२०८३ बैशाख ५
२०८३ बैशाख ५

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने बताएका छन् ।

पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे ।

“फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,” अध्यक्ष प्रचण्डले भने, “म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा छु,  हिजो प्रचण्डबाट क्रान्ति भएन भनेर उहाँहरू छुट्टीनुभयो, त्यो बाटो सही सावित भएन, हामी सही छौँ । हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ । म उहाँहरूलाई स्वागत गर्न तयार छु ।”

बर्जुवा गणतन्त्रमा समावेशी एवं समानुपातिक नहुने उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बर्जुवा चरित्रको नभएको स्पष्ट पारे ।

सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थसमाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको औंल्याउँदै प्रधानमन्त्रीले आफूहरू दृढतापूर्वक त्यस काममा लागिपरेको बताए । उनले पार्टीलाई एकीकृत गरे अगाडि बढ्नेगरी वातावरण बनाउन र त्यसलाई सही निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए । न्युज कारखाना

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेटको विश्वसनीयता नभएको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका छन् ।

उनले जे लेखेपनि सत्ता पक्षले ताली बजाउने भएकाले बजेट हावादारी हुदै गएको टिप्पणी गर्दै हाम्रो संरचना नै खराब भएको टिप्पणी गरेका छन् ।

उनले बजेटमा लिइएको लक्ष्य पुरा हुन नसक्ने बताउदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् । उनले बैदेशिक सहायता ५२ अर्ब आउछ भनेर बजेटमा उल्लेख गरिएको तर गत बर्ष ५० अर्ब आउछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।न्युज कारखाना

 

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधानहरू सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यन्वयन गर्न लागिएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्डले प्रदेशका विकासमा महत्त्वपूर्ण फड्को हान्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट निर्माण भएको बताए । उनले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए ।

“भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो परियोजना मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ ।” उनले म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा कस्तुरी–मृग लगायतका वन्यजन्तु पालन गर्ने व्यावसायिक फार्म स्थापना गर्नेगरी नयाँ सोचका साथ बजेट निर्माण गरिएको बताए ।

देशकै लोड सेन्टरमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी आयोजनाको निर्माण शुरू गर्ने र यस परियोजनाले देशकै ऊर्जा क्षेत्रमा दीर्घकालिन फाइदा हुने उल्लेख गर्दै प्रधानमन्त्रीले ४२ मेगावाटको मोदी ए जलविद्युत आयोजनाको निर्माण शुरू गरिने बताए ।

मुक्तिनाथ दर्शन यातायात सेवा सञ्‍चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिकस्थल दर्शन गर्ने व्यवस्था मिलाउने योजनासहित सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गर्ने, गण्डकीलाई पर्यटनको हव बनाउने महत्त्वपूर्ण काम अगाडि बढाइने बताए ।

भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले मुग्लिङ्ग–पोखरा सडक खण्डको विस्तार कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने गरी सरकार अगाडि बढेको बताए ।

घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण गर्ने एवं बन्दीपुरको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वर्द्धन गर्न विविध कार्यक्रम सञ्‍चाल गरिने बताउँदै प्रधानमन्त्रीले तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने बताए ।

गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण, मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार, टाकुरा पर्यटकीय गन्तव्यको विकास जस्ता कार्यक्रमले यस क्षेत्रमा रोजगारी सिर्जना गर्नुका सार्थ आयआर्जनमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।

उनले पोखरामा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाउने,  पोखरा प्रादेशिक अस्पतालको क्षमता ५०० शैयामा विस्तार गरने, मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण कार्यलाई तीव्रता दिने र गोरखाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोरखाबजार, मनकामना, बेनीघाटसम्म पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने तयारी सहित बजेटको व्यवस्था गरिएको बताए ।

पोखरामा एकीकृत सहरी पूर्वाधार विकास, नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणलाई प्राथमिकता, गोरखकाली रबर उद्योग लगायतका उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याउने कार्यक्रम यस क्षेत्रका लागि थप महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।न्युज कारखाना

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज शुरु भएको छ ।

समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा शुरु भएको हो ।

सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो ।

७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।न्युज कारखाना

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केहि दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन् ।

ओलीको सुमनालक्षित टिप्पणीको आलोचना भइरहेको बेला रास्वपाले यो विषयलाई संसदमा समेत उठाएको छ । रास्वपाका सांसद शिशिर खनालले समेत बुधबारको प्रतिनिधिसभाको बैठकमा ओलीको टिप्पणीको आलोचना गरेका थिए ।
सुमनाले आफ्नो  महिलाको विवाह भएपछि घरप्रति कुनै जिम्मेवारी हुदैन ? भन्दै महिलालाई गर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताएकी छन् ।

उनले भनेकी छन्-

विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् ।

आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।

कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।

तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो “तँ बसेर आएको देश हो र नेपाल पो हो” भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।

महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । “समाजको नियम” भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ?  हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।

यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले “नेपाल जान्छु र केहि गर्छु” भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।न्युज कारखाना

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत नलिने भएका छन् ।  विश्वासको मत लिने कार्यतालिका बनाएको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री बिरामीको पत्र पाएको जानकारी दिएको छ ।

नेपालको संविधान अनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरु मध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । माओवादी केन्द्रले गत बैशाख २३ गते सरकार छोडेकाले सो अनुसार उनले विश्वासको मत लिने आज बुधबार ३० दिन पुगेको छ ।

जनता समाजवादी पार्टी नेपालको सरकारमा रहेको सत्ता साझेदार दलहरुमध्ये एकपछि अर्को दलले साथ छोडेपछि जसपा नेपाल एक्लिएको छ ।

प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट पठाइएको पत्रमा  भनिएको छ , ‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मिति २०८१/२/२१ मा मिति २०८१ जेष्ठ २३ गते विश्वासको मत प्राप्त गर्ने बैठकको कार्यसूचिमा राख्न व्यवस्था हुन पत्राचार गरेकोमा म मुख्यमन्त्री अस्वस्थ्यताको कारणले तोकिएको मितिमा स्वयम उपस्थित भइ विश्वासको मत लिन असमर्थ रहेकोले धारा १८८ को उपधारा (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनु पर्नेमा मिति २०८१ जेष्ठ २८ गतेको लागि प्रदेशसभा बैठकको कार्यसूचिमा राखी आजको बैठकको विश्वासको मत सम्बन्धी कार्य सूचि स्थगितगर्नु हुन अनुरोध छ ।’

मुख्यमन्त्री यादवले आज विश्वासको मत नलिएपछि उनी स्वत: पदमुक्त हुने अवस्था आउनसक्ने देखिन्छ ।न्युज कारखाना

पोखरा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराममा कालोझण्डा देखाइएको छ ।

पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउनेक्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा प्रदर्शन गरेका थिए ।

प्रहरीले कालोझण्डा देखाउने केहि सहकारी पिडितलाई पक्राउ गरेको छ ।

आफुलाई कालोझन्डा देखाएपछि उनले सरकार सरकार पीडितहरूको पक्षमा रहेको र ५ लाखसम्मको बचत फिर्ता गर्ने यहि सरकार भएको बताएका थिए । उनले आफुलाई कालोझण्डा देखाएर ब्लण्डर गरेको बताएका थिए ।न्युज कारखाना

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सहकारी ठगि प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सुर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो ।

७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।न्युज कारखाना

काठमाडौं । पुर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको कोशी सरकारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा  सुनुवाइ हुने भएको छ ।

रिटको पेशी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजालसमा तोकिएको छ ।

यसअघि जेठ १६ गते न्यायाधीश मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले  सो रिट हेर्न ‘नभ्याइने’मा राखेको थियो।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका हुन् ।

प्रदेश प्रमुख खापुंगले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसका विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र ५२ सांसदको समर्थनमा हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी गरेका थिए । सनाखत पछि प्रदेश प्रमुख खापुङ्गले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
न्युज कारखाना

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिदै छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छोडदै समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा रहेको छ ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए भने दोस्रो पटक २०८० जेठ ३० गते विश्वासको मत लिएका थिए भने तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए ।

त्यसपछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिएका थिए ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ भने मधेस प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि अन्तिम समयमा बाहिरिएको छ ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । यस अघि जनमतको नेतृत्वमा मधेशमा सरकार बनाउन एमाले र माओवादी सहमत भइसकेका छन् । केन्द्रको गठबन्धनले विश्वासको मत लिदा नै जनमतलाई मधेशमा मुख्यमन्त्री दिने सहमति भएको थियो ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुख सहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन् । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।