काठमाडौं, १८ फागुन ।
तेह्रथुम छथर गाउँपालिका-५ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचानसमेत भइसकेको र उनलाई पक्रन मात्रै बाँकी रहेको बताएको छ।
‘हामीले हत्यारा पत्ता लगाइसकेका छौं, पक्राउ पर्न मात्रै बाँकी हो,’ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले भने।
पाठकका अनुसार ढकालको हत्यामा हालसम्म तिनै व्यक्ति संलग्न देखिन्छन्, जुन दिन ढकालसँग उनी मात्रै अन्तिम समयसम्म थिए।
सूर्यविनायक नगरपालिका-८ भक्तपुर सिपाडोलको एउटा गोठमा ढकालको शव हत्या गरेको अवस्थामा गत फागुन ११ गते फेला परेको थियो। उनी फागुन ९ गते बेलुका राति ८ बजे सिपाडोलस्थित डेराबाट बाहिर निस्केका थिए।
उक्त घटना अनुसन्धानको क्रममा अन्य दुई जना (एक जना केटा र केटी) पक्राउ परेका थिए।
‘घटनाको अन्तिम सिनमा ती दुई व्यक्ति देखिँदैनन्, त्यसकारण हत्या गर्ने व्यक्ति ढकालसँग गोठतिर हिँडेका व्यक्ति मात्रै हुन् भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष हो,’ पाठकलले भने।
९ गते राति निस्किएपछि ढकाल ती व्यक्तिसँग सिपाडोलको एउटा पसलमा छिरेका थिए। उक्त पसलमा सडकमा मागेर हिँड्ने एक जना केटा र एक केटी पनि छिरेका थिए। पछि ती दुई जना पसलबाट बाहिर निस्केको देखिन्छ।
‘त्यहाँको सिसिटिभी फुटेज हेर्दा ढकाल र फरार व्यक्ति गोठतिर उकालो लागेको देखिन्छ,’ पाठकले भने।
‘ढकालको हत्या भएको कुरामा दुविधा छैन। गोठमा छिरेपछि ती व्यक्तिले इँटा-ढुंगा जे-जे भेटे, त्यसैले टाउकोमा हिर्काएर हत्या गरेका हुन्,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्टले हत्या भएको देखाइसकेको छ।’
के एकै जना व्यक्तिले नै ढकालको हत्या गरेको हो? भन्ने प्रश्नमा डिएसपी पाठक घटनाको अनुसन्धानले त्यही अवस्था देखिएको बताउँछन्।
ती व्यक्तिसँग ढकालको के ‘रिसिइबी’ थियो भन्ने अनुसन्धानकै पाटो छ। जबसम्म फरार व्यक्ति पक्राउ पर्दैनन्, तबसम्म घटनाको पर्दा नउघ्रिने डिएसपी पाठकले बताए।
‘हामी फरार व्यक्तिलाई खोजी गरिरहेका छौं, हाम्रो अनुसन्धान टोलीले चाँडै पक्राउ गर्छ भन्ने आशा राखौं,’ उनले भने।
ती व्यक्तिसँग ढकालको कहिलेदेखि चिनजान थियो भन्ने खुलेको छैन। ‘उनीहरूबीच के कस्तो सम्बन्ध थियो भन्ने अभियुक्त पक्राउपछि खुल्छ,’ उनले भने।
यसरी भएको थियो हत्या
तेह्रथुम छथर गाउँपालिका-५ घर भएका ३३ वर्षीय गोपालप्रसाद ढकाल पोहोर चैत महिनामा मलेसियाबाट फर्केका थिए। उनी युरोपियन मुलुक जानको निम्ति आवश्यक तयारी गरिरहेका थिए। ढकाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका थिए।
प्रहरीका अनुसार उनकी श्रीमती अनलाइन व्यापार तथा नजिकैको एउटा बोर्डिङमा काम गर्थिन्। ढकालकी एक जना छोरी थिइन्। यही फागुन ९ गते राति ८ बजे अचानक ढकाल तेल किन्न भन्दै कोठाबाट निस्किएका थिए। उनको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
सोही ठाउँको वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको गोठमा उनको शव फेला परेको हो। उनको शव परालले छोपिएको अवस्थामा फेला परेको थियो। हत्या भएको स्थान ढकाल बस्ने कोठाबाट धेरै टाढा होइन।
डिएसपी पाठकका अनुसार त्यसपछि ढकाल कोठाबाट नजिकैको एउटा पसलमा पुगेको देखिन्छन्।
त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग उनको भेट हुन्छ।
अनुसन्धानका सिलसिलामा वृत्त जगातीले त्यहाँ भेट भएका अन्य दुई जनालाई पक्राउ गरी हिरासतमा राखेको छ। ती दुई जनामध्ये एक जना केटा र अर्की केटी थिए।
‘उनीहरू नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति हुन्,’ पाठकले भने।
उनका अनुसार त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिन्छ। त्यसपछि ती दुई व्यक्ति (केटा-केटी) छुट्टिन्छन्।
‘गोठ भएतिर ढकाल र अहिले हामीले पत्ता लगाएर खोजी गरिरहेका व्यक्ति मात्रै गएका देखिन्छन्,’ पाठकले भने।
ती दुबै (केटा-केटी)ले मोबाइल फोन बोक्दैनन्। हत्या गर्ने व्यक्तिसँग मोबाइल नभएको देखिएको पाठकले बताए।
हत्या आकस्मिक हो वा पहिलेदेखि बनाइएको योजनाअनुसार हो भन्ने खुलेको छैन।
जब तीन जना छुट्टिन्छन्, त्यसपछि हत्या गर्नेले ढकालकै मोबाइलबाट उनकी श्रीमतीलाई फोन गरेका थिए।
‘योजनाकारले राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनी ढकालकी श्रीमतीलाई फोन गरेका छन्,’ डिएसपी पाठकले भने।
त्यसलगत्तै ढकालको फोन अफ भयो। यता घरपरिवारमा बेचैनी दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भएको थियो।
गोठमा पुगेपछि इँटा तथा ढुंगाले टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको पाठकले बताए।
मोबाइल अफ भएको भोलिपल्ट फागुन १० गते आफन्तले प्रहरीलाई यो खबर सुनाए। खोजीका लागि वृत्त जगातीमा निवेदन दिए।
रकम माग गरिएकाले अपहरण भएको हुनसक्ने आशंका गरी प्रहरीले अनुसन्धान सुरू गर्यो। अनुसन्धानकै थालिएको भोलिपल्ट ११ गते गोठमा ढकालको शव फेला परेको भनी खबर आएको थियो।
फरार भएका व्यक्तिले अफ गरेर ढकालको मोबाइलसमेत लगेका छन्। ‘पक्राउ पर्न मात्रै बाँकी हो, अन्य सबै कुराहरू पत्ता लागिसकेको छ,’ पाठकले भने।न्युज कारखाना
उर्लाबारी, फागुन १८ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन् । त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । ट्रिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–क–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको बसका चालक छत्रकुमार मास्केले बताए ।

प्रहरीले ट्रिपर र चालक सुन्दरहरैंचा–७ का चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।न्युज कारखाना

मोरङ, १८ फागुन।
बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो ।
ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो ।
बुलेरोमा ५ जना रहेको तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
न्युज कारखाना
काठमाडौं, ७ फागुन ।
झापा दमकको सरकारी जग्गा खाइमासेको आरोप लागेका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। पुरीविरूद्ध विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।
उनकी श्रीमती केशावती पुरी पनि सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएकी छिन्। उनलाई पनि सोही बराबरको जरिबाना तोक्ने निर्णय अदालतले गरेको विशेषका प्रवक्ता धनबहादुर कार्कीले बताए। विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई उक्त रकम बराबरको सजाय सुनाएको हो। यसअघि पुरीलाई दोषी ठहर गर्दै अदालतले सजाय निर्धारणका लागि आइतबार पेशी तोकेको थियो।
‘पुरानो कानुनअनुसार दायर भएको मुद्दामा बिगो बराबरको सम्पत्ति जफत गरी जरिबाना तोक्ने प्रावधान अनुसार उक्त जरिवानाको फैसला भएको हो,’ कार्कीले भने।
प्रतिवादी बनाइएकी मनमाया पुरी र देवकुमार पुरीलाई अदालतले सफाइ दिएको छ। कृष्णकुमार पुरी र संगीता पुरीको नामको रहेको जग्गा जफत नहुने फैसला भएको छ।
पुरीविरूद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो।
पुरीले ३० बिगाहा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेर सम्पत्ति बढाएको आरोप लागेको थियो। उक्त विषयमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतमा पुरीसहित उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार, कृष्णकुमार र संगीता पुरीविरुद्ध पनि मुद्दा दायर भएको थियो। विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा चलिरहेकै बेला पुरी झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (२) बाट उम्मेदवार बनेका थिए।
पुरीसँगै विभागले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार, कृष्णकुमारी र संगीता पुरीविरूद्ध पनि मुद्दा दायर गरेको थियो। केशावतीविरूद्ध १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो मागिएको थियो। दिदी मनमायाविरूद्ध ९९ लाख ४ हजार रूपैयाँ बिगो मागिएको थियो।
देवकुमार पुरीविरूद्ध ४६ लाख २४ हजार रुपैयाँको बिगो थियो। सम्पत्ति जफत प्रयोजनका लागि संगीताविरूद्ध मुद्दा दायर भएको थियो। दमक नगरपालिका-८ (साबिक १३ र १४) मा रहेको ३४ बिगाहा सरकारी जग्गा पुरीले आफू, श्रीमती, दिदी र आफन्तका नाममा ल्याएको विभागको अनुसन्धानमा देखिएको छ।
त्यसमध्ये ३० बिगाहा जग्गा बिक्री गरिसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए। बाँकी चार बिगाहा जग्गा रोक्का राख्न मालपोतलाई चिठी लेखिएको उनले जानकारी दिए।
पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री-वितरण गरेको विभागको अनुसन्धानले देखाएको थियो। मुद्दामा सरकारी जग्गा बेचेर आर्जित र बढे बढाएको केही सम्पत्ति जफत गर्न माग गरिएको थियो।
विभागका अनुसार पुरीकी श्रीमती केशावतीको नाममा रहेको ११ हजार ८४६ वर्गमिटर जग्गा, दुई वटा घर, बा १५ च ७०७६ नम्बरको गाडी, देवकुमारको नाममा रहेको ३९१ वर्गमिटर जग्गा, उनको नामको घर, संगीता र कृष्णकुमार पुरीको नाममा रहेको बिर्तामोडको ३५९३.५२ वर्गमिटर जग्गा जफत गर्न माग गरिएको थियो।न्युज कारखाना
सुनसरी, १ फागुन ।
बराहक्षेत्र नगरपालिका-९ राजाबासबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका-८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित दाहसंस्कार गर्ने घाट नजिक प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा १३ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी चालक सूर्य र गाडीमा सवार लक्ष्मणलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।न्युज कारखाना
काठमाडौं, २९ माघ –
प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ।
भारतबाट नेपाल आएको स्कारपियोबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बरामद गरेको हो।
इनरुवा नगरपालिका-४ सुनसरी खोलाको पुलनजिकबाट आइतबार साँझ प्रहरीले नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए।
बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उनले बताए।
गाडी चालक भारत सुपौलका २२ वर्षीय मोहम्मद सैयदलाई पक्राउ गरिएको रेग्मीले बताए। उक्त स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको रेग्मीले बताए।
‘ट्राफिक प्रहरीले चेकजाँचका क्रममा रोक्दा शंका लागेर हेर्दा नक्कली नोट बरामद भएको हो,’ रेग्मीले भने। बोराभित्र झोलामा लुकाएर र ल्याइएको अवस्थामा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले नक्कली नोटबारे पत्रकार सम्मेलन गरी सोमबार दिउँसो जानकारी दिने जनाएको छ। न्युज कारखाना
विराटनगर, २८ माघ ।
विराटनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुहबी नगरपालिका-९ २५ वर्षीय नगेन चौधरी रहेका छन्। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल पुर्याउँदा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले बताए।
बरगाछी चोकस्थित कोशी राजमार्गमा कन्चनबारीबाट बरगाछीतर्फ आउँदै गरेको बा.प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रश गर्दै गरेको को३६प २८८९ नं. को मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरीकी भतिजी सोस्था चौधरी घाइते छिन्। उनको दुबै घुँडामा सामान्य चोट लागेको छ।
दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन्। नेपाल प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा आएको थियो।
ट्रकको अगाडिको भाग जलेर सामान्य क्षति भएको छ। ट्रक चालक जिल्ला चितवान राप्ती नगरपालिका वडा नं. ११ का ४१ वर्षीय शेरबहादुर राई सामान्य घाइते छन्।न्युज कारखाना
सुनसरी, २६ माघ ।
सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र-१ का अर्जुन विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई धरान-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।
विश्वकर्माले २०६१ मंसिर २३ गते १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ। करणी गरी फरार रहेका विश्वकर्मामाथि सर्वोच्च अदालतले २०६७ वैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो।
पक्राउ परेका विश्वकर्मालाई शुक्रबार नै अदालत पेस गरी जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ।न्युज कारखाना
विराटनगर, २५ माघ ।
आफैँले दिएको अभिव्यक्तिका कारण यतिबेला चौतर्फी विवादमा फसेका छन् कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माविको वार्षिकोत्सवमा कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् । कार्की अझै थप्छन्, ‘फस्ट बेन्चरले कलम चलाउने र आफ्नु भुडिभर्ने मात्रै जानेका छन् । तर, कक्षा कोठामा सबै अब्बल हुन्छन्, म लास्ट बेन्चर यतिबेला मुख्य मन्त्री छु ।’
साेही अभिव्यक्तिका कारण मुख्यमन्त्री कार्की विवादमा परेका हुन् । उनको भाषण सुन्ने कलिला बालबालिकाको दिमागमा के पस्यो होला ? अब नपढे पनि मुख्यमन्त्री भइनेरहेछ भन्ने भान किन पारेका होलान मुख्यमन्त्रीले ? प्रदेश मुख्यमन्त्रीबाट के सिक्ने विद्यार्थीले भन्दै मुख्यमन्त्री कार्कीकाे आलाेचना भइरहेकाे छ ।न्युज कारखाना
विराटनगर, २४ माघ ।
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।
ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हुँदा कटहरी गाउँपालिका-७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।न्युजकारखाना