२०८३ जेष्ठ ११
२०८३ जेष्ठ ११

भक्तपुर । भक्तपुरको बेखालमा राष्टिय प्रतियोगिता आयोजना मिल्ने क्षमताको भव्य टेबुल टेनिस कभर्ड हल निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिका वडा नं १० बेखाल (नगरकोट जाने सडक खण्ड) मा एक सय ५० दर्शक अट्नसक्ने भव्य कभर्ड हल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो ।
कभर्ड हल साढे तीन तल्लाको छ । कभर्ड हल पार्किगसहितको भव्य छ । झण्डै तीन करोड ४४ लाख बराबरको खर्चमा भक्तपुर नगरपालिकाले कभर्ड हल निर्माण गरेको हो । कभर्ड हल त्यहाँंको तीन हजार सात सय दुई वर्ग फिटको पर्ति (सार्वजनिक) जग्गामा बनाइएको हो ।
झण्डै तीन वर्ष भन्दा लामो समयदेखि भबन बन्न सकेको हो । कभर्ड हल निर्माणको सुरुवात २०७७ साल पुस २० गतेबाट सुरु भएको थियो । भव्य कभर्ड हलको संघीय सांसद् प्रेम सुवालले उदघाटन गरेका थिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा हाल कमलविनायक, लिवाली र बेखालमा गरी तीन वटा कभर्ड हल संचालनमा आएका छन् । तेश्रो र भव्य कभर्ड हलको रुपमा पछिल्लो बेखालको कभर्ड हल रहेको उनले जनाए । नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिंदै आएको भन्दै उनले यही कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको बताए । खेलाडीको मनोवल बढाउन हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरु सम्मान गर्दै आएको पनि उनले स्मरण गरे ।
भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र अनुसार खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै कार्य गरिरहेको बताइन् । उनले नगरपालिकाले विश्व अपाड्डता दिवसको अवसरमा अपाड्डता भएका व्यक्तिहरुबीच नियमित रुपमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको पनि सम्झिन् ।
उदघाटन कार्यक्रममा बागमती प्रदेश सभाका सांसद सृजना सैंजु, राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक राजेन्द्र कपाली, अखिल नेपाल टेबुलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण राय, वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबीन्द्र ज्याख्व, वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टरार्ईलगायतले नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको चर्चा गरे । सरकार र खेलकुद परिषद्ले गर्नुपर्ने कामलाई नगरपालिकाले अगाडि बढाइरहेको चर्चा पनि उनीहरुले गरे । हाल कभर्ड हललाई राष्ट्रिय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न सकिने उनीहरुले बताए । न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुदै छ । पहिलो क्वालिफायरमा कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ ।

अहमदावादमा हुने यो खेल नेपाली समू अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

कोलकोता अंक तालिकामा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर खेल्न लागेको हो । कोलकोताले समुह चरणमा १३ खेलमा ९ जित र ३ हार बेहोर्दै २० अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादले १४ खेलमा ८ जित र ५ खेलमा हार बेहोरेको थियो भने एक खेल रद्ध भएको थियो । सनराइजर्स १७ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो । योसहित कोलकोता आठौँ पटक प्लेअफमा पुगेको छ ।

त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने यो सहित सात पटक प्लेअफमा पुगेको छ ।

यस सिजनमा कोलकोताका लागि सुनिल नारनको सबैभन्दा उत्कृष्ट प्रदर्शन रहेको छ । उनले अहिलेसम्म ४६२ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन् ।  त्यस्तै कोलकोताका लागि वरुण चक्रवर्तिले १९ विकेट लिएका छन् भने हर्षित रानाले १७ विकेट लिएका छन् ।

अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार शुरुवात दिइरहेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिंग गर्दै अहिलेसम्म ४६७ रन बनाएका छन् । त्यसैगरी सनराइजर्सका लागि टि नटराजनले १७, कप्तान पाट कमिन्सले १५ विकेट लिएका छन् ।

आजको पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ ।

मिसन– २०२६ अन्तर्गत दोश्रो चरणमा ५ खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए । मिसन– २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि नायक राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दोश्रो चरणमा पनि ५ खेल थप गरिएको घोषणा गरे ।

दोश्रो चरणमा थपिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन् । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका खेलाडी तयारी प्रशिक्षणमा छन् ।

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको  थियो । डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए ।न्युज कारखाना

काठमाडौँ । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।

उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको लिभरपुलले जनाएको छ ।

४५ बर्षिय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । नेदरल्याण्डसका स्लोट हाल फेयेनोर्ड क्लबका प्रशिक्षक रहेका छन् ।

जर्गेन क्लोपले लिभरपुलमा ९ बर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन् । यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए ।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको हो ।

शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल बर्षाले रद्ध भएको थियो  ।

आइपिएलको यस सिजनमा कोलकोता २० अंकसहित शिर्ष स्थानमा रहेको छ भने सनराइजर्स १७ अंकरहित दोस्रो स्थानमा रहेको छ  । अब पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने छ । यो खेल अहमदावादमा आगामी मंगलबार हुने छ ।

त्यस्तै १७ अंकसहित रनरेटको आधारमा राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ र १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा रहेको छ । अब इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन्  । इलिमिनेट खेल मे २२ बुधबार अहमदावादमै हुने छ  ।

पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ  । दोस्रो क्वालिफायर खेल मे २४ शुक्रबार चेन्नईमा हुने छ  ।

त्यस्तै यस सिजनको फाइनल खेल मे २६ (आइतबार) मा चेन्नईमा हुने छ  ।न्युज कारखाना

 

काठमाडौँ । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

शनिबार सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीले आठौ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साथै म्यानचेस्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

यस सिजनको अन्तिम खेल पछि सिटीको ३८ खेलमा ९१ अंक भएको छ र उपाधि जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३८ खेलमा ८९ अंक रहेको छ ।न्युज कारखाना

 

काठमाडौँ । इङलिश प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ । आज लिगका अन्तिम खेल हुदै छन् । नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि लिगका खेल हुदै छन् ।

लिगको उपाधि जित्ने दौडमा म्यानचेस्टर सिटी र आर्सनल रहेका छन् । अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ । सिटीको घरेलु मैदानमा हुने यो खेल म्यानचेस्टर सिटीले जितेको खण्डमा लिगको उपाधि जित्ने छ ।

जित बाहेकको अन्य नतिजाले सिटी आर्सनलको खेलको नतिजामा भरपर्नु पर्ने छ । त्यस्तै आर्सनलले अन्तिम खेलमा एभर्टनसँग आफ्नै घरेलु मैदानमा खेल्दै छ । आर्सनलले यो खेल जितेर मात्र लिग जित्न पर्याप्त हुदैन । आर्सनलले यो खेल जितेर म्यान्चेस्टर सिटी कम्तिमा बराबरीमा रोकिएमा मात्र आर्सनलले लिगको उपाधि जित्ने छ ।

त्यस्तै आजको खेलको नतिजाले प्रिमियर लिगबाट अर्को सिजन च्याम्पियन्स लिगमा पुग्ने चार टिममा कुनै असर गर्ने छैन । प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्ला च्याम्पियन्स लिगका लागि छनौट भएका छन् । त्यस्तै आज टोटनह्याम पराजित भएमा र चेल्सीले आफ्नो खेल जितेमा भने चेल्सी युरोपा लिगका लागि छनौट हुने छ ।न्युज कारखाना

काठमाडौँ । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो । विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५३ रन बनाए भने असिफ सेखले २३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै विन्डवार्ड्स भोल्क्यानोजले २० ओभरमा २०५ रन बनाएको थियो ।

यो हारसँगै नेपालले ३ खेलको सिरिज भने २-१ जितेको छ । विश्वकपको तयारीका लागि सेन्ट भिनसेन्ट पुगेको नेपाली टिम अब अमेरिकाको हस्टन फर्किने तालिका रहेको छ । हस्टनमा नेपालले २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।

आइसीसीले  सार्बजनिक गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।न्युज कारखाना

काठमाडौँ । जर्मनी बुण्डेसलिगामा बायर लिभरकुसेनले अपराजित रहदै सिजनको समाप्त गरेको छ ।

गएराती सम्पन्न सिजनको लिगको अन्तिम खेलमा लिभरकुसेनले अगस्बर्गलाई २-१ गोल अन्तरले पराजित गर्दै सिजनमा अपराजित रहेको हो । यस सिजनमा अपराजित रहदै पहिलो पटक लिभरकुसेनले बुण्डेसलिगाको उपाधि जितेको छ ।

लिभरकुसेन यसअघि ५ पटक उपविजेता बनेपनि लिगको उपाधि पहिलो पटक जितेको हो ।

लिभरकुसेन यस सिजनमा खेलेका सबै ५१ खेलमा अपराजित रहेको छ । त्यस्तै जर्मनी लिगमा भने लिभरकुसेनले ३४ खेलमा २८ जित र ६ बराबरी खेलेको छ । जर्मनी लिगमा लिभरकुसेनले ८९ गोल गर्यो भने २४ गोल खाएको छ ।

लिभरकुसेनले यस सिजनमा अझै दुई ट्रफी जित्न सक्ने देखिएको छ । लिभरकुसेन अब मे २३ मा युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्ने छ भने मे २५ मा जर्मनीको डिएफबी पोकलको फाइनलमा एफसी काइसेरस्लाउटर्नसँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।

म्यानचेस्टर सीटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । फोडेनले यस सिजनको लिगमा १७ गोल गरेका छन् भने कुल २५ गोलमा योगदान गरेका छन् ।

आइतबार हुने प्रिमियर लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई पराजित गरेमा लिगको उपाधि जित्ने छ ।

प्रिमियर लिगको उत्कृष्ट खेलाडीको सूचीमा फोडेनसहित म्यानचेस्टर सिटीकै इर्लिंग हालाण्ड, आर्सनलका मार्टिन ओडेगार्ड र डेकन राइस, लिभरपुलका भिर्गिल भान डाइक, न्यूक्यासलका एलेक्जेन्डर इसक, एस्टन भिल्लाका ओली वाटकिन्स तथा चेल्सीका कोले पाल्मर दौडमा थिए ।

चेल्सीका पाल्मर यस सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा भएका छन् । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।