२०८३ आश्विन २०
२०८३ आश्विन २०

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह ‘जे’ अन्तर्गत आज बिहान अन्तिम चरणका खेल हुदैछन् । नेपाली समय अनुसार ७: ४५ बजेदेखि हुने खेलमा अर्जेन्टिनाले जोर्डनसँग प्रतिस्पर्धा गर्दा अल्जेरिया र अस्ट्रिया आमने सामने हुदैछन् । दुवै खेल एकै समयमा हुने भएकाले समूहको अन्तिम समीकरण पनि त्यसैबाट तय हुनेछ ।

साबिक विजेता अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३-० र दोस्रो खेलमा अस्ट्रियालाई २-० ले हराउँदै लगातार दुई जितसहित समूह विजेताको स्थान सुरक्षित गरिसकेको छ । दुई खेलमा पाँच गोल गरेको टोलीले अहिलेसम्म कुनै गोल खाएको छैन । विश्वकपमा कप्तान लियोनेल मेसी उत्कृष्ट लयमा छन् । उनले अर्जेन्टिनाका सबै पाँच गोल गरेका छन् । विश्वकपमा व्यक्तिगत गोल संख्या १८ पुर्‍याउँदै उनले मिरोस्लाभ क्लोजेलाई पछि पारेका छन् । यद्यपि लगातार खेलका कारण थकान महसुस गरेको स्वीकार गरेपछि जोर्डनविरुद्ध उनलाई आराम दिइने बताइएको छ ।

मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले नकआउट चरणलाई ध्यानमा राख्दै धेरै खेलाडीलाई अवसर दिने बताएका छन् । मेसी विश्राममा बसे निको पाज उनको स्थानमा खेल्न सक्छन् भने जुलियन अल्भारेजले लाउटारो मार्टिनेजभन्दा अघि सुरुआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ । रक्षक क्रिस्टियन रोमेरो घुँडाको समस्याका कारण प्रशिक्षणमा सहभागी हुन नसकेपछि उनी पनि यो खेल गुमाउन सक्ने देखिएको छ ।

यदि मेसी मैदान उत्रिए भने उनले ३९ वर्षको उमेरमा विश्वकप खेल्ने अर्जेन्टिनाका दोस्रो खेलाडी बन्नेछन् । साथै लगातार सात विश्वकप खेलमा गोल गर्ने नयाँ कीर्तिमान बनाउने अवसर पनि उनीसँग हुनेछ ।

पहिलो पटक विश्वकप खेलेको जोर्डन दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । पहिलो खेलमा अस्ट्रियासँग पराजित भएको जोर्डन दोस्रो खेलमा अल्जेरियासँग २-१ ले पराजित भएको थियो । यद्यपि प्रशिक्षक जमाल सेल्लामीले साबिक विजेताविरुद्ध राम्रो प्रदर्शन गर्दै विश्वकप यात्राको सुखद अन्त्य गर्ने लक्ष्य रहेको बताएका छन् । उनको टोलीमा कुनै खेलाडी प्रतिबन्ध वा चोटको समस्यामा छैन ।

अर्जेन्टिना र जोर्डनबीच यो पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ।

समूहको दोस्रो स्थानका लागि अल्जेरिया र अस्ट्रियाबीचको खेल निर्णायक हुनेछ ।

दुवै टोलीले जोर्डनलाई हराएका छन् भने अर्जेन्टिनासँग पराजित भएका छन्। अस्ट्रियासँग गोलअन्तरको फाइदा रहेकाले बराबरी पनि उसलाई अन्तिम ३२ मा पुग्न पर्याप्त हुनेछ । अल्जेरियाले भने नकआउट चरण पुग्न जित्नै पर्ने अवस्था छ ।

अल्जेरियाले पहिलो खेलमा मेसीको ह्याट्रिक सामु ३-० को हार बेहोरे पनि दोस्रो खेलमा जोर्डनविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै आशा जीवित राखेको थियो । नाधिर बेनबोउली र अमिन गुइरीले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । रियाद महरेज ३५ वर्षको उमेरमा विश्वकप खेल्ने अल्जेरियाका सबैभन्दा पाका खेलाडी बनेका छन् । पछिल्लो खेलमा अल्जेरियाले बल नियन्त्रण, पास, विपक्षी क्षेत्रभित्रको स्पर्श र लक्ष्यतर्फ प्रहारजस्ता धेरै तथ्याङ्कमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेको थियो ।

अर्कोतर्फ अस्ट्रियाले पहिलो खेलमा जोर्डनलाई हराए पनि दोस्रो खेलमा अर्जेन्टिनासँग २-० ले पराजित भएको थियो । कप्तान मार्सेल साबित्जर टोलीका प्रमुख खेलाडीका रूपमा रहनेछन् । प्रशिक्षक राल्फ राङनिकको नेतृत्वमा उनी अस्ट्रियाका सबैभन्दा प्रभावशाली मिडफिल्डरमध्ये एक बनेका छन् ।

अर्जेन्टिनालाई यस खेलको नतिजाले कुनै फरक पर्दैन भने जोर्डन प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यस्तै अस्ट्रिया बराबरी वा जित भए अन्तिम ३२ मा पुग्ने छ भने अल्जेरिया नकआउट चरणमा पुग्न जित्नै पर्ने अवस्थामा छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । भेनेजुएलामा आएको विनाशकारी भूकम्पले फुटबल जगतलाई पनि ठूलो क्षति पुगेको छ । भूकम्पमा परेर राष्ट्रिय टोलीका उदाउँदा खेलाडीसहित केही युवा फुटबलरको ज्यान गएको छ भने अन्य खेलाडीका परिवार पनि प्रभावित भएका छन् ।

भेनेजुएलाको राष्ट्रिय टोली र भेनेजुएला फुटबल महासंघका अनुसार १८ वर्षीय युवा खेलाडी यिमभेर्ट बेरोतेरानको भूकम्पमा मृत्यु भएको छ । उनले केही महिनाअघि दोहामा सम्पन्न १७ वर्षमुनिको विश्वकपमा भेनेजुएलाको प्रतिनिधित्व गरेका थिए भने हालै २० वर्षमुनिको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए ।

यस्तै, युवा फुटबलर भिक्टर पालासियोस र रजान सिजाको पनि भूकम्पमा ज्यान गएको उनीहरूका क्लब र फुटबल महासंघले पुष्टि गरेका छन् ।

यसैबीच, जुलिया फुटबल क्लबका रक्षक हेक्टर बेलोले सामाजिक सञ्जालमार्फत भूकम्पका क्रममा आफ्नी जीवनसाथीको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार श्रीमतीले भूकम्पका बेला सानो छोरीलाई जोगाउने प्रयास गर्दा ज्यान गुमाएकी हुन् । बेलोकी छोरी र उनकी फुपू भने घाइते अवस्थामा अस्पतालमा उपचाररत रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह ‘जी’ का अन्तिम खेल आज बिहान हुदैछन् । नेपाली समय अनुसार बिहान ८: ४५ बजेदेखि शुरु हुने खेलमा बेल्जियमले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ भने सोही समयमा इजिप्ट र इरान आमनेसामने हुनेछन् ।

अन्तिम खेलअघि समूहको अवस्था निकै रोमाञ्चक बनेको छ । इजिप्ट, इरान र बेल्जियम तीनै टोलीसँग समूह विजेता बन्ने सम्भावना कायम छ ।

इजिप्ट चार अंकसहित शीर्ष स्थानमा छ भने इरान पनि चार अंकका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै बेल्जियम दुई बराबरीबाट दुई अंक जोडेर तेस्रो स्थानमा छ भने न्युजिल्यान्ड एक अंकसहित पुछारमा छ ।

बेल्जियमले नकआउट चरण पुग्न न्युजिल्यान्डलाई हराउनै पर्ने अवस्था छ । जित निकाले शीर्ष दुईमा स्थान निश्चित हुनेछ । यद्यपि समूह विजेता बन्न इजिप्टले इरानसँग जित निकाल्न नहुने र आफूले राम्रो गोलअन्तरका साथ जित निकाल्नुपर्ने सम्भावना पनि छ ।

रुडी गार्सियाको टोलीले पहिलो खेलमा इजिप्टसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा १० खेलाडीमा सीमित रहँदा पनि इरानसँग गोलरहित बराबरी खेलेको थियो । बेल्जियमले पछिल्ला दुई विश्वकपका पाँच खेलमा जम्मा दुई गोल मात्र गरेको छ । तीमध्ये एक गोल विपक्षीको आत्मघाती थियो ।  यद्यपि बेल्जियम लगातार १५ खेलसम्म अपराजित रहेको छ । यो टोलीका लागि सकारात्मक पक्ष हो। अनुभवी गोलरक्षक थिबाउट कोर्टुवाले यो खेल खेले विश्वकपमा बेल्जियमका लागि सबैभन्दा धेरै १८ खेल खेल्ने कीर्तिमान बनाउनेछन् ।

न्युजिल्यान्डले पहिलो दुई खेलबाट एक अंक मात्र जोडेको छ । दोस्रो खेलमा इजिप्टविरुद्ध अग्रता लिए पनि अन्ततः ३-१ ले पराजित भएको थियो । विश्वकप इतिहासमा न्युजिल्यान्डले आठ खेल खेल्दा जित निकाल्न सकेको छैन । चार बराबरी र चार हार बेहोरेको टोली यसपटक पहिलो विश्वकप जितको खोजीमा हुनेछ । विश्वकपका आठमध्ये पाँच खेलमा न्युजिल्यान्डले कम्तीमा दुई गोल खाएको छ। रक्षात्मक कमजोरी सुधार्न सके मात्र बेल्जियमलाई चुनौती दिन सक्ने देखिन्छ ।

यी दुई टोलीबीच कुनै पनि प्रतियोगितामा यसअघि भेट भएको छैन । यद्यपि न्युजिल्यान्डले विश्वकपमा युरोपेली टोलीविरुद्ध खेलेका पछिल्ला दुई खेल बराबरीमा टुङ्ग्याएको थियो । सन् २०१० मा उसले स्लोभाकिया र इटालीसँग समान १–१ को नतिजा निकालेको थियो ।

समूहको अर्को खेलमा इजिप्ट र इरानबीचको भिडन्तले शीर्ष स्थानको टुङ्गो लगाउनेछ । इजिप्टले जित निकाले समूह विजेता बन्नेछ । बराबरीले पनि बेल्जियमले न्युजिल्यान्डलाई हराउन नसके वा गोलअन्तरमा इजिप्टलाई उछिन्न नसके शीर्ष स्थान सुरक्षित रहनेछ । इरानले समूह विजेता बन्न इजिप्टलाई हराउनुपर्नेछ। साथै बेल्जियमले जित निकाल्न नसक्ने वा गोलअन्तरमा इरानभन्दा अघि नबढ्ने अवस्था आवश्यक हुनेछ । समूह विजेता बन्ने टोलीले अन्तिम ३२ को चरणमा तेस्रो स्थानमा रहने टोलीसँग खेल्ने भएकाले शीर्ष स्थानलाई विशेष महत्वका रूपमा हेरिएको छ ।

इजिप्टले दोस्रो खेलमा न्युजिल्यान्डलाई ३-१ ले हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो । यसैबीच मोहम्मद सलाह टोलीका सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन् । उनले विश्वकपमा खेलेका चारै खेलमा गोल वा गोलका लागि सहयोग गरेका छन् । यदि उनले इरानविरुद्ध गोल गरे राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता बन्नेछन् ।

इरानले पहिलो दुई खेल बराबरी खेले पनि खेल प्रदर्शनका आधारमा समूहका चार टोलीमध्ये सबैभन्दा कमजोर देखिएको छ । टोलीले सबैभन्दा कम प्रहार गरेको छ भने सबैभन्दा धेरै प्रहार पनि व्यहोरेको छ । विश्वकपका २० खेलमध्ये इरानले तीन खेल मात्र जितेको छ । टोलीले अहिलेसम्म विश्वकपको पहिलो चरण कहिल्यै पार गर्न सकेको छैन । बेल्जियमविरुद्धको खेलमा इरानले विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरको सुरुआती टोली मैदानमा उतारेको थियो । औसत उमेर ३२ वर्षभन्दा बढी रहेको टोलीमा ३६ वर्ष वा सोभन्दा माथिका तीन खेलाडी सुरुदेखि मैदानमा थिए । इजिप्ट र इरानबीच विश्वकपमा पहिलो पटक भेट हुन लागेको हो । यसअघि सन् २००० मा भएको एक मैत्रीपूर्ण प्रतियोगितामा दुवैले १-१ को बराबरी खेलेका थिए। त्यसपछि पेनाल्टी सुटआउटमा इजिप्ट विजयी भएको थियो ।

समूह ‘जी’ को सम्भावित अवस्था हेर्दा इजिप्टले जिते निश्चित रूपमा समूह विजेता बन्ने छ भने बराबरीले पनि शीर्ष स्थान सुरक्षित रहने सम्भावना छ ।

त्यस्तै इरानले जिते र बेल्जियमले अनुकूल नतिजा निकाल्न नसके समूह विजेता बन्ने छ भने बेल्जियमले नकआउट पुग्न जित अनिवार्य छ । शीर्ष स्थानका लागि इजिप्टले नजित्ने र आफूले ठूलो अन्तरको जित निकाल्नुपर्ने अवस्था छ ।

त्यस्तै न्युजिल्यान्ड नकआउट पुग्ने सम्भावना अत्यन्त न्यून भए पनि पहिलो विश्वकप जितका लागि मैदानमा उत्रने छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी फिफा फुटबल विश्वकपअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा आज राति हुदै छ । नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुने खेलमा  फ्रान्स र नर्वे तथा सेनेगल र इराक खेल्दैछन् ।

यस समुहमा फ्रान्स र नर्वे शीर्ष स्थानका लागि भिड्दै छन् । दुवै टोली यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका छन् । त्यसैले अब यो खेल समूह विजेता बन्ने र नकआउट चरणमा अपेक्षाकृत सहज प्रतिद्वन्द्वी पाउने लक्ष्यमा केन्द्रित हुनेछ ।

अर्कोतर्फ यही समूहको अर्को खेलमा सेनेगल र इराक आमनेसामने हुनेछन् । दुवै टोलीका लागि यो ‘गर या मर’ को अवस्था हो । शीर्ष दुईमा पुग्ने सम्भावना समाप्त भइसके पनि उत्कृष्ट आठ तेस्रो स्थानमा रहने टोलीमध्ये पर्न जित अनिवार्य छ ।

समूह चरणकै सबैभन्दा आकर्षक खेलमध्ये एक मानिएको यस भेटमा विश्व फुटबलका दुई चर्चित फरवार्ड किलियन एम्बाप्पे र इर्लिङ हालान्ड आमनेसामने हुनेछन् । हालान्डले इराकविरुद्ध दुई तथा सेनेगलविरुद्ध थप दुई गोल गर्दै दुई खेलमा चार गोल गरिसकेका छन् । यदि उनले फ्रान्सविरुद्ध पनि दुई वा त्यसभन्दा बढी गोल गरे विश्वकपका पहिलो तीन खेलमै लगातार दुई वा बढी गोल गर्ने इतिहासका तेस्रो खेलाडी बन्नेछन् । उता एम्बाप्पेले पनि इराकविरुद्ध दुई गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्‍याएका छन् । उनी प्रतियोगिताका सर्वाधिक गोलकर्ताको दौडमा अगाडि बढिरहेका छन् ।

फ्रान्सले पहिलो खेलमा सेनेगललाई ३-१ ले तथा दोस्रो खेलमा इराकलाई ३-० ले हराएको थियो । मुख्य प्रशिक्षक डिडिए देसाँ पारिवारिक शोकका कारण स्वदेश फर्किएका छन् । त्यसैले यस खेलमा सहायक प्रशिक्षक गी स्तेफानले टोली सम्हाल्नेछन् । यदि फ्रान्सले नर्वेलाई हरायो भने विश्वकप इतिहासमा दोस्रो पटक समूह चरणका तीनै खेल जित्ने उपलब्धि दोहोर्याउनेछ । यसअघि सन् १९९८ मा घरेलु भूमिमा फ्रान्सले तीनै खेल जित्दै अन्ततः उपाधि उचालेको थियो । रक्षापङ्क्तिमा मालो गुस्टो पूर्ण रूपमा फिट भएपछि पहिलो रोजाइका रूपमा स्थान बनाउन दबाब सिर्जना गरेका छन् ।

नर्वेले पहिलो खेलमा इराकलाई ४-१ तथा दोस्रो खेलमा सेनेगललाई ३-२ ले हराएको थियो । सेनेगलविरुद्धको खेलको अन्त्यतिर धेरै खेलाडीलाई मांसपेशी बाउँडिने समस्या देखिएकाले प्रशिक्षक स्टोले सोलबाकेनले यस खेलमा केही नयाँ खेलाडीलाई अवसर दिने संकेत दिएका छन्। जुलियन रायर्सनको फिटनेस पनि टोलीका लागि चिन्ताको विषय बनेको छ।

यस समुहबाट अन्तिम ३२ मा पुग्ने समीकरण हेर्दा फ्रान्स वा नर्वे विजेता टोली समूह विजेता बन्दै तेस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । पराजित टोली समूह ‘ई’ को उपविजेतासँग भिड्नेछ ।

त्यस्तै सेनेगलले इराकमाथि जित हासिल गरेर तीन अंकसहित उत्कृष्ट तेस्रो स्थानको दौडमा रहनेछ । बराबरी वा हार भए प्रतियोगिताबाट बाहिरिनेछ ।

त्यस्तै इराक जित बाहेक अर्को विकल्प छैन । तर कमजोर गोल अन्तरका कारण जिते पनि अन्य समूहको नतिजामा भर पर्नुपर्ने अवस्था छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । ब्राजिलले स्कटल्यान्डलाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबल २०२६ को समूह ‘सी’ विजेता बनेको छ । मियामीमा भएको खेलमा स्कटल्यान्डको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै ब्राजिलले सहज जित निकालेको हो ।

समूह चरणबाट इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएको स्कटल्यान्डलाई कम्तीमा एक अंक आवश्यक थियो । तर लगातार भएका रक्षात्मक गल्तीले टोलीको सपना संकटमा परेको छ । अब स्कटल्यान्डको भविष्य अन्य समूहका नतिजामा निर्भर रहनेछ ।

खेलको सुरुआतमै स्कट म्याकेन्नाले बल नियन्त्रणमा ढिलाइ गर्दा ब्राजिलका युवा खेलाडी रायनले बल खोसेका थिए । त्यसपछि उनले दिएको पासलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यसपछि ब्राजिलले खेलमाथि पूर्ण नियन्त्रण कायम राख्दै थप दुई गोल गर्‍यो र सहज जित सुनिश्चित गर्‍यो । ब्राजिलका लागि भिनिसियस जुनियरले यस खेलमा २ गोल गरे भने माथेअस कुन्हाले एक गोल गरेका थिए । ब्राजिलका लागि यस खेलमा नेइमार २०२३ पछि पछिलो पटक राष्ट्रिय टिममा फर्किनु सुखद पक्ष रह्यो ।

जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गरेको छ । पराजित स्कटल्यान्ड भने तीन अंकमा सीमित रहँदै उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूको सूचीमा पर्ने आशामा रहेको छ । तर त्यसका लागि उसले अन्य समूहका खेलको नतिजा कुर्नुपर्ने अवस्था आएको छ ।

समूह ‘सी’ को अर्को खेलमा मोरक्कोले हैटीलाई ४-२ ले पराजित गरे पनि समूह विजेता बन्न भने सकेन । ब्राजिलको जितसँगै मोरक्को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।

एटलान्टामा भएको खेलमा विश्व वरियतामा ८३औँ स्थानमा रहेको हैटीले दुई पटक अग्रता बनाएर मोरक्कोलाई दबाबमा पारेको थियो । खेलको १०औँ मिनेटमा लेनी जोसेफको प्रहार मोरक्कोका गोलरक्षक यासिन बोनोमा लागेर जाली चुम्दा हैटीले अग्रता लियो । उक्त गोल आत्मघाती गोलका रूपमा दर्ता भयो ।

मोरक्कोका लागि अच्राफ हाकिमीले ३९औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि विल्सन इसिडोरले उत्कृष्ट प्रहारमार्फत हैटीलाई पुनः अग्रता दिलाए । तर पहिलो हाफको अतिरिक्त समयमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई २-२ को बराबरीमा ल्याए । दोस्रो हाफमा मोरक्कोले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्‍यो। खेल सकिन १२ मिनेट बाँकी रहँदा सुफियान रहिमीले गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाए। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गेसिम यासिनले अर्को गोल थपेपछि मोरक्कोले ४-२ को रोमाञ्चक जित हात पार्‍यो ।

पराजित भए पनि हैटीले प्रतियोगितामा सम्झनलायक प्रदर्शन गर्‍यो । यसअघि ब्राजिल र स्कटल्यान्डसँग पराजित भइसकेको हैटी प्रतियोगिताबाट बाहिरिसकेको थियो । तर विश्वकपमा ५२ वर्षपछि गोल गर्न सफल हुँदै टोलीले आफ्नो गोल सङ्ख्या दोब्बर बनाएको छ ।

समूह ‘सी’ बाट ब्राजिल समूह विजेता र मोरक्को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् । स्कटल्यान्ड भने उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने टोलीमध्ये पर्न सके मात्र अघिल्लो चरणमा पुग्नेछ भने हैटी प्रतियोगिताबाट बाहिरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । उज्बेकिस्तानलाई ३–१ ले हराउँदै विश्वकप अभियानको विजयी सुरुआत गरेको कोलम्बिया आज बिहान मेक्सिकोको ग्वाडालाहारामा डिआर कङ्गोसँग भिड्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । समूह ‘के’ अन्तर्गत यो खेल नेपाली समय अनुसार आज बिहान ७: ४५ बजेदेखि शुरु हुदैछ ।

दुई टोलीबीचको पहिलो भेट हुनेछ । तर उज्बेकिस्तानविरुद्ध जस्तै कोलम्बिया अपरिचित प्रतिद्वन्द्वीबाट प्रभावित नहुने विश्वासमा छ ।

हालका विश्वकप संस्करणहरूमा कोलम्बियाले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ । उसले पछिल्ला सात खेलमध्ये ६ खेल जितेको छ भने सन् २०१८ मा जापानसँग २-१ ले पराजित भएको खेल मात्रै अपवाद बनेको थियो ।

यो अवधिमा प्रशिक्षक नेस्टोर लोरेन्जोको टोलीले १७ गोल गरेको छ भने केवल पाँच गोल मात्र बेहोरेको छ । त्यसैले डिआर कङ्गोका लागि यो खेल कठिन बन्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि, डिआर कङ्गोले पहिलो खेलमा पोर्चुगलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफू पनि चुनौतीपूर्ण टोली भएको संकेत दिएको थियो ।

५२ वर्षपछि विश्वकपमा फर्किएको सेबास्टियन डेसाब्रेको टोलीले प्रतियोगिताकै ठूलो आश्चर्यमध्ये एक नतिजा निकाल्दै क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग १-१ को बराबरी खेलेको थियो ।

त्यो नतिजासँगै डिआर कङ्गोले विश्वकप इतिहासमै पहिलो अंक र पहिलो गोल दर्ता गर्‍यो । योआने विस्साले पहिलो हाफमा हेडरमार्फत ऐतिहासिक गोल गरेका थिए ।

यसअघि सन् १९७४ मा जाइरेको नाममा विश्वकप खेलेको डिआर कङ्गोले समूह चरणका तीनै खेल हार्दै १४-० को समग्र अन्तर बेहोरेको थियो। तर यसपटकको टोलीले फरक कथा लेख्ने संकेत देखाइसकेको छ । तर लुइस डियाज र हामेस रोड्रिगेजजस्ता खेलाडीलाई रोक्नु भने डिआर कङ्गोका लागि निकै कठिन चुनौती बन्न सक्छ । किनभने कोलम्बियाले विश्वकपका पछिल्ला १० खेलमा लगातार गोल गर्न सफल भएको छ ।

यो प्रतियोगितामा साविक विजेता अर्जेन्टिनासँगै कोलम्बियाको यो सबैभन्दा लामो सक्रिय गोल गर्ने शृङ्खला हो ।

यदि कोलम्बियाले यस खेलमा जित निकाल्यो भने उसले लगातार तेस्रो विश्वकपमा नकआउट चरणको यात्रा सुनिश्चित गर्नेछ । यसअघि उसले सन् २०१४ र २०१८ मा पनि समूह चरण पार गरेको थियो। त्यसअघि भने चार सहभागितामध्ये एक पटक मात्रै अन्तिम १६ मा पुगेको थियो ।

कोलम्बियाको सफलतामा लुइस डियाजको भूमिका महत्वपूर्ण बन्न सक्छ । उनले उज्बेकिस्तानविरुद्ध एक गोल र एक गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले विपक्षीको पेनाल्टी क्षेत्रमा छ पटक बल छोएका थिए भने चार पटक ड्रिबल, आठ द्वन्द्वमा सफलता र पाँच पटक फाउल जितेका थिए। यी सबै तथ्याङ्क टोलीमा सर्वाधिक थिए।

उता डिआर कङ्गो फेरि पनि विस्साबाट प्रेरणा खोज्नेछ । यदि उनले ग्वाडालाहारामा गोल गर्न सके भने विश्वकपका पहिलो दुई खेलमा लगातार गोल गर्ने दोस्रो अफ्रिकी खेलाडी बन्नेछन् । यसअघि सन् २०१८ मा इजिप्टका मोहम्मद सलाहले यस्तो उपलब्धि हासिल गरेका थिए ।

यस खेलमा धेरै नयाँ तथ्यहरू पनि जोडिनेछन् । यो कोलम्बिया र डिआर कङ्गोबीचको पहिलो प्रतिस्पर्धा हुनेछ । यस्तै, डिआर कङ्गोले दक्षिण अमेरिकी फुटबल महासंघअन्तर्गतको टोलीसँग खेल्ने यो दोस्रो अवसर हुनेछ । विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा ऊ चिलीसँग २-१ ले पराजित भएको थियो । अफ्रिकी टोलीविरुद्धको आफ्नो पहिलो विश्वकप खेलमा कोलम्बिया सन् १९९० मा क्यामरुनसँग २-१ ले पराजित भएको थियो। त्यसपछि भने उसले अफ्रिकी टोलीविरुद्धका तीनै खेल जितेको छ। कोलम्बियाले सन् १९९० मा ट्युनिसियालाई १-०, सन् २०१४ मा आइभरी कोस्टलाई २-१ र सन् २०१८ मा सेनेगललाई १-० ले पराजित गरेको थियो।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगलले जारी फिफा फुटबल विश्वकपमा उज्बेकिस्तानलाई ५-० गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित निकालेको छ । यससँगै रोनाल्डो विश्वकपका लगातार ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

४१ वर्षीय रोनाल्डोले खेलको छैटौं मिनेटमा जोआओ क्यान्सेलोको क्रसलाई नजिकको पोस्टमा हाफ भलीमार्फत गोलमा परिणत गर्दै कीर्तिमान बनाएका हुन् । यो गोलसँगै उनी विश्वकपमा गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् । यसअघि सन् १९९४ मा क्यामरुनका रोजर मिल्लाले ४२ वर्षको उमेरमा रुसविरुद्ध गोल गरेका थिए ।

प्रतियोगिताको पहिलो खेलमा डिआर कङ्गोसँग १-१ को बराबरी खेलेपछि आलोचना खेपेको पोर्चुगलले यसपटक भने विश्वकपमा पहिलोपटक सहभागी बनेको उज्बेकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्‍यो ।

पोर्चुगलले १७औं मिनेटमा अग्रता दोब्बर बनायो । नुनो मेन्डेसले करिब २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक सिधै जालीमा पुगेको थियो ।

उज्बेकिस्तानले अजीज गानिएभमार्फत शानदार गोल फर्काएको जस्तो देखिए पनि अब्बोसबेक फैजुल्लाएभले क्यान्सेलोलाई फाउल गरेको पाइएपछि गोल मान्यता पाएन ।

त्यसपछि खेलको ३९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए । ब्रुनो फर्नान्डेसले मध्यभागबाट उत्कृष्ट पास उपलब्ध गराएपछि रोनाल्डोले सहज रूपमा बललाई जालीको कुनामा पुर्‍याएका थिए ।

त्यसपछि उज्बेकिस्तानका गोलरक्षक अब्दुभोहिद नेमातोभको आत्मघाती गोलबाट पोर्चुगलले ४-० को अग्रता बनायो । अन्तिम समयमा वैकल्पिक खेलाडी राफाएल लिआओले पाँचौं गोल थप्दै जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै पोर्चुगल दुई खेलबाट शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि बुधबार हुने अर्को खेलमा कोलम्बियाले डिआर कङ्गोलाई हराएमा पोर्चुगललाई पछि पार्न सक्नेछ । उज्बेकिस्तान भने लगातार दोस्रो हारसँगै अंकविहीन रहेको छ ।

रोनाल्डोले भने अब विश्वकपमा कुल १० गोल पुर्‍याएका छन् । उनले सन् २००६, २०१०, २०१४ र २०२२ मा एक-एक गोल गरेका थिए भने सन् २०१८ मा चार गोल गरेका थिए । त्यसक्रममा स्पेनविरुद्धको ३-३ को बराबरीमा उनले ह्याट्रिक समेत पूरा गरेका थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । विश्वकपमा पहिलो पटक सहभागी बनेको केप भेर्डेको प्रभावशाली यात्रा जारी रहँदा उसले दुई पटकको च्याम्पियन उरुग्वेसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

समूह ‘एच’ अन्तर्गत भएको खेलमा केप भेर्डेले सुरुआती अग्रता लिए पनि उरुग्वेले पुनरागमन गर्दै खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो ।

स्पेनसँग गोलरहित बराबरी खेलेर सबैलाई चकित पारेको केप भेर्डेले २१औँ मिनेटमा केभिन पिनाको लामो दूरीको फ्रिकिकमार्फत अग्रता बनाएको थियो । उनको प्रहार रक्षापंक्तिको बीचबाट हुँदै जाली चुमेको थियो ।

अग्रता लिएपछि केप भेर्डे आक्रामक बनेको थियो । तर त्यसक्रममा रक्षापंक्तिमा खाली ठाउँ छाड्दा उरुग्वेले त्यसको फाइदा उठायो ।

माक्सी अराउजोले सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ फर्काएको बललाई हेडमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोबियोले अराउजोकै पासलाई नजिकबाट गोलमा परिणत गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाएका थिए । उरुग्वेको निरन्तर दबाबका कारण केप भेर्डेलाई आक्रमण निर्माण गर्न कठिनाइ भइरहेको थियो । तर उसले हार मानेन र खेलमा पुनरागमन गर्‍यो ।

उरुग्वेका रक्षक मथियास ओलिभेराले आफ्नै क्षेत्रमा बल पास गर्ने क्रममा हेलियो भारेलालाई नदेख्दा त्यसको महँगो मूल्य चुकाउनुपर्‍यो । भारेलाले बल नियन्त्रण गर्दै गोलरक्षकलाई छलाएर खाली पोस्टमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

उरुग्वेले अन्तिम समयमा विजयी गोल गर्ने अवसर पनि पाएको थियो । फेडेरिको भाल्भेर्डेले गरेको गोल अफसाइडका कारण मान्यता पाएन । इन्जुरी समयमा दुवै टोलीले थप अवसर सिर्जना गरे पनि निर्णायक तेस्रो गोल भने निस्कन सकेन ।

दुई खेलबाट समान दुई अंक जोडेको उरुग्वे दोस्रो तथा केप भेर्डे तेस्रो स्थानमा रहेका छन् । दुवै टोलीको अन्तिम ३२ मा पुग्ने सम्भावना अझै कायम रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी फिफा विश्वकपको समूह ‘जी’ को सुरुवाती खेलमा दुवै टोली बराबरीमा रोकिएपछि न्युजिल्यान्ड र इजिप्ट अब क्यानडामा हुने महत्वपूर्ण खेलमा आमनेसामने हुँदै छन् । यो खेल समूह चरणको समीकरण बदल्न सक्ने निर्णायक मानिएको छ ।

यो खेल नेपाली समय अनुसार आज बिहान ६: ४५ बजेदेखि शुरु हुदैछ ।

इजिप्टले सुरुवाती खेलमा बेल्जियमसँग बराबरी खेलेको थियो भने न्युजिल्यान्ड पनि इरानसँग दुई पटक अग्रता जोगाउन नसक्दा खेल बराबरीमै सकिएको थियो । यससँगै समूह ‘जी’ का चारै टोली एक-एक अंकमा छन् ।

न्युजिल्यान्डका लागि इलिजाह जस्ट उत्कृष्ट लयमा देखिएका छन् । उनले इरानविरुद्ध दुई गोल गर्दै विश्वकप खेलमा दुईभन्दा बढी गोल गर्ने पहिलो न्युजिल्यान्ड खेलाडी बनेका छन् । पहिले अर्ध-व्यवसायिक टोली मानिने न्युजिल्यान्ड पछिल्ला वर्षमा प्रतिस्पर्धी टोलीका रूपमा उदाएको छ । उनीहरूले पछिल्ला चार विश्वकप खेल लगातार बराबरी खेलेका छन्।

टोलीका कप्तान क्रिस उडले इरानविरुद्ध जस्टका दुवै गोलमा अवसर सिर्जना गरेका थिए । उनले आक्रामक दबाब पनि बनाउँदै टोलीलाई अग्रसर गराएका थिए ।

यता इजिप्टका लागि इतिहास अझै कठिन छ । सन् १९३४ देखि विश्वकप खेल्न थाले पनि उनीहरू अझै पहिलो जितको खोजीमा छन् ।

बेल्जियमविरुद्धको खेलमा इमाम आशुरले १९ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, जुन इजिप्टको विश्वकपमा सबैभन्दा छिटो गोल हो। तर त्यो अग्रता टिकेन ।

पहिलो पटक विश्वकपमा इजिप्ट हाफ टाइमसम्म अग्रतामा भए पनि मोहम्मद हानीको आफ्नै गोलले बेल्जियमलाई खेलमा फर्कायो र इजिप्टको जितको अवसर गुम्यो ।

अफ्रिकाको सात पटकको च्याम्पियन इजिप्टका लागि अहिले पनि सबैभन्दा ठूलो आशा मोहम्मद सलाह हुन् । उनले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए र बेल्जियमविरुद्ध पनि गोलमा भूमिका खेलेका थिए ।

१८ वर्षका युवा फरवार्ड हम्जा अब्देलकरीमले पनि डेब्यु गर्दै इजिप्टको नयाँ पुस्ताको संकेत दिएका छन् । तर प्रशिक्षक होसम हसनले फेरि सलाहसँग ओमर मरमौसलाई आक्रमणमा उतार्ने सम्भावना छ ।

न्युजिल्यान्ड र इजिप्टबीचको भेट अहिलेसम्म विश्वकपमा भएको छैन । न्युजिल्यान्डले कुनै पनि अफ्रिकी टोलीसँग विश्वकपमा खेलेको यो पहिलो अवसर हुनेछ । तर समग्रमा इजिप्ट न्युजिल्यान्डविरुद्ध अपराजित छ । उनीहरूले पहिले दुई जित र एक बराबरी निकालेका छन्। पछिल्लो भेट भने दुई वर्षअघि काइरोमा भएको मैत्रीपूर्ण खेलमा इजिप्टले १-० ले जितेको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । बेल्जियम र इरान दुवैले आफ्नो पहिलो विश्वकप खेलमा पछाडि परेको स्थितिबाट बराबरी निकाल्दै संघर्षपूर्ण अंक बाँडेपछि, आज राति हुने खेल उनीहरूका लागि निकै निर्णायक बन्ने भएको छ । समूह जी अन्तर्गत हुने यो खेलमा पराजय स्वीकार गर्न दुवै टोलीलाई कुनै पनि हालतमा सहज छैन । लस एन्जल्समा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुने छ ।

यो दुवै राष्ट्रबीचको पहिलो भेट हुनेछ, जसले खेललाई थप रोचक बनाएको छ ।

बेल्जियमलाई समूहबाट अगाडि बढ्ने बलियो दाबेदार मानिए पनि प्रशिक्षक रुडी गार्सिया आफ्नो टोलीको पहिलो खेलको प्रदर्शनबाट सन्तुष्ट छैनन् । इजिप्टविरुद्धको खेलमा बेल्जियमले इमान अशुरको सुन्दर गोलपछि पछि परेको थियो । खेलमा लामो समयसम्म आक्रामकता नदेखिएको बेल्जियमले दोस्रो हाफपछि मात्र गति लिएको थियो । रोमेलु लुकाकुको मैदान प्रवेशपछि खेलको स्वर बदलिएको थियो । उनको दबाबका कारण मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको थियो । यो बराबरीसँगै बेल्जियमको विश्वकपमा लगातार जितविहीन यात्रा तीन खेल पुगेको छ । यसअघि उनीहरू पछिल्ला चारमध्ये तीन खेलमा जित निकाल्न सकेका छैनन् । यद्यपि तथ्यांक विश्लेषण गर्ने समूहले बेल्जियमलाई समूहबाट अगाडि बढ्ने करिब ९० प्रतिशतभन्दा बढी सम्भावना देखाएको छ । इरानको सम्भावना भने करिब ४७ प्रतिशत आसपास छ ।

इरानले पनि आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो । इरानका लागि रमिन रेजाइयान र मोहम्मद मोहेबीले गोल गरेका थिए । इरानले विश्वकपको पहिलो खेलमा हार टार्न सकेको यो मात्र तेस्रो पटक हो । यसअघि सन् २०१४ मा नाइजेरियासँग गोलरहित बराबरी र सन् २०१८ मा मोरक्कोविरुद्ध १-० को जित निकालेको थियो ।

तर इरानले विश्वकपमा लगातार पहिलो दुई खेलबाट अंक जोड्ने इतिहास भने बनाउन सकेको छैन । यदि यस खेलमा पनि हार टार्न सके उनीहरूका लागि नयाँ उपलब्धि हुनेछ ।

इरानले शीर्ष १५ वरियताभित्रका टोलीसँग विश्वकपमा खेलेका अधिकांश खेलमा कठिन परिणाम भोगेको छ । तीमध्ये केही मात्र खेलमा उनीहरूले सकारात्मक नतिजा निकालेका छन्, जसमा सन् १९९८ मा अमेरिकाविरुद्धको जित र सन् २०१८ मा पोर्चुगलसँगको बराबरी प्रमुख हुन् ।

यता बेल्जियमको मुख्य समस्या गोल गर्न नसक्नु हो । पछिल्ला खेलहरूमा धेरै प्रयास गरे पनि उनीहरूले अपेक्षित रूपमा गोल गर्न सकेका छैनन् ।

टिमका युवा खेलाडी जेरेमी डोकुले इजिप्टविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ड्रिब्लिङ, बल नियन्त्रण र विपक्षीलाई दबाबमा राख्ने काममा प्रभाव देखाएका थिए । अब बेल्जियमको मुख्य आशा भने लुकाकुको गोल फर्ममा फर्किने क्षमतामा हुनेछ । उनी लामो समयदेखि विश्वकपमा गोल गर्न सकेका छैनन् ।

इरानका लागि भने अनुभवी खेलाडी रमिन रेजाइयान निर्णायक बन्न सक्छन् । अघिल्लो खेलमा उनले गोल र असिस्ट दुवै गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यो खेल दुवै टोलीका लागि समूह चरणको भविष्य निर्धारण गर्ने महत्वपूर्ण भिडन्त हुने देखिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।