२०८२ चैत्र २२
२०८२ चैत्र २२

झापा, २१ पुस :

जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छजनाको हात्ती आक्रमणमा ज्यान गएको छभने छजना घाइते भएका थिए । यसैगरी, विसं २०७९ मा सातजनाको मृत्यु र आठजना घाइते भएको उहाँले जानकारी दिनुभयो । सोही अवधिमा छ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ ।

गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी छ हात्ती मरेका हुन् । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ । त्यसमा सात गैरनेपाली पनि छन् । एक दशकमा ७५ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ ।

जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन् । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन ।

मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शङ्कर लुइँटेल बताउनुहुन्छ ।

सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गर्न थालेका छन् । गत कात्तिक १९ गते बाहुनडाँगीको गौडाबाट नेपाल प्रवेश गरेका ३६ हात्तीले हाल मोरङ र सुनसरीमा बितण्डा मच्चाइरहेका छन् । एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का सीताराम वाँस्तोलाले बताउनुभयो । एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन् । सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ ।

अधिकांश पीडितले बेलैमा सो रकम नपाएको गुनासो छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले रु १० लाख राहत दिने व्यवस्था छ । सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत रु २० हजारसम्म दिने कानुनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा रु १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताउनुभयो ।

(रासस)

धरान (सुनसरी), १९ पुस :

सिक्किमबाट आउनुभएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आउनुभएका गुरुङले भाकल पूरा गर्न आउनु भएको थियो । उहाँले भन्नुभयो, “बुढासुब्बाप्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।”

सन्ध्या गुरुङ पनि सिक्किमबाट धरान आएका बेला बुढासुब्बाको दर्शन गर्न मन्दिर आइपुग्नुभएको थियो । उहाँ पनि बुढासुब्बाप्रति अगाध आस्था रहेको बताउनुहुन्छ । परिवारसँगै बुढासुब्बा मन्दिरको दर्शन गर्न आउनु भएकी गुरुङले भन्नुभयो, “बुढासुब्बासँग मागेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास छ । हामीलाई पनि विश्वास लागेरै यहाँसम्म आएका हौँ ।”

धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिर धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ । नेपालका विभिन्न जिल्ला मात्र होइन, भारतका सिक्किम, दार्जिलिङलगायतका ठाउँबाट समेत बुढासुब्बा दर्शन गर्न आउने तीर्थालुहरुको सङ्ख्या बढिरहेको छ । बुढासुब्बाप्रति आस्था राख्ने दर्शनार्थीहरु पूर्वी पहाड र तराईबाट धेरै आउने गर्दछन् । त्यसबाहेक नेपालका विभिन्न जिल्लादेखि भारतका नेपाली भाषीहरु उत्तिकै हुन्छन् ।

सुनसरीको इटहरीबाट दर्शनका लागि बुढासुब्बा मन्दिर आउनुभएकी सुनिता राई आफू धेरैपटक बुढासुब्बा आइसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी त वर्षैपिच्छे जस्तो भाले चढाउन यहाँ आउँछौँ । यहाँ पूजा गरेपछि हामीले सोचेका कुराहरु पनि पूरा भएकै छन् । बुढासुब्बाप्रति गहिरो आस्था छ ।”

२०६४ सालदेखि बुढासुब्बा मन्दिरको द्वार बाहिर माला तथा फूलको पसल सञ्चालन गर्दै आउनु भएका प्रेमप्रसाद पराजुली भूटान र वर्मादेखिका भक्तजनसमेत बुढासुब्बा आउने गरेको बताउनुहुन्छ । बुढासुब्बामा दर्शन गर्न आउनेहरुको सङ्ख्या बर्सेनि बढिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिला बुढासुब्बालाई जनजातिको देउता भन्ने गरिन्थ्यो तर अहिले सबै जातिका मान्छे पूजा गर्न आउँछन् । अहिले बुढासुब्बा सबैका साझा देउता भएका छन् ।”

एक दशकअघिसम्म बुढासुब्बाको बाँसमा नाम लेख्दा प्रेम अमर हुने विश्वास गरेर बाँसमा नाम लेख्ने प्रचलन थियो । त्यसो गर्दा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तार जाली लगाएको छ । अहिले युवापुस्ता माझ प्रेम अमर हुने विश्वासका साथ बाँस वरिपरि मालाको डोरी बाँध्ने लहर चलेको छ ।

टाढादेखिका भक्तजन कुखुराको भाले, अण्डा, फलफूल लिएर पूजा गर्न यहाँ आइपुग्छन् । वरिपरि हरियालीले ढाकिएको बुढासुब्बा मन्दिर क्षेत्रमा बस्दा मनै आनन्द हुने गरेको दर्शनार्थीहरु अनुभव सुनाउँछन् ।

बुढासुब्बा मन्दिरमा पहिला बिहान मात्र पूजा हुने गरेकामा अहिले दिनभरजसो नै हुने गर्दछ । बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेका अनुसार बुढासुब्बा मन्दिरमा दर्शन गर्न दैनिक सदरदर पाँच सयभन्दा बढी भक्तजन आउने गर्दछन् । विशेषगरी शनिबार र मङ्गलबारका दिन अझै धेरै भक्तजन आउने उहाँको भनाइ छ । कात्तिक र चैत महिनाका शनिबार र मङ्गलबारका दिन अन्य महिनाका शनिबार र मङ्गलबारभन्दा दोब्बर, तेब्बर आउने गर्दछन् ।

यो मन्दिरमा हिन्दू धर्मावलम्बी र किरात धर्मावलम्बिका साथै अन्य धर्मका मान्छेसमेत आउने गरेको सचिव आले बताउनुहुन्छ । “हिन्दू धर्मावलम्बीहरु बुढासुब्बालाई किरातेश्वर महादेवका रुपमा पूजा गर्छन्”, आले भन्नुहुन्छ, “किरात धर्माबलम्बीहरुमध्ये कसैले यलम्बरको प्रतीकका रुपमा पूजा गर्छन्, त कसैले बुद्धिकर्ण रायको समाधिका रुपमा पनि पूजा गर्छन् । बुद्ध धर्मावलम्बी र मुसलमानहरु समेत मन्दिरभित्र पूजा नगरे पनि मन्दिर घुम्न आउने गरेका छन् ।”

बुढासुब्बाका बारेमा विभिन्न किंवदन्ती छन् । बुढासुब्बा एक शिकारी भएको कथा पढ्न पाइन्छ । बुढासुब्बा र उनकी बहिनी शिकार खेल्दै विजयपुर डाँडामा आइपुगेको र त्यहीँ आफ्नो बाँसको धनुष गाढेर समाधि लिएको कथा पनि जनमानसमा पाइन्छ । उनै शिकारीले गाडेको धनुषबाट बाँस पलाएर झ्याङ भएको हुनाले बुढासुब्बा मन्दिर क्षेत्रमा भएका बाँसको टुप्पा नपलाएको जनश्रुति छ । बुढासुब्बाका बाँसमा टुप्पा हुँदैनन् । बुढासुब्बा वरपर माटोका मट्याङ्ग्राहरु अहिले पनि भेटिन्छन् । त्यही किंवदन्तीका आधारमा बुढासुब्बा मन्दिरसँगै उनकी बहिनी भनिने छुट्टै मन्दिर पनि छ ।

कवि लक्ष्मी आचार्यले बुढासुब्बालाई महाभारतका पात्र एकलव्यको समाथी भन्नुभएको छ । महाभारतको कथामा धनुर्विद्याका गुरु दोर्णाचार्यलाई नभेटे पनि गुरु मानेर धनुर्विद्या सिकेका एकलव्यले आफू निपूर्ण भएपछि दोर्णाचार्यलाई भेट गरेको र भेटमा गुरु भेटी चढाउन खोज्दा दोर्णाचार्यले बुढी औंला चढाउन लगाएको कथा पाइन्छ । तिनै दोर्णाचार्यलाई आफ्नो बुढीऔंला चढाएका एकलव्यको समाधि भएको कवि आचार्यले आफ्ना लेखहरुमा उल्लेख गर्नु भएको छ ।

इतिहासकारहरुले भने बुढासुब्बालाई तत्कालीन किरात राज्यका राजा बुद्धिकर्ण रायको समाधिस्थल भनेर उल्लेख गरेको पाइन्छ । इतिहासकारहरुले कुनै समय विजयपुरमा छुट्टै सेन राज्य रहेको उल्लेख गरेका छन् । विजयपुरका राजा कामदत्त सेनको हत्यापछि १८२६ सालमा विजयपुरगढीको सिंहासनमा चौतारिया बुद्धिकर्ण राय बसेको इतिहास पाइन्छ । विसं १८३४ मा गोर्खाली फौजले बुद्धिकर्ण रायलाई मारेको उल्लेख छ । हाल बुढासुब्बा मन्दिरभित्र रहेको ढिस्को उनै बुद्धिकर्ण रायको समाधि वा चिहान भएको इतिहासकार इमनसिंह चेम्जोङले लेख्नुभएको छ । मन्दिरभित्र रहेको यही माटोको ढिस्कोमा कुखुराको बलि दिने, फूल अक्षता र रक्सी चढाउने प्रचलन छ ।

मन्दिर नजिकै माला तथा फूल व्यापार गर्दै आउनु भएका प्रेमप्रसाद पराजुली पहिला बुढासुब्बामा भाले, रक्सी, अण्डा, पान, सुपारीसँगै गाँजा पनि चढाने गरेको तर गाँजा प्रतिबन्ध भएपनि हाल चढाउन छाडिएको बताउनुहुन्छ । बुढासुब्बामा गरेको भाकल पूरा हुने दर्शनार्थीहरुको विश्वास रहेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘‘अहिले भक्तजनले आफ्नो कामना पुरा भएको सुनाउँदा अहिले पनि मन्दिरभित्र साक्षात बुढासुब्बा हुनुहुन्छ कि भन्ने जस्तो लाग्छ ।’’

उहाँ बर्सेनि देश विदेशबाट आउने भक्तजन बढिरहे पनि व्यवस्थापन पक्ष फितलो रहेको बताउनुहुन्छ । बुढासुब्बामा टाढाबाट आउने भक्तजनलाई वासस्थानको व्यवस्था गर्नुपर्ने अवस्था रहेकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने पराजुलीको धारणा छ । इतिहास अनुसार पनि बुढासुब्बाको इतिहास दुई सय वर्षभन्दा बढी देखिन्छ । बुढासुब्बाका पुजारी ७२ वर्षीय डम्बर आलेमगरका अनुसार उहाँहरुले १७ औँ पुस्तादेखि मन्दिरमा पुजाआजा गर्दै आउनु भएको छ । यहाँ सुरुदेखि नै मगर पुजारी रहँदै आएका छन् । उहाँ भन्नुहुन्छ, “जुनसुकै आस्थाले जे मानेर पूरा गरे पनि कसैसँग विवाद गर्दैनौँ, सबैको आआफ्नो आस्था हो ।”

मन्दिरको नियमित आम्दानी भनेको भक्तजनले चढाउने भेटी हो । शनिबारको दिन पाँचदेखि सात हजार रुपैयाँसम्म भेटी सङ्कलन हुने व्यवस्थापन समिति सचिव उत्तम आले बताउनुहुन्छ । पूजाका लागि दैनिक आवश्यकपर्ने सामग्री पुजारीले नै किन्ने गरेका छन् । यसरी संकलन भएको भेटीबाट पुजारीले आफ्नो परिवार पाल्ने र घर खर्च धान्ने गरेका छन् ।

पुजारी आले खलकका तीन परिवार छन् बुढासुब्बामा । उनीहरु वर्षेनी पालैपालो पुजा गर्छन् । जसले वर्षभर पूजा गर्छ, भेटी पनि उसैको हुन्छ । तीन वर्षमा मात्र फेरि पालो आउने भएकाले एक वर्षको भेटीले तीन वर्ष पु¥याउनु पर्ने अवस्था रहेको सचिव आले बताउनुहुन्छ । यो मन्दिरको कतै गुठी पनि छैन भने कुनै सरकारी निकायबाट पनि नियमित पैसा आउँदैन ।

मन्दिर क्षेत्रमा ४० हाराहारीमा फुल मालाका पसल छन्, त्यसबाट मासिक ५० हजार जति आम्दानी हुने गरेको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । मन्दिरमा व्यवस्थापन समितिले एक जना चौकीदार र एक जना सरसफाई कर्मचारी राखेको छ । पसलको त्यो आम्दानी कर्मचारीलाई तलब दिनै ठिक्क हुने गरेको र बचेको पैसा मन्दिर र वरपरको व्यवस्थानमा खर्च हुने गरेको उहाँ बताउन हुन्छ ।

केही वर्षअघि कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि मन्दिर वरिपरको पर्खाल लगाइएको छ । बुढासुब्बाका बाँसमा जथाभावि नाम लेख्ने प्रचलन बढेर बाँस मर्न थालेपछि धरान उपमहानगरपालिकाको सहयोगमा बाँस संरक्षणको काम पनि थालिएको छ । हाल पुरातत्व विभाग र दाताको सहकार्यमा मन्दिरमा पित्तलको छाना, रेलिङ, खम्बा लगाएर निर्माण गरिएको छ ।

मन्दिरको भेटी र पसलहरुको भाडाबाहेक सरकारी तबरबाट नियमित सहयोग नभएकाले समस्या भएको व्यवस्थापन समिति सचिव आलेको भनाइ छ । उहाँ बुढासुब्बा मन्दिरमा दर्शनार्थीहरु बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले सहयोग गरे सहज हुने बताउनुहुन्छ । मन्दिरको व्यवस्थापनको जिम्मा सरकारबाट भए सजिलो हुने समितिको भनाइ छ । रासस

धरान पुस १७ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । धरानको लाङ्घाली बन उपभोक्ता समुहको भवनमा आयोजित तीन दिवसीय राजनैतिक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधानबारे, संगठनात्मक कार्यपद्धति, पार्टीको आदर्श, संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद साथै लिम्बुवान र उत्पीडित राष्ट्रियताको मुक्तिका सवालहरु, समाजवादको ऐतिहासिक पृष्ठभूमि र विकासक्रमबारे प्रशिक्षण दिए।

त्यसैगरी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले संघवादका आधारभूत सिद्धान्त र समाजवादको नेपाली बाटो विषयमा प्रशिक्षण दिए। पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङलाई संगठन सुदृढीकरण अभियान तथा कार्यान्वयन र पहिचानको आन्दोलनको विषय रहेको थियो। त्यस्तै पार्टी विधान र संगठानात्मक पद्धतिबारे कार्यकारिणी सदस्य रणध्वोज कन्दङ्वा, राजनीतिमा लैङ्गिक सशक्तिकरण : युवा विद्यार्थी र महिलाको भूमिकाको विषयमा कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले प्रशिक्षण दिइन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य परशुराम बस्नेत, डा. महेन्द्र लावती, दिलेन्द्र कुरुम्बाङ र खगेन्द्र माखीमले पनि प्रशिक्षण दिए । लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा सम्पन्न प्रशिक्षणमा एक सय पचास प्रतिनिधि सहभागी थिए।

काठमाडौँ, १५ पुस :

प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको पहिलो छनोट खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई फाइनलमा पुग्नका लागि एक सय ४० रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा एपिएफका कप्तान सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनायो । उसका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन । उनी ५० बलमा तीन चौका र एक छक्का प्रहार गरिन । त्यस्तै सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन ।

कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् । विजेता टोली फाइनल खेल्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । (रासस)

बनियानी (झापा ), १३ पुस

स् हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा नै मृत्यु भएका थियो । हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । (रासस)

विराटनगर, ७ पुस :

राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न सकेको छैनभने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्धा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।” अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उहाँले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गर्नुभयो । नेपालमा कृषि क्षेत्रको रुपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि, रोजगारी सृजना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा गरिबी निवारण गरी आर्थिक विकासको बाटोमा सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको साझेदारी अपरिहार्य हुने राष्ट्रपतिले सुझाउनुभयो । “कूल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । नेपालको पहिलो औद्योगिक नगर कोशी प्रदेशको राजधानी विराटनगर स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने कृष्णप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सिके प्रसाई, शैलजा आचार्य, केशव कोइराला, तारणीप्रसाद कोइराला, नोना कोइराला, नारदमुनी थुलुङ, क्याप्टेन यज्ञबहादुर थापा, बलबहादुर राई, भरतमोहन अधिकारी, भूविक्रम नेम्वाङ, प्रेमराज आङदम्बे, चिरञ्जीवी रिजाल, रामप्रसाद राई, धनवर्ण राई, लिला–ठगी–गोकर्ण, राम–लक्ष्मण र नेपालमा औद्योगिक अभियानको सुरुवात गर्ने रामलाल गोल्छा, चन्दनमल दुगडलगायत सबैको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । राष्ट्रपतिले संविधान प्रदत्त भूमिका निष्ठपूर्वक पालना गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले देश विकासमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले राज्यले उनीहरूको सहयोगको अपेक्षा गरेको बताउनुभयो । साथै उहाँले उद्योगी र व्यवसायीको समस्या समाधानजमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारको सहयोगी अङ्गको रुपमा रहेका उद्योगी–व्यापारीले रोजगारी सृजनामा सघाएकामा आभार व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले लोकतन्त्र र गणतन्त्रका लागि लामो सङ्घर्ष गर्नु भएका वर्तमान राष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाई राख्न अभिभावको भूमिका निर्वाह गरिहन आग्रह गर्नुभयो । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल उद्योग परिसङ्घका संस्थापक अध्यक्ष विनोद चौधरी, सङ्घका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र पाण्डेले देशको आर्थिक विकासका निम्ति कृषि क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । समारोहमा प्रजातन्त्र सेनानी, प्रतिष्ठित उद्योगपतिलगायत २९ जनालाई सम्मान गरिएको थियो । राष्ट्रपतिले पत्रकार शङ्कर खरेल र अनन्त न्यौपानेलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।  (रासस)

पुस ०६ गते

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय प्रदीप बुढाथोकी रहेका छन् ।

उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति सात लाख ५० हजार रुपैयाँ लाग्छ र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक एक लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी एक लाख ८० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

पुस ०६ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री दाहालले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् । 

यसअघि बिहान १० बजे प्रधानमन्त्रीले दाहालले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् । 

मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।

आयोजकका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी कुल २४० वटा स्टल रहने छन् ।

 

झापा,पुस ४,     

– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलबार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालयमा २० हजार रुपैयाँ धरौटी तिरेर उनी रिहा भएका हुन्।

उनीमाथि मुख्यमन्त्रीको गाडीमा भएको तोडफोडको ५ लाख रुपैयाँको बिगो हालिएको थियो। अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएका चौधरीमाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद थपेको थियो ।

पहिलो पटक पाँच दिन र त्यसपछि तीन दिन म्याद थप गरिएको थियो। ८ दिनको म्याद सकिएकाले अब म्याद थप नगरी रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

 

 

बिराटनगर, १८ कार्तिक ।

कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा समेटे पछि एमाले कोशी सरकारबाट बाहिरिएको हो ।

आफनो पार्टीको बिरोध र असहमतिको बाबजुद पनि हिजो शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि आजबाट एमाले सरकारबाट बाहिरिएको हो ।

शनिबार बिहान एमालेबाट कार्की मन्त्रीपरिषदमा मन्त्री रहेका एमाले संसदीय दलका उपनेता राम रानाले राजीनामा दिएसँगै एमाले सरकारबाट औपचारिक रुपमा बाहिरन पुगेको हो ।

 

मुख्यमन्त्री कार्कीले मन्त्रीमा नियुक्त गरे लगत्तै प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ नवनियुक्त मन्त्रीद्धयलाई शपथग्रहण गराएका थिए । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।