काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद् अगाडी धर्ना दिदै छ । नेपाल बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत न्याय परिषद्को बैठक बोलाइएपछि बार धर्नामा उत्रिएको हो । बारले आज बिहान ११ बजेदेखि धर्ना दिने घोषणा गरेको छ ।
सर्वोच्च अदालतमा चारसहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेको छ । वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाए पनि नेपाल बारले अहिले कार्यान्वयनमा रहेको नियमावली अनुसार सिफारिस नगर्न भन्दै आएको छ ।
नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लङ्घन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले उक्त नियमावलीको संशोधन नेपालको संविधानको धारा १४१ (३) विपरीत रहेकाले यसका आधारमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढाउन माग गरेका छन् ।
न्यायाधीशहरूको मर्यादाक्रम हेरफेर गर्ने गरी, संविधानको धारा १४१ (३) मा भएको व्यवस्थालाई उल्लङ्घन गर्ने नियमावलीलाई अधिकार नभएको पनि बारले बताउँदै आएको छ । बारले संशोधित नियमावली खारेज गरेर मात्र कानुन व्यवसायीको सम्मानजनक उपस्थितिका साथ उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्सँग माग गरेको छ ।
न्याय परिषद् ५ सदस्यीय रहेको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा बस्ने न्याय परिषद्मा कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गरेका कानुनविद्, नेपाल बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता रहने व्यवस्था रहेको छ ।न्युज कारखाना
नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गरेका छन् ।
सो क्रममा उनले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताए । हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताए ।
‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’, उनले भने, ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’
यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गरे । उन ले दशौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गरे । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उनले स्पष्ट गरे ।
सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए । उनीसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो ।
न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका छन् ।
सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे शनिबार बुढानिलकण्ठमा पार्टीका पुर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा पुग्न नसकेको एक पदाधिकारीले बताएका छन् । अब आइतबार केन्द्रीय समितिको बैठक अघि फेरी छलफल हुने बताइएको छ ।
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग यस अघि पटक पटक गरेका छलफल निष्कर्षमा पुग्न सकेका छैनन् ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ ।
सभापति देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहेका छन् । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् ।
त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते आइतबारका लागि बोलाइएको छ ।न्युज कारखाना
सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राखेका हुन् ।
आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताए । ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’उनले भने, ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’
उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिव करिव सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो’, उनले भने,‘माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री बिमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ ।’
रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताए । लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी पनि उनले गरे । आफू तीन पटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिंदै आएको पनि उनले स्पष्ट गरे ।
अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुदमन्त्री बिमला केसी, कर्णाली खेलकुद परिषदका सदस्य–सचिव विश्वामित्र सञ्ज्याल लगायतका खेल पदाधिकारीको उपस्थिति रहेको थियो ।
न्युज कारखाना
काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् ।
उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् । सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन् ।
यस अघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका थिए । न्युज कारखाना
काठमाडौं । आम जनता पार्टी (आजपा)को सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी पुर्नगठन गरेको छ । केन्द्रीय कमिटीको अध्यक्षमा प्रभु साह, वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन् ।
कमिटीको उपाध्यक्षमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, ज्ञानेन्द्रकुमार तामाङ, अशोककुमार लामा, महासचिवमा त्रिभुवन साह, उपमहासचिवमा चन्द्रभुषण साह, राजन यादव, सियाराम कुशवाहा, धनकुमारी मगर, सचिवमा बाबुराम कौशिक, श्रीचन्द मुखिया, उमेश कुशवाहा, देवी पण्डित रेग्मी, नारायण श्रेष्ठ, नारायण प्रसाद पाण्डे रहेका छन् ।
आजपामा महासचिव साहका अनुसार स्थायी कमिटी सदस्यहरुमा श्रीलाल महासेठ, कान्तिदेवी महतो, रमेश थपलिया, रबिन्द्रप्रसाद सिंह, गणेश गोतामे, जुरीलाल मोची, सुनिता साह, चन्देश्वर बैठा, बालकृष्ण सापकोटा, परमानन्द बर्मा, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, कदम रसुल, लखिन्द्र साह, प्रदिप पटेल, राधेश्याम साह, उदयचन्द्र प्रसाद, प्रल्हाद पौडेल, श्रीभगवान पटेल, सागर पाण्डे, चन्दन साह, लालबाबु मन्सुरी, बिजय यादव, नरेश तुरहा, बिजय साह, ममता शर्मा, भोला पाण्डे, कुमारी बबिता, शर्मिला महरा, सिमल कुमारी, बबिता यादव, गीतादेवी साह रहेका छन् ।
यसैगरी सुभद्रा गुप्ता, रञ्जुकुमारी साह, उमाशंकर साह, रामनाथ माझी, पासाङ तामाङ, सरोज कुमार बछार, अञ्जित कुशवाहा, सञ्जय यादव, शिव थापा, ठागा दास, अनिल झा, राजेश साह, सुरेश चौधरी, मिन बहादुर खत्री, किशोर साह, प्रशान्त तिमिल्सिना, देवेन्द्र ठाकुर उपेन्द्र साह लगायतका रहेका छन् ।
वैठकले पार्टीद्धारा घोषित आन्दोलनका बिभिन्न कामलाई व्यवस्थित गर्नका लागि पार्टीको बिभिन्न संगठनको इन्चार्ज तथा अध्यक्ष हेफेर गरेको छ । आइटी आर्मीको इन्चार्जमा प्रभु साह र अध्यक्षमा चन्द्रभुषण साह, आम ट्रेड युनियन फेडेरेशनको इन्चार्जमा धनकुमार मगर र अध्यक्षमा शिव थापा, आम सम्पर्क मञ्चको इन्चार्जमा बिल्टु यादव र अध्यक्षमा श्रीनारायण साह, आम महिला मोर्चाको इन्चार्जमा देवी पण्डित रेग्मी र अध्यक्षमा कुमारी बबिता, आम विद्यार्थी मोर्चाको इन्चार्जमा उमेश कुशवाहा, सहइन्चार्जमा सरोज बछार र अध्यक्षमा विवेक साह रहेका छन् ।
यसैगरी आम मुस्लिम मोर्चाको इन्चार्जमा समिना हुसेन र अध्यक्षमा लालबाबु मन्सुरी, आम सांस्कृतिक मोर्चाको इन्चार्जमा बिजय यादव, सहइन्चार्जमा रचना सिवाकोटी र अध्यक्षमा सरिता साह, आम दलित मोर्चाको इन्चार्जमा चन्देश्वर बैठा र अध्यक्षमा ठागा दास, आम बुद्धिजिवि मोर्चाको इन्चार्जमा उदयचन्द्र प्रसाद र अध्यक्षमा नविन महतो, आम उधोग बाणिज्य संघको इन्चार्जमा नारायण श्रेष्ठ र अध्यक्षमा साजन जयसवाल, आम इन्जिनियर्स एण्ड टेक्निकल एशोसियशनको इन्चार्जमा उपेन्द्र साह र अध्यक्षमा गोपाल साह, आम जनजाती महासंघको इन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र इन्चार्जमा पासाङ तामाङ, आम भूमिहिन तथा सुकुम्बासी मोर्चाको इन्चार्जमा श्रीचन्द्र मुखिया र अध्यक्षमा रामनाथ माझी, आम किसान मोर्चाको इन्चार्जमा मनोज यादव र अध्यक्षमा अनिल झा, आम शिक्षक संघको इन्चार्जमा बाबुराम कौसिक र अध्यक्षमा सुरेश महतो, आम खेलकुद संघको इन्चार्जमा सियाराम कुशवाहा र अध्यक्षमा राजु साह, आम शहिद तथा बेपता परिवारको इन्चार्जमा श्रीभगवान पटेल र अध्यक्षमा रुपसागर उपाध्याय रहेका छन् ।
आजपाको ११ र १२ गते काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ ।
आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
बैठकले पार्टीको बिभिन्न विभाग, प्रवास गठन गर्नुका साथै आन्दोलन केन्द्रित नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ ।न्युज कारखाना
काठमाडौं । सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न परेको रिटमाथि छलफल गर्न शुक्रबार दुवै पक्षलाई बोलाएको छ ।
न्यायाधीशद्वय डा. नहकुल सुवेदी र विनोद शर्माको संयुक्त इजलासले रिटमाथि छिटो सुनुवाइ गर्नुपर्ने ठहर गर्दै भोलि रिट निवेदक र सरकार पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको हो ।
आदेशमा भनिएको छ- ‘सबै रिट निवेदकहरू नेपाल प्रहरीका विभिन्न कार्यालय र पदहरूमा कार्यरत रहेको भन्ने देखिन आएकाले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (प्रहरी प्रधान कार्यालय) मार्फत् आजै प्रस्तुत आदेशको जानकारी छिटो सञ्चारद्वार सबै निवेदकहरूलाई गराइ नियमानुअसार पेश गर्नू ।’
प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठसहितका प्रहरी अधिकारीहरूले दायर गरेको रिटमा ६ भदौमा न्यायाधीश हरिप्रसाद फु्याँलको एकल इजलासले तत्काल ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका थियो । उक्त आदेश रद्दको माग गर्दै सरकारको तर्फबाट गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले मंगलबार सर्वोच्चमा भ्याकेट दिएका थिए ।
उक्त भ्याकेटमाथि आज सुनुवाइ गर्दै सर्वोच्चले छलफलका लागि भोलि दुवै पक्षलाई बोलाएको हो। शुक्रबार रिट निवेदक र सरकार पक्षसँग छलफल गरेपछि ३० वर्षे कार्यान्वयन गर्ने कि नगर्नेबारे आदेश हुनेछ । न्युज कारखाना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरण गरेका छन् ।
विहिबार राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
यसअघि बुधबार सभामुख देवराज घिमिरेले सो विधेयक प्रमाणित गरि राष्ट्रपतिसमक्ष पठाएका थिए । अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयक ऐनको रुपमा लागु हुने छ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् ।
ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल शुरु गरेका छन् ।
सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्ताव बारे केहीबेर अघि देखि देउवा निवास बुढानिलकण्ठमा छलफल शुरु भएको हो । यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिए पछि निष्कर्षमा पुगेको थिएन ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयमा छलफल गर्न लागेका हुन् ।
पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ ।
महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् । त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते बोलाएको छ । न्युज कारखाना