काठमाडौँ । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
ललितपुर । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो ।
बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसर जलमग्न भएका छन् । न्युज कारखाना
काठमाडौँ । हमासका शिर्ष नेता इस्माइल हानियाको हत्या भएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ ।
यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर यस आक्रमणमा इजरायलको संलग्नता हुनसक्ने बताइएको छ ।
हमासका अनुसार इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा सहभागी हुन तेहरान पुगेका हानियालाई आवसमै आक्रमण गरिएको थियो ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ ।
इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए । हाल धेरै जसो कतारमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिदै आएको थियो ।न्युज कारखाना
काठमाडौं । काठमाडौंको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।
बाँके घर भई मृतक सुकुम्वासीमा बस्ने ४५ वर्षीय राम सरुप महतोको शव फेला परेको हो । कालीमाटी प्रहरी वृत्तका अनुसार उक्त शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । मृतका आफन्त पनि सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ ।
मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न खोला किनारा डुबानमा परेको छ । न्युज कारखाना
काठमाडौँ । उत्तर कोरियाका शासक किम जोङ उनको तौल फेरि बढेको छ । मिडिया रिपोर्टका अनुसार किमलाई उच्च रक्तचाप र मोटोपनासँग सम्बन्धित मधुमेह जस्ता स्वास्थ्य समस्याहरू देखा परेको छ र उनका अधिकारीहरूले उनको उपचारको नयाँ विधि खोजिएको उल्लेख गरिएको छ ।
अत्यधिक मद्यपान र धुम्रपानका लागि परिचित ४० वर्षीय किमको परिवारलाई हृदय रोगको इतिहास छ । किमका बुवा र हजुरबुवा दुवैको हृदयघातका कारण मृत्यु भएको थियो । किम भन्दा पहिले दुबैले उत्तर कोरियामा शासन गरेका थिए ।
केही विज्ञहरूका अनुसार किम करिब १७० सेन्टिमिटर (५ फिट, ७ इन्च) अग्ला रहेका छन् । यसअघि किमको तौल १४० किलोग्राम (३०८ पाउण्ड) थियो । यसपछि २०२१ मा उनले आफ्नो डाइट परिवर्तन गरेर तौल घटाए तर अहिले मिडिया फुटेज हेर्दा उनको तौल फेरि बढेको देखिन्छ ।
किमको जीवनशैली र खानपान निकै रोचक छ । किम जीवनशैलीमा महँगो रक्सी, विशेष चुरोट र विदेशबाट आयात गरिएको मासु समावेश छ । उनलाई मदिराको लत रहेको दाबि समेत गरिएको छ ।
रिपोर्टका अनुसार किमलाई गाईको दूध र सर्पको वाइनबाट बनेको चीज मनपर्छ । यस बाहेक उनलाई जापानी परिकार सुशी र साम्पेन पनि मन पर्छ । किमलाई जापानबाट आयात गरिएको कोब मासु मनपर्छ, कोब मासु संसारमा सबैभन्दा महँगो र कम उपलब्ध मासु हो । यसका साथै किमलाई डेनमार्कको उच्च गुणस्तरको सुँगुर र इरानको क्याभियर खान पनि मन पर्छ ।
रिपोर्टका अनुसार किमलाई ब्ल्याक लेबल स्कच ह्विस्की र हेनेसी ब्रान्डी पिउन मन पराउनका लागि हरेक वर्ष औसत २०० करोडको रक्सी अन्य देशबाट उत्तर कोरियामा आयात गरिन्छ । न्युज कारखाना
काठमाडौँ । यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।
उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए ।
अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ ।
सङ्क्रमणले गम्भीर अवस्थामा पुर्याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पँहेलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए । ‘हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ । हैजा सङ्क्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिशामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्’, उनले भने ।
झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ । न्युज कारखाना
काठमाडौँ । भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो संख्यामा मानिसहरु फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।
मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ । केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ । यी स्थानहरूमा मुन्डक्काई, अट्टामाला र कुनहोम जस्ता क्षेत्रहरू पनि समावेश छन्।
यी क्षेत्रमा २४ घण्टामा २०४ मिलिमिटर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केरलाका केही अन्य क्षेत्रमा वर्षाको सन्दर्भमा सुन्तला र पहेंलो अलर्ट जारी गरिएको छ।
केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।
वायनाड केरलाको पहाडी क्षेत्र हो र यहाँ ठूलो संख्यामा पर्यटकहरू आउने गर्छन्। कोझिकोड एयरपोर्टबाट वायनाडको दूरी लगभग ८६ किलोमिटर छ। वायनाड कर्नाटकको कोडागु र मैसूर जिल्लाहरूको उत्तरमा र तमिलनाडुको नीलगिरी जिल्लाहरूको उत्तर-पूर्वमा छ । न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् ।
जसमा जापान ७ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शिर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ
त्यस्तै अस्ट्रेलिया पनि ६ स्वर्णसहित ४ रजत र एक काश्य पदक जितेर तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ९ रजत र ४ काश्य पदक सहित चौथो स्थानमा रहेको छ ।
त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र ३ काश्य पदक जितेको छ भने अमेरिकाले ४ स्वर्ण ११ रजत र ११ काश्य पदक जितेको छ ।
त्यस्तै ग्रेट ब्रिटेनले ४ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छ भने इटालीले ३ स्वर्ण, ४ रजत र ४ काश्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनी २-२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, आयरल्याण्ड, अजरबैजान, न्यूजील्याण्ड, रोमानिया, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, कोसोभो, मेक्सिको, पोल्याण्ड, टर्की, फिजी, जर्जिया, मंगोलिया, उत्तर कोरिया, ट्युनिसिया, भारत, मोलडोभा, क्रोसिया, इजिप्ट, स्पेन, ग्वाटेमाला, हंगेरी, स्वीजरल्याण्ड, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।
यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो ।
सुपर ओभरमा श्रीलंकाले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियो ।
योसँगै भारतले टी- २० सिरिज ३-० ले क्लीन स्वीप गरेको छ । यस अघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो ।
श्रीलंका टूरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्ने छ ।न्युज कारखाना
काठमाडौं । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।
मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्।
उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत् पेरिस ओलम्पिकमा पुगेका थिए ।न्युज कारखाना