ढोरपाटन, ११ पुस :
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आउनुभएको छ । उहाँ आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमा यहाँ आउनुभएको हो । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको थियो । उहाँ सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आउनुभएको हो । राष्ट्रपति पौडेलले बागलुङ कालिका मन्दिरको दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम छ । मन्दिरको दर्शनलगत्तै उहाँले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण हुन नसकेको महोत्सव चार वर्षपछि हुन लागेको हो । आजदेखि सुरु हुने महोत्सव यही पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलले बताउनुभयो ।(रासस)
नवलपरासी, मङ्सिर ११ गते ।
नवलपरासी [बर्दघाट सुस्तापूर्व] नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा अलपत्र परेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु गरिएका योजनाले अझैसम्म पूर्णता पाउन सकेका छैनन् ।
गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ भन्ने नीतिअनुरूप जिल्लामा सुरु भएका योजनामा पर्याप्त बजेट नहुँदा काम सम्पन्न हुनसकेको छैन । ढोडेनी खानेपानी योजना, झ्याल्टुङ्गडाँडा खानेपानी योजना, भागर खानेपानी योजनालगायतका आयोजना सम्पन्न हुनसकेका छैनन् । बजेट अभाव र निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीका कारण योजना सम्पन्न हुन नसकेको झ्याल्टुङ्गडाँडा खानेपानी योजना, मध्यविन्दु–१० का अध्यक्ष हेमबहादुर थापाले बताउनुभयो । करिब दुई सय घरपरिवारलाई खानेपानीको व्यवस्थाका लागि पाँच वर्षअघि सुरु भएको योजना पूरा हुन नसकेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७६-७७ मा काम सुरु भएका योजना डेढगाउँ, कावासोती डिग्री कलेज, कावासोती–१७, अग्यौली, वौनाहा, आपचौर, मैनाघाट, देवचुली, अमरापुरी खानेपानी योजना सञ्चालनमा आउन सकेका छैनन् । नवलपुरमा सञ्चालित अन्य योजनामा जिल्ला अस्पताल, आरुङ्गखोला, कावासोती, मगरकोटका खानेपानी योजनासमेत बजेट अभावले सम्पन्न हुनसकेका छैनन् ।
गण्डकी प्रदेश सरकारमार्फत सुरु भएको खानेपानी योजनाका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा सम्पन्न गर्न समस्या परेको कावासोती–१७, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण ढुङ्गानाले बताउनुभयो ।
नवलपुरमा चालु आवमा अधिक रु चार करोडदेखि न्यूनतम रु छ लाख ८० हजारसम्मका योजना सञ्चालनमा छन् । धेरै लागत अनुमान रहेका योजनामा न्यून बजेट विनियोजन गर्दासमेत योजना सम्पन्न हुन धेरै समय लाग्ने गरेको छ । नवलपुरमा चालु आवका लागि रु १८ करोड १८ लाख बजेट विनियोजन गरिएको छ । विभिन्न शीर्षकमा जिल्लामा एक सय एकवटा आयोजना सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, एकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनुभयो ।
जिल्लामा सञ्चालित महत्त्वपूर्ण खानेपानी योजना लामो समयसम्म सम्पन्न नहुँदा उपभोक्ता मारमा परेका छन् । ओभरहेड ट्याङ्की बनाउनुपर्ने योजना न्यून बजेट विनियोजन भएका कारण अघि बढाउन मुस्किल रहेको खानेपानी एकाइ नवलपुरका प्रमुख आचार्यले बताउनुभयो । पुराना कतिपय योजना बजेट अभावका कारण आफूहरूले अगाडि बढाउन नसकेको उहाँले बताउनुभयो । निर्माणका चरणमा रहेका योजना सम्पन्न गराउन आवश्यक बजेटका लागि आफूहरूले मन्त्रालयमा पहल गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लामा खानेपानी डिभिजन कार्यालय नहुँदासमेत काम गर्न थप समस्या भएको यहाँका सरोकारवालाको भनाइ छ । तनहुँस्थित खानेपानी डिभिजन कार्यालयले नै नवलपुरमा खानेपानी योजनाहरू हेर्दै आएको छ । जिल्लामा एकाइ कार्यालय स्थापना गरिएको भए पनि सबै काम तनहुँबाट हुने गर्दछ । जिल्लामा सञ्चालित लिफ्टिङ खानापानी योजनाका लागि विद्युतीकरणमा ढिलाइ हुँदासमेत समस्या हुने गरेको छ ।
लमजुङ २९ कार्तिक ।
लमजुङमा पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । फूलमाथिको परनिर्भरता हटाउन र आय आर्जन समेत हुने भएकाले लमजुङका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
विगत १⁄२ वर्ष अघि सम्म बाहिरी जिल्लाका फूलहरु फाट्टफुट्ट आउने गरेपनि यो वर्ष भने बजारी क्षेत्र सदरमुकाम बेसीशहर, भोटेओडार, सुन्दरबजार, खुदी लगायतका बजारहरुमा पर्याप्त मात्रामा फूल बिक्रीका लागि राखिएको थियाे ।
यो वर्ष बेच्न राखिएका प्लास्टिकका फूलका माला बेच्न बन्देज गरी प्रशासन कार्यालयले जफत गरेपछि बजारी क्षेत्रमा सयपत्री फूलको माला पर्याप्त मात्रामा देखियो । घर सजाउनको लागि फुल नै बिक्री हुनाले पनि सयपत्री फुलको कारोबार ह्वात्तै बढेको जनाइएकाे छ । कतिपय पालिकामा तयारी खादा समेत प्रतिबन्ध गरिएको छ । त्यसैले पनि चाडपर्व र सभा सम्मेलनमा सहजै बिक्री हुने र मनग्य आम्दानी लिन सकिने भएकाले लमजुङमा पनि केही किसान व्यावसायिक नगदे फूलखेतीतर्फ आकर्षित भएका हुन् ।
फूलखेतीका लागि उन्नत बीउबिजन र आधुनिक खेती प्रविधिले यसवर्ष फुल उत्पादन बढेको छ । तिहारको समयमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुने पुष्प व्यवसायीले बताएका छन् । लमजुङमा करीब १० हेक्टर क्षेत्रफलमा सयपत्रीको फूलखेती गरिएको छ । अधिकांश किसानले तिहार लक्षित फूलखेती गरेका छन् । धेरैले आफ्नो घरमा मात्र पुग्ने गरी खेती गरेका छन् भने केहीले मात्रै विक्री गर्ने उद्देश्यले खेती गरेका छन् ।
सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ । तिहारका लागि घरमा फूल लगाउनेहरु घरकै फूल टिपेर घर आँगन सजाउँदै छन् । घरमा फूल नहुनेहरु किनेरै पनि फूलले घर आँगन सजाउन ब्यस्त भएका थिए ।
सयपत्री फूलको मूल्य प्रतिकेजी ३ सय ५० रुपैया तोकिएको थियाे भने उनेको सयपत्रीको माला प्रतिगोटा १ सयमा विक्री स्थानीय ब्यापारी श्याम श्रेष्ठले जानकारी दिए ।
लमजुङको मस्र्याङ्दी गाउँपालिकाको मस्र्याङ्दी कृषि फार्ममा झण्डै १० रोपनी जग्गामा कर्मा ५५५ जातको हाइब्रीड सयपत्री फूलको खेती गरिएको छ भने राइनास, मध्यनेपाल लगायतका ठाउँहरुमा व्यवसायिक रुपमा फूल खेती गरिएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले लमजुङमा अझै पनि फूलखेती व्यावसायिक बन्न नसकेको र जिल्लालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यालयले फूलखेतीमा अनुदानको समेत ब्यवस्था गर्दै आएको बताए । न्युज कारखाना
लमजुङ २५ कार्तिक ।
लमजुङको सुन्दरबजार नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा प्राप्त गरेका छन् ।
सुन्दरबजार नगरपालिका अन्तर्गत विभिन्न वडामा रहेका २३ जना भूमिहिनहरुलाई सुन्दरबजार नगरपालिकामा आयोजित एक कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्ला समिति लमजुङद्वारा तयार गरिएको जग्गाधनी प्रमाण पूर्जा वितरण गरेका थिए ।
राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा भएको जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले जिल्लामा पहिलो पटक सुन्दरबजार नगरपालिकाका भूमिहिनहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।
निरौलाले सुकुम्बासीहरु बसिरहेको स्थानभन्दा बाहिर जग्गाको व्यवस्था गरी स्थानान्तरण गर्ने देशमा नै पहिलो पालिका सुन्दरबजार नगरपालिका रहेको बताए । नगरपालिकामा रहेका लालपूर्जा उपलब्ध गराउन सिफारिस भएका ४७ जना सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरु मध्ये २३ जनाले शुक्रबार जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन् भने बाँकीको केहि प्रक्रिया बाँकी रहेको जिल्ला समितिका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीले जिल्लामा विगत ४५ बर्ष देखि बसोबास गरिरहेका व्यक्तिको नागरिकतासम्म नभएको, आफू बसिरहेको स्थान छोडेर अन्यत्र जान नचाहने जस्ता भूमिहिन व्यक्तिहरु रहेको भन्दै जग्गा उपलब्ध गराउन समेत समस्या भएको साथै अर्कोतर्फ सुगम स्थानमा जग्गा पाउन नै समस्या भएको समेत बताए । अधिकारीले सुन्दरबजार नगरपालिका पछि राईनास नगरपालिकामा पूर्जा वितरणको काम गरिने भन्दै यी पालिकाका प्रमुख, उपप्रमुख लगायत कर्मचारीले अत्यन्तै चासोका साथ भूमिहिनलाई जग्गाधनी प्रमाण पूर्जा दिन लागि परेकोले यो कार्य सम्भव भएको बताए ।
जग्गा प्राप्त गरेपछि भूमिहिनहरुले आफूले जग्गाधनी प्रमाण पूर्जाको अभावमा विभिन्न बाधा व्यवधान झेल्दै आएको र जग्गा पाउने आशा आज यथार्थमा परिणत भएको भन्दै खुसी व्यक्त गरेका थिए । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीका अनुसार जिल्लाभरमा २ सय ५३ भूमिहिन र १ हजार २ सय ४५ अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।
पोखरा, २४ कार्तिक ।
राप्रपा नेपाल कास्किद्वारा पोखराको चाउथे चोकमा आज सभा आयोजना गर्ने भएको छ ।
उक्त सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन् ।
राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न जिल्ला केन्द्रित भएको हो। २०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बिकल्पमा राजा सहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य , र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।
सभालाई अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल , महामन्त्रीद्वय राजाराम बर्तौला ,कृष्ण कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने र विभिन्न ब्यक्तिहरु पार्टी प्रबेश गर्ने समेत राप्रपा नेपाल कास्किले जनाएको छ।
लमजुङ २२ कार्तिक ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी-भैलोलगायतका कार्यक्रम लमजुङमा राति १० बजेसम्म खेल्न पाइने भएको छ।
शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले राति १० बजेपछि देउसी-भैलोलगायतका मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको छ। प्रशासनले बिहान ७ बजेदेखि राती १० बजेसम्म देउसी भैलो खेल्न अनुरोध गरेको हो ।
प्रशासनले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति–सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले राति १० बजेसम्म मात्रै देउसी-भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरेको छ।
दीपावलीको अवसरमा भुइँचम्पा, पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको विक्री वितरण र प्रयोग नगर्न आग्रहसमेत गरेको छ।
विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री-वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।
बाग्लुङ, २१ कार्तिक ।
बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको ढोरपाटन नगरपालिका–२ मलकटिबाङमा ट्याक्सी दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङ ध १ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भइ सडकबाट १ सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार उक्त टयाक्सी बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको थियो ।
लमजुङ १९ कात्तिक ।
उत्तरी लमजुङ र हिमाली जिल्ला मनाङकाे लाईफलाईनसंग जाेडिएकाे बेंसीसहर–चामे सडक कालाेपत्र गर्न सुरू गरिएकाे छ ।
बेसीसहर-चामे सडकअन्तर्गत खुदी जलकिनेसम्मकाे खण्डमा कालाेपत्र सुरू भएकाे हाे । निर्माण कम्पनी आशिष अनेष्ट जेभी चितवनले मर्स्याङ्दी गाउँपालिका-९ गैरीफाँटमा बिहिबारदेखि अमेरिकी प्रविधिकाे अस्फाल्ट कालाेपत्र गर्न सुरू गरेकाे हाे । अस्फाल्ट प्रविधिकाे कालाेपत्र बलियो, महँगो र टिकाउ मानिन्छ ।
सडक निर्माण भएकाे २९ वर्षपछि कालाेपत्र हुँदा स्थानीय खुसी भएका छन् । स्थानीयले कालाेपत्र भएकाे फाेटाे सामाजिक सञ्जालमा राख्दै खुसी ब्यक्त गरेका छन् ।
डुम्रे–बेँसीसहर–चामे सडक योजनाका अनुसार यसवर्ष बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गरिनेछ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख रविन्द्रलाल दासका अनुसार कालाेपत्रका आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो ।
कूल रु ५२ करोड ९६ लाख १६ हजार अनुमानित लागत रहेकामा रु २५ करोड ३२ लाख १३ हजार लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो । तर समयमा काम सम्पन्न हुन नसकेपछि पुन: एक वर्ष म्याद थप गरि काम अघि बढाईएकाे छ ।
यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । विसं २०५१ मा ट्याक खन्न सुरू गरिएकाेमा पछि नेपाली सेनाकाे कार्यदल गणले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरी २०६९ मा हस्तान्तरण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) पाँच दशमलव पाँच मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ ।
अहिलेपनि कालाेपत्र संगै वाल कटिङ गर्ने, चौडाइ बढाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले बताए ।
लमजुङ ५ कार्तिक ।
लमजुङ कारागारमा रहेका कैदीबन्दीलाई त्रिवेणी युवा क्वलले खसी र खाद्यान्न सहयाग गरेको छ ।
कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउनको लागि बेसीशहरमा रहेको त्रिवेणी युवा क्लवले २४ हजार मुल्य बराबरको खसी र ७ हजार पाँच सय रुपैया बरावरको खाद्यान्न सहयोग गरेको हो ।
क्लवले हरेक वर्ष बडादशैको अवसरमा कारागारमा रहेका कैदीबन्दीहरुलाई खाद्यन्न सहयोग गर्दै आएको छ । कैदी बन्दीहरुलाई सहज र उल्लासमय रुपमा चाडपर्व मनाउन सहज होस् भनेर क्लवले सहयोग प्रदान गरेको क्लवका अध्यक्ष विनोद गुरुङले बताए।
कैदीवन्दीलाई दशैकौ शुभकामना दिनुको साथै क्लवका पदाधिकारी, जिल्ला कारागारका जेलर, चौकीदार लगायत उपस्थित व्यक्तिहरुविच शुभकामना आदानप्रदान भएको थियो ।
चाडपर्वको वेला सम्झिएर खाद्यन्न प्रदान गरेको भन्दै कारागारका कैदी बन्दीहरुले आभार व्यक्त गरेका थिए । कारागारका जेलर कमलापती अधिकारीले दशैंमा कैदीबन्दीका लागि सरकारले थोरै मात्र सहयोग गर्ने भएकोले क्लवको यस सहयोगले चाडपर्वमा कैदी–बन्दीलाई खुसी थप्ने बताए ।
लमजुङ कारागारमा हाल ७ जना महिलासहित ८८ जना कैंदीबन्दी रहेका छन् । कारागारका कैदीवन्दैलाई दशैँका लागि यसअघि बेसीशहर नगरपालिकाले २ वटा खसी सहयोग गरेको छ ।
लमजुङ, २ कार्तिक
बेसीशहर नगरपालिकाले कारागारका कैदी,बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ। नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो।
नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गरेका हुन्।
नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन विताइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै भए पनि चाडपर्वमा खुसी मिलोस् भनेर खसी प्रदान गरिएको बताए।
नगरपालिकाले चालुतर्फको अन्य सामाजिक सहायता शीर्षकबाट कैदी/बन्दीलाई ४० हजार रुपैयाँको दुई वटा खसी सहयोग गरिइको बताए।
कारागारका जेलर कमलापती अधिकारीले दसैंमा कैदी/बन्दीका लागि सरकारले थोरैमात्र सहयोग गर्ने भएकोले बेसीशहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदी–बन्दीलाई खुसी थप्ने बताए।
खसी सहयोग कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र संचारकर्मीको उपस्थिती रहेको थियो।
लमजुङ कारागारमा ७ जना महिलासहित ८८ जना कैंदीबन्दी रहेको छन्। न्यूज कारखाना