२०८३ बैशाख ५
२०८३ बैशाख ५

काठमाडौं । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक भएका निर्णयहरुमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्विकृतिदेखि काठमाडौंका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्विकृतिसम्म रहेका छन् । मेयर बालेन शाह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने ९औं वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभगाी हुने जनाईएको छ ।न्युज कारखाना

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले सो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकमाथि ५ वटा बैठकमा दफावार छलफल भएको थियो ।  यो विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने,  कागजात नेपाल बाहिर लानुपर्ने भएमा मन्त्रीपरिषद्को स्वीकृत अनिवार्य लिनुपर्ने लगायतका व्यवस्थाहरू गरिएको छ ।

विधेयकमाथि सांसदहरू रघुजी पन्त, हेमराज राई, सुमना श्रेष्ठ, प्रेम सुवाल र प्रेमबहादुर महर्जनले संशोधन राखेका थिए ।

राष्ट्रियसभाबाट पारित भएको विधेयकको प्रतिवेदन अब प्रतिनिधिसभामा पेस हुनेछ । त्यहाँबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा लैजानुपर्ने, प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रियसभाले स्वीकार गरेमा अध्यक्षबाट प्रमाणित भई राष्ट्रपतिकहाँ पठाउने र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बनेर कार्यान्वयनमा आउने प्रावधान छ । न्युज कारखाना

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारीहरू थप सिर्जनशील हुनुपर्ने बताएका छन् ।

हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई खरो रूपमा उत्रन निर्देशन दिए । सबै प्रहरी कर्मचारीहरूले संगठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै उनले भने, ‘संगठन बलियो भए हामी बलियो हुन्छौं । संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुनु आवश्यक छ ।’

विगतमा भएका कमी कमजोरीलाई विश्‍लेषण गरी आवश्यक योजना, नीति बनाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत हुन उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । आफू मातहतका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई निष्ठावान, इमानदार एवम् थप सक्रिय भई जनपक्षीय काम गर्न उहाँले आग्रह समेत गरे ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समेत सरूवा भई जान लागेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिएका थिए ।न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् ।

बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानिलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरुसँग भेट गरेको विषयलाई स्वभाविक रुपमा लिन आग्रह गरेका थिए ।

साथै बैठकमा प्रचण्डले नेपाल बुढानिलकण्ठ जानु अघि आफुलाई जानकारी गराको बताउदै सत्ता समीकारण पाँच बर्ष नै टिक्ने दाबि गरेका थिए ।

बुधबार साँझ अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहित जसपा नेपाल र लोसपाका नेताहरुलाई भेटगर्दै मधेशमा सरकार बनाउने विषयमा छलफल गरेपछि सत्ता समीकरण तरंगित बनेको छ ।न्युज कारखाना

काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।

बैठकमा जेठ १५ गते संसद्‌मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ ।  आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बन्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले न्युरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्युरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट गरेका छन् ।

उनले यसअघि सडकमा पार्किङ गर्दा सडक साघुरो नहुने अहिले सोहि ठाउमा फुटपाथ बनाउदा कसरी सडक साँघुरो हुन्छ भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-

एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ?

न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?

त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।न्युज कारखाना

नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनै पनि संस्था/कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) महत्वपूर्ण पद भएकोले यो पदमा आसिन भएकाहरुले आफ्नो भूमिका कौशलताका साथ निर्वाह गर्नुपर्ने बताउनु भएको छ । नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘सीईओ कन्फेरेन्स, २०२४’ सम्मेलनको समुद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले आफ्नो सम्वोधनका क्रममा वित्तिय तथा गैर–वित्तिय क्षेत्रमा कार्यरत नेतृत्व तहलाई नेपालसहित विश्वमा बदलिदो परिवेश, नविनतम प्रविधि विकास, खस्कदो अर्थतन्त्र र संस्थाको नेतृत्व तहले कम्पनीको समस्या समाधान र उन्नयनका लागि अवलम्बन गर्न सक्ने विषयबारे यो सम्मेलनले प्रचुर ज्ञान आर्जन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यस सम्मेलन मार्फत् सरोकारबालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यवसायिक मोडलबाट परिचालित कार्यस्थलको सुनौलो भविष्यका लागि मार्गदर्शन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरेको छु ’ उहाँले भन्नुभयो, ‘ठूला कम्पनीमा कार्यरत सीईओ अन्य क्षेत्र र अधिकारीहरुसंग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उहाँहरुले आफ्नो व्यक्तिगत हितको तुलनामा कम्पनीका लागि ईमान्दारिताका साथ भूमिका निर्वाह गर्नु पर्दछ । त्यो ईमान्दारिता कायम गर्न नसकेको अवस्थाका संस्था/कम्पनी धरासायी हुने सम्भावना रहन्छ । त्यसैले पदिय दायित्व, गरिमा र ओजलाई कायम राख्न कुनै कसर बाँकी राखिनु हुन्न । ’ उपराष्ट्रपति यादवले नवप्रवर्तन (स्टार्टअप्स) कम्पनीमा कार्यरत सीईओले सबै व्यावसायिक दिनचर्याहरुमा आफ्नो मिहिन दृष्टि राख्दै त्यसमा सहभागि हुन सक्नु पर्ने समेत बताउनु भयो । ‘यो पदमा बस्नेहरु सक्षम र दक्ष नहुनु कै कारण धेरै कम्पनीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको उदाहरणहरु हामी सामु प्रशस्तै छन्’ उहाँले भन्नुभयो, ‘यो गम्भिर विषय हो, सरोकारवालाको ध्यान जानै पर्दछ ।’ उहाँले सीईओले कम्पनीको संगठनात्मक संस्कृतिको प्रवक्ताको भूमिका निर्वाह गर्दै संस्थालाई सफल दृष्टिकोण, मिसन र उद्देश्यका साथ संचालन र विकास उन्मुख बनाउनु पर्ने पनि बताउनु भयो । ‘सीईओ कुनैपनि संस्थामा आइपरेको समस्या समाधानमा रणनीतिक योजना मार्फत अघि बढ्न निर्देशित गर्न सक्ने पनि हुनु पर्दछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ एउटा सीईओका लागि संस्थामा राम्रो टिम हुनु अति आवश्यक शर्त हो । टिमको विश्वास र समर्थन बिना सफल हुन सकिन्न । कुनै गुनासा र आरोप पछि त्यसको समाधान गर्न आत्मचिन्तत अपरिहार्य हुन जान्छ । यसले जीवनमा विनम्रता मात्रै ल्याउँदैन आफ्नो व्यवहार र कार्यहरुको विश्लेषण गर्दै अघि बढ्न तथा संस्था/कम्पनीलाई सफलताको उचाईमा पुर्याउन सहयोग गर्दछ । ’ उहाँले हरेक म्यानेजर (प्रबन्धक), लीडर (नेतृत्वकर्ता) हुन नसक्ने उल्लेख गर्दै समादर, शिष्टता, सदाचार, सद्–व्यवहार र आत्मविश्वासका साथ नेतृत्व गर्न सक्नेले नै सम्मान पनि पाउने बताउनु भयो । ‘एउटा सीईओ आधुनिक कार्यस्थलमा स्वयंलाई मात्र होइन संस्थालार्ई स्थापित गर्ने कलाको पारखी पनि बन्न सक्नु पर्दछ ’ उहाँले अगाडि भन्नुभयो, ‘ कुनै पनि लगानीको भविष्य तब मात्रै सुनिश्चित हुन सक्दछ, जब हामी परिवर्तित परिवेश, माटो र भूगोल सुहाउँदो वातावरणबारे सही तथ्य र ज्ञानका साथ अघि बढ्न सक्दछौं । खासगरी, नवीनतम प्रविधिहरुको प्रयोग र त्यसबाट सिर्जित अवसर एवं चुनौतिहरुको पहिचान गर्दै अघि ढ्न नितान्त जरुरी छ ।’ उहाँले यो क्षेत्रमा नेपालले अंगीकार गर्नुपर्ने आवश्यक रणनीतिहरुको तर्जुमा गर्दै समस्या समाधानसहित लगानीका अवसरहरुलाई बढी भन्दा बढी उपयोग गर्नु पर्ने उल्लेख गर्दै भन्नुभयो, ‘आजको युग नवीनतम प्रविधिको प्रयोग गरि व्यवसायमा सफलता हासिल गर्ने युग पनि हो । यसै प्रविधि अन्तर्गत परिवर्तनलाई कसरी अंगीकार गर्न सकिन्छ भन्ने मूल ध्येयका साथ अगाडि बढन सके हामी हरेक क्षेत्रमा सफल हुन सक्छौ ।’ उपराष्ट्रपति यादवले पछिल्लो समय विश्व एउटा कठिन आर्थिक, प्राकृतिक, प्रविधिक जटिलता उन्मुख अवस्थामा रहेकोले त्यसबाट त्राण पाउन सम्बन्धित सबैलाई थप सजग, सचेत र सावधान हुन यो सम्मेलन कोशेढुंगा बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा सहभागि सम्पूर्ण स्वदेशी तथा विदेशी विज्ञहरुले सम्मेलन मार्फत् समस्याग्रस्त विश्वका लागि एउटा महत्वपूर्ण साझा सूत्रको पहिचान गर्दै यस क्षेत्रमा देखिएका वा देखिने संभावित विकृति, विसंगति र अस्तव्यस्तताको समाधान हेतु परिवर्तनलाई आत्मसात गर्न सक्ने मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

रौतहट,१७ गते जेठ । वातावरणमा नकारात्मक प्रभाव परिरहेको र हरियालीको अभाव हुँदै गएको वर्तमान परिवेशमा रौतहटको एक पालिकालाई हरित पालिका बनाउने अभियान संचालन गरिएको छ । रौतहटको परोहा नगरपालिकालाई हरित पालिका बनाउने अभियान संचालन भएको हो । अन्य पालिकाले विश्व वातावरण दिवसको दिन गमलामा पानी हालेर सामाजिक संजालमा फोटो हाल्दै हरियाली बचाउने घोषणा गरिरहेका बेला परोहा नगरपालिकाले व्यवहारमा नै हरियालीको प्रबर्धन, संरक्षण तथा विस्तार गरिरहेको छ । निर्वाचनको समयमा गरिएको घोषणालाई व्यवहारमा उतार्दै परोहाले हरियाली प्रबर्धन अभियान नै थालेको हो । नगर प्रमुख शेख वकिलले पन्ध्र किलोमिटर पक्की सडक निर्माण गरेर दुवैतर्फ वृक्षरोपण गरिएको बताउँछन् । सुकदेव चौकदेखि भारतको सिमानासम्म करिब १३ किलोमिटर ट्रयाक खोलेर सडक विभागबाट पिच बनाएर सडकको दुवैतिर वृक्षरोपण गरिएको, यसै गरी हुलाकी सडकको दुवैतिर वृक्षरोपण गरी हुर्काइसकिएको र अन्य सडकहरुमा पनि वृक्षरोपण गरिएको बताउँदै नगर प्रमुख वकिलले अब एक घर दुई बिरुवा अभियान संचालन गर्न थालेको बताएका छन् । हरेक परिवारलाई दुई थान बिरुवा उपलब्ध गराउने तथा हरेकलाई हुर्काउने जिम्मेवारी पनि दिइने नगर प्रमुखको भनाइ छ । हरेक वर्ष पाँचदेखि दश लाख रुपैयासम्म बोटबिरुवालाई सुरक्षाको लागि मात्र खर्च गर्ने गरेको वकिलको भनाइ छ । वातावरणमा सकारात्मक प्रभाव पार्ने, नगरको सौन्दर्यमा वृद्धि हुने तथा सबैको लागि फलदायी हुने भएकोले हरित पालिका अभियान फलदायी बनिरहेको नगर प्रमुख वकिलको भनाइ छ । नगरपालिकाले रोप्नको लागि आवश्यक पर्ने बिरुवा बन कार्यालयबाट ल्याउने गरेको छ । बिरुवालाई घेराबेरा गर्ने, बिरुवा हेर्ने हेरालु, निरन्तर पानी हाल्ने र सिंचाइ गर्ने, गोडमेल गर्ने, सरसफाइ गर्ने काम नगरपालिकाको तर्फबाट हुँदै आएको छ । परोहका प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुजले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यस अभियानमा लगाउने योजना बनाएको बताएका छन् । परोहा नगरपालिकाको हरित नगर अभियानको प्रभावकारिता निकै राम्रो रहेको भन्दै स्थानीयवासीले प्रशंसा गर्ने गरेका छन् ।

काठमाडौं । विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहभागी भएका हुन् ।

बैठकमा विशेष गरि मधेश प्रदेशको सरकार गठनका विषयमा छलफल भएको थियो । जसपा नेपालको नेतृत्वमा रहेको मधेश प्रदेसको सरकार एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको छ ।

यस बैठकमा सभापति देउवाले मधेस प्रदेशमा नयाँ समीकरण बनाएर अगाडी बढ्नुपर्ने र त्यसलाई केन्द्रसम्म अगाडी बढाउनुपर्ने प्रस्ताव गरेका थिए ।

साथै देउवाले एकीकृत समाजवादीलाई सरकार छोडेर वैकल्पिक सरकारको पक्षमा उभिन आग्रह गरेको बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जानकारी दिएका छन् ।

बैठकमा जसपा नेतृत्वको मधेश सरकार जोगाउनुपर्ने विषयमा छलफल भएको थियो । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ ।

मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।

बैठकमा कांग्रेसका पदाधिकारीहरूसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सांसद चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी लगायतको सहभागिता थियो । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।