२०८३ बैशाख ११
२०८३ बैशाख ११

ललितपुर ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।

सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ।’

कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रध्दाञ्जलि र सम्मान व्यक्त गर्दछु। उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो। उहाँ विचारमा दृढ हुनुहुन्थ्यो। सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो। राम्रो अभिभावकको भूमिका निभाउनुभयो।’’

प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए ।

उनले भने, ‘‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’

प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’न्युज कारखाना

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन बारे आशंका व्यक्त गरेका छन् ।

सोमबार नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउदै वर्तमान गठबन्धन लामो समय जानेमा आशंका व्यक्त अग्रेका हुन् ।

उनले भने, ‘परिस्थिति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुङ्गो छैन । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताए ।  उनले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’

पछिलो समय सत्ता गठबन्धनमा यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै नेपाल असन्तुष्ट रहेका छन् ।  उनले यस बीचमा वैकल्पिक गठबन्धन बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा रहेको बताइएको छ । न्युज कारखाना

काठमाडौं, १० बैशाख ।

मन्त्री परिषद बैठक सुरू हुदैँछ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ ।

 

आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।न्युज कारखाना

नयाँ दिल्ली, १० बैशाख ।

भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।

 

चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक घट्यो। दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा गर्मीका समाचार पढ्दा बेहोस भइन । उनी बेहोसीमा नै समाचार पढीरहेको सुन्न सकिन्छ।

‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन् । लोपामुद्रा सिन्हाले भनिन्,  ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’ उनका अनुसार कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ ।

 

बिहानको समाचार प्रसारण हुनुअघि लोपामुद्रा सिन्हाले बंगालीमा आफू अस्वस्थ र तिर्खा लागेको बताइन्। उनले भनिन्, ‘म कहिल्यै पानीको बोतल साथमा बोक्दिनँ। पन्ध्र मिनेटको प्रसारण होस् वा आधा घन्टाको प्रसारण। २१ वर्षको करियरमा प्रसारण गर्दा पानी पिउनुपर्ने आवश्यकता महसुस नै गरिनँ तर यसपटक समाचार समाप्त हुनु भन्दा १५ मिनेट अघि मलाई अचानक तिर्खा लाग्यो र मेरो अनुहारको सट्टा टिभीमा कुनै दृश्यहरू बजिरहेको थिएन, त्यसैले मैले भुइँ प्रबन्धकलाई संकेत गरें र पानीको बोतल मागेँ।’

 

लोपामुद्रा सिन्हाले भने बाइट बिना सामान्य समाचार मात्रै बजिरहेकोले पानी पिउने मौका नपाएको बताइन् । ‘बुलेटिनको अन्त्यमा एक टेक आयो र मैले पानी पिउने मौकाको सदुपयोग गरें। पानी पिएपछि केही बेर बेहोस भएँ । मेरो स्वर अस्पष्ट हुन थाल्यो,’ उनले भनिन् ।

ओडिशा, झारखण्ड र पश्चिम बङ्गालका केही भागहरूलाई असर गरिरहेको तातो हावाको लहर यस महिनाको दोस्रो गर्मीको लहर हो। पहिलो गर्मीको लहरले तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु र गुजरातका केही भागमा अत्याधिक थियो। शनिबार केही स्थानको अधिकतम तापक्रम सामान्यभन्दा सातदेखि आठ डिग्री बढी रेकर्ड गरिएको थियो । पश्चिम बंगालको मिदनापुर र बांकुरामा क्रमशः ४४.५ डिग्री सेल्सियस र ४४.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।न्युज कारखाना

काठमाडौं, १० बैशाख । 

नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवको आयोजना गर्दैँछ ।

 

सो अबसरमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ सम्मान गर्ने भएको छ ।

 

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको भोलीपल्ट एमालेले हिरक जयन्ती मनाउन लागेको हो ।

 

सो हिरक जयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ पनि बिशेष बक्ताको रूपमा आमन्त्रिण गरिएको छ । न्युज कारखाना

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलको २३ करोड ७५ लाख बराबरको सम्पतिको स्रोत नदेखिएको भन्दै मुद्धा दायर गरेको छ । पौडेललाई अख्तियारले गत माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ ।

सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो मुद्दा हो । यस अघि गत असोजमा पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । विशेष अदालतले वैशाख २५ मा कसुर निर्धारण गर्न पेशी तोकेको छ ।
न्युज कारखाना

काठमाडौँ ।

निर्वाचन आयोगले लेखापरीक्षण नगरेका राजनीतिक दलहरुलाई स्पष्टीकरण माग गरेको छ ।

आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९ र ८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र पेश गर्ने ८२ राजनीतिक दलमध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने २० राजनीतिक दल र समय व्यतित भएपश्चात लेखापरिक्षण प्रतिवेदन पेश गर्ने १३ राजनीतिक दल मध्ये लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नगर्ने एक राजनीतिक दल गरी २१ राजनीतिक दललाई सात दिन भित्र लेखापरीक्षण प्रतिवेदन सार्बजनिक गर्न निर्देशन दिएको जनाएको छ ।

लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुमा आम आदमी पार्टी, नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक, गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी, साझा पार्टी नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी, शिव सेना नेपाल पार्टी, राष्ट्रवादी एकता पार्टी, लगायत रहेका छन् ।न्युज कारखाना

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन सकेन । यस मुद्दालाई आज ‘ह‍ेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयु्क्त इजलासमा तोकिएको थियो ।

यस अघि वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा राखिएको सो मुद्दा वैशाख ७ गते अन्य आदेश जारी गरेको  थियो । त्यसअघि चैत्र २५ गते सर्वोच्चले नाउपाको अध्यक्षमा चौधरीलाई  मान्यता नदिनुको कारण पेश गर्न आदेश दिएको थियो ।

गत पुस २७ गते सम्पन्न नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले चौधरीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको थियो । अधिवेशनपछि उनले अध्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएपनि निर्वाचन आयोगले फागुन २४ गते चौधरीलाई मान्यता नदिएर श्रेष्ठ नै अध्यक्ष भएको निर्णय गरेको थियो ।

आयोगको सो निर्णयक ओविरुद्ध रेशमले सर्वोच्चमा रिट दायर गरेका थिए ।न्युज कारखाना

काठमाडौँ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कानुन विषयको प्राध्यापक पदको पुनः विज्ञापन गर्न माग गरेको छ ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अध्यक्ष सिद्धान्त भट्टले एक विज्ञप्ति जारी गर्दै आयोगले २०८० वैशाख १ गते कानुन विषयको प्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विद्यमान कानुनलाई बेवास्ता गरेर निश्चित सह–प्राध्यापकहरूलाई मात्रै प्राध्यापक पदपूर्ति गर्न खोजिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ लाई २०८० असोज २१ गते संशोधन गरिएको थियो । उक्त कार्यविधि कार्यान्वयनका लागि आयोगमा पठाइएको भए पनि आयोगले पुरानै प्रक्रियाबाट विज्ञापन आह्वान गरेको थियो । न्युज कारखाना

गोरखा ।

जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बुढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा एक सूचनामा २४ घण्टासम्म नदीमा पानीको वहावको जोखिम कायम रहनसक्ने देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

चुमनुब्री गाउँपालिकाको वडा नम्बर १ को सामागाउँस्थित मनास्लु हिमालमा विहान ९ बजेको आसपासमा हिम पहिरो वीरेन्द्र तालमा झरेको थियो । त्यसपछि ताल फुटेपछि नदीमा पानीको वहाव बढेको थियो । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।