रौतहट ।
रौतहट जिल्लाको उतरिभेग बालचनपुर जंगलसहिया सडकखण्ड अवरुद्ध भएको छ भने जिल्लाको अन्य नदी खोलामा पानीको बहाव घट्दै गएको छ ।
गुजरा नगरपालिका १ स्थित लमहा खोलामा अबिरल बर्षाको कारण पानिको सतह बढेपछि आज बिहान देखी बालचनपुर जंगलसहिया सडकखण्ड अवरूद्ध भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएस्पी गेहेन्द्र भण्डारीले बताएका छन ।
गुजाराको मेयर सन्तलाल चौधरीको सक्रियतामा लमहा खोलामा ठूलो ह्युमपाईप र ग्रेभल राखेर दिउँसो १ बजेदेखि सानो गाडीहरु सुचारु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
तर ठूला सवारीसाधन भने चलेको छैन । पहाडतर्फ लगातारको बर्षाले रौतहट स्थित बागमती नदी, लालबकैया नदी, चाँदी नदी लगायत ससाना खोलाहरूमा हिजो देखि बढेको पानीको सतह आज क्रमसः घट्दै गएको प्रहरी प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।न्युज कारखाना
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ४८ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ५४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय २१ घर डुबानमा परेका छन् । ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जनाएको छ । न्युज कारखाना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा क्रमिकरुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने बताएको छ ।
सोमबारदेखि महाशाखाले केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
त्यस्तै मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
तसर्थ वर्षाको कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ ।
हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना
आजमिति २०८१ साल असार २४ गते सोमवार तदअनुसार जुलाई ८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल तृतीया तिथी, अश्लेषा नक्षत्र, । बज्र योग । चन्द्र राशि कर्कट । यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४२ देखि १२:३७ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१५
• सुर्यास्त: बेलुका ०७: ०३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज समय राम्रो छ । आम्दानी बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ५
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । अनावश्यक विवादबाट बच्नुहोला ।
शुभ रगं ः वैजनी
शुभ अंक ः १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
• शुभ रंग: रातो
• शुभ अंक – ३
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
शुभ रंग: हरियो
• शुभ अंक – २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ५
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः २
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ३
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
चितवन । असार २२ गते साँझ पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करीव ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ ।
माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले शनिबार राती सवा १० बजे सकुशल उद्वार गरेको हो ।
घटना बारे जानकारी पाए पश्चात् कुरिनटारबाट गोताखोर पठाइएको थियो । उद्वार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० बर्षका ओम बहादुर गुरुङ्ग र ४२ बर्षका खुम बहादुर गुरुङ्ग रहेका छन् । बाढिमा फसेका बर्ष ३५ का रमेश बोट भने आफै पौडिएर निस्किएका थिए ।न्युज कारखाना
चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदिमा फसेका ५८ जनाको असार २२ गते राती पौने ११ बजे सकुशल उद्वार गरिएको छ ।
बर्षाको कारण नारायणी नदिमा आएको बाढिमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्वार गरी सुरक्षित स्थानमा सारेको हो । न्युज कारखाना
दाङ । अविरल वर्षाको कारण राप्ती नदिमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षिय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो । उनी दुध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करीव ९: ३० बजे सो नदिले बगाएको बताईएको छ ।
त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षिय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते सो नदिले बगाई बेपत्ता भएका थिए ।न्युज कारखाना
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउमा आउने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउमा आएको बताएका हुन् ।
देश आर्थिक रुपमा संकटमा रहेको, संबिधानका केहि विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।
उनले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफुहरु सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल शुरु गरेको आरोप लगाए ।
उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउदै संबैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै संसदबाट राजीनामा गर्नुनै सहि निर्णय हुने बताउदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गरेका थिए ।
सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको ढुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गरे ।न्युज कारखाना
काठमाडौँ । कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।
कोपा अमेरिकामा अर्जेन्टिना, क्यानडा, उरुग्वे र कोलम्बिया सेमिफाइनलमा पुगेका छन् ।
अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने क्यानडाले भेनेजुएलालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै कोलोम्बियाले पानामालाई क्वाटरफाइनलमा ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
अब सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा तथा उरुग्वे र कोलोम्बिया खेल्दै छन् ।
पहिलो सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच बुधबार बिहान हुदै छ भने दोस्रो सेमिफाइनल खेल विहिबार बिहान उरुग्वे र कोलोम्बियाबीच हुदै छ ।न्युज कारखाना