२०८३ बैशाख २५
२०८३ बैशाख २५

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ४ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा ती व्यवसायी तथा आपूर्तिकर्ताले भाग लिन नपाउने गरी कालोसूचीमा राखेको जानकारी दिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजको मितिबाट लागू हुनेगरी ती व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।न्युज कारखाना

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ ।

चितवन प्रहरीका अनुसार अहिले नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको छ । अहिलेसम्म शवहरु घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेजसम्म पुगेको पाइएको छ ।

अहिलेसम्म १८ जनाको शव फेला परेकोमा ९ जनाको मात्र सनाखत भएको छ । सनाखत भएका तीन यात्रू भारतीय रहेको र ६ जना नेपाली नागरिक रहेको खुलेको छ ।

जसमा त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन् ।

त्रिशुली नदीमा बससँगै बेपत्ता रहेका अझै ४४ यात्रुको अवस्था अज्ञात रहेको छ भने दुवै बस अहिलेसम्म भेटिएका छैन । नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोलीले त्रिशुली नदीमा बस खोज्ने क्रम जारी राखेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेकोमा तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ ।

यसमध्ये ५८ वटा योजना वडाहरुबाट माग भएर आएका हुन् । सम्पदा तथा पर्यटन विभागका २८ वटा, हरियाली आयोजनाका १३ वटा, आयोगका ( वटा, सार्वजनिक निर्माण विभागका ६ वटा, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३/३ वटा छन् । यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका १/१ वटा आयोजना छन् ।

‘माग भएका योजनाको डीपीआर नहुँदा विगतमा पुँजीगत खर्च बढ्न सकेको थिएन । अव महानगरपालिकाको पूँजीगत खर्च बढ्नेछ । त्यो समस्या अब सकियो ।’ सम्पन्न डीपीआरका विषयमा प्रतिक्रिया दिँदै आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी भन्छन्, ‘गएको आर्थिक वर्षमा माग भएका सबै योजनाको डीपीआर सकिएको छ । यसपछि माग भएर आउने योजनाको डीपीआरमा तत्काल काम गर्न सकिन्छ ।’

‘सम्पन्न डीपीआरको कार्यान्वयनबाट मात्र नतिजा मापन गर्न सकिने भएकोले हामी ट्र्याकिङ् प्रणाली बनाउँदैछौँ ।’ उपाध्यक्ष भन्छन्, ‘यो प्रणालीले नतिजा कति प्राप्त भयो, तत्काल हेर्न र भन्न सकिने हुन्छ । योजना कार्यान्वयनमा कुनै समस्या आयो भने तत्काल सम्बोधन गर्न सकिन्छ ।’

‘आएका योजनालाई डीपीआर बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया भएको छ । संरचनालाई मौलिक शैली झल्किने बनाउन भौगोलिक अवस्थासँगै सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था पनि विश्लेषण गरिएको छ ।’ आयोगका सदस्य आर्किटेक्ट बाबुराम भट्टराई भन्छन्, ‘यसो हुनु भनेको योजना कार्यान्वयन सुनिश्चित हुनु हो । योजना कार्यान्वयन सहज हुनु हो । निर्धारण गरिएको अवधिको सम्पन्न हुने सुनिश्चित हुनु हो । यसले तर्जुमा गरिएका योजना निर्वाध कार्यान्वयनमा आउने वातावरण बन्छ ।’

‘आयोगले तयार पारेका प्रतिवेदनहरु सम्बन्धित वडा र विभागमा पठाइएका छन् । यसलाई सम्बन्धित विभाग र वडाले कार्यान्वयनमा ल्याउनेछन् ।’ आयोगको आगामी तयारीका विषयमा उपाध्यक्ष डा. राजभण्डारी भन्छन्, ‘आर्थिक बर्ष २०८१/८२ को बजेटमा समाबेश गरिएका कार्यक्रमलाई भाद्र महिना भित्र डीपीआर सम्पन्न गर्ने तयारी गरेका छौँ ।’न्युज कारखाना

काठमाडौँ । अस्ट्रेलियामा जीववैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ । ५२ वर्षीय एडम गोही विशेषज्ञ हुन् । गत वर्ष, उनले पशु क्रूरतासँग सम्बन्धित 60 आरोप स्वीकार गरेका थिए ।

अष्ट्रेलियाली मिडिया एबीसीको रिपोर्ट अनुसार एडम बेलायती नागरिक हुन् । उनी अस्ट्रेलियाको डार्विनमा रहेको आफ्नो घरमा कुकुरलाई यातना दिने र बलात्कारपछि हत्या गर्थे । यसबाहेक, उनी यी सबै रेकर्ड पनि गर्थे । उनले कुकुरलाई बलात्कार गर्नका लागि ‘टर्चर कोठा’ पनि बनाएका थिए ।

एडमले गुम्ट्री अस्ट्रेलिया नामक वेबसाइटमार्फत ४२ वटा कुकुर किनेका थिए । उनले यी कुकुरहरुलाई नयाँ घर दिने बताएका थिए । त्यसपछि उनले यी कुकुरहरूलाई ढुवानी कन्टेनरमा राखे । रिपोर्टका अनुसार सन् २०२० देखि २०२२ सम्म एडमले ३९ कुकुरलाई बलात्कार गरेका थिए । कुकुर शोषणको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिएको छ ।

उनले आफूले बनाएको बलात्कारको भिडियो पनि सामाजिक सञ्जालमा शेयर गरेका थिए । यस अवधिमा उनले ‘दानव’ नामको प्रोफाइल प्रयोग गर्थे, ताकि कसैले नचिनोस् । बेलायती मिडिया मिररका अनुसार २०२२ मा एक व्यक्तिले एडमविरुद्ध उजुरी गरेपछि यो विषय बाहिर आएको थियो ।

यसपछि प्रहरीले डार्विनस्थित उनको घरमा छापा मारेको थियो, जहाँ पशु शोषणसँग सम्बन्धित धेरै प्रमाण भेटिएको थियो । प्रहरीले सन् २०२२ को अप्रिलमा आदमलाई पक्राउ गरेको थियो । गत जुलाई ११ मा अदालतमा सुनुवाइका क्रममा एडमका वकिलले उनको मानसिक अवस्था उल्लेख गर्दै कम सजायको माग गरेका थिए ।

मेडिकल रिपोर्टमा एडमलाई प्याराफिलिया नामक रोग लागेको बताइएको छ । यसमा पीडितले बिना अनुमति कसैसँग शारीरिक सम्बन्ध राख्न खोज्ने हुन्छ । पीडितहरू प्रायः बालबालिकालाई लक्षित गर्छन् ।

रिपोर्टका अनुसार पक्राउ परेपछि एडमलाई ३० घण्टा मनोवैज्ञानिक उपचार पनि दिइएको थियो । यसपछि उनी आफ्नो अपराधको लागि पछुताउन थालेका थिए । प्राणीविज्ञानी एडम विवाहित छन् र उनकी पत्नी एरिनलाई उनको अपराधको कुनै ज्ञान थिएन ।

बेलायतको वेस्ट योर्कशायरमा जन्मेका एडम ब्रिटनले गोही विशेषज्ञका रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएका छन् । उनले बीबीसी र नेशनल जियोग्राफिकसँगको सहकार्यमा धेरै परियोजनामा काम गरेका छन् । एडमलाई डिस्कभरी च्यानल र एनिमल प्लानेटको कार्यक्रम ‘एनिमल फेस-अफ’मा पनि देखाइएको थियो ।

एडमले बेलायतको क्वीन एलिजाबेथ ग्रामर स्कूलबाट प्राणीशास्त्रमा डिग्री लिए । यसपछि उनले युनिभर्सिटी अफ लीड्सबाट थप अध्ययन गरे । सन् १९९६ मा एडमले प्राणीशास्त्रमा पीएचडी पनि गरे । यो वर्ष उनी अष्ट्रेलिया गएका थिए ।

एडमले वन्यजन्तु रेन्जर र जीववैज्ञानिक एरिनसँग विवाह गरे । दुवैले मिलेर जंगली गोहीसँग सम्बन्धित कन्सल्टेन्सी कम्पनी पनि खोलेका छन् ।न्युज कारखाना

काठमाडौँ । अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ ले दर्शक र समीक्षकबाट धेरै माया पाएको थियो । यी दुई भागको सफलतापछि निर्माण पक्षले फिल्मको तेस्रो भागको छायांकन सकिएको छ ।

अक्षय कुमार र अरशद वारसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो किस्ताको फिल्मको छायांकन सकिएको छ । सुभाष कपूर निर्देशित यस फिल्मको छायांकन सकिएपछि फिल्मका कलाकर र क्रु मेम्बर्सले खुशियाली मनाएको भिडियो सार्बजनिक गरिएको छ ।

अब छिट्टै फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । जोली एलएलबी फ्रेन्चाइज व्यावसायिक रूपमा सफल छ । पहिलो दुई चलचित्रहरूले तिनीहरूको तीव्र सामाजिक टिप्पणी र आकर्षक कोर्टरूम नाटकको लागि व्यापक प्रशंसा पाएका थिए ।

यसअघिका फिल्महरूमा जोलीको भूमिका निर्वाह गरेका अक्षय कुमार र अर्शद वारसीबीचको भिडन्त हुने भएकाले तेस्रो किस्ताको व्यग्र प्रतिक्षा भइरहेको छ । दुवैको पुनर्मिलनलाई विशेष रुपमा हेरिएको छ । दुवैले फिल्ममा जगदीश नामको भूमिका निर्वाह गर्नेछन् । अर्शद वारसी ‘जगदीश त्यागी’ र अक्षय कुमार ‘जगदीश्वर मिश्रा’ को भूमिकामा देखिनेछन्।

‘जोली एलएलबी ३’ अजमेर र राजस्थानमा छायांकन गरिएको थियो, जसको अधिकांश शुटिङ ४० दिनभन्दा बढी समय अजमेरको वास्तविक अदालतमा भएको थियो ।
यो फिल्मलाई २०२५ को अगस्त २१ मा रिलिज गरिने बताइएको छ ।

फिल्ममा अक्षय र अर्शद बाहेक सौरभ शुक्ला र हुमा कुरेसीको अभिनय रहेको छ ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई डिजिटल माध्यमबाट बधाई तथा शुभ्कमना दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिनेको भिड बढेपछि उनले सामाजिक सञ्जालमाफर्त डिजिटल माध्यमबाट शुभकामना दिन आग्रह गरेका हुन् । उनले सकेसम्म म्यासेन्जरबाट शुभकामना सन्देश पठाउन र भेटमा खादा मालाको प्रयोग नगर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्-

विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु ।न्युज कारखाना

काठमाडौं । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फेरी फुटेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीएकीकरण भएको १६ महिनापछि विभाजन भएको हो ।

विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएर बनेको नेकपा बहुमतले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको थियो । एकतापछि पार्टीको सह–संयोजकको भूमिकामा रहेका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गर्दै पार्टी एकता

असफल भएको घोषणा गर्दै अलग भएको बताएका हुन् । उनले पार्टीलाई सुदृढ गर्न कयौं प्रसाय गरेपनि वैद्य समूहको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरेका छन् । न्युज कारखाना

काठमाडौँ । थाइल्याण्डको राजधानी बैंककमा रहेको होटलको कोठामा भियतनामी मूलका ६ जना मृत फेला परेका छन् ।

मिडिया रिपोर्टका अनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी थिए । प्रहरीले ती व्यक्तिलाई विष खुवाएको हुनसक्ने बताएको छ । तर पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन ।

थाइल्याण्डका प्रधानमन्त्री श्रेष्ठ थाविसिनले पनि घटनास्थल पुगेर मृत्युको छानबिन गर्न आदेश दिएका छन् । उनले यो घटनाले देशको छवि र पर्यटनमा कुनै असर नहोस् भन्ने नचाहेको बताए ।

यसअघि थाई पब्लिक ब्रोडकास्टिङ सर्भिसले प्रहरीलाई उद्धृत गर्दै तीन महिला र तीन पुरुषको मृत्यु भएको जनाएको थियो । प्रहरीले उनीहरुलाई विष दिइएको र अनुसन्धान जारी रहेको बताएको छ ।न्युज कारखाना

काठमाडौं । मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।न्युज कारखाना

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बसोबास तथा संरचना हटाउन बाटो खुलाउने आदेशको पूर्णपाठ सर्वोच्च अदालतले सार्वजनिक गरेको छ ।

जनहित संरक्षण मञ्चले दायर गरेको रिटको अन्तिम किनारा लगाउँदै सर्वोच्च अदालतले उपत्यकाभित्रका नदीमा प्रदूषण नियन्त्रण, नदी किनारका जग्गाको अतिक्रमण हटाउने बाटो खोलिदिएको हो । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गत पुस ३ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि अनधिकृत रुपमा बसोबास गरिरहेकाहरुको बस्ती तथा संरचना हटाउन सकिने भएको हो ।

फैसलाको पूर्णपाठमा नदीमा हुने प्रदूषण नियन्त्रण गर्न नदीको सीमांकन र निर्माण निषेधित क्षेत्रको घोषणा गरी सुकुम्बासीका नाममा नदी किनाराका जग्गा अतिक्रमण गरी वा मापदण्ड मिची निर्माण गरिएका संरचना हटाउन आवश्यक रहेको उल्लेख छ ।

आदेशमा वास्तविक सुकुम्बासी परिवारका लागि इचङ्गुनारायणमा बनेको आवास क्षेत्रमा बसोबासको व्यवस्था मिलाउन र त्यसले नपुग्ने भए अन्यत्र आवासको व्यवस्था गर्न भनिएको छ । यस्तै स्थानान्तरणमा जान नचाहनेहरुका लागि तत्काल राहतको रुपमा नगद उपलब्ध गराइ अतिक्रमण हटाउन भनिएको छ ।

सर्वोच्चले मन्त्रिपरिषद्को निर्णयद्वारा गठित अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास प्राधिकरण वा यस्तै संस्थामार्फत काम गर्न संघीय ऐन बनाउनसमेत आदेश दिएको छ ।

त्यस्तै मेलम्ची आयोजना पूर्ण रूपमा निर्माण हुँदा उपत्यकामा भित्रिने पानीको केही प्रतिशत सोझै वा पोखरीमा सञ्चय गरी बागमती, विष्णुमती र अन्य नदी तथा खोलामा पठाउने प्रबन्ध गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

सर्वोच्चले परमादेशमा भनेको छ- ‘वास्तविक सुकुम्बासीहरूको पहिचान गरी इचुंगुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न र ती स्थानहरूमा जान नचाहने तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्बासीहरूको हकमा स्थानान्तरणको सहजीकरणका लागि तत्काल राहतको रूपमा नगद प्रदान गरी अतिक्रमण हटाउनू ।’न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।