काठमाडौँ, २ चैत ।
नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो ।
यसअघि नेपाली महिला टिम फिफा वरीयतामा १०५औ स्थानमा रहेको थियो । नेपालको फिफा वरीयतामा अहिलेसम्मको सबै भन्दा राम्रो वरियता २०१७ मा ९१औ स्थानसम्म रहेको थियो । त्यस्तै अहिलेसम्मको सबै भन्दा खराब वरियता भने २०१५ मा ११९औं स्थानसम्म झरेको थियो ।
नेपाली महिला टिमले हालै साउदी अरेबियामा सम्पन्न वाफ च्याम्पियनसिपमा फाइनलसम्म पुगेर गरेको उत्कृष्ट प्रदर्शनपछि फिफा वरीयतामा सुधार आएको हो । फिफा वरीयतामा छिमेकी देश भारतीय महिला फुटबल टिम ६६औ स्थानमा रहेको छ ।
त्यस्तै महिला फुटबलको वरियताको शिर्ष स्थानमा भने स्पेन रहेको छ । त्यस्तै इङल्याण्डले दुई स्थानको सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ भने फ्रान्स तेस्रो र यसअघि दोस्रो स्थानमा रहेको अमेरिका चौथो स्थानमा झरेको छ ।न्युज कारखाना
दुबइ, २ चैत ।
युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका छन् ।
नेदरल्याण्ड्समा गत महिना लागुऔषध तस्करीको लागि अनुपस्थितिमा दोषी ठहरिएका प्रमुख युरोपेली फुटबल खेलाडी क्विन्सी प्रोमेस दुबइमा पक्राउ परेका हुन ।
उनको सुपुर्दगी खोज्ने डच अभियोजकहरूको अनुरोधमा दुबईमा पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
प्रमुख युरोपेली क्लब अजाक्स र सेभिल्ला र अहिले स्पार्टक मस्कोसँग अगाडी खेलेका प्रोमेसलाई नेदरल्यान्ड्सका अभियोजकहरूले करिब १,३६० किलोग्राम कोकिन तस्करी गरेको आरोप लगाएका छन ।
सो लागुऔषध तस्करी अभियानको केन्द्रबिन्दुमा उनी समेत रहेको पुष्टी भए पछि नेदरल्याण्डको अदालतले उनको अनुपस्थितिमा नै ६ वर्षको जेल सजाय सुनाएको थियो ।
‘हामी यो बताउन चाहन्छौं कि दुबईमा एक स्वतन्त्र न्यायाधीशले अब डच सुपुर्दगी अनुरोधमा निर्णय गर्नेछन्’ उनका वकिलले भने, ‘सामान्यतया, सुपुर्दगी प्रक्रियाले धेरै समय लिन सक्छ र धेरै औपचारिक चरणहरू र आवश्यकताहरू समावेश गर्दछ, यो नेदरल्याण्डमा पनि पूर्ण रूपमा सामान्य छ। सुपुर्दगी प्रक्रियाको नतिजा र अवधि यस समयमा भविष्यवाणी गर्न सकिँदैन’
३२ वर्षीया यी खेलाडी गत जनवरीमा दुबईमा स्पार्टक मस्कोसँग प्रशिक्षणका लागि आएका थिए ।
सीएनएनले दुबई पुलिस, स्पार्टक मस्को र प्रोमेसको पीआर प्रतिनिधिलाई टिप्पणीको लागि सम्पर्क गरेको छ। प्रोमेसका वकिलहरूले उनले आफू विरुद्ध लागुऔषध ओसारपसारको आरोप अस्वीकार गर्दै आएका छन र नेदरल्याण्डले सुनाएको ६ वर्षको सजायको बिरूद्द अपील गर्नेछन्।
गत वर्ष प्रोमेसलाई आफ्नो काकाको घुँडामा छुरा प्रहार गरेको आरोपमा उनको अनुपस्थितिमा छुट्टै दोषी ठहर गरिएको थियो । अभियोजकहरूका अनुसार उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो।न्युज कारखाना
काठमाडौं, १ चैत ।
नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन हङकङबाट ५ लाख रुपैयाँ सहयोग गरिएको छ।
टी–२० त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दै आगामी खेलहरूमा हौसला बढाउन त्यहाँको नेपाली समुदायले आर्थिक सहयोग गरेको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङद्धारा आयोजित कार्यक्रममा नोभा बिजनेश सोलुसनको संयोजनमा आर्थिक संकलन गरिएको थियो। हङकङमा व्यवासाय गर्दै आएका नेपालीहरूले उक्त रकम सहयोग गरेका हुन्।
आउँदो जुनमा टी–२० विश्वकपमा सहभागी हुने नेपाली क्रिकेट खेलाडीहरूको हौसलास्वरूप सम्मानसहित ५ लाख आर्थिक सहयोग प्रदान गरिएको एनआरएनए हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकालले जानकारी दिए।
टी २० विश्वकप–२०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै खेलाडीसहित क्यानका पदाधिकारीलाई सम्मान गरिएको थियो।\
अध्यक्ष ढकालले विदेशमा रहेका ७० लाखभन्दा बढी नेपालीको मन क्रिकेटमा रहेको बताउँदै नेपाली क्रिकेटको विकासमा विदेशबाट पनि सहयोग गर्नुपर्नेमा जोड दिए।
‘विदेशमा धेरै नेपाली संघ–संस्था छन्। क्रिकेटप्रेमीहरू धेरै हुनुहुन्छ। नेपाली क्रिकेटको विकासका लागि सबैले हातेमाले गर्नुपर्ने बेला आएको छ। खेलाडीको मनोबल बढाउनुपर्छ,’ उनले भने।
खेलाडीको सम्मान कार्यक्रममा हङकङस्थित नेपाली महावहाज्यिदूत उदयबहादुर रानालगायत अन्य नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।
न्युज कारखाना
काठमाडौं, १ चैत ।
रामेछाप–काठमाडौं पत्रकार समाजले काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा, व्यवसायमा संलग्न तथा संघ–संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी चैत १० गते शनिबारदेखि ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागेको संस्थामा अध्यक्ष दीपेन्द्र गुरुङले जानकारी दिए ।
उनका अनुसार कपअन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लाबासीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा ८ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित शिल्ड पुरस्कार रहेको रामेछाप–काठमाडौं पत्रकार समाजका उपाध्यक्ष यसिमा महतले जानकारी दिइन् । उनले भनिन्,‘रामेछाप जिल्लाबाट काठमाडौं उत्पयकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो । यसपटक पुरस्कार राशी पनि अघिल्लोपटक भन्दा दोब्बर बनाएका छौं ।’ उपाध्यक्ष महतले रामेछाप जिल्लाबाट काठमाडौं उत्पयकामा रहनुभएको व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको बताइन् ।
प्रतियोगिताका लागि टीम दर्ता हुनेक्रम सुरु भइसकेको समाजका सदस्य सुवास सुनुवारले जानकारी दिए । ‘हामीले टीम दर्ता सुरु गरिसकेका छौं । यो प्रतियोगिता मात्र नभई रामेछापबासीबीच आपसी सद्धाव बढाउने र खेलप्रति प्रोत्साहन गराउने उद्देश्यले आयोजना गरेका हौं । यसपटक पनि रामेछापका युवा खेलाडीको उत्साहजनक सहभागिता हुने आशा गरेका छौं,’ उनले भनिन्, ‘चैत ९ गतेभित्र टीम दर्ता गराइसक्नुपर्नेछ ।’
यसअघि लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले प्रथम रामेछाप कप फुटसलको उपाधि जितेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै डाइनामिक युथ तेस्रो भएको थियो ।
गत संस्करणमा विजेतालाई प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार राखिएको थियो । अघिल्लो संस्करणमा जिल्लाका २७ टोली सहभागी भएका थिए । रामेछाप–काठमाडौं पत्रकार समाज रामेछापबाट काठमाडौं उपत्यकामा आएर पत्रकारिता कर्ममा सक्रिय पत्रकारहरुको साझा संस्था हो । संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता रहेको छ ।न्युज कारखाना
काठमाडौँ , १ चैत ।
एटलेटिको म्याड्रिड र बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
यस अघि निर्धारित ९० मिनेटको खेलमा एटलेटिकोले २-१ को नतिजा निकालेपछि खेल २-२ गोलको बराबरी भएको थियो । राउण्ड १६ को पहिलो लिगमा इन्टर मिलान १-० ले विजयी भएको थियो । त्यसपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएकोमा सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा बोरुसिया डोर्टमण्डले पिएसभीलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
योसँगै क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको छ । एटलेटिको म्याड्रिड र डोर्टमण्डसहित आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन् । अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने युइएफएले जनाएको छ ।न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
युवा तथा खेलकुद मन्त्रालयले स्वीकृति नलिई अखिल नेपाल फुटबल संघ (एन्फा) ले १० जना पदाधिकारी विदेश भ्रमणमा पठाउन लागेको भन्दै कारवाहीको निर्देशन दिएको छ ।
मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को ‘झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’का दुई खेल खेल्दैछ । उक्त खेलका लागि नेपाली टोलीसहित एन्फाका १० पदाधिकारी ‘अफिसियल’ बनेर मलेसिया गएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान खराब भएपछि नेपालले विश्वकप छनौटका खेल यहि मार्च २१ र २६ मा होम र अवे खेल बहराइनमा खेल्न लागेको हो ।
राखेपको स्वीकृतिपश्चात् मात्र खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलन भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको युवा तथा मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।
यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १-० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १-० ले विजयी भएको आधारमा नतिजा १-१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो ।
अतिरिक्त समयमा दुवै क्लबले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
त्यस्तै बार्सिलोनाले गएराती नै सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३-१ ले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
योसँगै अहिलेसम्म आर्सनलसहित बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्
न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल तथा बहराइनविरुद्धको फिफा विश्वकप एशिया छनौटको खेलका लागि टिमको घोषणा गरेको छ ।
नेपालले मार्च १५ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ भने विश्वकप छनौटको दोस्रो राउण्डमा बहराइनसँग मार्च २१ र २६ मा खेल्दै छ । बहराइनसँग नेपालमा हुने होम खेल दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएपछि बहराइनमा नै हुने भएको छ ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो अन्नेसेले २३ सदस्यीय अन्तिम टिमको घोषणा गरेका छन् ।
नेपाली टिम:
गोलकिपर- किरण कुमार लिम्बु, अभिषेक रिजाल र बिशाल सुनवार ।
डिफेन्डर- अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरीङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, समित श्रेष्ठ ।
मिडफिल्डर- भारत खवास, बिशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोशन कार्की र उत्सब राई ।
फरवार्ड- अन्जन बिष्ट, दिनेश हेन्जन, हित्सुब थपलिया, समिर तामाङ, संजीव विष्ट र जिलेस्पी जंग कार्की ।
एशिया विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।न्युज कारखाना
काठमाडौँ, २९ फागुन ।
नेपालले पीएनजीलाई पराजित गरेको छ । हङकङमा जारी टी-२० सिरिजअन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएको थियो ।
पिएनजीका लागि हिरी हिरीले सर्बाधिक २८ रन बनाए भने सेसे बाउले २१ तथा टोनी उराले १३ र नोसैना पोकानाले १२ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने प्रतिस जिसीले २ तथा आकास चन्द र गुलशन झाले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ५९ र सन्दीप जोराले ५६ रन बनाएका थिए । त्यस्तै बिनोद भण्डारीले २७ रन बनाए भने गुलशन झाले १५, बिबेक यादवले १९ र लोकेश बमले १४ रन बनाएका थिए ।
त्यस्तै पिएनजीका बलर आसाद भालाले २ विकेट लिए भने नोसैना पोकाना, जोन कारिको र नोर्मन भानुवाले एक एक विकेट लिएका थिए ।
यो जितपछि नेपाल सिरिजको फाइनलमा पुगेको छ । नेपालको २ खेलमा ३ अंक भएको छ । अब आजै हुने हङकङ र पीएनजीबीचको खेलको विजेताले नेपालसँग फाइनलमा बुधबार खेल्ने छ ।न्युज कारखाना
राैतहट,२८ गते फागुन ।
चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका जारी नगर स्तरीय वाड अध्यक्ष फुटबल कपको उपाधि वाड नं. ३ ले हात पारेको छ । चन्द्रपुर नगरपालिका वाड नं. ४ को आयोजनामा भएको सोमबार सम्पन्न फाइनल खेलमा वाड नं. ५ लाइ हराउदै वाड नं. ३ ले उपाधि हात पारेको हो ।
खेलको समयभरी दुबै टिमले गोल गर्न नसकेपछि भएको ट्राइबेकरमा वाड नंं ३ ले वाड नं. ५ को टिमलाइ हराएको थियो । ट्राइबेकरमा वाड नं. ३ ले ५ गोल गरेको थियो भने वाड नं. ५ ले ४ गोल गर्न सफल भएको थियो । बिजेता वाड नं. ३ ले नगद ३० हजार र ट्राफी हात पारेको छ भने उपबिजेता वाड नं. ५ ले नगद २० हजार र ट्रफि हात पार्न सफल भएको थियो ।
पुरस्कार बितरण गदै चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले यस्ता किसिमका खेलले आपसी सदभाब बढाउनुको साथै खेल क्षेत्रको पनि बिकाश हुने बताउनु भएको छ । फुटबल खेलको बिकाशको लागी आफुले सक्दो सहयोग गदै आएको उहाले बताउनु भयो । उक्त वाड अध्यक्ष फुटबल कपको उत्कृष्ठ खेलाडी वाड नं. ३ टिमका रुपेश धामीले हात पारेका छन । धामीले नगद ५ हजार सहित ट्रफी पाएका छन ।
यसैगरी उत्कृष्ठ फर्वाडमा वाड नं. ३ कै जर्सी नं. १० का सरोज लामाले नगद ३ हजार सहित ट्रफी र उत्कृष्ठ गोल रक्षकमा वाड न.ं ३ का निरज धामीले नगद ३ हजार सहित ट्रफी हात पारेका छन । यसैगरी वाड नंं ५ को टिमबाट उत्कृष्ठ मिड फिल्डरमा सुरेश पौडेलले नगद ३ हजार सहित ट्रफि र उत्कृष्ठ डिफेन्डरमा बिष्णु कार्कीले नगद ३ हजार सहित ट्रफी पाउन सफल भएका छन । बिजेता र उप बिजेता टिमलाइ नगर प्रमुख काफलेले पुरस्कार बितरण गर्नुभएको थियो । उक्त वाड अध्यक्ष फुटबल कपमा चन्द्रपुर नगरपालिकाको १० वटै वाडहरुको १० वटा टिम सहभागी भएको थियो ।
उक्त समापन कार्यक्रम आयोजक चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । वाड अध्यक्ष राना मगरले खेललाइ भब्य र सब्य बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएको छ । रौतहट मै पहिलो पटक भएको वाड अध्यक्ष कप पुर्ण रुपमा सफल भएको उहाको भनाइ रहेको थियो ।
वाड नं. ४ ले खेल क्षेत्रको बिकाशको लागी काम गदै आएको बताउनु हुदै वाड अध्यक्ष राना मगरले यस वाड अध्यक्ष कप प्रतियोगितालाइ निरन्तरता दिने प्रतिबद्धता समेत गर्नुभएको छ । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख शुशिल आचार्य, अखिल नेपाल फुटबल संघका मधेश प्रदेश अध्यक्ष नेपाल कार्की,रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,चन्द्रपुर नगरपालिकाका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङ,वाड नं. ३ का वाड अध्यक्ष बोधनाथ देबकोटा,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी लगायतको उपस्थीती रहेको थियो ।