलाई सहयोग पुग्ने हुने जानकारी दिएका थिए।

बैठकमा भारतको तर्फ बाट सशस्त्र सीमा सुरक्षा बलका आईजिपी दरादका साथै उपमहानिरीक्षक एस सुब्रमण्यम, कमान्डेन्ट विकास कुमार, कमान्डेन्ट एनएस मेहरा, द्वितीयक कमान अधिकारी सुन्दरम, उपकमान्डेन्ट दीपक कृष्णा, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमार, सुरेश पट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोध ढुङ्गेल, पर्साका सशस्त्र प्रहरीका डिएस्पी सङ्गम श्रेष्ठ, ग्रिन सिटी सामुदायिक केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल लगायतको सहभागिता रहेको थियो ।न्युज कारखाना

महोत्तरी, ३० फाल्गुन ।

महोत्तरीको बर्दिवासमा १२ करोड राजस्व सम्बन्धि मुद्दाको चर्चा सेलाउन नपाउँदै ६६ लाखको चर्चा सुरु भएको छ।

आर्थिक बर्ष २०७७/७८ मा सम्झौता भन्दा बढी नदीजन्यपदार्थ उत्त्खनन गरेवापत तीन  ठेक्केदार कम्पनीले तिर्नुपर्ने उक्त रकमलाई जनकपुर उच्च अदालतले २२ गते ठेक्केदारको पक्षमा नै फैसला गरेपछि अर्को मुद्दाको चर्चा सुरु भएको हो।

अचम्म त काँहानिर छ भने १२ करोड मुद्दाको सफाई पाएका मध्ये पंचधुरामाई सप्लायर्स नै यो मुद्दामा पुन: जोडिएको देखिएको छ। नाँपजाँच उपसमितिले सम्झौताभन्दा बढी नदीजन्यपदार्थ निकालेको निष्कर्षलाई  अदालतले गलत सावित गरेसँगै राजस्वसँग जोडिएको अर्को ६६ लाखको मुद्दा सतहमा आएको हो।

आर्थिक बर्ष २०७७/७८ मा बर्दिवास नगरपालिकाले पालिका वाहिर १४४० घनमिटर नदीजन्यपदार्थ  निकासी कर संकलन गर्न ठेक्का आवहान गरेको थियो। नगरले आह्वान गरेको बोलपत्र बम्मोजिम पञ्चधुरामाई सप्ल्यार्सले १२३ दिनको लागी दैनिक १५२९९९. ९९ पैसा कवोल गर्दै सम्झौता गर्यो जुन १ करोड ८८ लाख १८ हजार ९९८ रुपैयाँ ७७ पैसा हुन् नगरलाई तिर्नुपर्ने हुन्छ।

२०७७ साल चैत ३ गतेदेखि २०७८ असार ३१ सम्मको अवधिमा उक्त रकम नगरलाई दिने सर्तमा दुई पक्षबीच सम्झौता भएको थियो। तर कोभिड-१९ को माहामारीको कारण निकासी नभएको भन्दै कार्यापालिका बैठकवाट ठेक्केदारले १२३ दिनको सट्टा ८४ दिनको मात्र निकासी आय कर तिरे पुग्ने निर्णय गरेको थियो।

तर त्यही ८४ दिनको दिन बाँकी  ६६ लाख ५१ हजार ९ सय ९९ रुपैया ठेक्केदारले नगरलाई सम्झौता बमोजिम दाखिला गर्नुपर्ने रकम कोभिडको कारण देखाउँदै दिन  अस्विकार गरेपछि नगरले ताकेता गर्न थाल्यो।

६६ लाख दाखिल गर्न अस्विकार गरेका ठेक्केदारले उल्टै नगरका विरुद्ध जनकपुर उच्च अदालतमा मुद्दा दायर गरे जुन अझैँ विचाराधीन अवस्थामा छ।  नगरका कानुनी सल्लाहकार टिकाध्वज खड्काका अनुसार उक्त पैसा अघिल्लो स्थानीय सरकारको कार्यापालिका निर्णयमा मिनाहा गर्ने  निर्णय गरेको थियो।

उक्त रकम अघिल्लो स्थानीय सरकारले मिनाहा गर्ने निर्णय नगरेको तत्कालिन सरकारका प्रतिनिधि निरोज अधिकारी प्रष्ट बनाए । ‘मलाई लाग्छ यस्मा पनि जालझेल हुदै छ भन्ने बुझ्न सकिन्छ,’ उन्ले भने, ‘१२ करोड त गुम्यो यो पनि गुम्ने निश्यत नै देखिन्छ।’

२२ गते भएको फसैलालाई पनि स्थानियहरुले अनपेक्षित भएको प्रतिक्रिया दिएका छन्। नगरले मुद्दा जित्ने प्रसस्त आधार हुदाहुदै पनि मुद्दा फितलो वनाउन आफ्नो अधिवक्ता नराखेको, भएको अधिवक्तालाई बहसमा नपठाएको जस्ता आरोप लागेका छन्।न्युज कारखाना

फागुन ३० रौतहट ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। कौलाश राउत बरई, शत्रुध्न साह, हृदय साहको घरमा आगलागी भएको छ।

आगलागीमा खाने समान, लताकपडा लगायतका लाखै बराबरको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।

आगोलाई स्थानीय, सस्त्र प्रहरीको सहयोग र गौर नगरपालिकाको वरुणा यन्त्रले नियन्त्रणमा लिएको छ।न्युज कारखाना

रौतहट ३० फागुन ।

रौतहटको फतुवा बिजयपुर नगरक्षेत्रअन्तर्गत तलबको माग गर्दै धर्नामा बसेका शिक्षकले भोलीदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। शिक्षकहरूको निर्णयसँगै नगर क्षेत्रका ६ हजार विद्यार्थीको भविष्य अन्यौल बनेको छ।

नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले भोलिदेखि हुने भनिएको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो।

पटकपटक आश्वासन मात्र पाउने र तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने भएकाले अब उधारोमा सहमती नहुने शिक्षा संयोजक यादवले बताएका छन्।

जब सम्म सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब जाँदैन तबसम्म हामी परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको संयोजक यादवले जानकारी दिएका छन्। फतुवा बिजयपुर नगरपालिकाका ३२ वटा विद्यालय रहेको छ।

प्रस्तावित सहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेको छ। ती सम्पूर्ण विद्यालयमा गरी कूल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि सितलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताए।

त्यहाँ रहेको ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मको झण्डै ६ हजार रहेका विद्यार्थीहरू भोलिदेखि हुने वार्षिक परीक्षामा सहभागी हुने रहेका थिए।

यसरी शिक्षकहरूको तलबको विवादकै कारण भोलिदेखि हुने वार्षिक परिक्षा नभएमा फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत कक्षा १ देखी ९ सम्मका ६ हजार बालबालिकाको भबिश्य अन्यौल हुने देखिएको छ।

नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरू बुधबार तलबको माग गर्दै पुनः धर्नामा बसेका थिए। हिन्दूहरूको महान पर्व होली आउनमात्र १० दिन बाँकी छँदा तलब पाउने सम्भावना झिनो देखिएको कारण त्यहाँका शिक्षक कर्मचारी पुनः आन्दोलित भएका हुन्।

नगरक्षेत्रअन्तर्गतका शिक्षक र शिक्षिकाहरू आज कार्यालय समय सुरु हुनासाथ बिहान १० बजेदेखि नगरपालिका अगाडी धर्नामा बसेका थिए।

नगरभरीको शिक्षकहरूको भेलाले बुधवार अपरान्ह ४ बजे भोलिदेखिको वार्षिक परीक्षा बहिस्कार गर्ने निर्णय गरेका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले  पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताएका छन्। फतुवा विजयपुर का प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले  पाँच दिनभित्र जुन हालतमा पनि शिक्षक र कर्मचारीको तलब निकासा हुने बताए।

फतुवा बिजयपुर नगरपालिकामा कांग्रेस पार्टी बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर अख्तियारद्वारा दण्डित भई पद गुमाएपछि कांग्रेसकै उपमेयर अम्बेया खातुन गत वर्षदेखि कार्यबाहकको जिम्मेवारी पाएकी छन्।न्युज कारखाना

फागुन ३० वीरगञ्ज । एसएसबीका आइजी श्री पंकज दराड (आईपीएस)ले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध, सीमा क्षेत्रमा सुरक्षा र निर्वाचनका विषयमा नेपाल र भारतका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। बुधबार महानिरीक्षक श्री पंकज दराड फ्रन्टियर हेडक्वार्टर सशस्त्र सीमा बाल पटना (बिहार)ले भारत र नेपालका वरिष्ठ अधिकारीसँग एक विशेष बैठक बसेको थियो। जसमा मैत्री सम्बन्ध सुधार गर्न प्रयास गरिएको थियो।

भारत र नेपालबीच सर्वसाधारणलाई सहयोग पुर्‍याउने सुविधा, भारत–नेपाल सीमा क्षेत्रमा काम गर्ने दुवै पक्षका सरकारी निकायबीचको आपसी सहकार्य र लोकसभा निर्वाचनका सन्दर्भमा विशेष निर्देशनका विषयमा छलफल भएको थियो।

नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धका सम्बन्धमा परापूर्वकालदेखि नै भारत र नेपालबीचको सम्बन्ध रहेको भन्दै उनले यो रोटी–बेटीको सम्बन्ध कायम राख्नु नै सशस्त्र सीमा बलको नारा रहेको बताए।

जनताको पहिलो दायित्व हो। यस सन्दर्भमा सशस्त्र सीमा बलका सबै बल कर्मीहरूलाई समय समयमा निर्देशन दिइन्छ। यसका लागि मैत्री पुलमा हेल्प डेस्क स्थापना गरिनेछ। जसले नेपालबाट आउने र नेपाल जाने व्यक्तिलाई सहयोग गर्नेछ।

भारत–नेपाल सीमा क्षेत्रमा कार्यरत दुवै पक्षका सरकारी निकायबीच आपसी सहकार्यका सम्बन्धमा उनले सबै निकायको मुख्य उद्देश्य देश र समाजको हित हुने भएकाले भारतिय सशस्त्र सीमा बल, नेपाल सशस्त्र प्रहरी बल , भारत  र नेपाल भन्सार कर्मचारी नेपाल प्रहरी र अन्य सुरक्षा निकायले आपसी समन्वय र सहकार्यमा आफ्नो काम बढाउनुपर्छ, तब मात्र अपराध, समाज विरोधी गतिविधि, भारत विरोधी गतिविधि, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सकिन्छ।

भारतमा हुने निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भारत र नेपालका अधिकारीहरुको बैठक बसेको पत्रकार सम्मेलनमा आईजी पंकज दर्दारले बैठकमा लोकसभा निर्वाचनमा नेपाल सरकारलाई सहयोग गर्ने सहमति भएको जानकारी दिए । आगामी महिना भारतमा हुने भएको छ।

बैठकमा सशस्त्र सीमा बल भारत का उपमहानिरीक्षक एस सुब्रमण्यम , कमाण्डेन्ट विकास कुमार, कमाण्डेन्ट एनएस मेहरा, सेकेन्ड कमाण्डिङ अफिसर सुन्दरम, डेपुटी कमाण्डेन्ट दीपक कृष्ण, डेपुटी कमाण्डेन्ट ए. प्रियदर्शन अरुण, एएचटीयू इन्चार्ज इन्स्पेक्टर मनोजकुमार शर्मा, भारतीय महावाणिज्य दूतावासका कन्सुल शैलेन्द्र कुमार, सुरेश पट्टापु, नेपाल प्रहरीका एसपी कुमोद ढुंगेल, भन्सार रक्सौलका सहायक आयुक्त रामानन्द सिंह, सशस्त्र प्रहरी बलका डीएसपी देबेन्द्र सिंह, नेपालबाट डीएसपी संगम श्रेष्ठ,  वीरगन्ज उध्योग वाणिज्य संघ  अनिल अग्रवाल,  अधिकारी माधवराज पाल । ब्यूरो आदिको पनि उपस्थिति रहनेछ।न्युज कारखाना

 

मधेश प्रदेश, २९ फागुन ।

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ।

आजपा महासचिव उपेन्द्र साहको नेतृत्वमा जनकपुरधामको बारहविग्घाबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषासम्म पुगेको थियो। सो क्रममा जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय अगाडी समेत प्रदर्शनकारीले नारावाजी गरेका थिए।

आजपा मधेस प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले आफूहरुको माग सम्बोधन नभए यो भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्। प्रदर्शनमा सहभागी आजपाका महासचिव साहले आफूहरूको माग गम्भिर रूपमा लिएर सम्बोधन नगरिए मधेस बन्द गर्नुपर्ने चेतावनी सरकारलाई दिएका छन्।

‘हामीले शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गरिरहेका छौं। किसान, सर्वसधारणदेखी आम जनताका माग सम्बोधन गर्नमा सरकारले ढिलाई गरेमा हामी मधेस बन्दसम्मको कडा आन्दोलनका कार्यक्रम ल्याउँन बाध्य हुनेछौं। त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ,’ आजपा महासचिव साहले भने।

आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने, किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको छ।

यसैगरी आजपाले मधेसमा भइरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेको छ। आजपा महासचिव साहले पार्टीको हालै सम्पन्न स्थायी कमिटीको बैठक र मधेस प्रदेश कमिटीको बैठकको निर्णय अनुसार सर्वसधारणका मुद्धा सरकार समक्ष पुर्याउँनका लागि पार्टीले संघर्षका विभिन्न कार्यक्रमहरु अगाडी बढाउँने निर्णय अनुसार विरोध प्रदर्शन गरिएको बताए।न्युज कारखाना

पर्सा, २९ फागुन।

जन्तीलाई माछा खान नदिँदा बेहुलासहितको जन्ती फिर्ता भएको घटना नसेलाउँदै पर्सामा त्यसै प्रकृतिको अर्को लजास्पद  घटना दोहोरिएको छ।

देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको लजास्पद घटना सार्वजनिक भएको हो।

बाराको कलैया उपमहानगरपालिका ४ घर भएका अपरेटर साहले दाइजोमा नगद १२ लाख , मोटरसाइकल खरिद गर्न ३ लाख २५ हजार , एक थान ल्यापटप, एक थान सुनको अंगुठी र सुनको हनुमानी माला बिहेअघि नै बेहुली पक्षसँग दाइजोको रूपमा लिएको बेहुली पक्षले बताएका छन् ।

 

साेमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका अपरेटर साहले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको घटना सार्वजनिक भएको छ। बाराको कलैया उपमहानगरपालिका-४ का बच्चलाल साहका छोरा वर्ष २६ का उमेश साहको वीरगञ्ज- २४ रानीघाटका एकजना उनकै स्वजातिको छोरीसँग  फागुनमा २८ गते जन्ती लागेर बिहे हुने निश्चित  भएको थियो।

सोहीअनुसार साेमबार साँझ बेहुली पक्षका आफन्तहरु उनको घर अगाडि जन्तीको स्वागतको लागि जम्मा भएका थिए। निर्धारित समयमा सोमबार राती बेहुलासहित जन्ती आयो । द्वार पूजापछि स्वयंवर बरमालाको परमपरा पनि पूरा भएको थियो। उक्त विधि पश्चात विवाहको विधि पूरा गर्नका लागि विवाह मण्डपमा पुग्दा बेहुलाले विभिन्न बहाना बनाउँदै  सुनको सिक्री नपाएपछि विवाह नै बहिष्कार गरेका हुन् ।

द्वार पूजा बरमाला भइसक्दा पनि मात्र  ५० हजारको सिक्री नपाउँदा बेहुला बिवाह मण्डपबाट भाग्न खोज्दा झडपसमेत भएको प्रहरीले जनाएको छ। बेहुली पक्षले जति सम्झाउँदा पनि बेहुला बिहे गर्न नमानेपछि कुटपिट सुरु भएको थियो। स्थानीयको खबर अनुसार लगत्तै प्रहरी चौकी श्रीपुरबाट घटनास्थल पुगेको प्रहरी टोलीले बेहुलासहित केही जन्तीलाई नियन्त्रणमा लिएको थियो।

 

पर्सा प्रहरी प्रवक्ता डिएस्पी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन्। प्रहरी चौकी श्रीपुरले उक्त घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ। ‘म भर्खर काठमाडाैंबाट आएको छु, पीडितको तर्फ बाट अहिलेसम्म जाहेरी आएको छैन ,तथापी घटनासम्बन्धी अनुसन्धान भईरहेको छ,’ प्रवक्ता तथा डिएस्पी थापाले भने ।

 

यसरी घर अगाडि आएर पनि बिहे नभएर जन्ती फिर्ता गएको कारण सामाजिक प्रतिष्ठामा असर परेको भन्दै बेहुली पक्षको घरमा रुवाबासी भएको स्थानीयहरूले बताएका छन।

मधेश प्रदेशमा दाईजोको निहुँना कैयौं बुहारीकाे हत्यादेखि कैयौं जघन्य अपराधसमेत भइरहेको अवस्थामा मात्र एउटा सिक्रीको लागि सरकारी कर्मचारी भएर पनि बिहे रद्द गर्ने अपरेटर साहलाई कडा कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन्।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।