२०८२ चैत्र २२
२०८२ चैत्र २२

 

लमजुङ ५ भदौ ।

लमजुङमा नयाँ नागरिकता लिनेभन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ ।

 

जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

 

गत वर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले बताए ।

 

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा भने ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो वाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

 

यसैगरी गत आर्थिक वर्ष ०७९/०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । ६० वटा नयाँ सस्था दर्ता भएका छन् । ०७८/७९ मा २ सय १६ नाबालक परिचयपत्र वितरण गरिएको थियो भने प्रशासनमा ८२ वटा सँस्था दर्ता भएको कार्यालयले जनाएको छ ।

 

यसै गरी राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिनेको संख्या पनि उत्तिकै रहेको देखिन्छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको प्रशासकिय अधिकत मिश्रले जानकारी दिएका छन् ।

 

लमजुङ ३१ साउन ।

अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढे पछी लमजुङका विद्यालय बन्द गरिएको छ ।

 

बेसिशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो ।

 

आँखा पाक्ने समस्या भाइरल कन्जन्टीभाइटीस्को संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि बेसीशहर नगरापालिका शिक्षा शाखाकाले एक सुचना जारी गर्दै विद्यालय बन्दको गर्न आह्वान गरेका हुन् । सोमबारसम्म धेरै विद्यार्थीमा भाइरल कन्जजन्टीभाइटीस् संक्रमण देखिएपछि नगरपालिका ८ को अर्थली आवसिय उच्च मावि सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

 

विद्यालयले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । अधिकाशं विद्यालयमा ५० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको बेसिशहर नगरपालिकाले जनाएको छ ।

जिल्ला भरिनै समस्या बढेपनि बेसिशहर नगरपालिकाले अगाबै गर्नुपर्ने निर्णय ढिला गरेको अभिवाकको गुनासो छ । नगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको थियो । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरेपनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको विद्यालय प्रशासन जनाएको छ । विद्यार्थी र शिक्षकहरूमा समेत भाइरल कन्जन्टीभाइटीस् फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

 

एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस् संक्रमणले लमजुङका बालक देखि बृद्धसम्ममा फैलिइरहेको छ । विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ ।

आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ ।

 

भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चार देखि १२ दिन लाग्छ । यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ । संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।

 

लमजुङ ३० साउन ।

लगातारको वर्षाका कारण जिल्लाकै विकट गाँउ दुधपोखरीमा विभिन्न ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले दुधपोखरीका दुई घर भत्काएको छ भने २८ घर उच्च जोखिममा परेका छन् ।

 

शनिबार र आइतबारको वर्षापछि पहिरो झर्दा दुधपोखरी गाँउपालिका २ भुम्लिचोकस्थित  सानुमाया गुरुङ र जमुना गुरुङको घर पहिरोले भत्किएको छ । पहिरो जानसाथ घरमा भएका सानुमाया र जमुनाको परिवार भागेकाले मानवीय क्षति भने नभएको वडा अध्यक्ष अमर गुरुङले जानकारी दिए।

 

वडा अध्यक्ष गुरुङका अनुसार उक्त वडाकै विचौर जलकेनि स्थित सिता तामाङ, ठुलो ढुङगाका राजकुमार तामाङ र मिन बहादुर तामाङ, विचौर ठाँटीका कृष्ण प्रसाद दवाडीको घर उच्च जोखिममा परेको छ भने विचौर मरठाह गाँउका भिम गिरिको घरनजिकै जमिन भास्सिएका  कारण रुख ढल्न जाँदा गिरीको भान्सा कोठामा क्षति पुगेको छ ।

 

त्यसैगरी दुधपोखरीको वडा नंं. १ मा २२ घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त वडाका श्रीप्रसाद ढकालको गोठ पहिरोले भत्किएको छ भने गोठमा रहेको ३ वटा गाईलाई स्थानियद्धारा  उदार गरिएको छ । ढकालको घर संगै अन्य ७ घर पनि उच्च जोखिममा परेको वडा नं. १ का वडा अध्यक्ष दुर्गामान गुरुङले बताए ।

 

सोही वडामा मंगलबहादुर नेपालीको घर छेउमै पहिरो जाँदा उक्त घर संगै ७ घर जोखिम परको र घमरचौर दुरा गुरुङको भान्सा कोठा पहिरोले लाँदा घर पनि जोखिममा परेको छ । कल्लाबारीमा पहिरो जाँदा ६ घर जोखिमा परेका छन् ।  ठूलो भिरमा गएको पहिरोका कारण कल्लाबारी मावि र राम कृष्ण निमाविमा पठनपाठन प्रभावित भएको छ । विद्यालय सम्म पुग्ने बाटो नभएका कारण विद्यालयनै बन्द गरीएको स्थानियको भनाई छ ।

 

लमजुङ ३० साउन ।

लमजुङको मर्स्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ हुने भएकाे छ ।

यहि भदाै ९ गते शनिबार ‘वाटरफल फेस्टिबल’ आयाेजना गरिएकाे आयाेजक हामखाेला व्यवस्थापन समितिले जनाएकाे छ । हामखाेला झरनाकाे प्रचारप्रसार गर्न आयाेजना गरिकाे साे महाेत्सवमा प्रतिष्ठित डिजेकाे प्रस्तुति रहनेछ ।

 

`गर्मी मौसम छ । छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी लिँदै, डिजेकाे साथमा नाँच्न पाईनेछ´, स्थानीय सहदेव गुरूङले भने ।

 

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वर्ष भदौ १७ र १८ गते महोत्सव आयोजना गरिएको थियाे । यसअघि २०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो । कोरोना संक्रमणका कारण ३ बर्ष विथोलिएको महोत्सव गतबर्षदेखि पुनः निरन्तरता दिन लागिएको हामखोला झरना महोत्सवका संयोजक प्रमोद घलेले बताए ।

निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् । यसअघि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत निर्माण गरिएका छन् । यस्तै, झरनाबाट बगेको पानीमा पौडन चाहनेका लागि पोखरी समेत बनाइएको छ ।

 

यो महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । महोत्सवमा गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको जानकारीमुलक तस्विरहरु राखिनेछ ।

लमजुङ १९ साउन ।

लमजुङ प्रहरीले विहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेकाे छ ।

 

बेसीसहरबाट खटिएकाे प्रहरी अप्रेसन टाेलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लाे पामचाेक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हाे । उनीहरूकाे साथबाट करिब साँढे ४ लाख रूपियाँसहित काैडा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

 

पक्राउ पर्नेमा छिमेकी जिल्ला गाेरखाका र केही लमजुङका रहेका छन् । उनीहरूकाे पहिचान गर्न मुचुल्का उठाउने काम भैरहेकाे प्रहरीले जनाएकाे छ ।

 

विशेष सुराककाे आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएकाे थियाे । जुवाडेले प्रयाेग गर्ने गरेकाे सेताे गाडीकाे प्रहरीले केही समयदेखि फलाेअप गरिरहेकाे स्राेतले बतायाे।

 

घटनाबारे विस्तृत विवरण प्रहरीले दिएकाे छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याईएकाे र मुचुल्का उठाउने कार्य भैरहेका बताए ।

 

लमजुङ १२ साउन ।

जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेकाे छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रकाे फारम भर्न थालिएकाेमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएकाे हाे ।

 

जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट परिचय पत्र वितरण थालेकाे हाे ।  प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले एक अनाैपचारिक कार्यक्रमबीच बेसीशहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाइ परिचयपत्र हस्तान्तरण गरी परिचयपत्र वितरण शुरू गरेका हुन् ।

लमजुङबाट बुधबारसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।

 

त्यस्तै कार्यालयले विभिन्न पालिकामा गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म सञ्चालन गरेकाे घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाकाे आवेदन संकलन गरिएकाे थियाे । तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाकाे परिचयपत्र बनेर आएकाे प्रजिअ अधिकारीले जानकारी दिए ।

कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भईसकेका सेवाग्राहीकाे माेबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएकाे छ । यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन् । परिचयपत्र लिनका लागि सबन्धित ब्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिईएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने  प्रजिअ अधिकारीले बताए ।

 

लमजुङ १२ साउन ।

बेसीशहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरु हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ ।

 

नगरपालिकाले अव्यवस्थित तारहरुले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मङ्गलबारका दिन देखि १५ दिनको म्याद दिएको हो ।

 

प्रमुख दलकाे सहभागितामामा बसेको बैठकले अव्यवस्थित तारहरु हटाउने निर्णय गरेको हो । बैठकमा भएको सोहि निर्णय अनुसार बेसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका विजुली तथा टलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरुलाई १५ दिन भित्र हटाउन सम्वन्धित सबैमा सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले जानकारी दिएका छन् ।

 

यस सूचना पश्चात अव्यबस्थित तारहरु ब्यबस्थापनको कार्य शुरु हुने भएकोले यदी कोही कसैको विवरण नखुलेका तार तथा केवलहरु छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको हामी सबैको रहर सभ्य समृध्द बेसीसहर भन्ने नारा समेत रहेको छ ।

सदरमुकाम बेसीसहरमा अब्यबस्थित तारहरुको जालोहरु जताततै रहेको देखिन्छ । बेसीसहर सहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार ब्यबस्थापन एक चुनौतिका रुपमा रहेको पाईन्छ ।

 

मञ्जय राम, कटहरिया, असार २५ गते ।

वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत सुरु भएको छ । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुःख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् ।

यस वर्ष साउन २५, ३१, ७ र १४ गते गरी चार वटा सोमारी ब्रत परेका छन । शास्त्रीय मान्यताअनुसार चार वटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराण लगायत धर्मावलीको विश्वास रहेका छन् ।

साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ ।

प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन्छन् । धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् ।

कतिपयले वर्षमा एकपटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेक समेत गर्ने परम्परा छ । साउनमा विशेष गरी महिला तथा कुमारीहरुले हरियो रंगको सिंघार, गेरही रंगको लुगा तथा फलफूलले सो व्रत बस्ने गर्दछन् ।

 

लमजुङ २३ असार । 

लमजुङको सुन्दरबजार नगरपालिकाले पालिका अन्तर्गतका विभिन्न खोलामा माछाका भुरा छोडेको छ । नगरपालिकाले पाउँदी, नाउँदी र किरिञ्चे खोलामा विभिन्न जातका १ हजार ८ सय ४० वटा माछाका भुरा छोडेको हो ।
सुन्दरबजार नगरपालिका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका खोलामा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले माछाको भुरा छाडेका हुन । अहिले खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र प्रबद्र्धनका लागि यो कार्यक्रम गरिएको नगरप्रमुख कोइरालाले वताए । उनले खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरेका छन् । खोलामा करेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसँग परामर्श गरेर अगाडि बढ्ने उनको भनाई छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अन्तर्गत खोेलामा स्थानीय रहु, नैनी, र चर जातका माछाका भुरा छाडिएको सुन्दरवजार नगरपालिका पशु सेवा शाखा प्रमुख लोकराज कोइरालाले वताए । स्थानीय पाउँदी खोलाको वडा नं. १० काँडेपानी, वडा नं. ३ लामिखेत, वडा नं. ४ र ५ सीमा क्षेत्रमा रहेको किरिञ्चे दोभान तथा वडा नं. ६ खत्रीठाँटी र नाउँदी खोलाको टुहुरे पसल नजिक माछाका भुरा छाडिएको हो ।

 

मत्स्य बिकास केन्द्र बेगनास कास्कीबाट ल्याइएका तिनै जातका माछाहरू खोलाहरूमा निकै प्रभावकारी तरिकाले उत्पादन हुने र छिटो बढ्ने पशु सेवा शाखाका प्रमुख कोइरालाको भनाई छ । खोलामा भुरा छाड्ने कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यहरू, पालिकाका कर्मचारीहरू, स्थानीयहरू लगायतको उपस्थिति थियो ।

 

पशु सेवा शाखाले चालु वर्ष नै मत्यविकास कार्यक्रम अन्तर्गत माछापालक किसानहरुलाई ५० हजार माछाका भूरा वितरण गरेको जनाएको छ ।

 

लमजुङ २३ असार

दोर्दी गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पालिकाले ७५ प्रतिशत अनुदानमा पालिका भित्रका ६० जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो ।

 

धान रोपाईको समयमा लम्पि स्किन रोगका कारण गोरु मरेपछि मारमा परेका १३ किसान र यस अघि नै हाते ट्याट्क्टर माग आवेदन पेश गरेका ४७ जनालाई हातेट्याक्तर वितरण गरिएको छ ।  दोर्दी गाउँपालिका कृषि शाखाका कृषि प्रसार अधिकृति नरहरी घिमिरेका अनुसार लम्पीस्किन रोगले गोरु परेपछि रोपाइनै प्रभावित भएका १३ जना किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोष मार्फत हातेट्याक्तर वितरण गरिएको हो । सो कृषि शाखाको चालु वर्षको कार्यक्रम अन्र्तगत ४७ जनालाई अनुदानमा हातेट्याक्टर वितरण गरिएको छ ।

 

कृषकहरुलाई ६ हर्ज पावरको ५५ वटा र ७ हर्ज पावरको ५ वटा हातेट्याक्टर वितरण गरिरेको कृषि शाखाले जनाएको छ । गाउँपालिकाले ६ हर्ज पावरको प्रति हाते ट्याक्टर ५७ हजारमा खरिद गरि पालिकाको ७५ प्रतिशत लागत र किसानहरुको २५ प्रतिशत १४ हजार रुपैयाँ पर्ने गरी उपलव्ध गराएको हो । यसैगरी ६८ हजार मुल्य बरावरको ७ हर्ज पावरको हाते ट्याक्टर किसानको २४ हजार २ सय ५० रुपैया पर्ने गरी उपलव्ध गराएको  कृषि प्रसार अधिकृत घिमिरेले बताए ।

 

आफुले पालेका पशुमा रोग सक्रमणले मारमा परेका किसानलाई ट्याक्टर वितरणले केहि राहत मिलेको बताउदै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले हाते ट्याक्टरको प्रयोगले कम लागत, थोरै समयमा सहज रुपमा धेरै काम गर्न सकिने बताए।

पछिल्लो समय किसानहरुले गोरु पाल्ने क्रम निकै कम भएको छ । केहि किसानले पालेका गोरुहरु पनि लम्पी स्किन रोग संक्रमण भएपछि चिन्तित बनेका वेला पालिकाले अनुदानमा हाते ट्याक्टर उपलव्ध गराएपछि ठूलो राहत मिलेको किसानहरुले बताएका छन् । दोर्दी गाउँपलिकामा मात्र लप्पी स्किन संक्रमणका कारण  १५ भन्दा बढी गोरु मरेको पशु शाखाले जनाएको छ ।न्युज काराखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।