२०८३ बैशाख ९
२०८३ बैशाख ९

आरके श्रीवास्तव,रौतहट,०४ गते फागुन ।
रौतहटको मध्य भाग गरुडामा आज राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम भेला सम्पन्न भएको छ । सो पार्टीका जिल्ला अध्यक्ष प्रदिप साहको अध्यक्षतामा नगर भेला बोलाइएको थियो । भेलाबाट नगर कमिटि र विभागहरु गठन गरिएको छ ।
भेलाले गजेन्द्र महतो कोइरी उर्फ रामाशंकरको नेतृत्वमा ११ सदसीय नगर कमिटि गठन गरेको हो । जसको उपसभापतीमा सोमरीया देवी राम,सचिवमा संजय यादव,कोषध्यक्षमा धर्मेन्द्र साह रहेका छन् ।
सदस्यहरुमा राहुल कुमार सहनी,बद्री महरा,विरेन्द्र महरा,शिवा कुमार राम लगायतका व्यक्तीहरु रहेका छन् । साथै भेलाबाट रैपिट एक्सन टिम पनि गठन गरिएको छ । जसमा संजित कुमार सहनी,अनिल कुमार सहनी लगायतका व्यक्ती रहेका छन् ।
सभापतीमा चयन भएका महतो गरुडा नगर उधोग वाणिज्य संघको सदस्यमा पनि निर्वाचित व्यक्ती हुन् । सभापतीमा चयन भएपछि प्रतिक्रिया दिदै महतोले व्यवसायीको नेताको रुपमा मलाइ अगाडी बढाएकै हुन् । अब राजनितीक क्षेत्रमा पनि यस्तै साथ र समर्थन पाउनेमा आफूआशावादी रहेको बताएका छन् ।
गरुडामा राष्ट्रिय स्वतन्त्र पार्टीको गतिविधीलाइ तिव्र रुपमा अगाडी बढाउने महतोको भनाइ छ ।

आरके श्रीवास्तव,रौतहट,०४ गते फागुन ।
रौतहटको गरुडा नगरपालिकामा भएको सुरक्षित नागरिक आवास प्रकरणमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आज ध्यानाकर्षण पत्र बुुझाइएको छ । सामाजिक अभियन्ता शैलेन्द्र यादवले विभिन्न चार बुँदे ध्यानाकर्षण पत्र तयारपारी बुुझाएका छन् ।
आइतवार रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवलाइ सो ध्यानाकर्षण पत्र बुझाएको अभियन्ता यादवले बताएका हुन् ।


गरुडा नगरपालिका वडा नम्बर ४,५,८ र ९ मा “सुरक्षित नागरिक आवास” अन्तर्गत रकम असुल गरेको घटनाको सत्य तथ्य रुपमा छानबिन तथा कारवाही गरिदिन सो पत्र बुझाइएको अभियन्ता यादवले बताएका हुन् ।
ध्यानाकर्षण पत्रमा अभियन्ता यादवले विभिन्न व्यक्तीहरुको नामै किटान गरि ५ हजार देखि १० हजार रकम असुल गरेको आरोप लगाएका छन् । जसको सबुत प्रमाण आफूसँग रहेको प्रष्ट पारेका छन् ।
गरुडा नगरपालिकामा लाभग्राही सँग पाँच हजारका दरले रकम असुल गरिएको कुराले अहिले तातेको छ । गरिब विपन्नको नाममा आएको रकममा पनि केही व्यक्तीहरुले गिद्धेनजर राखि पैसा असुल गरेको पिडितहरुले बताइरहेका छन् ।
यता गरुडा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलमले भने कसले पैसा उठाएको हो यसबारे आफूलाइ केही जानकारी नभएको बताइरहेका छन् । भिडियो अडियो संवाद बाहिर आउँदा पनि नगरपालिकाले अनभिज्ञता प्रकट गरिरहेको छ ।

 

काठमाडौं, ०४ गते फगुन २०८१ ।

पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-१ का २२ वर्षीय नेहाल कुमार रहेका छन्।

वीरगन्ज महानगरपालिका-८ स्थित लिंक रोडबाट कुमारलाई आइतबार दिउँसो पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले टोलीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो।

कुमारको साथबाट नगद १० लाख रुपैयाँ बरामद भएको एसपी मिश्रले बताए। कुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको एसपी मिश्रले बताए।

‘रकमको स्रोत खुल्न नसकेपछि कुमारलाई पक्राउ गरी अनुसन्धान थालिएको छ,’ मिश्रले भने।

प्रहरीका अनुसार हुन्डी कारोबारले बैंक तथा वित्तीय कारोबारको दायित्व पूरा गरेको हुँदैन। राष्ट्र बैंकले लागू गरेको बैंकिङ प्रणालीभित्रबाट कारोबार नहुने भएकाले यस्तो कारोबारलाई ‘गैरकानुनी’ मानिएको हो।

नेपालमा बस्ने तर भारतीय व्यक्तिहरू समेत यो कार्यमा संलग्न हुने गरेका छन्। हतार-हतारमा कुनै कारोबार गर्नुपर्दा उनीहरू एजेन्टमार्फत् व्यक्ति-व्यक्तिका हातमा रकम पुर्‍याइदिने चाँजो मिलाउँछन्।

‘हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध माध्यम हो, दुबै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार गरिने गरिएको छ,’ एसपी मिश्रले भने।

हुन्डीको प्रमुख स्रोत रेमिट्यान्सलाई मानिने गरिए तापनि नेपाल-भारत सीमामा यस्तो कारोबार गर्नेहरू अत्यधिक छन्।

यस्तो कारोबार गर्नेहरूलाई राष्ट्र बैंकको वित्तीय ऐनका साथै सम्पत्ति शुद्धीकरण प्रयोजनार्थ समेत अनुसन्धान गरिने गरिएको छ । न्युज कारखाना

 

रौतहट – 

सशस्त्र प्रहरीका उपरीक्षक (एसपी) विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटको प्रमुखको रूपमा कार्यकाल सफल भएको जिल्लाबासीले अनुभूति गरेका छन् भने चौतर्फी उपलब्धी देखिएको छ।

एसपी हुमागाईंको एक वर्षे कार्यकालमा अबैध सामान बरामद, हुण्डी कारोबारी पक्राउ, अबैध लागुऔषध कारोबार नियन्त्रणदेखि सामाजिक काममा पनि त्यतिकै योगदान देखिएको छ।

एसपी हुमागाईंले २०८० साल फागुन ६ गते जिल्लाको कमाण्ड सम्हालेका थिए।

उनको कार्यकालमा कुल ५ करोड, ६६ लाख,४१ हजार, ८८४ बराबरको अबैध सामान र सामान ओसार-पसारमा प्रयोग गरिएको २ थान पिकअप, १ थान सफारी, १ थान बोलेरो, १ थान भ्यान, १ थान अटो रिक्सा, १७२ थान मोटरसाइकल र ३३ थान साइकल बरामद भएको थियो। उक्त रकम र सामान आवश्यक कारबाहीको लागि सम्बद्ध निकायमा पठाइएको थियो।

सोही अवधिमा हुण्डी कारोबारीबाट ४९ लाख,१४ हजार ७४० रुपैयाँ, जिल्लाको बिभिन्न स्थानबाट २ थान सेमी अटो पेस्तोल, ४ थान नलकटुवा पेस्तोल, १५ थान गोली विभिन्न स्थानबाट बरामद गरी नेपाल प्रहरीको जिम्मा लगाइएको जनाइएको छ।

त्यसैगरी, सशस्त्र प्रहरीले भारतीय सीमा क्षेत्र हुँदै आउने-जाने मानिसमाथि निगरानी बढाएर नशालु ट्याब्लेट डाइजेपाम २२ सय ७८ ट्याब्लेट, नाइट्राभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु इन्जेक्सन ६०६ एम्पुल, प्रोमेथआजिन नशालु इन्जेक्सन १७९८ एम्पुल, फेनारगन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

लागुऔषध, तस्करी, हातहतियार, हुण्डीलगायत बिभिन्न गैरकानुनी क्रियाकलाहरूमा संलग्न ३९ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको थियो।

सशस्त्र प्रहरीका एसपी हुमागाईंको सहभागितामा विभिन्न मितिमा जिल्लाको ईशनाथ नगरपालिका-७ घिउरामा सरस्वती पूजाको मूर्ति बिसर्जन, वडा ६ महाबिरी झण्डा, राजापुर कुडिया दाहा मेलामा दुई समुदायबीचको विवाद शान्तिपूर्ण मिलाइएको थियो।

गरुडा-शिवनगर बर्थिङ सेन्टरमा आगजनीको घटनामा अप्रिय हुन नदिएको,पर्रोहा-९ खापमा शिवममणि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरी भाग्दै गरेका तीन जना भारतीय अपराधी पक्राउ, दुई थान पेस्तोल बरामद गरिएको थियो।

त्यस्तै, गत वर्ष अविरल बर्षा र बाढीबाट भएको डुबानमा ४९३ जनशक्ती परिचालन गरी १२३ जना सकुशल,९ जना घाइतेको उद्धार र चार जना मृत फेला पारेको थियो। जिल्लाको विभिन्न स्थानमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १५ सय भन्दाबढी बिरामी लाभान्वित भएका थिए।

एसपी हुमागाईंको सक्रियतामा पटक-पटक सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको आयोजना गर्नुका साथै विभिन्न समयमा २५१ वटा जनचेतनामुलक कार्यक्रम गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

गत माघ ३० गते एसपी हुमागाईं विभागीय नियमानुसार रौतहटमा आफ्नो कार्यकाल पूरा गरी सरुवा भएर रवाना भएपछि हाल एसपी सन्तोषकुमार बस्नेतले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्।

एसपी हुमागाईं यहाँबाट सशस्त्र प्रहरी बल बराहा बाहिनी सुनसरी रवाना भएका थिए। न्युज कारखाना

आरके श्रीवास्तव,रौतहट, ०३ गते फागुन ।

नेपाल फूल माली समाज रौतहटको जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्लाको मध्य भाग गरुडा नगरपालिका अन्तर्गत पर्ने महम्मदपुर व्यारेज नजिक रहेको गोपाल सेवा सदन धर्मशालामा नेपाल फूल माली समाज जिल्ला कार्य समितिको आयोजकत्वमा उक्त जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

“शिक्षित बनौं, संगठित बनौं, आफ्नो पहिचान कायम गरौं“ भन्ने मूल नाराका साथ नेपाल फूल माली समाज रौतहटको संयोजक मोहन प्रसाद मालीको अध्यक्षता सो अधिवेशन सम्पन्न भएको छ । नव गठित जिल्ला कार्य समिति रौतहटका सम्पूर्ण पदाधिकारीहरु लगायत सदस्यगणमा वक्ताहरुद्वारा हार्दिक बधाई सहित अग्रिम कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ ।

फुल यस्तो बनस्पति हो जुुन हरेक कार्यमा काम लाग्ने गर्दछ, पूजापाठ, धर्म संस्कृति, विभिन्न कार्यक्रम लगायत विभिन्न शुभ कार्य तथा मानिस जन्म लिने बेला देखी जीवनको अन्तिम क्षण मृत्युको बेला पनि फूलले स्वागत गर्ने भएको हुँदा संसारमा फूलको निकै नै महत्व रहेको कार्यक्रममा वक्ताहरुले व्याख्या गरेका थिए ।

पौराणविक कालदेखि फूलको मालिक माली समुदाय भएकोले आजको युगसम्म पनि फूल सम्बन्धी विभिन्न कार्यहरु माली समुदायले नै गर्दै आइरहेकोले अब उपरान्त यस फूलको कारोबारलाई व्यवसायिक रुपमा अगाडी बढाउनमा वक्ताहरुद्वारा जोड़ दिइएका थिए । हालको अवस्थामा विभिन्न समुदायका व्यक्तिहरुले व्यवसायिक रुपमा फूलको खेती देखी लिएर बेच बिखन तथा विभिन्न क्षेत्रमा सजावटका कार्यहरु गर्दै पेशागत आम्दानी गरिरहेको जिकिर गरिएको हो।

फुलका मालिक भनिने फूल मालि समाजका व्यक्तिहरुले यसलाई अवसरको रुपमा लिएर फूलको विभिन्न कार्यहरुलाई व्यवसायिक रुपमा अगाडी बढाएर आ–आफ्नो अर्थ व्यवस्था मजबूत बनाउन विभिन्न वक्ताहरुले जोड़ दिइएका छन् । कार्यक्रममा स्वागत मन्तव्य भरत भगत मालीले गरेका थिए भने कार्यक्रम सञ्चालन माली समाजका पूर्व प्रहरी निरीक्षक प्रदीप भगत मालीले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल फूल माली समाजको संस्थापक अध्यक्ष बुटवल निवासी सागर कुमार माली, विशिष्ट अतिथि जनकपुर उधोग बाणिज्य संघको अध्यक्ष सुरेन्द्र भण्डारी, माली जाती उत्थान मंच नेपालको महासचिव सप्तरी जिल्ला निवासी जयराम भण्डारी, इलाका प्रहरी कार्यालय गरुड़ाका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजन कार्की, सचिव बीरगंज निवासी रामेश्वर माली,

अतिथि नेपाल फूल माली समाज बाराका प्रतिनिधि तेज बहादुर भगत माली, लगायत जिल्लाका माली समाजका अगुवा कार्यकर्ता तथा सर्वसाधारणहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको माधव नारायण नगरपालिका निवासी व्यवसायी तथा समाजसेवी युवा नेता होटल एनपी स्टारका सञ्चालक पारस भण्डारीले जानकारी गराएका हुन् ।

आरके श्रीवास्तव,रौतहट ,३ गते फागुन ।

मधेश प्रदेश सरकार समक्ष दबाब पुुर्याउन रौतहटमा स्वास्थ्यकर्मीहरले आज जिल्ला स्तरीय संघर्ष समिति बनाएका छन् । जिल्ला सदरमुकाम गौर स्थित राइस मिलको प्रांगणमा जिल्लाभरीको सि.अ.हे.व.र सि.अ.न.मीहरुको बैठकबाट संघर्ष समिति बनाइएको हो । मधेश सरकारको स्थानिय सेवा ऐन सच्चयाउन सो समिति बनाइएको हो ।

शनिवार मधेश प्रदेश संघर्ष समितिका प्रमुुख सल्लाहकार ललन कुमार साहको अध्यक्षतामा बसेको बैठकले सो समिति बनाएको हो । काशी साहको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ । जसको सह संयोजकमा वसीिम अख्तर खाँ,राजेश कुमार साह,रुपनारायण यादव,अनिता कुमारी यादव,हरेनद्र पंडित,राजेश यादव रहेका छन् ।

त्यस्तै कोषाध्यक्षमा संदिप साह,प्रमिला अधिकारी,महासचिवमा सुरेश साह,सचिवमा कस्तुुभ मनी साह,सह सचिवमा राजेश साह,प्रमोद प्रसाद कुशवाहा,सिवा कुमारी राय,प्रवक्तामा धर्मेन्द्र दास,सह प्रवक्ता रुपनारायण यादव रहेका छन् । सदस्यहरुमा रामप्रवेश साह,अखलाक मंसुर लगायतका स्वास्थ्यकर्मीहरु रहेका छन् । बैठकमा स्तरवृद्धि,पदपूर्ति,जिल्ला स्तरीय संघर्ष समिति गठन लगायतका विषयमा छलफल भएको थियो ।

२०५३ ऐन अनुसारको सेवासुविधाबाट बंचित गरेपछी हामी बाध्य भएर संघर्षको बाटो अपनाउनु परेको मधेश प्रदेश सङ्घर्ष समितिका संयोजक मोहन साहले बताएका हुन् । स्थानिय सेवा ऐन २०८१ जारी गरेपछि प्रदेश भरीमा लगभग १५ सय भन्दा बढी कर्मचारीको वृत्ति विकास रोकिएको उनले जानकारी गराएका हुन् । जबकि हामी यो ऐन आउनु भन्दा पहिला केन्द्रबाट मज्जाले स्तरवृद्धि पाइरहेकै थियौ तर यो ऐन जारी भएपछि पहिला देखि पाउँदै आएको सुविधा बाट पनि मधेस प्रदेशका स्थानीय ऐन ले वञ्चित गराएको साहको भनाइ छ । लोक सेवा आयोग बाट नियुक्त भएका सि.अ.अ.हे.व÷सि.अ.न.मी स्वास्थ्यकर्मीहरुलाई अन्य प्रदेशमा स्तरबृद्धी गरेको छ ।

तर मधेश प्रदेशमा स्तर बृद्धि नगरेको हुँदा स्तर वृद्धि गराउन पटकपटक मधेश सरकारको ध्यानाकर्षण गराउँदापनी कुनै वास्ता नगरेको उनको आरोप लगाएका छन् । सो ऐनको दफा २९ को उपदफा २ मा रहेको बाध्यात्मक वाक्यांश नहटे सम्म र मधेश सरकारले आफूहरुको मागलाइ वेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने स्थास्थ्यकर्मीहरुले चेतावनी समेत दिएका हुन् ।

समितिको हाल सम्म धनुषा, सर्लाही, रौतहट,बारा र सिराहा जिल्लामा जिल्ला स्तरीय सङ्घर्ष समिति गठन भइसकेको र अन्य जिल्लामा पनि छिट्टै गठन गरिने जनाइएको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित हुन लागेको मधानी महायज्ञको तयारी तिब्ररुपमा अगाडी बढीरहेको छ ।

 

मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ । महायज्ञलाई व्यवस्थित रुपमा भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्ररुपमा अगाडी बढेको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले जनाएकी छन् ।

 

महायज्ञमा हुने विशेष पुजा, खेलतमासा, सांस्कृतिक कार्यक्रम सहितका बिभिन्न बिषयमा छलफल आज छलफल भएको छ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधानी महायज्ञ महोत्सवको रुपमा सम्पन्न गर्नका लागि छलफल गरेका छन् ।

 

रौतहट ३ बाट लगातार निर्वाचित सांसद समेत रहेका आजपा अध्यक्ष साहले नगरपालिका, मधानी महायज्ञको बिभिन्न समिति, उपसमिति, स्थानीय अगुवा, स्थानीय कलाकार लगायतकासंग छलफल गर्दै महायज्ञलाई महोत्सवको रुपमा मनाउँनुपर्ने बताए ।

 

प्रत्येक बर्ष रौतहटको मौलापुरको पतौरामा हुने मधानी महोत्सव यसबर्ष पनि भव्यरुपले हुने आयोजकले जनाएको छ । शिव पार्वतीको विवाहउत्सवको रुपमा मनाइने मधानी महोत्सवको व्यवस्थापनका लागि बिभिन्न समितिहरु गठन गरेर तयारी तिब्ररुपमा भईरहेको मेयर साहले जनाएकी छन् ।

 

मौलापुर नगरपालिकाका मेयर साहको अध्यक्षतामा मधानी महायज्ञ मुलसमिति १ सय १ सदस्यीय गठन भएको छ । यसैगरी बिभिन्न कामलाई व्यवस्थित गर्नका लागि बिभिन्न समितिहरु समेत गठन गरेर महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि काम भईरहेको छ ।

 

लखिन्द्र साहको संयोजकत्वमा कावरिया तथा पूजा अनुष्ठान समिति, त्रिभुवन साहको संयोकत्वमा शिवजी बारात यात्रा समिति, रामबाबुप्रसाद साहको संयोजकत्वमा टेन्ट, खेलतमासा तथा नाचगान व्यवस्थापन समिति, ठागा दासको संयोजकत्वमा घेराबेरा तथा मञ्च व्यवस्थापन समिति, मनोजप्रसाद यादवको संयोजकत्वमा दङ्गल प्रतियोगिता समिति गठन भएको छ ।

 

यसैगरी सुनिल साहको संयोजकत्वमा सरसफाई समिति, सरेशप्रसाद यादवको संयोजकत्वमा जग्गा वितरण समिति, जयप्रकाश महतोको संयोजकत्वमा सजावट समिति, नागेन्द्रप्रसाद यादव (मौलापुर उपप्रमुख)को संयोकत्वमा अतिथि सत्कार समिति गठन भएको छ ।

 

यस्तै राजेश रौनियारको संयोकत्वमा खानेपानी तथा शौचालय व्यवस्थापन समिति, रानी साहको संयोजकत्वमा प्रचारप्रसार समिति, अच्छेलाल साहको संयोजकत्वमा स्वास्थ्य शिविर समिति, बालाशंकर कुशवाहाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, रामपुकार साहको संयोजकत्वमा आरती समिति, तेजनारायण साहको संयोजकत्वमा पञ्चकन्यातर्फको समिति, गणेश पटेलको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति र विवेक साहको संयोजकत्वमा मेस सञ्चालन समिति गठन भएको छ । यि सबै समितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् ।

 

आयोजकका अनुसार प्रत्येक बर्ष जस्तै यस बर्ष पनि मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् ।  हिन्दी, भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन, भोजपुरी सिने जगतका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 

यसैगरी मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुदैछ ।

 

यसैगरी मधानी महायज्ञमा भारतको काशी विश्वनाथ मन्दिरका मुल पुजारी डा.श्रीदेव मिश्र, बनारस हिन्दु विश्व विद्यालय वेद विभागका प्रमुख प्रोफेसर पतन्जली मिश्र, ईन्डोलोजिक सर्भिसेज काशी, वाराणशी भारतका अध्यक्ष आचार्य शंकर सहितका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने बताईएको छ ।

 

मधानी महायज्ञमा नेपाल र भारतका साधुसन्तहरुको विशेष जमघट हुने गरेको छ । यसैगरी महायज्ञमा प्राचिन खेल कुस्ती÷दंगलको समेत कार्यक्रम रहेको छ । मौलापुर नगरपालिका स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित मधानी महायज्ञ आयोजना हुदै आएको छ । मौलापुरका मेयर साहले मधानी महायज्ञमा नेपाल र भारतका लाखौं दर्शानार्थी आउँने गरेकाले यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने काम समेत गर्ने बताईन् ।

 

मधानी महायज्ञ प्राचिन यज्ञ भएको बताउदै उनले यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको बताईन् । आउँदो फागुन ११ गतेदेखी सुरु हुन लागेको मधानी महायज्ञ पाँच दिनसम्म चल्ने छ ।

 

मेयर साहका अनुसार ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।

 

‘यो मन्दिर नेपाल सरकारको १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेस भईसकेको छ । हजारौं बर्ष पुरानो प्राचिन ईतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता छ । यहाँ गरिने भगवान शिवको पुजा अनुष्ठान पनि विश्वकै एक पृथक एवं मौलिक शैलिको रहेको छ,’ मेयर साहले भनिन्, ‘यस धर्तिमा लोक एवं मौलिक शैलिमा गरिने भगवान शिव पार्वतिको वैवाहिक उत्सवको रुपमा मनाइने धार्मिक अनुष्ठान मधानी हो । जसलाई यस धर्ति र क्षेत्रको विशेष अनुपम शिव अनुष्ठानको रुपमा लिईन्छ ।’

आरके श्रीवास्तव,रौतहट,०१ गते फागुन ।
रौतहटको गरुडा नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रमका लाभग्रहीहरुले आज इलाका प्रहरी कार्यालय गरुडामा ठगीएको भन्दै लिखित जाहेरी चढाएका छन् । गरुडा नगरपालिका वडा नम्बर ९ बस्ने बसन्त सहनी विरुद्ध उनीहरुले समूहिक रुपमा लिखित जाहेरी दिएका हुन् ।

जाहेरी दिनेहरुमा गरूडा ९ नरकटियाका तेतरी देवी,मनजुरवा देवी पासवान,रेनु देवी पासवान,तारा देवी,मन्जुला पासवान,जनारसी देवी,सन्जुला देवी रहेका छन् ।
सुरक्षित नागरिक आवासमा नाम पारि दिन्छुभनी प्रलोभन देखाइ प्रतिवादी सहनीले ५ हजारका दरले पैसा असुल गरेको आरोप लगाएका छन् । रकम लिएको ८÷९ महिना बिति सक्दा पनि घरनबनेको हुनाले त्यस्ते ठगी गर्ने सहनीलाइ क्षतीपूर्ती समेत भराइ आफूहरु माथि गरेको अन्याय लाइ न्याय गरी दिन जाहेरी पेश गरेको बताएका छन् ।
गरुडा नगरपालिकामा लाभग्राही सँग पाँच हजारका दरले रकम असुल गरिएको कुरा अहिले व्यापक चर्चामा छ । गरिब विपन्नको नाममा आएको रकममा पनि केही व्यक्तीहरुले गिद्धेनजर राखेका छन् । गरुडा नगरपालिकामा यस्तो ठगी गरिएको कुरा बाहिर आउँदा पनि सम्बन्धित निकाय भने मौन देखिएका छन् । कानुुनी कार्यवाही गर्नुुको सट्टा टुलुुटुुलु हेरेर बसेको पिडितहरुको आरोप छ । उनीहरुले यसमा संलग्न व्यक्तीहरु लाइ कानुनी कार्यवाही गर्न माग गरिरहेका छन् ।
जाहेरी बुुझेपछि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले यसबारे प्रहरीले छिट्टै अनुुसंधान गरि दोषीलाइ कार्यवाही गर्ने प्रतिक्रिया दिएको गरुडा छ महम्दपुरका स्थानिय अभियन्ता शैलेन्द्र यादवले जानकारी गराएका हुन् ।
सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत नागरिकको खरको छाना भएका घर विस्थापित गर्न ७५ हजार रूपैयाँ पाउने व्यवस्था छ  । त्यही व्यवस्था अनुसार नै गरिब,विपन्नको नाममा गरुडामा गत आर्थिक वर्षमै आएको रकममा कमिसन स्वरुप पाँच पाच हजारको दरले प्रतिपरिवार पैसा असुुल गरिएको पिडितहरुको भनाइ छ ।

आरके श्रीवास्तव,रौतहट,०२ गते फागुन ।
रौतहट एचपिभी खोप अभियान पहिलो चरणमा शतप्रतिशत सफल भएको छ । पाठेघरको मूखको क्यान्सर विरुद्धको यो खोप अभियान रौतहटमा दुुइ चरणमा सञ्चालन गरिएको छ । जसको पहिलो चरणमा सञ्चालन गरिएको ९ वटै पालिकाको खोप प्रभावकारी रहेको देखिएको छ । ९० प्रतिशत लक्ष्य दिइएकोमा सबैले १०० शतप्रतिशत लक्ष्य पुरा गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको तथ्यांक अनुसार फतुवा विजयपुर नगरपालिकामा २ हजार ३ सय ८९,मौलापुर नगरपालिकामा २ हजार ४ सय ७४,गढिमाइ नगरपालिकामा २ हजार ९ सय ९७,कटहरिया नगरपालिकामा २ हजार ४ सय १३ जना किशोरीहरुलाइ खोप लगाउने लक्ष्य दिइएकोमा टार्जेट पुरा गरेका छन् ।
त्यस्तै देवाहीगोनाही नगरपालिकाले २ हजार ७ सय २५,राजपुर नगरपालिकाले ३ हजार ७१,इशनाथ नगरपालिकाले २ हजार ६ सय २७ जनालाइ एचपिभी खोप लगाएको हो । त्यसैगरी बौधीमाइ नगरपालिकाले भने लक्ष्य भन्दा बढीलाइ खोप लगाएको देखिएको छ ।

सो नगरपालिकालाइ २ हजार ३२ लक्ष्य दिइएकोमा २ हजार ३ सय ८२ जना अर्थात् १२२.२२ प्रतिशत पुरा गरेको छ । जिल्लामा अहिले दोस्रो चरणको एचपिभि खोप अभियान जारी रहेको खोप निरिक्षक एवम् फोकल पर्सन अनिल कर्णले जानकारी गराएका हुन् ।
जस अन्तर्गत गुुजरा नगरपालिका,चन्द्रपुर नगरपालिका,वृन्दावन नगरपालिका,गरुडा नगरपालिका,माधवनारायण नगरपालिकामा,राजदेवी नगरपालिका,गौर नगरपालिका, दुुर्गाभगवती गाउँपालिका र यमुनामाइ गाउँपालिका रहेका छन् ।
दोस्रो चरणमा पनि पूर्ण रुपमा शतप्रतिशत सफलहुनेमा आफू आशावादी रहेको कर्णको भनाइ छ ।

आरके श्रीवास्तव,रौतहट,०२ गते फागुन ।
रौतहट । गौर नगरपालिकाको कार्यसम्पादन मूल्यांकन जिल्लाभरमै रहेको देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गौर नगरपालिकाको ६१.६ अंक पाएको हो । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले जिल्लामा आयोगको नतिजामा पहिलो स्थान प्राप्त गर्नु खुसीको कुरा भएको बताएका छन् ।

जिल्लामा सबैभन्दा कमजोर फतुवा बिजयपुर नगरपालिका रहेको देखिएको छ । फतुवा बिजयपुर नगरपालिकाले ३१.४ अंक पाएको छ ।
आयोगले विभिन्न १७ वटा सूचकमा आयोगले गर्ने मूल्यांकन गर्ने गर्दछ । ती सूचकहरुको १०० अंक हुने गर्दछ ।

रौतहट जिल्लामा रहेको अन्य १६ वटा पालिकाहरुमा इशनाथ नगरपालिकाले ५९.८,गरुडा नगरपालिकाले ५७.६,चन्द्रपुर नगरपालिकाले ४१.५,गुुजरा नगरपालिका ४०.१,कटहरिया नगरपालिकाले ३४.६,वृन्दावन नगरपालिकाले ३८.३ अंक ल्याएका छन् ।

त्यस्तै गढिमाइ नगरपालिकाले ४४.०,माधवनारायण नगरपालिकाले ३६.९,देवाहीगोनाही नगरपालिकाले ३५.०,मौलापुर नगरपालिकाले ५४.४,बौधीमाइ नगरपालिकाले ३५.३,परोहा नगरपालिकाले ५२.५,राजपुर नगरपालिकाले ५६.९ अंक ल्याएको छ ।
त्यसैगरी यमुनामाइ गाउँपालिकाले ४०.२,दुुर्गाभगवती गाउँपालिकाले ५४.८ र राजदेवी नगरपालिकाले ४५.५ अंक ल्याएको आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
आयोगले हरेक वर्ष गर्ने प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा गत माघ ३० गते सार्वजनिक गरेको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।