२०८३ भाद्र २२
२०८३ भाद्र २२

रौतहट २२ वैशाख।

रौतहटको सीमावर्ती क्षेत्रका बासिन्दाहरूको आफ्नै पीडा रहेको छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाईकल बाहेक सवारी साधन वारिपारी आवत जावतमा रोक लगाईएको छ। सीमाबासीहरू पटक-पटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य भएका छन्।

सीमावर्ती परोहा नगरपालिका ९ रामपुर खापमा आयोजित “सिमाबासी संग सशस्त्र प्रहरी”कार्यक्रम तथा अन्तरक्रियामा सहभागि सीमा सहजीकरण समितिका पदाधिकारी तथा स्थानीयहरूले उक्त समस्या बारे जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बल ११ नम्बर गण हेक्वा रौतहट द्वारा आयोजना गरिएको सीमा सुरक्षाको महत्त्व, सीमा अपराध नियन्त्रण कार्यक्रमका सहभागीहरूले द्वन्द्वकालमा बन्द भएको छोटी भन्सार बंकुल हालसम्म सञ्चालन नहुँदा ससाना व्यापारीहरु गौर भन्सार पुगेर कारोबार गर्दा ठूलो समस्या हुनेगरेको बताएका थिए। उनीहरूले कतिपय साना ब्यापारी गौर भन्सारसम्म पहुँच नभएको कारण बाध्यभएर अबैध बाटो हुँदै विभिन्न भारतीय सामान भित्र्याउँदा राज्यलाई लाखौं राजश्व क्षति हुनेगरेकाले हाल बन्द रहेको बंकुल भन्सार र बाराको काचोर्वा भन्सार सञ्चालनतर्फ राज्यको ध्यान जानुपर्ने सहभागीले माग गरेका थिए।

त्यसैगरी जिल्ला सदरमुकाम गौर भएर चारपाङ्ग्रे सवारीसाधन आवतजावत भइरहे पनि कोरोनाकालमा बन्द गरिएको साना नाकाहरूबाट हालसम्म आवतजावत सुरुहुन सकेको छैन। सीमासँग जोडिएका हजारौं परिवार दैनिक उपभोग्य वस्तु खरिददेखि बिरामीको उपचारको लागि भारतीय बजार माथि निर्भर रहेका छन्। यस्तो अवस्थामा सहर बजारदेखि भारतीय आफन्तसँग २४औं घण्टा सम्पर्कमा हुँदा आउँदा जाँदा भारतीय सीमासुरक्षाबल एसएसबीले बिभिन्न बहानामा पटकपटक दुर्व्यवहार गर्नेगरेको सहभागीले पीडा पोखेको कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

छिमेकी जिल्ला बाराको तीन छोटी नाकाबाट चारपाङ्ग्रे सवारीसाधन निर्वाध रुपमा भारतबाट आवतजावत भईरहेको छ तर रौतहटमा भने सदरमुकाम गौर बाहेक अन्य नाकाबाट एसएसबीले पूर्ण प्रतिबन्ध लगाएको थियो।

सहभागीहरुले सवारी आवागमन व्यवस्थापन , बिवाह, पूजा तथा चाडँ पर्वमा आवश्यक सामान ल्याउन सहजिकरण , सीमाक्षेत्रमा अनियन्त्रित मदिरा व्यवसाय व्यवस्थित गर्न माग गरेका थिए। त्यसैगरी उनीहरूले कुखुरा तथा पशुपन्छि तस्करी नियन्त्रण, निर्बाध भारतीय नम्बरको मोटरसाइकल आएर बिभिन्न घटनाहरू घताईरहेकाले त्यसको नियन्त्रण तथा व्यवस्थापन गर्न सुझाव दिएका थिए।

सहभागीहरुले गरेको माग र सुझाव लाई राज्य सम्म पुर्याएर समाधानको पहल गर्ने एसपी हुमागाईंले प्रतिबद्धता जनाएका थिए।

अन्तरक्रिया कार्यक्रममा सीमा सहजिकरण समितिका पदाधिकारिहरू , वडा अध्यक्षहरू , स्थानीय समेत गरी १०० भन्दा बढी मानिसको सहभागिता रहेको थियो।

 बारा 

राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि बाराको ईलाका प्रशासन कार्यालय सिमराले अधिक जनसंख्या रहेको निजगढ नगरपालिकाको आग्रहमा एक मात्र स्टेशनबाट सम्पादन गर्न कठिन भएको भन्दै गत चैतमा थप एक स्टेशन थपेको थियो । तर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारको परिपत्रपछि जिल्ला प्रशासन कार्यालय बाराले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको कार्य जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय मार्फत मात्र हुने भन्दै दर्ता अपरेटर सहित सम्पुर्ण सामाग्री फिर्ता लगेको छ ।

जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानियलाई सास्तीहुने तथा राष्ट्रिय परिचयपत्र बनाउन टाडा जानुपर्ने, भिडभाडका कारण निकै समय तथा दिनसम्म लाग्नेभन्दै उक्त स्टेशनमा कार्यरत जनशक्तिको पारिश्रमिक लगायतको आवश्यक खर्च नगरपालिकाको कार्यालयले भुक्तानी गर्ने भन्दै निजगढ नगरपालिकाको नगरकार्यपालिकाको बठैकले गत चैत ७ गते निर्णय गर्दै यस पालिकामा भएको राष्ट्रिय परिचयपत्रको सेवा फिता नलिन सम्बन्धीत निकायलाई पटक पटक पत्रचार गरेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने,‘सेवाग्राहीलाई सहज हुने हिसाबले स्थानिय तहमा आएको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनबाट यस पालिकामा करिब ६० प्रतिशत नगरिकहरुको राष्ट्रिय परिचयपत्र बनाउन बाँकी रहेको हुदाँ सेवा निरन्तर गर्न पालिकाले समन्वय गरेको भएतापनि कुनै जवाफ नआएको हुदाँ आजबाट राष्ट्रिय परिचयपत्र बनाउने काम जिल्ला र ईलाका प्रशासनबाट भएको बताए ।’

सम्पुर्ण सामाग्री र अपरेटर फिर्ता भएपछि बिहिबारबाट बाराको निजगढ नगरपालिकाबाट भईरहेको विवरण सङ्कलन गर्न अब जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयसम्म पुग्न स्थानिय बाध्य भएका छन ।

सेवाग्राहीको भीडलाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालयले पालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट निजगढमा नगरपालिकामा केन्द्र खडा गरी राष्ट्रिय परिचयपत्र सम्बन्धित पालिकाबाट नै बनाउने कार्य राम्रो थियो, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले भने भीडभाड रहित रुपमा सेवाग्राहीले सहज रुपमा पाएको सेवा पुनः फिर्ता लगेर जनतालाई दुःख दिने काम भएकाले निजगढ नगरपालिकाले पञ्जीकरण विभागसंग समन्वय भईरहेको बताए । नगरप्रमुख पुरीले भने,‘निजगढ नगरपालिकाको भैगोलिक बनावटका कारण सर्वसाधरण निजगढ नगरपालिकामै सहज रुपले आउन सक्ने अवस्था छैन । निम्न आय भएका तथा जेष्ठ नागरिकहरुको परिचयपत्र बनाउन वडा वडा सम्म पुर्याउने तयारी गरीरहेको बेलामा फिर्ता लगिएको छ । हामी सेवा पुनः संचालन गराउन पहल गरिरहेका छै ।’

वडा वडामा पुग्नुपर्ने सेवा पुनः प्रशासन कार्यलयमै
यसअघि स्थानीय तहसँग समन्वय गरी सबैलाई पायक पर्ने स्थानमा केन्द्र स्थापना गरेर कम्प्युटरलगायत उपकरणसहित तत्काललाई कर्मचारी खटाइएको थियो जसले गर्दा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय हुदै आएको भिड र परिचय पत्र बनाउनका निम्ती नागरिकलाई हुदैँ आएको सास्तीमा समेत कम भएको थियो तर पुनः यो सेवा प्रशासनमै पुगे पछि स्थानियले समेत आलोचना गरेका छन ।

निजगढ नगरपालिका ३ की बिमला राई बिहिबार २२ वर्षिय छोराको पासपोर्ट बनाउन निजगढ नगरपालिकाको कार्यलयमा आएकी थिईन तर सो सेवा नगरपालिकामा नभएपछि उनी सिमरा स्थीत ईलाका प्रशासन कार्यलयमा पुगिन तर त्यहाँबाट भिड भएका कारण उनको छोराको परिचयपत्र बनेन तर उनलाई आईतबार बिहान १० बजे आउन भन्दै फिर्ता पठाएको राईले बताईन । उनले भनिन,‘पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ तर सरकारबाट प्राप्त हुने सेवा पालिकाबाट फिर्ता गरेर उल्टै नागरिकलाई दुःख दिने काय भएको छ । सेवा वडा सम्म आउनुपनेमा पालिकाबाटै फिर्ता लगिनु राम्रो होईन ।’

बारा जिल्लाका १६ वटै स्थानीय तहबाट भईरहेको राष्ट्रिय परिचयपत्र आवश्यक विवरण सङ्कलन कार्य आजबाट जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयबाट मात्र हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरवारले गरेको परिपत्र अनुसारनै जिल्लाको १६ वटै स्थानीय तहबाट विवरण सङ्कलन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।

यता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक (राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा) का मुकेश कुमार केशरीले मधेश प्रदेशका प्रत्यक पालिकाबाट दैनिक ४० वटा परिचयपत्रको बिवरण भरिने लक्ष्य बमोजिम स्थानीय तहबाट विवरण सङ्कलन थालिएको भएतापनि यस प्रदेशबाट १८ महिना सम्मको डाटालाई हेर्दा लक्ष्य बमोजिम पुरा नभएका कारण फिर्ता ल्याईएको जानकारी दिए । निर्देशक केशरीले भने,‘विवरण सङ्कलन गर्न धेरै बार्की रहेका स्थानीय तहसंग समझौता गरेर पुनः संचालन गर्न सकिने तथा ४० दिन सम्म वडा वडामा पुगेर बिवरण संकलन गर्न सकिन्छ अहिले पालिकामा भएका कर्मचारीलाई फिर्ता बेलाएरको अर्को कारण भनेको बनेका परिचय पत्र बाड्न समेत हो । कुनै पालिकाहरुबाट माग हुने बितिक्कै हामी पुनः विवरण सङ्कलन गर्न पठाउँछौँ।’न्युज कारखाना

राैतहट १९  वैशाख । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेश प्रदेशका केही पालिकाले विद्यालयको समय परिवर्तन गरेका छन् भने केहीले पठनपाठन नै बन्द गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिकाले शनिवारसम्म पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि शनिवारसम्मको लागि पालिकाका सबै विद्यालय बन्द गरिएको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले जानकारी गराएका छन् । हरिवन नगरपालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिवारसम्म बन्द गर्ने नगर शिक्षा समितिको निर्णय भएको चौलागाईँले सार्वजनिक गरेका छन् ।

यसै गरी  पर्साको वीरगंज महानगरपालिकाले पनि विद्यालयको समय परिवर्तन गरी बिहानको समयमा कक्षा संचालन गर्न सूचना जारी गरेको छ । विद्यालयको पठनपाठनको कूल समयमा फरक नपर्ने गरी बिहानको सत्रमा कक्षा संचालन गर्न महानगरपालिकाले सूचना जारी गरेको हो । अत्यधिक गर्मीले विद्यालयको छानो तातो हुने गरेको तथा कतिपय विद्यालयमा जस्ताको छानो हुँदा भित्र बस्ने नसक्ने अवस्था सिर्जना भएकोले बिहानको समयमा कक्षा संचालन गर्न धेरैतिरबाट सुझाव दिइएको छ ।

बिहानको दश बज्दा नबज्दै कक्षाकोठामा तातो हावा पस्न थाल्ने गरेको तथा सबै बालबालिकालाई शीतल खानेपानीको साथै गर्मीबाट जोगिन बिजुली र पंखाको व्यवस्थापन सबै विद्यालयमा सम्भव नहुनाले विद्यालयहरुलाई गर्मी चर्किनु अगावै घर पठाउन थालिएको हो । मधेशका अधिकांश विद्यालयमा बैसाखदेखि असारसम्म बिहानी सत्रमा कक्षा संचालन हुने गर्दछ ।न्युज कारखाना

 

१८ बैसाख, महोत्तरी 

महोत्तरीको बर्दिवासमा रहेको खानेपानी संस्थानमा चरम अनियमितता भएको भन्दै समितिका पदाधिकारीहरुले नै प्रशासन कार्यालयमा उजुरी दिएका छन  ।

बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानमा अध्यक्ष भुलन सेनवाट  अनियमितता भएको आरोपसहित  उपभोक्ताहरुवाट निर्वाचित सचिव र कोषाध्यक्षले मंगलवार  इलाका प्रशासन कार्यालय बर्दिवासमा उजुरी दिएका हुन ।

स्वार्थसिद्धको लागि विधानविपरित काम गरेर उपभोक्ताहरुको अपेक्षामा ठेस पुर्‍याएको जिकिर गर्दै कोषाध्यक्ष भोज प्रसाद फुयाल र सचीव उदय भण्डारीले छुट्टाछुट्टै उजुरी दर्ता गराएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

कोषाध्यक्ष फुयालको हस्ताक्षर हटाएर ३ महिनादेखी उपभोक्ताहरुको पैसाको दुरुपयोग र अनियमितता भएको र कार्यालय संचालनार्थ काम गर्नुपर्ने सचिव भण्डारीलाई समेत हटाएर जनमतको उपेक्षा गरेको उनिहरुले वताएका छन ।

आन्तरिकरुपमा आम उपभोक्तालाई थाहा नै नदिएर भित्री बदमासीहरुलाई सच्याउन बिशेष साधारणसभा समेत गरिएको कोषाध्यक्ष फुयालले दावी गरे । यो बिषयलाई पुष्टि गर्नेगरी सामाजिक संजालमा साधारणसभा गरिएको माइन्युट र निर्णयहरु समेत सार्वजनिक भएका छन ।

अहिले नगर क्षेत्रमा यँहि बिषय नै पेचिलो बन्दै गएको छ । एकै परिवारको ७ जनासम्म उपस्थित गराएर बिशेष साधारणसभावाट अध्यक्ष अनुकुल हुनेगरी बिधान संसोधन समेत गरिएको पदाधिकारीहरुको आरोप छ । सभाको नाममा हस्ताक्षर किर्ते गरी संस्थानलाई कमाई खाने ठाँउ वनाएको र खानेपानी जस्तो संवेदशील विषयमा अध्यक्ष सेनले कुठाराघात गरिरहेको कोषाध्यक्ष फुयालले वताए ।

३ महिनादेखि आफ्नो हस्ताक्षरविना खानेपानीमा जम्मा भएको जनताको पैसामा रमाईलो गरेको प्रमाण समेत सुरक्षित रहेको वताउदै यो अवधिमा भएको सम्पूर्ण कारोवार पनि अवैध भएको उनको भनाइ छ ।

सचिव उदय भण्डारीले पनि संस्थानको मनोमानिप्रती आपत्ति जनाएका छन । अध्यक्ष सेनले बहुमतको वलमा आफुलाई थाहा नदिई वैठक राख्ने र अनुचित निर्णय गर्ने गरेको सचिव भण्डारीले वताए ।

बहुसंख्यक मानिसहरुको आशाको धरोहर रहेको खानेपानी संस्थानमा निर्वाचित पदाधिकारीहरुवाट नै  बेथितिहरु  सार्वजनिक भएपछी नगर क्षेत्रका उपभोक्ताहरुले

चासो र चिन्ताको ब्यक्त गरेका छन  । नगर क्षेत्रका कंयौ स्थानीयहरुले सामाजिक संजालवाट नै खवरदारी गर्न सुरु गरेका छन ।स्थानीय रिमनाथ अधिकारीले फेसवुकमा लेख्छन – ‘हिजोको दिनमा गलत तवरले चलेको छ भन्ने सुन्नमा मात्र आएको थियो तर आज प्रमाणित भएको छ । जनता जनार्दन हुन, जनताको मतको दुरुपयोग गर्ने जोकोही सजायको भागिदार हुन्छन । सार्वजनिक सम्पतीमाथी जथाभावी गर्नेहरुले तुरुन्तै राजीनामा दिनु पर्छ ।’

कोषाध्यक्ष र सचिवको अध्यक्षसँगको दुरी  प्रतिस्पर्धा विना आफ्नै नाता पर्ने महिला कर्मचारी राखेको भन्दै वढेको थियो । ‘कर्मचारी राख्न प्रतिस्पर्धा गराउनुपर्ने ठाँउमा गुपचुप नातेदार भर्ना गरेको बिषयमा विवाद भयो त्यहि कारण हामीलाई हटाएका हुन ।’ सचिव भण्डारीले भने ।

अध्यक्ष भुलन सेन भन्छन : मैले गलत गरेको छैन

अध्यक्ष भुलन सेनले भने खानेपानी संस्थानमाथी लागेका आरोपहरु निराधार भएको वताएका छन ।

जनताको भावना र आवस्यकताअनुरुप काम गरेको वताउदै त्यसभन्दा बाहिर कुनै गलत नगरेको अध्यक्ष सेनको भनाई छ । अफवाह फैलाउनेगरी केहि व्यक्तिहरु लागेको वताउदै त्यसको पछाडी नलाग्न अध्यक्ष सेनले आग्रह गरे ।

‘म कतै गलत छैन कार्यालयमा नै आएर बुझ्दा हुन्छ ।’ उन्ले भने । ‘अव अरुले के गर्छन त्यो मलाई मतलव छैन तर जिम्मेवारीमा प्रतिवद्ध छु ।’

दिर्घकालिन खानेपानी योजना अगाडी बढाएर बढिरहेको र आम उपभोक्ताहरुलाई प्रतिवद्धता जनाएअनुसार नै काम गरिरहेको अध्यक्ष सेनको भनाई छ ।

न्युज कारखाना

 

 

 

बैशाख १९ रौतहट । राैतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन ।

करिब दुई महिना आगाडी  देखि लाल बकैया नदि सुकेका छन । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेका थिए । त्यस पछि लागातार तापक्रम दैनिक वढोतरी हुँदै आएका छन । हिजो ( मंगलबार ) राैतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।

तापक्रम बढे संगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजिवन लगायत सवै  सजिव प्राणी-  वोट विरवाको साथै वाली नालीमा समेत असर परेका छन । यसै बिच पानी खान नपाएर जिल्लाका देवाही गाेनाही नगरपालिका वडा नम्बर २  स्थित एउटा जंगली चाैपाया घाेड गदहा मृत अवस्था फेला परेकाे पत्रकार कमल यादवले वताए ।

प्रकृतिक खाेला नदि सुकि सकेका कारण जंगली जनावर छाडा पशु पंक्षि पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले बताए । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरि पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउन पत्रकार यादवले मध्यान्ह दैनिक मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । लाल बकैया नदिको दायाँ बायाँ करिब ५ /५ किलो मिटर दुबै तर्फ दुरीमा निजी तथा  सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चाैपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।

पानीको समस्या मधेशमै बढदै गएको बताउदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसाे हैण्पाईप सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चाैपाया तथा  जंगली जनाबर चराचुरुङ्गीलाई आफुले स्थानिय स्तरबाट जन श्रमदान गरि सुकि सकेको  लाल वकैया नदिमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।न्युज कारखाना

वीरगञ्ज, १७ बैशाख । नेकपा एमाले पर्साको ९औं जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको छ। वीरगञ्जको लालबंगलामा अधिवेशनको उद्घाटन सत्र सुरु भएको हो।1271f2cb-b55a-487f-930e-bec0f29ea484-1714381123.jpg

पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षता एवम् एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सुरु भएको छ।9719750d-cdb6-468c-b665-83fd072b52b1-1714381156.jpg

उदघाटनसत्रमा एमालेका सचिव  योगेश भट्टराई, सांसद राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवकोटा,जुली महासेठ, लिला श्रेष्ठ, सुमन पोखरेल, संविधानसभाका सदस्य बिचारी यादव, मधेश प्रदेशका शिक्षा मन्त्री प्रमोद जयसवाललगायतकाले शुभकामना मन्तव्य गरेका थिए। कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए। न्युज कारखाना

वीरगन्ज, १६ बैशाख । वीरगन्ज महानगरपालिकाले एक्सेल कलेजको नाममा अवैधरूपमा सञ्चालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरिएको छ। शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि सिलबन्दी गरेको हो।

महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँभन्दा फरक ठाउँमा अवैधरूपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल गरिएको हो।’

कंचनजंघा इंग्लिस स्कुल र ज्ञानबाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गर्दै वीरगंजको वडा नम्बर ११ मा एक्सेल कलेजको नाममा महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था संचालन गरेको भेटिएपछि त्यसमा सिल लगाइएको शिक्षा अधिकृत लामिछानेले जानकारी दिए। गएको वर्ष पनि महानगरले विभिन्न ९ वटा शैक्षिक संस्थामा सिलबन्दी गर्दै जरिबाना असुल गरेको थियो।

‘विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा कंचनजंघा र ज्ञानबाटीका बोर्डिङ स्कुलको हुने तर पढाइ हुने फरक भवनमा विद्यालयको राखिएको नाम, विद्यार्थीको आइडी कार्ड, लगायत एक्सेल कलेज किर्ते नाममा चलेको पाइयो। जुन नाम महानगरपालिकामा दर्ता छैन,’ उनी भन्छन्, ‘दर्ता नभएपछि महानगरपालिकाले चिन्ने कुरा आउँदैन यस्ता नचिनिएका अवैधानिक विद्यालयहरू शैक्षिक सत्रको सुरुवातबाटै सिल गर्न सुरु गरेका हौं।’

महानगरपालिकाले दर्ता नभई सञ्चालन भइरहेका छद्म नामका कलेज, मन्टेसरी, कोचिङ सेन्टर, कन्सल्टेन्सी पनि सिल गर्ने तयारी गरेको छ। आइतबार सिलबन्दी गर्न नियमन समितिका संयोजक इश्वरचन्द्र यादब, नगर प्रमुखज्यूको जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा अधिकृत आनन्द लामिछाने, नगर प्रहरी इन्चार्ज हरि भुषाल लगायतको टोली पुगेको थियो।न्युज कारखाना

 

रौतहट १८ बैशाख। रौतहटको राजदेवी नगरपालिका स्थित आज बिहान एक घरमा भएको आगलागी बाट झण्डै १२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

 

राजदेवी ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा सिंहको जस्ताले छाएको ४ कोठे पक्की घरमा खाना पकाउने चुलोबाट सल्किएर आज बिहान करिब पौने २ बजे अचानक आगलागि भएको थियो। आगलागबाट घरमा रहेको मोटरसाईकल १ थान, साईकल ३ थान, १ लाख बराबरको लत्ताकपडा, गहुँ २५ सय मिलिग्राम, धान १ हजार किलोग्राम, चामल १ हजार किलोग्राम,२ लाख बराबरको सुन चँदीको गहना,नगद एक लाख, घर १ वटा ४ लाखगरी कुल ११ लाख ७३ हजार पाँच सय बराबरको धनमाल जलेर नष्ट भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।

 

घटना लगत्तै सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवाबाट सई सुवाष खत्रीको कमाण्डमा ११ जना ,प्रहरी चौकी लक्ष्मीपुर बेलविछवाबाट असई हृदेश राउतको कमाण्डमा ४ जना, गौर नगरपालिकाको दमकल र स्थानियको सहयोगमा उक्त आगो बिहान साढे २ बजेको समयमा पुर्ण रुपमा नियन्त्रण हुँदा ठूलो क्षतीबाट जोगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

घटनामा मानविय तथा पशु चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। गर्मी संगै तातो हावा चल्न सुरुभए यता पछिल्लो समय जिल्लामा दैनिकजसो भईरहेको आगलागीबाट दर्जनौं घर गोठ, लता कपडा, अन्नपात जलेर करोडौं बराबरको क्षती भएको अनुमान गरिएको छ।न्युज कारखाना

वीरगन्ज, १८ वैशाख । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ ।

 

झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो ।

 

गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको स्रोतको दाबी छ । उनको साथबाट प्रहरीले लागूऔषध समेत बरामद गरेको बुझिएको छ । पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको पर्सा प्रहरीका एक जना उच्च अधिकारीले पुष्टि गरे ।

 

बब्लु पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन् । २०७९ असोज ३ गतेका दिन काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली हालेर मोहम्मद मारिएका थिए ।न्युज कारखाना

 

महोत्तरी, १५ बैशाख ।  महोत्तरीका पत्रकार विशाल बस्नेतलाई समाचार संकलनको क्रममा गरेको दुर्ववहारलाई लिएर पत्रकार संमद्व संस्थाहरुले निन्दा गरेका छन ।

एविसी टेलिभिजन महोत्तरी संवाददाता तथा न्यजकारखाना महोत्तरी प्रतिनिधि बस्नेतलाई नदीजन्य उत्त्खननको रिपोर्ट संकलन गर्ने क्रममा भएको दुर्व्यवहारलाई लिएर आधा दर्जन संस्थाहरुले भत्सर्ना गरेका हुन ।

 

नेपाल पत्रकार माहासंघ महोत्तरी शाखा, बर्दिवास नगरपत्रकार संजाल, चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाज लगायतका संस्थाहरुले
सार्वजनिक सरोकारका विषयमा चिन्ताचासो लिने जिम्मेवार व्यक्तिमाथि असामाजिक तत्वबाट भएको दुर्ववहार अस्वीकार्य, निन्दनीय र दण्डनीय भएको भन्दै आपत्ती जनाएका हुन ।

गत शुक्रवार समाचार संकलनको क्रममा रातु नदीको ड्याम नजिकै जिल्ला समन्वय समितिका संयोजक सुमनलाल कर्णसहित पुगेका पत्रकार बस्नेतको संचार समाग्री खोस्ने र हस्तक्षेप गर्ने आफुलाई प्रकाश खडका भन्ने ब्यक्तिले गरेका थिए ।

यसले जनताको सुसूचित हुने हक तथा स्वतन्त्र र बाधारहित ढंगले समाचार संकलन गर्ने पत्रकारको हकमाथि समेत कुठाराघात भएको संस्थाहरुले ठहर गरेका छन ।

 

चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजले चुरे तथा चुरे नदी प्रणालीबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका प्राकृतिक स्रोतको अवैध र जथाभाबी दोहन गर्नेहरूको मनोबल केही समययता संगठित तथा सामाजिक अपराध समेतलाई प्रश्रय दिनेगरी उच्च हुँदै गएको दुर्भाग्यपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा कम लगानीमा अत्यधिक नाफा हुने यस्तो अवैध कार्यमा संलग्न भएकाहरूमध्ये अधिकांशले कानुन, नियम तथा मापदण्ड नपछ्याउने र नियमन गर्ने निकाय र संयन्त्रलाई प्रभावित गर्नेदेखि डरधाक एवम् त्रासमा राख्ने नानाथरीका काम गर्दै आएको उल्लेख गरिएको छ ।

यसैगरी नेपाल पत्रकार माहासंघ महोत्तरीले पत्रकार बस्नेतप्रती भएको आक्रमणको कडा निन्दा गर्दै राजनीतिक तथा सामाजिक बलप्रभाव भएकाहरूकै प्रत्यक्ष परोक्ष संलग्नतामा नदीजन्य पदार्थको अनुचित दोहन भइरहेकाले यसलाई रोक्न तथा कानुनसम्मत बनाउन राज्यसंयन्त्र चुकिरहेको अवस्थाप्रती गम्भीर चिन्ता ब्यक्त गरेको छ ।

 

संविधान तथा कानुनअनुसार प्राकृतिक स्रोतको व्यवस्थापन तथा नियमनसम्बद्ध कार्य गर्ने अधिकारप्राप्त जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णकै सामु   पत्रकार विशाल बस्नेतलाई बर्दिवासको किसाननगरस्थित उत्खनन्स्थलमा समाचार संकलन गर्नबाट रोक्न दुष्प्रयास गरिएको थियो ।

 

आफूलाई मनकामना क्रसर उद्योगका सञ्चालक बताउने प्रकाश खडकाले एबिसी टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार बस्नेतको क्यामरा खोस्ने, गालीगलौज तथा धम्की दिने लगायत अत्यन्त अभद्र र अराजक हर्कतप्रती बर्दिवास नगर पत्रकार संजालले समेत दु: ख ब्यक्त गरेको छ ।

सजिलोगरी धनार्जन गर्ने माध्यम बनेको नदीजन्य पदार्थको अवैध दोहनका विषयमा समाचार वा जानकारी वितरण निषिद्ध गर्नेगरी गुन्डागर्दीमा उत्रिएका खडका मौजुदा दण्डहीनताको स्थितिको उपज भएको पत्रकार संवद्व संस्थाहरुले ठहर गरेका छन ।

नदीजन्य पदार्थको दोहनजस्ता कुकृत्यलाई क्यामरामा कैद गरिरहेका पत्रकार बस्नेतमाथि उत्तेजना, आवेग र आक्रामक भई झम्टिन खोजेका र शारीरिक तथा भौतिक क्षति पुर्याउने नियत नै राखेका खडकालाई तत्काल नियन्त्रणमा लिई कानुनअनुसार दण्डसजाय दिलाउन अभियोजन गर्न  पनि माग गरिएको छ ।

 

साथै, उत्खनन्स्थल अवलोकन गर्न पुगेका जिसस महोत्तरीका प्रमुख कर्णमाथि समेत क्रसर व्यवसायी भन्ने खडकाले अपमानजनक व्यवहार गरेकोमा विज्ञप्तिमा घोर निन्दा गरिएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।