२०८३ बैशाख ११
२०८३ बैशाख ११

 

रौतहट- रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ।

स्थानीय देवाही गोनाही नगरपालिका-७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडाले ज्यान सम्बन्धी मुद्दा दायर गरेको हो।

आरोपीहरूले विद्युतको पोलबाट जथाभावी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागेर गत सोमबार दिउँसो देवाही गोनाही-७ का ४५ वर्षीय चुनिलाल पासवानको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको थियो।

पासवानको मृत्युपछि उनका आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलबार रामदरेश र गुल्टेनमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

गत सोमबार दिउँसो १ बजेर २० मिनेटमा करेन्ट लागेलगत्तै प्रहरीले पासवानलाई उद्धार गरी तत्काल उपचारको लागि शिवनगरस्थित एक निजी अस्पतालमा लगेकोमा उपचारको क्रममा मुत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले घटनालगत्तै पासवानको खेत हुँदै विद्युतको तार लगेका रामदरेश राय यादव, गुल्टेन राय यादव फरार रहेकाले उनको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

रौतहटमा आफ्नो खेतमा पानी पताउन जथाभावी रुपमा विद्युत पोलबाट लागेको तारबाट करेन्ट लागेर वर्षेनी कैयौं मानिसको मृत्यु हुने गरेको पाइएको छ।न्युज कारखाना

 

वीरगन्ज- वीरगन्जमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारको टोलीको सक्रियतामा एकै दिनमा झण्डै १५ लाख रुपैयाँको भन्सार छलीको सामान बरामद गरिएको छ।

प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख डिएसपी सुरज रिजालको कमाण्डमा गएको गस्ती टोलीले भन्सार क्षेत्रबाट भारतीय नम्बरको स्कुटीमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १ लाख ४३ हजार बराबरको अबैध सामान मंगलबार बरामद गरेको छ।

त्यस्तै, बिशेष सूचनाको आधारमा डिएसपी रिजाल, वीरगन्ज भन्सार कार्यालयका नायब सुब्बा विष्णुप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय पर्साका इन्स्पेक्टर विजय चौहानलगायत सशस्त्र प्रहरीको विभिन्न युनिटबाट गएको टोलीले वीरगन्ज-१६ स्थित रिमा अग्रवालको घरको दोस्रो तलामा भगवान यादवको  गोदाममा छापा मारेको थियो।

गोदाममा अवैध रुपमा भण्डारण गरिएको तीन लाख, १८ हजार ८०० बराबरको मल, सिलाउने मेसिन २ थान बरामद गरेको छ।

संयुक्त टोलीले मंगलबार साँझ वीरगन्ज-२ छपकैयामा भण्डारण गरिराखेको १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरीका डिएसपी सुरज रिजालले जानकारी दिएका छन्।

झण्डै १५ लाख बराबरको बरामद अबैध सामानहरू मंगलबार अबेर साँझ वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रस्तावित गुल्मले जनाएको छ।न्युज कारखाना

 

३१ असार, महोत्तरी 

रौतहट चन्द्रपुरका लक्षमण अधिकारी पहिलेदेखि नै होटल सम्बन्धि  सिप सिकेर आत्मनिर्भर वन्न चाहन्थे । युवाअवस्थामा  कुक सिकेर नेपाल कै कुनै ठुलो होटलमा काम गर्ने रहर वनाएतापनी अधिकारीको सपना पारिवारिक जिम्मेवारीका कारण पुरा हुन सकेको थिएँन  ।

तर न्याथम कलेजको सम्पर्कमा आएपछि उमेरले ४० काटेपनि अधिकारीका रहर र सपनाहरु पुन: जीवित वनेका छन  । कलेजले प्रदान गरेको ३ महिने तालिमपछि उन्ले कुक सम्बन्धी सैद्वान्तिक ज्ञान मात्र सिकेनन यथेष्ठ प्रयोगात्मक प्रयोगको कारण पूर्ण कुक वनेका छन ।

अधिकारीलाई अहिले आफ्नै होटल खोलेर आत्मनिर्भर वन्ने मात्र हैन नेपालका कुनैपनि होटलमा अवसर प्राप्त भए प्राप्त सिप र दक्षतालाई उत्कृष्ट पर्दशन गर्ने आत्मविश्वास समेत वढेको छ । ‘न्याथम कलेजको प्रयोगशालासँगै दिईने तालिमले जोकोहीलाई आत्मविश्वास मात्र हैन केही गर्ने हुटहुटी जगाउछ ।’ अधिकारीले भने ।’न्याथम कलेज होटल समबन्धि सिप सिक्नेहरुको लागि देश कै उत्कृष्ट सिक्षालय रहेछ ।’

४० बर्ष उमेर पुगेपछि पुराना रहर र सपनाहरुलाई पुन:जिवित वनाएका अधिकारीको कथा मात्र हैन कलेजले ३ महिना अगाडी सुरु गरेको ६ वटा तालिम लिएपछि यस्मा सहभागी १३१ जनामा उस्तै आत्मविश्वास भरिएको छ  ।

रहर भएतापनि विविध वाध्यताका कारण पुरा गर्न नसकेका, भबिष्यको अन्यौलताका कारण दुविधाले उदेश्य निर्धारण नभएका, सिप सिकेर प्रदेश जान चाहने र स्वदेशमा नै वसेर आत्मनिर्भर वन्न चाहनेहरुको लागि यो अवधी सवैको लागि सर्वाधिक उर्वर वनेको छ ।

५ बर्ष अगाडी कोरियावाट फर्किएपछी मिथिला धनुषाका चन्देश्वर क्यापछाकीलाई पनि स्वदेशमा के गर्ने होला भन्ने उत्तिकै दुविधा थियो । केहि पैसा कमाएर ल्याएतापनि स्वदेशमा कुनै सम्भावना नदेखेपछि पुन: प्रदेश नै फर्कने योजना वनाईरहेका क्यापछाकीको योजनामा अहिले पूर्णविराम लागेको छ । ‘धेरै शिप सिकियो तर यत्तिको प्रोगात्मक शिप लिएर पहिलो पटक तालिम लिईसक्दा नै दक्ष भएको महसुस गरेको छु ।’ उन्ले भने । ‘याँहा कुक सिक्दासिक्दै आफै केही गरौ भन्ने हुटहुटी जागेको छ ।’

१ दशकसम्म कतार र मलेशियामा रोजगारी गर्दै आएका वारा कलैया उपमाहानगरपालिकाका फैज आलम अन्सारीलाई पनि ३ महिने तालिम लिएपछि पूर्ण स्वरोजगार वनेको महसुस भएको छ । शिप समबन्धि तालिमको नाममा स्थानीय सरकारले करौडौ खर्च भएको वताउदै न्याथमले दिने तालिमवाट केही सिक्न उन्ले सुझाव दिए ।

‘अव विदेश जानै पर्दैन मलाई । याँहा सिकेपछि सिक्दा-सिक्दै अफरहरु आउदो रहेछ । यो संस्थामा जोडिएर सिक्न पाउदा गर्व महसुस गरेको छु ।’ उन्ले भने । ‘अव मधेशका केही ठुला होटलवाट अफर आएको छ काम गर्छु ।’

राज्यले करौडौ खर्च गरेर शिप सिकाउने तर उक्त शिपको प्रयोग नहुने संस्कार वनिरहेको वेला नेपाल पर्यटन  तथा होटल व्यवस्थापन प्रतिष्ठानले दिने हरेक शिपहरु त्यस्को विपरित रहेको होटल व्यवसायी गुन्ज वहादुर कार्की वताउछन ।

आईतवार ३ महिने तालिमपछि समापन कार्यक्रममा बोल्दै अथितिहरुले होटल तथा पर्यटन क्षेत्रमा न्याथम नेपाल कै अग्रणी सिक्षालय भएको वताए । होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले न्याथम कलेजको महत्व थाहा नपाउदा अझै ओझेलमा परेको गुनासो गरे ।

याँहा पढेका विध्यार्थीहरु अहिले पनि मध्यपूर्वी देश र युरोपियन देशहरुमा प्रयोगात्मक सिकाईका लागि जाने गर्छन । ‘पढ्दै कमाउदै भन्ने उदेश्यलाई न्याथमले जहिल्यै आत्मासाथ गरेको वताउदै न्याथम कलेज बर्दिवासका प्रमुख सिवेन्द्र मल्लिकले याँहा पढेका विद्यार्थीहरु कोहीपनि वेरोजगार नहुने दावी गरे ।

होटल म्यानेजमेन्टको लागि देश कै उत्कृष्ट मानिएको यो कलेज संस्कृति, पर्यटन तथा उडयन  मन्त्रालय अन्तर्गत संचालित छ । मधेश प्रदेशमा नै पहिलोपटक  ५ वर्ष अगाडी मात्र संचालनमा आएको यो कलेजले होटल तथा पर्यटनका क्षेत्रमा विभिन्न शिपमुलक तालिमका साथै शैक्षिक पाठयक्रम तयार गरेर ब्याचलर अफ होटल म्यानेजमेन्ट समेत पठनपाठन गराउदै आएको छ ।

श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेश सरकारसँगको सहकार्यमा संचालित शिपमुलक तालिममा आधारभूत खाना तयारी(कुक), वेटर, बारिश्टा, बेकरी, हाउस किपिंङ्ग, स्थानीय पर्यटक पथपर्दशक गरी ६ वटा तालिम संचालम भएको थियो ।न्युज कारखाना

मानव अधिकार एलाईन्स बाराले बारामा मानव अधिकारको अवस्था विषयमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्नो २५औँ स्थापना दिवसको अवसर पारेर बाराको निजगढमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमका सहभागीहरुहले बारा जिल्लामा मानव अधिकार हननका घटना व्यापक रुपमा बढेको बताएका थिए ।

पछिलो समय जिल्ला सदरमुकामनजिकै भएको हत्याको घटना र अन्य हिंसाका घटना भएको आधारमा सहभागीहरुले जिल्लामा मानव अधिकार हननका घटना बढेको बताएका हुन ।

संविधान सभाका सदस्य एवंम नेकपा एमालेका केन्द्रीय सदस्य बलवीर चौधरीको विशेष उपस्थितिमा भएको सो कार्यक्रम नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रीय सदस्य कृष्ण लामा, एमालेकी नेता टिना सुवेदीलगायतको उपस्थिति रहेको थियो । मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण श्रीराम साहले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तिर्थराज गौतमले गरेका थिए ।न्युज कारखाना

रौतहट,२९ असार । राष्ट्रिय वन क्षेत्रमै धमाधम पक्की संरचनाभन्दा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यानाकर्षण हुनसकेको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको बागमती, पौराही स्थित ब्रह्मस्थान जाने बाटो र चन्द्रनिगाहपुरबाट जुडिबेला जाने बाटोको राष्ट्रिय वन क्षेत्रमा शौचालयको नाममा धमाधम पक्की संरचना भन्दा समेत डिभिजन वन कार्यालयले कुनै चासो नलिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

जङ्गल क्षेत्रमा पक्की शौचालय बनाउनका लागि कहाँबाट बजेट आयो भन्ने कुरा समेत सर्वसाधारणले थाहा पाउन सकेका छैनन् ।

राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनेको विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले आफूले सो विषयमा बुझ्ने बताएका छन् ।

स्थानीयका अनुसार डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन कार्यालयका प्रमुख अनिल महतोकै मिलो मलेमतो राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

राष्ट्रिय वन क्षेत्रमै पक्की संरचना बनाउँदा समेत डिभिजन वन कार्यालयले त्यसलाई रोक्ने तर्फ ध्यान नदिएका कारण शौचालय बनाउने उपभोक्ता समितिले शौचालयको आधा काम पनि नगरी भुक्तानी लिइसकेको स्थानीयको दाबी छ ।

चन्द्रनिगाहपुर , पौराही र बागमतीमा बनेको शौचालयको उपभोक्ता समिति एउटै रहेको छ ।

शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश पण्डितले सो शौचालय निर्माणको बजेट प्रदेश सरकारको भएपनि कुन मन्त्रालय मार्फतको बजेट हो भन्ने कुरा आफूलाई थाहा नभएको बताएका छन् । स्थानीयले भने चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले बजेट ल्याएर उपभोक्ता समिति बनाएर काम गरिरहेको बताएका छन् । सो विषयमा बुझ्नका लागि वडा अध्यक्ष राउतलाई पटकपटक सम्पर्क गर्दा उनको फोन उठेन । सर्वसाधारणले छिसरिक्क काँचो दाउरा ल्याउँदा मुद्दा चलाउने डिभिजन वन कार्यालयले आफ्नै कार्यालय अगाडि राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनाउँदा समेत कानमा तेल हालेर बस्नु गम्भीर विषय भएको स्थानीय बासिन्दाको बुझाइ रहेको छ । पौराइमा रहेको सबडिभिजन वन कार्यालयको छेउमा र चुडीबेला स्थित सबडिभिजन कार्यालयकै अगाडि राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनाइरहँदा समेत सहायक वन अधिकृत अनिल महत्वले देखेको नदेखे झैँ गर्नुले समेत वन कर्मचारीकै मिलोमतोमा राष्ट्रिय वन क्षेत्रमा पक्की संरचना बनेको सर्वसाधारणको बुझाइ रहेको छ ।

सो विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले समाचार नलेखिदिन र आफूले काम रोक्नका लागि पत्र काटेको भए पनि उपभोक्ता समिति र जनप्रतिनिधिले अटेर गरेको जानकारी दिए ।

रौतहटको राष्ट्रिय वन क्षेत्रमा विभिन्न बहानामा पक्की संरचना बनाउँदै जाने र वन मासेर खेतीयोग्य जमिन बनाउने क्रम बढ्दै गएको भएपनि डिभिजन वन कार्यालय रौतहटले त्यसतर्फ खासै चासो नदिँदा रौतहटको राष्ट्रिय वन दिन प्रतिदिन मासिँदै जान थालेको छ ।

न्युज कारखाना

सिरहा, २९ असार। सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो।

चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए।

खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो।

जानकारी पाएलगदै जोवहा सैनिक गण परिसरमा रहेको जयकाली शर्पदंश उपचार केन्द्रमा पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएको बताए।  लगतै कर्जन्हा पुर्याएपनि उनको उपचार हुन सकेन।

खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ। उनी चोहर्वामा बसेर विडी बनाउने काम गर्दै आएका थिए।न्युज कारखाना

बाराको पुर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६  मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।

केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्दार गरी उपचारका निम्ती सिमरा अस्पतालमा पठाईएको छ भने घाइतेहरुको पहिचान अझैसम्म खुल्न सकेको छैन।न्युज कारखाना

 

रौतहट- रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ।

जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ।

घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा संलग्न दुई युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बौधीमाई नगरपालिका-१ बौधापतौरा गाउँ घर भई हाल इशनाथ-३ स्थित आफ्नै मामाघर बस्दै आएका १८ वर्षीय दशई साह र उनका साथी स्थानीय १९ वर्षीय रोशन साह रहेको प्रहरीले जनाएको छ।

मंगलबार राति पक्राउ परेका चार जनामध्ये अनुसन्धानपछि बुधबार दुई जनालाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो। आरोपी दुवै जना मिलेर इशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

डिएसपी गिरीका अनुसार मंगलबार राति सौच गर्न गएको मौका छोपी आलमलाई नजिकैको आँपको बगैंचामा दशईले पछाडिबाट अनुहार-टाउकोमा रड प्रहार गरेको र उनी भुइँमा लडेपछि रोशनले पेटमा दुई पटक छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको एक दिनअघि मृतकका आफ्नै भाइ १० वर्षीय साबिर मियाँ आलमसँग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई दुई-चार थप्पड हानेका थिए।

सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए।

आरोपी दुवै जनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।न्युज कारखाना

 

२६ असार, महोत्तरी 

वरपर कलात्मक रंगोरहण, भित्तामा थरीथरीका फूलका विरुवाहरु, गोलो वनाएर वनाइएको रेलिंङ्ग ।  महोत्तरीको पंचधुरा मन्दिर नजिकै  २४ सय स्क्वायर फिटमा वनाईएको  पोखरी आजकाल पर्यटन लोभ्याउने आकर्षक गनतव्य वनेको छ ।

दैनिक हजारौ मानिसहरुको  आवतजावत हुने बर्दिवासस्थित पंचधुरा मन्दिरमा दर्शन गर्नेको जति घुईचो हुन्छ त्यति नै फोटो खिचाउनेहरुको भिड लाग्ने गर्दछ । पछिल्लो समय भूमिगत पानीको सतह घटेपछि याँहा रहेको सदावहार सिमसार समेत मरुभूमि वन्ने अवस्था सिर्जना भईरहेको वेला  पानीलाई जम्मा गरेर सौन्दर्यकरण गर्ने उदेश्यले वनाईएको यो पोखरी धार्मिक पर्यटकका लागि आकर्षण वनेको हो ।

पर्यटन तथा सांस्कृतिक पर्वद्वन समिति बर्दिवासले लगभग ३० लाख लागतमा निर्माण गरेको  पोखरी मन्दिरमा दर्शन गर्न आउने  पर्यटकलाई  आकर्षक गर्ने थलो मात्र वनेको छैन पोखरी हेर्न आउने स्थानीयहरुलाई घुम्ने र समय विताउने उपयुक्त गन्तव्य समेत वनेको छ ।

‘धार्मिक तीर्थयात्री  र वनभोजका लागि बहुचर्चित यो ठाँउ अव्यवस्थित देखिन्थ्यो तर पोखरी निर्माणले याँहाको महत्वलाई थप उचाई थपेको छ ।’ स्थानीय सोम वहादुरले भने । ‘भएका ठाँउहरुलाई थप सौन्दर्यकरण गरे बर्दिवास नगर क्षेत्रका कंयौ ठाँउहरु यस्तै आकर्षक वन्न सक्छन ।’

छोटो समयमा नै निर्माण सम्पन्न गरिएको यो पोखरी दृश्यावलोकनका लागि सर्वाधिक रोजाई वनेपछि थप पर्वद्वन र संरचना निर्माणमा हौसाएको निर्माण समितिका अध्यक्ष तथा पर्यटन तथा संस्कृति पर्वद्वन समितिका सदस्य  बिष्णु थापाले वताए ।

मिथिला क्षेत्रकै प्रसिद्ध देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर परिसरमा रहेको यो ठाँउ  पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेपछी  पुग्न सकिन्छ । सँगै जोडिएको मन्दिरको समेत आफ्नै प्राचिन इतिहास छ । अझ रोचक त जंग वहादुर राणा र याँहाको सम्बन्धको बिषयमा जहिल्यै चर्चा हुने गर्दछ ।

जंग वहादुर राणा सिकार खेल्न यो ठाँउमा गएको वेला सेतो वाघ देखेको र सिकार गर्न खोजेपछि उन्को मृत्युको कारण समेत यही वनेको स्थानीयहरु वताउछन । सोही सेतो बाघ देवी रहेको पनि सोहीवेलादेखि भन्ने गरिन्थ्यो यस्का साथै ३ मुखे र पाँच मुखे सर्पका कारण पनि पंचधुरा माई नाम रहन गएको किवद्वन्ती छ । यस्तो खालको सर्प अहिले पनि वेलावेलामा देखिने स्थानीयहरू वताउछन ।

धार्मिक र प्राचिन महत्व रहेको मन्दिर परिसरमा पोखरी लगायत अन्य संरचना निर्माण गरेर आकर्षक वनाए मानिसहरुको आवतजावत र प्रचारप्रसार हुन सक्ने र सोहीअनुसार आफुहरु लागीरहेको पर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले वताए । स्थानीय सरकारले धार्मिक, प्राचिन र पुरातात्त्विक महत्व वोकेका ठाँउहरुको पहिचान गरी थप पर्यटकीय पर्वद्वन गर्न योजना वनाईरहेको गौतमको भनाई छ ।

अझै मन्दिर क्षेत्रमा १३ बिघाभन्दा बढी क्षेत्रफल छ जस्लाई धार्मिक पर्यटकहरुलाई थप आकर्षित गर्न वालउधान, फनपार्क जस्ता परियोजनाहरुको परिकल्पना गर्न सकिने वताउदै स्थानीय सरकारको परिकल्पनामा आधारित दिर्घकालिन विकासमा ध्यान जान आवस्यक रहेको स्थानीयहरू वताउछन ।न्युज कारखाना

 

 

 

रौतहट- रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ।

इशनाथ-९ लवातना गाउँका करिब १८ वर्षीय सहबाज मियाँ आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

इशनाथ २ औरेयास्थित गेटअगाडि आँपको बगैंचामा युवक घाइते अवस्थामा देखेर गए राति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरेयाबाट इन्स्पेक्टर दिलबहादुर महराको कमाण्डमा सात जनाको संयुक्त घटनास्थलमा पुगेको थियो।

प्रहरी टोली घटनास्थल पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।

जघन्य किसिमले युवकको हत्या गरिएको उनले बताए। राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो।

प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलबार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो।

हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन्। पक्राउ परेका चारै जना मृतकका साथी हुन् र उनीहरू लागुऔषध प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ।

हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भारतीय सीमासँग जोडिएको रौतहटका गाउँहरूमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ।

गरीब तथा विपन्न परिवारका आमाबाबु खेतबारीमा काम गर्न गएको समय उनको छोराहरू भारतीय बजार पुगेर त्यहाँबाट सस्तो नशालु ट्याबलेटदेखि गाँजासमेत ल्याएर प्रयोग गर्नेगरेको स्थानीयहरूले बताएका छन। लागुऔषध प्रयोगकै कारण पछिल्लो समयमा जिल्लामा आपराधिक क्रियाकलापमा बृद्धि भएको जानकारहरूले बताएका छन्।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।