२०८२ चैत्र २३
२०८२ चैत्र २३
काठमाडौं,०१ गते माघ २०८१ । 
भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ । सोमबार नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरि स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका सात जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ती वितरण गरिएको हो ।

छात्रवृत्ती पाउनेहरुमा सन् २०१६, ०१७, ०१८ र ०१९ का लागि मनिष श्रेष्ठ, दीप शाही, सन्तराम पाण्डे र नुजा बज्राचार्य रहेका छन् । सन् २०२० मा अमितकुमार शर्मा, २०२२ का लागि मनिषा भट्टराई तथा २०२३ का लागि साधना तिवारी छनौट भएका थिए । सन् २०२१ को छात्रवृत्तिमा विद्यार्थीहरुको मुल्यांकन नभई सकेकोले पछि वितरण गरिने छ ।

छात्रवृत्ती पाउने विद्यार्थीहरुलाई कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जनही ४०/४० हजारको चेक प्रदान गर्नुभयो । विद्यार्थीले प्राप्त गरेको अङ्कमा आधारमा मुल्यांकन गरी छात्रवृत्ती वितरण गरिएको छाज्ञवृत्ती छनौट समितिका संयोजक समेत रहनुभएका सहायक प्राचार्य मोहनध्यज केसीले जानकारी दिनुभयो ।

कलेजले सहायक प्राचार्य केसीको संयोजकत्वमा ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कार्यक्रम संयोजक उपप्राध्यापक राजेश खड्का तथा कलेजकी प्रमुख प्रशासक श्रीमा शर्मा सदस्य रहेको छात्रवृत्ति सिफारिस समिति गठन गरिएको थियो ।

हाल अष्ट्रेलियामा रहनु भएका पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. प्रतापमणी पराजुलीले सन् २०११ मा आफुले प्राप्त गरेको उपदानबाट बुबाआमाको नाममा सात लाख रुपैंयाको अक्षय कोष स्थापना गर्नुभएको थियो । उक्त कूल पुँजीलाई अबदेखि १० लाख बनाएर त्यसबाट प्राप्त बैंक ब्याजबाट छात्रवृत्ती दिइने छ ।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्तीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन मिलेको बताउनु भयो । नेपाल इन्जिनियरिङ कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकोले विद्यार्थीहरुलाई प्रोत्साहन गराउने विभिन्न कार्यक्रम र छात्रवृत्ती स्थापना गर्न पहल गर्ने जनाउनु भयो । उहाँले कलेजका पूर्वविद्यार्थीहरुसँगै सामाजिक, शैक्षिक व्यक्तित्वहरुले यस्ता छात्रवृत्तिहरु स्थापना गर्दा स्वदेशमै पढ्न चाहने विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने पनि जिकीर गर्नुभयो ।

कार्यक्रममा कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तीले प्रोत्साहन गरेको बताउँदै विगतमा कोभिड–१९ का कारण अनियमित भएको छात्रवृत्ती अब नियमित प्रदान गरिने बताउनु भयो । कार्यक्रममा कलेजकी प्रशासन प्रमुख श्रीमा शर्मा, छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थी अमितकुमार शर्मा, नेक सिपिएसका कार्यवाहक निर्देशक राेवर्ट डंगाेल लगायतले बोल्नु भएको थियो ।

नेक नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समितिद्वारा सञ्चालित इन्जिनियरिङ कलेज हो । यहाँ स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुमा अध्ययन अध्यापन हुने गरेको छ ।

राजेश निर्माणी,वृन्दावन,०१ गते माघ २०८१ । 

रौतहट : रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर -६ स्थित रहेको श्री बतहु माध्यमिक विधालय हर्षाहामा निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ।

मंगलबार माघे संक्रान्तिको शुभ अवसर पारि,वैदिक विधिपूर्वक पूजाआजा गरी संविधान सभा सदस्य एवम् नेकपा एसका उप महासचिव रामकुमार भट्टराई र वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले संयुक्त रुपले सो भवनको शिलान्यास गरेका हुन्। एक भव्य समारोहका बिच पंडित द्धारा पूजाआजा गरी निर्माण हुन थालेको सो भवनको शिलान्यास गरिएको हो।

भवनको शिलान्यास क्रममा सो पालिकाका प्रमुख प्रसाशकिय अधिकृत खिमबहादुर भुजेलले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा नगरपालिका लागि परेको बताउदै,बिधार्थी समक्ष गुणस्तरीय शिक्षा पुर्याउन शिक्षक, अभिभावक र विद्यार्थी सबै लाग्नु पर्ने बताए।

संघिय समपुरक कोषबाट आर्थिक वर्ष २०७९/०८० मा पेस गरेर, २०८०/०८१ मा सुकृत भई हाल २०८१/०८२ मा बल्ल निर्माण कार्य भइरहेको बताउदै,मेघा प्रोजेक्टको रुपमा बतहु मा.वि. वृन्दावनको बुढा निलकण्ठको जस्तै अबको केही दिनमै शिक्षाको हब र नमुना विधालय बन्ने उनले बताउनु भयो।

पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल, संविधान सभा सदस्य एवम् नेकपा एसका उप महासचिव रामकुमार भट्टराई, नेकपा एसकि स्थायी कमिटी सदस्य नेतृ कल्याणी खड्का को सहयोग तथा वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मीको अथक प्रयासमा मेगा प्रोजेक्ट को रूपमा साढे ३ तलाको ,३३ वटा कोठा र शौचालय सहित निर्माण हुन लागेको सो भवन ५ करोड ३० लाख ५१ हजार ४ सय १६ रुपैयाँमा निर्माण हुन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेलले जानकारी दिए। भवन निर्माणको जिम्मा जनआदर्श एस बि स्टार जेभी काभ्रेले पाएको छ ।

उक्त शिलान्यास कार्यक्रममा वृन्दावन नगरपालिका वडा नम्वर- ६ का वडा अध्यक्ष मजहर मन्सुर,७ कावडा अध्यक्ष जगरनाथ प्रसाद भेडिहर,८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह,९ का वडा अध्यक्ष प्रवेज आलम,वडा नम्बर-३ का वया अध्यक्ष हरिनारायण साह,कार्यपालिका सदस्य राजेश पासवान,रलगायत विभिन्न स्थानीय जनप्रतिनिधिहरु,विधालयका कर्मचारीहरु र स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

काठमाडौं,०१ गते माघ २०८१ । 

सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले सामुदायिक विद्यालयहरुको उद्देश्य विद्यार्थीहरुलाई शैक्षणिक गुणवत्ताको स्तर अभिवृद्धिसंगै नैतिक, सांस्कृतिक, व्यवहारिक, राष्ट्रभक्ति र सामाजिक मूल्य प्रदान गर्न अब्बल बन्नु पर्ने बताउनु भएको छ ।
उपराष्ट्रपति यादवले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ स्थित श्री बलम्बु माध्यमिक विद्यालयको प्राविधिक शिक्षालय भवनको समुद्घाटन समारोहमा विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गिन विकासमा जोड दिँदै समाज र देशको माटो, हावापानी र भूगोल आदि सुहाउँदो शिक्षामा थप केन्द्रित हुन उत्तिकै जरुरी रहेको बताउनु भएको हो ।
उहाँले पछिल्लो समय सामुदायिक विद्यालयहरुप्रति बढ्दो नकारात्मक भावनालाई चिर्न बलम्बु मावि एउटा उदाहरण हुन सक्ने उल्लेख गर्दै विद्यालयले आफ्नो स्थापनाकालदेखि राम्रो पठनपाठन गर्दै आएकोमा अब प्राविधिक धारतर्फ पनि एक कदम अगाडि बढ्नु सकारात्मक रहेको बताउनु भयो । ‘ यो कदम समय र आजको प्रविधि–सीपयुक्त सिकाइको माग अनुरुप छ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यस सन्दर्भमा, विद्यालयले संचालन गर्न लागेको प्रविधि धारतर्फको कार्यक्रम बढी उपयोगी हुने विश्वास व्यक्त गर्दछु ।’
उहाँले सामुदायिक विद्यालयहरुले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यी विद्यालयहरुले शिक्षा मात्रै प्रदान गरिरहेको छैन, समाजका विभिन्न वर्गका बालबालिकाहरुलाई समान अवसर र स्रोतहरु पनि उपलब्ध गराउँदै आएकोमा प्रशंसा पनि गर्नुभयो । ‘‘उत्कृष्टता’ आफैमा महत्वपूर्ण उपलब्धि हो, यो एउटा असल ‘टीम वर्क’ बिना असम्भव छ’ उहाँले भन्नुभयो, ‘यस विद्यालयले निरन्तर रुपमा प्रदर्शन गर्दै आएको ‘उत्कृष्टता’, विद्यार्थी, अभिभावक र शिक्षकहरुको अथक प्रयास, लगन र परिश्रमबाटै सम्भव भएको हो, यसमा निरन्तरता आवश्यक र अपरिहार्य छ ।’
उपराष्ट्रपति यादवले यसका लागि शिक्षण सिकाई क्रियाकलापहरु परीक्षा केन्द्रित मात्रै नभई जीवनको कठिन घडीमा विद्यार्थीहरुले समस्याहरुबाट त्राण पाउन सक्ने खालका व्यवहारिक र अनुकूलित हुनु पर्नेमा जोड दिनु भयो । ‘विद्यालयले प्रयोगशाला, पुस्तकालय, खेलकूद, कम्प्यूटर ल्याब जस्ता सुविधाहरुलाई परिस्कृत र परिमार्जित गर्दै विद्यार्थीहरुको समग्र विकासमा सहायक बन्ने गरी अघि बढ्न सक्नु पर्दछ’ उहाँले भन्नुभयो, ‘समावेशी शिक्षालाई बढावा दिने सामुदायिक विद्यालयहरुमा समाजका प्रत्येक वर्गका बालबालिकाहरुले समान अवसर पाउँने वातावरण सक्रियताका साथ निर्माण गर्न आवश्यक छ ।’
उहाँले सामुदायिक विद्यालयहरु आर्थिक रुपमा कमजोर र पछाडि परेका समुदायका बालबालिकाहरुलाई उच्च गुणवत्ता सहितको शिक्षा प्रदान गर्नका लागि कटिबद्ध र प्रतिबद्ध भई विद्यालयलाई व्यवहारिक सिकाइ–एकाईका रुपमा अघि बढाउन जरुरी रहेको बताउनु भयो । ‘सामुदायिक विद्यालयहरु शैक्षणिक ज्ञानसंगै सांस्कृतिक शिक्षामा पनि जोड दिन आवश्यक छ ’ उहाँले भन्नुभयो, ‘यसले नेपालको मौलिक सांस्कृतिक र रैथाने परम्परा/रीतिरिवाजहरुको जगेर्ना गर्दै पुस्तान्तरण गर्नमा सहयोग पुुग्दछ । ’
उपराष्ट्रपति यादवले विद्यार्थीहरुलाई विद्यालयको शान, अभिभावकहरुलाई विद्यालयको सफलताको महत्वपूर्ण स्तम्भ र शिक्षकहरुलाई उत्प्रेरक भएको बताउनु भयो । ‘विद्यालयमा स्थापना भएको बहुप्राविधिक शिक्षालयमा ब्युटिसियन, इलेक्ट्रिसियन, मोबाइल मर्मत र मोटर बाइक (अटो मोबाइल) मर्मत कोर्ष र सोसंग सम्बन्धित सीप विकास गरी विद्यालयमै साधारण धारतर्फ कक्षा ९ देखि १२ का विद्यार्थीहरुलाई अतिरिक्त समय व्यवस्थापन गरी सम्बन्धित बिषयको प्राविधिक धारमा डिप्लोमा तहसम्म प्रशिक्षण दिई दक्ष बनाउन सकोस् ’ उहाँले भन्नुभयो, ‘ यस शिक्षालयमा आगामी समयमा सिकेको सीपको प्रयोग गरी आयआर्जनसँगै जीविकोपार्जन गर्न विद्यार्थीहरुलाई सहयोग र मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास लिएको छु ।’
उपराष्ट्रपति यादवले समाज र देशको गर्वका रुपमा रहेको सामुदायिक विद्यालयलाई ज्ञान, सीप, नैतिकता, देशप्रेम र संस्कारले सुसज्जित गर्न एवम् थप उचाईमा पुर्याउन निरन्तर प्रयासरत रहन आग्रहसंगै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले समारोहमा विद्यालयमा योगदान पुर्याउने संस्था र व्यक्तित्वहरुलाई प्रशंसापत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।

काठमाडौं, पुस २९ गते । मधेशी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको मधेशी एकता समाजको अन्तर्राष्ट्रिय समितिको विशेष अधिवेशन शनिबार सम्पन्न भएको छ । जुम बैठकद्वारा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वको घोषणा गर्नुका साथै संगठनका मुख्य उपलब्धिहरू र आगामी योजनाहरू पनि सार्वजनिक गरेको छ ।
समाजका संस्थापक डा. रवीन्द्र कुमार यादव (युएई)को नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रा. डा. राजीव कन्ठ (फिनल्यान्ड), महासचिवमा अन्तरिक्ष वैज्ञानिक मुकेश झा (युएई), कोषाध्यक्षमा जैव रसायनशास्त्री अनिल कुमार साह (अमेरिका) र प्रवक्तामा शिक्षाविद् एवं अधिवक्ता दीपेन्द्र चौबे (भारत) चयन गरिएका छन् ।
यस्तै उपाध्यक्षहरुमा कम्प्युटर इन्जिनियर सुजित कुमार ठाकुर (भारत), व्यापार विकास विशेषज्ञ मोहम्मद तनवीर आलम (युएई), जैव रसायन वैज्ञानिक डा. लोकेन्द्र यादव (नेपाल), शशी बाबु यादव (अमेरिका), नवीन चौधरी (डेनमार्क), ई.राजीव झा (कतार), चार्टर्ड एकाउन्टेन्ट नेहाल उज्जमान (साउदी अरेबिया) र ई. लखिन्दर यादव (जापान) रहेका छन् ।
उपमहासचिवमा ई. सुरेश कुमार यादव (युएई), उप–प्रवक्तामा ई.शैलेन्द्र कुमार राय (युएई) र उप–कोषाध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट जिवछ साह (युएई) र उप–कोषाध्यक्षमा संजीव नायक (कतार)  रहेका छन् । त्यस्तै, कार्यकारी सदस्यहरूमा सञ्जय ज्यामीरे, लालबाबु सिंह, रोशन देव, शिव कुमार महतो, चन्द्रवीर यादव र आदित्य अटल रहेका छन् ।
त्यसैगरी मध्यपूर्व संयोजकमा उद्यमी अभय कुमार ठाकुर (कतार), मध्यपूर्व उपसंयोजकमा धर्मेन्द्र गोहीवार (युएई), अमेरिका संयोजकमा शशीबाबु यादव (टेक्सास), अमेरिका उपसंयोजकमा सुजित कुमार झा (टेक्सास), युरोप संयोजकमा नवीन चौधरी (डेनमार्क), युरोप उपसंयोजकमा डा. भगवान यादव (फिनल्यान्ड), भारत संयोजकमा दीपेन्द्र चौबे (भारत), सूदूरपूर्व संयोजकमा ई. लखिन्दर यादव (जापान), र नेपाल संयोजकमा डा. बबी सिंह (सप्तरी) रहेका छन् ।
यस्तै, मिडिया संयोजकमा अमरेन्द्र यादव, आईटी संयोजकमा उत्तम मिश्र, महिला संयोजकमा जिया चौधरी एवं कला संस्कृति संयोजकमा हरिओम मेहता रहेका छन् ।
मधेशी एकता समाज एउटा प्रमुख अन्तर्राष्ट्रिय संगठन हो, जसले मधेशी समुदायको एकता, अधिकार, सामाजिक न्याय, र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्दै आइरहेको छ । नेपाल, भारत, अमेरिका, युरोप, मध्यपूर्व र एशिया–प्यासिफिक क्षेत्रमा सक्रिय यस संस्थाले सामाजिक सेवाका साथै अन्तर्राष्ट्रिय मञ्चमा मधेशी समुदायको मुद्दाहरू उठाउँदै आएको छ ।

आरके श्रीवास्तव,रौतहट,२९ गते पुस २०८१ ।
रौतहटको कटहरिया नगरपालिकामा लागेको तालाबन्दीको आज २० औं दिन पुुगेको छ । नगर प्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको कार्यशैली प्रति असंतुुष्टी जनाउँदै जनप्रतिनिधीले नै तालाबन्दी गरेको झण्डै तिनसाता पुुगेको छ ।
उनीहरुले एकलौटी गर्ने गरेको कारण यहाँका जनप्रतिनिधिहरूले नै कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । कयौं पटक तालाबन्दी भयो र खुल्यो पनि तर यसपालीको तालाबन्दी निर्णायक नै हुने जनप्रतिनिधीहरुको भनाइ छ ।
कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुुप्ताले मेयर र हाकिमको गैरजिम्मेवारीका कारण तालाबन्दीको यत्रो लामो दिन पुुगेको हो । वहाँहरु बाट तालाबन्दी खुलाउने कुनै किसिमको पहल भएको छैन् ।
बाहिरै बसेर चेक काट्ने र समझौता गराउने जस्ता कामहरु भइरहेको वडा अध्यक्ष गुुप्ताले खुलासा गरेका छन् । गलत नियतले मेयर र हाकिमले नगरपालिकालाइ बन्धक बनाएको आरोप समेत उनले लगाएका छन् । उनीहरु दुवै जनालाइ नगरपालिकामाथि कुनै किसिमको चासो नरहेको गम्भीर आरोप लगाए ।
यदि वहाँहरुलाइ नगरपालिकाको बारेमा चासो चिन्ता भएको भए सोधपुछ गर्नुहुन्थ्यो तर यसो नगर्नुको मतलब गैरजिम्मेवारीपन नै हो । मेयर जयसवालले नगरपालिकालाइ कमाइखाने भाँडो बनाएको वडा अध्यक्ष गुप्ताको आरोप छ । साथै उनले हाम्रो आन्दोलनलाइ वेवास्ता गरिए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।
अर्का वडा अध्यक्ष चन्दन कुशवाहाले यस अघि आफूहरुले तलाबन्दी गर्दा मेयरले ११ बुँदे सहमती गरेर नै ताल्चा खोल्न लगाएको स्मरण गराएका छन् । कर्मचारीहरु बक्यौता तलब दिने,बिजुलीको महशुल भुक्तानी गर्ने,खानेपानीमा पैसा राख्ने जस्ता सहमतीहरु गरेर नै नगरपालिकामा लागेको ताल्चा खोलाइएको थियो । तर अहिले ताल्चा खोलाउने कुनै किमिको पहल भएको छैन् ।
कटहरिया नगरपालिका २० दिन देखि मात्र होइन् अढाइ वर्ष देखि नै मेयरको बन्धकमा रहेको वडा अध्यक्ष कुशवाहाले दाबी गरेका छन् । यत्रो लामो तालाबन्दी हुँदा मेयर रिलैक्स भएर बसेको भन्दै असंतुष्टि जाहेर गरेका छन् ।

oplus_0

नगरप्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा भ्रष्टाचारको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् ।
सोमबार उपप्रमुख रिता देवी यादव सहित कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो, वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता र वडा नम्बर ७ का वडा अध्यक्ष सहिद आलमले एकस्वरमा नगरप्रमुख र प्रमुख प्रशासकयि अधिकृतको रवैवाप्रति असंतुुष्टी जनाएका छन् । आफूहरुले नगरपालिकाको भलाइको लागि तालाबन्दी गरेको उनीहरुको भनाइ छ ।

राजन श्रीवास्तव,राैतहट,०१ गते माघ २०८१ । 

रौतहट ,२९ पुस। माधवनारायण नगरपालिकामा खेलकुद सप्ताह २०८१को उद्घाटन भएको छ।

माधवनारायण नगरपालिका वडा नम्बर ६ स्थित रहेको श्री माध्यमिक विद्यालय माधोपुरको प्रांगणमा आज आयोजित खेलकुद सप्ताह २०८१ को उद्घाटन नगर प्रमुख बैजनाथ यादव(बैजु)द्वारा गरिएको छ ।

श्री माध्यमिक विद्यालय माधोपुरको आयोजनामा भएको खेलकुद सप्ताह २०८१को प्रमुख अतिथिको रुपमा माधव नारायण नगरपालिकाको मेयर बैजनाथ यादव रहेका थिए।

श्री माध्यमिक विद्यालय माधोपुरका प्रधानाध्यापक राम सिंहासन कुमार खेलकुद सप्ताहको  अध्यक्ष भएको नाताले भने आयोजना गरिएको खेल प्रतियोगिता भएमा हाम्रो विद्यालय कप लगिएको निश्चित पारे।

यो खेलकुदको सुरुवात शैक्षिकसत्र २०८० देखि नै भएको र श्री माध्यमिक विद्यालय माधोपुरले मात्र गरेको प्रस्ट पारे।माधव नारायण नगरपालिका भित्रका सबै भन्दा पहिले हाम्रो विद्यालयले खेलकुदको आयोजना गरेको र यस्ता खेलकुद जिल्ला स्तर हुनु पर्ने तर विडम्बना भनौं पालिका या जिल्लाले विद्यालय स्तरमा खेलकुद सप्ताह आयोजना गरेमा मावी माधोपुर मुख्य बिजेता हुने उनले दावी गरे।

रौतहट जिल्लाका शिक्षा ईकाई तथा पालिकाहरुले यस्ता खेलकुदको प्रारम्भ गरेको छैन एक मात्र श्री माध्यमिक विद्यालय माधोपुरले गरेको अवगत गराए।

४ वटा टीम तयार पारेर कुर्सी खेल गराएर खेलको सुरुवात भएको शिक्षक संजय दासले भने अरु खेलहरु खेलाएर अभियासी बनाई उत्कृष्ट खेलाडी बनाउनेतर्फ प्रधानाध्यापक रामसिंहासन कुमारको उदेश्य रहेको बताए।

उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षक शिक्षिका,बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा पालिकामा रहेका बिद्यालयहरुका प्रधानाध्यापकका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

आरके श्रीवास्तव,राैतहट,२७ गते पुस २०८१ । 

राैतहटकाे फतुवा विजयपुर नगरपालिकाले शिक्षा क्षेत्रकाे भाैतिक संरचनाहरू तिव्र रूपमा विकास गरिरहेकाे छ ।

कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र शिक्षा सह संयाेजक अनिल यादवको शिक्षा प्रतिको गम्भीरता र विकास प्रतीको लगावको कारण फतुवा विजयपुर नगरपालिकाले शिक्षा क्षेत्रमा दिनप्रतिदिन नयाँ नयाँ उपलब्धिहरू हासिल गर्दै गईरहेकाे छ ।

यसअघि एकैदिन तीन वटा बिधालयमा भवन निर्माणका शिलान्यास गरिएको थियोे । शनिबार साे नगरपालिकाकाे वडा नम्बर ५ मा रहेको श्री आधारभूत विधालय डुमरियाकाे विद्यालय भवनको उद्घाटन गरिएको छ । कार्यवाहक नगरप्रमुख खातुनले एक कार्यक्रमका बिच भवनको उद्घाटन गरेकी हुन् ।

आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २२ लाख ५० हजारकाे लागतमा दुई काेठे भवन निर्माण पश्चात् भवन समुदघाटन भएको प्रधानाध्यापक संताेष कुमार जयसवालले जानकारी गराउनु भएको हाे ।

भवन उद्घाटन कार्यक्रममा जग्गादाता स्वर्गीय नरसिंह बहादुर बस्नेतका छाेरा यज्ञबहादुर बस्नेतलाई दाेसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको प्रअ जयसवालले बताएका हुन् ।

साथै हालका प्रधानाध्यापक संताेष कुमार जयसवाल भन्दा अघिका पूर्व प्रअहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा संस्थापक प्रअ सुरेश लामिछाने,ब्रहमदेव पटेल,जयराम प्रसाद साेनार,रामानन्द साह साेनार,राअश्रे राय यादव रहेका छन् । त्यस्तै रामबचन ठाकुर लाई विदाई सहित प्रशंसा पत्र प्रदान गरिएको थियोे ।

त्यसैगरी बिधालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष भाेला महताे,गगनदेव महताे,रघुवंश राय यादव,शम्भु महताे काेईरीलाई पनि सम्मान गरिएको थियोे । वहाँहरूले बिधालयमा गरेको कार्यकाे उच्च मूल्यांकनगरि प्रशंसापत्र सहित सम्मान गरिएको प्रअ जयसवालकाे भनाइ छ ।

भवन उद्घाटनकाे अवसरमा साे वडाका वडा अध्यक्ष शेष ऐजाज,वडा नम्बर ९ का वडा राकेश यादव,शिक्षा सह संयाेजक अनिल यादव लगायत स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेको थियाे ।

गुडु यादव,राैतहट,२७ गते पुस २०८१ । 

मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादव उर्फ जितेन्द्रले पाेठियाही स्वास्थ्य चाैकीमा ३२ प्रकारका औषधि सहयोग गरेका छन् । गरूडा नगरपालिका वडा नम्बर ६ मा रहेको साे स्वास्थ्य चाैकीमा आज एक कार्यक्रमका बिच मन्त्री यादवले औषधि हस्तान्तरण गरेका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट गरूडा नगरपालिकाकाे मेयर प्रत्यासी रहेका सुनिल यादवको पहलमा अर्थमन्त्री यादवले आफनाे संसदीय कोषबाट १५ लाख मूल्य बराबरको औषधि उपलब्ध गराएका हुन् ।

साे औषधि पोठियाही बर्थिङ सेन्टरका सहायक इन्चार्ज डाक्टर रोशन चौधरी लाई हस्तान्तरण गरिएको हाे ।

राैतहट निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सांसद समेत रहेका मन्त्री यादवले जनताकाे स्वास्थ्य प्रति संवेदनशील भई काम गरिरहेका छन् । यस अघि पनि उनले फतुवा विजयपुर नगरपालिकाकाे स्वास्थ्य चाैकीहरूमा औषधि सहयोग गरेका थिए ।

शनिबार स्थानीय जोगिन्द्र प्रसाद यादव र वडा अध्यक्ष रामबाबु प्रसाद चौधरीकाे नेतृत्वमा औषधि हस्तान्तरण कार्यक्रम आयाेजन गरिएको थियोे ।

साे कार्यक्रममा प्रधानाध्यापक उमेश यादव, जयप्रकाश शाह देवकान्त यादव, ई.उमेश चौधरी तथा स्थानीय भद्रभलादमीकाे   उपस्थितिमा उक्त औषधि हस्तान्तरण गरिएको हाे ।

बज्जिकाञ्चल संवाददाता,रौतहट,२७ गते पुस ।
रौतहट । उपाध्यक्षले गाउँपालिकाको लेटर प्याड दुरुपयोग गरेको प्रति गाउँपालिका अध्यक्षले आपती जनाएका छन् । रौतहटको दुर्गाभगवती गाउँपालिकाकी उपाध्यक्ष शिला देवीले कार्यालयको लेटरप्याड दुरुपयोग गरेको भन्दै अध्यक्ष शम्भु सिंहले विज्ञप्ती जारी गर्दै आपती जनाएका छन् । दुर्गाभगवती गाउँपालिका कार्यालयको मिति २०८१।०९।१८ गतेको पत्र संख्या २०८१र०८२ चलानी नं. ६८२ को पत्र श्री संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंशदरबार ,काठमांर्डौंलाइ विषयः अनुमति तथा राय परामर्श सम्बन्धमा लेखि पठाएको तथा चलानी नं. ६८३ श्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाम,धनुषामधेस प्रदेश विषयः कर्मचारी सम्बन्धमा लेखि पठाएकोले त्यही मिती र चलानी नं. राखी उपाध्यक्षले लेटरप्याड दुरुपयोग गर्दै त्यही कार्यालयमा तथा नेपाल सरकारको विभिन्न निकायमा पत्राचार गरेको प्रति गाउँपालिका अध्यक्षले आपती जनाएका छन् ।

गाउँपालिका अध्यक्ष शम्भु सिंह द्धारा जारी विज्ञप्तीमा लेखिएको छ , गाउँपालिकाको हैसियतले विभिन्न बैठकमा उपस्थित भइ आफैबाट हुने गरेको निर्णय विरुद हुने गरि गाउँ कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सहित नियमित रुपमा कार्यालयको कामकाज गर्दै आएको कर्मचारीहरुको मनोबल कमजोर हुने गरि विभिन्न आरोप प्रत्यारोप लगाइ गाउँ कार्यपालिकाको मासिकरुपले अनिवार्य बस्नु पर्ने बैठकमा उपस्थित नभइ कार्यपालकिा सदस्यहरुलाइ समेत कार्यपालिका बैठकमा उपश्थित हुन अबरोध गरी गराइ गाउँपालिकाको निर्णय बमोजिम नियमित सेवा प्रवाहमा प्रत्यक्ष अबरोध सृजना गरि गाउँपालिका अध्यक्षको पदीय मान सम्मानमा नै असर पर्ने गरी र कानुन बमोजिम सम्पादन गर्नु पर्ने आफ्नो पदीय जिम्मेवारी अनुसार कार्य समेत न गरी कुनै व्यक्ती विशेषको ईर्षया द्धवेष राखी कार्यालयको कर्मचारीहरु प्रति नै अवान्छिनिय गतिविधी प्रस्तुत गरी कार्यालयको दैनिक सेवा प्रवाहमा नै अबरोध गरेकोमा मेरो ध्यानाकर्षण भएको उल्लेख रहेको छ । गाउँ कार्यपालिकाको पदाधिकारी एवंं सदस्यहरुलाइ कानुन विपरित कुनै काम गर्न गराउन छुट न रहेको र प्रचलित कानुन बमोजिम अनिवार्यरुपले सम्पादन गर्नु पर्ने अध्यक्ष सिंहको तर्क रहेको छ ।

विज्ञपति मार्फत गाउँपालिका उपाध्यक्ष र सदस्यहरुबाट प्रयोग गरिएको गाउँकार्यपालिकाको लेटरप्याड गैर कानूनी रहेकोले मान्यता नदिन सम्वन्धित निकायलाइ आग्रह गरिएको छ । गाउँपालिका अध्यक्ष सिंहले बाढि़ बाट क्षति भएको किसानलाइ राहत दिनु पर्ने , हिउँदे अधिबेशन गर्नु पर्ने कार्यमा समेत उपाध्यक्ष र केहि कार्यपालिका सदस्यहरुले बाधा अवरोध पुर्याउने गरेको आरोप समेत लगाएका छन ।

 

सरिता कुमारी श्रीवास्तव,रौतहट,२७ गते पुस ।
भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु रौतहट प्रहरी बरामद गरेको छ । बिहिवार बिहान ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले परोहा नगरपालिका वडा नम्बर ६ बसन्पट्टी स्थितमा विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा विभिन्न सामानहरु बरामद गरेको हो ।
बिआर ३० बि ८०९४,बिआर ०५ क्यू ४२५७ र ना १४ प ८७३३ नम्बरको मोटसाइकिलहरु हरुलाई रोकी चेकजाँच गर्दा सो मोटरसाईकलहरुमा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको कपडा,किराना सर–सामानहरु बरामद गरिएको हो ।


सो सामानहरुको अन्दाजी मूल्य एकहतर हजार चार सय पचास बराबरको चिनी, दाल र कपडाहरु फेला परेको हुँदा, कपडा,किराना सर–सामानहरु र अन्दाजी मुल्य रु.एक लाख पन्ध्र हजार बरावरको ३ वटा मोटरसाइकिल गरि जम्मा मुल्य रु.एक लाख छयासी हजार चार सय पचास बरावरको कपडा,किराना सर–सामानहरु, मोटरसाइकिल र मोटरसाइकिल चालक जिल्ला रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी बर्ष ३० को बैजु प्रसाद साह समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक निमित्त सूचना अधिकारी उमाशंकर प्रसादले जानकारी गराएका हुन् ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।