काठमाडौँ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।
मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ । फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थिति हुने भएका छन् ।
त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुने छ ।न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ ।
हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र मधेश प्रदेशको एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको र एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना
आजको राशिफल बि.सं.२०८१ साउन २३ गते बुधबार ई.सं.२०२४ अगस्त ०७ नेपाल सम्बत ११४४ गुंलाथ्व तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल तृतीया, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, परिधि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३० बजे, सूर्यास्त साँझ ०६: ४८ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०५ बजेर ३० मिनेट देखि ०७ बजेर १० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋण÷सापटीमा रकम उठाउने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ । आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । आन्तरिक सम्बन्धमा सुमधुरता आउने तथा साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ आदित्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे÷रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुनेछ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क ९, शुभ रङ कलेजी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो छैन, तर अचानक धनलाभ हुने सम्भावना छ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलपूजितायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
न्युज कारखाना
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषदको संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठुलो मन्त्रिपरिषद हो ।
मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनीहरुले आजै शपथ समेत लिएका छन् । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको हो ।
विभागले भारी र अतिभारी वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ । विभागले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीलाई उच्च जोखिममा राखेको छ ।
प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद्सम्बन्धी काम गर्ने साझेदार संस्थालाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन सूचित गराएको छ ।
प्राधिकरणले उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउनसक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाहरुका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहने, भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।
नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।न्युज कारखाना
रौतहट । रौतहटस्थित लामो समयदेखि अलपत्र रहेको बागमती नदीको पुल र लालबकैया नदीको पुल निर्माणका लागि संघीय सरकारको तीनजना मन्त्रीहरुको ध्यानाकर्षण गराइएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री. बिष्णु पौडेल, भौतिक पुर्बाधार मन्त्री .देवेन्द्र दहाल तथा शिक्षा मन्त्री बिधा भट्टराई संग रौतहट जिल्लाको अधुरो पुलहरुको निर्माण तथा बजेट बिनियोजन लगायत जिल्ला का बिकास सम्बन्धि विशेष छलफल भएको हो ।
पूर्व मन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतको नेतृत्वमा मंगलवार सिंहदरवार गएका रौतहटका नेताहरु सहितको टोली पालो पालो तीनैजना मन्त्रीसंग भेटेर दुवै पुल निर्माणका लागि ध्यानाकर्षण गराएको टोलीमा सहभागी एमाले केन्द्रिय सदस्य अजय कुमार गुप्ताले बताएका छन। भेटको क्रममा अर्थ मन्त्री सहितका मन्त्रीहरु माग प्रती सकारात्मक रहेको केन्द्रिय सदस्य गुप्ताले जानकारी दिएका छन ।
लामो समयदेखि अलपत्र परेको वडहरवा घाट स्थित बागमती नदीको पुल र गौर नगरपालिका ४ टिकुलिया स्थित लाल बकैया नदीको पुल लगायत अन्य निर्माणाधीन पुलहरु र सड़क निर्माणको सन्दर्भमा विशेष छलफल भएको सहभागी अर्का नेता एमाले केन्द्रीय लेखा समिति सदस्य राजकिशोर प्रसाद यादवले बताएका छन्। टोलीमा एमाले नेता महेश बस्नेत, एमाले केन्द्रीय सदस्य तथा संघीय सांसद प्रत्याशी अजय कुमार गुप्ता, लगायतको सहभागिता रहेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको लालबकैया नदीको पुल र तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको बागमती नदीको पुल ठेकदारको बदमासिको कारण एकदशक भन्दा बढी समय देखि अलपत्र परेको छ। दुवै पुल निर्माणको लागि पटकपटक बिभिन्न संघर्षको कार्यक्रम हुँदै आएपनि अधुरो पुलको अवस्था ज्युँ का त्यूँ रहेको छ ।न्युज कारखाना
रौतहट ।
रौतहटको कटहरिया नगरपालिकाका निलम्बित मेयर अजय प्रकाश जैसवालले सिंगो बर्ष बित्दा पनि दुर्गा पूजाको चन्दा दिन सकेका छैनन् ।
भ्रष्टाचार गरेको अभियोगमा केही समय अघि निलम्बित भएका मेयर जैसवाल सिंगो आर्थिक बर्ष २०८०।०८१ बित्दा पनि आफैले साकार गरेको दुर्गा पूजाको चन्दा दिन नसकेका हुन् । बरु दुर्गा पूजाको विधुत पोलमा झिलिमिली बत्ति लगाएको भन्दै लाखौं रुपैयाँ निकासा गरिएको छ, तर पूजामा भने हालसम्म एकपैसा चन्दा नदिएको पूजा समितिले गुनासो गर्दै आएको छ।
कटहरियास्थित आस्थाको केन्द्र दुर्गा मन्दिर नगरपालिकाको प्राङ्गणमै छ जहाँ दुईदशक भन्दा बढी समय देखि प्रत्येक बर्ष बडा दसैंको अवसरमा १० दिनसम्म विधिवत रूपमा पूजा हुँदै आएको छ। पूजा अवधिमा कटहरिया नगरपालिकाको प्रायः सबै वडाका सैयौं मानिस भक्तजन महिला पुरूष १० दिनसम्म रातो रंगको कपडा लगाएर पूर्ण आस्थाका साथ दुर्गा माताको पूजा आराधना गर्ने गर्दछन्।
गतबर्षको पूजामा कुल ७ लाख ८४ हजार ४१९ रुपैयाँ खर्च भएको दुर्गा पूजा समिति कटहरियाले सार्वजनिक गरेको थियो। सो मध्ये स्थानिय द्वारा कुल ५ लाख,८५ हजार ५५७ रुपैयाँ भन्दा संकलन गरिएको थियो। प्रत्येक बर्ष नगरपालिकाले पूर्गा पूजामा सहयोग गर्दै आएको परमपरा अनुसार पूजा समिती गतबर्षको दुर्गा पूजा सुरुहुनु अघिनै उनको कार्यकक्षमै पुगेर तत्कालीन मेयर जैसवाल लाई भेटेर सहयोगको लागि आग्रह गरेको थियो।
तत्कालीन मेयर जैसवालले नगरपालिकाका योजना प्रमुख रामनरेश साह लाई कार्यकक्षमा बोलाएर निर्णय पुस्तिका हेरेर दुर्गा पूजा लगायतको शीर्षकमा ७ लाख रुपैयाँ छुट्याएको बताउँदै ३ लाख रुपैयाँ भन्दा दिने प्रतिवद्धता जनाएका थिए।
हाल निलम्बित मेयर जैसवालको प्रतिवद्धता अनुसार पूजा समिती संगै कटहरियाका भद्रभलादमी पटकपटक भेट्दा पनी उनले दुर्गा पूजाको चन्दा दिन नसकेको पूजा समितिका शम्भु साहले बताउँदै आएका छन् । उनले यस बारे पटकपटक सामाजिक सञ्जाल फेसबुकमा समेत गुनासो गर्दै आउँदा पनि मेयर जैसवालले वास्ता नगरेको पूजा समितिको आरोप रहेको छ। गत आर्थिक बर्षको अन्तिम महिना अघिनै भ्रष्टाचारी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर जैसवाल, उपमेयर रिता देवी यादव, योजना प्रमुख रामनरेश यादव सहित ११ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरे संगै उनीहरू निलम्बित भएका थिए।
उनीहरू निलम्बित भएपछि कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान संग पूजाको चन्दा बारे कुरा गर्न पूजा समितिका पदाधिकारीहरु उनको कार्यकक्षमा जाँदा निलम्बित मेयर अजय प्रकाश जैसवाल पदमा रहँदा भुक्तानीको लागि कतै कुनै कागज निवेदनमा तोकादेश नगरेकाले भुक्तानी नहुने जवाफ फर्काएका थिए ।
निलम्बित मेयर जैसवालको झुठा आश्वासनको कारण कटहरिया स्थित गतबर्ष दुर्गा पूजामा खर्च भएको रकम मध्ये हालसम्म २ लाख ५९ हजार ८५० रुपैयाँ पूजा समितिको नाउँमा बक्यौता रहेको समितिका पूर्व अध्यक्ष हरिश्चन्द्र कुशवाहाले जानकारी दिएका छन ।
दुर्गा पूजा अवधीमा बजारको केही विद्युत पोलमा झिलिमिली बत्ति लगाएर तत्कालीन मेयर जैसवालले लाखौं रुपैयाँ निकासा गराएको स्थानीयहरूले दाबी गरेका छन ।
कटहरियाका पूर्व गाविस अध्यक्ष जादोलाल महतो, व्यापारीहरु बजरंगी लाल साह, अनुठा प्रसाद साह, मौजेलाल साह लगायतको सक्रियतामा
कटहरियामा २०५२ साल देखि मूर्ति बनाएर दुर्गा पूजाको आयोजना हुँदै आएको छ। पूजा अवधीमा मेला समेत लाग्ने गर्दछ। पूर्व मेयर सियाराम कुशवाहाले पनी प्रत्येक बर्ष दुर्गा पूजामा आर्थिक सहयोग गर्दैआएका थिए। तर लाखौँ लाख तेलको नाउँमा , लाखौँ करारको कर्मचारीको नाउँमा, विद्यालय र अस्पतालको नाउँमा भ्रष्टाचार गर्ने निलम्बित मेयर जैसवाल भने झुठा आश्वासनमै सीमित भएका छन ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेे जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गरेका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोर्याउँदै आफूले भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने पुरानै प्रतिबद्धताबाट पछि नहटेको जनाए ।
‘संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ । यस यात्रामा भ्रष्टाचार तगारोका रुपमा रहेको हुन्छ, त्यसैले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, समृद्धिको आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । त्यसका कारण म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । कसैले लाञ्छना लगाउनु बेग्लै कुरा हो तर मैले कुनै भ्रष्टाचार गरेको पाइएमा म यस धर्तीमा मात्र होइन, चित्रगुप्तसमक्ष पुगेर पनि बयान दिन तयार छु ।’, सांसदहरुको प्रश्नमा थप स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘राज्यको सम्पति आफ्नो नाममा बनाउनुपर्ने मेरो सोच र आवश्यकता छैन । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विद्यमान ऐन संशोधन विधेयक ल्याइएको हो । यस्ता विधेयक तयारी र पारितमा धेरै समय लाग्ने स्थिति नहोस् ।’
उनले देश र जनतालाई केन्द्रमा राखेर समृद्धिको बाटो अघि बढाउने लक्ष्यमा सरकार क्रियाशील रहेको तथा समान अवसर, शान्ति सुरक्षा र सामाजिक न्यायको सुनिश्चितता कायम गर्नु सरकारको पहिलो जिम्मेवारी भएकाले त्यसमा आफूहरु सजग र सचेत भएर लाग्ने स्पष्ट गरे ।
यो सरकार कसैको प्रतिशोधका लागि नभइ आर्थिक विकासको लक्ष्यका साथ गठन भएकाले यसले कसैलाई दुःख दिने मनसाय नराख्ने तर कानुनको दृष्टिमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गर्न लागि पर्ने उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनीतिक भागवण्डाका आधारमा नियुक्ति नगर्न सांसदले दिएका सुझावबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले निजामति क्षेत्रमा अनुभवी र राम्रो पहिचान बनाएका व्यक्ति हाल आयोगको प्रमुख रहेको र यस्ता नियुक्तिमा संसदीय सुनुवाइका प्रक्रिया पार भएकाले भागवण्डा भन्न नमिल्ने बताए । उनले सांसदहरुलाई पनि कुनै नियुक्तिहरुमा आफ्ना मान्छे भएका आधारमा सिफारिस गरे नगरेको आत्मसमीक्षा गर्न आग्रह गरे ।न्युज कारखाना