काठमाडौँ । अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्म ‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यस वर्षको असोज ३ गते अर्थात् संविधान दिवसको दिन फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।
यो फिल्मको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको बुझिएको छ । पोस्टरले सुशील सेनाको भूमिकामा भएको संकेत गर्दछ । फिल्मलाई विक्की महर्जनले निर्देशन गर्दै छन् ।
निर्देशक महर्जन स्वयंको लेखन रहेको फिल्ममा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-
निर्मातामा छन् । नविन गुरुङको छायांकन रहेको फिल्ममा ‘ट्रेलर मास्टर’ साहिल खानको सम्पादन छ भने चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।न्युज कारखाना
काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ ।
उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ ।
ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् । ट्रम्प आफ्नो छोरा एरिकको हात समातेर अदालतबाट बाहिर निस्किने क्रममा न्यायाधीशलाई विवादास्पद भनेका थिए । उनले भने, यो लाजमर्दो कुरा भएको बताउदै यो मुद्दा एक विवादास्पद न्यायाधीशद्वारा संचालित एक धाँधली परीक्षण भएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘यतिबेला देशैभर धाँधली भइरहेको छ । बाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्याउन यो सबै गरेको हो । मामिला टुंग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौं । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौं ।’
अर्कोतर्फ, ट्रम्पलाई दोषी ठहर गरेपछि बाइडेनका चुनावी अभियानका प्रवक्ताले कानुनभन्दा माथि कोही नभएको बताएका छन् ।
अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाई हुने भएको छ ।न्युज कारखाना
काठमाडौँ । ग्रिसको क्लब ओलम्पियाकोसले यस सिजनको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनल खेलमा ओलापियाकोसले इटालियन क्लब फ़िओरेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिम गोल रहित बराबरीमा रहेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ओलम्पियाकोसको जितमा खेलको ११६औ मिनेटमा आयुब अल काबीले निर्णायक गोल गरेका थिए ।
यो जितसँगै ओलम्पियाकोस कुनै पनि युरोपियन उपाधि जित्ने पहिलो क्लब बनेको छ ।न्युज कारखाना
काठमाडौँ । आइसिसी टि-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म-अप खेल बर्षाले रद्द भएको छ ।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल बर्षाले रद्ध भएको हो । यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पनि खेल हुन सकेन ।
नेपालले यस अघि पहिलो वार्म-अप खेलमा क्यानाडासँग ६३ रनको हार बेहोरेको थियो ।
अब नेपालले सिधै विश्वकपका खेल खेल्ने छ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ । न्युज कारखाना
नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनै पनि संस्था/कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) महत्वपूर्ण पद भएकोले यो पदमा आसिन भएकाहरुले आफ्नो भूमिका कौशलताका साथ निर्वाह गर्नुपर्ने बताउनु भएको छ । नेपाल व्यवस्थापन संघ (म्यान) द्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘सीईओ कन्फेरेन्स, २०२४’ सम्मेलनको समुद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले आफ्नो सम्वोधनका क्रममा वित्तिय तथा गैर–वित्तिय क्षेत्रमा कार्यरत नेतृत्व तहलाई नेपालसहित विश्वमा बदलिदो परिवेश, नविनतम प्रविधि विकास, खस्कदो अर्थतन्त्र र संस्थाको नेतृत्व तहले कम्पनीको समस्या समाधान र उन्नयनका लागि अवलम्बन गर्न सक्ने विषयबारे यो सम्मेलनले प्रचुर ज्ञान आर्जन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यस सम्मेलन मार्फत् सरोकारबालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यवसायिक मोडलबाट परिचालित कार्यस्थलको सुनौलो भविष्यका लागि मार्गदर्शन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरेको छु ’ उहाँले भन्नुभयो, ‘ठूला कम्पनीमा कार्यरत सीईओ अन्य क्षेत्र र अधिकारीहरुसंग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उहाँहरुले आफ्नो व्यक्तिगत हितको तुलनामा कम्पनीका लागि ईमान्दारिताका साथ भूमिका निर्वाह गर्नु पर्दछ । त्यो ईमान्दारिता कायम गर्न नसकेको अवस्थाका संस्था/कम्पनी धरासायी हुने सम्भावना रहन्छ । त्यसैले पदिय दायित्व, गरिमा र ओजलाई कायम राख्न कुनै कसर बाँकी राखिनु हुन्न । ’ उपराष्ट्रपति यादवले नवप्रवर्तन (स्टार्टअप्स) कम्पनीमा कार्यरत सीईओले सबै व्यावसायिक दिनचर्याहरुमा आफ्नो मिहिन दृष्टि राख्दै त्यसमा सहभागि हुन सक्नु पर्ने समेत बताउनु भयो । ‘यो पदमा बस्नेहरु सक्षम र दक्ष नहुनु कै कारण धेरै कम्पनीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको उदाहरणहरु हामी सामु प्रशस्तै छन्’ उहाँले भन्नुभयो, ‘यो गम्भिर विषय हो, सरोकारवालाको ध्यान जानै पर्दछ ।’ उहाँले सीईओले कम्पनीको संगठनात्मक संस्कृतिको प्रवक्ताको भूमिका निर्वाह गर्दै संस्थालाई सफल दृष्टिकोण, मिसन र उद्देश्यका साथ संचालन र विकास उन्मुख बनाउनु पर्ने पनि बताउनु भयो । ‘सीईओ कुनैपनि संस्थामा आइपरेको समस्या समाधानमा रणनीतिक योजना मार्फत अघि बढ्न निर्देशित गर्न सक्ने पनि हुनु पर्दछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ एउटा सीईओका लागि संस्थामा राम्रो टिम हुनु अति आवश्यक शर्त हो । टिमको विश्वास र समर्थन बिना सफल हुन सकिन्न । कुनै गुनासा र आरोप पछि त्यसको समाधान गर्न आत्मचिन्तत अपरिहार्य हुन जान्छ । यसले जीवनमा विनम्रता मात्रै ल्याउँदैन आफ्नो व्यवहार र कार्यहरुको विश्लेषण गर्दै अघि बढ्न तथा संस्था/कम्पनीलाई सफलताको उचाईमा पुर्याउन सहयोग गर्दछ । ’ उहाँले हरेक म्यानेजर (प्रबन्धक), लीडर (नेतृत्वकर्ता) हुन नसक्ने उल्लेख गर्दै समादर, शिष्टता, सदाचार, सद्–व्यवहार र आत्मविश्वासका साथ नेतृत्व गर्न सक्नेले नै सम्मान पनि पाउने बताउनु भयो । ‘एउटा सीईओ आधुनिक कार्यस्थलमा स्वयंलाई मात्र होइन संस्थालार्ई स्थापित गर्ने कलाको पारखी पनि बन्न सक्नु पर्दछ ’ उहाँले अगाडि भन्नुभयो, ‘ कुनै पनि लगानीको भविष्य तब मात्रै सुनिश्चित हुन सक्दछ, जब हामी परिवर्तित परिवेश, माटो र भूगोल सुहाउँदो वातावरणबारे सही तथ्य र ज्ञानका साथ अघि बढ्न सक्दछौं । खासगरी, नवीनतम प्रविधिहरुको प्रयोग र त्यसबाट सिर्जित अवसर एवं चुनौतिहरुको पहिचान गर्दै अघि ढ्न नितान्त जरुरी छ ।’ उहाँले यो क्षेत्रमा नेपालले अंगीकार गर्नुपर्ने आवश्यक रणनीतिहरुको तर्जुमा गर्दै समस्या समाधानसहित लगानीका अवसरहरुलाई बढी भन्दा बढी उपयोग गर्नु पर्ने उल्लेख गर्दै भन्नुभयो, ‘आजको युग नवीनतम प्रविधिको प्रयोग गरि व्यवसायमा सफलता हासिल गर्ने युग पनि हो । यसै प्रविधि अन्तर्गत परिवर्तनलाई कसरी अंगीकार गर्न सकिन्छ भन्ने मूल ध्येयका साथ अगाडि बढन सके हामी हरेक क्षेत्रमा सफल हुन सक्छौ ।’ उपराष्ट्रपति यादवले पछिल्लो समय विश्व एउटा कठिन आर्थिक, प्राकृतिक, प्रविधिक जटिलता उन्मुख अवस्थामा रहेकोले त्यसबाट त्राण पाउन सम्बन्धित सबैलाई थप सजग, सचेत र सावधान हुन यो सम्मेलन कोशेढुंगा बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा सहभागि सम्पूर्ण स्वदेशी तथा विदेशी विज्ञहरुले सम्मेलन मार्फत् समस्याग्रस्त विश्वका लागि एउटा महत्वपूर्ण साझा सूत्रको पहिचान गर्दै यस क्षेत्रमा देखिएका वा देखिने संभावित विकृति, विसंगति र अस्तव्यस्तताको समाधान हेतु परिवर्तनलाई आत्मसात गर्न सक्ने मार्ग प्रशस्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
बर्खाको बेला बर्सेनि डुबानबाट ठूलो क्षति ब्यहोर्दै आएको जिल्ला बासीको लागी यसपटक पूर्वचेतावनी प्रणाली (साइरन)ले फाइदा हुने देखिएको छ ।
माण्डवी संस्थाको पहलमा इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले लाल बकैया नदीका विभिन्न पुलहरु लगायत जिल्ला प्रशासन कार्यालय गौरको भवनको छतमा बाढी पूर्व सूचना प्रणाली (साइरन) जडान गरिएकोमा सोको दिगोपनाका लागि प्रभावित नगरपालिका, गाउँपालिका तथा सरोकारवाला पक्षहरु बीच सँयुक्त रुपमा अक्षय कोष स्थापनका लागि सम्झौतामा गरेको हो । सम्झौता अनुरुप प्रभावित नगरपालिका तथा गाउँपालिकाहरुले न्युनत रुपमा एक लाख सम्म अक्षय कोषका लागि बजेट विनियोजन गर्नेछ ।
साइरन बजेको एक किलोमिटर सम्म सुन्न सकिन्छ । पानी जोखिम व्यवस्थापन, जलवायु र वातावरणीय जोखिम न्यूनीकरण गर्ने कार्यमा काम गर्दै आएको इसिमोडले बाराको लालबकैया नदीमा बाढी मापनयन्त्र र त्यहीँ रहेको सशस्त्र प्रहरीको क्याम्पमा पूर्व सूचना प्रणाली जडान गरेको माण्डवीकी अध्यक्ष अन्जु झाले बताइन् । अध्यक्ष झाका अनुसार बाराको निजगढ नगरपालीका–३ स्थित धन्सार खोलाका वर्षा मापन गर्न यन्त्र जडान गरेको छ । पूर्व सूचना प्रणाली(साइरन) बजेपछि मानिसहरु सचेत हुन्छन् । यसले मानवीय साथै भौतिक क्षति कम गराउनमा मद्दत पुग्छ ।
’ लालबकैया नदीको बाढीले बारा र रौतहटस्थित नदी किनारमा बसोबास गर्ने समुदायलाई असर गर्दै आएको छ । समुदायमा आधारित बाढी पूर्व चेतावनी प्रणाली (साइरन)ले डुबान क्षेत्रका बासिन्दालाई ठूलो राहत पुग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनु भयो । साइरन बजेपछि स्थानीय सचेत हुने र सरक्षित स्थानमा बस्न सक्ने हुँदा यसको प्रभावकारी धेरै हुने अनुमान गरिएको छ । झाले सदरमुकाम गौरमा कटहरिया, परोहा, गौर, मौलापुर, बौधीमाई, फतुवा विजयपुर लगायत लालबकैया नदीबाट प्रभावित १३ वटा नगरपालिकाका प्रमुखहरु तथा प्रशासकीय अधिकृतहरुलाई बोलाएर समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली (साइरन) को दिगोपनका बारे जानकारी गराएका थिए । २०५० सालदेखि यस जिल्ला डुबानमा पार्दै आएको छ ।
लालबकैया र वाग्मतीमा बर्खाको बेला पानीको सतह बढेर ६.५० पुग्ने गरेको छ । यो भनेको खतराको संकेत हो । तराई, मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । त्यसमा पनि रौतहटमा वाग्मती र लालबकैयामा आउने बाढी बस्ती पसेपछि बर्सेनी डुबान झेल्दै आएको छ ।रौतहट,१५ गते जेठ । रौतहटको कटहरिया नगरपालिकामा आइपीभी खोप कार्यक्रमस दोस्रो चरणमा सञ्चालन हुने भएको छ । ‘आइपीभी खोप कार्यक्रम २०८१’ पूर्ण रूपमा सफल बनाउन अभिमूखिकरण कार्यक्रम गरिएको हो । कटहरिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पोलियो रोग उन्मूलनका लागि पालिका स्तरीय सरोकारबालाहरु सँग सो कार्यक्रम गरिएको हो ।
दोस्रो चरणमा कटहरिया सँगै बौधीमाइ ,राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म सञ्चालन हुने भएको छ । २०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तभित्र जन्मिएका बालबालिकाहरूलाई आइपिभी खोप लगाउने योजना रहेको कार्यक्रममा जानकारी गराइएको हो ।
कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जयसवाल लगायत सहभागीहरुले यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्दो योगदान दिन आग्रह गरेका थिए ।
रौतहट,१७ गते जेठ । वातावरणमा नकारात्मक प्रभाव परिरहेको र हरियालीको अभाव हुँदै गएको वर्तमान परिवेशमा रौतहटको एक पालिकालाई हरित पालिका बनाउने अभियान संचालन गरिएको छ । रौतहटको परोहा नगरपालिकालाई हरित पालिका बनाउने अभियान संचालन भएको हो । अन्य पालिकाले विश्व वातावरण दिवसको दिन गमलामा पानी हालेर सामाजिक संजालमा फोटो हाल्दै हरियाली बचाउने घोषणा गरिरहेका बेला परोहा नगरपालिकाले व्यवहारमा नै हरियालीको प्रबर्धन, संरक्षण तथा विस्तार गरिरहेको छ । निर्वाचनको समयमा गरिएको घोषणालाई व्यवहारमा उतार्दै परोहाले हरियाली प्रबर्धन अभियान नै थालेको हो । नगर प्रमुख शेख वकिलले पन्ध्र किलोमिटर पक्की सडक निर्माण गरेर दुवैतर्फ वृक्षरोपण गरिएको बताउँछन् । सुकदेव चौकदेखि भारतको सिमानासम्म करिब १३ किलोमिटर ट्रयाक खोलेर सडक विभागबाट पिच बनाएर सडकको दुवैतिर वृक्षरोपण गरिएको, यसै गरी हुलाकी सडकको दुवैतिर वृक्षरोपण गरी हुर्काइसकिएको र अन्य सडकहरुमा पनि वृक्षरोपण गरिएको बताउँदै नगर प्रमुख वकिलले अब एक घर दुई बिरुवा अभियान संचालन गर्न थालेको बताएका छन् । हरेक परिवारलाई दुई थान बिरुवा उपलब्ध गराउने तथा हरेकलाई हुर्काउने जिम्मेवारी पनि दिइने नगर प्रमुखको भनाइ छ । हरेक वर्ष पाँचदेखि दश लाख रुपैयासम्म बोटबिरुवालाई सुरक्षाको लागि मात्र खर्च गर्ने गरेको वकिलको भनाइ छ । वातावरणमा सकारात्मक प्रभाव पार्ने, नगरको सौन्दर्यमा वृद्धि हुने तथा सबैको लागि फलदायी हुने भएकोले हरित पालिका अभियान फलदायी बनिरहेको नगर प्रमुख वकिलको भनाइ छ । नगरपालिकाले रोप्नको लागि आवश्यक पर्ने बिरुवा बन कार्यालयबाट ल्याउने गरेको छ । बिरुवालाई घेराबेरा गर्ने, बिरुवा हेर्ने हेरालु, निरन्तर पानी हाल्ने र सिंचाइ गर्ने, गोडमेल गर्ने, सरसफाइ गर्ने काम नगरपालिकाको तर्फबाट हुँदै आएको छ । परोहका प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुजले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यस अभियानमा लगाउने योजना बनाएको बताएका छन् । परोहा नगरपालिकाको हरित नगर अभियानको प्रभावकारिता निकै राम्रो रहेको भन्दै स्थानीयवासीले प्रशंसा गर्ने गरेका छन् ।
रौतहट,१७ गते जेठ । रौतहटको गुजरा नगरपालिकामा एउटा सामुदायिक सिकाइ केन्द्र (सासिके) झोलामै सीमित रहेको पाइएको छ । दुई सासिके रहेको गुजरामा अर्को सासिकेका सहजकर्ता नियम विपरीत विद्यालयमा पढाउने गरेका छन् । हरेक वर्ष लाखौँ निकासा हुने गरेको सासिकेको रकममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सासिके अध्यक्षको मिलोमतोमा अनियमितता हुने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सासिकेको लागि प्रत्येक वर्ष २ लाख ५० हजार रकम निकासा हुँदै आएको छ । गुजरामा एउटा झोलामै सीमित रहेको र अर्को सासिकेको नियम विपरीत अनियमितता गरिरहेको पाइएको छ । गुजरा नपाको सिमरा सामुदायिक सिकाइ केन्द्र झोलामै रहेको छ । झोलामै रहेर कागजपत्र मिलाएर हरेक वर्ष रकम निकासा गराई नपाका कार्यालय प्रमुख र सासिके अध्यक्ष मिलेर अनियमितता गर्दै आएका छन् । गत सात वर्षदेखि सिमरा सासिकेले नपाका शिक्षा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितता गर्दै आएको देखिएको छ । स्किल सामुदायिक सिकाइ केन्द्रको बोर्ड त झुन्डिएको छ तर पूर्णतया अनियमित तरिकाले हरेक वर्ष रकम हिनामिना हुँदै आएको छ । चालू आर्थिक वर्षमा स्किल सासिकेको नाममा एक लाख २० हजार रकम निकासा भइसकेको विश्वस्त स्रोतको भनाइ छ । स्किल सासिके नियमानुसार संचालन रहेको छैन । स्किल सासिकेका सहजकर्ता स्थानीय विद्यालयमा गएर पढाउने गरेका छन् । अक्षर नचिनेकालाई भेला पारी साक्षर बनाउनुपर्ने लगायत १५ ओटा जिम्मेवारी रहेको भए पनि गुजरा नपाभित्रका दुइटै सासिकेले कुनै पनि जिम्मेवारी पूरा गर्ने गरेका छैनन् । प्रगति शून्य रहे पनि नपाको शिक्षा शाखा प्रमुख र हाकिम मिलेर दुवै सासिकेलाई रकम निकासा गरी मिलोमतोमा बाँडफाँड गर्ने गरेको गुनासो स्थानीयको रहेको छ । स्थानीय संगीता देवी साह भन्छिन् –‘आकाशसे गिरल बतासा, निचे आएल त होगेल बेपत्ता’ भने झैँ माथिबाट आएको रकम बेपत्ता हुने गरेको छ । स्थानीय सरकारले सासिकेलाई प्रभावकारी रुपमा चलाउन नसकेको र ध्यान नदिएको गुनासो रहेको छ । गुजरा नपाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारीले स्किल सासिकेलाई २ लाख रुपैया निकास दिएको बताएका छन् । तर रकम पूर्णतया यकिन नभएको बताउँदै अधिकारीले अर्को सासिके संचालन नरहेको स्वीकार गरेका छन् । संचालनमा नरहेको सासिकेलाई रकम निकासा हुने गरेको बारे सोध्दा अधिकारीले कुनै जबाफ दिन मानेनन् । दुवै सासिकेमा विगत वर्षहरुमा भएको रकम निकासाको बारेमा अनुसन्धान हुनुपर्ने स्थानीयको माग रहेको छ ।
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना