२०८३ असार ५
२०८३ असार ५

राजिव साह,सर्लाही, १६ गते वैशाख । २०८२

लोकतान्त्रिक मुस्लिम संघले आफ्नो केन्द्रीय समितिको नयाँ नेतृत्वको घोषणा गरेको छ। संघका केन्द्रीय संयोजकमा बारा निवासी डा. कमरुल्लाह अंसारी चयन भएका छन्। संघले एक प्रेस विज्ञप्तिमार्फत नयाँ केन्द्रीय समिति गठनको जानकारी दिएको हो।

संघका अनुसार केन्द्रिय उपाध्यक्षमा मन्सारुल हक (रौतहट) र तबरेज अख्तर आलम (मोरङ) चयन भएका छन्। महासचिवमा कमिल खान (कास्की) रहेका छन् भने केन्द्रीय कोषाध्यक्षमा मोसतकिया नेसा खतुन (बारा)नियुक्त भएका छन्।

२०७८ सालमा स्थापना भएको लोकतान्त्रिक मुस्लिम संघले मुलुकको लोकतान्त्रिक आन्दोलन, मुस्लिम समुदायको अधिकार र पार्टीगत सहभागिता सुनिश्चित गर्न विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बज्जिकाञ्चल संवाददाता, रौतहट, १६ गते वैशाख । २०८२

मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्यसमिति रौतहटले रौतहट जिल्ला अदालत गौर अगाडि धर्ना दिएका छन् ।

फर्जी तमसुक खारेज, किसानको जग्गा फिर्ता, पक्राउ पुर्जी खारेजी लगायतका माग राखी गौर नगर परिक्रमा गर्दै अदालतको गेटमा धर्ना दिएको मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल जिल्ला कार्य समिति रौतहटका जिल्ला अध्यक्ष शिवशङ्कर महतोले बताउनुभयो ।

धर्ना कार्यक्रम अगाडि मजदुर किसानले जिल्ला अदालतका श्रेस्तेदारमार्फत मुख्य न्यायाधीशलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको लामो सङ्घर्ष पश्चात शोषित उत्पिडित जनसमुदायको पक्षमा अनुचित लेनदेनविरुद्ध कानुन आए पनि पीडितको हकमा कार्यान्वयन नहुँदा  निराशा थपिएको ज्ञापनपत्रमा भनिएको छ ।

सम्मानित अदालतले न्यायिक सङ्घर्षको मर्मलाई ध्यानमा राखी पिडित पक्षलाई न्याय दिलाउन पिडितविरुद्ध फैसला तत्काल स्थगित गरि पुनरावलोकन गर्न मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको माग रहेको छ  ।

सभार गोरखापत्र

बज्जिकाञ्चल संवाददाता,भक्तपुर १६ गते वैशाख ।।

ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् । भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

यो ठाउँ जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरिहेरको हो ।

टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ विते पनि कसैले वास्ता नगरेको भन्दै स्थानीयले पत्रकारहरुसँंग हारगुहार मागेका छन् । वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पर्धेर, कोलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट बञ्चित गरेको उनीहरुले बताए । आयोजनाले जंगलबाट घासपात समेत ल्याउने बाटो समेत अवरोध भएको स्थानीयले बताए ।

उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो छ । घिसिङ् टोलमा आयोजना सञ्चलान गर्दा घिसिङ् टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ । आयोजनाले स्थानीय जनताको सहमति विना जबरजस्ती व्यक्तिको जग्गा समेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको जनाइएको छ ।

वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ्ग आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन–जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ् कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शंकर तामाङ र हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न उनीहरुले जिल्ला प्रशामशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाइसके जनाए । तर कसैले पनि केही कदम नचालिदिएको भन्दै स्थानीयले मंगलबार त्यहाँं पुगेका पत्रकारहरुसँंग सहयोगको याचना गरे ।

यसैका लागि स्थानीयले संघर्ष समिति पनि गठन गरेका छन् । गठित संघर्ष समितिको अध्यक्षमा स्थानीय प्रेमबहादुर तामाङ रहेका छन् । उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ्ग रहेका छन् । सदस्यहरुमा बाबुराम लामा, बुद्ध लामा, शंकर लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ, सानो तामाङलगायतका रहेका छन् ।

यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँंगा झोलुंगे पुलबाट सिधै पहाड माथिको जंगैलैजंगलको बाटो भएर दस १२ किलोमिटर माथि पर्दछ । यहाँंको पूरै क्षेत्र जंगलै जंगल रहेका छन् । साथै फाटफुट घरहरु पनि छन् ।

सरोकारवालाहरुले वेवास्ता गरेपछि उनीहरु आफैं आन्दोलनको तयारीमा जुटेका छन् । यहाँंको पूरै वस्ती तामांग रहेका छ ।

 

 

काठमाडौं १५ गते बैशाख ।

नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ । यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ ।
सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट सुरू भएको डाइनामिक टेक्नोसफ्टले आज नेपाल, भारत र जापानमा गरी २२०० भन्दा बढी ग्राहकहरूको साथ विश्वास हासिल गरेको छ ।

यस कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, सेवा लगायतका क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउने उद्देश्यले डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयरहरू विकास तथा विस्तार गर्दै आएको छ ।

डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । यस कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलरहरू र १०० भन्दा बढी प्राविधिक विज्ञहरूको दक्ष टिम रहेको छ ।

डाइनामिक टेक्नोसफ्टले शिक्षा क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजहरूलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ ।

यसबाहेक कम्पनीको ईआरपी सोलुसन नेपालका विभिन्न पालिकाहरूमा समेत प्रयोग भइरहेको छ ।
डाइनामिक टेक्नोसफ्टले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो पाइला बढाउँदै दुबई, मलेसिया र इन्डोनेसिया जस्ता मुलुकहरूमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ ।

१५ औँ वार्षिकोत्सवको अवसरमा डाइनामिक टेक्नोसफ्टका सस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक साहले भने, “१५ वर्षको यात्रामा हामीले विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको माध्यमबाट प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छौं । ग्राहकहरूप्रति हाम्रो उत्तरदायित्वलाई अझ बलियो बनाउन हामी आगामी दिनहरूमा थप नवीनतम सेवा र समाधान लिएर आउने छौं ।

१५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादहरूमा सीमित अवधिका लागि १५ प्रतिशत छुट अफर प्रदान गरिरहेको छ ।

बज्जिकाञ्चल,१५ गते वैशाख ।
शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपुरक हुन् भन्ने भाष्य नै सुधार्नुपर्ने देखिएको छ । शिक्षाले मानिसको अन्तरज्ञान उजागर गर्ने र मानिसलाई प्रशस्त उज्यालो मार्ग निर्देशन गर्छ । जसको परिणामस्वरूप कुनैपनि देश र समाजमा परिवर्तन आउन सक्छ । राजनीतिमा पनि अमूल्य र गतिशील परिवर्तन आउनसक्छ । शिक्षाले व्यक्ति र समाजसँग अन्तरसम्बन्ध हुन्छ भने समाजद्वारा नै राजनीति सञ्चालन हुने गर्छ ।
त्यसैले, असल राजनीति र राजनीतिज्ञको लागि शिक्षाको ठूलो महत्व छ । शिक्षा र राजनीति एउटै सिक्काका दुई पाटा हुन् तर शिक्षाबिनाको राजनीति अर्थहिन हुन्छ किनभने विकसित राजनीतिमा बौद्धिक समाजको आवश्यकता पर्दछ । बौद्धिक समाज शिक्षाबिना कल्पना गर्न सकिदैन ।
राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निस्वार्थ रुपमा सञ्चालन हुन नपाएको कतिपय विद्यालयहरुको गुनासो छ । शिक्षालाई राजनीतिमा मिसावटा गर्नु नै गलत छ । शिक्षा त ज्ञानको ज्योति हो । शिक्षाले व्यक्ति र समाजलाई अध्याँरोबाट उज्यालोतर्फ लैजाने क्षमता बोकेको हुन्छ ।
राजनीति त्यो हो जुन देश र समाजलाई राज्यको नीतिभित्र रहेर परिवर्तन गराउनु पर्छ । राजनीतिको मूल उद्देश्य भनेको जनता, समाज र देशलाई आर्थिक साथै सामाजिक उन्नति, प्रगतितर्फ लैजानु हो । तर अहिले दलीय राजनीति शिक्षण संस्थाहरुमा बढ्दै गइरहेको छ । राजनीति गर्नेहरुले आफू नेतृत्वमा पुग्न शिक्षण संस्थालाई बढी प्रयोग गरेको पाइन्छ । आजभोलि राजनीति भन्ने वित्तिकै शिक्षण संस्था पनि परिचित हुन थालेको छ । अहिलेको अवस्था हेर्ने हो भने गुणस्तरीय शिक्षा हासिल गर्न निजी विद्यालयनै जानुपर्छ भन्ने भाष्य सिर्जना भएको छ । यो सरासर गलत हो । सरकारी र नीजि छुट्याउने बहानामा सरकारी विद्यालयलाई कमजोर देखाउन थालियो । सरकारी विद्यालय भनेको राजनीति गर्ने ठाउँ भन्ने भाष्य सृजना गर्ने शिक्षित वर्ग नै देखिएको छ ।
पछिल्लो समय शिक्षक शिक्षिकामाथि कालोमोसो दल्ने, कुटपिट गर्नेे जस्ता अपराधिक घटनाहरू भइरहेका छन् । जुन विद्यार्थी राजनीतिको विकृतिको पराकाष्ठ समेत बनेको छ । देशको प्रत्येक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव भएकाले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा असल भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा आजको आवश्यकता हो ।
समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न राजनीति केन्द्रित हुनुपर्ने हो । नेपालको सन्दर्भमा राजनीति भनेको हड्ताल, नारावाजी, जुलुस, बन्द र अनसन जस्ता नकारात्मक कुरा मात्र हो भन्ने पाइन्छ । राजनीतिलाई एक फोहोरी खेलका रूपमा हेर्ने गरेको पाइन्छ यो गलतहो। राजनीति भनेको त आफैँमा एक विज्ञान हो । हामीले राजनीतिलाई राम्रोसँग अध्ययन–अनुसन्धान गर्यौ भने यसको महत्व बुझ्नेछौँ । साच्चै भन्ने हो भने राजनीतिमा ऐतिहासिक कालदेखि नै शिक्षाको ठूलो भूमिका रहिआएको छ ।
जबदेखि राणाशासन काल थियो त्यतिबेला नेपालको साक्षरता दर २५ प्रतिशत मात्र थियो । विभिन्न कालखण्डदेखि अहिलेसम्मको शिक्षा क्षेत्रमा भएको विकासका कारणले नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । बिस्तारै शिक्षा क्षेत्रमा आएको सुधारका कारण देशको राजनीतिको व्यवस्थामा पनि परिवर्तन आइरहेको छ । पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय व्यवस्था, गणतन्त्र व्यवस्थासम्मको अवस्था शिक्षाको विकासका कारण भएको हो । राजनीतिमा भएको परिवर्तनले शिक्षामा पनि परिवर्तन ल्याएको हो । तर हाम्रो देशमा राजनीति गर्ने राजनीतिज्ञ व्यक्तित्वहरू भने शिक्षित कम छन् ।
अब विकास गर्नका लागि राजनीतिक मुल्य मान्यतामा परिवर्तन ल्याउन युवा वर्गले राजनीतिमा प्रवेश गर्नुपर्छ । साथै मानिसहरूलाई राजनीतिको नकरात्मक पक्ष मात्र होइन सकारात्मक पक्ष पनि देखाउनु र बुझाउनुपर्छ । विद्यार्थीले कस्तो गुणस्तरको अपेक्षा गर्ने आजको समस्या हो । शिक्षण संस्थाहरूमा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ । व्यवहारिक र नियमित आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्छ । राजनीतिकर्मीहरूले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताका कारणले शिक्षामा राजनीति गरेको हो भने उनीहरुको भूमिका के हुनु पर्ला भन्नेबारे सोच्नु जरुरी छ । जहाँबाट शिक्षामा राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न आवश्यक छ । शिक्षामा राजनीति गरेर शैक्षिक वातावरणलाई तहसनहस बनाउने जोसुकैलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक वहिस्कारसमेत गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।
‘समृद्ध नेपाल र सुखीनेपाली’को सपना साकार पार्न दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्छ । राजनीतिले शिक्षा नीति बनाउने र देशलाई विश्वसामु एक नमुना राष्ट्र बनाउन राजनीतिकर्मीको अहम भूमिका रहन्छ । राजनीतिमा आउने विकृति र विसंगतिलाई न्यूनिकरण गर्नका लागि समेत शिक्षाको अहम् योगदान रहन्छ । शिक्षण संस्थामा आबद्ध शिक्षकदेखि उच्च पदाधिकारीहरुले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति, नियम, योजना निर्माण र कार्यान्वयन गरिनु अति आवश्यक छ । सबैको कार्य दक्षताको मूल्याड्ढन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धिस्तरलाई प्रतिस्पर्धी श्रम बजारमा खपतको आधारमा प्रतिस्पर्धा गर्नु पर्छ । अब शिक्षाको नाममा आतङ्क फैलाएर शिक्षामा ह्रास आउने गतिविधिको अन्त्य जरुरी छ । परम्परागत प्रवृत्तिबाट माथि उठेर समस्याको निकास खोज्न जरूरी देखिन्छ । संविधान, मुलुकको क्षमता र बालबालिकालाई केन्द्रविन्दुमा राखेर शैक्षिक गतिविधिलाई संयमित र मर्यादित बनाउनु अहिलेको आवश्यकता हो ।

 

बज्जिकाञ्चल संवाददाता, काठमाडौं १३ गते वैशाख ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासमा मिसन उपप्रमुख आर्मिन मेसिनोभिक बीच श्रम सम्झौता गर्ने सम्बन्धमा छलफल भएको छ । शुक्रवार मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने बिषयमा द्धिपक्षीय छलफल भएको हो ।

उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएको हुँदा द्धिपक्षीय श्रम सम्झौताका लागि प्रकृया अगाडि बढाउन चाहेको मिसन उप्रमुख मेसिनोभिकले प्रस्ताव अगाडि सारेका थिए ।

छलफलमा मन्त्री भण्डारीले पच्छिलो समय युरोपका विभिन्न देशहरुसँग नेपाली श्रमिकहरुका लागि कामदार लैजाने सम्बन्धमा द्धिपक्षीय श्रम सम्झौता तथा गृहकार्यहरु अगाडि बढी रहेको बताउँदै बोस्निया पनि नेपाली कामदारको लागि नयाँ श्रम गन्तव्यको रुपमा नेपाल सरकार श्रम सम्झौता गर्न तत्पर रहेको बताउँदै द्धिपक्षीय सम्झौताका लागि प्रकृया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले, नेपाली श्रमिकहरुलाइ आवश्यक तालिम प्रदान गरी दक्षजनशक्तिको रुपमा वैदेशिक गन्तव्यमा पठाउन श्रम मन्त्रालय लागि परेको जानकारी दिँदै बोस्नियाका लागि आवश्यकताको आधार दक्षजनशक्ति माग भए सोही अनुसार दक्ष जनशक्ति तयार गरी रोजगारीका लागि पठाउने बताए ।

चन्दन यादव, रौतहट १३ गते वैशाख ।

रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको समानहरुलाइ प्रहरीले नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयले प्रेस नोट प्रकाशित गर्दै जानकारी गराएका हुन् । २०८२ वैशाख बुधबारका दिन १० गते जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले नियन्त्रणमा लिइएको जनाएका हुन् ।

विभिन्न स्थान स्थितमा विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरि नेपाल तर्फ भित्रियाई लैजाँदै गरेका अवस्थामा उक्त समानहरु फेला परेको प्रहरीले जानकारी गराएका हुन् ।

फेला परेको समानहरु अन्दाजी मुल्य रु. ३ लाख १९ हजार ४ सय ५० रुपैया बराबरको मोटरसाइकल ३ थान, साईकल ४ थान विभिन्न किसिमका किराना, कपडा र कस्मेटिक लगायतका सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरी जानकारी गराएका हुन् ।

नियन्त्रणमा रहेको मोटरसाइकलहरु मध्ये दुइ वटा नेपाली नम्बर पेलेट रहेको छ भने एक वटा भारतीय नम्बर पेलेट रहेको जिल्ला प्रहरी कार्यालयले निकालेको प्रेस नोटको तस्बीरमा उल्लेख रहेको छ । त्यस मध्ये एक वटा पल्टीना, एक वटा सुपर स्पलेन्डर तथा एक वटा पइसन प्रो मोटरसाइकल रहेको निमित्त सुचना अधिकारी तथा प्रहरी निरीषक उमाशंकर प्रसादले जानकारी गराएका हुनु ।

बज्जिकाञ्चल संवाददाता,काठमाडौं, १३ गते वैशाख ।

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको बैठक बिनानिस्कर्ष टुंगिएका हो ।

छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि फेरि बस्ने सम्बाद गर्ने निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन ।’

वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठाेस सहमति हुन नसकेको एक शिक्षक नेताले बताए । मन्त्री पन्तले शिक्षकहरुले उठाएकाे माग सुनिसकेपछि आफूले सबै मागहरु पूरा गर्न सक्दाे  काेशिस गर्ने बताए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।