२०८३ बैशाख २५
२०८३ बैशाख २५

काठमाडौँ ।

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो ।

गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए।

फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शककालागि ‘पूर्ण बहादुरको सारङ्गी’ विशेष हुने बताए ।

उनले भने, ‘ वर्षातको समयमा घाम पानी नभनी धेरै दुख गरेर पहिलो चरणको सेड्युल पुरा गरियो, यो फिल्मका लागि स्कृप्टको चरण देखिनै मेहनत गरेर आफैँ सेटमा ३६ दिनसम्म खटिएर काम गरियो, फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतमा कुनै कुराको कमी नगरी भनेकै समयमा छायांकन गर्न पाइयो, फिल्म मेकिङ बारे नयाँ अनुभव भयो त्यसकारण पनि फिल्मले हामी सबैलाई नयाँ उचाइ दिनेमा विश्वस्त छु ।’

कलाकारहरूको बलियो लाइनअप रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।

यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकालकारमा  जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।

यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

सोसल–ड्रामा जनरा रहेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको लेखन रहेको छ । यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ ।

निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।न्युज कारखाना

हेटौंडा |

गत राति मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाँडा स्थित कान्तिलोकपथमा चार वटा ट्रकहरूमा अवैध रूपमा ढुवानी गरिएका ९७ वटा भैंसी तथा राँगाहरू नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय हेटौंडाबाट खटिएको चेकिङ टोलीले राति करिब १०:१५ बजे यी ट्रकहरूलाई रोकेर जाँच गरेको थियो।

प्रहरीका अनुसार, जनकपुरको सपहीबाट र गौरबाट काठमाडौंतर्फ जाँदै गरेका ना ५ ख ६२२१, ना ६ ख ४४४४, ना ७ ख ६२४४ र बा प्र ००१-०१ ख २२३६ नम्बरका ट्रकहरूमा निर्धारित मापदण्डभन्दा बढी संख्यामा पशुहरू लोड गरिएको पाइएको छ।

जाँचपछि, मापदण्ड अनुसारका ७६ वटा भैंसी र राँगाहरूलाई  भने गन्तव्यतर्फ पठाइएको छ। बाँकी २१ वटा पशुहरूलाई भने सम्बन्धित पक्षले व्यवस्था गरेको प्रदेश २-०३-००१ ख ६३४१ नम्बरको ट्रकमार्फत बिहान ६:४५ बजे पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, ना ५ ख ६२२१ ट्रकमा २५ मध्ये २०, ना ६ ख ४४४४ मा २७ मध्ये २०, ना ७ ख ६२४४ मा २६ मध्ये २०, र बा प्र ००१-०१ ख २२३६ मा १९ मध्ये १६ वटा पशु मात्र नियमानुसार पठाइएको छ।

मकवानपुर प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। अवैध पशु ढुवानी नियन्त्रणका लागि प्रहरीले कडा निगरानी जारी राखेको बताइएको छ।न्युज कारखाना

काठमाडौँ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले विश्व तरंगित भएको छ ।

चुनावी र्यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो । मञ्चमा बोल्दै गर्दा गोली चलेको आवाज सुनियो । ट्रम्पले दाहिने कानमा हात राखेर निहुरे । अमेरिकी सेक्रेट सेवाका एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे ।

एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो । यस क्रममा ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाए । यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट लगेर कारमा राखेर त्यहाँबाट अस्पताल लगेक थिए ।

सेक्रेट सेवाले आक्रमणकारी मारिएको जनाएको छ । यस हमलामा एक ट्रम्प समर्थकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो चुनावी यात्रा बिचमा छाडेर आज वासिङ्टन डिसी फर्कदैछन् । उनले ह्वाइट हाउसमा होमल्याण्ड सेक्युरिटी र कानून प्रवर्तन एजेन्सीको आपतकालीन बैठक बोलाएका छन् ।

त्यस्तै बाइडेनले ट्रम्पसँग कुरा गरेको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले आफ्नो कानको उपल्लो भागमा लागेको बताएका छन् । उनी अहिले सुरक्षित रहेका छन् र उनले आफ्नो सुरक्षा गरिरहेका अमेरिकी गुप्तचर बिभागका कर्मचारीलाई धन्यवाद दिएका छन् ।न्युज कारखाना

मानव अधिकार एलाईन्स बाराले बारामा मानव अधिकारको अवस्था विषयमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्नो २५औँ स्थापना दिवसको अवसर पारेर बाराको निजगढमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

निजगढस्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमका सहभागीहरुहले बारा जिल्लामा मानव अधिकार हननका घटना व्यापक रुपमा बढेको बताएका थिए ।

पछिलो समय जिल्ला सदरमुकामनजिकै भएको हत्याको घटना र अन्य हिंसाका घटना भएको आधारमा सहभागीहरुले जिल्लामा मानव अधिकार हननका घटना बढेको बताएका हुन ।

संविधान सभाका सदस्य एवंम नेकपा एमालेका केन्द्रीय सदस्य बलवीर चौधरीको विशेष उपस्थितिमा भएको सो कार्यक्रम नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रीय सदस्य कृष्ण लामा, एमालेकी नेता टिना सुवेदीलगायतको उपस्थिति रहेको थियो । मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सहजीकरण श्रीराम साहले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष तिर्थराज गौतमले गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले डोनाल्ड ट्रम्पसँग सम्बन्धित राजनीतिक समूह ‘अमेरिकन पीएसी’ लाई चन्दा दिएका छन् । यो समूह अमेरिकी राष्ट्रपतिको चुनावी अभियानसँग सम्बन्धित काम गर्दछ ।

ब्लुमबर्गको रिपोर्टका अनुसार अमेरिकी पीएसीले प्राप्त गरेको चन्दाको रकम अझै खुलाइएको छैन, यद्यपि यो ठूलो रकम हुन सक्ने अनुमान गरिएको छ । रिपोर्टका अनुसार अमेरिकी पीएसीले जुलाई १५ मा दाताहरुको नाम सार्वजनिक गर्नेछ ।

केहि महिना अघि, एलन मस्कले ट्रम्प वा बाइडेनलाई चन्दा नदिने बताएका थिए । मार्च २ मा, ट्रम्पले मस्क र रिपब्लिकन पार्टीसँग सम्बन्धित अन्य धेरै धनी दाताहरूसँग भेट गरेका थिए, जसका तस्बिरहरू मिडियामा लीक भएका थिए ।

यो भेटपछि ट्रम्पले राष्ट्रपतिको चुनावी अभियानका लागि मस्कसँग आर्थिक सहयोग मागेको दाबी गरिएको थियो ।

मस्कलाई उनका केही बयानका कारण बाइडेनको प्रतिद्वन्द्वी मानिएको छ । उनले पछिल्लो चुनावमा बाइडेनलाई समर्थन गरेका थिए । यसअघि ट्रम्प र मस्कबीचको सम्बन्ध राम्रो थिएन तर पछिल्ला वर्षमा उनीहरुको सम्बन्धमा सुधार आएको छ ।

मस्कले बाइडेन सरकारको अध्यागमन नीतिमा धेरै पटक कडा टिप्पणी गरेका छन् । उनीहरूले खुलेआम बाइडेन सरकारले जानाजानी मेक्सिको सीमाबाट घुसपैठ गर्न अनुमति दिइरहेको आरोप लागाउदै आएका छन् ।

अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । डेमोक्रेटिक पार्टीका जो बाइडेन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच सबैभन्दा बढी प्रतिस्पर्धा हुने सम्भावना छ । दुवै नेता दोस्रो पटक राष्ट्रपतिमा उम्मेदवार हुनेछन् । यद्यपि राष्ट्रपति बाइडेनको दाबीलाई लिएर डेमोक्र्याटिक पार्टीमा राजनीति तीव्र भएको छ ।

जुन २७ मा भएको पहिलो बहसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको खराब प्रदर्शनका कारण राष्ट्रपति जो बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । अमेरिकी टेलिभिजन कार्यक्रम ‘मोर्निङ जो’का होस्ट स्कारबोरोले पूर्व राष्ट्रपति बाराक ओबामाले बाइडेन ह्वाइट हाउसको दौडबाट बाहिर होस् भनेर गोप्य रूपमा काम गरिरहेको दाबी गरेका छन्।

स्कारबोरोले ओबामाका प्रमुख सहयोगीहरूले बहसदेखि नै बाइडेनको निरन्तर आलोचना गर्दै आएका छन् । ओबामाका पूर्व सहयोगी जोन फभरेउ र अभिनेता जर्ज क्लुनीले बाइडेनको प्रदर्शन निरन्तर घट्दै गएको आरोप लगाएका छन् । अब बाइडेनको टोली र केही डेमोक्र्याटहरूले यो सबै पछाडि ओबामाको हात रहेको महसुस गर्छन् ।

यसैबीच, ८१ वर्षीय बाइडेन राष्ट्रपतिको दौडमा रहन अडिग छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिले आफू शासन गर्न सबैभन्दा योग्य भएको दाबी गरे । यसअघि बाइडेनले भगवानले मात्र उनलाई राष्ट्रपतिको दौडबाट बाहिर निकाल्न सक्नुहुन्छ भनेका थिए ।

डेमोक्र्याटिक पार्टीका केही ठूला दाताहरूले बाइडेनले राष्ट्रपतिको चुनावको दौडबाट पछि नहटेको कारण ७५० करोडको चन्दा फ्रिज गरेका छन् । डोनर फ्युचर फरवार्डले बाइडेनको जितको सम्भावना लगातार घट्दै गएको बताउँछन् । यस्तो अवस्थामा उनले यसअघि दिएको ७५० करोड रुपैयाँको चन्दा तत्कालका लागि रोकिएको छ ।न्युज कारखाना

काठमाडौँ । उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ । आइतबार बिहान सम्पन्न तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पेनाल्टी सुट आउटमा उरुग्वेले क्यानडालाई ४-३ ले पराजित गरेको थियो ।

त्यसअघि  निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो । उरुग्वेलाई खेलको ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै लुइस स्वरेजले हारबाट बचाएका थिए ।

त्यसअघि कहल्को आठौ मिनेटमा रोड्रीगो बेन्टानचरले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै क्यानडाले १-० गोलले पछि परेपछि खेलको २२औं मिनेटमा इस्माएल कोने र खेलको ८०औं ब्मिनेटमा जोनाथन डेभिडको गोलमा २-१ को अग्रता लिएको थियो । यो हारसंगै क्यानडा भने चौथो भएको छ ।

अब कोपा अमेरिकाको फाइनल खेलमा भोली बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि अर्जेन्टिना र कोलम्बिया खेल्दै छन् ।
न्युज कारखाना

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ ।

पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।

ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट रगत आएको देखिएको थियो । सुरक्षा निकायले जारी गरेको विज्ञप्ति अनुसार ट्रम्प सुरक्षित रहेको बताएका छन् । यस घटनाको चौतर्फी निन्दा भइरहेको छ । राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गरेका छन् ।

गोली प्रहार गर्ने व्यक्तिलाई घंतास्थलमै सुरक्षाकर्मीले गोली हानेका थिए । र उनको मृत्यु भएको बताइएको छ ।

ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानको उपल्लो भागमा गोली लागेको र आफु सुरक्षित रहेको बताउदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । न्युज कारखाना

काठमाडौँ । शुक्रबार अभिनेता खगेन्द्र लामिछानेको जन्मदिन पारेर उनलाई नयाँ फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अनुबन्ध गरिएको छ ।

जन्मदिनको अवसरमा उनलाई निर्माण टिमले फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको हो । दीपेन्द्र के. खनालले फिल्मलाई निर्देशन गर्नेछन् । खगेन्द्र र दीपेन्द्रबीच यसअघि ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘मेयर’मा सहकार्य भैसकेको छ ।

‘कर्नाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता पुस्तकका लेखक बुद्धिसागरले यो फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । आगामी साउन २५ गतेबाट छायांकन सुरु हुने फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्मातामा छन् । कार्यकारी निर्माता भने युवराज कार्की हुन् । फिल्मका लागि खगेन्द्रबाहेक अरु कलाकार फाइनल भएका छैनन् ।

ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने निश्चित भएको छ । सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने तयारी गरिएको निर्देशक खनालले बताए । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो । न्युज कारखाना

रौतहट, २९ असार । दहेज मुक्त अभियानमा वडाध्यक्षले छोराको विहे गर्दा दहेज नलिने घोषणा गर्दै यस्ता अभियानलाई पूर्ण रुपमा पलना गराउने प्रतिबद्धता जनाएका छन् ।

अल नेपाल मुस्लिम सोसाइटी र दहजे मुक्त अभियान रौतहटद्धारा संयुक्त रुपमा शनिवार पुरेनवामा आयोजित सम्मान कार्यक्रममा गौर नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष जनार्दन साहले छोराको विहेवारी गर्दा दहेज नलिने घोषणा गर्नुका साथै आफूलाई अरु व्यक्तिलाई दहेज मुक्त विवाह गर्ने अभियानलाई सक्रियताका साथ पलना गराउने प्रतिबद्धता जनाएका हुन् ।

उक्त कार्यक्रममा वडाध्यक्ष साह सहित, नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालका वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपाने, लायन सत्येन्द्र पाण्डे, कर्मचारी धनन्जयकुमार सिंह, पर्मात्मा नेपाल, ओमप्रकाश साह, रोज महम्मद, एैनुल मियाँ, श्रीकान्त यादव सहित ११ जनालाई सम्मानित गरियो ।

अल नेपाल मुस्लिम सोसाइटी दुबइ ९गल्फ० का अध्यक्ष फिरोज आलम, दहेज मुक्त अभियान रौतहटका उपाध्यक्ष ग्यासुद्दिन आलम र दहेज मुक्त अभियानका अध्यक्ष मुन्ना अलीले संयुक्त रुपमा उनीहरुलाई गम्छा, माला, खादा, स्माट वाचले सम्मानित गरेको बताइएको छ ।

अल नेपाल मुस्लिम सोसाइटी दुवईका अध्यक्ष फिरोज आलमले समाजमा दाइजोको कारण बढ्दै गएको महिला हिंसालाई निरुत्साहित गर्न र सभ्य समाजको निर्माण गर्ने पुनित अभियानलाई अघि बढाएको चर्चा गर्दै सोही क्रममा समाजका अगुवा भद्रभलादमीहरुलाई दहेज मुक्त समाजको निर्माणमा सहभागी हुन समस्त रौतहटवासी संग आग्रह गरे । विगत लामो समय देखि यस सोसाइटीले आगलागि पिडित, बाढीपडित, दिनदुखी, विहेवारी लगायतका कार्यहरुमा अनुकरणीय कार्यमा निरन्तर रुपमा सोसाइटी लागि परेको आलमले प्रष्ट पारे ।

रौतहट २९ असार । रौतहटको चन्द्रनिगाहपुरमा पिडितको न्यायमा सहज पहुँच सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । शनिवार मानव अधिकार एलायन्सको स्थापना दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा एलायन्सका केन्द्रिय सदस्य दिलिप कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो । चन्द्रपुर नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका प्रमुख अतिथी कोईरालाले न्यायको पहुँचमा रहेका अवरोधक तत्वहरू पहिचान गरी सोको न्यूनीकरणका लागि आवश्यक उपायहरू अवलम्बन गर्नुपर्ने बताए । उनले मानवको गाँस, बास र कपासको अधिकार सँगसँगै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यमा सञ्चारकर्मीे तथा मानव अधिकारकर्मीले काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा छोरी संस्थाका संयोजक कोपिला तिमल्सिनाले न्याय पहुँचको लागी सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरी न्यायमा पहुँच अभिवृद्धिका लागि विपन्न, असहाय र असक्षम वर्गका व्यक्तिको पहिचान गर्न जरुरी रहेको बताए । नागरिकको न्यायमा पहुँच अभिवृद्धिको लागि चेतनाको अभिवृद्धि हुन आवश्यक रहेको उनले जनाए । यस्तै कार्यक्रममा न्यायिक समितीका सदस्य सचिब तथा चन्द्रपुर नगरपालिकाकी महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले बाह्य हस्तक्षेप, दबाब र प्रभावलाई निरुत्साहित गर्न सके न्यायको पहुँचमा सहज हुने जनाए । पीडितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्दा आफैँ असुरक्षित हुने लगायतको चुनौती रहेको बताउँदै मानव अधिकार रक्षकहरुको संरक्षणको लागि नीति तथा कार्यक्रम ल्याउन पहल गर्नुपर्ने उनको तर्क थियो ।कार्यक्रममा संचारकर्मी बाल बिक्रम कार्की(अनमोल)ले पत्रकारबाट बाहिर ल्याइएका घटनाहरुको मानव अधिकारकर्मीले सुक्ष्म तरिकाले विश्लेषण गरी पीडितलाई न्याय दिनुपर्ने कार्यमा विशेष भुमिका हुनुपर्नेमा जोड दिए । पिडितलाई न्याय दिलाउन पत्रकारले कलम चलाएपनी कतिपय पिडितहरु नै प्रलोभनमा परेर पिडक संग सहमती गर्दा पत्रकार असुरक्षित हुने गरेको उनले सुनाए । मानव अधिकार एलायन्सकी कोषाध्यक्ष गौरी न्यौपानेले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन एलायन्सका सचिव नविन राज बरालले गरेका थिए । एलायन्सका जिल्ला अध्यक्ष जितेन्द्र रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवअधिकारकर्मी,संचारकर्मी,सहकारीकर्मी,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।