२०८३ जेष्ठ ७
२०८३ जेष्ठ ७

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

न्युज कारखाना

आजको राशिफल

बि.सं.२०८१ साउन ३० गते बुधबार ई.सं.२०२४ अगस्त १४ नेपाल सम्बत ११४४ गुंलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, एन्द्र योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३४ बजे, सूर्यास्त साँझ ०६: ४२ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व सुलेखन दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । दिमाग बोझिलो बन्ने भएकाले ससाना कुरामा समेत विवादको परिस्थिति बन्नसक्छ, त्यसैले महत्त्वहीन र बेकारका काममा शक्ति र समय खर्च गर्नुहुँदैन । छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतोरपहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ, तर उज्ज्वल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । आजका लागि शुभअङ्क ७, शुभ रङ सेतोरचम्किलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निणर्य तपाईंको सुखद अनुभवको कारक बन्नेछ । आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । बढी खर्च हुने तथा व्यर्थका काममा अल्मलिएर दिन बित्ने परिस्थिति छ । झगडाको योगसमेत बनेको हुँदा मुखलाई कन्ट्रोलमा राखी काममा खटेको जाती हुन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ रङ्गीबिरङ्गीरछिरबिरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नागदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नीतिविद्याधुरन्धराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । पुराना वा तामेलीमा परेका काम दोहोर्याएर गर्ने परिस्थिति छ । अतिरिक्त आम्दानी हुनाले घरायसी सुखसुविधाका वस्तुहरूको किनमेल हुने सङ्केत छ । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । आजका लागि शुभअङ्क ४, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । कुटुम्ब वा चेलीबेटीसँग सम्पर्क हुनेछ, अचानक कुनै पैसा हात पर्ने सम्भावना रहेको छ, लगानीमा रहेको रकम पनि फिर्ता हुनसक्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गं गणपतये नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कवये नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । स्वनिणर्यमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वकाङ्क्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिको सुझाव ग्रहण गर्नुहोला । कृषिक्षेत्र, बनबुट्यान, काठपात र औषधी व्यवसायीका लागि राम्रो दिन छ, नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो । आजका लागि शुभअङ्क १, शुभ रङ सिन्दूरे रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

गलत क्रियाकलाप वा पूरा हुन नसक्ने महत्त्वाकाङ्क्षी काममा सरिक नहुनु होला । आत्मज्ञान, धैर्यता र संयमता आजका मित्र हुन् भन्ने बुझ्नुपर्छ । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःशिवाय यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । हाँकेरताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । आजका लागि शुभअङ्क ९, शुभ रङ सिन्दूरे रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ साउन २० गते आइतबार ई.सं.२०२४ अगस्त ०४ नेपाल सम्बत ११४४ दिल्लागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण औंसी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सिद्धि योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०५: २८ बजे, सूर्यास्त साँझ ०६; ५० बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०८ बजेर ४९ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा चिन्तन गर्ने दिन हो । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर अघि बढ्नु ठीक हुन्छ । मन हलुका र शरीर स्वस्थ भएको राम्रो दिन छ, तर नियमित काम छाडेर घरपरिवार र आत्मीयजनहरूसँग दिन बिताउन सक्नुहुन्छ । विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पारिवारिक सुखको पूर्ण अनुभूति हुने दिन हो । तपाईंको इच्छाको कदर हुने समय छ । हरेक क्रियाकलापमा जीवनसाथी, सन्तान र मित्रवर्गको साथ÷सहयोग प्राप्त हुनेछ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कमलायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । आजका लागि शुभअङ्क १, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् । बुद्धिको उपयोग गर्नाले लक्ष्यप्राप्ति हुने समय हो । विवेक र सुझबुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउन सक्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ÷सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पारिवारिक वातावरण राम्रै छ, रोकिएको धनमाल वा पारिश्रमिक प्राप्त हुनेछ, आज अरुलाई सम्मान गर्ने तथा आफूले पनि प्रतिष्ठा पाउने दिन हो । व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷घिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

कार्यक्षेत्रबाट कुनै राम्रो समाचार आउनसक्छ । अभिभावक र बुजुर्ग व्यक्तिको सल्लाह मानेमा लक्ष्यप्राप्तिको मार्गमा सफल भइनेछ । याद गर्नुहोला, आजको दिन राम्रो बनाउन स्वयं आफ्ना लागि समय निकाल्न सक्नुपर्छ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । पार्टनरको रचनात्मक क्रियाकलापले एउटा नौलो प्रेरणा प्राप्त हुनेछ । कामधन्दा तपाईंको तनावको विषय बन्नसक्छ । सकेसम्म प्रेम र रोमान्सका लागि समय निकाल्नुहोला । आजका लागि शुभअङ्क ९, शुभ रङ घिउ रङ र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउनसक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाती हुन्छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ साम्बसदाशिवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

थोरै मिहिनेत गर्दासमेत ठूलो सफलता पाउने समय हो, ज्ञान बढाउने प्रयास गर्नुहोस्, तारिफयोग्य काम गर्दै भविष्य सुधार्ने मौका पाइने छ । कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । पठनपाठनमा ध्यानकेन्द्रित नहुन सक्छ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न सकिंदैन । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

न्युज कारखाना

काठमाडौँ ।

बलिवुड अभिनेता सिद्धान्त चतुर्वेदी र नव्या नवेली नन्दा लामो समयदेखि रिलेशनशिपमा रहेको हल्ला चलिरहेको थियो । लामो समयदेखि हल्लामै सिमित रहेका सिद्धान्त र नव्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ ।

भारतीय मिडियाहरुले दुवैको ब्रेकअप भएको उल्लेख गरेका छन् ।

यी दुई अहिले अलग भइसकेको र सहज रुपमा ब्रेकअप गरेको रिपोर्टमा उल्लेख गरिएको छ । दुवैले अहिलेसम्म आफुहरुको सम्बन्धको बारेमा सार्बजनिक रुपमा टिप्पणी गरेका थिएनन् । सिद्धान्त चतुर्वेदीले एक पुरानो अन्तर्वार्तामा आफू सिंगल नभएको र कसैसँग डेट गरिरहेको बताएका थिए । उनले अन्तर्वार्तामा युवती चलचित्र क्षेत्रसँग आवद्ध भएपनि अभिनेत्री भने नभएको बताएपछि उनी नव्या भएको अड्कल काटिएको थियो ।

सिद्धान्त चतुर्वेदी हाल बलिवुडका उदयीमान अभिनेता हुने भने नव्या महानायक अमिताभ बच्चनकी नातिनी हुन् । फिल्म क्षेत्र भन्दा बाहिर नव्याले आफ्नो पिताको बिजिनेस बाहेक सामाजिक सेवा तथा आफ्नो पोडकाष्ट गर्ने गर्दछिन ।

त्यस्तै सिद्धान्त भने अब बहुप्रतिक्षित फिल्म ‘धडक २’ मा देखिने भएका छन् । उनी बाहेक फिल्ममा अभिनेत्री तृप्ति डिमरी पनि देखिनेछिन् । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् ।न्युज कारखाना

काठमाडौँ । सफलताको धेरै कारण हुन सक्छन् । तर यदि यो सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण कारक के हो भनेर सोधियो भने, जवाफ हुनेछ- आत्मविश्वास । अमेरिकी मनोवैज्ञानिक डा. नथानियल जिन्सरले आफ्नो पुस्तक ‘द कन्फिडेन्ट माइन्ड’ मा लेखेका छन्, एक व्यक्तिले आफ्नो करियर, सम्बन्ध र सम्पूर्ण जीवनमा कस्तो प्रदर्शन गर्ने भन्ने कुरा उसको आत्मविश्वासमा भर पर्छ ।

अझ के हो भने, हाम्रो आत्मविश्वासको स्तरले पनि अरूले हाम्रो बारेमा के धारणा राख्छन् र उनीहरूले हामीमाथि कति भरोसा राख्छन् भन्ने कुरा निर्धारण गर्दछ । आत्मविश्वास कुनै पनि प्रकारको सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण कारक हो भन्दा अर्को अर्थ लाग्दैन ।

आत्मविश्वास के हो ?

अमेरिकन साइकोलोजिकल एसोसिएशनको एक रिपोर्ट अनुसार, आत्मविश्वास भनेको आफ्नो बारेमा एक वास्तविक र बलियो विश्वास हो । ‘जीवनमा आउने कुनै पनि राम्रो वा नराम्रो परिस्थितिलाई हामीले सम्हाल्नेछौं’ भन्ने सोचले नै आत्मविश्वास देखाउँछ । अर्कोतर्फ, भविष्यको बारेमा चिन्तित हुनु आत्मविश्वासको कमीको संकेत हुन सक्छ ।

डा. नथानिएल जिन्सरले आफ्नो पुस्तकमा लेख्छन्, आफूलाई अरूसँग तुलना गर्दा आत्मविश्वास कमजोर हुन्छ । तर, तुलना गर्नु मानवीय स्वभाव हो । यसलाई पूर्ण रूपमा हटाउन सकिँदैन । तर कतिपय अवस्थामा सामाजिक सञ्जालमा वा आफ्नो वरपर कसैलाई देखेपछि मानिसमा इन्फिरियोरिटी कम्प्लेक्स हुन्छ र उनीहरूको आत्मविश्वास कमजोर हुन्छ ।

यस्तो अवस्थाबाट बच्नको लागि, आफैलाई आफैसँग तुलना गर्नु उपयोगी साबित हुन सक्छ । संसारभरका मान्छेहरू कस्तो छन् र के गरिरहेका छन् भन्ने कारणले आफूलाई तल्लो ठान्नुको सट्टा हिजो कहाँ थियौं र आज कहाँ छौं भनेर सोच्नुपर्छ । हिजो र आजको बीचमा हामीले आफूमा केही सकारात्मक परिवर्तन गरेका छौं कि छैनौं । हामीले आफैंले तोकेका लक्ष्यहरू हामीले कति हदसम्म हासिल गर्न सकेका छौं ? भन्ने कुरा हेर्दा आत्मविश्वासमा कमि आउदैन ।

यदि तपाई आफूलाई कुनै पनि परिस्थितिको लागि तयार राख्न चाहनुहुन्छ र आफ्नो आत्मविश्वास पनि कायम राख्न चाहनुहुन्छ भने त्यसका लागि नकारात्मक सोच भएका व्यक्तिहरूबाट टाढा रहनुपर्छ । यो अनिवार्य शर्त जस्तै नै हो ।

वेलनेस कोच स्टेफनी वाकरले आफ्नो पुस्तक ‘रिभ्याम्प योर हेल्थ: गेन स्ट्रेन्थ एन्ड कन्फिडेन्स’ मा लेखेकी छिन्- नकारात्मक व्यक्ति र नकारात्मक विचारहरूले घेरिएको व्यक्तिको आत्मविश्वास बिस्तारै घट्न थाल्छ । उसले आफ्नो बारेमा नकारात्मक सोच्न थाल्छ । मानिसको नकारात्मक सोच समयसँगै आफ्नै सोच बन्न पुग्छ ।

आत्मविश्वासका लागि पुराना कुरालाई बिर्सेर नयाँ सुरुवात गर्न जरुरी हुन्छ ।

प्रायः मानिसहरूमा आत्म-विश्वासको कमी तब हुन्छ जब तिनीहरू पहिले कुनै काममा असफल हुन्छन् र तिनीहरू आफ्नो प्रयासमा फेरि असफल हुन सक्छन् कि भनेर डराउँछन् । पुराना कुराहरूले मानिसलाई नयाँ सुरुवात गर्नबाट रोक्छ र उनीहरूको आत्मविश्वासको स्तर घट्छ ।

यस्तो अवस्थाबाट बच्न हामीले असफलताका तीतो सम्झनाहरू छोडेर नयाँ सुरुवात गर्नुपर्छ । असफलताबाट पाठ सिक्दै हामीले पछिल्लो पटकको जस्तो गल्ती नगर्ने मानसिकता विकास गर्नुपर्छ ।

आत्मविश्वास किन यति महत्त्वपूर्ण छ ?

आखिर, आत्मविश्वास किन यति महत्त्वपूर्ण छ र यदि कोही आत्म-विश्वास छ भने, यसले उसको जीवनमा कस्तो प्रभाव पार्छ ? डा. नथानिएल जिन्सरका अनुसार यदि व्यक्तिमा आत्मविश्वास भरिपूर्ण छ भने उसको जीवनमा यी सकारात्मक परिवर्तन आउन सक्छन्–

राम्रो प्रदर्शन- यदि व्यक्ति आत्मविश्वासले भरिएको छ भने यसको प्रत्यक्ष प्रभाव उसको कार्यसम्पादनमा पर्छ । पढाइ होस् वा करियर वा अन्य कुनै पनि क्षेत्र, आत्मविश्वासका कारण उसको उत्पादकत्व अरूभन्दा बढी हुन्छ ।

स्वस्थ सम्बन्ध- यदि पर्याप्त आत्मविश्वास छ भने, करियर र व्यक्तिगत कल्याण बाहेक, व्यक्ति सम्बन्धको हिसाबले पनि राम्रो स्थितिमा रहन्छ । एक आत्मविश्वासी व्यक्ति आफ्नो पार्टनर र उसको भावनालाई बुझ्न र व्यवहार गर्न राम्रो स्थितिमा हुन्छ ।

नयाँ काम गर्ने उत्साह– आत्मविश्वासी व्यक्तिले आफूलाई धेरै ठाउँमा उपलब्ध गराउन सक्षम हुन्छ । उ अगाडि बढ्न र जिम्मेवारीहरू स्वीकार गर्न र नयाँ चीजहरू गर्न तयार हुन्छ । जसका कारण उसले करियरमा धेरै अवसर पाउँछन् । आत्मविश्वासको कमीका कारण कतिपय मानिस सही अवसरको पर्खाइमा रहन्छन् ।

विश्वसनीयता- राम्रो सामाजिक सम्बन्ध, सामाजिक स्वीकृति र विश्वसनीयताको लागि आत्मविश्वास धेरै महत्त्वपूर्ण हुन्छ। यदि कुनै व्यक्तिले लामो समयसम्म विभिन्न अवसरमा आत्मविश्वास देखाउछ भने घर, अफिस, समाज र सम्बन्धमा उसको बारेमा भावना निर्माण हुन्छ कि यो काम यो व्यक्तिले गर्न सक्छ, उनलाई विश्वास गर्न सकिन्छ ।न्युज कारखाना

काठमाडौँ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन् । जस्तै नयाँ आमाको आहार, कुन बानी छोड्नुपर्छ, कस्ता शारीरिक र मानसिक समस्याको सामना गर्नु परेको छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छन् ।

जन्मको पहिलो दिनदेखि छ महिनासम्म बच्चालाई चाहिने सबै पोषक तत्व आमाको दूधमा पाइन्छ । त्यसैले, यो अवधिमा बच्चाहरूको लागि स्तनपान धेरै महत्त्वपूर्ण हुने विज्ञहरुले बताएका छन् । त्यसपछि ६ महिनादेखि १२ महिनासम्मको अवधिमा बच्चालाई चाहिने पोषक तत्वमध्ये आधा आमाको दूधबाट प्राप्त हुन्छ । यो समय हो जब बच्चाहरूलाई ठोस खाना सुरु हुन्छ । यसपछि पनि एक वर्षदेखि दुई वर्षसम्मका बालबालिकालाई आवश्यक पर्ने पौष्टिक तत्वमध्ये एक तिहाइ आमाको दूधबाटै उपलब्ध हुन्छ ।

कतिपय मानिसहरु आमाहरुको स्तनको आकार अनुसार आमाको दुध कम वा बढी हुन्छ भन्ने विश्वास गर्छन् । तर विशेषज्ञहरुले यसलाई अस्वीकार गरेका छन् । आमाको दूध उत्पादनसँग स्तनको आकारको कुनै सरोकार नहुने उनीहरुको भनाइ छ ।
सन् २०२४ को अगस्ट १ देखि अगस्ट ७ सम्म मनाइने विश्व स्तनपान सप्ताहको नारा ‘क्लोजिङ द ग्याप – ब्रेस्टफिडिङ सपोर्ट फर अल’ भन्ने राखिएको छ ।

स्तनपानको तीन चरण:

चिकित्सकका अनुसार बच्चा जन्मेपछि आमाले तीन चरणमा दूध उत्पादन गर्ने गर्छिन  । बच्चा जन्मेको दुईदेखि पाँच दिनपछि कोलोस्ट्रम स्राव हुन्छ । संक्रमणकालीन दूध जन्मेको दोस्रो र पाँचौं दिनको बीचमा दोस्रो हप्तासम्म निस्कन्छ । परिपक्व दूध दोस्रो वा तेस्रो हप्ताबाट स्रावित हुन्छ । कोलोस्ट्रम र परिपक्व दूध बीचको कोलोस्ट्रम दूध सामान्य दूधको तुलनामा पहेंलो रंगको हुन्छ भने परिपक्क दुध सेतो हुन्छ । यसमा कोलेस्ट्रोल, न्यूक्लियोसाइड र इम्युनोग्लोबुलिन जस्ता धेरै एन्टिबडीहरू हुन्छन् जसले बच्चाहरूलाई कुनै पनि संक्रमणबाट बचाउँछन् ।

आमाको दूधमा ८० प्रतिशत पानी हुन्छ भने ठोस खानामा १२ प्रतिशत हुन्छ । यसमा दुई प्रतिशत कार्बोहाइड्रेट र प्रोटिन पनि हुन्छ । यसका साथै यसमा निर्धारित मात्रामा सबै आवश्यक सूक्ष्म पोषक तत्वहरू पनि हुन्छन् जसले बच्चाको पाचन प्रक्रियामा मद्दत गर्छ ।

त्यसैले नवजात शिशुलाई जन्मेको पहिलो ६ महिनासम्म आमाको दूध मात्र चाहिन्छ। अन्य खानेकुरा उपलब्ध गराइँदैन । यहाँ सम्मकी भोक लागेको बेला स्तनपान सही तरिकाले गरियो भने बच्चालाई पानी खुवाउनु पर्दैन ।

स्तनपान अवधि

बच्चा जन्मेदेखि दुई वर्षसम्म स्तनपान गराउनु बच्चाका लागि निकै स्वस्थकर हुन्छ । हामीहरुले प्रायः फ्रिजमा दूध राख्ने र भोक लाग्दा बालबालिकालाई खुवाउने गरिन्छ । बालबालिकालाई फ्रिजबाट सिधै चिसो दूध खुवाउनुको सट्टा दूध सामान्य तापक्रममा नपुग्दा कुर्नु पर्छ र दूध सामान्य भएपछि मात्र बालबालिकालाई दूध खुवाउनु स्वस्थकर हुन्छ ।

दूध भण्डार गरेर पछि बच्चाहरूलाई खुवाउनु गलत होइन, तर यो प्रक्रियामा दूधमा पोषक तत्वहरू कम हुने सम्भावना हुन्छ । चिसो दूध बच्चाको स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । तसर्थ, आमाहरूले आफ्ना छोराछोरीलाई एक वर्षको उमेर नपुग्दासम्म उनीहरूलाई प्राथमिकता दिनु महत्त्वपूर्ण हुन्छ ।

दूध किन कम उत्पादन हुन्छ ?

आमाले लिने तनावका कारण दूध उत्पादन कम हुने सम्भावना छ । यसबाहेक स्तनको तन्तु अर्थात् कोशिकाको समूह, असंतुलित हर्मोन र कम तौलका कारण पनि आमाले कम दूध उत्पादन गर्छन् । हाइपोथाइराइडिज्म र हार्मोनल समस्याले पनि आमाहरूमा कम दूध स्राव हुन्छ। आमालाई जन्डिस वा अन्य कुनै संक्रमण भएमा डाक्टरहरूले बच्चालाई स्तनपान गराउन सल्लाह दिँदैनन् । तर, यस्ता घटनाको संख्या एक प्रतिशत मात्रै रहेको छ । स्तनपानको समयमा, आमा र बच्चा बीच एक प्रकारको बन्धन बनाइन्छ, जसलाई छालाको छाला बन्धन पनि भनिन्छ । यो बन्धन बच्चाहरूको विकासको लागि धेरै महत्त्वपूर्ण मानिन्छ । यस अवधिमा बच्चाले आमासँग सुरक्षित महसुस गर्छ । यो बन्धनले बच्चाहरूको शारीरिक र मानसिक विकासमा धेरै हदसम्म मद्दत गर्छ ।

स्तनपान गराउँदा आमाले सधैं बसेर स्तनपान गराउनुपर्छ । बच्चाहरूलाई राम्रोसँग राख्नुपर्छ। सुतेको समयमा बच्चाहरूलाई स्तनपान गराउनु हुँदैन। यो बच्चाहरुको लागी असुविधाजनक मानिन्छ । स्तनपान पछि, बच्चाहरूलाई तपाईंको काँधमा राख्नुपर्छ र पिट्नको लागि पीठमा ट्याप गर्नुपर्छ । बच्चा जन्मेको पहिलो ६ महिना आमाका लागि निकै महत्वपूर्ण हुन्छ । यदि बच्चालाई राती निद्रा लाग्दैन भने, यसले आमालाई पनि निद्रासम्बन्धी समस्या निम्त्याउन सक्छ ।

राम्रो निद्रा आमाको लागि आधारभूत आवश्यकता हो । निद्रासँग सम्बन्धित समस्याहरूले उनीहरूलाई शारीरिक र मानसिक दुवै रूपमा असर गर्छ । विशेष गरी डिप्रेसनसँग सम्बन्धित समस्याहरू निम्त्याउँछ । तसर्थ, यो अवधिमा आमाहरूलाई पति र परिवारबाट बढी सहयोग चाहिन्छ ।

यी कुराहरुलाई ध्यानमा राख्नुहोस्

शिशुको स्तनपान अवधिमा आमाहरूले ध्यानमा राख्नु पर्ने महत्त्वपूर्ण कुराहरू छन् । दैनिक कम्तीमा ३० मिनेट हिड्ने जस्ता मध्यम व्यायाम गर्नुपर्छ । यदि समय छ भने त्यो समय सुत्न र आराम गर्न प्रयोग गर्नुपर्छ । आफ्ना बच्चाहरू सुत्दा आमाहरूले पनि आराम गर्नुपर्छ । यस समयमा उनीहरू अन्य काममा लाग्नु हुँदैन । त्यस्तै आफ्नो मन खुसी राख्ने, आफ्नो मनपर्ने चीजहरू गर्ने, दुबै स्तनबाट बच्चाहरूलाई स्तनपान गराउने जस्ता काम गर्नाले बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ ।

गर्भावस्थादेखि स्तनपान गराउँदासम्म धुम्रपान र मदिरा सेवन गर्नु हुदैन भने यसो गर्दा पेट दुख्ने, छातीमा इन्फेक्सन हुने र बच्चालाई समेत त्यसको असर हुने हुन्छ ।

त्यस्तै बच्चालाई स्तनपान गराउने आमाले धुम्रपान गर्नु हुदैन । त्यस्तै आम्ले रक्सी पिउनाले पनि दूधको मात्रालाई असर गर्छ भने यसका कारण बच्चाहरूलाई निद्रा र विकाससँग सम्बन्धित समस्याहरू हुन सक्छन् ।

सुत्केरी आमाले के खाने ?

आमाहरूले आफ्नो आहारमा प्रोटिन र फ्याट समावेश गर्नुपर्ने आहारविदहरु बताउछन् । स्तनपान गराउने महिलाले दिनमा तीन पटक उचित मात्रामा प्रोटिन लिनुपर्छ । यसमध्ये ९० प्रतिशत प्रोटिन बोटबिरुवाबाट लिनुपर्छ भने १० प्रतिशत मात्रै मांसाहारीबाट लिनुपर्छ ।

सन्तुलित आहार पनि महत्त्वपूर्ण छ। भिटामिन र मिनरल्सले भरपूर खानालाई आफ्नो आहारको हिस्सा बनाउनुपर्छ । तरकारी, फलफूल र सागसब्जी प्रशस्त मात्रामा प्रयोग गर्नुपर्छ । यी सबै न्यूनतम आवश्यक चीजहरू हुन् ।

बच्चाहरुका लागि स्तनपान किन महत्त्वपूर्ण छ?

आमाको दूधले बच्चालाई छ महिनासम्म पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रदान गर्छ । आमाको दूधले बच्चाहरूलाई दीर्घकालीन, अल्पकालीन वा कुनै पनि प्रकारको संक्रमण र समस्याबाट बचाउँछ । खानेकुरालाई लिएर धेरै किसिमका अन्धविश्वास ग्रामीण क्षेत्रमा मात्र नभएर सहरी क्षेत्रमा पनि रहेका छन् । उदाहरणका लागि, यो भनिन्छ कि तरकारी वा पालकले बच्चाहरूमा ग्यासको समस्या निम्त्याउन सक्छ, जुन सत्य होइन ।

आमाको दूधको गुणस्तर र मात्रा बढाउनमा बोसो एक महत्त्वपूर्ण घटक हो । तसर्थ, यो महत्त्वपूर्ण छ कि आमाहरूले आफ्नो आहारमा बोसो, प्रोटिन र तरल पदार्थहरू राम्रो मात्रामा समावेश गर्नुपर्छ । यी कुराहरू पालना गर्नाले आमाको दूधको गुणस्तरमा सुधार हुन्छ ।

आमाहरूको लागि सबैभन्दा महत्त्वपूर्ण के हो ?

खानेकुरा, औषधि वा पाउडरको नियमित सेवनभन्दा आमाको मानसिकता बढी महत्त्वपूर्ण हुन्छ । यो आमाको लागि उपयुक्त मात्रामा दूध उत्पादन गर्न सबैभन्दा महत्त्वपूर्ण छ । दूध उत्पादनको मात्रामा हर्मोन महत्त्वपूर्ण हुन्छ । हर्मोन स्वस्थ रहनका लागि, राम्रो मानसिकता हुनु धेरै महत्त्वपूर्ण छ ।

राम्रो खाना नखाने महिलाले पनि आफ्ना बच्चाहरूलाई राम्ररी र राम्ररी स्तनपान गराउन सक्छन् भन्ने हामीले अनुभव गरेका छौं । आमाको दूध उत्पादनको आहारसँग कुनै सम्बन्ध छैन । हो, आमाको दूध र उनको आहारको गुणस्तरको भने सम्बन्ध छ ।

स्तनपान गराउन डराउने आमाहरू

पहिलो पटक आमाहरूमा हुने डर र अन्धविश्वास रहेको पाइन्छ । एउटी आमाले आफ्नो बच्चालाई स्तनपान गराउन पूर्णतया बेवास्ता गरिरहेकी थिइन् । आफ्ना छोराछोरीलाई स्तनपान गराउनाले आफ्नो स्तन निल्ने डर थियो । सुरुमा ती महिलाले दूध कम भएको बहाना बनाइन् तर काउन्सिलिङपछि उनले आफूले अनलाइन पढेको र गलतफहमीका कारण स्तनपान नगरेको बताइन् ।

त्यस्तै कयौं आमाहरु स्तनपान गराएमा स्तन खुकुलो हुने भन्दै स्तनपान गराउन डराउने गरेको पाइन्छ ।  स्तन खुकुलो हुनुको लागि स्तनपान होइन, उमेर र आनुवंशिकता जिम्मेवार हुन्छ । त्यसैले आफ्ना बच्चाहरूलाई स्तनपान गराउनु उनीहरूका लागि धेरै फाइदाजनक हुन्छ । आमाको दुध अत्यधिक चुहनु प्राकृतिक कुरा हो । यसमा कसैलाई लाज मान्नु पर्दैन । हो, यसले कपडामा दाग र दुर्गन्ध निम्त्याउन सक्छ, त्यति मात्र हो । यसबाट बच्न आमाहरूले अतिरिक्त अन्डरवियर वा नर्सिङ ब्रा प्रयोग गर्न सक्छन् ।

यद्यपि, प्रत्येक आमाको शारीरिक वा मानसिक स्वास्थ्यमा भिन्नता हुन सक्छ । तसर्थ, यदि तपाईंमा कुनै समस्या छ भने डाक्टरलाई सम्पर्क गर्नुनै सहि हुन्छ ।न्युज कारखाना

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११: ३० बजे इंग्ल्याण्डको म्यानचेस्टर जिल्ला अस्पताल बाहिर भीड जम्मा भएको थियो । यो भीडमा बिरामी र तिनका परिवार होइन डाक्टर र पत्रकार थिए । लेबर रुमबाट बालिका जन्मिएको खबर आयो । सबैजना खुशीले उफ्रिए । भोलिपल्ट संसारभरका पत्रपत्रिकाको हेडलाइन थियो– ‘विश्वको पहिलो टेस्ट ट्युब बेबीको जन्म ।

त्यसयता यही दिन अर्थात् जुलाई २५ लाई विश्व भ्रूणविज्ञान दिवसका रूपमा मनाइन्छ ।

यो चिकित्सा र विज्ञान को दुनिया मा एक ठूलो उपलब्धि थियो । यो अद्भुत उपलब्धि स्त्री रोग विशेषज्ञ प्याट्रिक स्टेप्टो र वैज्ञानिक रोबर्ट एडवर्ड्सले गरेका थिए । उनले १० वर्षमा २८२ असफलतापछि यो सफलता पाएका थिए । ति बालिकाको नाम लुइस ब्राउन थियो ।

एक दिन थियो र आज हरेक वर्ष ५ लाखभन्दा बढी टेस्ट ट्युब उत्पादन हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ सम्ममा विश्वमा ८० लाखभन्दा बढी टेस्ट ट्युब बेबीको जन्म भइसकेको छ । यो प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ ।

विज्ञानले अनगिन्ती मानिसहरूलाई आमाबाबु बन्ने खुशी दिएको छ, जसको लागि प्राकृतिक सीमाहरूका कारण यो सम्भव थिएन । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने हाम्रो बानी र खराब जीवनशैली विश्वभरि नै घट्दो प्रजनन दरको लागि धेरै हदसम्म जिम्मेवार छ ।

पछिल्लो समय प्रजननमा समस्या भएपछि बच्चा जन्माउन आइभीएफको प्रयोग निकै बढेको देखिएको छ ।

आइभिएफ व्यवसायको तीव्र वृद्धिको कारण हाम्रो खराब जीवनशैली, खराब खानपान, कम शारीरिक गतिविधि र रक्सी र चुरोटको लत हो । यसका अलावा सचेतना पनि ठूलो कारण हो । यसअघि बाँझोपन भएमा यसको उपचारबारे मानिसहरूलाई जानकारी थिएन । यसअघि आइभिएफमार्फत बच्चा जन्माउनु परम्परा र धर्मको विरुद्धमा रहेको बताइन्थ्यो । समयसँगै मानिसहरूमा चेतना बढ्दै गएको छ र उनीहरू उपचारका लागि अगाडि बढिरहेका छन् ।

पुरुष र महिला दुवैमा बाँझोपनको विभिन्न कारणहरू छन् । यदि महिला वा पुरुष दुवैमा बाँझोपनको समस्या छ भने प्राकृतिक रूपमा बच्चा जन्माउन सम्भव हुँदैन । यस्तो अवस्थामा आइभिएफ प्रविधिको सहारा लिनुपर्छ ।

एलाइड मार्केट रिसर्चको एक रिपोर्टमा, २०२३ सम्म, विश्वव्यापी आइभीएफ सेवा बजारको व्यापार २.५६ लाख करोड रुपैयाँ बराबरको रहेको उल्लेख छ । सन् २०३३ सम्ममा यो बढेर ६.४ लाख करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

यसको मतलब यो अवधिमा यो व्यवसाय ९.३ प्रतिशतको चक्रवृद्धि वार्षिक वृद्धि दरमा बढ्नेछ । यस प्रतिवेदनमा आइभीएफ सेवाको व्यापार बढ्नुको पछाडि धेरै कारणहरू पनि उल्लेख गरिएको छ, जसका कारण मानिसहरूमा बाँझोपन बढिरहेको छ ।

पुरुष र महिला दुवैमा बाँझोपनको विभिन्न कारणहरू छन् । यदि महिला वा पुरुष दुवैमा बाँझोपनको समस्या छ भने प्राकृतिक रूपमा बच्चा जन्माउन सम्भव हुँदैन । यस्तो अवस्थामा आइभिएफ प्रविधिको सहारा लिने गरिएको छ ।न्युज कारखाना

काठमाडौं । 

साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।

त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ ।

साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । साउनको सोमवार शिवभक्तहरु व्रत बस्ने गर्दछन् । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर भगवानको पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ ।

पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । तर यस पटक भने चार सोमबार रहेका छन् ।
विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।

साउन सोमवार व्रत विधि

साउनको सोमवार दिनभर निराहार भएर व्रत बस्ने गरिन्छ । बिहान स्नानादि नित्य कर्म सकेर व्रतको संकल्प गर्नुपर्छ । त्यसपछि घरमै अथवा शिवमन्दिरमा गएर गंगाजल, बेलपत्र, सुपारी, फूल, धतुरो, भाङ आदिले भगवान् शिवको पूजा गरिन्छ । विधिपूर्वक पूजा सम्पन्न गरेपछि व्रत कथा सुन्ने चलन पनि छ । साथै, व्रत बस्नेले शिवको मन्त्र जप पनि गर्दछन् । साउनको सोमवार व्रत बस्नाले वर्षभरिको सोमवार व्रत बसेको पुण्य मिल्ने पुराणहरुमा उल्लेख छ ।

व्रत बसेकाले दिनको तेस्रो प्रहर सकेपछि अथवा साँझ शिवको आरति गरेपछि भोजन गर्ने परम्परा छ । यसरी साउनको पहिलोदेखि अन्तिम सोमवारसम्म व्रतको पालना गर्न सकिन्छ । साउनमा मात्र नभएर शिवसँग सम्बन्धित हरेक व्रत तीन प्रहर नै बस्ने गरिन्छ ।

साउनको सोमवार निषेधित कार्य :

साउनको सोमवार व्रत नबसे पनि कुनै पनि अनैतिक कार्यबाट टाढा रहनुपर्छ, गलत विचार र आचरणबाट टाढा रहनुपर्छ, ब्रह्मचर्यको पालना गर्नुपर्छ, साउनको सोमवार छिटै उठेर भगवान् शिवको ध्यान गर्नुपर्छ, ठूलालाई सम्मान गर्नुपर्छ भने कुनै पनि असहायको अवहेलना गर्नुहुँदैन, साउनमा मांस मदिराबाट टाढा रहनुपर्छ, यसले जीवहत्याको पाप लाग्नुका साथै तन, मन पनि अशुद्ध हुन्छ, साउन हरियालीको मौसम हो, हरियाली शिवजीलाई अत्यन्त मन पर्छ, त्यसैले साउनमा रुखबिरुवा काट्नु अशुभ मानिन्छ ।

किन व्रत बसिन्छ ?

पौराणिक मान्यता अनुसार सोमवारको व्रत बस्नाले चन्द्र ग्रह सबल हुन्छ । चन्द्र सबल भएमा इच्छाइएका सम्पूर्ण शुभभाव पूरा हुन्छन् । यसबाट फोक्सो, दम र मानसिक रोगबाट मुक्ति मिल्छ । अविवाहित युवतीको लागि यो व्रत निकै लाभदायक हुन्छ । १६ वटा सोमवार शिवको व्रत बसेमा उत्तम वर प्राप्त हुने पुराणमा उल्लेख छ । जसले शुद्ध अन्तःकरणले शिवको उपासना गर्दछ, उसले शिवलोकमा शिवसायुज्य प्राप्त गर्दछ ।

शिवको नाममात्रले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता छ । भगवान् शिव भक्तसँग छिट्टै खुसी हुन्छन्, त्यसैले उनको नाम नै आशुतोष छ । उनको कृपा आशीर्वादले मानिसले जीवनमा सबै संकटबाट मुक्ति पाउँछ र जीवन आनन्दमय हुन्छ । न्युज कारखाना

काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् ।

ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ ।

हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रीहरुले बताएका छन् ।

आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

धार्मिक दृष्टिले विष्णु भगवान्का प्रतीकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने परम्परा हुँदा सो एकादशीलाई तुलसी एकादशीसमेत भनिन्छ । एकादशीलाई हिन्दूहरुको महत्वपूर्ण पर्वका रुपमा मानिएको छ ।

व्यावहारिक पक्षलाई हेर्ने हो भने वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र तुलसीलाई मानिन्छ । विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ बनाउन सकिने बताइएको छ । न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिका, महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट शुक्रबार खारेज भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले रिट खारेजी गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको छ । परमादेशमा महानगरपालिकाको बाल उद्धार कार्यदलले गएको जेष्ठ १४ गते बालुवाटारको एक घरबाट उद्धार गरिएकी कक्षा ७ मा अध्ययनरत १४ वर्षिया बालिकालाई बालिग नभएसम्म शिक्षा दीक्षा, स्वास्थ्य सेवासहितको संरक्षण प्रदान गर्नु पर्ने उल्लेख भएको बाल कल्याण अधिकारी, शान्ता पहाडीले जानकारी दिइन् ।

‘अदालतको आदेशले बालिकाको इच्छाको कदर भएको छ । उनी पहिले बसेको घर फर्कन चाहँदैनथिन् तर काठमाडौँमै बसेर पढ्न चाहन्थिन् ।’ पहाडीले भनिन्, ‘उमेरले नभ्याउने जोखिम उठाएर बसिरहेका बालबालिकाहरुको संरक्षण र अधिकारका लागि काम गर्न महानगरपालिकाको बाटो अझ फराकिलो र स्पष्ट भएको छ ।’

‘जसका कोही छैनन् । जसको केही छैन । त्यस्ताको संरक्षक स्थानीय सरकार हो । बालबालिका यही वर्गमा पर्छन् । उनीहरु आफ्ना पीडाहरु व्यक्त गर्न सक्दैनन् । उनीहरु आवाजविहिन हुन् ।’ घटनाका बारेमा प्रमुखको सचिवालय सदस्य धिरज जोशी भन्छन्, ‘यसकारण हामीले जोखिममा रहेका बालबालिकाको अवस्थामा निगरानी बढाएका हौँ । अनुसन्धानमूलक कार्यपद्धतिबाट उनीहरुको अवस्थामा जानकारी लिएपछि प्राप्त जानकारी र विवरण पुष्टि गराउने आधार र प्रमाण संकलन हुनछ । यसका आधारमा जोखिममा रहेका बालबालिकाको उद्धार र संरक्षण गर्ने गरिएको छ ।’

के थियो घटना?

परिवारबाहेकका व्यक्ति वा परिवारसँग बस्ने बालबालिकाको विवरण संकलन गर्न खटिएका महानगरपालिकाका इन्टर्न विद्यार्थीहरु प्रविणा अध्ययन गर्ने विद्यालयमा पुगे । पहिले विद्यालय प्रशासन र शिक्षकहरुसँग छलफल गरे । त्यस छलफलका आधारमा शिफारिस भएका ५ जना बालबालिकालाई प्रश्नावलीको फाराम भराए । प्रश्नावलीमा दिइएको जवाफमा उनले, आफूलाई पाइप र लठ्ठीले पिटेर सजाय दिने गरिएको, धम्की दिने गरिएको बताउँदै खाना पकाउने, घरमा पोछा लगाउने, विरुवामा पानी हाल्ने काम गर्ने गरेको विवरण लेखिन् । विवरणमा उनले, आफूलाई परिवारसँग भेट गर्न नदिएको समेत उल्लेख गरेकी थिइन् ।

इन्टर्न विद्यार्थीले अन्य यातायात, रेष्टुरेन्टसहित विभिन्न क्षेत्रका बालबालिकाको अवस्था अध्ययन गरिरहेका थिए । यसबाट २९ जना बालबालिका जोखिमपूर्ण अवस्थामा देखिए । उनीहरुलाई रातो वर्ग (रेड जोन) मा राखियो । यसपछि जेठ १४ गते नेपाल प्रहरी, बालबालिका खोज तलास सेवा (१०४), वडाका जनप्रतिनिधि र बाल उद्धार कार्यदलको टोलीले उनीहरुलाई उद्धार गरेर संरक्षण दिएको हो । कार्यदलका सदस्य प्रवीण सिलवालकाअनुसार अस्थायी संरक्षण गृहमा मनोविमर्शकर्ताले गरेको मनोपरामर्शमा बालिकाले आफू घरेलु बाल श्रमिकको व्यवहारमा रहेको बताएकी थिइन् ।

बालिकाको इच्छा

पिताले दर्ता गरेको बन्दीप्रत्यक्षीकरण मुद्दाका क्रममा बालिकाले सर्वोच्च अदालतको इजलाससम्म पुग्नु परेको थियो । इजलासमा उनले, काठमाडौँ महानगरपालिकाको संरक्षणमा बसेर पढ्ने, धेरै पढेर जागिर खाने त्यसपछि मात्र परिवारमा फर्कने इच्छा व्यक्त गरेकी थिइन् । सर्वोत्तम हितमा निर्णय गर्दै उनले हाललाई जैविक माता पिताभन्दा महानगरपालिकाको अभिभावकत्व स्वीकार गरेर आफू सक्षम भएपछि परिवारमा पुनःस्थापना हुने इच्छा देखाएकी हुन् ।

घटनामा अदालत

बालिकाको पिताको घर दाङ् जिल्ला हो । उनले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा पहिलो पटक न्यायाधीशद्वय डा. कुमार चुडाल र सुनिलकुमार पोखरेलको इजलासमा महानगरपालिकाकातर्फबाट कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र पुनदेवी महर्जनले वहस गरेका थिए ।  इजलासमा न्यायाधीश पोखरेलले, न्यायाधीश चुडालकोभन्दा फरक राय दिएपछि यो विषय पूर्ण इजलासमा पुगेको थियो ।

पूर्ण इजलासबाट महानगरपालिकाले वन्दी बनाएको नदेखिएको तर सन्तान संरक्षणको पहिलो दायित्व जैविक अभिभावकमा रहने भएकोले निवेदक पितालाई जिम्मा दिनु पर्ने फैसला गर्यो । यसबमोजिम रजिष्ट्रारको कार्यालयमा महानगरपालिकाको बाल उद्धार समितिका सदस्यहरु र कानुनी वारेसको रोहवरमा बालिकालाई पिताको जिम्मा लगाइएको बाल संरक्षण समितिका सदस्य सोनी भट्टराईले जानकारी दिइन् । त्यसपछि आफू कोसँग बस्ने विषयमा बालिकाले आफैँ निर्णय गर्न पाउने अदालतको फैसलाबमोजिम बालिकाले जैविक पिताभन्दा महानगरपालिकाको संरक्षणमा बस्ने निर्णय गरेकी हुन् ।

सिलवालका अनुसार महानगरपालिकाको बाल उद्धार टोलीले २३ जना बालिका र २० जना बालक गरी ४३ जना बालबालिकालाई जोखिमबाट उद्धार गरेर विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ । यसरी उद्धार गरिएका बालबालिकाहरु घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेका÷संरक्षणको आवश्यकता भएका) का बालबालिका हुन् ।

बाल संरक्षणका लागि महानगरपालिकाले अदालतमा ४ वटा मुद्दा दायर गरेको छ । यसमध्ये ३ वटा बालिकामाथि भएका यौन हिंसा सम्बन्धित छन् । एउटा दास बनाउन नहुने र बालबालिका विरुद्धको कसुरसँग सम्बन्धित छ ।

जोखिममा रहेका बालबालिकाहरुलाई वर्गमा विभाजन

१२ वर्षभन्दा कम उमेर भएका, दैनिक ७ घण्टाभन्दा धेरै काम गर्नुपर्ने, यौन हिँसा तथा दुव्र्यवहारको सामना गरेका वा गरिरहेका बालबालिकालाई रातो वर्गमा राखिन्छ । दैनिक २ देखि ५ घण्टासम्म काम गर्नुपर्ने, कुटपिट र गाली गलौज गर्ने गरिएको, पेटभरि खान नदिएको, निन्द्रा पुग्ने गरी सुत्न नदिएका बालबालिकालाई पहेँलो वर्गमा राखिन्छ । मायालु व्यवहार र बोलीबचन पाएका, पर्याप्त मात्रामा शैक्षिक सामग्री उपलब्ध गराइएका, घरपरिवारसँग नियमित सम्पर्क गर्न पाएका, समान खाना पाएका र सुत्नका लागि खाट र कोठा पाएका बालबालिकालाई हरियो वर्गमा राखिएको छ ।

यीमध्ये अहिले रातो वर्गमा रहेका बालबालिकालाई उद्धार तथा जोखिम व्यवस्थापन गर्ने गरिएको छ ।

बालबालिकाको अवस्था कसरी पत्ता लगाइन्छ?

बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्था पत्ता लगाएका हुन् । यस कार्यका लागि ३१ जना इन्टर्नहरु खटिएका छन् ।

यसरी प्राप्त विवरण र बालबालिकाबाट प्राप्त जोखिममा परेको सूचनाका आधारमा खोजतलास सेवा (१०४), नेपाल प्रहरी, महानगर प्रहरीसहित सरोकारवालासहितको बाल उद्धार कार्यदलमार्फत शोषण, दुव्र्यवहार र जोखिममा परेका बालबालिकाको उद्धार हुन्छ । उद्धार गरेर ल्याइएका बालबालिकालाई अस्थायी संरक्षण गृहमा संरक्षण दिइन्छ । संरक्षण गृहमा बालबालिकाले भोग्नुपरेका समस्याहरू सुन्ने, मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता प्रदान गरिन्छ ।

यसपछि बालबालिकाका अभिभावक खोजी हुन्छ । परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनस्र्थापना गराउन सकिने अवस्था छ कि छैन लेखाजोखा गरिन्छ । परिवार पत्ता नलागेमा र बालबालिकालाई परिवारमा फर्काउँदा बालबालिकाको सर्वाेत्तम हित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था छ । हिँसा पीडित, जोखिममा परेका बालबालिका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हकहित र अधिकारको सम्मान, संरक्षण, प्रवर्धन, बाल शोषण जस्ता आपराधिक कार्य गर्ने अपराधीलाई न्यायिक प्रक्रियाबाट उचित दण्ड जरिवाना, शोषणमा परेका बालबालिकालाई न्याय तथा क्षतिपूर्तिको व्यवस्था गर्ने कार्यहरू संरक्षण बाल संरक्षणका दायित्व हुन् ।

नातागोता बाहेकका बालबालिकाको विवरण बुझाउन अनुरोध

महानगरपालिकाले नातागोताबाहेक बालबालिका भएमा यस सम्बन्धी विवरण वडा कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाको बालसंरक्षण तथा बालबालिका सम्बन्धी कार्यविधि २०८० को दफा १६ को उपदफा ५ मा महानगर क्षेत्रभित्र कुनै पनि घर परिवारमा आफ्ना तथा आफ्ना नातागोतावाहेकका बालबालिका रहे बसेका भए तोकिएको फाराम भरी सम्बन्धित वडा कार्यालयमा विवरण पेश गर्नु पर्ने व्यवस्था छ । यही व्यवस्थाका आधारमा सार्वजनिक सूचना जारी गरिएको हो । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।